Monday 20 February 2023

स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्दा, कसको संलग्नता के ?

८ फागुन, काठमाडौं । नेपाल टी–२० लिगको खेलहरुमा मिलेमतो भएको निष्कर्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । थप ७ जनालाई पनि कसुरदार रहेको भन्दै अभियोग पत्रमा नाम उल्लेख गरिएको छ ।

तर, ठेगाना र वतन स्पष्ट नखुलेको भन्दै मुद्दा दर्ता प्रतिवादी बनाइएको छैन ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार प्रहरीले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलम, वीरगञ्जका खेलाडी नितेश गुप्ता, नविन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्रिवि खेलमैदान कीर्तिपुरमा ९ पुसदेखि २७ पुससम्म भएको खेलमा प्रतिष्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलेमतो र अनियमितता गरेको निष्कर्षसहित उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ विपरितको कसूरमा मुद्दा दर्ता गरिएको नेउपानेको भनाइ छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पक्राउ परेका मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ताविरुद्ध ऐनको दफा ३१, ३२ र ३३ अनुसार सजाय माग दाबी गरिएको छ । यसमा खेलमा मिलेमतो गर्ने कसूरमा संलग्न भए तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र लेनदेन भएको भए त्यो रकम पनि जफत गर्ने व्यवस्था छ ।

खेलमा मिलेमतो भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो ।

समितिको अनुसन्धानमा भारतीय नागरिक समिर शेख, वीरेन्द्र शाह, विकास ध्यानी, जतिन अहलुवालिया, अभिषेक सक्लानी, राहुल शर्मा र एन्ड्री म्याक्यार्थी संलग्न देखिएका छन् । तर, उनीहरुलाई मुद्दामा प्रतिवादी बनाइएको छैन ।

जिल्ला न्यायाधिवक्ता नेउपाने भन्छन्, ‘उनीहरुको नाम अभियोग पत्रभित्र समावेश छ, पछि पक्राउ परे वा उनीहरुको यकिन नाम, थर र वतन खुले अर्को अभियोग पत्र हुनेछ ।’

कसको भूमिका के ?

पक्राउ परेकामध्ये मोहमद आदिल आलमले जनकपुर रोयल्सबाट टी–२० लिग खेलेका थिए । उनले १२ पुसमा भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं अ‍ोभरको पहिलो बल नो बल र दोस्रो बल वाइड फालेका थिए । त्यसरी उनले जम्मा १३ रन जोडेर आउट भएका थिए ।

१४ पुसमा भएको जनकपुर रोयल्स र फार वेष्ट युनाइटेडबीचको खेलको छैठौं ओभरमा पनि उनले पहिलो बल नो बल र दोस्रो बल बाइड गरेर जम्मा १५ रन जोडेका थिए ।

नो बल र वाइड खेले १ लाख रुपैयाँ दिने भन्दै उनलाई समिर शेख नामक व्यक्तिले ह्वाट्स एपमार्फत प्रस्ताव राखेको अनुसन्धानबाट खुलेको छ । सरकारी वकिलको रोहबरमा दिएको बयानमा पनि उनले प्रस्ताव आएको स्वीकारेका छन् । तर, मिलेमतोमा संलग्नताबारे इन्कारी बयान दिएका छन् ।

प्रहरीले चाहिँ दुवै खेलमा प्रस्ताव गरिएअनुसार गतिविधि हुनु संयोग मात्रै नहुने बताउँदै उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट (एसीयू) ले गरेको स्कोर बोर्ड र भिडियो विश्लेषणका क्रममा पनि ओभरको पहिलो बल नो बल र लगत्तै बाइड बलको प्रकृति एकै किमिसको पाइएको प्रहरीको भनाइ छ ।

आफूलाई आएको प्रस्तावबारे पनि समयमा रिपोर्ट नगर्नु र प्रस्ताव अनुसारकै गतिविधि गर्नुले मिलेमतोमा उनको संलग्ता पुष्टि भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कीर्तिमानी पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमले पोखरा एभेन्जर्स र फार वेष्ट युनाइटेड एक/एकका खेलाडीलाई मिलेमतोका लागि प्रस्ताव गरेका थिए ।

अर्का प्रतिवादी रवि माझीको निर्देशन अनुसार उनले खेलाडीहरुलाई मिलेमतोको प्रस्ताव राखेका थिए । त्यसअनुसार कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको आलमको स्वयम्को बयान छ ।

त्यसवापत उनलाई पनि प्रति खेलाडी दुई लाख रुपैयाँ दिने भनिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर, दुवै खेलाडीले उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

प्रतिवादीमध्ये वीरगञ्जका क्रिकेटर नितेश गुप्ताले पोखरा एभेन्जर्सका एक जना खेलाडीलाई मिलेमतोको प्रस्ताव राखेका थिए । तर, हात्तिवनको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर प्रस्ताव गर्दा आफूलाई गाली गरेर पठाइदिएको उनले बताएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा गुप्ताले भनेका छन्, ‘मेरो सानी आमाको देवर वीरेन्द्र शाहले घरमा आएर उहाँसँग भेट गराइदिनु पर्‍यो, क्रिकेटको विषयमा कुरा गर्नुपर्छ भन्नु भएको थियो, त्यसअनुसार मैले कहाँ भेट्न सकिन्छ भनेर म्यासेज गरेर सोधेको थिएँ ।’

त्यसअनुसार शाहसँग वीरगञ्जबाट काठमाडौं आएर ७ पुसमा ललितपुरमा गएर भेटेको उनले भनेका छन् । त्यसक्रममा शाहले लिगमा ‘हिट विकेट’ गरे राम्रो कमाउन सक्ने भनेको उनले बताएका छन् ।

तर, ती खेलाडीले अस्वीकार गरेपछि आफूले ह्वाट्स एपमा ‘सरी भैया’ भनेर म्यासेज गरेको उनले बताएका छन् । आफूलाई त्यसअघि क्रिकेटबारे के कुरा गर्न लागेको भन्ने पनि थाहा नभएको उनले दाबी गरेका छन् । उनले साहलाई ती खेलाडीसँग आफूले भेट मात्र गराइदिएको दाबी गरेका छन् ।

काठमाडौं नाइट्सका सञ्चालक नविन कँडेललाई पनि प्रहरीले प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

ब्यूरोका एक अधिकृतका अनुसार काठमाडौं नाइट्स टिमको धनी नेपाल स्पोर्टस् भेन्चर प्रा.लि.को सञ्चालक कँडेल भएपनि टिम सम्बद्ध खेलाडी र पदाधिकारीहरु याक एण्ड यति होटलमा बसेवापत रकम भारतबाट भुक्तानी भएको देखिएको छ । यसलाई अनुसन्धान अधिकृतहरुले शंकास्पद मानेका छन् ।

काठमाडौं नाइट्समा जतिनका एजेन्ट

अदालतमा पेश गरिएको अभियोग पत्र अनुसार नेपाल क्रिकेट संघ (क्यान) का रणनीतिक साझेदार सेभेन थ्री स्टारका सञ्चालक जतिन अलुवालिया आफैं खेलको मिलेमतोमा संलग्न थिए । उनका तर्फबाट काठमाडौं नाइट्सका सपोर्ट स्टाफ विकास ध्यानीले एक जना विदेशी खेलाडीलाई मिलेमतोको प्रस्ताव गरेका थिए ।

उनले मलेसियन खेलाडी वीरनदिप सिंहलाई सेभेन थ्री स्पोर्टसका सञ्चालन जतीनले धेरै माया गर्ने भन्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा समेत खेलाउने प्रलोभन देखाएका थिए । अभियोग पत्रमा समावेश विवरण अनुसार उनलाई ‘जतिन चाहन्छन् कि उनले भने अनुसार तिमीले खेल, त्यसअनुसार भए तिमी आईपीएल टिममा पनि छानिन्छौं र क्याप्टेन बनाइन्छौं’ भनेका थिए ।

क्रिकेट काउन्सिलले पठाएको इमेलमा पनि फिक्सिङको जड अहलुवालिया भएको उल्लेख गरिएको भनिएको छ । जतिन नै खेलमा मिलेमतोको प्रस्ताव गर्ने मुख्य व्यक्ति भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

देखावटी रुपमा सेभेन थ्री स्पोर्टस् क्यानको रणनीतिक तथा व्यवसायिक साझेदारको रुपमा रहे पनि आफ्नो अनुकूल टिम धनी, व्यवस्थापनमा खटिएका कर्मचारी, विदेशी खेलाडी खडा गरेर उनीहरुमार्फत अन्य खेलाडीहरुमासमेत पुहँच बनाएर अनियमितता गराएर बाजी जिताउने वा हराउने कार्य गर्नु जतिनको उद्देश्य भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया र बिराटनगरबाट खेलेका वेस्ट इन्डिजका खेलाडी एन्ड्री म्याक्यार्थी ।

विराटनगर सुपर किङ्ग्सका टिम म्यानेजर राहुल शर्मा र कप्तान एन्ड्री म्याक्यार्थी फिक्सिङको आशंकामा त्यसबेलै जिम्मेवारीबाट हटाइएको समेत अभियोग पत्रमा उल्लेख छ । १६ पुस भएको जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्सबीचको खेलमा म्याक्यार्थीले कोचको निर्णय विपरित ओपनिङ ब्याटसम्यानका रुपमा खेलेका थिए ।

कोच लिन्डेन फेजरले ओपनिङ ब्याट्स म्यानका रुपमा प्रदीप ऐरी र गौरान्सु शर्मालाई पठाउने निर्णय गरेका थिए । तर, अन्तिममा टिम म्यानेजर शर्माको निर्देशन अनुसार ऐरीको स्थानमा क्याप्टेन एन्ड्री ओपनरका रुपमा गएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रशिक्षक फेजरले आफ्नो निर्णय विपरीत एन्डी ओपनिङ ब्याट्सम्यानका रुपमा गएर सन्तोषजनक रुपमा खेल प्रदर्शन नगरेको त्यसबेलै सञ्चारमाध्यममा बताएका थिए । यसबाट पनि एन्ड्री बाजी जिताउने वा हराउने कार्यमा संलग्न भएको देखिने प्रहरीको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसबारे थाहा पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एन्टी करप्सन अफिसर वीर सिंहले नेपाल क्रिकेट संघलाई जानकारी गराएका थिए ।

त्यसपछि दुवैलाई जिम्मेवारीबाट हटाएर खेलमा सहभागी हुन रोक लगाइएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रहरीसमक्ष कागज गरेका छन् । हाल उनले क्यानबाट राजीनामा दिइसकेका छन् ।

यो पनि पढ्नुस्

सेभेन थ्री स्पोर्टसका सञ्चालक र म्याक्कार्थीविरुद्ध किन भएन मुद्दा दर्ता ?

आईपीएल खेलाउने भन्दै मलेसियन खेलाडीलाई फिक्सिङको अफर

फिक्सिङको आशंकामा हटाइएका थिए विराटनगरका टिम म्यानेजर र कप्तान

हिट विकेटको प्रस्ताव गर्दा गाली खाएँ, सरी भनेर फर्किएँ : नितेश गुप्ता

६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन् : महबुब आलम

ह्वाट्स एपमा आएको थियो फिक्सिङको प्रस्ताव, मजाक गरेको सोचेँ : आदिल अन्सारी



source https://www.onlinekhabar.com/2023/02/1266408

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More