भनिन्छ- कुनै खास परिघटना वा प्रवृत्तिको विकास हुन आत्मगत प्रयत्न मात्र पर्याप्त हुँदैनन्, निश्चित वस्तुगत आधार चाहिन्छ । वस्तुगत आधार तयार नहुँदै छिटो वा हतारोमा गरिएका प्रयत्न असफल हुने सम्भावना धेरै हुन्छ ।
तर, वस्तुगत आधार कुनै ‘निरपेक्ष परमभाव’ भने हैन । यान्त्रिक भौतिकवादी दृष्टिकोणमा वस्तुगत आधार सर्वथा निर्णायक हुन्छ र आत्मगत प्रयत्न त्यसको उपरीसंचारना मात्रै तर सर्वाङ्गिकतावादी सोचमा वस्तुगत आधार तथा आत्मगत प्रयत्नबीच दोहोरो अन्तरसम्बन्ध हुन्छ ।
जसरी वस्तुगत आधारले आत्मगत उपरीसंचारनाको सृजना गर्दछ, त्यसैगरी आत्मगत आधेयले वस्तुगत आधारको समेत विस्तार र सबलीकरण गरिरहेको हुन्छ । कुनै घटना भइरहेको छ भने त्यसका खास कारण मात्र हुँदैनन्, घटना घटित हुने परिवेश, पात्र र प्रयत्न पनि सँगसँगै हुन्छ ।
नेपालमा नयाँ राजनीतिक प्रयत्न र दलहरूको मात्रा र आकार किन निरन्तर बढ्दो र विस्तारित हुँदैछ भन्ने कुरालाई यी दुवै दृष्टिकोणबाट बुझन् सकिन्छ । २०७० को दशक अघि यही चिज असम्भव जस्तो मानिन्थ्यो । पुराना कांग्रेस, कम्युनिष्ट र राजावादी धारभन्दा बाहिर ‘मधेशवादी’ आन्दोलन र दलहरूको एक भिन्नै स्पेस थियो, तर त्यो क्षेत्रीय आधारमा थियो, राष्ट्रिय चरित्र वा आकार लिन सकेको थिएन ।
त्यसो त केलाई ‘क्षेत्रीय’ र कत्रोलाई ‘राष्ट्रिय’ चरित्रको भन्ने/मान्ने त्यो आफैंमा पेचिलो बहसको विषय हो । मधेश-केन्दि्रत दल र आन्दोलनले निर्माण गरेका भाष्य र चलाएका आन्दोलनको परिणामले देशमा ‘संघीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली’लाई स्थापित गरेको यथार्थ कसैले बिर्सन सक्दैन । आन्दोलनको चरित्र क्षेत्रीय भए पनि परिणाम र योगदानका दृष्टिकोणले त्यो राष्ट्रिय नै थियो । सबै क्षेत्रीयताहरू प्रकारान्तले राष्ट्रिय हुन्, त्यसको कुनै एक वा स्थापित मानिंदै आएको केन्द्र हुन जरूरी छैन ।
‘कांग्रेस, कम्युनिष्ट र राजावादी’ लाई एउटै डालोमा राखेर ‘पुराना’ भनिनु कति युक्तिसंगत हो भन्ने प्रश्न यहाँनेर उठ्न सक्दछ । मूलतः ‘कांग्रेस-कम्युनिष्ट’ र ‘राजावादी’ बीच भारी भिन्नता छ । एक शताब्दी लामो राजनीतिक वैपरित्य र संघर्षका तत्वहरू यिनै थिए । ‘राजावाद’ निरंकुशता, वंशवाद र दैवी शक्तिको सिद्धान्तमा आधारित रुढीवादी राजनीतिक शक्ति थियो । ‘कांग्रेस-कम्युनिष्ट’ ले त्यसको वैपरित्यमा स्वतन्त्रता, समानता, सामाजिक सम्झौता र लोकतन्त्रको भाष्य निर्माण गरेका थिए ।
स्वयं ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ आफैंमा फरक-फरक धार थिए । कांग्रेसले ‘संसदीय लोकतन्त्र र संवैधानिक राजतन्त्र’ को चारकिल्ला ठोकेको थियो । यसभित्र तीन प्रकारका धारणा- ‘रुढीवाद, उदारवाद र समाजवाद’ को अनौठो सम्मिश्रण थियो । कम्युनिष्टहरूले कांग्रेसलाई सजिलै ‘बुर्जुवा, पूँजीवादी र संसदवादी’ भनिदिन्थे । हिजो जति चर्को त हैन, तर मधुरो स्वरमा आज पनि भनिरहेकै छन् ।
त्यसो त कांग्रेसले कम्युनिष्टहरूलाई ‘सर्वहारा अधिनायकवादी’, ‘नयाँ प्रकारका निरंकुशतावादी’ वा ‘एकदलीय प्रणाली’ का पक्षधरका रूपमा चित्रण गर्नुमा कुनै अनर्थ थिएन । साम्यवादको तत्कालीन विश्व यथार्थ त्यही थियो, जो आज कम्युनिष्टहरू आफैं स्मरण गर्न लजाउँछन् । साम्यवाद समकालीन विश्वमा एक यस्तो असंगत र विरोधाभासपूर्ण विचारधारा हो, जसले न आफ्नो वैचारिक मौलिकता र ऐतिहासिक विरासतमा गौरव गर्न सक्दछ न त्यसलाई आलोचनात्मक संश्लेषण गर्न सक्दछ न चटक्कै छोडेर उन्मुक्ति हासिल गर्न नै सक्दछ ।
यी फरक-फरक पृष्ठभूमि, वैचारिकी र ऐतिहासिकताका बाबजुद तीनवटै शक्तिलाई ‘पुराना’ को साझा डालोभित्र हाल्न सकिने कारण भने उत्तिकै बलियो छ । त्यो हो- समाजमा शताब्दी लामो राजनीतिक वर्चश्व, उनीहरूका वैचारिकी र अभ्यासका सबलता र सीमाहरूको प्रकटीकरण, शासनसत्ता चलाइसकेका वा देशको नेतृत्व गर्ने अवसर पाइसकेका, के कस्तो कार्यसम्पादन क्षमता छ र कस्तोसम्म परिणाम दिन सक्दछ वा सक्दैनन् भन्ने परीक्षण भइसकेका शक्तिका रूपमा यी साझा डालोमा आउँछन् । यहाँ आइपुग्दा ‘नयाँ’ भनेको ठीक त्यही ‘पुराना’ भनिएकाहरूको गुण नभएका, नभइसकेकाहरू हुन् ।
२०४६ पछि डा. देवेन्द्रराज पाण्डेले ‘लोक दल’ खोलेर त्यसको प्रारम्भ गरेका थिए । तथापि त्यो सफल भएन । त्यसको कारण कुनै एक हैन, वस्तुगत र आत्मगत दुवै थियो । वस्तुगत के थियो भने कांग्रेस र कम्युनिष्टले निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायतविरुद्ध लोकतान्त्रिक संघर्षको नेतृत्व गरेर आएका थिए । त्यतिखेरको यथार्थमा ती आफैं ‘नयाँ’ थिए । नयाँ र पुरानाको भेद गर्न जति सहज हुन्छ नयाँ र अझ नयाँको भेद गर्न त्यति सजिलो हुँदैन ।
आत्मगत हिसाबले पनि त्यो त्यति धेरै बलियो प्रयत्न थिएन । किनकि त्यसको नेतृत्व र समूहले दीर्घकालीन सोच र रणनीति अन्तर्गत आफूलाई प्रतिबद्ध र समर्पित गरिसकेको थिएन । घडेरी नै नभएको ठाउँमा घर बनाउन खोजेजस्तो वा शाकाहारीको देशमा मासुपसल खोलेजस्तो प्रयत्न थियो त्यो । शाकाहारीको देशमा मासु पसल नै खोल्ने हो भने पनि सुरुका केही वर्ष ‘विज्ञापन’ हैन, ‘पब्लिसिटी’ चाहिन्छ ।
झण्डै उस्तै लाग्ने यी दुई शब्द बीच बजारशास्त्रमा ठूलो भिन्नता हुन्छ । ‘विज्ञापन’ को अर्थ संभाव्य उपभोक्ता बीच वस्तु तथा सेवाको सूचना दिनु हो । ‘पब्लिसिटी’ को अर्थ संभाव्य उपभोक्ताको सृजना र संख्या विस्तार गर्नु हो । बजारशास्त्रमा जस्तै राजनीतिशास्त्रमा पनि यो भिन्नताले ठूलो अर्थ राख्दछ ।
२०४६-२०६६ को बीचमा असंभव झैं मानिएको यो कुरा त्यसपछिका दिनमा एक भिन्नै राजनीतिक स्पेस बन्न पुग्यो । किन त ? यसका प्रष्ट आधार छन् । र यी सबै, एक से एक वस्तुगत कारण हुन् । हिजो वस्तुगत कारण थिएन । तर, आज बरु आत्मगत अवस्था अझै परिपक्व छैन तर, वस्तुगत कारण भने झन् प्रखर हुँदै गएका छन् । ती कारण वा आधारलाई निम्न पाँच बुँदामा भन्न सकिन्छ ।
१. नयाँ मतदाताको बढ्दो अनुपात
नयाँ मतदाता त हिजो पनि थिए, तर २०४६-२०५६ बीचका युवा मतदाता सामान्यतः अखिल र नेविसंघमार्फत शास्त्रीय दलहरूको सम्पर्क र स्कुलिङमा थिए । पछिल्लो समय त्यसरी दलीयकरण नभएको वा हुन नचाहने नयाँ लचिला मतदाताको संख्या र अनुपात निरन्तर विस्तार हुँदैछ । भनिन्छ- गत वैशाखको स्थानीय चुनावयता त्यस्ता मतदाता करिब २७ लाख थिए । २०८४ को चुनावसम्म थप २५ लाख थपिने छन् । आउँदो चुनावसम्म यस्ता मतदाताको संख्या ६०-७० लाख हुनेछ, जो कुल मतदाताको उल्लेखनीय अनुपात हो ।
यी मतदाताको सोच, स्कुलिङ, सम्पर्क सञ्जाल, जीवनशैली र अपेक्षा हिजोका मतदाताका भन्दा बिल्कुलै फरक छन् । यिनले शास्त्रीय सिद्धान्तमा कम र ‘डेलिभरी बेस’ मा राजनीति, राज्य, दल र नेताहरूको मूल्यांकन गर्दछन् । यसले गर्दा ‘स्वीङ मतदाता’ संख्या वृद्धि हुन्छ, जो लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्रमा कम्तीमा ४० प्रतिशत मतदाता स्वीङ मूडमा हुनुपर्दछ अन्यथा निर्वाचनले कुनै नयाँ परिणाम दिंदैन, पुरानै परिणामलाई पुनरावृत्ति मात्र गरिरहन्छ ।
२. डिजिटल स्पेसको उपलब्धता
भनिन्छ- फेसबुक प्रयोगकर्ताको संख्या मात्रै देशमा १ करोड ४० लाख बढी भइसक्यो । अन्य डिजिटल माध्यम र सामाजिक संजालको प्रयोग उत्तिकै व्यापक हुँदैछ । यसको नकारात्मक पाटो पनि छ कि यसले मान्छेलाई सतही, उडन्ते र पपुलिष्ट बनाउँदै लगेको छ ।
हिजो मान्छे कुनै खास विषयमा धारणा बनाउनु अघि त्यसबारे दुई चार वटा किताब पढ्थे । विस्तारै किताब वा आधिकारिक जर्नलहरूको साटो पत्र-पत्रिकाका समाचार र लेख पढेर धारणा बनाउन थालियो । आज मान्छे दुईचार वाक्य वा अनुच्छेदका ट्वीट वा स्टाटस पढेर धारणा बनाउने भएका छन् । यसबाट ज्ञान-विज्ञानको साङ्गोपाङ्गो पक्ष बुझ्न र सही धारणा बनाउन सम्भव हुँदैन । यो जोखिमलाई अवज्ञा गर्न मिल्दैन ।
तर, हिजो जस्तो आन्दोलन, क्रान्ति, संगठन, सञ्जाल र आधिकारिक मुखपत्रबाट मात्रै राजनीतिक दलका कुरा, आग्रह र अपिल जनता वा मतदातासँग पुग्ने अवस्था अब रहेन । न त प्रचार संयन्त्रहरू कसैले प्रयोग गर्न नसक्ने गरी महँगा र पहुँचबाहिर नै रहे । त्यसो त यो स्पेस नयाँ र पुराना दुवै खाले दलका लागि उपलब्ध छ तर, फाइदा भने पुरानालाई भन्दा बढी नयाँलाई हुन्छ । किनकि पुरानाबारे समाजमा एक पूर्वधारणा क्रियाशील वा स्थापित हुन्छ, जसलाई दोहोर्याउने मात्रै हो, नयाँ अपिल गर्ने हैन ।
३. शहरिया मध्यम वर्गको विस्तार
‘शहरिया मध्यम वर्ग’ परम्परागत वर्गसंरचना, वर्गविश्लेषण र वर्गसंघर्षको सिद्धान्तभित्र नपर्ने, नअटाउने वर्ग हो । विशेषतः कम्युनिष्ट सिद्धान्तले यो वर्गलाई हिजो ढुलमुले, अवसरवादी र पेटी बुर्जुवा वर्गका रूपमा निन्दा र भत्र्सना गर्दथ्यो । समाजको ‘डाइकोटोमी’ सर्वहारा र बुर्जुवा वर्गबीच हुन्छ, मध्यम वर्ग भनेको अवसरवादी तप्का जस्तो हो भन्ने धारणा प्रबल थियो ।
मध्यम वर्गमा ‘शहरिया’ जोडिंदा त्यसको चरित्र झनै फरक हुन्छ । शहरिया शब्दले ग्रामीणभन्दा फरक कम पराश्रति, स्वावलम्बी वा परम्परागत सञ्जालीय प्रभावभन्दा लचिलो सामाजिक सम्बन्धमा बस्न र बाँच्न रुचाउने चरित्रलाई बुझाउँछ । यस्तो वर्गको स्वनिर्णय क्षमता तुलनात्मक रूपमा सबैभन्दा धेरै हुन्छ । रोचक कुरा के हो भने यो वर्ग अब अल्पसंख्यक वर्ग हैन, बहुमत र निणर्ायक वर्ग हो । संसारभरिकै वर्गसंरचनामा शहरिया मध्यम वर्गको अनुपात निरन्तर विस्तार हुँदैछ । कतिपय देशमा त ९० प्रतिशतसम्म पुगेको छ ।
नेपालमा पनि हुने यही हो, हुँदैछ पनि । शहरिया मध्यम वर्गको विकास कसरी हुँदैछ, यो अवसरवादी छ कि नैतिक, राज्यदोहन र बिचौलियाबाट विकास हुँदैछ कि उद्यमशीलताबाट, त्यो भिन्नै बहसको कुरा हो । तर, शहरिया मध्यम वर्गको विकास हुँदैछ, यो महत्वपूर्ण हो । यो वर्गले ‘सर्वहारा’ वा ‘बुर्जुवा’ ‘इन्डक्टि्रनेसन’ अस्वीकार गर्दछ ।
४.भूमण्डलीकृत नागरिक
नेपाली अब साँघुरो, संकीर्ण र स्थानीय राष्ट्रवादको सीमाभित्र चाहेर पनि बस्न र बाँच्न सक्दैनन् । जुन देशको आधाभन्दा बढी जनसंख्या विदेशमा छ वा कुनै न कुनै रूपमा विदेशमा रहेकाप्रति आश्रति वा निर्भर छ भने त्यहाँ ‘ग्लोबल सिटिजन’ को भावना बलियो हुँदै जान्छ । राजनीति र अर्थनीतिका मुद्दा नै फरक हुँदै जान्छन् । जस्तो कि अहिले- विदेशमा बस्नेको मताधिकार, दोहोरो नागरिकता, विप्रेषण माध्यमको सहजता, डायस्पोराहरूको नेपालमा हुने लगानी सुरक्षा, पासपोर्टको विश्व स्वीकार्यता वा अस्वीकार्यता जस्ता सवाल राजनीतिका प्रमुख मुद्दा जस्तो बन्न थालेका छन् । ‘ग्लोबल सिटिजन’ हरूको जीवन अनुभव र वैचारिकी शास्त्रीय दलहरूको अनुकूल हुँदैन ।
विभिन्न देश घुम्दा, पुग्दा देखेको विकास र भौतिक पूर्वाधारको तुलना उनीहरूले आफ्नो देशसँग गर्दछन् । हिजो यस्तो संख्या सानो थियो, अब निकै ठूलो भयो । विदेशमा बस्नेले भोट हाल्न नपाएको कारण देशमा मतदानको दर संकुचन हुँदैछ भने रेमिटेन्स र निर्भरताको कारणले उनीहरूले देशमा रहेका आफन्तको भोट प्रभावित गर्न सक्ने भएका छन् ।
५. उत्तरआधुनिक सोच र जीवनशैली
कति राम्रो वा नराम्रो हो, त्यसको भिन्नै विश्लेषण हुनसक्ला तर ‘आधुनिकता’ को साटो ‘उत्तरआधुनिकता’ र ‘एक आयामिक सत्य’ को साटो ‘बहुआयामिक सत्योत्तरता’ आजको यथार्थ हो । यो कुरा अब सिद्धान्तमा मात्रै हैन, मान्छेको जीवनशैलीमै अनुवाद भइसक्यो । मान्छे अब कसैका अर्ति, उपदेश र स्कुलिङमा सीमित हुन चाहँदैन । कुनै सैद्धान्तिक आग्रहलाई जीवनभरि बोकेर मस्तिष्कलाई भारी, जीवनशैलीलाई एकांगी, सम्बन्धहरूलाई बोझिलो र जीवनसारलाई बेकामे बनाउन चाहँदैन । मान्छेको जीवनमा त्यही सत्य हो, जो उसले सामना गर्नु, भोग्नु पर्दछ । त्यही विकल्प ठीक हो, जुन तुलनात्मक रूपमा संभव, उपलब्ध र पहुँचयोग्य छ । सुदूर भविष्यका सैद्धान्तिक सपनाबाट मान्छे अब प्रेरित हुन चाहँदैन ।
मान्छेलाई आज प्रकृति, विज्ञान, प्रविधि र मानवतासम्मत जीवनको दरकार छ, सिद्धान्तसम्मत जीवनको हैन । मान्छेका पुराना आस्था र विश्वासका केन्द्रहरू, महाआख्यान र महासंकथनहरू भंग हुँदैछन् । ‘केन्द्रभंग’ केवल साहित्यिक तथा कलापूर्ण सैद्धान्तिकीकरण हैन, यो राजनीतिक तथा व्यक्तिगत जीवनकै यथार्थ हो, दैनन्दिनी यथार्थ ।
‘स्वाभिमान’ र ‘समृद्धि’ को दोहोरो आकांक्षाबीच मान्छे कुनै एउटालाई केन्द्र मान्न तयार छैन । मान्छेले ‘सबैको र सबैका लागि स्वाभिमान’ रोजेको छ, ‘सबैको र सबैका लागि समृद्धि’ खोजेको छ । आकांक्षाको यो नयाँ स्तरले मान्छेको सोचको परिदृश्य र राजनीतिको रंगावलीलाई नै फरक बनाउँछ ।
हिजोको जस्तो ‘वामपन्थी’ वा ‘दक्षिणपन्थी’ दुईकोठे विभाजन र रंगावलीमा अब कसैले विश्वास गर्दैन । गर्न आवश्यक पनि छैन । राजनीतिक रंगावली अब ‘दुईकोठे’ बाट ‘चारकोठे’ भइसकेको छ । ‘वाम’, ‘दक्षिण’, ‘अग्र’ र ‘पश्च’ फरक-फरक राजनीतिक प्रवृत्तिका रूपमा हुर्किरहेका छन् । यिनीहरू बीच निश्चय नै खासखास प्रतिच्छेदन (इन्टरसेक्सन) र साझा चरित्र (ओभरल्याप)हरू छन्, तर ती आफैंमा फरक र मौलिक पनि हुन् ।
यी र यस्ता धेरै कारण छन्- जसले विश्वकै र नेपालको पनि राजनीतिक सोच र अभ्यासमा व्यापक नयाँ मोडको संकेत गर्दछन् ।
source https://www.onlinekhabar.com/2023/02/1265350
0 comments:
Post a Comment