Thursday, 16 February 2023

कसरी चुनिन्छन् नयाँ राष्ट्रपति ? ९ जिज्ञासा र जवाफ

५ फागुन, काठमाडौं । २५ फागुनमा हुने चुनावले पाँच वर्षका लागि गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चुन्नेछ । यसअघि १० पुसमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुख्य राजनीतिक पदहरुको बाँडफाटबारे समझदारी बने पनि बीचमा नयाँ घटनाक्रम विकास हुँदैछन् । यसबीच प्रतिनिधिसभाको सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रपतिको उम्मेदवार तय गर्नमा तल्लीन छन् । उनीहरु अरु दलको सहयोगमा उम्मेद्वार निर्वाचित गर्ने रणनीतिमा छन् ।

यसै प्रसंगमा अनलाइनखबरले ९ जिज्ञासा र जवाफ तयार पारेको छ ।

१. राष्ट्रपतिको चुनाव कसरी हुन्छ ?

राष्ट्रपति निर्वाचनमा जनताले प्रत्यक्ष मतदान गर्न पाउँदैनन् । जनताबाट निर्वाचित निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्छन् । संघीय संसद र सातवटै प्रदेश सभा सदस्यहरु रहेको निर्वाचक मण्डलबाट राष्ट्रपति चुनिन्छ । संविधानको धारा ६२ (१) मा भनिएको छ, ‘राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।’

संघीय संसदतर्फ प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी कूल ३३४ सदस्य छन् भने सातवटा प्रदेशसभाबाट गरी कूल ५५० सदस्य छन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि काठमाडौंमा मतदान केन्द्र तोकेको छ । सबै प्रदेश सभा सदस्यहरु मतदानका लागि काठमाडौं आउनुपर्नेछ ।

२. राष्ट्रपतिको उम्मेदवार हुन कस्तो योग्यता चाहिन्छ ?

संविधानको धारा ६४ अनुसार, राष्ट्रपतिको उम्मेदवार हुन बंशजको नेपाली नागरिक हुनुपर्नेछ । ४५ वर्ष उमेर पूरा भएको, संघीय संसदको सदस्य हुन योग्य भएको र कुनै कानूनले अयोग्य नभएको व्यक्ति उम्मेद्वार हुन पाउँछन् ।

सविधानको धारा ८७ मा भएको व्यवस्था हेर्ने हो भने नेपालको नागरिक, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति संघीय संसदको सदस्यको उम्मेदवार हुन सक्छ । यो योग्यता राष्ट्रपतिको उम्मेदवारको हकमा पनि लागू हुनेछ ।

३. राष्ट्रपति विद्यादेवी भण्डारी फेरि उम्मेदवार हुन सक्छिन् ?

संविधानले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिको उम्मेदवार हुन दिँदैन । संविधानको धारा ६४ मा ‘दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन’ भन्ने व्यवस्था छ । कसैकसैले उनी पहिलो कार्यकाल पूरा चलाउन नपाएकाले फेरि उठ्न पाउने भनी तर्क गर्ने गरेको सुनिन्छ । तर संविधानमा दुई पूर्ण पदावधि भनिएको छैन, ‘दुई पटक’ भनेर स्पष्ट किटान गरिएको छ । नेपालको संविधान अनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न मिल्दैन, अयोग्य ठहरिन्छ । त्यसैले हालकी राष्ट्रपति भण्डारी फेरि सो पदमा उठ्न पाउँदिनन् ।

४. राष्ट्रपति निर्वाचन प्रक्रिया कसरी अघि बढ्छ ?

निर्वाचन आयोगका अनुसार, आगामी १० फागुनमा मतदाता नामावली प्रकाशन हुनेछ । भोलिपल्ट अर्थात ११ गते मतदाता नामावलीमा दाबी बिरोध र उजुरी लिने समयतालिका छ । ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने, १२ गते अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।

१३ गते राष्ट्रपतिको पदको लागि मनोनयन पत्र दर्ता हुनेछ । उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्ने व्यवस्था छ । १३ गते नै उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

१४ गते उम्मेदवारको बिरुद्धमा उजुरी लिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने र त्यही दिन उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ गते उम्मेदवारलाई नाम फिर्ता लिन पाउँछन् र बाँकी उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । त्यसपछिको ९ दिन उम्मेदवारले प्रचारप्रसार गर्ने अवधि तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा प्रचारका लागि बढीमा १५ दिन मात्रै समय दिनुपर्ने व्यवस्था छ । यसपाली उम्मेदवारले ९ दिन मात्रै प्रचारप्रसारका लागि समय पाउनेछन् ।

५. के सबै मतदाताको मत समान प्रकृतिको हुन्छ ?

हुँदैन । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनमा जस्तो राष्ट्रपति निर्वाचनमा मतदाताको मतको मतभार बराबर हुँदैन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ मा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार सम्बन्धी व्यवस्था छ । उनीहरुको मतभार जनसंख्या अनुसार तय हुन्छ । २०७४ सालमा संघीय सांसद र प्रदेशसभा सदस्यको मतभार क्रमशः ७९ र ४८ थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल यसपटक पनि ०६८ कै जनगणनाका आधारमा मतभार तय हुने बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो जनसंख्याको आधारमा मतभार तय हुने कानुनी व्यवस्था छ । ०७८ को जनगणनाको पूर्ण विवरण नआएका कारण ०६८ कै जनगणना अनुसार मतभार तय गरिएको छ ।’

राष्ट्रपति निर्वाचनमा आम नागरिकको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले राष्ट्रपति चयन गर्ने भएकाले कूल जनसंख्याको अनुपातमा एक सांसदको मत तय गरिन्छ । संघीय संसदमा ३३४ र प्रदेश सभामा ५५० सांसद छन् । त्यसैले संघीय सांसदको मतभार केही बढी र प्रदेश सांसदको मतभार कम हुन गएको हो ।

६. मतभार निकाल्ने विधि के हो ?

राष्ट्रपति निर्वाचन ऐन अनुसार, कूल जनसंख्यालाई संघीय संसदको कूल संख्याले भाग गरेर आउने भागफललाई फेरी एक हजारले भाग गरेर एक संघीय सांसदको मतभार तय गरिन्छ । प्रदेश सांसदको हकमा पनि यही प्रक्रिया दोहोर्याइन्छ ।

२०६८ सालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यसलाई प्रतिनिधिसभा र राष्ट्रियसभाको कूल संख्या ३३४ ले भाग गरिन्छ । आएको भागफललाई १ हजारले भाग गर्दा ७९.३ आउँछ । यसरी संघीय संसदको मतभार ७९ भएको हो । प्रदेशसभाको ५५० सांसदको मतभार पनि यसरी नै तय गर्दा एक जना प्रदेश सांसदको मतभार ४८ भएको थियो ।

२०७८ सालको जनगणनाको संक्षिप्त विवरण अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यसलाई आधार मानेको भए संघीय सांसदको मतभार ८७ र प्रदेश सांसदको मतभार ५३ हुने थियो । तर निर्वाचन आयोगले ११ वर्षअघिकै जनगणनालाई आधार मानेकाले पुरानो मतभार फेरबदल भएन ।

७. कुन दलको मतभार कति ?

कूल मतभार नियाल्दा कांग्रेस र एमाले हाराहारीमा छन् । माओवादी केन्द्र तेस्रोमा छ ।

राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा ८९ सांसद रहेको कांग्रेसको मतभार ७,८२१ छ । प्रदेश सभातर्फ १७५ सदस्य जितेको कांग्रेसको मतभार ८,४०० हुन्छ । संघ र प्रदेश दुवैतर्फ जोड्दा कांग्रेसको कूल मतभार १६ हजार २२१ पुग्छ ।

एमाले कांग्रेसकै हाराहारीमा छ । दुवै सभातर्फ जोड्दा १५ हजार २८१ मतभार रहेको एमालेको प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा अध्यक्षसहित १७ सांसद छन् । जसको मतभार ७,५०५ हुन्छ । प्रदेश सभातर्फ देशभर १६२ सिट जितेको एमालेको मतभार ७,७७६ छ ।

राष्ट्रिय सभामा १६ सांसद रहेको माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । प्रदेश सभातर्फ उसले देशभर ८२ सिट जितेको छ । संघमा ३,७९२ मतभार रहेको माओवादी केन्द्रको प्रदेशसभा तर्फ ३,९३६ मतभार पुग्छ । दुवैतिर जोड्दा माओवादीको कूल मतभार ७,७२८ हुन आउँछ ।

तीनवटै सभाको कूल मतभार जोड्दा एकीकृत समाजवादीको दुई हजार ४७८, जनता समाजवादी पार्टी (जसपा) को दुई हजार ९७ मतभार छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा २० सिट जितेको थियो । नागरिकता विवादमा रास्वपा सभापति रवि लामिछानेको पद गएका कारण उक्त दलसँग अहिले १९ सिट मात्रै छ । यसरी रास्वपाको मतभार १,५०१ मा झरेको छ ।

प्रदेश सभा र प्रतिनिधिसभा समेत जोड्दा जनमत पार्टीको १,२४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५, नेमकिपाको २२३, राष्ट्रिय जनमोर्चाको १५८, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र मतभार १२८७ छ ।

८. निर्वाचित हुन कति मत चाहिन्छ ?

संघीय संसदका ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्छन् । जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरुको कूल मतभार २६ हजार ४०० सय हुन आउँछ ।

राष्ट्रपति निर्वाचनमा कूल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ । संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ ।

९. एकै चरणको निर्वाचनबाट राष्ट्रपति चयन सुनिश्चित हुन्छ ?

एउटै निर्वाचनले राष्ट्रपति चयन सुनिश्चित नहुन पनि सक्छ । संविधानको धारा ६२ मा रहेको निर्वाचन प्रक्रिया सम्बन्धी व्यवस्था अनुसार पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो निर्वाचनमा ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । यदि दोस्रो चरणको निर्वाचनमा पनि कसैले ५० प्रतिशत मतभार ल्याउन नसकेमा तेस्रो पटक मतदान हुनेछ । तेस्रो पटकको मतदानमा भने कूल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।



source https://www.onlinekhabar.com/2023/02/1264391

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More