Wednesday 31 May 2023

गाउँमा पुगे शहरका फोहोर 

१८ जेठ, दाङ । दाङको बजार क्षेत्रबाट निस्कने फोहोरले गाउँलाई समेत प्रदूषित बनाइरहेको छन् । जिल्लाको प्रमुख बजार क्षेत्र घोराही, तुलसीपुर र लमहीबाट निस्कने फोहोरहरु खोला, कुला हुँदै खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीय चिन्तित छन् । शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लागेको र गाईवस्तु बिरामी भएको गुनासो स्थानीयको छ ।

घोराही उपमहानगरले बजार क्षेत्रमा हरेक दिन फोहोर संकलन गर्छ । तर कतिपयले कटुवा खोलामै फोहोर फाल्ने गर्छन् । तिनै फोहोर बग्दै गाउँको खेतबारीसम्म आइपुग्ने घोराही–१६ वयरबटुवाका किसान हरिराम चौधरी बताउँछन् । ‘बजारका फोहोर जति बगेर गाउँमा आइपुग्छ,’ चौधरी भन्छन्, ‘खेतबारीमा प्लाष्टिक र सिसाका फोहोरहरु थुप्रिएका छन् ।’ त्यो फोहोरले बालीनालीमा असर गरिरहेको उनले बताए ।

घोराही उपमहनगरपालिका–६ फचकपुरका मणिराम बुढाथोकी फोहोरकै कारण गाईवस्तु पनि बिरामी हुन थालेको बताउँछन् । ‘पहिले–पहिले खोलाका पानी गाईवस्तुलाई खुवाउन र सिंचाइ गर्न हुन्थ्यो,’ बुढाथोकी भन्छन्, ‘बजारका फोहोरले खोला जति सबै दूषित भइसके । त्यही दूषित पानी पिउँदा गाईवस्तु बिरामी पर्न थाले ।’ खोला र कुलाका दूषित पानीले सिंचाइ गर्दा अन्नबालीमा नयाँ रोगहरु देखा पर्ने र उत्पादन समेत घट्ने गरेको उनी बताउँछन् ।

गाउँघरका कुला, खोल्सामा फोहोर थुप्रिन थालेपछि गाउँको सुन्दरता हराउँदै गएको चिन्ता स्थानीयलाई छ । तुलसीपुर उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका माधव पौडेल पनि शहरवासीले खोलामा फालेका फोहोरले गाउँसम्म प्रदूषण फैलिरहेको बताउँछन् । शहरवासीलाई सजग गराउँदागराउँदै पनि खोला, कुलाहरुमा फोहोर फाल्ने क्रम नारेकिएको उनी बताउँछन् । ‘जथाभावी फालेका फोहारहरु गाउँसम्म पुगिरहेका छन्,’ उनी भन्छन्, ‘यसले शहरमात्रै हैन, गाउँवस्तीमा समेत फोहोरमैला बढीरहेको छ ।’

पालिकाहरुले जथाभावी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था समेत गरेका छन् । ‘तैपनि फोहोर फाल्नेक्रम रोकिएको छैन,’ पौडेल भन्छन् ।

उठ्दैनन् गाउँका फोहोर

घोराही, तुलसीपुर र लमही दाङ जिल्लाका प्रमुख बजार क्षेत्र हुन् । घोराही उपमहानगरपालिकामा २०, तुलसीपुर उपमहानगरपालिकामा २५ र लमही नगरपालिकामा ६ टन गरी जिल्लामा दैनिक ५१ टन फोहोर संकलन हुँदै आएको छ । फोहोर संकलन गर्न घोराहीले १०, तुलसीपुरले ६ र लमहीले ४ वटा गाडीहरु प्रयोग गर्ने गरेका छन् । बजारबाट संकलन गरिएका फोहोर पालिकाहरुले ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गर्दै आएका छन् ।

तर ग्रामिण क्षेत्रको फोहोर व्यवस्थापनमा भने पालिकाहरुले वास्ता गरेका छैनन् । शहर क्षेत्रमा हरेक दिन फोहोर उठाइरहँदा गाउँमा थुप्रिएको फोहोर भने उठाउने गरिएको छैन । सड्ने गल्ने फोहोर खेतबारीमै मिले पनि नकुहिने प्लास्टिक र सिसाजन्य फोहोर भने गाउँमै अलपत्र देखिन्छन् ।

लमही नगरपालिका वन वातावरण तथा विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापा धेरै फोहोर बजारमै उठ्ने भएकाले बजार क्षेत्रमा बढी केन्द्रित भएको बताउँछिन् । उनले बजारसँगै जोडिएका केही भेगमा फोहोर उठाउने काम भए पनि सबैतिर उठाउन नसकेको बताइन् । ‘फोहोरमैलाहरु शहरमै बढी निस्कने भएकाले बजार क्षेत्रमै बढी जोड दिन्छौं,’ उनले भनिन्, ‘सबै ठाउँमा फोहोर भएको हामीलाई थाहा पनि हुँदैन । त्यस्तो सूचना आए गाडी पठाएर फोहोर उठाउँछौं ।’ उनले यसका लागि टोल विकास संस्थाहरुसँग पनि समन्वय गरिरहेको बताइन् ।

फोहोर किन्ने घोराहीको योजना

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी शहर बजारका फोहोरको मुहान भएकाले सबैभन्दा पहिले मुहानमै सफा गर्न जोड दिने बताउँछन् । ‘शहरका खोला प्रदूषित हुँदा फोहोर गाउँसम्म पुगिरहेको छ,’ उनले भने, ‘सुरुमा हामी मुहान सफा गर्छाैं र गाउँमा पनि सरसफाइ अभियान चलाउँछौं ।’

फोहोरलाई व्यवस्थापन गर्न उपमहानगरले आउँदो वर्षदेखि स्थानीयबाट फोहोर खरिद गर्ने योजना बनाएको सुनाए । ‘गल्ने र नलग्ने फोहोर छुट्याउन लगाएर गाउँ र टोलहरुबाट फोहोर खरिद गर्छाैं,’ उनले भने, ‘यसले स्थानीय पनि लाभान्वित हुन्छन्, फोहोर पनि व्यवस्थापन हुन्छ ।’



source https://www.onlinekhabar.com/2023/06/1315929

स्वस्थ र दीर्घ जीवनका लागि यी १० खानेकुराबाट टाढै रहनुहोस्

मोटोपन सुन्दा जति सामान्य लाग्छ, शरीरका लागि त्यति नै घातक समस्या पनि हो यो । आम समस्या नै बनेको मोटोपनलाई यो दशककै दीर्घ रोगको जोखिम गराउने कारकको रुपमा लिइएको छ । मुख्यतयाः खानपिनको उचित व्यवस्थापनको अभावमा देखिने यसले व्यक्तिमा अन्य जटिल रोग निम्त्याउने विभिन्न अध्ययनले देखाएका छन् ।

यसै सन्दर्भमा विश्वका अधिकांश जनसंख्यालाई कुपोषणले भन्दा आवश्यकताभन्दा बढी खानेकुराले मृत्युको मुखमा छिटो पुर्‍याएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को निष्कर्ष छ ।

यस्तै, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले पनि अनियन्त्रित तौल वृद्धिले मुटु रोगजस्ता घातक रोग बढिरहेको पुष्टि गरेको छ ।

त्यसैले समयमै दीर्घ रोगबाट बच्दै स्वस्थ र लामो जीवनयापन गर्नका लागि दैनिक के कस्ता खानेकुरा खाइरहेका छौं भन्ने कुरामा ध्यान दिनु अत्यावश्यक रहेको जीवनशैली प्रशिक्षक तथा आहारविद् राजु अधिकारी बताउँछन् ।

‘दीर्घ जीवन बाँच्न २४ घण्टा नै के खाँदै छौं र कति मात्रामा खानु उचित हो भन्ने मूल्यांकन गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘जे खानुहुन्छ, जसरी खानुहुन्छ त्यसले नै शरीर बनाउँछ ।’ यो भनाइ केही हदसम्म सत्य साबित हुने दुई दशकभर भएका केही अनुसन्धानले देखाउँछन् ।

कस्ता खानेकुरा दैनिक खाँदा स्वास्थ्यलाई असर गर्छ ?

१. प्रशोधित मासु

प्रशोधित मासु बनाउन धेरै खालको प्रक्रिया लाग्छ । त्यसपछि मात्र सर्वसाधारणकहाँ पुग्छ । त्यस्ता मासुलाई भण्डारण गर्न अत्यधिक नुनको प्रयोग, सुख्खा पार्न अपनाइने विधि, साथै त्यसलाई कुहिन नदिन हानिकारक रसायनहरु अस्वस्थकर हुन् । त्यसैले यदि स्वस्थ र लामो जीवनयापन गर्न चाहनुहुन्छ भने तपाईंको रोजाइमा पर्ने प्रशोधित मासुको बारेमा एकपटक सोच्नैपर्ने हुन्छ ।

बायोएमएड सेन्ट्रलले सन् २०१३ मा १० ठूला युरोपियन देशहरुमा गरेको अध्ययनले जो व्यक्ति दैनिकजसो प्रशोधित मासु खान्छन् । उनीहरुमा ४४ प्रतिशत क्यान्सर र मुटुरोगको जोखिम पाएको थियो । आधा लाख भन्दा बढी व्यक्तिमा भएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

साथै, प्रशोधित मासुमा उच्च मात्रामा नुन हालिएको हुन्छ, जसले उच्च रक्तचाप बढाउँछ । त्यस्तै त्यसमा हुने नाइट्रेटले धमनीहरू अवरुद्ध हुन सक्छ । सन् २०१० मा हार्वर्ड स्कुल अफ पब्लिक हेल्थद्वारा प्रकाशित अर्को एक अध्ययनमा विश्वभरबाट १६ सय केस स्टडीको नतिजा एकदम डरलाग्दो थिए । नियमित रूपमा प्रशोधित मासु खाने व्यक्तिमा मधुमेहको खतरा १९ प्रतिशत बढेको देखियो । त्यसैले घरमा कसैलाई मधुमेह वा मुटुरोग भएमा त्यस्तो मासु खान रोक्नु उचित हुने विज्ञहरुको सुझाव छ ।

२. चाउचाउ

सस्तो, छिटो र मीठो । बालकदेखि वृद्धसम्मको रोजाइमा पर्छ चाउचाउ । त्यति मात्र होइन, रातको समयमा कामबाट थाकेर आउँदा सजिलो विकल्प पनि हो यो । चाउचाउ सबैभन्दा बढी बिक्री हुने खानेकुरामा पर्छ । तर स्वस्थ जीवनको लागि भने यो राम्रो विकल्प हुँदै होइन ।

चाउचाउमा भण्डारण गर्ने विधि, त्यसमा लगाइने रङ, मिसाइने हानिकारक रसायन, आर्टिफिसियल फ्लेभरका कारण यो स्वास्थ्यका लागि हितकारी मानिंदैन । त्यस्तै यसमा अत्यधिक सोडियम र फ्याट हुन्छ । यी हानिकारक मिश्रित तत्वले पक्कै पनि शरीरलाई छिटो रोगी बनाउँछ । सन् २०१४ मा साउथ कोरियाली जर्नल द जरनल अफ न्युट्रीसियनले १० हजार वयस्कमा गरेको अध्ययनले सातामा दुईदेखि तीन पटक चाउचाउ खानेहरुमा मेटाबोलिक सिन्ड्रोमको उच्च जोखिम हुन्छ ।

यो सिन्ड्रोमले रगतमा चिनीको मात्रा, उच्चरक्तचाप र कोलेस्टेरोल बढाउन सक्छ । जुन मुटुरोगको जोखिम कारक मानिन्छ । उच्च सोडियमले मिर्गौला र मुटुरोगको जोखिम बढाउँछ । त्यसैले सकेसम्म चाउचाउ खानुअघि विचार पुर्‍याउनु राम्रो हुन्छ ।

३. सुगर फ्री 

बजारमा स्वस्थ भनेर वैकल्पिक चिनी अर्थात् सुगर फ्री भनिएका सामग्री बेचिएका हुन्छन् । प्रायः मधुमेह भएकाहरुले स्वादको लागि र डाइट गरेकाहरुले पनि चिनीको विकल्पमा उपभोग गर्छन् । पछिल्ला अध्ययनले चिनी कम गर्छु भन्दै सुगर फ्री खानु खतरा साबित हुने देखाएको छ । अध्ययन अनुसार सुगर फ्रीको सेवनले रगतमा चिनीको स्तर पनि बढाउने गर्छ । यति मात्र होइन यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि असर गर्छ । साथै, मधुमेह र मोटोपनको जोखिम बढाउँछ ।

४. तारेको खानेकुरा

डिप फ्राइड परिकार विश्वव्यापी रूपमा पाइन्छ, यसलाई अधिकांश मानिसले रचाउँछन् । आलु चिप्स, फ्राइड चिकन, फ्रेन्च फ्राइज, प्याज रिंगजस्ता धेरै परिकार छन् जुन सबैको रोजाइमा पर्छन् । धेरै अध्ययन अनुसार तारेको वा भुटेको खानेकुरा दैनिक खाँदा दीर्घरोगको जोखिम बढ्ने मात्र नभई बिस्तारै मुटुको धमनीमा असर गर्दै जान्छ । खारेर पकाएको खानेकुरामा बढी क्यालोरी हुनुका साथै फ्याट पनि अत्यधिक हुन्छ । सन् २०१५ मा द जर्नल अफ अमेरिकन हार्ट एसोसियसनले गरेको अध्ययनले दैनिक डिप फ्राइ गरेको खानेकुरा खाने व्यक्तिमा मुटु फेल हुने सम्भावना अत्यधिक हुने निष्कर्ष निकालेको थियो ।

यदि लामो स्वस्थ जीवन चाहनुहुन्छ भने कार्बोहाइड्रेटयुक्त खानेकुरा तेलमा खारिएर फ्राइ नगर्न विज्ञहरुको सुझाव छ ।

५. सोडा र सफ्ट ड्रिंक्स पिउन रोक्नुहोस्

पानीपछि सबैको रोजाइमा सफ्ट ड्रिंक्स पर्छ । यसमा सोडामा ४४ ग्राम चिनी हुन्छ । एउटा सोडाले मृत्युमा पुर्‍याउने जतिको हानि गर्दैन तर सफ्ट ड्रिंक दैनिकजसो खाँदा रगतमा भने चिनीको मात्रा बढाइदिन्छ । अत्यधिक चिनीको मात्राले मोटोपनको दर बढाउँछ, जसले मधुमेह, उच्च रक्तचाप बढाउन जिम्मेवार मानिन्छ । अमेरिकन सोसाइटी फर क्लिनिकल न्युट्रीसियनले सन् २००६ मा प्रकाशित गरेको अध्ययनले सफ्ट ड्रिंक्समा हड्डीको घनत्वमा असर गर्ने देखाएको थियो । त्यति मात्र होइन, त्यसभन्दा अघि नै सन् २००१ मा भएको अध्ययनले बालबालिकामा पनि मोटोपन बढाउने निष्कर्ष निकालेको थियो ।

६. माइक्रोवेब पपकर्न

चिन्ता नगर्नुहोस्, भुटेको पपकर्न आफैंमा एउटा स्वस्थकर खानेकुरा हो । तर माइक्रोवेबाट पपकर्न बनाउनु हुन्छ भने एकपटक सोच्नैपर्ने हुन्छ । त्यसमा प्रयोग हुने माइक्रोवेबको ब्याग अस्वस्थकर भएको अमेरिकी अमेरिकाको खाद्य तथा औषधि विभागले जनाएको छ । जसअनुसार पपकर्नमा पेरफ्लुओरोक्टेनोइक एसिड हुन्छ ।

ह्युमन रिप्रोडकसन जर्नलमा यस एसिडले बाँझोपन निम्त्याउन सक्ने र थाइराइड विकार विकसित गराउन सक्ने उल्लेख छ ।

७. क्यान फुड

माइक्रोवेब पपकर्नमा पाइने केमिकल जस्तै खतरनाक केमिकल क्यानमा पनि हुन्छ । क्यानमा बिस्फेनल भन्ने पदार्थ मिसाइएको हुन्छ, जसले धेरै खालको रोगको जोखिम बढाउँछ  । ह्युमन रिप्रोडकसन जर्नल अनुसार यसले शरीरको  प्रणालीलाई नै हस्तक्षेप गर्छ । जसले छिट्टै बाँझोपन, क्यान्सर  र मोटोपनजस्ता रोग ल्याउन सक्छ, त्यति मात्र नभई स्तन क्यान्सर पनि गराउन सक्ने देखाउँछ ।

८. आइसक्रिम

आइसक्रिम घुम्न जाँदा होस् वा गर्मी मौसममा । यसमा हुने विभिन्न किसिमका फ्लेवरले जिब्रोलाई आनन्द त दिन्छ नै यसमा हुने चिसोपनले शरीरलाई ठण्डा पनि बनाउँछ । तर यसमा मिसाइने तत्व भने स्वास्थ्यका लागि अनुकूल मानिंदैन । अत्यधिक मात्रामा चिनी, दूधमा हुने फ्याटले व्यक्तिलाई मोटोपन बढाउँछ । साथै, कोलेस्टेरोल पनि उच्च हुन्छ, जसले गर्दा बोसो जम्छ । परिणामस्वरूप धमनीमा अवरोध ल्याउँछ ।

बेफाइदा त्यतिमै सीमित छैन । आइसक्रिम दाँतलाई खराब बनाउने प्रमुख कारकको रुपमा लिइन्छ ।

९. इनर्जी ड्रिंक्स

मेडिकल न्युज टुडेमा प्रकाशित लेखअनुसार एनर्जी ड्रिंक्समा प्राकृतिक तत्व खासै हुँदैन । यसमा हुने सिन्थेटिक तत्वहरुले शरीरलाई नै अलमल पार्छ ।  प्रायःजसो यस्ता पेयमा क्याफिन र चिनी पाइन्छ । यसमा हुने ११ प्रतिशत कोरोसिभ हुन्छ, जसले दाँतको जरालाई त खराब गर्छ नै कलेजोलाई पनि असर गर्छ । अध्ययनहरुले दैनिक इनर्जी ड्रिंक्स खाने व्यक्तिमा कलेजोलाई छिटो असर गर्ने, मुटु स्वास्थ्यमा दखल दिने, टाउको दुखाउने सम्भावना देखाएको छ ।

१०. दुनोट र अन्य बेकरी आइटम

बिहान तातो दुनोट खानुको मज्जा नै बेग्लै हुन्छ । पेट भोको भएको अवस्थामा कोकिज वा केक टेबल अगाडि देखेपछि खाउखाउ लाग्ने गर्छ । यसमा पनि स्वस्थकर तत्व हुन्छन्, जसले स्वास्थ्यलाई हानि पारिरहेको हुन्छ । यसमा प्रशोधित पीठो प्रयोग हुन्छ, जसमा कुनै पोषण हुँदैन । त्यस्तै, दुनोटमा अत्यधिक चिनी हुन्छ । अत्यधिक चिनीलाई शरीरले टुक्र्याउन सक्दैन । जसले बोसो बन्न सघाउ हुन्छ । दुनोटमा २० ग्राम जति फ्याट हुन्छ, जुन स्वास्थ्यको लागि उपयुक्त मानिंदैन ।

एजेन्सीको समेत सहयोगमा



source https://www.onlinekhabar.com/2023/06/1315698

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

१८ जेठ, काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।



source https://www.onlinekhabar.com/2023/06/1315852

सेयरको कर नीतिबारे सरकारको स्पष्टीकरण

१७ जेठ, काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका विषयमा लिएको कर नीतिमा लगानीकर्ता द्विविधा उत्पन्न भएको बताएको छ । नेपाल इनभेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूाजीबजार लगानीकर्ता संघको संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त भएको विभागले जनाएको छ ।

‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवम् सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’



source https://www.onlinekhabar.com/2023/05/1315837

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भेटवार्ता

१७ जेठ, काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता भएको छ।

बुधवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरुसँग भेट गरेको हो।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

उनले भने, ‘उहाँ छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो। उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल गर्‍यौँ।दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो ।’

उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए ।

‘दुई सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्‍यौँ।’ उनले भने ।

भेटमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ।

साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो।



source https://www.onlinekhabar.com/2023/05/1315396

‘चेन्नई स्टोरी’बाट हलिउडमा डेब्यु गर्दै सामन्था

काठमाडौं । फिल्म ‘पुष्पा’को ‘उ अन्तावा’ गीतबाट हलचल मच्चाएकी दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले दिनप्रतिदिन सफलताको नयाँ उडान भरिरहेकी छन् । उनी अहिले सर्बियामा वरुण धवनसँग ‘सिटाडेल’को सुटिङ गरिरहेकी छिन्, जुन प्रियंका चोपडाको सोही नामको वेब सिरिजको भारतीय संस्करण हो ।

अब सामन्थाका फ्यानका लागि अर्को खुसीको खबर छ । अर्थात्, सामन्थाले आफ्नो पहिलो हलिउड फिल्म पाएकी छिन् । उनले छिट्टै हलिउड फिल्म ‘चेन्नई स्टोरी’को सुटिङ सुरु गर्नेछिन् । मिडिया विवरणका अनुसार ‘सिटाडेल’ वेब सिरिजमा काम सकिएपछि सामन्थाले अभिनेता विवेक कालरासँग आफ्नो पहिलो अंग्रेजी फिचर फिल्मको सुटिङ सुरु गर्नेछिन् । टिमरी एन मुराको उपन्यास ‘द हजेमेन्ट अफ लभ’मा आधारित हुने यो फिल्मलाई बाफ्टा विजयी निर्देशक फिलिप जोनले निर्देशन गर्दैछन् ।

फिल्म दक्षिण एसियाली वेल्सम्यान (विवेक कालरा)को कथा भन्छ जो आफ्नो पिताको पात्रको लागि चेन्नईको यात्रामा निस्कन्छ । त्यस क्रममा जासूसको भूमिकामा सामन्था रुथ प्रुभले सहायता माग्छिन् । रोम-कमको कथावस्तुमा आधारित फिल्ममा पूर्व र पश्चिमा संस्कृतिलाई सेलिब्रेट गरिएको छ । यी दुई संस्कृतिलाई जोड्दै भिन्नतालाई पनि प्रस्तुत गरिएको छ । यसबाहेक प्रेमलाई पनि चित्रण गरिनेछ ।

यो फिल्मको छायांकन भारतको चेन्नई र बेलायतमा हुनेछ । यो अंग्रेजी र तमिल दुवै भाषामा रिलिज हुने अपेक्षा गरिएको छ । यसबाहेक सामन्थासँग फिल्म ‘कुशी’ पनि छ, जसमा उनीसँगै विजय देवरकोंडा पनि छन् । यो फिल्म सेप्टेम्बर १ मा रिलिज हुँदैछ ।



source https://www.onlinekhabar.com/2023/05/1315388

Tuesday 30 May 2023

एनएमबि बैंक लुटपाट : प्रहरी प्रमुख भन्छन्- स्क्रिनिङ गरिरहेका छौं, कसैलाई पक्राउ गरेका छैनौं

१७ जेठ, काठमाडौं । महोत्तरीको एनएमबि बैंक लुटपाटमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।

महोत्तरी गाउँपालिकास्थित एमएबि बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएका चार जना व्यक्ति प्रवेश गरी पेस्तोल देखाएर नगद लुटपाट गरेका थिए । लुटेराहरु मोटरसाइकल चढेर फरार भएका थिए । लगत्तै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा खोजी सुरु गरेको थियो ।

महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लले हुलियाको आधारमा लुटेरासमूहको खोजी जारी रहेको जानकारी दिए । ‘शंकास्पद व्यक्तिहरुलाई स्क्रिनिङ जारी राखेका छौं,’ एसपी मल्लले भने, ‘तर कसैलाई पक्राउ गरेका छैनौं ।’

उनका अनुसार नेपाल-भारत सिमानामा कडाइ गर्दै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी छ ।

‘लुटपाटमा चार जनाको टोली छ । एक तला माथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’ एसपी मल्लले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।

सो समूहले करिब ३५ लाख रुपैयाँ लुटपाट गरेको बैंकका कर्मचारीहरुले बताएका छन् ।



source https://www.onlinekhabar.com/2023/05/1315277

कति समयको फरकमा खाना खानु राम्रो ?

व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् ।

सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ ।

हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ । ९ बजे हतारहतार गरेर खाना खायो । दिउँसो १ देखि २ बजेसम्म अफिसमा खाजा खाने समय हुन्छ, भोक नलागे पनि खाइदिन्छौं । तर खानाको साथै खाना खाने समयको ख्याल राखे पाचन प्रक्रियासम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

कुन समयमा खाने ?

खाना खाने सबैभन्दा उचित समय भनेको भोक लागेपछि हो । किनकि भोक लागेको बेला खाना पचाउने पाचन रसहरू उत्पादन हुन्छन् । जसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ ।

हामीले खाएको खाना पच्न चारदेखि ६ घण्टा लाग्ने भएकाले त्यही समयको अन्तरालमा खाना खानु उचित हुन्छ । यदि बिहान ५ बजे उठियो भने उठेर फ्रेस भएको ४५ मिनेटभित्र बिहानको खाजा खानु राम्रो हुन्छ ।

बिहानको खाजा कस्तो खाएको हो त्यही अनुसार समय अन्तरालमा खाना खानु उचित हुन्छ । यदि कार्बोहाइड्रेटवाला खाजा खाइएको हो भने चार घण्टापछि १० बजेपछि खाना खानु राम्रो हुन्छ । तर यदि बिहानको खाजा प्रोटिनवाला खाएको छ भने ६ घण्टापछि अर्थात् मध्यान्ह १२ बजेपछि खाना खानु राम्रो हुन्छ ।

१० बजेपछि बिहानको खाना खाएको छ भने २ बजेपछि खाजा खानुपर्छ । खाजा कस्तो खाएको छ त्यही अनुसार चारदेखि ६ घण्टाको अन्तरालमा बेलुकाको खाना खानु उपयुक्त हुन्छ । यसरी हामीले दिनभरिमा खाने चार पटकको खानालाई उचित समयमा खायौं भने हाम्रो तौल पनि नियन्त्रणमा रहन्छ ।

(पोषणविद् महर्जनसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)



source https://www.onlinekhabar.com/2023/05/1315065

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने छ। ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले पनि भ्रमणमा सके राम्रो गर्ने नसके कुनै नराम्रो काम नहुने बताउँदै आएका छन् ।

यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब छ ।



source https://www.onlinekhabar.com/2023/05/1315198

साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ का लागि प्रारम्किभ टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मंगलबार ३० सदस्यीय टोली घोषणा गरेका हुन् ।

आगामी जुन २१ देखि भारतमा हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारत, पाकिस्तान र कुवेतसँग समूह ए मा छ ।

माल्दिभ्स, बंगलादेश, भुटान र लेवनोन समूह बी मा छन् ।

प्रारम्भिक टोली

गोलकिपर : किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ

डिफेण्डर : बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिस गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन

मिडफिल्डर : पुजन उपकरोटी, एरिक विष्ट, नविन लामा, मणि कुमार लामा, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्ड : आयुष घलान नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेम्जन



source https://www.onlinekhabar.com/2023/05/1315186

राजमार्ग विस्तारका लागि भत्काइयो शहीदगेट

१६ जेठ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त शहीदगेटको निर्माण गरेको थियो । शहीदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका शहीदको विवरण समेटिएको थियो ।

मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।

मुग्लिन पोखरा सडक विस्तार : रु पाँच अर्ब ४२ करोड विनियोजन

सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । ।

मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताउनुभयो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीस्थित सडकमा दुई सय मिटर दूरीमा परीक्षण गरिएको सुवेदीले बताए । उनले भने, ‘यसको जाँच गर्ने काम सुरु भएको छ, यसको मोटाइलगायतका पक्षको जाँचको प्रतिवेदन आएपछि कालोपत्र नै सुरु गर्ने तयारीमा छौँ।’ वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उहाँको भनाइ छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ।

यो खण्डको म्याद २०८१ साल वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई २०७८ साल भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

यस्तै तनहुँको डुम्रेबाट मनाङको चामेसम्म सडक विस्तारका लागि बजेट विनियोजन गरिएको छ । डुम्रेबाट लमजुङको बेँसीसहर हुँदै मनाङको चामेसम्मको सडक विस्तारका लागि रु ३४ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रेबाट बेँसीसहर हुँदै मनाङ पुग्ने उक्त सडकलाई २५ वर्षपछि दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ । यो सडकको दूरी तनहुँको डुम्रेबाट पाउँदीसम्म २४ किलोमिटर, पाउँदी–बेँसीसहर १८ किलोमिटर र बेँसीसहरबाट मनाङ सदरमुकामसम्म ६५ किलोमिटर छ।

तनहुँको डुम्रेबाट २०२९ सालमा खन्न सुरु गरिएको सडक बेँसीसहरको ४२ किमीसम्म पुर्याउन साढे एक दशक लागेको थियो । २०४६ सालमा ट्रयाक खुलेकामा २०५२ सालदेखि सिङ्गल लेनको कालोपत्र गरिएको थियो ।–



source https://www.onlinekhabar.com/2023/05/1314866

Monday 29 May 2023

कांग्रेसको लिगेसी झल्किने बजेट : डा. युवराज खतिवडा

१६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको स्वरुपजस्तै बजेट आएको टिप्पणी गरेका छन् ।

उनको भनाइमा निजीकरण, उदारीकरण, दोस्रो चरणको आर्थिक सुधार, स्वदेशीभन्दा विदेशी पुँजीको प्रवर्द्धनको नीतिसहित नेपाली कांग्रेसको दर्शन झल्किने बजेट आएको छ ।

राजकीय क्षेत्रभन्दा निजी क्षेत्र नै बलियो हुनुपर्छ, सबै कुरा निजी क्षेत्रले नै गर्ने हो भन्ने मानसिकता बजेटमा झल्किएको उनको टिप्पणी छ । त्यसकै आधारमा निजीकरण गर्ने, कम्पनीकरण गर्ने र कतिपय संस्थाहरु बन्द गर्नेसम्मका कार्यक्रम आएको डा. खतिवडाले बताए ।

‘लेगेसी छोड्न सकेको छैन, नेकपा एमाले सरकारले ल्याएको कार्यक्रमलाई पनि नजरअन्दाज गर्न सकेको छैन’, उनले भने, ‘नीति तथा कार्यक्रममा छुटेका कार्यक्रम पनि समेटेर ल्याएछ भने कतिपय कार्यक्रम अलि फरक ढंगले पुनर्संरचना गर्ने भन्दै पनि ल्याइएको छ ।’

बजेटलाई ‘कक्टेल’ को संज्ञा दिंदै उनले अर्थमन्त्रीले बजेटको आकारमा आँट गरेको बताए । तर, कटाउनुपर्ने कार्यक्रमहरु पनि थप्ने काम भएको बताए । सांसदका लागि बजेट दिने स्थानीय पूर्वाधार विकास कार्यक्रम नल्याएको भए राम्रो हुने भन्दै डा. खतिवडाले ग्रामीण विकास भनेर प्रदेश र स्थानीय तहले गर्ने कार्यक्रम राखिनु संघीयताको मर्म अनुरुप नभएको टिप्पणी गरे ।

कुनै मन्त्रालयको बजेट एक तिहाइले घट्ने र कुनै मन्त्रालयको बजेट दोब्बरले बढ्ने गरी बजेट ल्याइएको खतिवडाले बताए । पूर्वाधार निर्माण गर्ने अन्य मन्त्रालयको बजेट घट्दा शहरी विकास मन्त्रालयको बजेट घटेको भन्दै उनले कांग्रेसका मन्त्रीहरु रहेको मन्त्रालयहरुको बजेट बढाइएको हो कि भन्ने आशंका व्यक्त गरे ।

शिक्षामा खासै बजेट नबढ्दा शहरी विकासको बजेट बढेको उदहारण दिंदै उनले कतै सिलिङ नलाग्ने र कतै लाग्ने अवस्था देखिएको बताए ।

‘गठबन्धनभित्रै यस्तो समझदारी हो भने हामीलाई केही छैन, तर राजस्व पनि लक्ष्यअनुसार उठ्दै छैन, दातृ निकायको थप स्रोत दिइरहेका छैनन्, आन्तरिक ऋण उठाउने ठाउँ छैन,’ उनी भन्छन्, ‘यस्तो बेलामा कुनै खास-खास मन्त्रालयको बजेट किन बढ्छ ? त्यहाँ बजेट एक किसिमले मन्त्रीको अनुहार हेरर ढल्केको छ कि ?’

उनले साधनस्रोत सीमित हुँदा ४९६ वटा बुँदा भएको बजेट आएको भन्दै बजेटको आकार मात्रै नभएर वक्तव्यको आकारमा पनि प्रश्न उठ्ने बताए ।

चालु खर्च घटाउने कुरा अर्थमन्त्रीले मात्रै चाहेर नहुने भन्दै उनले प्रधानमन्त्रीले चाहे मात्रै बजेटको चालु खर्च कटौतीको योजना सफल हुने बताए । चालु आर्थिक वर्षमा २० प्रतिशत चालु खर्च कटौती गर्ने योजना कार्यान्वयन हुन नसकेको उदहारण दिंदै खतिवडाले अर्थमन्त्रीले चाहेर मात्रै नहुने बताए ।

‘प्रोत्साहन भत्ता त मैले पनि हटाएको थिएँ, भोलिपल्टैबाट दबाव आउन थाल्यो’, उनले भने, ‘खर्च कटौतीको घोषणा कार्यान्वयनमा अर्थमन्त्रीको परीक्षा नै हुन्छ ।’

अहिले दैनिक अढाइ अर्ब राजस्व उठिरहँदा यो वर्षको संशोधित राजस्व लक्ष्य भेट्टाउन दैनिक साढे ८ अर्ब पुर्‍याउनुपर्ने अवस्था रहेको बताए । ‘अब १५ गते र १७ गतेबीचमा के फरक पर्ला र ?’ उनले भने, ‘यो वर्ष ११ खर्ब राजस्व उठ्यो भनेपनि अर्को वर्षको राजस्व लक्ष्य भेट्टाउन करिब २९-३० प्रतिशत राजस्व असुली बढाउनुपर्छ, त्यो अहिलेको अवस्थामा कसरी सम्भव होला ?’

यसकै कारण यही बजेटमा पनि कटौती गर्नुपर्ने अवस्था आएर प्रदेश र स्थानीय तहमा जाने पैसा काट्ने र विकास प्रकृतिका पूँजीगत खर्च रोक्नुपर्ने अवस्थामा सरकार पुग्ने उनको आकलन छ ।

‘आन्तरिक ऋण २४० अर्ब उठाउने भन्नु भएको छ, त्यो त्यति धेरै त होइन’, उनी भन्छन्,’ बैंकिङ प्रणालीमा त्यति नै तरलता छ, अहिलेको तरलताको स्थितिामा त्यो सबै सरकारले लियो भने त समस्या हुन्छ ।’

वैदेशिक लगानीमा ‘अपरेसनल’ कुरा गरेर लामो घोषणा मात्रै भएको भन्दै उनले अपील गर्ने कुरा समेत बजेट भाषणमा आएको टिप्पणी गरेका छन् । ‘एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछु भन्दा भइहाल्थ्यो’, उनी भन्छन् ।



source https://www.onlinekhabar.com/2023/05/1314758

स्थानीय तहको स्रोत कटौती, संघीयतामा प्रश्न

१५ जेठ, काठमाडौं । सरकारले सोमबार ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको उद्देश्य मध्ये एउटा उद्देश्यमा भनेको छ, ‘संघीयताको सवलीकरण र सुशासन कायम गर्ने ।’

बजेटकै बुँदा नम्बर ४२३ मा भनिएको छ ‘राजस्व बाँडफाँट र वित्त हस्तान्तरणलाई प्रभावकारी बनाई वित्तीय संघीयतालाई सवल बनाइनेछ ‍।’

उद्देश्य संघीयतालाई प्राथमिकता दिने भने पनि सरकारले स्थानीय तह र प्रदेशलाई दिएको रकम हेर्ने हो भने भनाइ र गराइ मेल खाँदैन । सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेशमा जाने रकम कटौती गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्देअर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहमा ६ अर्ब २४ करोड र प्रदेशमा २४ अर्ब ३९ करोड वित्तीय हस्तान्तरणमा कटौती गरेको घोषणा गरेका छन् ।

यो घोषणालाई स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरुले सरकारको संघीयता विरोधी कदम भन्दै विरोध जनाएका छन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले सरकाले स्थानीय तहको बजेट कटौती गर्दा घर दैलो कै सरकारलाई स्रोत अभाव हुने तर्क गरे ।

उनले भने, ‘मैले बजेट राम्रो अध्ययन गर्न त पाएको छैन, तर स्थानीय तहरुको बजेट कटौती गर्नु भनेको काम गर्ने सरकारहरुको स्रोत रोक्नु हो ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीराम चौधीरले पनि संघीयताको मर्म अनुसार बजेटले सम्बोधन नगरेको बताए । ‘सरकारले प्रदेश सरकारलाई दिने वित्तीय हस्तान्तरण घटाउनु आफैमा दुखद् हो । यसले संघीयतालाई र प्रदेशलाई बलियो बनाउँदैन,’ उनले भने, ‘वित्तीय समानीकरण अनुदान, सशर्त र समपुरक अनुदान घटाउँदा प्रदेश सरकारको प्रभावकारी हुन सक्दैन ।’

तर राष्ट्रिय स्रोत तथा वित्त आयोगका अध्यक्ष डा. बालानन्द पौडेलले सरकारले परिस्थिति जन्य रुपमा बजेट कटौती गरेको बताए । ‘स्थानीय तहको बजेट कटौती राम्रो कुरा त होइन, तर अहिले परिस्थितिजन्य रुपमा वित्तीय हस्तान्तरण कम गरेको देखिन्छ,’ पौडेलले भने ‘सरकारले यसलाई स्थानीय तहको बजेट कटौती गर्ने अधिकारको रुपमा भने लिन हुँदैन, या एउटा परिस्थिती हो भनेर छुट दिन सकेन पनि यसले प्रचलनको रुपमा लियो भने हानीकार हुन्छ ।’

पौडेलले वित्तीय हस्तान्तरण कटौतीले स्थानीय सरकार र प्रदेश सरकारहरुले आफ्नै स्रोतहरुको पहिचान पनि गर्दै जानुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख मोहम्मद इस्तियाक खानले स्थानीय सरकारलाई दिने वित्तीय हस्तान्तरण घटाएर संघीय सरकारले स्थानीय तहलाई कमजोर बनाएको आरोप लगाए । उनको जस्तै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेटले स्थानीय तहलाई दिने तीनवटै अनुदान घटाएको भन्दै स्थानीय विकास निर्माण र सामाजिक विकास प्रभावित हुने बताइन् ।

सरकारले ल्याएको बजेटमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड रुपैयाँ र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने छ ।

सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब गरी २ खर्ब २७ अर्ब ६१ करोड हस्तान्तरणको घोषणा अर्थमन्त्री महतले गरेका हुन् ।

समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड स्थानीय तहलाई ७ अर्ब ५ करोड हस्तान्तरण घोषणा गरेका हुन् । विशेष अनुदान्तर्फ प्रदेश र स्थानीय तहलाई क्रमश ४ अर्ब ४६ करोड र ८ अर्ब ७३ करोड विनियोजन गरेको बताएका छैन ।

जबकी चालु आर्थिक वर्ष २०७९/०८० मा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ वित्तीय हस्तान्तरण भएको थियो ।

सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब ७२ करोड रुपैयाँ विनियोजन भएको थियो ।

प्रदेश तथा स्थानीय तहलाई पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान स्वरूप प्रदेशलाई ६ अर्ब ३० करोड रुपैयाँ, स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको थियो ।

विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ४ अर्ब ५६ करोड र ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

संघीयता विज्ञ रहेका राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले सरकारले वित्तीय हस्तान्तरणमा कटौती गरेर संविधान विरोधी काम गरेको बताए ।

‘स्थानीय तह र प्रदेशहरुलाई झन कमजोर बनाउनेगरी सरकाले बजेट कटौती गरेको छ । कतिपय कार्यक्रमहरु संघीयता विरोधी समेत छन्,’ देवकोटाले भने, ‘अनावश्यक रुपमा संसद विकास कोष राख्ने तर स्थानीय तह र प्रदेशको स्रोत रोक्ने काम गलत हो ।’

उनले सरकारमा संघीयता प्रतिको सकरात्मक सोच नदेखिएको भन्दै सरकार झन केन्द्रिकित मानसिकताले ग्रसित भएको टिप्पणी गरे ।

राजश्व बाँडफाँडतर्फ १ खर्ब ७३ अर्ब रुपैयाँ रकम विनियोजन भएको छ । चालु आवमा राजस्व बाँडफाँटबाट प्रदेशमा र स्थानीय तहमा १ खर्ब ६३ अर्ब ३ करोड रुपैयाँ हस्तान्तरण भएको थियो ।

राजश्व बाँडफाँडमा भने संघीय सरकारले चाहेर पनि कटौती गर्न नसक्ने व्यवस्था रहेको छ । ‘राजश्व बाँडफाँडमा पनि मिल्ने सरकारले हस्तक्षेप गथ्र्यो होला तर अनिवार्य रुपमा बाँडफाँड गर्नुपर्ने भएपछि मात्रै हुन सफल भएको हो,’ राष्ट्रिय सभा सदस्य देवकोटाले बताए ।



source https://www.onlinekhabar.com/2023/05/1314682

रास्वपा सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनाएको हो ।

रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिएका थिए । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।

 



source https://www.onlinekhabar.com/2023/05/1314120

कर्णालीका मुख्यमन्त्रीले दिए पूर्वराजालाई डाँडा कटाउने चेतावनी

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए ।

सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता जिस्क्याएको र सक्रिय राजनीति गर्न खोजेको भन्दै आलोचना गरेका थिए ।

प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री राजकुमार शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने चेतावनी दिए । ‘यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस्’, उनले भने ।

कांग्रेस नेता जीवनबहादुर शाहीले पनि कुनै हालतमा राजतन्त्र फर्कन नसक्ने दाबी गरे । गणतन्त्रमाथि जतिसुकै प्रश्न उठे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताए । ‘उँधो बगिरहेको कर्णालीमाथि फर्किन्न । यो व्यवस्थालाई बलियो बनायो अग्रसर हुनुपर्छ,’ शाहीले भने ।

 

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न आग्रह गरे । शनिबार पूर्व राजा शाह वीरेन्द्रनगरमा आएर गरेको सम्बोधनलाई प्रतिवाद गर्दै कँडेलले भने, ‘पूर्वराजा पार्टीको अध्यक्ष बनेर बस्दा राम्रो हुन्छ । राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।’

 

कँडेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । ‘सबैलाई एउटै डालोमा हाल्नु, राम्रो हुँदैन । एउटा राजा होइन, धेरै राजा भए भन्ने गरिएको छ’ कँडेलले भने, ‘ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्मका नाममा, कहिले अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेका छन् । त्यो स्वीकार्य छैन ।’



source https://www.onlinekhabar.com/2023/05/1314038

‘रेशमको सवालमा एमालेको विरोध सार्वजनिक खपतका लागि मात्र’

१५ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको बेला २०७९ वैशाख २२ गते कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन् । अनेकौं हजार मान्छे मरे, जेलमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, रेशम चौधरी यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन । मैले थारु समुदायका नेताहरुसँग ६ बुँदे सम्झौता गरेर ती समस्याहरुका समस्या समाधान गरौंला भनेर प्रतिबद्धता जनाएको थिएँ । तर सरकार गयो ।’

ओली नेतृत्वको तत्कालीन सरकारको वार्ता टोली संयोजकसमेत रहेका कानुनमन्त्री लिलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रुकमिणी चौधरीबीच रेशम चौधरीलाई रिहा गर्ने लगायतका ६ बुँदे सहमति भएको थियो । २०७२ जेठ १८ गते भएको उक्त सम्झौता कार्यान्वयनमा भने आएन ।

बौनियामा आयोजित सोही सभालाई सम्बोधन गर्दै ओलीले बीचमै सरकार ढलेकाले सहमति कार्यान्वयन हुन नसकेको बताएका थिए । त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सहमति कार्यान्वयन नगर्ने र भोटको राजनीतिमा मात्र गर्ने भनेर ओलीले आलोचना गरे ।

उनले भनेका थिए, ‘अहिलेको सरकारले १० महिनासम्म कुनै समस्याको समाधान गरेन । भोटको राजनीति गर्छ, समस्या समाधान गर्दैन । थारु कल्याणकारीलाई बोलाएर मैले सहमति गरेको थिएँ र तपाईंहरुका यी कामहरु म गर्दिन्छु भनेर प्रतिबद्धता जनाएको थिएँ । हाम्रो गृहमन्त्री उहाँहरु अनसन बसेर धर्ना दिएको ठाउँमा आफैं गएर पलेटी कसेर बसेर माग पूरा गर्छु भन्नु भएको थियो । तर सरकार गयो तपाईंहरुलाई थाहा छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीलाई रिहा गर्ने उद्देश्यले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको थियो । तर त्यो सफल भएको थिएन ।

ओली नेतृत्वको सरकारको पालामा रेशमलाई रिहा गर्ने लगायतका सहमति भएको दुई वर्षपछि सोमबार उनी रिहा भए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रिपरिषद बैठकले रेशमको सजाय माफ दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आइतबार सिफारिस गरेको थियो । सोही सिफारिस राष्ट्रपतिबाट सदर भएपछि रेशम गणतन्त्र दिवसको दिन डिल्लीबजार कारागारबाट रिहा भए । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ ।

सरकारले माफी दिने निर्णय सार्वजनिक भएलगत्तै नेकपा एमालेबाटै विरोधको स्वर सुनियो । एमालेका सचेतक महेश बर्तौलाले सरकारले सत्ता टिकाउन रेशमलाई माफी दिने निर्णय गरेको भन्दै सार्वजनिक रुपमा आलोचना गरे ।

तर थारुहट/थारुवान संघर्ष समितिको वार्ता टोली संयोजकको रुपमा ६ बुँदे सहमतिमा हस्ताक्षर गरेकी पूर्वसभासद रुकमिणी चौधरी भने एमालेको विरोधको कुनै तुक नभएको बताउँछिन् । चौधरीले अनलाइनखबरसँग भनिन्, ‘मैले गरेको एउटै कुरा मैले गर्दा ठिक अर्कोले गर्दा बेठिक भन्नुको तुक छैन । यो त एमालेको दोहोरो चरित्र भइहाल्यो नि ।’

रेशम चौधरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको थारु बहुल क्षेत्रलाई छुट्टै प्रदेश बनाउनुपर्छ भन्ने आन्दोलनमा थिए । आन्दोलनको क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भयो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रेशमसहित ८८ जनाविरुद्ध मुद्दा चलाएपछि उनी फरार भए ।

पूर्वसभासद रुकमिणी चौधरी

२०७४ मंसिरको आम निर्वाचनमा रेशमले भूमिगत स्थितिमै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर भारी मतान्तरले विजयी भए । तर विजय भएको प्रमाणपत्र आफैंले बुझ्न नपाएपछि उनले १५ फागुन २०७४ मा आफूविरुद्ध मुद्दा दर्ता भएको कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे । पुर्पक्षका लागि थुनामा रहेकै बेलामा १९ पुस २०७५ मा उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले सिंहदरबारभित्र सांसदको शपथ ग्रहण गराएका थिए ।

त्यतिबेला प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । चौधरीलाई सपथ खुवाउने निर्णय नेकपाका शीर्ष नेताहरुलाई थाहै नदिई तत्कालीन प्रधानमन्त्री ओली, प्रचण्ड र सभामुखको सल्लाहमा गरिएको भन्दै नेकपाभित्र असन्तुष्टि देखिएको थियो । नेताहरुका अनुसार यो टीकापुर घटना र चौधरीबारे ओलीको यू–टर्न मात्र होइन, सचिवालय सदस्यहरुलाई दिएको ‘सरप्राइज’ पनि थियो । चौधरीको सपथबारे पार्टीको कुनै कमिटीमा छलफल भएको थिएन । शीर्ष नेताहरुसँग परामर्श समेत भएन ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले चौधरीको सपथलाई लगातार मुद्दा बनाउँदै आएको थियो । उसले हालै मात्र संविधान संशोधन लगायतका माग पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्रीले एक साता समय मागेका थिए । यो समय गुज्रिएलगत्तै प्रधानमन्त्रीले चौधरीलाई सपथ खुवाउने चाँजोपाँजो मिलाएका थिए ।

स्रोतका अनुसार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका थिए । त्यहीँबाट सभामुख महरालाई फोन गरेर चौधरीलाई सपथ खुवाउन भनेका थिए । तत्कालीन सभामुख महराले पनि अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्रीको निर्देशन पालना गरेर रेशमलाई सांसद पदको शपथ खुवाएको बताएका थिए ।

रुकमिणी चौधरी रेशम चौधरीको बारेमा एमालेले दोहोरो चरित्र देखाएको बताउँछिन् । ‘रेशमको सवालमा एमालेको विरोध सार्वजनिक खपतका लागि मात्र हो,’ उनी भन्छिन्, ‘नत्र भने आफू सरकारमा हुँदा गरेको निर्णय ठिक हुने र त्यही निर्णय अर्को सरकारले गर्दा गलत कसरी हुन्छ ?’

टिकापुर काण्डमा रेशम दोषी नभएको जिकीर गर्दै रुकमिणी भन्छिन्, ‘रेशममात्र होइन, टिकापुर काण्डका कारण जेलमा भएकाहरु र मुद्दा लागेर फरार भएकाहरुलाई पनि सरकारले मुद्दा फिर्ता लिनुपर्छ ।’



source https://www.onlinekhabar.com/2023/05/1313965

Sunday 28 May 2023

के थियो टिकापुर काण्ड ? कसरी मारिएका थिए ८ जना ?

१५ जेठ, काठमाडौं । राज्य पुनर्संचना गर्दा सिमांकनको  विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए ।

अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट–थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो । आन्दोलनकारीले सरकारी कार्यालयहरुमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने अभियान चलाएका थिए । कैलालीको टिकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो । उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जिल्लामा निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीले उल्लंघन गरेका थिए । आन्दोलनलाई रोक्न छिमेकी जिल्लाहरुबाट समेत झिकाएर प्रहरी फोर्स परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीको कमाण्ड तत्कालीन सेती अञ्चलका प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने आफैं खटिएका थिए ।

आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस वडा नम्बर ६ मा प्रहरीसँग झडप भयो । त्यो झडपपछि घरेलु हतियारसहित आएका आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी न्यौपानेमाथि नै आक्रमण गरे ।

सो घटनामा न्यौपानेसहित नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहोरा, प्रहरी हबल्दार लक्षमण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द मारिए । यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र आफ्नै घरमा बसेका एक नाबालक टेकबहादुर साउदको पनि मृत्यु भयो ।

टिकापुरमा मारिएका एसएसपी लक्ष्मण न्यौपाने

थरुहट र मधेश आन्दोलनको घटनाको छानबिन गर्न गठित आयोगका प्रमुख एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालका अनुसार नाबालक साउदलाई थ्री नट थ्री बन्दुकको गोली लागेको थियो ।

त्यसको आक्रोशमा भोलिपल्ट रेशमको घर, उनले सन्चालन गरेको एफएम लगायतका संरचनामा आगजनी भयो । थारु समुदायका झण्डै एक सय वटा घरमा लुटपाट र आगजनी भएको थियो यही घटना टिकापुर घटनाको रुपमा चिनिन्छ ।

टिकापुरमा एसएसपीसहित ८ जनाको मृत्यु भएपछि सरकारले दंगा क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्यो । त्यतिबेला कञ्चनपुर, कैलालीसहित थारु बहुल जिल्लाहरु बर्दिया, बाँके, दाङ, रौतहट र सल्र्लाही समेतलाई दंगा क्षेत्र घोषणा गरिएको थियो । कार्यक्षमतामा प्रश्न उठाउँदै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई सरकारले गृहमन्त्रालयमा तानेको थियो ।

सोही दिन तत्कालीन गृहमन्त्री बामदेव गौतमले संसदमा घटनाबारे जानकारी दिँदै टिकापुरमा बन्चरो, खुकुरी र हँसियासहितका घरेलु हतियार लिएर आएका आन्दोलनकारीले सुनियोजित रुपमा प्रहरी र सशस्त्र प्रहरीलाई घेरा हालेर आक्रमण गरेको बताए । उनले एसएसपी लक्ष्मण न्यौपानेसहितका प्रहरीलाई भालाले हानेर र सशस्त्र प्रहरीका हबल्दारलाई जलाएर मारिएको जानकारी गराए ।

टिकापुरमा घाइते प्रहरीहरु अस्पतालमा ।

यो हिंसात्मक घटनाको योजनाकार रेशम चौधरी भएको भन्ने अभियोग लाग्यो । किनभने उनले नै थारुमुक्ति र थरुहट थारुवान प्रदेशको पक्षमा जागरण अभियान चलाएका थिए ।  यद्यपि उनले हालसम्म पनि आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

टिकापुर घटनापछि भूमिगत भएका चौधरी २०७४ मंसिरमा भएको आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट भूमिगत अवस्थामै भारी मत अन्तरले निर्वाचित भएका थिए । तत्कालीन राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनले वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाले । तर मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलालीसामु उनले आत्मसमर्पण गरेका थिए । तत्कालीन जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले ११ जनालाई दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । त्यतिबेलामा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा थिए । सांसद पदको सपथपछि पनि रेशमलाई जेलमै पठाइयो ।

एसएसपी लक्ष्मण न्यौपानेको शवयात्रा ।

२०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा पनि बर्दिया २ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरिदिएको थियो । सोही क्षेत्रबाट उनका बुवा लालबिर चौधरी स्वतन्त्र सांसद निर्वाचित भएका थिए । रेशमको उम्मेदवारी खारेज भएपछि लालविरलाई रेशम पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो ।

जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत दिपायलले र उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेका थिए ।

तर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० जेठ १४ गते आममाफी दिएपछि चौधरी गणतन्त्र दिवसको दिन जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका छन् । रिहा भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि सघाउने बताए ।



source https://www.onlinekhabar.com/2023/05/1313877

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव : प्रधानमन्त्री प्रचण्ड

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण सङ्घर्षको जगमा विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।

प्रधानमन्त्री दाहालले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले बेपत्ता तथा घाइते अपाङ्ग योद्धाहरूसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गरेका छन् । ‘एकात्मक सामन्ती केन्द्रिकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिबाट जनताले शासन गर्न पाउने सङ्घीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १५ वर्ष पूरा भएको छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘यसर्थमा आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्छ । सयौँ वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य कदापि थिएन ।’

प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयन चुनौती देखिए पनि हामीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको उल्लेख गरेका छन् ।

प्रधानन्त्रीले सन्देशमा जोड दिँदै भनेका छन्, ‘हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो ।’

नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गिकार गरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको बताएका छन् । उनले यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट हो । संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्छ र हुँदै पनि गएका छन् ।’

नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको प्रधानमन्त्रीको भनाइ छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको प्रधानमन्त्रीको कथन छ ।

प्रधानमन्त्रीले भनेका छन्, ‘लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । यसो भएता पनि महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ ।’

संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहजरूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दीगो नहुने बताउँदै उनले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्ध नहुने तर्क गरेका छन् ।  उनले जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो औँल्याएका छन् ।

उनले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी रहेको बताएका छन् ।

सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीले सबैलाई अपिल गरेका छन् ।

उनले गणतन्त्र स्थापना र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, अग्रज राजनेता र राजनीतिक कार्यकर्ताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवा, लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान सबैमा सम्मान व्यक्त गरेका छन् ।

उनले यस दिवसले सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उनले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन् ।



source https://www.onlinekhabar.com/2023/05/1313866

रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस

१४ जेठ, काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिन सक्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसलालगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीले संविधानको धारा २७६ अनुसार माफी मिनाहाको बाटोबाट कैदमुक्त हुने बाटो रोजेका थिए ।

मन्त्रिपरिषद बैठकले योजना आयोगको सदस्यमा लमजुङकी अनिता ढुंगाना शाहलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।



source https://www.onlinekhabar.com/2023/05/1313351

Saturday 27 May 2023

शंकास्पद अनियमितताको विषय संसदको रेकर्डबाट हटाउनु विडम्बना : शेखर कोइराला

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको बताएका छन् । यसो गर्दैमा अनियमितता कति दिन ढाक्न सकिएला र भनेर पनि उनले प्रश्न गरेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले जेठ १२ गतेको संसद बैठक अवरुद्ध पारेको थियो ।

शनिबार शीर्ष नेताहरुबीच दाहालको सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको छ ।

यसबारे कांग्रेस नेता कोइरालाले आफ्नो धारणा सार्वजनिक गर्दै सामाजिक सन्जालमा लेखेका छन्, ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमिततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने ।’

कोइरालाले सांसदको गरिमामा पनि प्रश्न उठाएका छन् । ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ?’ उनले लेखेका छन्, ‘संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन् भन्ने कुरा बुझौं ।



source https://www.onlinekhabar.com/2023/05/1313319

नेपाल स्काउटका तदर्थ समिति संयोजक भण्डारी मलेशियामा सम्मानित

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई मलेशियन स्काउट महासंघ (पीपीएम)ले इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मान गरेको छ ।

बी-पी हाउस क्वालालम्पुरमा आयोजित समारोहमा स्काउटिंग अभियानमा योगदान पुर्‍याउने भण्डारीसहित पाँच जनालाई सम्मान गरिएको हो ।

पीपीएमका कार्यवाहक प्रमुख स्काउट मेजर जेनरल प्रा. दातो डा. मोहम्मद. जिन बिन बिदिनले उक्त विभूषण प्रदान गरे । भण्डारी यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली हुन् ।

विगत लामो समयदेखि भण्डारीले नेपाल स्काउट तथा विश्वस्काउटको क्षेत्रमा गरेको योगदानको कदर गर्दै मलेसिया स्काउटले यो सम्मान प्रदान गरेको हो ।

नेपालमा सुस्ताउँदै गएको स्काउट अभियान भण्डारी नेतृत्वमा आए यता तुलनात्मकरूपमा क्रियाशील भएको छ ।

नेपाल स्काउटको संघीय ढाँचा अनुरूपको पुनर्संरचना, स्रोतको वृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धको सुधारलगायतका कार्यहरु भण्डारीको नेतृत्वमा भएका छन् ।



source https://www.onlinekhabar.com/2023/05/1313298

कोशी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

१४ जेठ, विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोदेखि सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् ।

गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पुन: नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दाेलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।

पहिचान आन्दोलनका नेता प्रेम येक्तेनले प्रदेश सभा भवन घेर्ने तयारी गरेको बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेश सभा नै रहेकाले प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरेको  उनकाे भनाइ छ ।

प्रदेश सभा अधिवेशनको प्रथम बैठककाे कार्यसूची तयार  भइसकेकाे एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार प्रदेश प्रमुखले पठाएकाे पत्र सुनाएपछि केही प्रदेश ऐन संसाेधन विधेयक पेस हुनेछ । प्रदेश सरकारले जारी गरेकाे २ वटा अध्यादेश टेवल गर्ने र दलका  तर्फबाट सम्बाेधन गर्ने कार्यसूची पनि छ ।

गत फागुन १७ गते नाम राखेपछि स्थगित भएकाे प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । नामाङ्कनपछि पहिलाे पटक आज बैठक बस्दैछ ।



source https://www.onlinekhabar.com/2023/05/1313279

फेवातालमा डुबेर एक जनाको मृत्यु

१४ जेठ, कास्की । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा ६३ वर्षीय मिन गुरूङको मृत्यु भएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका गुरूङ पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने गर्दथे । शनिबार अपराह्न करिब ४ बजेतिर फेवातालमा माछा मार्न गएका उनी डुबेर बेपत्ता भएका थिए  ।

बेपत्ताको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र सशस्त्र प्रहरी बलको टोली खोजतलासमा खटिएको थियो । उद्धार टोलीले शनिबार बेलुकी सवा ७ बजेतिर गुरूङलाई मृत अवस्थामा फेला पारेको थियो ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/05/1313237

Friday 26 May 2023

कक्षा कोठामै काँप्न थाले छात्रा, विद्यालयको पढाइ प्रभावित

१३ जेठ, डोटी । डोटी, बोगटान फुड्सिल गाउँपालिका-१ को सिमचौर माविमा कक्षा १० मा अध्ययनरत रमिला (नाम परिवर्तन) बिहानै हतारहतार गरेर विद्यालय आइन् । गर्मीको समयमा छकालै (बिहानै) विद्यालय खुल्ने भएका कारण पनि उनलाई झन् बढी हतार हुन्छ ।

विद्यालयमा आएपछि उनले पहिलो, दोस्रो र तेस्रो विषय राम्रैसँग पढिन् । चौथो विषयको पढाइ सुरु मात्रै भएको थियो, उनी रुन थालिन् । सँगै बसेकी साथीले उनलाई के भयो भनेर सोध्दा उनी झन् जोरले चिच्याउन थालिन् । चिच्याउँदा चिच्याउँदै उनी झाँक्री जस्तै काँप्न थालिन् ।

कक्षा कोठामा हल्लीखल्ली भयो । कक्षा शिक्षक र विद्यार्थीहरुले उनलाई च्यापेर राखेका थिए । अन्य कक्षा कोठामा पनि हल्ला फैलियो । यति हुँदासम्म कक्षा ८ मा पढ्ने उजली (नाम परिवर्तन) लाई पनि यस्तै भयो । उनी काँप्दै रमिला भएको कोठामा प्रवेश गरिन् ।

यी दुवै काँप्ने, रुने चिच्याउने गरिरहेका थिएँ । अन्य कक्षामा पनि किशोरीहरु काँप्न सुरु भयो । सँगसँगै ८/९ जना छात्राहरु काँप्न थालेपछि सवै कक्षाको पठनपाठन रोकियो । शिक्षक-विद्यार्थीहरु विद्यालयको चौरमा जम्मा भए ।

एक शिक्षकले काँप्ने विद्यार्थीका अभिभावकलाई फोन गरे, अर्काले झाँक्रीलाई बोलाए । अभिभावकहरु पनि विद्यालय पुगे, किशोरीहरु काँप्न रोकिएन ।

कक्षा कोठामै किशोरीहरु काँप्ने विद्यालयका लागि नौलो विषय भने होइन् । तर एकै पटक ८/९ जना काँपेको भने नयाँ भएको शिक्षकहरु बताउँछन् । ‘एक/दुई जना काँप्न थालेको धेरै वर्ष भयो’ विद्यालयका शिक्षक केशरबहादुर बम भन्छन्, ‘तर दुई तीन दिनयता ८/१० किशोरीहरु संगै काँप्न थालेका छन् ।’ यसले विद्यालयको पठनपाठनमा समस्या भएको बम बताउँछन् ।

यसअघि पनि विद्यालयमा किशोरीहरु काँप्न थालेपछि विद्यालयले स्थानीय स्वास्थ्य चौकीलाई खबर गरेको शिक्षक बमले बताए । उनले भने, ‘स्वास्थ्य चौकीबाट टोली आयो तर मानसिक समस्या भएको भनेर गयो ।’ काँप्न सुरु भएपछि एक दुई घण्टा लगातार काँपिरहने गरेको शिक्षक बमको भनाइ छ ।

देउताको कारण यस्तो भयो

किशोरीहरु विद्यालयमा काँप्नुलाई स्थानीयले देउताको कारण मान्न थालेका छन् । विद्यालयका शिक्षक लोकराज जोशी भन्छन् ‘विद्यालयमा अशान्ति भयो, धामी र पुजारी बोलाएर शान्ति शुद्धि नगरेसम्म विद्यालयमा पठनपाठन सुचारु होला जस्तो छैन ।’

यस्तै विचार व्यक्त गर्छन् एक अभिभावक पनि । छोरी विद्यालयमा काँप्न थालेको खबर पाएपछि हतारहतार विद्यालय पुगेका उनले भने, ‘विद्यालयको माटो शुद्ध गर्नु पर्ने भयो ।’

उनी विद्यालय रहेको ठाउँमा पहिले तलाउ रहेको र उक्त तलाउमा एक जना बालिकाको हत्या भएको आफूले सुनेको बताउन थाले ।

समुदायमा सबैले देउताकै दोष भएको शंका गरिरहेको विद्यालयका प्रधानाध्यापक डम्मर बम बताउँछन् । उनी भन्छन्, ‘बिरामी भएपछि स्वास्थ्य चौकीलाई पनि खबर गर्‍यौं, केही पनि भएन ।’ यसअघि एक दुई जना काँप्ने गरेकामा अभिभावकलाई खबर गरेर घर पठाएपछि ठीक हुने गरेको प्राधानाध्यापक बमको भनाइ छ । यो समस्या १२ वर्षभन्दामाथिका छात्राहरुमा मात्रै देखिएको बलमे बताए ।

बाटोमा आउँदै लक्षण देखिन्छ

घरबाट विद्यालय आउँदै गर्दा बाटोमै आफूलाई अप्ठेरो हुने गरेको रमिला बताउँछिन् । ‘जुनदिन यस्तो हुने हो त्यो दिन बाटोमै आफूलाई एक प्रकारको डर जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘विद्यालयमा आएपछि के-के सोचिन्छ, अनि जीउ दुख्न थाल्छ ।’

त्यसपछि के हुन्छ भन्ने आफूलाई कुनै जानकारी नभएको उनी बताउँछिन् । भन्छिन् ‘काँप्न थाल्यो भने मैले के बोलेँ, कहाँ छु भन्ने केही जानकारी हुँदैन ।’

विद्यार्थीहरु काँप्ने समस्या सिमचौर माविको मात्रै हैन्, जिल्लाका अन्य विद्यालयमा पनि देखिने गरेको छ । यसअघि पनि धेरै विद्यालयमा यो समस्या देखिएको छ ।

समस्याको कारण खोजी गर्नतिर भने कसैको चाँसो छैन । ‘विद्यार्थी काँप्ने खबर हामीलाई आएपछि हामी विद्यालय गयौं,’ सिमचौर स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण साउँद भन्छन्, ‘यो मानसिक स्वास्थ्य समस्या जस्तो हामीलाई लाग्यो ।’ त्यसपछि आफूहरुले यस विषयमा केही गर्न नसकेको साउँदको भनाइ छ ।



source https://www.onlinekhabar.com/2023/05/1313014

शिक्षकको माग गर्दै टीकापुर क्याम्पसका विद्यार्थी धर्नामा

१३ जेठ, धनगढी । कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिए पनि कानून विषयकै शिक्षक पदपूर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापकविना अध्ययन गरिरहेको बताउँदै अहिलेसम्म व्यवस्थापन नगरिएका कारण आन्दोलन गर्न बाध्य भएको बताइन् ।

उनकाअनुसार प्राध्यापकको माग गर्दै पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएका छन् । उनीहरुले शुक्रबार राति समेत क्याम्पसमा धर्ना दिएका छन् । चर्को गर्मीबीच दिनभर खुला आकाशमुनी धर्नामा बसेका विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।

स्वास्थ्यमा समस्या देखिएका तीन जनामध्ये तेस्रो संकायमा अध्ययनरत ऋतु देवकोटालाई अस्पताल भर्ना गरिएको विद्यार्थी चन्दले बताइन् । उनी एक्कासी बेहोस भएर ढलेपछि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको हो ।

क्याम्पसमा कानून विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुटकोटको व्यवस्था गर्नुपर्ने, पाठय्क्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने माग विद्यार्थीहरुको छ ।

कानून विषयको शिक्षक नहुँदा अहिले शिक्षा संकायका प्राध्यापकले अध्यापन गराइरहेका छन् । विद्यार्थीहरुले शिक्षकको व्यवस्थापन गर्न नसकिने अवस्था भए सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस वा कैलाली बहुमुखी क्याम्पसमा स्थानान्तरण गरिदिन पनि माग गरेका छन् ।

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले कानून संकायको प्राध्यापक पदपूर्तिका लागि आवेदन माग गरिएकोमा दुई जनाको मात्र दरखास्त परेको बताए ।

दुई मध्ये एक जनाले मात्र छनौट प्रक्रियामा भाग लिएर उत्तीर्ण समेत भइसकेको अवस्थामा ८ जेठमा अध्यापनका लागि आउन नसक्ने जानकारी दिएपछि समस्या भएको कुँवरले बताए ।

क्याम्पसले छनोट गरिसकेपछि अध्यापनका लागि आउन नसक्ने बताएपछि फेरि पदपूर्ति प्रक्रिया अघि बढाउने वा विद्यार्थीहरुलाई धनगढी र महेन्द्रनगर स्थानान्तरण गर्ने विकल्पका बारेमा विश्वविद्यालयका उपकुलपति र रजिष्टारसँग छलफल भइरहेको बताए ।



source https://www.onlinekhabar.com/2023/05/1313004

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

१३ जेठ, विराटनगर । विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानैदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो ।

प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गरिए कारबाही गरिने चेतावनी दिइएको छ ।



source https://www.onlinekhabar.com/2023/05/1312993

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

१३ जेठ, काठमाडौं । सर्लाही गौडेता-३ का रामजतन महतो खेतीपाती गरेर परिवार चलाइरहेकै थिए । तर आमा बिरामी भएपछि उनको परिवार ऋणमा पर्‍यो ।

काठमाडौंको शिक्षण अस्पतालमा तीन महिना आमाको उपचार गरेर ऋणसहित सर्लाही फर्किएका उनलाई मेनपावर ऐजेण्टको काम गरिरहेका नरेन्द्र ठाकुरले मलेसियामा आकर्षक जागिर खुलेको भन्दै जान फकाए ।

ठाकुरले मलेसिया जान ३ लाख रुपैयाँ खर्च लाग्ने र पुगेपछि २ हजार ३४३ मलेसियन रिङ्गेट (साढे ६७ हजार नेपाली रुपैयाँ) तलब हुने बताएका थिए । त्यसपछि घरसल्लाह गरेर महतोले ठाकुरलाई ऋण खोजेर ३ लाख बुझाए अनि ४ असोज २०७९ मा मलेसिया उडे ।

मलेसिया जाँदा मेनपावर परी ओभरसिस प्रालिले भनेको काम गर्ने कम्पनी डाइनमिक वियर कम्पनी थियो, तर महतो जब मलेसिया ओर्लिए मेनपावरले भनेको कम्पनी नै भेटेनन् ।

भेटुन् पनि कसरी ? उनलाई त मलेसियामा कामदार सप्लाइ गर्ने कम्पनीमा पठाइएको रहेछ । जुन कुरा उनलाई मलेसियामा पुगेपछि थाहा हुन्छ ।

‘त्यो सप्लायर्सले म जस्ता करिब २ सय कामदारहरुलाई नेपालबाट झुक्काएर मलेसिया पुर्‍याएको रहेको छ,’ महतोले भने, ‘हामीलाई एउटै कम्पनी हो २ वर्षसम्म काम गर्न पाउँछौ भनेर लगेको थियो, तर उहाँ पुग्दा मान्छे सप्लाई गर्ने कम्पनीमा लग्यो, त्यसपछि १० दिन एउटा कम्पनीमा, १५ दिन अर्को कम्पनीमा काम गराउँदै डुलायो ।’

उनले ८ महिनामा ६ वटा कम्पनीमा काम गर्दा जम्मा ४ महिना जति काम गर्न पाए पनि वेसिक तलबसम्म नदिएको गुनासो गरे । ‘कम्पनीहरुले हामीलाई भेडा बाख्रा जस्तो व्यवहार गरे, कहिले भोकै काम लगाए, कहिले काम लगाएर पैसा दिएनन् । हामी त बेचिएको सामान जस्तो गरे’ यति भन्दै गर्दा महतो भक्कानिए । भक्कानिँदै थपे, ‘मलेसियामा कम्पनीहरुले बिरामी हुँदा काम गर्न नसकेपछि होस्टेलबाट निकाल्दिने, औषधिको पैसा आफैंलाई तिर्न लगाउने गरे ।’

खाने खर्चसमेत घरबाट मगाउनु पर्‍यो

सर्लाहीकै हरिकृष्ण कुशुवाहको पीडा र दुख पनि महतोको जस्तै छ । उनी पनि ४ असोजमा परी मेनपावरबाट नै महतोसँगै उडेका थिए । काम गर्ने भनेर गएको कम्पनी नै नभेटिएपछि विना तलब होस्टेलमा बसिरहेका उनलाई एकदिन सप्लाइ कम्पनीले मलेसियाको पारागमा कठिन काम गर्न लगायो ।

‘हामीलाई क्विन्टल भन्दा माथिका सामानहरु ओसार्न लगाउँथे, त्यसको पैसा पनि आधा मात्रै पाउँथ्यौं । त्यहि बेला म बिरामी भएँ, बिरामी भएपछि होस्टेलले खानाको कुपन खोसिदियो २ दिनसम्म भोक्कै सुतें,’ कुशवाहले भने ।

उनले खानाकै लागि घरबाट ४५ हजार रुपैयाँ मगाएको बताए । ‘१ कठ्ठा जमिन धरौटी राखेर ३ लाख दलाललाई दिएको थिएँ उनीहरुले मेरो विचल्ली पारिदियो, अहिले त घर न घाट भएको छु’, धापासी हाइटमा सेल्टर लिएर बसेका कुशुवाहले आँसु झार्दै भने ।

सोहि म्यानपावरका एजेन्ट रामदुल्ला ठाकुरलाई ३ लाख बुझाएर मलेसिया गएका लक्ष्मी महतोले भारतबाट ऋण लिएर विदेश जाँदा ठगिएको बताए ।

‘ठाकुरले हिट कम्पनीमा जागिर छ, ७० हजार सोझै नेपाल पठाउन सक्छ भनेपछि मैले भारतमा रहेका आफन्तहरुसँग पैसा मागेर बुझाएँ । पुगेपछि ठगिएको थाहा भयो,’ लक्ष्मी भन्छन् ‘घरमा छोरीहरुको विवाह गर्ने समय आइसकेको छ, पैसा छैन, आफन्तहरु अहिले पैसा नपठाएको भन्दै घरमै माग्न आइरहेका छन्,’ फेरि महताको गला अवरुद्ध भयो ।

उनले नेपाल आएपछि आफूले पैसा बुझाएका ठाकुरलाई खोजे पनि उनले फेला पारेका छैनन् । ‘हामी परी मेनपावरमा पनि गयौं त्यहाँ हामीलाई मतलब छैन, आफैं खोज भनेर पठाए, अब हामी चाहीँ कहाँ जानु ?’ लक्ष्मीले भने ।

सर्लाहीकै सञ्जीवकुमार महतो पनि सोहि एजेण्ट ठाकुरमार्फत मलेसिया गएर अलपत्र परे । उनले पनि ऋण खोजेर नै दलालमार्फत मलेसिया गएका थिए, तर अनेक हण्डर खाएर पनि आफ्नो लगानी उठाउन नसकेको भन्दै काठमाडौंमा वैदेशिक रोजगार बोर्ड, म्यानपावर कम्पनी धाइरहेका छन् ।

सर्लाहीका मोहम्मद जफरुल हुसेन अहिले तनावमा छन् । नरेन्द्र ठाकुरलाई ३ लाख २० हजार दिएर मलेसिया पुगेका उनी ठगिएको थाहा पाएपछि १० महिनापछि फेरि नेपाल नै फर्केका छन् ।

‘मेरो पोखरामा पसल थियो, आर्थिक मन्दिले गर्दा बैंकको ऋण समेत तिर्न सकिन, मलेसियामा गएर कमाउने सोचले दलाललाई पैसा बुझाएँ । अहिले न पसल छ, न ऋण तिर्न सकँे, न पैसा उठ्यो ।’ निराश भएका हुसेनले भने ‘अब घर पनि के भनेर जाने, मर्नु न बाँच्नु भएको छ ।’

उनीसँगै मलेसियामा दुख पाएर फर्केका भोगेन्द्र महतो दलालहरुले आफूलाई बेचेको महसुस गरेर स्वदेश फर्केका छन् । ‘मलाई त लगेर बेचिएको रहेछ, कहिले कता लगेको छ कहिले कता ? अरुको देशमा भारी काम लगाएपछि गर्न सकिन भन्दा निकालिदियो,’ महतोले भने ‘१० दिन काम गरेपछि फेरि सप्लाई कम्पनीले १० दिन काम नै दिँदैन थियो, त्यसपछि कुन ठाउँमा डिमाण्ड कति दिनको आउँछ, त्यति नै दिन गयो, काम गर्‍यो, तर त्यहँा बेसिक भन्ने नै हुँदैन थियो ।’

उनले शारिरीक रुपमा गर्नै नसक्ने काम लगाएपछि बिरामी हुँदा पनि आफ्नै खर्चमा उपचार गर्नुपर्ने बाध्यता रहेको बताए । ‘बिरामी भएर काम गर्न नगएपछि कुपनमा छाप लाग्दैन थियो, त्यसपछि खाना खानै पाईँदैन थियो, आफैंले बनाउँछु भन्दा सबै सामान खोसिदिए,’ होस्टेलमा मानवीय दृष्टिकोणबाट पनि नहेरिएको बताए ।

मलेसियास्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरिएका ८ जना मध्ये रामजतन महतो र साजन महतोले परी ओभरसिज प्रालिका दलाल नरेन्द्र ठाकुरलाई ३ लाख रुपैयाँ बुझाएका थिए । यस्तै मोहम्मद जफरुल हुसेनले ३ लाख २० हजार बुझाएका थिए । परी ओभरसिजका अर्का दलाल रामदुल्ला ठाकुरलाई लक्ष्मी महतो, सञ्जीवकुमार महतो, भोगेन्द्र महता र धरमेन्द्र महतोले जनही ३ लाख बुझाएका थिए । नरफी महतोलेे मेनपावरमै ३ लाख बुझाएका थिए । पीडित रामजतन महतोका अनुसार, १२९ जना नेपाली अझै मलेसिया यसरी नै फसिरहेका छन् ।

मलेसियामा अनेक हण्डर ठक्करपछि उनीहरु जसोतसो मलेसियास्थित नेपाली दूतावासमा पुगेपछि उनीहरु नेपाल र्फकन पाएका हुन् ।

८ दिनअघि कामाडौं उत्रिएका उनीहरु आफूलाई फसाउनेहरु खोजिरहेका छन् । वैदेशिक रोजगार बोर्डमा गएर बारम्बार कुरा राख्दा पनि महानिर्देशक मदन दाहालले खासै वास्ता नगरेको उनीहरुको आरोप छ ।

उनीहरुले क्षतिपूर्तिसहित आफ्नो फसेको पैसा दिनुपर्ने माग गरेका छन् । ‘हामीलाई जसरी पनि आफ्नो फसेको पैसा उठाइदिनु पर्‍यो, हामीले १० महिना मलेसियामा दुख पायौं कम्तीमा बेसिक तलब हामीलाई दिनुपर्छ,’ सरकारसँग उनीहरुले माग गरे ।



source https://www.onlinekhabar.com/2023/05/1312980

व्यवस्थित बन्दै ‘हरिचौर बजार’   

१३ जेठ, ढोरपाटन ।  हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ । बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ ।    ्

नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाखले उद्यान निर्माणको सुरुआत गरेको छ ।

नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना आवश्यक हुनेहुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताए । उनले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण गर्न थालेको जानकारी दिए ।

बालउद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत गरिरहेको छ । बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ । उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ । अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उनले बताए ।

अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउँछन् । आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उनको भनाइ छ ।

“यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररुपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ”, अध्यक्ष हमालले भने, “खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जानेछौँ ।”

अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्डअनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गर्ने अध्यक्ष हमालले बताए । यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उनी बताउँछन् ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताए । बजारमा तीव्ररुपमा भवनहरु बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउनुहुन्छ । यहाँ ऐतिहासिक गलकोट दरबार छ । हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उनको भनाइ छ ।

प्रवक्ता भण्डारी भन्छन् , “हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्यरुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ ।”



source https://www.onlinekhabar.com/2023/05/1312983

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो ।

नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।



source https://www.onlinekhabar.com/2023/05/1312981

Thursday 25 May 2023

‘पर्यटन विकास र पहिचानका लागि सम्पदा संरक्षण जरुरी’ 

१२ जेठ, काठमाडौं । नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड दिएका छन् ।

नेपाल सम्पदा संघले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले नेपाल सम्पदाहरुको देश र काठमाडौ उपत्यका सम्पदा नै सम्पदाले भरिएको स्थान भएकोले यसको पहिचान जोगाउन सबैले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाहरुको संरक्षण आवश्यक भएको बताए । पछिल्लो समय सम्पदा बिग्रिदै गएकोमा चिन्ता व्यक्त गर्दै मेयर महर्जनले देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नु पर्ने बताए । ‘सम्पदाको विषय अन्य विकासको अवधारणा भन्दा फरक हो । यसको लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहको सरकारले सोही अनुरुप सोच्न आवश्यक छ । यदि त्यसो गरिएन भने सम्पदा नाश हुने सम्भावना रहन्छ,’ उनले भने ।

नेपाल सम्पदा संघका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणको लागि सबैको सामूहिक पहल र प्रतिबद्धता आवश्यक रहेको बताइन् । सम्पदाहरु मावन समाजको साझा सम्पत्ती भएको उल्लेख गर्दै उनले पूर्खाले छोडेर गएका सम्पदारुपी नासोलाई संरक्षण गरी भावी सन्ततीलाई हस्तान्तरण गर्नुपर्ने बतइन् ।

नेपाल सम्पदा संघका उपाध्यक्ष धर्मराज शाक्यले सम्पदा संघले विश्व सम्पदा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै सम्पदा संरषणको लागि जनचेतना आवश्यक भएको बताए ।

कार्यक्रमका अवसरमा सम्पदा संरक्षणको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको संघका महासचिव प्रकाश दर्नालले जानकारी दिए ।

संघका सदस्य विजय प्रधानका अनुसार विश्व सम्पदा दिवस २०२३ का अवसरमा २०२३ को अप्रिल १८ तारिखमा विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम पनि आयोजना गरिएको थियो ।



source https://www.onlinekhabar.com/2023/05/1312582

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज १६ जनाको बयान

१२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।

१४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिनेछ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ । इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ । सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना छैन ।

इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ । इजलासले त्यसपछि उनीहरुलाई तीनमध्ये कुनै एउटा आदेश दिनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन खोजेको अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

मुलुकी अपराध संहितामा ठगीको आरोप प्रमाणित भए सातवर्षसम्म कैद र ७० हजार रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ । सरकारी कागजात कीर्तेमा पनि त्यति नै सजायको व्यवस्था छ । राष्ट्रहित प्रतिकुलको काम गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैंयाँसम्म जरिवानाको व्यवस्था छ ।

अभियोगपत्रमा संहिताको दफा ४३ अनुसारको एकीकृत कसुर अन्तर्गतको सजाय मागदावी गरिएको छ । जसमा एउटै घटनामा एकभन्दा बढी कसुर भएमा सबैभन्दा बढी सजाय हुने कसुरको सजायमा त्यसपछि बढी सजाय हुने दोस्रो कसुरको आधा सजाय थप हुने व्यवस्था छ । सरकारी वकिलले संगठित अपराधको दाबी गरेकाले कुल सजायमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था पनि छ ।



source https://www.onlinekhabar.com/2023/05/1312546

सार्वजनिक सवारी साधनमा २० वर्षे नीतिको असर र विकल्प 

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनलाई पत्रु गर्ने सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरेको छ । जेठ ७ गते जारी सूचनाले ३५ दिनभित्र दर्ता भएको मितिले विद्युतीयको हकमा तीस वर्ष र अन्यको हकमा बीस वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई पत्रु गर्नुपर्ने निर्णय गरेको छ । सरकारी निर्णयले भन्छ- ‘आफ्नो सवारी साधनको हालसम्म तिर्नु बुझाउनुपर्ने राजस्व बुझाई सवारी साधन पत्रु गर्ने कार्य सम्पन्न गर्नु ।’

सरकारी निर्णय तल–माथि भएन भने ३५ दिनभित्र बागमती प्रदेश अन्तर्गत जनतालाई सेवा दिइरहेका करिब ३ हजार सार्वजनिक सवारी साधन पत्रु हुनेछन् । यो निर्णयको आगो देशैभरि सल्किनेछ र देशभरिका छँदाखाँदाको करिब ८ हजार सार्वजनिक सवारी साधनहरू क्रमशः पत्रुकरण हुँदै जानेछन् । यो संख्या प्रत्येक वर्ष बढ्दै जानेछ ।

निर्णयले पार्ने असर

सरकारको यो निर्णय वातावरणीय, जोखिम न्यूनीकरण लगायत दृष्टिले उपयुक्त होला तर, यसले पार्ने अन्य असर र त्यसको न्यूनीकरणका उपाय अवलम्बन नगरी यो निर्णय कार्यान्वयन गर्नु अनुपयुक्त हुन्छ । यसका केही असर हेरौंः

यो निर्णय कार्यान्वयन भएमा निम्न मध्यम वर्गीय नेपालीको करिब १० अर्ब लगानी समाप्त हुनेछ । सार्वजनिक सवारी साधनमा प्रत्यक्ष संलग्न चालक, परिचालक, स्वरोजगारका २४ हजार घरपरिवारका करिब ९६ हजार आश्रित परिवार प्रत्यक्ष प्रभावित हुनेछन् । बेरोजगारीको संख्या अनियन्त्रित रूपमा बढ्नेछ ।

अधिकांश वित्तीय संस्था तथा सहकारी मार्फत ऋणमा सञ्चालित सवारी साधनहरू विकल्प विना पत्रु गरिएमा बैंक तथा वित्तीय संस्थामा ऋणी रहेका स्वरोजगार श्रमिकहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् ।

उपत्यकामा मात्रै १२४ सहकारी संस्थाहरूको ऋण सहयोग र ११ वटा बैंक तथा वित्तीय संस्थाहरूको धितोमा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आएका छन् । सहकारी, बैंक तथा वित्तीय संस्थाहरूको फाइनान्सबाट मात्रै करिब एक अर्बभन्दा बढी ऋण प्रवाह भएको देखिन्छ ।

यो लगानी कसको ?

यातायात क्षेत्रमा सरकार र बिग हाउसको लगानी छैन । यहाँ निजी लगानी छ, निम्न मध्यम वर्गीय व्यवसायीको लगानी छ, नितान्त नेपालीको लगानी छ ।

अझ भन्ने हो भने यातायातका साधनमा सहचालक, परिचालक, चालक, बुकिङ काम गरेर आर्जन गरेको थोरै पैसा र अचल सम्पत्ति बैंकलाई बुझाएर ऋण लिएर गरिएको लगानी छ ।

लामो समय वैदेशिक रोजगारीमा रहेर फर्किएपछि स्वदेशमै स्वरोजगार हुन लगानी भएको छ । विकल्प विनाको पत्रु गर्ने निर्णयले धेरैलाई उठीवास लगाउँछ, धेरैलाई सडकमै फर्काउँछ, बेरोजगार बनाउँछ र राज्य गैरजिम्मेवार सावित हुन्छ ।

सर्वसाधारणमा पार्ने असर

पत्रु गर्ने निर्णयको असर साना तथा मझौला सवारी साधनहरूमा अधिक छ । भौगोलिक हिसाबले यो प्रदेश उपत्यका, पहाड र उकाली ओराली भएको स्थान हो । उपत्यकाका अधिकांश सडक साँघुरा र साना छन् । रुटहरू छोटा छन् । यस्ता स्थानमा ठूलाभन्दा साना सवारी साधनहरू नै उपयुक्त हुन्छन् र उपत्यकामा सदियौंदेखि साना सवारी साधनले लाखौं जनतालाई सेवा प्रदान गर्दै आइरहेका छन् ।

साना रुटहरूमा विकल्प विना बीसवर्षे हद देखाएर पत्रु गरिंदा उपभोक्तालाई पनि गम्भीर असर पर्ने देखिन्छ । त्यसैले सरकारले यो निर्णयको चौतर्फी प्रभाव मूल्यांकन गर्दै विकल्प पनि दिन सक्नुपर्छ ।

सरकारसँगको संवाद 

सियो उत्पादन नहुने हाम्रो देशले तेस्रो मुलुकबाट आयात गरिएको सवारी साधन त्यो पनि सार्वजनिक सवारी साधनलाई मात्रै बीसवर्षे उमेर तोक्नु अव्यावहारिक र अवैज्ञानिक पनि हो । हामीले योसँगै सरकारलाई भनेका थियौं :

१. सवारी साधनहरूको प्रदूषण चेकजाँच (भेहिकल फिटनेश टेष्ट) गरी यान्त्रिक रूपमा उपयुक्त सवारी साधनहरूलाई चल्न दिनु उपयुक्त हुनेछ ।

२. पत्रु गर्ने नै हो भने ब्लु बुकका आधारमा अर्को सवारी साधन ल्याउने विकल्प दिंदै सरकारले सहुलियत र सहयोग योजना घोषणा गर्नु उपयुक्त हुनेछ ।

३. सवारी साधनको अवस्थाको अध्ययन गरी उपयुक्तलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।

फलामको आयु हुँदैन, यसलाई निरन्तर र नियमित मर्मतसम्भार र रेखदेखको जरूरी हुन्छ ।

कसको इशारा र फाइदाका लागि यो निर्णय ?

सबै प्रकारको सवारी साधनको संख्या नेपालमा अहिले करिब ४५ लाख छ । प्रत्येक वर्ष ६ लाख हाराहारीमा नेपालमा सवारी साधनहरू आयात भइरहन्छन् । सवारी साधनमा लगाइएको बीसवर्षे उमेर हदबन्दीको नीति कार्यान्वयन भयो भने प्रत्येक वर्ष करिब दश हजार सवारी साधनहरू पत्रु हुँदै गइरहन्छन् ।

पत्रु गरिएको स्थानमा मोटर उत्पादन कम्पनीले नयाँ सवारी साधन निर्यात गर्न पाउँछ । त्यो बापत नेपालको करिब बीस अर्ब रकम विदेश पठाउनुपर्छ । नेपाल सरकारले गरेको यो नीतिगत निर्णयले देशलाई झन् गरिब बनाउने र बेरोजगारी बढाउने जोखिमलाई नजरअन्दाज गर्न सकिन्न ।

षड्यन्त्रको सूत्रपात

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ कात्तिक २०७१ बाट लागू हुने गरी सार्वजनिक सवारी साधनमा बीसवर्षे नीति लागू गरे पनि सवारी साधन खरिद–बिक्री गर्दा निर्णय बारे जानकारी भने गराइएन । सवारी खरिद–बिक्री समेत रोक्का गरिएन जसका कारण निर्वाध रूपमा सवारी साधन खरिद–बिक्री भइरहे, लगानी भइरहे ।

ल्याण्डरोभर लगायत सवारी साधनहरूलाई बीसवर्षे नीतिले नछुने गरी सरकारले नीतिमा परिमार्जन गरी सञ्चालन अनुमति दिएर पूर्वाग्रहपूर्ण व्यवहार गरेको छ ।

कसले भरिदिने क्षतिपूर्ति ?

पत्रु गर्ने समय सवारी साधनको दर्ताको मितिलाई गणना गरिएको छ । उत्पादन हुनासाथ आयात नहुने हुँदा करिब ५ महिनाको समयान्तर यसमा पनि हुने गर्दछ । वर्षकै हिसाबले हेर्ने हो भने ११ चैत २०७६ देखि निरन्तर बन्दाबन्दीले करिब एक वर्ष सवारी साधनहरू चलेनन् ।

१० वर्षे युद्ध, १९ दिने जनआन्दोलन, राजनीतिक दलहरूले गर्ने समय समयका बन्द–हड्ताल, भूकम्प तथा नाकाबन्दी र मधेश आन्दोलन सबैलाई जोड्ने हो भने पनि करिब पाँच वर्ष सवारी साधनहरू घर–ग्यारेजमै थन्किए ।

दलालको दलदलमा नेपालको यातायात

निजी क्षेत्रको लगानी भएकाले नेपालको यातायात क्षेत्रलाई सरकारले सञ्चालन, परिचालन, व्यवस्थापन र नियमन गर्न सकेको छैन । यातायात नीतिमा सरकारले खासै चासो नराखेको कारण शक्ति प्रभावमा सरकार परिरहेको छ । बीसवर्षे उमेर हदको नीति पनि शक्ति प्रभावकै उपज हो ।

विशेषतः आफ्ना उत्पादन बेच्ने बजार नेपाल भएकाले र सवारी साधन कस्तो, कसलाई, कहाँ र कसरी भन्ने प्रक्रिया बारे सरकारको नीति फितलो रहेकाले पनि मोटर उत्पादक कम्पनीहरूको नियोजित स्वार्थ अनुरूप कुनै पनि नीति आउनुहुँदैन ।

बीसवर्षे नीतिमा मात्रै होइन ट्याक्सी थप गर्ने, माइक्रोबस ल्याउने, विद्युतीय सवारी ल्याउने लगायत विभिन्न विषयमा दलालहरूको चलखेल हुने, बिचौलियाहरूको सक्रियता बढ्ने र अन्ततः कमिशनमा सरकारी संयन्त्रदेखि सम्बन्धित क्षेत्रका व्यक्तिहरूको मिलेमतो हुने परम्पराले सार्वजनिक यातायात क्षेत्र क्रमशः ध्वस्त हुँदै गइरहेको छ ।

अबको बाटो 

सरकारले बीस वर्ष नाघेका सवारी साधनलाई पत्रु गर्ने ३५ दिने सूचना तुरुन्त सच्याउनुपर्छ वा मजदुर प्रभावित नहुने गरी विकल्प दिन सक्नुपर्छ । सरोकारवालासँगको संवादमा विकल्पको व्यवस्था गरेर स्वरोजगारहरूको भावनाको सम्बोधन गर्नुपर्छ । गिरोहहरूको पहिचान गर्दै सार्वजनिक यातायात सेवालाई मर्यादित बनाउनुपर्छ । यात्रुमैत्री सेवा प्रवाह गर्नुपर्छ ।

देशले आर्थिक संकटको सामना गर्दैगर्दा नेपाली श्रमजीवीहरूको अरबौंको लगानीलाई संरक्षण गर्नुपर्छ । वर्षेनि अरबौं पैसा तेस्रो मुलुक भित्रिने गरी ल्याइएको नीति सच्याउनुपर्छ ।

यो समस्या सुल्झाउन २०७४ सालदेखि विभिन्न ट्रेड युनियनले राजनीतिक दल, थुप्रै सरकार प्रमुख र विभागीय मन्त्री, सरोकारवाला तथा विज्ञहरू सबैलाई ध्यानाकर्षण गराइसकेका छन् ।

अबको पालो यातायात व्यवसायी, स्वरोजगार, रोजगार श्रमिकहरूको हो । सरकारले विना तयारी गरेको यो निर्णयले उनीहरूलाई कि पेशा, व्यवसाय परित्याग गर्ने कि गलत नीतिका विरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा पुर्याएको छ । यसको रचनात्मक समाधान सोच्न नसक्दा सरकारले सडक प्रदर्शनको सामना गर्नुपर्ने हुनसक्छ ।

(लेखक नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुन् ।)



source https://www.onlinekhabar.com/2023/05/1312500

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More