२६ वैशाख, जनकपुरधाम । खरबुजाको नाम सुन्दा धेरैको मुख रसाउँछ । जाडोयाम सकिएर गर्मी चढ्दै गएपछि बजारमा खरबुजाको माग बढ्छ । त्यही खरबुजा फलाउन वर्षेनी कमला नदीको बगरमा आइपुग्छन् ६५ वर्षीय बुधेसर मुखिया र उनकी पत्नी सोमित्रा ।
धनुषाको शहीदनगर नगरपालिका-९ गोठकोयलपुरका बुधेसरले धनुषाको सबैला र शहीदनगर नगरपालिकामा ७ कठ्ठा जग्गामा खरबुजा खेती गरेका छन् । खडेरीका कारण खरबुजा राम्रो नफलेको बताउने बुधेसर अहिलेसम्म एकलाख रुपैयाँ भन्दा बढीको बिक्री गरेको बताउँछन् ।
‘यसपालि समयमा वर्षा भएन । रौदी पर्यो । त्यसैले राम्रो फलेन । तर एक लाखभन्दा बढीको बेचेको छु । लगानी मिहिनेत काटखोट गरेर ८० हजार बचत भयो’, बुधेसर सुनाउँछन् ।
उनका अनुसार गाउँको हाटबजारमा खरबुजा प्रतिकिलो ३० देखि ५० रुपैयाँमा बिक्री हुने गरेको छ । ‘प्रतिकिलो ३० देखि ५० रुपैयाँ र गोटाको ४० देखि ३ सय रुपैयासम्म बजारमा बेचेँ’ उनले भने । बुधेसरले एउटै खरबुजा १० किलोसम्मको फलाएका छन् ।
खरबुजा खेती गरेको जग्गा बुधेसरको आफ्नो होइन, ठेक्कामा लिएका हुन् । अब उनको खेतको खरबुजा सक्किन लागेको छ । यो कमाइले वर्षभरि १० जनाको परिवारको खानपान, लुगाफाटो, नातिनातिनाको पढाइ चल्छ ।
आफ्नो जग्गा २ कठ्ठामात्र रहेका बुधेसर प्रत्येक वर्ष वर्षभरिको घरखर्च जुटाउन श्रीमतीसँगै पाँच महिना कमलाको बगरमा बास बस्छन् । पुसमा घर छाडेर कमला बगरमा छाप्रो झुण्ड्याएर बसेपछि मध्यजेठमा मात्र उनीहरु घर फर्किन्छन् ।
गत वर्ष उनले एक विघामा खरबुजा खेती गरेका थिए । खेती निकै राम्रो भयो, तर बेच्न नसकेर धेरै खेतमै कुहियो । त्यसैले यस वर्ष ७ कठ्ठामा मात्र लगाएका थिए । तर समयमा पानी नपर्दा सोचे जस्तो नफलेको बुधेसर सुनाउँछन् ।
कमला नदीको बगरको जग्गा ठेक्कामा लिएर खरबुजा फलाउने बुधेसरजस्ता अरु पनि छन् । बुधेसरकै छेउमा गोठकोयलपुरकै ७० वर्षीय लक्ष्मण मुखिया र उनकी श्रीमती लाखो देवीले ५ कठ्ठामा खरबुजा खेती गरेका छन् ।
गत वर्ष ५ कठ्ठामा खेती गरेका लक्ष्मणले यसवर्ष ८ कठ्ठा खरबुजा खेती गरेका छन् । तर खडेरी परेर खेती सोचे जस्तो भएन । अहिलेसम्म ३० हजार रुपैयाँमात्र मात्र कमाइ भएको मुखियाले बताए ।
‘सात सयको दरले आठ कठ्ठा खेत ठेक्कामा लिएको छु । खनजोत, मलजल, औषधि पानी सिँचाइ गरेर ठूलै लगानी लाग्यो । तर समयमा पानी नपर्दा बाली सप्रेन । कम फल्यो’, उनले सुनाए । सम्पत्तिको नाममा एउटा घडेरीमात्र रहेका लक्ष्मण वर्षेनी कमला बगरमा खरबुजा खेती गरेर परिवारको जोहो गर्ने गरेको बताउँछन् ।
‘आफ्नो दमकल भएको भए पानी लगाउन सजिलो हुन्थ्यो । घण्टाको पचास रुपैयाँ तिरेर सिँचाइ गर्नुपरेको छ । कति पानी लगाउनु । सरकारले दमकल उपलब्ध गराए ठूलो गुण हुने थियो’ लक्ष्मण भन्छन् ।
यहाँका किसानले नदीबाट खेतमा पानी तान्ने मोटरलाई दमकल भन्छन् । कमलाको पूर्वी किनारमा सिरहाको कल्याणपुर नगरपालिका बेल्हातर्फ धनुषाकै कमला नगरपालिका-५ लक्करका ७० वर्षीय रामदयाल पासवानले १० कठ्ठा जग्गामा खरबुजा खेती गरेका छन् । उनले कठ्ठाको तीनसय रुपैयाँमा जग्गा भाडामा लिएर खेती गरेका हुन् ।
गत वर्ष खर्च कटाएर ६० हजार रुपैयाँ आम्दानी गरेका रामदयाल यस वर्ष हिउँदे वर्षा नहुँदा खरबुजा नसप्रिएको बताउँछन् । रामदयालले हिउँदमा गर्ने खरबुजा खेतीबाटै आठ जनाको परिवार पालेका छन् ।
राम्ररी सप्रिदा एक कठ्ठामा ७ क्वीन्टलभन्दा बढी खरबुजा उत्पादन हुने रामदयालको भनाइ छ । तर यसपटक खडेरीले ३ क्वीन्टल मात्र फलेको उनी बताउँछन् ।
अहिलेसम्म लगानी भने खेर नगएको रामदयाल सुनाउँछन् । तर २४ सै घण्टा रेखदेख गरेन भने स्याल र निलगाईले सखाप गरिदिने रामदयाल सुनाउँछन् । त्यसैले खोला किनारमा खरबुजा खेती गर्ने किसानहरु रातदिन खेत कुरेर बस्छन् । ‘रेखदेख दिनरात गर्नैपर्छ । नत्र स्याल र हुलका हुल निलगाई आएर खाइहाल्छ’, उनी सुनाउँछन् ।
सरकारले खरबुजा खेतीमा सिँचाइ गर्न दमकल र सहज रुपमा मलखाद पाउने व्यवस्था गरिदिए राम्रो हुने किसानहरु बताउँछन् । जसोतसो लगाएको बाली पनि निलगाईले खाइदिँदा किसानमाथि ठूलो बज्रपात पर्ने गरेको रामदयालको गुनासो छ । ‘यति लगानी मिहिनेत गरेर लगाएको बाली हुलका हुल निलगाई आएर खाइदिन्छ । हामी धेरै पीडित छौं’, उनी भन्छन् ।
रामदयालकै छेउमा छ छिमेकी महिन्द्र पासवानको ४ कठ्ठा खरबुजा खेती । खेत पुरै हरियो छ, तर फल भने राम्रो लागेन । सोचे जस्तो नभए पनि घाटा नलाग्नेमा उनी ढुक्क छन् ।
महिन्द्रले १५ वर्षदेखि खरबुजा खेती गर्दै आएका छन् । गत वर्ष ५ कठ्ठाको खेतीबाट ५५ हजार आम्दानी गरेका थिए उनले । ६ जनाको परिवारको आधा वर्षको घरखर्च खरबुजा खेतीले धानेको छ । खरबुजा खेतीको सिजनबाहेक अरु बेला उनी मजदुरी गर्छन् ।
सरकारले समयमा मलखाद, सिँचाइको सुविधा दिए खरबुजा खेती गरेर मनग्य आम्दानी गर्न सक्ने महिन्द्र बताउँछन् । ‘दमकल उपलब्ध गराइदेओस्, मलखाद सुलभ मूल्यमा दिए हामी ठूलो मात्रामा खेती गर्न सक्छौं । देश विदेश निर्यात गर्न सक्छौं’ महिन्द्र भन्छन् ।
उनीहरु जस्तै यस भेगका थुप्रै किसानले खरबुजा खेती गर्ने गरेका छन् । खरबुजा खेती नै यहाँका आर्थिक अवस्था कमजोर घरपरिवारको मुख्य आयस्रोत हो । कमलाको बगरमा सस्तोमा जग्गा ठेक्कामा पाइने भएकाले किसानहरुले हिउँदको पाँच महिना खरबुजा, परवल, फर्सीलगायतका बाली लगाउँछन् ।
तनुकलाल पासवानले बगरमै खरबुजासँगै खिरी, परवल, फर्सी र सजवन खेती लगाएका छन् । सरकारले थोरै मात्रै सहयोग गरे धेरै खरबुजा र तरकारी फलाउन सकिन्छ’, तनुकलाल भन्छन् ।
source https://www.onlinekhabar.com/2023/05/1304191
0 comments:
Post a Comment