दुई महिने ‘मिसन ग्रासरुट अभियान’ ले नेकपा एमालेभित्र देखिएको समस्याको पहिचान गरेको छ । पार्टीभित्र किन अराजकता बढ्दै गयो र चुनावमा अन्तर्घात भयो भन्ने पहिचान गरेको छ । अन्तरविरोधको कारण र प्रवृत्ति पत्ता लगाएको छ ।
५०० पार्टी सदस्य भएको ठाउँमा २०० भोट कसरी आयो ? पार्टी सदस्यहरूले नै भोट नहाल्ने कसरी हुन्छ ? अभियानले यी र यस्ता समस्याको कारण पहिचान गरेको छ । एकप्रकारले मिसन ग्रासरुट अभियानले चुनावी समीक्षा गरेको छ ।
अभियानले पार्टी कमिटी र सदस्यहरूमा देखिएको समस्याको समीक्षा पनि गरेको छ । कमिटीहरूको वैधानिक बैठक नबसेको, चुनावको प्रचार नगरेको र वैचारिक काम नगरेकाले पार्टी सदस्यहरू अनुशासनहीन बनेको निष्कर्ष निकालेको छ । र, यसका पछाडि गुटबन्दी, ठेकेदारी या पार्टी सदस्यता वितरणलाई गम्भीर रूपमा नलिएकै देखिन्छ । अतः मिसन ग्रासरुट अभियानको सिकाइबाट आगामी एक वर्षभित्र एमालेले चार वटा मुख्य काम गर्नेछ ।
सदस्यता नवीकरण
पार्टी सुदृढीकरणको काम थालिसक्यौं । त्यो भनेको सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान हो । मिसन ग्रासरुट अभियानमा सुरु भएको सदस्यता नवीकरण असार मसान्तभित्र सक्छौं ।
पार्टी सुदृढीकरण गर्न सदस्यता नवीकरणलाई गम्भीरतापूर्वक लिनुपर्नेछ । अब हामी पार्टी सदस्यता नवीकरण गर्न वर्ष दिन कुर्दैनौं । सदस्यता नवीकरण १५ असारसम्म जिल्लाले प्रदेश कमिटीसम्म र असार मसान्तभित्र केन्द्रीय संगठन विभागमा आइपुग्ने गरी काम गर्छौं ।
यो क्रममा कतिलाई हटाउने र कतिलाई नवीकरण गर्ने भन्ने टुङ्गो लाग्नेछ । वामपन्थी पार्टीबाटै आएकाहरूको सदस्यता अद्यावधिक मात्रै गरे पुग्छ, तर गैरवामपन्थीहरूबाट प्रवेश गरेकालाई आवेदन भरेर केन्द्रमा पठाउनुपर्नेछ ।
नयाँ नेतृत्व चयन
अहिले हाम्रो कमिटीहरू कामै गर्न नसक्ने गरी भद्दा भए । प्रदेश कमिटी त चार/पाँच सय जनाको बन्यो । तीमध्ये आधा त मिसन ग्रासरुटमा सहभागी नै भएनन् । मिसन ग्रासरुट अभियानले पत्ता लगाएको यो अर्को रोग हो ।
यसलाई नयाँ नेतृत्व चयन गरेर हल गर्न सकिन्छ । यसअघि हामीले एकैदिन वडा, फेरि एकैपटक पालिका र एकैपटक जिल्ला अधिवेशन गरेका थियौं । त्यसरी अधिवेशन गर्दा कमिटी चयनमा ध्यान पुग्न सकेन ।
अधिवेशनमा पार्टी सदस्यले जनवादी (लोकतान्त्रिक) अधिकार प्रयोग गर्नै पाएनन् । प्रतिस्पर्धा गर्न चाहनेले उक्त अवसर नपाउँदा केही न केही समस्या ल्यायो । भन्नलाई त सर्वसम्मत नेतृत्व चयन भन्यौं, तर कमिटी हाँक्नै नसक्ने वा नजान्ने नेता चयन भए ।
त्यसैले संगठन सुदृढीकरणको अभियान अधिवेशनबाट सुरु हुन्छ । प्रतिस्पर्धा गर्न चाहनेले त्यस्तो अधिकार उपयोग गर्न पाउँछन् । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ । अब तलबाट माथि होइन, माथिबाट अधिवेशन सुरु हुन्छ । र मूलतः पार्टी हाँक्ने फौज भनेको प्रदेशभन्दा मुनिको कमिटी भएकाले प्रदेश अधिवेशनबाट संगठन सुदृढीकरण थाल्छौं । प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्मको अधिवेशन गर्छौं ।
त्यही क्रममा पार्टी बैठक भनेको के हो र कसरी काम गर्छ भन्ने सीप कार्यकर्तालाई सिकाउँछौं । पार्टीभित्र अनुशासन कसरी कायम गर्नुपर्छ, जनवादी अधिकारको उपयोग कसरी गर्नुपर्छ भन्ने सिकाउँछौं । गतिशील र इमानदार पार्टी पंक्ति निर्माण गर्नु अधिवेशनको अर्को उद्देश्य हुनेछ ।
राजकीय र पार्टी सम्बन्ध
पार्टीको महत्वपूर्ण क्षेत्र संसदीय र राजकीय हो । पालिका, प्रदेश सभा र प्रतिनिधिसभामा निर्वाचित भएर गएका नेताहरू हुन् । हामी त्यसैमा केन्द्रित हुन्छौं ।
२०७४ को चुनावमा जितेको ७४ प्रतिशत ठाउँमा यसपटक हार्यौं । यसको पछाडि कारण त पक्कै छ । जनतासँग हाम्रो जनप्रतिनिधिको सम्बन्ध राम्रो भएन कि ? सेवा प्रवाह राम्रो भएन कि ? विकास र सुशासनको काम भएन कि ? त्यसैले जनताले विकल्प खोजे ।
त्यसैले अब ‘सुशासनमार्फत डेलिभरी, डेलिभरीमार्फत समृद्धि’ भन्ने नारा लिएर जनप्रतिनिधिलाई व्यवस्थित गर्नेमा ध्यान दिनेछौं । त्यसका लागि पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने हो । अहिले कतिपय ठाउँमा पार्टी र जनप्रतिनिधिको सम्बन्ध दुस्मन जस्तो, एकअर्काका विरोधी जस्तो छ ।
त्यसलाई समाधान गर्न निश्चित संयन्त्र बनाएर पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध सुधार गर्नेछौं ।
कार्यालय व्यवस्थापन
हाम्रा कतिपय पार्टी कार्यालय अस्तव्यस्त देखिए । जबकि संसदीय प्रणालीमा पार्टी कार्यालयको अर्थ महत्वपूर्ण हुन्छ । हामीले संगठन र जनताको काम कार्यालयबाटै गर्नुपर्छ । जनजीविकासँग जोडिएका काम, विकास निर्माण र शान्ति सुव्यवस्थाका सवाल कार्यालयसँगै जोडिएका हुन्छन् ।
पार्टीको ‘र्याङ्क एण्ड फाइल’ चुस्तदुरुस्त राख्ने, पार्टी नेताहरूको कामको अनुगमन र संरक्षणको योजना कार्यालयबाट बनाउनुपर्छ । अभिलेख प्रणालीलाई व्यवस्थित बनाउने पनि कार्यालयबाटै हो । कार्यालय व्यवस्थित गरेर मात्रै पुग्दैन, नेता-कार्यकर्ता नियमित रूपमा कार्यालय जाने र जनताको काम गर्ने थलोका रूपमा विकास गर्ने हो । यो काम हामी एक वर्षभित्रै गरिसक्छौं ।
छोराछोरी अभियान
मिसन ग्रासरुट अभियानमा हामीले अरू पक्षको पनि अध्ययन गर्यौं । हामीले अभियानका क्रममा गरेका धेरै सम्मेलनमा १८ देखि ३५ वर्षसम्मका युवा कम देखिए । यसले पार्टीभित्र जेनेरेसन ग्याप देखायो ।
भरतमोहन अधिकारीको निधनपछि पार्टीमा पहिलो पुस्ताका नेता नै हुनुहुन्न । अहिले झापा विद्रोह, कोके काल, भण्डाफोर अभियानदेखि २०४६ सालको आन्दोलनबाट आएकाहरू नेतृत्वमा छौं ।
अनि, २०५४ को जनप्रतिनिधि, २०६३ सालको आन्दोलन र २०७२ मा नाकाबन्दी विरुद्ध लडेकोसम्म देखिन्छौं । पार्टीमा रहेका यी पंक्तिमा तुलनात्मक गतिशीलता कमी हुँदै गएको छ । उमेरका हिसाबले थाक्दै र पुरानो हुँदै गएका छन् ।
तर अहिलेको चुनौती सामना गर्न पार्टीमा नयाँ पुस्ता आउनुपर्छ । त्यसो गरिएन भने पार्टी दुर्घटनामा जान सक्छ । त्यसैले ‘मिसन योङ र छोराछोरी’ अभियान सुरुवात गर्न लागेका छौं ।
अहिले पार्टी नेताकै छोराछोरी पार्टीमा छैनन् । बाबुआमा पार्टीको पदाधिकारी छन्, छोराछोरी अखिलमा छैनन्, युवा संघमा छैनन् । किन त्यस्तो हुनगयो ? पहिले पञ्चायतकालमा बाबुआमा पञ्च, छोराछोरी अखिल हुन्थे । अहिले के हुँदैछ ? यो गम्भीर कुरा हो । त्यसैले हामीले छोराछोरी अभियान चलाउने हो ।
यी दुवै अभियान भूगोललाई आधार बनाएर चलाउँछौं । मध्यपहाडी र हुलाकी लोकमार्ग भएर हाम्रो अभियान चल्नेछ । अहिले मध्यपहाडी लोकमार्गले धेरै संख्यामा जिल्लाहरू समेटेको छ । त्यस्तै, पूर्वपश्चिम राजमार्गदेखि तल र दशगजा भन्दा माथिको भूभाग हुलाकी लोकमार्गले समेटेको छ । त्यसैले यी दुई अभियान हुलाकी र मध्यपहाडी लोकमार्गमा एकैपटक लैजान्छौं ।
अभियानले १८ देखि ३५ वर्षका युवा पार्टीमा ल्याउने हो । अहिले नै प्रदेश र केन्द्रीय कमिटीमा आउन नसक्ला, तर जिल्ला, पालिका र वडामा ३३ प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्छौं । त्यति नगरी पार्टीले नवजीवन प्राप्त गर्न सक्दैन । नयाँ सफलता हासिल गर्न सक्दैनौं ।
अर्को क्षेत्र जनसंगठन हो । कुनै जाति, क्षेत्र, पेशाको मान्छे आकर्षित गर्न जनसंगठन चाहिएको हो । तर त्यस्ता कमिटी पनि पार्टीका नेताहरूले कब्जा गर्ने भइरहेको छ । नयाँ मान्छे कोही नआउने, पार्टीमा हारेका मान्छेहरू त्यहाँ बस्ने भइरहेको छ ।
त्यसैले पार्टी सदस्य नभएकाहरू जनसंगठनहरूमा ल्याउनुपर्छ । जनसंगठन एमाले कोरल्ने संगठन बनाइनुपर्छ ।
(कुराकानीमा आधारित)
0 comments:
Post a Comment