१ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको प्रशासनिक भवनको बाहिरी भाग रंगरोगन गरिएको छ । झट्ट हेर्दा महानगरको स्वरुप फेरिए जस्तो देखिन्छ । तर, कार्यालयभित्रको अवस्था भने उस्तै छ ।
नयाँ जनप्रतिनिधिको एक वर्षको अवस्था पनि महानगरको प्रशासनिक भवन जस्तै छ । आवरणमा नयाँ परिवर्तन देखिए पनि अवस्था भने पुरानै छ । महानगर नेतृत्वसँगको असन्तुष्टि र आक्रोश पनि बढ्दो छ ।
नागेश कोइरालाले नेतृत्व सम्हालेको एक वर्षसम्म दीर्घकालीन महत्वका परिणाममुखी काम नदेखिएको स्थानीयको गुनासो छ ।
सुशासन कायम गर्ने विषयमा नेतृत्व चुकेको स्थानीय तहको निर्वाचनमा नागेश कोइरालाका प्रतिस्पर्धीसमेत रहेका एमाले नेता सागर थापा बताउँछन् ।
महानगर नेतृत्व प्रचारमुखी र अल्पकालीन काममा केन्द्रित भएको उनको गुनासो छ । गर्न सकिने दीर्घकालीन महत्वका योजना नल्याइ टालटुले काममा जनप्रतिनिधि अल्झिएको उनले बताए । ‘प्लानिङ तीन किसिमका हुन्छन्- सर्ट टर्म, मिड टर्म र लङ टर्म,’ उनले भने, ‘कुनै प्लानमा महानगर चलेको छैन ।’
संघ र प्रदेशसँग योजना मागेर नयाँ काम गर्न महानगर चुकेको उनले बताए । ‘विराटनगर विकासको भोको छ तर नेतृत्वचाहिं भोको भएन,’ उनले भने, ‘भिजन भएन, इच्छाशक्ति पनि देखिएन, एक वर्षको काम मूल्यांकन गर्दा गन्तव्यहीन दिशातर्फ लैजाने देखियो ।’
महानगरले आफ्नो प्राथमिकता छुट्याउन नसकेका कारण कर्मकाण्डी काम गरिरहेको उनले बताए । ‘न विगतलाई निरन्तरता दिएको छ, न आफ्नो नयाँ क्रिएशन छ, अहिलेसम्म चलेको चाहिं छ’ विराटनगर-२ का स्थानीय सुरेश बस्नेत भन्छन्, ‘नियमतः प्रक्रियाका काम भएका छन् ।’
पब्लिक फोरम नामक संस्थाका अध्यक्ष उत्तम ढुंगेल पहिलो वर्ष महानगर नेतृत्वले देखिने गरी काम गर्ने प्रयास गरे पनि पूर्ण नभएको बताउँछन् । महानगरमा सुशासनको अवस्था कमजोर भएको उनको भनाइ छ । ‘देखिने गरी केही काम भएका छन्, तर सुशासनको अवस्था कमजोर छ’, उनले भने ।
मेयर नागेश कोइराला भने एक वर्षमा प्रशस्त काम गरेको दाबी गर्छन् । सडकको पार्किङ व्यवस्थापन, बजारको सरसफाइ, सुशासन लगायत धेरै क्षेत्रमा काम गरेको उनले बताए ।
कतिपय काम विराटनगरबाट अरू पालिकाले सिकेर गरेको उनको दाबी छ । ‘उज्यालो, खैनी-सूर्ती निषेधित अभियान जस्ता अभियान विराटनगरबाट सिकेर अरू पालिकाले गरेका छन्’, उनले भने, ‘तर हाम्रो कामको चर्चा भएको छैन ।’
आन्तरिक आयलाई वृद्धि गर्न करको दर घटाएर दायरा बढाएपछि कर संकलन अभियान, फुटपाथ खाली गराउने अभियान, बिजुलीका तार व्यवस्थानलगायत काम गरेको बताउँदै उनले दीर्घकालीन महत्वका योजना प्रक्रियामा रहेको दाबी गरे ।
नगर बस सञ्चालन, नगरवासीलाई खानेपानी वितरण, महानगरको प्रशासनिक भवन, पाँच स्थानमा पार्क निर्माण, सडक पूर्वाधार र महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम दीर्घकालीन महत्वको भएको उनले बताए ।
निर्णय गर्दै पछि हट्दै
२०७९ भदौ ४ गतेबाट विराटनगर महानगरपालिकाले हरेक हप्ताको शुक्रबार नगर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गर्यो । निर्णय कार्यान्वयनका लागि मेयर नागेश कोइराला झाडु लिएर सडकमा निस्किए । तर यो अभियान लामो समयसम्म टिक्न सकेन ।
दुई महिना सञ्चालन भएपछि अभियान नै बन्द भयो । हरेक बिहान ७ बजेदेखि एक घण्टा गर्ने भनिएको अभियान रोकिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्वीकार गर्छन् ।
गत फागुन पहिलो साता महानगरले नगरबस सञ्चालन गर्ने निर्णय गर्यो । निजी क्षेत्रको साझेदारीमा तत्कालै बस सञ्चालन गर्ने प्रचारप्रसार भयो । मेयर नागेश कोइराला र उपमेयर शिल्पा कार्कीले पालैपालो रुट परीक्षण गरे । तर नगरबस सञ्चालनको योजना निश्चित छैन ।
सार्वजनिक निजी साझेदारी मोडलमा नगर बस चलाउन लगानी प्रवर्द्धन बोर्डले मोडल तयार गरेको थियो । सार्वजनिक निजी साझेदारीमा बस सञ्चालनको प्रक्रियामा रहेको मेयर कोइरालाले बताए । उनले भने, ‘अब तीन-चार महिना लाग्ला ।’
महानगरपालिकाले २०५४ सालमा पनि नगरबस सञ्चालनको योजना बनाएको थियो । तर त्यो योजना भने सफल भएन । पार्किङ निषेध अभियान, सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन र बेचबिखन, माछा-मासुको खुला बिक्री निषेध गरे पनि कार्यान्वयनमा महानगर अल्मलिएको छ ।
महानगरपालिका भए पनि विराटनगर महानगरपालिकामा प्रशस्त खेतीयोग्य जमिन छन् । खेतीयोग्य जमिन भए पनि महानगरको कागजमा अधिकांश खेतीयोग्य जमिनलाई आवास क्षेत्रमा राखेको छ । जग्गा कित्ताकाटका लागि विराटनगर महानगरपालिका भू-उपयोग (पहिलो संशोधन) कार्यविधि, २०७९ ले खेतीयोग्य जमिनलाई पनि आवास क्षेत्रमा राखेको हो ।
एक वर्षमा जे देखियो
विराटनगरको व्यस्त बजार मेनरोडमा पछिल्लो समय ट्राफिक जामको समस्या न्यून छ । समस्या न्यून हुनुको कारण हो- सडकको पार्किङ हट्नु । महानगरपालिकाले जलजला मोडदेखि ट्राफिक चोकसम्म सडकको पार्किङ हटाएको छ, जसले ट्राफिक जाम कम भएको हो । तर बजारका व्यापारी भने महानगरको निर्णयबाट सन्तुष्ट छैनन् । सडकमा पार्किङ नहुँदा व्यापार घटेको भन्दै व्यापारी असन्तुष्ट छन् । पार्किङ निषेधको निर्णयको विरोधमा व्यापारी सडकमा उत्रिए । व्यापारी सडकमा उत्रिएपछि महानगर निर्णय कार्यान्वयनमा केही समय पछि हट्यो ।
जलजला चोकदेखि ट्राफिक चोक र दुई वटा भित्री सडकको पार्किङ हटाएको महानगरले जलजला चोकदेखि उत्तर तीनपैनी चोकसम्म पनि सडकमा पार्किङ गर्न नदिने निर्णय गरेको थियो । सो निर्णय भने कार्यान्वयन गर्न सकेको छैन ।
मेयर नागेश कोइराला हरेक ३०० मिटरमा पार्किङको व्यवस्थापन गरेर सडकमा पार्किङ निषेध गरिएको बताउँछन् । बजार क्षेत्रका लागि महानगरले व्यवस्थापन गरेका पार्किङ अस्थायी हुन् । निजी जग्गा र प्रयोगमा नआएका सरकारी जग्गा पार्किङका लागि प्रयोग गरिएको छ । अस्थायी रूपमा पार्किङको व्यवस्थापन गरे पनि महानगरले स्थायी विकल्प दिनसकेको छैन ।
महानगरपालिकाले मुख्य बजारमा फुटपाथ खाली गराएको छ । फुटपाथमा हुने व्यापारका कारण पैदल यात्रीलाई यात्रा गर्न समस्या थियो । तर महानगरले मुख्य बजारको फुटपाथ खाली गराएको छ । फुटपाथसँगै नक्सा पास नगरी सडकसँग जोडिएका ‘सेटब्याक’ पनि हटाएको छ । फुटपाथमा अवरोध हुने गरी निर्माण भएका सेटब्याक हटाउन मेयर कोइरालाले आफ्नै घरबाट अभियान सुरु गरेका थिए ।
मेयर कोइरालाको एकवर्षे उपलब्धि सडक बत्ती पनि हो । मुख्य सडकमा राति यात्रा गर्दा हेडलाइट नबाली हिंड्नसक्ने गरी सडक बत्ती मार्फत उज्यालो बनाइएको उनले बताए ।
महानगरपालिकाले पछिल्लो समय सरसफाइमा पनि सुधार गरेको छ । बजारको फोहोरमैला उठाउनका लागि व्यस्त बजारमा महानगरपालिकाले दिनमा दुई पटक संकलन गरिरहेको छ । ‘सरसफाइमा हामीले धेरै काम गरेका छौं, बजारमा फोहोर देखिंदैन’, मेयर कोइराला भन्छन्, ‘बर्खामा हुनसक्ने डुबानको पूर्व तयारीका लागि नाला पनि सफा गरिसक्यौं ।’
महानगरको फोहोरमैला व्यवस्थापनका लागि अस्थायी रूपमा केशलिया खोलामा डम्पिङ साइट बनाएको छ । फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण गर्न जतुवामा १० बिघा जग्गा खरिद गरेको छ । पछिल्लो समय समस्याको रूपमा देखिएको अस्पतालजन्य फोहोर व्यवस्थापनको कामका लागि अस्पताललाई जिम्मेवार बनाउने तयारी रहेको उनले बताए ।
‘अस्पतालहरूलाई ल्याण्डफिल साइटमा साझेदारीमा प्रशोधन केन्द्र स्थापना गरौं भनेका छौं’ उनले भने, ‘उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ विराटनगर महानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन र बेचबिखन निषेध गरेको छ । निर्णय गरे पनि कार्यान्वयन भने भएको छैन ।
मेयरमा निर्वाचित भएपछि कोइरालाले करको दर घटाएर दायरा बढाउने निर्णय गरेका थिए । सो निर्णयका आधारमा नगरपालिकाले कर संकलन अभियान सञ्चालन गरिरहेको छ । वैशाखसम्म पालिकाले ५० करोड राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा राजस्व बढेको कोइरालाले बताए ।
संकल्प पत्र के भए ?
भीम पराजुली, अमृत अर्याल र डिला संग्रौलालाई उछिनेर नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारको टिकट ल्याएका कोइरालाले चुनावी अभियानका क्रममा ५९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका थिए । घरदैलोका क्रममा संकल्प प्रस्ताव पेश गर्दै सोही अनुसार काम गर्ने बताएका उनको कार्यशैलीले भने संकल्प पत्रको एजेण्डालाई सम्बोधन गरेको छैन ।
निजी अस्पतालका सञ्चालक समेत रहेका कोइरालाले सुविधासम्पन्न मेट्रोसिटी अस्पताल निर्माण गर्ने, सार्वजनिक सुविधाका लागि नगर बस चलाउने, प्रविधि मार्फत जनतालाई घरघरमा महानगरको सेवा प्रदान गर्ने, विद्युत्, टेलिफोन इन्टरनेट लगायतका तारलाई भूमिगत गर्ने, सामुदायिक विद्यालयहरूमा भेन्डिङ मेसिन सहितको प्याड बैंक स्थापना गर्ने, ६५ वर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने संकल्प थिए ।
स्वच्छ खानेपानीको व्यवस्था, केशलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रीन बेल्ट करिडोर निर्माण गर्ने, रोजगारीका अवसर सृजना गर्ने, विराटनगरमा औद्योगिक र राजनीतिक संग्रहालय निर्माण लगायत संकल्प थियो । संकल्प पत्र अनुसार पहिलो वर्षमा उनले काम गर्न सकेका छैनन् । देखिने र प्रचारमुखी केही काम गरेका उनले दीर्घकालीन योजना सहितका काम अघि बढाएका छैनन् ।
नागेश कोइराला भने संकल्प पत्रमा रहेको तार भूमिगत गर्ने निर्णय कार्यान्वयन गर्न नसकिने बताउँछन् । त्यसमा महानगरको क्षमताले नभ्याउने उनले बताए । एक वर्षको आफ्नो समीक्षाबाट सन्तुष्ट रहेका कोइराला संकल्प पत्रमा उल्लेख भए अनुसार खानेपानी खुवाउने योजना सन् २०२५ सम्म पूरा गर्ने बताउँछन् । जापानी दातृ निकाय जाइकासँग खानेपानी परियोजना सञ्चालन सम्बन्धी सम्झौताको तयारी भइरहेको उनले बताए । सडकमा हुँदा घोषणा गरे पनि जिम्मेवारीमा आएपछि काम गर्न कठिन रहेको पनि उनले बताए ।
टकरावले रोकियो काम
विराटनगर महानगरपालिकाका तत्कालीन मेयर भीम पराजुलीसँग नागेश कोइरालाको सम्बन्ध राम्रो छैन । दुई नेताबीचको कटुताका कारण महानगरका दुई ठूला योजना रोकियो । विराटनगरका लागि १४ करोड लागतमा निर्माण भएको तरकारी बजार र ठेक्का लागेको तीन वटा आकाशे पुलको काम रोकिएको हो ।
विराटनगरका उपभोक्तालाई लक्षित गर्दै कटहरी गाउँपालिका १ मा निर्माण भएको फलफूल तथा तरकारी थोक बजार उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ३ गते गरेका थिए । विराटनगर महानगरपालिकाको अव्यवस्थित गुन्द्री बजार सार्नका लागि निर्माण भएको संरचनामा बजार गएन ।
तत्कालीन मेयर पराजुलीले गुन्द्री बजार सार्न खोज्दा कांग्रेस नेता कोइरालाले विराटनगर बसपार्क पश्चिमपट्टकिो आफ्नो जग्गा भाडामा दिएर गुन्द्री बजार सार्न लगाए । कोइरालाले जग्गा भाडामा दिएपछि तरकारी बजारमा व्यापारी गएनन् । उद्घाटन भएको चार वर्ष बिते पनि बजार सञ्चालनमा आएको छैन । भएका संरचना जीर्ण बनेका छन् । कोइराला निर्माण भएको संरचना महानगरभित्र नभएका कारण बजार नसर्ने बताउँछन् ।
कोइरालाले रोकेको अर्काे योजना हो कोशी राजमार्गमा तीन वटा आकाशे पुल निर्माण । पराजुलीले सुरु गरेको २ करोड ४७ लाख रुपैयाँको तीन वटा पुल निर्माणको योजना अलपत्र परेको हो ।
विराटनगरको कन्चनबारी, बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा आकाशे पुल निर्माणका लागि २०७७ चैत २ गते तत्कालीन मेयर भीम पराजुलीले शिलान्यास गरेका थिए । कन्चनबारीमा पुल निर्माणका लागि एकतर्फ जग बनाइएको छ । पाञ्चाली मोडमा जग बनाउनका लागि खाल्डो खनिएको छ । तर महानगरको नयाँ नेतृत्व पुलको विपक्षमा उभिएपछि काम सुरु भएको योजना अलपत्र परेको हो । पाञ्चाली मोडमा निर्माण गर्न खोजिएको पुल मेयर कोइरालाको जग्गा अगाडि पर्छ । उनले आफ्नो जग्गा अगाडि पुल बनाउन दिएनन् । कन्चनबारी र बरगाछीमा पनि स्थानीयले अवरोध गरे । ठेक्का लागेर काम सुरु भइसकेको योजना तीन वर्षदेखि अलपत्र छ । मेयर कोइराला आकाशे पुल अगाडि बढाउने योजनामा छैनन् ।
विराटनगर महानगरपालिकाका अनुसार बरगाछी चोक र पाञ्चाली मोडको आकाशे पुल निर्माणको ठेक्का कला बिल्डर्सले पाएको थियो । कन्चनबारी चोकको ठेक्का आरके बिल्डर्सले पाएको थियो ।
आकाशे पुलको जग कंक्रिट र बाँकी संरचना स्टिलको बनाउने गरी पुलको डिजाइन गरिएको थियो । पुल निर्माणका लागि महानगरले जग बनाउन भन्दै कन्चनबारी र पाञ्चाली मोडको सडक छेउमा खनेको खाल्डो नपुर्दा दुर्घटनाको जोखिम छ।
source https://www.onlinekhabar.com/2023/05/1306904
0 comments:
Post a Comment