Wednesday, 17 May 2023

विद्यार्थी राजनीतिको सञ्जीवनी बन्न सक्छ भ्रष्टाचारविरोधी अभियान

विद्यार्थी राजनीतिलाई प्राज्ञिक, शैक्षिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, भूराजनीतिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाको पक्षमा आवाज उठाउने माध्यम मानिन्छ। यसै कोणबाट विद्यार्थी राजनीतिलाई अवलोकन गरिएमा मात्रै विद्यार्थी राजनीतिको पूर्ण स्वरूपबारे मेसो पाउन सकिन्छ। विद्यार्थी राजनीतिलाई केवल विश्वविद्यालयका मुद्दामा मात्र सीमित राखिए त्यो सही अर्थमा विद्यार्थी राजनीति हुन सक्दैन।

विद्यार्थी राजनीति र आधुनिक समाजलाई ‘मैले सोच्ने भएर नै मेरो अस्तित्व छ’ वा ‘मेरो अस्तित्व भएर नै मैले सोच्छु’ को बहसका आधारमा हेर्ने हो भने एउटा स्पष्ट नतिजामा पुग्न सकिन्छ। भलै माथिका भनाइमा दार्शनिक पृष्ठभूमि फरक भएसँगै निष्कर्ष पनि फरकै निस्केला।

तर ‘विद्यार्थी राजनीति छ त, समाज गतिशील छ’ वा ‘समाज गतिशील छ त, विद्यार्थी राजनीति छ’ भन्ने बहसमा भने एउटै निष्कर्षमा पुग्न सक्छौं। एकैछिन मूलधारको राजनीति र विद्यार्थी राजनीतिप्रतिको वितृष्णा बिसाउने हो भने दुवै कोणबाट हेर्दा हामीले विद्यार्थी वा विद्यार्थी राजनीतिको अस्तित्व रहँदा समाज गतिशील भएको कल्पना गर्न सक्दछौं।

अमेरिकी गृहयुद्धको दौरान तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘जनताको, जनताद्वारा र जनताका लागि’। यो विश्वप्रख्यात भनाइ लोकतन्त्रको आधारस्तम्भ बनेको छ। यसै भनाइको मर्म वरपर रहेर मूर्तरूप दिनका निमित्त विद्यार्थी राजनीतिले पहरेदारको भूमिका निभाउन सक्नुपर्छ।

उक्त भनाइलाई अनुसरण गर्दै विद्यार्थी राजनीतिलाई कतिपयले ‘विद्यार्थीको, विद्यार्थीद्वारा, विद्यार्थीका लागि’ भनी परिभाषित गरेको पाइन्छ। यो परिभाषा अपूर्ण छ र यसले विद्यार्थी राजनीतिको सूक्ष्म अंशलाई मात्र प्रतिनिधित्व गर्छ। विद्यार्थी राजनीतिको कुनै सीमित दायरा छैन, कुनै लक्ष्मण रेखाको आधारमा विद्यार्थी राजनीतिको दायरा कोरिएको हुँदैन। विद्यार्थी राजनीतिलाई लक्ष्मणको संज्ञाका रूपमा लिने हो भने विद्यार्थी राजनीति समाजको गतिशीलताको लक्ष्मण रेखा तय गर्ने लक्ष्मण हो। यसो भन्दै गर्दा कुनै रफ्फु भर्न खोजिएको होइन। शक्ति, सत्ता तथा शासनको साङ्लोमा विद्यार्थी राजनीति सदैव प्रतिपक्षी कडी हो।

वैश्विक रूपमा हेर्ने हो भने विद्यार्थी राजनीतिको हलचल ११औं शताब्दीमा नै भएको थियो। सन् १०८८ मा इटालीको बोलोग्ना शहरमा प्राध्यापकद्वारा दुर्व्यवहारित विद्यार्थीले ‘स्कोलारेस भागंतेस’ स्थापना गरे। उक्त अनुचित व्यवहारविरुद्ध आन्दोलित हुँदै अभियान चलाए। फलत: ‘युनिभर्सिटी अफ बोलोग्ना’ स्थापना भयो। यस विश्वविद्यालयलाई पाश्चात्य समाजको सबैभन्दा पुरानो विश्वविद्यालयको रूपमा चिनिन्छ।

११औं शताब्दीदेखि अहिलेसम्म आइपुग्दा विद्यार्थी राजनीतिले अग्रणी भूमिकासहित विभिन्न सामाजिक, राजनीतिक तथा शैक्षिक मुद्दा उठान गर्दै आएको छ। चाहे त्यो सन् १९८६ मा फिलिपिन्सका तानाशाह राष्ट्रपति मार्कोसको सरकारलाई घुँडा टेकाएर प्रजातान्त्रिक सरकारलाई पुन: ब्युँताएको ‘द पिपल रेभोलुशन’ होस् या सन् १९८९ मा चेकोस्लोभाकियाको अधिनायकवादी कम्युनिस्ट सरकार ढाली प्रजातान्त्रिक सरकारको सूर्योदय गराएको शान्तिपूर्ण ‘भेल्भेट रेभोलुशन’ होस्, सामाजिक तथा राजनीतिक व्यवस्था परिवर्तनमा विद्यार्थी राजनीतिले निर्वाह गरेका भूमिकाका फेहरिस्त छन्।

नेपालको सन्दर्भमा भन्नु पर्दा, जहानियाँ राणाशासन विरुद्धको अभियान विद्यार्थीले नै गरेका थिए। वि.स. १९९१ मा नेपाली छात्र संघ स्थापनाताका कुनै राजनीतिक दलको स्थापना समेत भइसकेको थिएन।

यसैगरी, २००४ साल असार १ गते रानीपोखरी संस्कृत पाठशालामा अध्ययनरत छात्रद्वारा विद्यार्थी हक-अधिकारका लागि र तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरको शेखी झार्न ‘जयतु संस्कृतम्’ आन्दोलन छेडेका थिए ।

अब विद्यार्थी राजनीतिलाई पुन: ब्युँताउन र गुमेको हुर्मतलाई पुनर्गठनको प्रक्रियामा ल्याउन विद्यार्थी राजनीतिले सैद्धान्तिक आधार गुमाउनुहुँदैन। ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने चेष्टा राख्नुपर्दछ

बीपी कोइराला तथा पुष्पलाल श्रेष्ठहरूले राणाविरुद्ध अभियान सुरु गर्दा विद्यार्थीकै रूपमा संगठित भएका थिए। २००७ सालको क्रान्ति, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको प्रथम जनआन्दोलन तथा २०६२-६३ को दोस्रो जनआन्दोलनमा विद्यार्थी राजनीतिको भूमिका नै थियो। आन्दोलन मात्रै नभई पुरातनवादी सामाजिक चिन्तन र चेतनालाई प्रगतिशील बहस तथा विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत नेपाली समाजलाई नवीन दिशोन्मुख विद्यार्थी राजनीतिले नै गराएको हो।

समावेशिता, लैङ्गिक समानता, जातीय भेदभाव अन्त्य, शिक्षामा समान पहुँच लगायत विषयलाई विद्यार्थी राजनीतिले नै मूलधारमा संस्थागत गराएको हो।

२०६२-६३ को कालखण्डपछि विद्यार्थी राजनीति केही छिटपुट अपवाद बाहेक वितृष्णाको जलपले सजिएको छ र विचार शून्यताको शरमले लजाएको छ। यसै क्रममा विद्यार्थी राजनीतिलाई उद्देश्यहीन, केवल ठोक्न-ठोकाउन र टोक्न-टोकाउन प्रयोग गरिने कुनै राजनीतिक दलको कृत्रिम यन्त्र भनिन थालिएको छ।

अहिलेको विद्यार्थी राजनीतिलाई विगतको विद्यार्थी राजनीतिले तर्साउन थालिसकेको छ।  स्कटिस दार्शनिक कलिंगउडले ‘वर्तमानले विगतका घटनालाई निर्धारण गर्छ’ भने झैं इतिहास सम्बन्धी ज्ञान इतिहासमा के भयो भन्नेमा मात्र सीमित छैन। वर्तमानमा उठेका प्रश्न र सरोकारले इतिहासलाई प्रभाव पारिरहेका छन् र विगतका घटनाप्रतिको बुझाइलाई वर्तमानमा भइरहेका घटनाले पनि परिवर्तित गरिरहेका हुन्छन्। यसर्थ, हामीले अहिलेको विद्यार्थी राजनीतिलाई पुन: लयमा ल्याउन नसकेको खण्डमा र विचलित अवस्थामा नै रहेमा विगतका गौरवपूर्ण उपलब्धिहरू छायाँमा पर्नेछन्।

विद्यार्थी राजनीतिलाई ब्युँताउने एउटा मात्र सञ्जीवनी भनेको ‘स्वायत्तता र पहरेदारी’ नै हो। यसैको आधारमा विद्यार्थी राजनीतिलाई स्वच्छ, स्वस्थ, स्वायत्त र सम्मानित मार्गमा डोर्‍याउन सकिन्छ।

विश्वका अन्य राष्ट्रमा पनि राजनीतिक दलका भ्रातृ-विद्यार्थी संगठन हुने गर्छन्। अमेरिकामा हेर्ने हो भने ‘कलेज डेमोक्र्याट्स अफ अमेरिका’ डेमोक्र्याटिक पार्टीको विद्यार्थी संगठन हो। ‘कलेज रिपब्लिकन’ रिपब्लिकन पार्टीसँग आबद्ध छ। त्यसरी नै युरोपको सन्दर्भमा भन्नुपर्दा ‘योङ युरोपियन सोसलिष्ट’ पार्टी अफ युरोपियन सोसलिष्टसँग आबद्ध छ।

लोकतान्त्रिक पद्धति अनुरूप उन्नत मानिने राष्ट्रहरूका विद्यार्थी राजनीतिको अभ्यास र नेपालको फरक केवल विद्यार्थी संगठनको स्वायत्ततामा मात्रै छ। त्यहाँ मूल दलको स्वार्थभन्दा माथि उभिएर विद्यार्थीले राजनीतिक गतिविधि गर्छन् तर नेपालमा भने विद्यार्थी संगठनहरू सम्बन्धित दलसँग चुम्बक झैं टाँसिएर बसेका छन्। तर अब विद्यार्थी राजनीतिले नयाँ कोर्स लिन आवश्यक छ।

स्वच्छ, स्वस्थ, स्वायत्त र सम्मानित विद्यार्थी राजनीतिको सुरुवात नक्कली भुटानी शरणार्थी प्रकरणबाट नै गर्न सकिन्छ। विद्यार्थी संगठनले दल तथा नेतामुखी नभई निरपेक्ष रूपमा मुद्दालाई केन्द्रमा राखेर भ्रष्टाचारविरोधी अभियान सफल बनाउन सके विद्यार्थी राजनीतिको पुनर्जागरण हुनसक्छ।

यसमा हामी सक्छौँ पनि। भ्रष्टाचार विरुद्धका वैश्विक विद्यार्थी आन्दोलन सफल भएका नजिरहरू छन्। २०१० को दशकमा अन्तर्राष्ट्रिय जगतमा नै हेर्ने हो भने भ्रष्टाचार विरुद्धको डुङ्गा विद्यार्थी आन्दोलनले नै पार लगाएको छ।

सन् २०१८ मा स्लोभाकियाका विद्यार्थी हजारौंको संख्यामा सरकारी भ्रष्टाचार विरुद्ध सडकमा ओर्लिएका थिए। आन्दोलनको नतिजा स्वरूप तत्कालीन प्रधानमन्त्री रोबर्ट फिको र उनको सरकारमा रहेका मन्त्रीले राजीनामा गर्नुपर्‍यो। यसैगरी स्पेनका विद्यार्थीले २०२१ मा भ्रष्टाचार तथा बढ्दो आर्थिक असमानता विरुद्ध आन्दोलन गरेका थिए।

एशियामा हेर्ने हो भने २०११ मा अन्ना हजारेद्वारा सुरु गरिएको भ्रष्टाचार विरुद्धको अभियानमा विद्यार्थीको उल्लेखनीय उपस्थिति थियो। त्यस क्रममा भ्रष्टाचार विरुद्ध सशक्त कानुन ‘जन लोकपाल विधेयक’ माग गरिएको थियो। मध्य-पूर्वी एशिया र उत्तरी अफ्रिकाका अधिनायकवादी सरकारलाई पन्छाएको र प्रजातान्त्रिक सुधारलाई स्थापना गरेको ‘द अरब स्प्रिङ’ आन्दोलनको झिल्को विद्यार्थीले नै सल्काएका हुन्। २००९ मा ‘द इरानियन ग्रिन प्रोटेस्ट’ इरानी विद्यार्थीले गरेका थिए। यसरी नै २०१२ मा मेक्सिकोको ‘द यो सोय १३२’ आन्दोलनले बृहत् पारदर्शिता र लोकतान्त्रिक अभ्यासको माग गरेको थियो। भ्रष्टाचार विरुद्ध गरिएका यी आन्दोलनहरू कतिपय सफल भए त कतिपय असफल। नेपालमा भने भ्रष्टाचार जस्तो जगन्य अपराधबारे विद्यार्थी राजनीति सधैं मौन देखिंदै आएको छ।

वैचारिक रूपमा हेर्ने हो भने विद्यार्थी राजनीति शक्ति र सत्ताको विपरीत ध्रुवमा उभिन्छ। शक्ति सन्तुलनको निगरानी विद्यार्थी राजनीतिको सैद्धान्तिक केन्द्र हो। झट्ट हेर्दा, शक्ति विपरीत उभिने हुँदा विद्यार्थी राजनीतिको चेतना र ऊर्जा अलिक अराजक जस्तो देखिन्छ। तर शक्तिको दुरुपयोग गरिने भ्रष्टाचार विरुद्ध खरो रूपमा विद्यार्थी राजनीति नउत्रिंदा विरोधाभास समेत देखिन पुग्छ।

अब विद्यार्थी राजनीतिलाई पुन: ब्युँताउन र गुमेको हुर्मतलाई पुनर्गठनको प्रक्रियामा ल्याउन विद्यार्थी राजनीतिले सैद्धान्तिक आधार गुमाउनुहुँदैन। ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने चेष्टा राख्नुपर्दछ। यो जडीबुटी नै सैद्धान्तिक आधार तथा मार्ग गुमाएको विद्यार्थी राजनीतिको लागि सञ्जीवनी साबित हुनेछ। भ्रष्टाचार विरुद्धको अभियान नै विद्यार्थी राजनीतिको सञ्जीवनी हुनेछ। यसर्थ, विद्यार्थी राजनीतिले भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त बनाउन आवश्यक छ।

(लेखक नेविसंघसँग आवद्ध छन्।)



source https://www.onlinekhabar.com/2023/05/1308525

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More