Tuesday 23 May 2023

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने सूर्यविनायक मोडल

१० जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’

उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि  नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा. मनप्रसाद वाग्लेको संयोजकत्वमा विज्ञ समूह बनाएर समिति गठन गरेको थियो ।

नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमल्सिनाका अनुसार उक्त समितिले आवेदक शिक्षकहरुको प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले २८ विद्यालयका प्रधानाध्यापक छनौट गरेको थियो । १८ वटा आधारभूत विद्यालय र १० वटा माध्यमिक विद्यालयको प्रधानाध्यापक छनौट गरेको थियो ।

उपप्रमुख तिमल्सिनाका अनुसार ६ जना विज्ञहरुको समितिले प्रधानाध्यापकको अन्तर्वार्ता र अंक दिएको आधारमा नतिजा निकालिएको हो । ‘समितिमा कोही जनप्रतिनिधि हुँदैनन्, आग्रह पूर्वाग्रह केही हुँदैन प्रधानाध्यापकको लागि आवेदन दिने शिक्षकहरुको प्राप्तांकको आधारमा छनोट हुने हो’, उपप्रमुख भट्टराईले भनिन् ।

शैक्षिक योग्यता, शिक्षण अनुभव, शिक्षकले अध्यापन गराउने सम्बन्धित विषयको पछिल्लो तीन वर्षको नतिजा सिट र विद्यालयको विकास प्रस्तावको आधारमा प्राप्तांक तय हुने कार्यविधि रहेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।

प्राप्तांकको आधारमा सार्वजनिक हुने नतिजामा प्रथम, दोस्रो र तेस्रो हुनेले सम्बन्धित तहको विद्यालय छनौट गरेर प्रधानाध्यापक हुन पाउनेछ । कार्यविधि अनुसार विद्यालयको विकास प्रस्तावमा ५ वर्ष प्रधानाध्यापक हुँदा विद्यालयमा के–के गर्न सकिन्छ भन्ने योजना प्रधानाध्यापक छनौट समितिलाई बुझाउनुपर्ने हुन्छ ।

सूर्यविनायक नगरपालिकाले अभ्यास गरिसकेको उक्त छनौट विधि काठमाडौं उपत्यकाका अन्य स्थानीय तहमा लागु गर्ने काठमाडौं मेयर्स फोरमले निर्णय गरेको छ । ललितपुर महानगरपालिकामा बसेको मेयर्स फोरमको बैठकले अन्य पालिकाहरुमा पनि सूर्यविनायक मोडल लागु गर्ने निर्णय ७ जेठमा गरेको फोरमका अध्यक्ष रहेका ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

काठमाडौं महानगरको आफ्नै सुर

मेयर्स फोरममा सहभागी नभएको काठमाडौं महानगरपालिकाले भने प्रधानाध्यापक छनोट शिक्षा नियमावली अनुसार नै गरिरहेको छ । महानगरपालिकाका शिक्षा विभाग अधिकृत मोतीराम खनालले प्रधानाध्यापक छनोट शिक्षा नियमावली अनुसार नै गरिरहेको बताए ।

‘हामीमा शिक्षासम्बन्धी प्रचलित ऐन अनुसार नै प्रधानाध्यापक छनोट भइरहेको छ, महानगरपालिकाका माथिल्ला तहहरुले मेयर्स फोरमका निर्णयबारे कर्मचारीसँग छलफल गरेका छैनन्’, खनालले भने ।



source https://www.onlinekhabar.com/2023/05/1311515

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More