Sunday 31 July 2022

‘हिरो अफ युक्रेन’को अवार्ड पाएका अन्न उद्योगीको रुसको आक्रमणबाट मृत्यु

१६ साउन, काठमाडौं । रुसको मिसाइल आक्रमणबाट युक्रेनको माइकोलेभ सहरमा एक धनाढ्य व्यापारी दम्पतीको मृत्यु भएको छ । ७४ वर्षीय ओलेक्सी भादाटुस्र्की र उनकी श्रीमती रायसाको घरमा गएराति मिसाइल प्रहार हुँदा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ ।

‘हिरो अफ युक्रेन’को अवार्डसमेत पाएका भादाटुस्र्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनका प्रमुख हुन् । फोर्ब्स म्यागेजिनका अनुसार सन् २०२० मा उनको सम्पती ४५० मिलियन डलर थियो ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भादाटुस्र्की दम्पतीमाथि नियोजित आक्रमण भएको भन्दै निन्दा गरेका छन् । उनीहरुको निधनबाट युक्रेनलाई ठूलो क्षति पुगेको उनले बताएका छन् ।

माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले यो सहरमा रुसले हालसम्मकै ठूलो बमबारी गरेको बताएका छन् । रुसको आक्रमणबाट माइकोलेभ सहरका होटल, खेलकुद परिसर, दुई विद्यालय, सेवा केन्द्र र घरहरुमा क्षति पुगेको छ ।



source https://www.onlinekhabar.com/2022/08/1166068

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१६ साउन, भरतपुर । नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने नजिकै लेदोसहितको पहिरो खसेपछि सडक ठप्प भएको हो ।

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

चितवनमा आइतबारदेखि नै भारी वर्षा भइरहेको छ । शक्तिखोर लगायतका ठाउँमा वर्षाले चेतावनीको तह नै पार गरेको छ । पछिल्लो २४ घण्टामा १८४ मिलिमिटर पानी परेको छ।

सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।



source https://www.onlinekhabar.com/2022/08/1166061

पुटिनले भने– अमेरिकाको सामना गर्न रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ

१६ साउन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको बताएका छन् ।

रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् । उनले नेटोको प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको बताएका हुन् ।

उनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक मिसाइल सेनालाई उपलब्ध गराइने पनि बताए । बीबीसीका अनुसार ती मिसाइलले ध्वनीको गतिमा आक्रमण गर्ने क्षमता राख्छन् ।

राष्ट्रपति पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि चुनौति दिन खोज्नेहरुका लागि नौसेनाको शक्ति बढाउनु महत्वपूर्ण रहेको बताए ।

 



source https://www.onlinekhabar.com/2022/08/1166059

देशको पक्षमा टिकटक बनाउनुहोस् : लेखराज भट्ट

१६ साउन, डोटी । नेकपा एमालेका सचिव लेखराज भट्टले अर्काको भावनालाई चोट नपुग्ने गरी टिकटक बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । देशको पक्षमा र भ्रष्टाचारको विरुद्धमा टिकटक बनाउनुपर्ने उनको भनाइ छ ।

आइतबार नेकपा एमाले डोटीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले भने, ‘टिकटक नबनाउनुहोस् म भन्दैन, बनाउनुहोस् तर तपाईंले बनाएको टिकटक देशको पक्षमा हुनुपर्यो, राष्ट्रियताको पक्षमा हुनुपर्यो । तपाईंले बनाएको टिकटकले कसैको भावनामा चोट नपुगोस् ।’

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले छाडा संस्कृतिलाई प्रोत्साहन हुने खालको टिकटक बनाउनु भन्दा प्रगतिशील गीतमा बनाउन आग्रह गरे ।

एमाले सचिव भट्टले एमालेका सबै कार्यकर्ताहरु उत्पादनसँग जोडिनु पर्ने पनि बताए । ‘दिनभरी गफ गरेर बस्ने, साँझ बजारबाट आलु किनेर तरकारी बनाउने हो भने हाम्रो उत्पादन बढ्दैन,’ भट्टले भने, ‘खेतबारीमा काम गरेर अन्नबाली उत्पादन गर्नु भन्दा भारत जानु ठिक भन्ने मानसिकता भत्काउनु पर्छ, त्यसका लागि एमालेका कार्यकर्ताहरुले अगुवाइ गर्नुपर्छ । दूध बेचेर श्रीमानका लागि रक्सी लगिदिनु पर्ने अवस्थाको हामीले अन्त्य गर्नुपर्छ ।’

उत्पादनका लागि श्रम गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्न सकेमात्र व्यापार घाटा कम हुने र देश आत्मनिर्भर हुने भट्टले बताए ।



source https://www.onlinekhabar.com/2022/08/1166056

विद्यालय समायोजन गर्न कस्सिए रोल्पाका स्थानीय सरकार

१६ साउन, रोल्पा । रोल्पाका दुई स्थानीय तहले सामुदायिक विद्यालय समायोजन गर्ने भएका छन् । जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाले विद्यालय एकापसमा गाभ्ने तथा तह घटाउने गरी समायोजन योजना अघि बढाएका हुन् ।

फिल्ड अनुगमन पश्चात समायोजनको काम अघि बढाउने भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले गाउँपालिकामा सबै विद्यालय अनुगमन गरिसकेका छन् । ‘विद्यालयको यथार्थ अवस्था पत्ता लगाउन आफैं स्थलगत अनुगमन गरें,’ अध्यक्ष पुनमगरले भने, ‘अब विद्यार्थी र शिक्षकको संख्या तथा वडाको आवश्यकताका आधारमा विद्यालयको तह र शिक्षकको दरवन्दी कायम हुन्छ ।’ विद्यार्थी संख्या कम रहेका विद्यालयहरु तह घटाउने गरी समायोजन गर्ने अध्यक्ष पुनको भनाइ छ ।

कक्षा ३ सम्म चलेका केही विद्यालयलाई बालविकासमा, कक्षा ५ चलेका विद्यालयलाई कक्षा ३ मा र कक्षा ८ चलेका विद्यालयलाई कक्षा ५ मा कायम गर्ने गरी तह घटाउने योजना रहेको उनले बताए । ‘विद्यार्थी संख्याको अनुपातमा शिक्षक धेरै छन्, उनीहरुलाई अनावश्यक तलव दिएर राज्यलाई आर्थिक भार बढेको छ,’ उनले भने, ‘अनावश्यक दरबन्दी कटौती र मिलान गर्छौं ।’ यसो गर्दा भौतिक संरचना र जनशक्ति व्यवस्थापनले समग्र विद्यालय व्यवस्थापनमा सहज हुने उनको बुझाइ छ ।

रोल्पामा ४०२ सामुदायिक विद्यालयमा करिब ७० हजार विद्यार्थी अध्ययन गर्छन् । यहाँका ९५ वटा विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ ।

गंगादेव गाउँपालिकामा ३९ वटा सामुदायिक विद्यालय रहेका छन् ।

परिवर्तन गाउँपालिकाले पनि ‘जनसमुदायको इच्छा र चाहना’ सहितको सुझाव र सल्लाहमा विद्यालय समायोजनको नीति अगाडि बढाइने जनाएको छ । परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो बुँदा समावेश गरेको छ । ४३ वटा सामुदायिक विद्यालय रहेको परिवर्तन गाउँपालिकाले विद्यालय समायोजनका लागि यस वर्ष बजेट समेत विनियोजन गरेको छ ।

गाउँपालिकाले प्रा.वि./प्रा.वि समायोजन हुने हकमा रु १० लाख अनुदानको व्यवस्था गरेको छ । यसैगरी प्रा.वि./निमावि समायोजन हुने हकका रु २० लाख, निमावि/मावि समायोजन हुने हकमा रु ३० लाख र मावि/मावि समायोजन हुने हकमा रु ५० लाख अनुदानको व्यवस्था गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष अभिभावकको इच्छा र चाहना तथा सुझाव सल्लाहका आधारमा विद्यालय समायोजन गर्ने परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढामगरले बताए । ‘दुई वटा मावि समायोजनको काम अघि बढेको छ, बाँकी विद्यालय पनि समायोजन गर्ने योजनामा छौं,’ प्रवक्ता बुढामगरले भने ।

यस अघि रोल्पाका दुई स्थानीय सरकारले पनि विद्यालय समायोजनको कार्यक्रम अघि बढाएका थिए । जस बमोजिम रोल्पा नगरपालिका उक्त कार्यक्रम सफल गर्न सकेको थिएन भने त्रिवेणी गाउँपालिकाले निजी विद्यालय सरकारी विद्यालयमा समायोजन गर्नुका साथै विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय एकापसका गाभेको पनि थियो । साथै तह समेत घटाएर विद्यालय समायोजनको योजना सफल पारेको थियो ।

रोल्पामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा अभिभावकहरुमा व्ययभार बढेको छ । रोल्पामा ४०२ सामुदायिक विद्यालयमा करिब ७० हजार विद्यार्थी अध्ययन गर्छन् । यहाँका ९५ वटा विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । रोल्पाभरमा प्रावि तहमा २५२, निमावि तहमा ४३१ र मावि तहमा २९८ दरबन्दी अपुग छ । दरबन्दी नभएका ठाउँमा निजी स्रोतबाट शिक्षक राखिएको छ ।

जिल्लाको सुनछहरी गाउँपालिकाले अहिलेसम्म मावि तहमा एउटा पनि सरकारी दरबन्दी पाएको छैन । शिक्षकका लागि तलब कतिपय ठाउँमा अभिभावकले र कतिपय ठाउँमा पालिकाहरुले व्यहोर्दै आएका छन् ।



source https://www.onlinekhabar.com/2022/08/1166048

प्रभु बैंकमा सेञ्चुरी गाभिने, पुसभित्र एकीकृत कारोबार

१५ साउन, काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ ।

दुई बैंकले मर्जरमा जानेबारेको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरेका छन् । अन्तिम निर्णय भने सम्पत्ति तथा दायित्वको बिस्तृत मूल्याङ्कन गरेपछि तय हुने प्रभु बैंकका एक सञ्चालकले बताए ।

सञ्चालक समितिमा ४ जना प्रभुबाट र तीन सेन्चुरीबैंकबाट रहनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रभु बैंकका सीईओ अशोक शेरचन नै रहनेछन् । सेन्चुरीका मनोज न्यौपाने डेपुटी सीईओ बन्नेछन् ।

स्रोतका अनुसार पुसभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य छ ।

सेञ्चुरीलाई प्राप्ति पछि प्रभु बैककाे पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। यस्तै चुक्ता पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ। गत आर्थिक बर्षको अपरिस्कृत वित्तिय विवरण अनुसार प्रभु बैकले २ अर्ब ६० कराेड भन्दा बढी मुनाफा आर्जन गरेकाे छ। सेञ्चुरीकाे विवरण सार्वजनिक हुन बाँकि छ।

प्राथमिक पुँजीकाेष अपुग हुँदा स्राेत भएर पनि कर्जा लगानी गर्न नसकेकाे प्रभु बैंकले रणनितिक रूपमा सञ्चुरीलाई प्राप्ति गर्न लागेकाे हाे। सेञ्चुरीलाई गाभेपछि प्रभुकाे प्राथमिक पुँजिकाेषकाे समस्या सहज हुन सक्नेछ ।



source https://www.onlinekhabar.com/2022/07/1166038

Saturday 30 July 2022

समाजवादी केन्द्र : पवित्रताको मन्दिर कि पुजारीको रामनामी बर्को ?

किस्सा अलिक अश्लील छ­, तैपनि श्लील पाराले भन्ने प्रयत्न गर्दैछु । कुनै अमूक सहरको सडकको एकातिर मन्दिर थियो र अर्कोतिर वेश्यालय । मन्दिर सहरकै सर्वाधिक प्रसिद्ध शक्तिपीठ थियो, दैनिक हज्जारौं भक्तजन भगवानको दर्शन गर्न आउँथे । वेश्यालयकी नगरबधु उत्तिकै सुन्दर र प्रसिद्ध थिइन्- सहरका राजा-महाराजा, भाइभारदार, ठूला प्रशासक, धनाढ्य व्यापारी, ख्यातिनाम विद्वान् तथा कलाकार ग्राहक भएर आउँथे ।

मन्दिरमा आउने भक्तजनले दुई-चार पैसा भेटी चढाउँथे तर वेश्यालयकी नगरबधुलाई ठूलो रकम, महँगा उपहार, हीराको हार दिइएको चर्चा हुन्थ्यो । मन्दिरका पुजारी जब फुर्सद हुन्थे, सडकपारिको वेश्यालयतिर हेर्थे र मनमनै कल्पना गर्थे- नगरबधु हुन पाएको भए, क्या मोज हुने रै’छ जिन्दगी ! यतिका शक्तिशाली र सबल मान्छेहरूसँग जवानीको मोज गर्न पाइने, उपहार पनि उत्तिकै महँगा र धन पनि उत्तिकै धेरै । कुन जुनीको पापले नगरबधु नभएर पुजारी हुन पुगेछु ।

नगरबधु जब फुर्सद हुन्थिन्, मन्दिरतिर हेर्थिन् र मनमनै कल्पना गर्थिन्- त्यो पुजारी बाजे कति सुखी होला ! जीवनभरि भगवानको सेवा गर्न पाएको छ, मैले त्यस्तो अवसर पाएकी भए ! कुन जुनीको पापले म वेश्या हुन पुगें ।

जब ती दुवै मरे- स्वर्ग र नर्कको बाटो छुट्टनिे ठाउँमा पुगे- यमदूतले नगरबधुलाई स्वर्गतिर लग्यो र पुजारी बाजेलाई नर्कतिर ।

पुजारी बाजे आश्चर्यचकित भए । उनले यमदूतसँग विरोध गर्दै भने- मैले जीवनभरि भगवानको पूजा गरें, मलाई नै नर्कतिर लैजाने, उसले जीवनभरि जवानीको व्यापार गरी, उसलाई चाहिं स्वर्गतिर लैजाने ? यो त घोर अन्याय भयो ।

तब यमदूतले भने- तैंले भगवानको पूजा गरेर के भो, तेरो मन सधैं वेश्यालयतिर थियो । उसले जवानीको व्यापार गरेर के भो, उसको मन सधैं भगवानतिर थियो ।

हिजोआज ‘समाजवादी केन्द्र’ को खूबै चर्चा छ । यो मन्दिर हो कि वेश्यालय ? मानौं कि यो एक नयाँ वेश्यालय हैन, पवित्र चाहनाको मन्दिर नै हो- यसको पुजारी बाजे को होला ? र उसको मन कता होला ?

निःसन्देह ‘समाजवाद’ विश्व राजनीतिमा पनि र नेपालमा पनि सर्वाधिक दुरुपयोग गरिएको शब्द हो । हिटलरजस्तो फासिस्ट तानाशाहले पनि आफूलाई समाजवादी नै भन्थे- उनको पार्टीको नाममा नै समाजवाद शब्द थियो, जर्मन राष्ट्रिय समाजवादी पार्टी । इथियोपियाका मङ्गेत्स्कु र बर्माका ने विन जस्ता सैनिक तानाशाहहरूले पनि आफूलाई समाजवादी नै भन्थे । जिम्बाबेका कुनै समयका क्रान्तिकारी रोबर्ट मुगाबे जीवनको उत्तरार्धसम्म पुग्दा एक खुँखार तानाशाहका रूपमा पतन भए तर आफूलाई समाजवादी भन्न कहिल्यै छोडेनन् ।

सोभियत कम्युनिस्ट शासकहरू जसमा स्टालिन जस्ता क्रूर तानाशाहसमेत थिए, आफूलाई समाजवादी नै भन्थे । पूर्वी तथा मध्ये युरोपका दर्जनौं एकदलीय अधिनायकवादीहरू आफूलाई समाजवादी नै ठान्थे । अरब जगतका बाथिस्टहरू जसमा इराकका तानाशाह सद्दाम हुसेनसम्म पर्थे, आफ्नो शासनलाई समाजवादी नै ठान्थे ।

आज उत्तरकोरियाको ‘किम वंशीय कम्युनिस्ट राजतन्त्र’ ले पनि आफूलाई समाजवादी नै ठान्छ । चीन र क्युबा जस्ता एकदलीय अधिनायकवादमा विश्वास गर्ने देशले पनि समाजवाद नै भन्न मन पराउँछन् । यस्ता अझै दर्जनौं उदाहरण दिन सकिन्छ । विश्वमा जुनस्तरमा समाजवादको दुरुपयोग भएको छ, त्यसको पछिल्लो शृङ्खलामा पछिल्लो कडी नेपाल बन्ने देखिएको छ ।

समाजवाद शब्द प्रयोग गर्दा हिजो गर्व गर्न सकिने अवस्था थियो, आज लाज मानेर अनुहार लुकाउनुपर्ने अवस्था आएको छ । एउटा राप्रपा छ- त्यसका वरिपरि केही राजावादीहरू छन्, जसले आफूलाई समाजवादी भन्दैनन्, नत्र सबै एक से एक समाजवादी । नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी । एमाले झनै ठूलो जबजवादी समाजवादी । माओवादी केन्द्र समाजवादी । माधव नेपाल नेतृत्वको पार्टीको नाम नै एकीकृत समाजवादी । जसपा, लोसपा, नेसपा सबै समाजवादी ।

राजनीतिमा आफूलाई समाजवादी दाबी गर्नेहरू जति धेरै बढिरहेका छन्, समाजवादको मन्त्रोच्चारण गर्ने र माला जप्नेहरूको संख्या जति धेरै हुँदैछ- देश चाहिं झन् झन् भड्खालोतिर जाकिंदै गएको देखिन्छ । ती कर्म भइरहेका छैनन्, जुन एक समाजवादी राज्यमा हुनुपर्ने हो । ती कुकर्म सबै भइरहेका छन्, जो कुनै पनि समाजवादी राज्यमा हुनु नपर्ने हो ।

शिक्षा र स्वास्थ्यको गुणस्तर विभेद गर्ने, गरिबका भिन्नै स्कुल, धनीका भिन्नै स्कुल बनाउनेहरू यहाँ समाजवादी हुन्छन् । शिक्षा र स्वास्थ्य जस्तो पवित्र सेवाको व्यापार गर्नेहरू यहाँ समाजवादी हुन्छन् । गरिबहरूले सामान्य उपचार नपाएर मरिरहँदा एयर एम्बुलेन्स लिएर सिंगापुर, थाइल्याण्ड, दिल्ली र चीनका अस्पताल पुग्नेहरू यहाँ समाजवादी दलका नेता हुन्छन् ।

कर्मचारीतन्त्रमा दलीय ट्रेड युनियन खडा गरी घुस र कसिमन संकलन गर्ने र पार्टी कोष बलियो बनाउनेहरू यहाँ समाजवादी कहलिन्छन् । निर्वाचन आयोगले तोकेको सीमाभन्दा सयौं गुणा बढी, करोडौं खर्च गरी चुनाव लड्ने यहाँ समाजवादी हुन्छन् । यौनहिंसामा सामेल र ‘मि टु’ का आरोपीहरू यहाँ समाजवादी हुन्छन् ।

अख्तियारमा आफ्ना मान्छे नियुक्ति गरी भ्रष्टाचारको ढाकछोप गर्नेहरू यहाँ समाजवादी हुन्छन् । संवैधानिक निकायमा असंवैधानिक राजनीतिक नियुक्ति गर्ने र समावेशी आयोगमा पाँच बाहुन आयुक्त भर्ना गर्नेहरू यहाँ समाजवादी हुन्छन् । ती सबै लम्पट, तस्कर, भ्रष्ट, ढोंगी र पाखण्डीहरू समाजवादी ।

कुनै समय ‘सामन्त’ हुुनु पदवी थियो रे, राजा-महाराजाहरू ‘महासामन्त’ को पदवी लिन्थे रे ! आज त्यो गाली र लज्जाको विषय भएको छ । ‘समाजवादी’ हुनु कतै त्यस्तै लज्जा र गाली, निन्दा र भत्र्सनाको शब्द त बन्ने हैन ? यसले आफ्नो मौलिक अर्थ र चरित्र नै गुमाउने त हैन भन्ने आभास हुन थालेको छ । स्थिति अत्यास लाग्ने गरी बिग्रँदै गएको छ ।

आजको हाम्रो पहिलो राष्ट्रिय आवश्यकता र कार्यभार हो- पाखण्ड मुक्ति । जसको मन जहाँ छ ती त्यतै जाऊन् । कम्तीमा मान्छेले झूट, पाखण्ड र बेइमानीको घुम्टो उघार्ने हिम्मत मात्र गरे पनि देशलाई निकै ठूलो राहत हुनेथियो

ठीक यही बेला समाजवादी केन्द्रको हल्ला चलेको छ । हुन त यो हल्लैहल्लाको देश हो । यहाँ सबै हल्लालाई पत्याउन र महत्व दिन जरूरी नै त छैन तर पर्न सक्ने भ्रमलाई दृष्टिगत गरी यसको अन्तर्यलाई खोतल्न जरूरी छ ।

सामान्यतया ‘समाजवादी केन्द्र’ लाई तीन वटा अर्थमा प्रयोग गरिएको हुन सक्दछ ।

एक- कांग्रेस र एमाले बाहेकका आफूलाई कुनै न कुनै हिसाबले समाजवादी भन्ने वा ठान्ने दलहरूको एक चुनावी मोर्चा, तेस्रो चुनावी मोर्चा बनाउने ।

दुई- एमाले बाहेकका कम्युनिस्ट र सेमी-कम्युनिस्ट पार्टीहरू मिलेर नेकपा (समाजवादी केन्द्र) बनाउने ।

तीन- साँचो अर्थमा समाजवादको अर्थ, मर्म र भावना अनुरूपको समाजवादी केन्द्र नामको एक भिन्नै र मौलिक राजनीतिक शक्ति बनाउने ।

‘समाजवादी केन्द्र’ को हल्ला गर्ने वा आन्तरिक गृहकार्य गर्दै गरेको दाबी गर्नेहरूले यी तीनमध्ये कुन अवधारणालाई भन्न खोजेका हुन् प्रष्ट छैन । यी तीन झट्ट हेर्दा उस्तै-उस्तै देखिए पनि अन्तर्यले बिल्कुलै फरक कुरा हुन् ।

पहिलो अवधारणा अस्वाभाविक र आपत्तिजनक हैन । संसदीय प्रणाली भएको देशमा कुनै न कुनै तबरले चुनावी गठबन्धन र समीकरण हुने प्रचलन संसारभरि नै छन् । तर, त्यो तत्काललाई व्यावहारिक रूपमा असंभव देखिन्छ । किनकि, यस्तो चुनावी मोर्चाको सबैभन्दा ठूलो घटक हुनुपर्ने नेकपा (माओवादी केन्द्र) नै यसका लागि सहमत हुुनसक्ने सम्भावना छैन ।

माओवादी केन्द्रका मूल नेता प्रचण्डलाई चितवनबाट चुनाव जिताउने यस्तो समाजवादी केन्द्र सहायक हुन सक्ला, निणर्ायक हुन सक्दैन । आगामी चुनावपछिको संसदमा कांग्रेससँग आलोपालो प्रधानमन्त्रीको दाबी गरिरहेका, त्यसैका लागि दिल्ली धाइरहेका प्रचण्डले आफ्नो सम्भावनालाई सीमित गर्दै अरू कसैलाई उद्धार गर्न कांग्रेससँगको सत्ता गठबन्धनलाई तोडेर अर्को चुनावी मोर्चा खडा गर्न कुनै इच्छा, रुचि र तत्परता देखाउने छैनन् ।

समाजवादी केन्द्रको सम्भावनालाई प्रचण्डले मात्र हैन, तत्काललाई जनता समाजवादी केन्द्रका अध्यक्ष उपेन्द्र यादवले समेत अस्वीकार गरिदिएका छन् । नेकपा (एकीकृत समाजवादी) भित्रको झलनाथ खनाल पक्ष आगामी चुनाव अगाडि नै एमालेमा फर्किने मनस्थितिमा रहेको पर्याप्त सूचना छन् । यस्तो बेला माधव नेपाल र डा. बाबुराम भट्टराईको आवश्यकताका लागि मात्रै कसैले समाजवादी केन्द्र बनाइदिने वाला छैन ।

दोस्रो संभावनाको समाजवादी केन्द्र भने समाजवादी केन्द्र नै हैन, त्यो एउटा अर्को कम्युनिस्ट पार्टी मात्रै हुने हो । नेपालमा त्यसै पनि कम्युनिस्ट समूहको कुनै कमी छैन । दर्जनौं कम्युनिस्ट समूह फट्ने र जुट्ने अनन्त शृङ्खला चलेकै छ । त्यस्तो समाजवादी केन्द्र त्यस्तै एउटा सामान्य उपक्रम मात्रै हुनेछ । कोष्ठकमा समाजवादी केन्द्र लेख्दैमा कम्युनिस्ट पार्टी समाजवादी पार्टीमा रूपान्तरण हुने हैन ।

त्यसले मार्क्सवाद, लेनिनवाद, माओवाद भन्न छोड्ने हैन । त्यसले चीन, उत्तरकोरिया, क्युबा जस्ता एकदलीय प्रणाली र शासनहरूको गौरवीकरण गर्न छोड्ने हैन । त्यसले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त छोड्ने हैन । त्यसले ‘कमरेड लाल सलाम’ भन्न र ‘उठ जाग भोका नाङ्गा’ को गीत गाउन छोड्ने हैन । फेरि त्यो किन र कसरी समाजवादी केन्द्र हुन्छ ? बिल्कुलै हुँदैन । त्यो त माओवादी केन्द्रका नाममा लुट्ने, वाम गठबन्धन र नेकपा (नेकपा) को असफल अभ्यास गर्नेहरूका लागि एउटा अर्को रामनामी बर्को मात्रै हुनेछ ।

मान्छे ‘समाजवादी केन्द्र’ नामको पवित्र मन्दिरमा हुनु, त्यसको पुजारी हुनु र रामनामी बर्को ओढ्नु मात्र स्वर्ग जानका लागि पर्याप्त आधार हैन । मुख्य कुरा त माथिको किस्साको पुजारी जस्तै तिनको मन कहाँ छ भन्ने हो ।

दोस्रो अर्थमा समाजवादी केन्द्रको हल्ला गर्नेहरूको मन भने सत्ताको वेश्यालयतिरै छ र ती अन्ततः नर्क नै जाने हुन् भन्ने प्रष्ट छ ।

तेस्रो अर्थको ‘समाजवादी केन्द्र’ भने अहिले पनि देशको आवश्यकता हो । त्यो एक पवित्र चाहना नै हो । यस्ता चाहना राख्नेहरू अहिले वेश्यालयमै किन नहुन् तर उनीहरूको मन मन्दिरमा छ र उनीहरू स्वर्गका हकदार छन् भन्न सकिन्छ ।

त्यो भनेको सबै, चाहे कम्युनिस्ट धारबाट आएका प्रगतिशीलहरू हुन वा अन्य धारबाट आएका लोकतान्त्रिकहरू इतिहासको विशिष्ट अवस्था र राष्ट्रको कार्यभारलाई पूरा गर्न आ-आफ्ना पृष्ठभूमि र पूर्वाग्रहबाट मुक्त हुन राजी हुनु हो । आफ्ना विगतका गल्ती, कमजोरी र कतिपय अपराधप्रति ‘कन्फेस’ गर्न राजी हुनु हो ।

साँचो अर्थमा समाजवादको विचार, सिद्धान्त, मर्म, भावना, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रही नयाँ रूपान्तरणका लागि राजी हुनु हो । फिनिक्स पक्षी जस्तै सबै आ-आफ्नो टाउको आगो लगाउन, आफूलाई खरानी बनाउन र नयाँ फिनिक्स भएर जन्मिन राजी हुनु हो ।

राज्य र अर्थतन्त्रको समाजवादी रूपान्तरणका लागि एक नयाँ नीति, योजना, कार्यक्रम र कार्यनीति बनाउन सहमत हुनु हो । देश बिग्रनको कुन कुन प्रवृत्ति र कोको पात्रहरूले गर्दा हो, त्यसको राम्रो छानबिन गरी उनीहरूलाई पन्छाउन सबै एक ठाउँमा हुनु हो । यस्तो केन्द्र बनाउँदा पुस्तान्तरणको अपेक्षालाई समेत सम्बोधन गर्दै एक पंक्ति नेतृत्व सगौरव राजनीतिक सन्यासमा जान राजी हुनु हो ।

के अहिलेका यति धेरै ‘रत्नाकार’ हरू रातारात ‘वाल्मीकि’ हुन राजी होलान् ? गाह्रो छ । लगभग असंभव देखिन्छ अहिलेसम्म । बरु वाल्मीकिहरू सजिलै रत्नाकर बन्न राजी हुने संस्कार हो हाम्रो । हिजोका एक से एक क्रान्तिकारीहरू सत्तामा पुगेको केही वर्ष नबित्दै प्रतिक्रान्तिसँग सहवरण गर्दै ‘भ्रान्तिकारी’ र ‘भ्रष्टाचारी’ हुन राजी हुने राजनीतिक संस्कृति भएको देशमा समाजवादी केन्द्रको पवित्रता सजिलै पत्याउन सकिने कुरै हैन ।

त्यसो भए यो हो चाहिं के त ? यो एक प्रोप्रोगण्डा, एक भ्रम, एक आत्मरति र एक पाखण्ड हो । दुर्भाग्य के छ भने आजको दिन नेपालमा सबैलाई यसैमा मज्जा छ । मान्छे एकाथरी विचार र एजेण्डा भएका संस्थामा छन्, तिनीहरूको मन भने अन्यत्रै छ । कोही मन्दिरमा छन्, तिनको मन वेश्यालयतिर छ । कोही वेश्यालयमा छन्, तिनको मन मन्दिरतिर छ ।

कोही नरकको जिन्दगीबाट मुक्ति वा मोक्षको कामना गर्दैछन् । कोही पवित्रताको रामनामी बर्को ओढेर ‘नरक भोग’ को आकांक्षा पालेर बसेका छन् । यी मरेपछि स्वर्ग जान्छन् वा नर्क- त्यो त यमदूत र चित्रगुप्तलाई नै थाहा होला ।

आजको हाम्रो पहिलो राष्ट्रिय आवश्यकता र कार्यभार हो- पाखण्ड मुक्ति । जसको मन जहाँ छ ती त्यतै जाऊन् । कम्तीमा मान्छेले झूट, पाखण्ड र बेइमानीको घुम्टो उघार्ने हिम्मत मात्र गरे पनि देशलाई निकै ठूलो राहत हुनेथियो ।



source https://www.onlinekhabar.com/2022/07/1165489

साफ यू-२० च्याम्पियनसिप नेपालले आज भारतसँग खेल्ने

१५ साउन, काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो ।

फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ । भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ ।

नेपालका प्रशिक्षक मेघराज केसीले च्याम्पियनसिपका लागि कडा मिहिनेत गरेको र चारै टिमविरुद्धको खेल महत्वपूर्ण रहेको बताएका छन् । ‘मैले चार वटै टिमलाई प्रतिस्पर्धीको रुपमा लिएको छु र उनीहरू भन्दा राम्रो खेलेर उनीहरुलाई हराउनैपर्छ ।’

नेपाल र भारत छिमेकी भएकोले पनि यी दुई टोलीको खेल हुँदा चर्चा पाउने केसीले बताए ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ ।

सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् ।

तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ र फाइनल नजिक छ । दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ ।

आजै माल्दिभ्स र श्रीलंकाबीच सवा ४ बजे खेल हुनेछ । लगातार दुई खेल हारेको माल्दिभ्स र लगातार तीन खेल हारेको श्रीलंका अंकविहीन छन् ।



source https://www.onlinekhabar.com/2022/07/1165495

गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला, बडिगार्डमा एक जना बेपत्ता

१५ साउन, गुल्मी । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर-६ बस्ने ३८ वर्षहरुको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

घटनास्थल सुरक्षित राखेको थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लिएर बडिगार्ड खोलामाखसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको कमाण्डमा टोली खटिएको छ ।

 



source https://www.onlinekhabar.com/2022/07/1165476

नवलपुरमा पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु

१५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको हो ।

कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए ।

पोखरीमा बेपत्ता बालकलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए ।

पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए । मृतकको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पाठकले बताए ।

शनिबार नै कावासोती–१४ हेगौलीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन् । पोखरीबाट उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/07/1165474

फोहोर व्यवस्थापन सबै महानगरको चुनौति, संघीय सरकारले उदासिनता देखाएको गुनासो

४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका लागि फोहोर व्यवस्थापन टाउको दुखाईको विषय बनेको छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि बनाइरहेको महानगरले अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर लैजान्छ । तर बेलाबेला हुने अवरोधका कारण दैनिक संकलन हुने फोहोर व्यवस्थापनमा समस्या झल्दै आएका छन् ।

पोखरामा शुक्रबार र शनिबार भएको महानगरका मेयर सम्मेलनमा पनि बालेन्द्रले फोहोर व्यवस्थापनको दीगो योजनाका निम्ति लागिरहेको सुनाए । ‘केही समय ढिला होला, जनताले गाली गर्लान् । मिडियाले आलोचना गर्लान्, तर काठमाडौंको फोहोर दीर्घकालीन रुपमै व्यवस्थापन हुने गरी टुंगो लाग्छ,’ मेयर बालेन्द्रले सम्मेलनमा भने, ‘ बरु एक वर्ष ढिला होस् तर हामी दीर्घकालीन समाधान खोज्छौं, छोटो चर्चा बटुल्दैनौं ।

काठमाडौंसँगै सीमाना जोडिएको ललितपुर महानगरपालिकाले पनि फोहोर व्यवस्थापनको दीगो उपाय खोजिरहेको छ । आफ्नै ल्याण्डफिल्ड साइट बनाउन खोजि कार्य जारी राखेको मेयर चिरिबाबु महर्जनको भनाइ छ । गोदावरी, महालक्ष्मी र ललितपुर ३ नगर मिलेर फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा पनि कुराकानी भएको र ललितपुरमा हवाइजहाज रुट पर्ने भएकाले समस्या भएको उनले बताए ।

काठमाडौं र ललितपुर महानगरलाई जस्तै फोहोर व्यवस्थापनको चुनौति पोखरालाई पनि छ । निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि नै पोखरा–१४ स्थित बाच्छेबुढुवाको ल्याण्डफिल्ड साइट बन्द गर्नुपर्छ । महानगरले पोखरा १६ र २० को सीमानामा पर्ने पस्मराङमा ल्यान्डफिल सार्ने निर्णय गरेपनि स्थानीयको विरोधले अगाडि बढ्न सकेन । पोखरा ३३ मा ल्यान्डफिल साइट बनाउने निर्णय तत्कालीन मेयर मानबहादुर जिसीको पालामा भएपछि स्थानीयको विरोधले त्यहाँ पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

‘पोखरामा त विमानस्थल सञ्चालनमा आउनु अगाडि नै ल्याण्डफिल्ड साइटको व्यवस्था गर्नुपर्ने छ । त्यसका लागि हामीले विभिन्न ठाउँमा पुगेर फोहोर व्यवस्थापनको मोडेलहरु हेरेका छौं । विभिन्न प्रस्तावहरु पनि आइरहेका छन्,’ पोखराका मेयर धनराज आचार्य भन्छन्, ‘हामीले पनि सबैभन्दा उपयुक्त र वैज्ञानिक फोहोर व्यवस्थापनको काम गर्नेछौं ।’

फोहोर व्यवस्थापनको काममा संघीय सरकारले सहयोग गर्नुपर्नेमा अलि बढी उदासिनता देखाएको मेयरहरुको गुनासो थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भने, ‘सबै महानगरपालिकाको प्रमुख समस्याको रुपमा फोहोर व्यवस्थापन देखियो । तर, तराईका महानगरमा भन्दा काठमाडौं, ललितपुर, पोखरामा झनै चुनौतिपूर्ण देखियो ।’

भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न कोरियाको सुधोकवन ल्याण्डफिल साइट म्यानेज्मेन्ट कर्पोरेसन रिपव्लिक अफ कोरियासँग सम्झौता गरेको छ । २०७५ भदौ २८ मा भएको सम्झौताअनुसार अहिलेसम्म बनिसक्नुपर्ने थियो । तर समयमै नबन्दा कहिले फोहोरै नउठ्ने त कहिले नदी किनारमै फोहोर फाल्नु पर्ने अवस्था छ । ‘ल्याण्डफिल्ड निर्माण प्रक्रिया त अगाडि बढेको छ, तर फोहोर व्यवस्थापनको समस्या बेला बेला ठूलो टाउको दुखाइ नै बन्छ,’ भरतपुर महानगरकी मेयर रिनु दाहाल भन्छिन् ।

भरतपुरको वडा नम्बर ३ मा अस्थायी सरसफाइ केन्द्र छ । नयाँ ल्याण्डफिल्ड साइट बनाउन १६ मा बिगाहा जग्गाको जोहो भए पनि निर्माण अगाडि नबढ्दा विकल्प खोज्नेबारे पनि छलफल हुने गरेको भरतपुरको अनुभव छ ।

विराटनगरले फोहोर व्यवस्थापनका लागि ३ वटा कम्पनीलाई ठेक्का दिएको छ, जनु फोहोर व्रह्मपुरामा निजी क्षेत्रले बनाएको ल्याण्डफिल्ड साइटमा व्यवस्थापन हुँदै आएको छ । अब महानगर आफैंले ल्याण्डफिल्ड साइट बनाउनुपर्छ भनेर जग्गा किनिएको मेयर नागेश कोइरालाले जानकारी दिए । ‘नयाँ ल्याण्डफिल्ड साइटका लागि निजी क्षेत्र आइरहेका छन् । तर, अन्यत्रको पनि हेरेर उपयुक्त मोडरमा बनाउने योजना छ,’ कोइरालाले भने, ‘अहिले ठूलो समस्या नभए पनि दीर्घकालीन अवस्थालाई हेर्नुपर्यो ।’

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी मेयर सम्मेलनमा भाग लिन बिहीबार नै पोखरा आएका थिए । तर, आफन्त बितेको भन्दै उनी वीरगञ्ज गएर शनिबारमात्र सम्मेलनमा भाग लिन आइपुगेका थिए । ल्याण्डफिल्ड साइट वीरगञ्जका लागि पनि चुनौतिपूर्ण नै रहेको कार्यक्रममा कार्यपत्र नै प्रस्तुत गरिएको थियो ।

पुरानो ल्याण्डफिल्डको अब विकल्प खोज्नुपर्ने अवस्थामा वीरगञ्ज पनि आइपुगेको उपमेयर इस्तियाज आलमको भनाइ थियो । अहिले फोहोर व्यवस्थापन गरिरहेका संस्थाले सन्तेषजनक हिसाबले काम नगरेकाले पनि वीरगञ्जमा समस्या आएको हो ।

काठमाडौंबाट अरु महानगरले नसिक्नुपर्ने धेरै विषय छन् : मेयर बालेन्द्र

२ दिनसम्म चलेको मेयर सम्मेलनमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए भने सबैजसो मेयरहरुले आफ्नो अनुभव पनि सुनाएका थिए । काठमाडौंका मेयर बालेन्द्र शाहले काठमाडौंबा अन्य महानगरले नसिक्नुपर्ने धेरै विषय रहेको बताएका छन् ।

व्यवस्थित हिसाबले सहरको प्लानिङ गर्ने, मापदण्डहरु कार्यान्वयन गर्ने सन्दर्भमा काठमाडौं चुकेको उनले बताएका थिए । ‘३० वर्षअगाडि मापदण्ड बनाएर कार्यान्वयन गरेको भए आज काठमाडौं यति धेरै अव्यवस्थित हुने थिएन, सिस्टम बस्थ्यो । तर त्यसो हुन सकेन,’ मेयर बालेन्द्रले भनेका छन्, ‘यो कुरा अरु महानगरले पछ्याउने होइन, यस्तो हुनबाट जोगाउने हो ।’

फोहोर व्यवस्थापन, खानेपानी, ढल व्यवस्थापन, सम्पदा संरक्षण लगायत काठमाडौंबाट नसिक्नुपर्ने धेरै विषय रहेको उनको भनाइ थियो । ‘म स्ट्रक्चर इन्जिनियर हुँ, तर म कंक्रिटकै जंगलमात्र विकास हो भन्ने पक्षमा छैन,’ सम्मेलनमा मेयर बालेन्द्रको भनाइ उदृत गर्दै सहभागीले भने, ‘अहिले मेट्रो रेलका कुराहरु पनि आइरहेका छन् । यो बनाउनै १५ वर्ष जति लाग्ने रहेछ, त्यतिन्जेलसम्म यो फेजआउट भएर अर्कै प्रविधि आइसकेको हुनसक्छ, त्यसैले यतातिर धेरै ध्यान नदिऊँ ।’

केके भए सम्मेलनमा ?

२ दिनसम्म छलफल र विभिन्न विषयमा विज्ञहरुको प्रस्तुतिपछि मेयर सम्मेलनले पोखरा घोषणापत्र तयार पारेको छ, जुन आइतबार बिहान सार्वजनिक गर्ने तय भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वद्र्धनका साथै हरित, उत्थानशील तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरी सम्मेलनमा छलफल भएको मेयर आचार्यले जानकारी दिए ।

सम्मेलनमा देशका ६ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए । सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एंव क्षेत्रीय योजनाकार डा.जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अबको बाटो शिर्षकमा मुख्य प्रस्तती राखेका थिए । महानगरपालिकाका प्रमुखहरुले मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतिबारे अनुभव आदानप्रदान गरे ।

सम्मेलनमा उपप्रमुखहरुका अधिकार र चुनौतिका विषयमा पनि छलफल भएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतिबारे आफ्नो अनुभव सुनाएका थिए ।

सम्मेलनको दोस्रो दिन शनिबार पुर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतिहरु बरे प्रस्तुति राखेका थिए । साझा अधिकार र साझा समस्याबारे मेयरहरुले छलफल गर्दै आगामी कार्यदिशाबारे पनि एजेण्डा तयार पारेका छन् ।

 



source https://www.onlinekhabar.com/2022/07/1165469

Friday 29 July 2022

‘वर्ड टुर’ गरेका स्टोरी टेलर साइग्रेस अब ‘वर्ल्ड टुरमा’   

१४ साउन, बार्सिलोना। ‘जबसम्म म कथाहरूलाई जिउन सक्दिनँ, शब्दहरूलाई पानीसरी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ।’ नेपालका विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्दा स्टोरी टेलर’ अर्थात् ‘कथा वाचक’ को परिचय बनाएका साइग्रेस पोखरेलले व्यक्त गर्दै आएको यो अभिव्यक्ति हो।

गत नोभेम्बर ९ देखि २७ सम्म नेपालका विभिन्न सहरहरुमा पुगेर उनले वर्ड टुर (शब्दहरुको भम्रण) गरेका थिए। १४ वटा कार्यक्रममा करिब १० हजार दर्शकसँग साक्षात्कार गरेको उनको अनुमान छ । साइग्रेसको आवाज सुन्न र भेट्न आउने दर्शकको घुइँचो थामिनसक्नु नै थियो।

शब्दहरुको भ्रमण अर्थात् ‘वर्ड टुर’ गरेका साइग्रेस यतिबेला वर्ल्ड टुरमा (विश्व भम्रणमा) उत्रिएका छन्।

विदेशमा बस्ने नेपाली माँझ साक्षात्कार गर्ने उनको यात्रा अष्ट्रेलियाबाट सुरु हुँदैछ। अगष्ट १ सोमबार  ब्रिस्बेन सहरमा साइग्रेसको पहिलो कार्यक्रम हुँदैछ। अगष्ट ७ मा पर्थ  र १९ मा सिड्नीमा पुगेर उनले कथा वाचन गर्दैछन्।

हाइपेक्स इभेन्टको आयोजना तथा ब्रिजोक्सको सहयोगमा अष्ट्रेलियाका अन्य सहरहरुमा पनि कार्यक्रमहरु तय हुँदैछन्। अष्ट्रेलिया पछि साइग्रेसको यात्रा युरोपका विभिन्न मुलुकहरु हुँदै अमेरिकामा रहेका नेपाली माझ पुग्नेछ।

काठमाडौं स्थायी घर भएका साइग्रेस पोखरेल हाल स्पेनको बार्सिलोनामा बस्दै आएका छन्। उनी डेनमार्कमा उच्च शिक्षाको अध्ययनपछि पाँच वर्षयता स्पेनमा बस्दै आएका हुन्।

स्पेनमा बसेर नेपाली मूलका कथा सुनाउँदै चर्चा बटुलेका साइग्रेसले शुक्रबार अष्ट्रेलिया उड्नुअघि अनलाइनखबरसँग कुराकानी गर्दै आफू निकै उत्साहित भएको सुनाए। ‘पहिले सयौंले चिन्नुहुन्थ्यो। अहिले लाखौंको माया छ। विदेशमा बस्ने नेपालीहरुमाझ पनि शब्द यात्रासहित साक्षात्कारको अवसर जुरेको हुँदा निकै उत्साहित छु,’ उनले भने।

‘विदेशमा सांगीतिक कार्यक्रमहरु हुन्छन् । नाटक मन्चन हुन्छन्। प्रहसन भएका छन् तर कथाको यो नौलो यात्रा हो जस्तो लाग्छ’ उनले थपे, ‘यो चाहिं सम्भवत: पहिलो हुन सक्छ। आफू पायोनियर हुन पाएकोमा धेरै खुशी लागेको छ। व्यवसायीकरणको सुरुआतसँगै अरु युवाहरु जो यो क्षेत्रमा आउन चाहान्छन्। उहाँहरुको लागि प्रेरेणा बन्नसक्छ।’

मनदेखि नै काम गर्ने हो भने जुनसुकै क्षेत्रमा पनि भविष्य रहेको साइग्रेस बताउँछन्। स्टोरी टेलरको क्षेत्रमा पनि व्यवसायीकरण सुरु भएको भन्दै धेरै युवाहरुमाझ राम्रो सन्देश जाने उनको ठम्याइ छ।

विदेशिएका युवाहरुको आवाज बोल्ने प्रतिनिधि कथाहरु आफूले पस्कदै आएको उनि बताउँछन्। ‘विदेशमा दु:ख मलाई मात्रै होइन। अरुलाई पनि रहेछ। संघर्षलाई जितेर गइसकेपछि अवश्य सफलता मिल्छ भन्ने सन्देश प्राय: मेरा कथाहरुले दिइरहेका हुन्छन्,’ साइग्रेसले सुनाए।

‘मेरो भोगाइ र सबैको भोगाइलाई बुझ्दाखेरि दु:ख मलाई मात्रै रहेनछ सबैलाई रहेछ। संघर्षलाई छिचोल्दै अघि बढ्ने हो भने सफलता प्राप्त गर्न सकिने सन्देश कथाहरूले दिइरहेका हुन्छन्’ उनले भने, ‘थाकेको शरीरले मनोरञ्जन खोज्छ। कतिले त आवाजलाई औषधिको रुपमा लिनुभएको पनि सुनाउनुहुन्छ । त्यसैले स्टोरीमा काउन्सिल पनि गरिरहेका हुन्छौं। अहिलेको यात्रामा यस्तै कथाहरु पनि सुनाउने छु।’

साइग्रेसको युट्युब च्यानलमा ४ लाख ५०  हजार सब्सक्राइबर रहेका छन्। साइग्रेसको पाँचवटा अडियो उपन्यास आफ्नै युट्युवमार्फत सार्वजनिक गरेका छन्। उनको अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’  ४५ लाखले हेरेका छन्। उनको युट्युबमा नौलो सुरुआत २३ लाख, नयाँ बेहुली १८ लाखले कथा सुनेका छन्।

किन त्यति धेरै चर्चित बने ? उनी भन्छन्, “मेरो आध्यात्मिक अभ्यासले पनि के सिकायो भने, जे बोल्छौ त्यो पालन गरेको हुनुपर्छ। र जे पालन गरेको हुन्छौ त्यति मात्रै बोल्नु पर्दछ। सायद यही सिकाइ पद्धति अलिअलि अबलम्बन गर्ने प्रयासमा हो कि । मेरा भोगाइ र अनुभवहरु कथामा उतार्ने गर्छु। प्राय: हाम्रा भोगाइ र पीडाहरु एकै खालका हुन्छन्। त्यसैले सबैलाई आफ्नै कथा जस्तो लाग्दछ।’

‘कुनै कथाको विषय दिमागमा आइहाल्यो भनेदेखि त्यो ठाउँमा आँफूलाई राख्छु। मेरो जीवनका घटना र पात्रहरुलाई मैले त्यसमा मिसाउने गर्छु। हरेक कथामा जीवनमा भएको एउटा न एउटा घटना मिसिएको छ। र पात्रहरु पनि आफ्नै साथीहरुको नाम छ”, उनले थपे।

विदेशमा रहेका नेपालीहरुको कथाबारे पनि उनको आफ्नै धाराणा छ।  उनका अनुसार नेपाल छँदा विदेश पुगेपछि आफ्ना समस्याहरु एकै छिनमा सुल्झिन्छ भन्ने धेरैको सोच हुन्छ। विदेशको रंगिन जीवनको मात्र कल्पना गरेका हुन्छौं। तर विदेशमा वास्तविकता फरक छ। त्यसैले पनि युवाहरु मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुँदै जाने समस्या देखिन्छ। उनीहरुमा निराशापन पनि छ।

सबै युवाहरु निराश पनि छैनन्। लामो समयपछिको संघर्ष र धैर्यतापछि आफ्नो क्षेत्रमा सफलता पनि प्राप्त गरेका छन्। विभिन्न क्षेत्रमा दक्ष नेपाली युवाहरु पनि छन् । आफूले सिकेको ज्ञान, सिप लिएर तत्काल नेपाल पुग्ने भने सोचेका हुँदैनन्। किनकि त्यो किसिमको वातावरण अहिलेसम्म देखिंदैन। सफलता र असफलताले भरिएका दुवै कथाहरू परदेशमा रहेको उनी सुनाउँछन्।



source https://www.onlinekhabar.com/2022/07/1165233

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

१४ साउन, दाङ । दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । घाइते बालिकालाई  उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै उनको मृत्यु भएको थियो ।

प्रहरीले विद्यालयको बस र चालकलाई  नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2022/07/1165231

एसियातिर किन आकर्षित छन् प्रिमियर लिग क्लब ?

१४ साउन, काठमाडौं । ‘मेरो कुनै धर्म छैन, मेरो कुनै देवता छैन । लिभरपुल फुटबल क्लब मेरो धर्म हो । यो मेरो लागि जीवन शैली हो ।’

एनफिल्ड रंगशालाबाट करिब ११ हजार किलोमिटर टाढा सिंगापुरमा जन्मिएका हुन विजय । उनी २०११ देखि आफ्नो मन पर्ने टिमलाई घरेलु मैदानमा हेर्न प्रतीक्षारत थिए । उनी एक जना मात्र होइन । यस महिनाको सुरुमा सिंगापुरको राष्ट्रिय रंगशालामा लिभरपुल र क्रिस्टल प्यालेसबीचको खेल हेर्न ५० हजार मानिस उपस्थित थिए ।

विजयले लिभरपुलको जर्सी फुकालेर आफ्नो ढाड देखाउँछन् जहाँ लिभरपुलको बारेमा ठूलो ट्याटू छ । क्लब इतिहासमा जितेका हरेक ट्रफीका वर्षहरू उल्लेख गरिएका छन् । उनी भविष्यप्रति आशावादी छन् ।

‘मेरो बुबा लिभरपूल प्रशंसक हुनुहुन्थ्यो र मैले मेरा बच्चा छोरीहरूसँग गरेको पहिलो कुरा उनीहरूमा लिभरपुल शर्ट लगाउनु थियो । यो पुस्तौंसम्म जारी रहनेछ, मलाई विश्वास गर्नुहोस्,’ उनी भन्छन् ।

कोभिड ट्राभल प्रतिवन्धका कारण तीन वर्षपछि इंग्लिस प्रिमियर लिगका टोलीहरु फेरि एकपटक पि्र सिजन समर टुरमा विश्वभर निस्केका छन् ।

यी यात्राहरूको आर्थिक महत्व नजरअन्दाज गर्न लिल्दैन छ । म्यानचेस्टर युनाइटेडले २०२१ मा लगभग ५६ मिलियन अमेरिकी डलरको व्यावसायिक राजस्व घाटा बेहोर्दा कोभिड अवरोध नै मुख्य रुपमा कारण रहेको जनाएको थियो । जसले गर्दा भारतमा टोलीको पहिलो पि्रसिजन भ्रमण रद्द गरिएको थियो ।

अहिले प्रतिबन्ध हटेपछि धेरै क्लबहरु आफ्नो नम्बर वान विदेशी बजारमा निस्केका छन् । ‘फ्यान बेसको आधारमा एसिया हाम्रो ठूलो क्षेत्र हो,’ लिभरपुलका प्रमुख कार्यकारी बिली होगानले बीबीसीसँग भने ।

‘कसैले मलाई एकपटक भनेका थिए कि तपाईं कुनै पनि एयरपोर्टमा उभिनुहुन्छ वा कुनै विमानबाट हाम्फाल्नुहुन्छ भने त्यहाँ लिभरपुलका प्रशंसकहरू फेला पार्न सक्नुहुन्छ । तर, हाम्रो विश्वव्यापी समर्थनको एक तिहाइ यहाँ छ र हामीलाई एसियामा ठूलो अवसर छ ।’

विश्वव्यापी अपील

यस समरमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले थाइल्याण्ड र अष्ट्रेलिया भ्रमण रोज्यो । जहाँ उसले लिभरपुल र क्रिस्टल प्यालेससँग खेल्यो । टोटनहम आफ्नै सुपरस्टार स्ट्राइकर सन हृयुङ मिनको देश दक्षिण कोरिया भ्रमणमा गयो ।

खेलकुदको दृष्टिकोणबाट हेर्दा यी यात्राले थोरै अर्थ राख्छन् । विभिन्न ‘टाइम जोन’मा लामो यात्रा गर्न, उच्च तापक्रम र आर्द मौसम भएको भएको ठाउँमा पुग्नु इंग्ल्याण्डमा नयाँ सिजनको लागि राम्रो तयारी भने होइन ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले यो आफ्नो लागि मन पर्ने काम नभएको प्रतिक्रिया दिएका थिए । ‘सबैभन्दा पहिले म एक प्रशिक्षक हुँ र यदि हामीले अस्टि्रयामा दुई हप्ता दैनिक दुई पटक प्रशिक्षण गर्न सक्छौं भने, त्यो राम्रो हुनेछ,’ उनले भने, ‘तर, एसियामा हाम्रो फ्यानबेस कति ठूलो छ भनेर हामीलाई थाहा छ । तिनीहरूको नजिक हुनु एक अद्भूत क्षण हो ।’

वास्तवमा भन्दा एलिट फुटबलमा यस्तो बहस लामो समय पहिलेदेखि नै भएको थियो । व्यावसायिक तर्कले निणर्ायक रूपमा जितेको छ ।

यस वर्ष आएको रिपोर्टको नयाँ तथ्यांकले के देखाउँछ भने प्रिमियर लिगले यसको बेलायती घरेलु बजारमा भन्दा अन्तर्राष्ट्रिय ब्रोडकास्टरहरुबाट बढी राजस्व प्राप्त गर्नेछ । अर्को सिजनदेखि २०२५ को बीचमा एसियाले मात्रै १.४ बिलियन अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियामा टोटनहम र स्थानीय अलस्टार टिमबीचको प्रदर्शनी खेलका लागि २५ मिनेटमै सबै टिकट बिक्री भएको थियो । यो दक्षिण कोरियाली इतिहासमा सबैभन्दा धेरै ‘स्टि्रमिङ’ भएको खेलकुद इभेन्ट पनि बन्यो ।

यसैबीच बैंककमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको मैत्रीपूर्ण खेलको सुरुवाती टिकट मूल्य १३६ अमेरिकी डलर थियो । सिंगापुरमा सबैभन्दा सस्तो टिकटको मूल्य नै १०७ अमेरिकी डलर थियो ।

यी मूल्यहरू समर्थकले इंग्ल्याण्डमा प्रतिस्पर्धात्मक खेलको तिर्ने अपेक्षा गरेको भन्दा धेरै उच्च दर हुन् । तर, अन्ततः ती क्लबहरु प्रिमियर लिगका शक्तिशाली क्लबहरूको प्रतिनिधित्व गर्छन् ।

लिभरपुलका एक प्रवक्ताले बीबीसीलाई भने, ‘हामीले यी टिकट मूल्य तोकेका हैनौं, हामीले एक सेट शुल्क पाउँछौं । टिकटको आम्दानीको कुनै अंश पनि प्राप्त गर्दैनौं ।’

एसियामा कमाइ

टाढा खेल्न जाँदा टिमहरुले कति कमाउँछन् भन्ने कुरा उद्योगभित्र नै निहीत हुन्छ । विश्लेषकहरुका अनुसार यो यात्राबाट ठूलो कमाई नहुने तथा यात्रा र कर्मचारीमा खर्च हुनेछ ।

‘टिमहरूले वास्तवमा पि्रसिजन खेलहरूबाट सिधै ठूलो रकम कमाउँदैनन्, प्रतिखेल केही मिलियन डलर कमाइ हुन सक्छ,’ व्यापार प्रकाशन स्पोट्र्स विजनेसका लागि एसिया-प्रशान्त सम्पादक केभिन म्याककुलाघले भने, ‘तर, त्यहाँ एउटा ठूलो खेल चलिरहेको छ । यो बजारमा ब्रान्ड निर्माण र प्रशंसक संलग्नताको बारेमा हो जसले प्रसारण अधिकार सम्झौता र एसियाली ब्रान्ड र कम्पनीहरूसँग प्रायोजन सम्झौताहरूबाट दीर्घकालीन रुपमा धेरै ठूलो राजस्व प्रदान गर्नेछ । वास्तविक पैसा यहाँ छ ।’

सिंगापुरमा हुँदा लिभरपुलले एसिया केन्द्रित बैंक स्ट्यान्डर्ड चार्टर्डसँग नयाँ शर्ट प्रायोजन सम्झौतामा हस्ताक्षर गर्‍यो । जसको मूल्य २४० मिलियन डलरभन्दा बढी रहेको बताइन्छ ।

लिभरपुलका मोहम्मद सलाह सिंगापुरको नेशनल स्टेडियममा सेल्फी खिच्दै ।

विश्वव्यापी रुपमा प्रायोजकको प्रोफाइल बढाउन मद्दत गर्नुको अलावा, फुटबल क्लबहरूले उनीहरूलाई उपभोक्ता डेटा पनि उपलब्ध गराउन सक्छन् ।

उदाहरणका लागि म्यानचेस्टर युनाइटेडको कस्टुमर रिलेसन म्यानेजमेन्ट (ग्राहक सम्बन्ध व्यवस्थापन) डेटाबेसमा ५० मिलियन रेकर्डहरु छन् । गत वर्ष सामाजिक सञ्जालमा तिनीहरूसँग १७६ मिलियन जोडिएका थिए ।

त्यसैले प्रायोजकहरुले आफ्नो प्रायोजन रकमको बदलामा ब्रान्ड र यसको मार्केटिङ विभागले कुनै समयमा क्लबसँग दर्ता वा संलग्न भएका लाखौं फ्यानहरूको उपभोक्ता व्यवहारको बारेमा थाहा पाउनेछ ।

‘ठूला ब्रान्डहरूले सोध्ने पहिलो कुरा फ्यानहरूको डाटा हेर्नु हो,’ म्याककुलगले भने, ‘उनीहरूले लगानी गर्नुअघि, क्लबका कति फ्यानहरू छन् भन्ने साथै जनसांख्यिकी, उमेर, कति पुरुष, कति महिला, उनीहरूको आम्दानी विवरण, यस्तै चीजहरू जान्न चाहन्छन् ।’

यद्यपी, टेलिभिजनबाट आएकै पैसाले इंग्लिस फुटबललाई आर्थिक रुपमा माथि पुर्‍याएको छ ।

धेरै वर्षदेखि अन्य खेलकुद लिगहरू, युरोपेली फुटबल लिगसहितले प्रिमियर लिगलाई इर्स्यालु रूपमा हेर्दै आएका छन्, जो एसियामा पहिलो पटक आएका थिए र १९९० को दशकमा व्यावसायिक सम्बन्ध स्थापना गरेका थिए ।

प्रिमियर लिगको प्रतिस्पर्धास्तर, विशिष्ट फ्यान संस्कृति र अंग्रेजी भाषासँगको सम्बन्धले यसलाई विश्वमा सबैभन्दा धेरै हेरिने खेलकुद लिग बनाएको छ । जसले विश्वव्यापी रूपमा ३.२ बिलियन संयुक्त दर्शकलाई आकषिर्त गरेको छ ।

प्रिमियर लिगका अनुसार प्राय मध्यरातमा खेल समाप्त हुने भए पनि आधा विश्वव्यापी फ्यानबेस र एक चौथाइ टेलिभिजन दर्शकहरू एसिया-प्रशान्तमा छन् ।

यद्यपि यी सबै फ्यानहरूलाई कायम राख्नु चुनौतीपूर्ण हुने विशेषज्ञको भनाइ छ । विशेष गरी युवा पुस्ताका लागि अहिले धेरै फराकिलो दायरामा मनोरञ्जन र जीवनशैली उपभोगको विकल्पहरू छन् ।

स्पेनिस क्लब रियल मडि्रडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत वर्ष भनेका थिए, ‘युवाहरू अब फुटबलमा रुचि राख्दैनन् । उनीहरूसँग आफूलाई व्यस्त राख्ने अन्य प्लेटर्फमहरू छन् ।’

यस दृष्टिकोणले टेलिभिजनको राजस्व अन्ततः घट्नेछ भन्ने भविष्यवाणीपछि शीर्ष युरोपेली फुटबल क्लबहरूका केही पदाधिकारीले प्रशंसकहरूलाई व्यस्त राख्नको लागि नयाँ प्रतियोगिताको आविष्कार गर्नुपर्ने विश्वास राखे ।

गत वर्ष प्रिमियर लिगमा पाँच ठूला क्लबसहितको युरोपियन सुपर लिग गर्ने घोषणा भएको थियो । जसले विशेष गरी एसियामा धेरै समर्थकलाई अपील गर्ने प्रयास गरेको थियो । तर, यो अन्ततः बेलयात र विश्वव्यापी रूपमा प्रशंसकहरूबाट ठूलो आलोचना पछि खारेज गरियो ।

फ्रान्सको एम्लियोन बिजनेस स्कूलका खेलकुद ग्लोबल प्रोफेसर साइमन चाडविकले युरोपियन फुटबल क्लबहरूले एसियाको बारेमा अनुमान लगाउनु नहुने बताए । ‘एसियाली उपभोक्ताहरू स्मार्ट, परिष्कृत र ज्ञानी छन् । तपाईले तर्क गर्न सक्नुहुन्छ कि हालैका वर्षहरूमा एसियाली फ्यानहरू बीच युरोपेली फुटबलबाट केही असन्तुष्टि भएको छ, त्यसैले क्लबहरूलाई एसिया ‘सुनको अण्डा’ दिने हाँस हो भनेर घमण्ड नगर्न सल्लाह छ ।’

चाडविकले प्रिमियर लिग खेलहरू विदेशमा खेल्ने सम्भावनाबारे पहिलो पटक २००८ मा प्रस्तावित भएको र यसको बहस अन्ततः फेरि आउने बताए ।

बीबीसी न्युजका लागि निक मार्सले तयार पारेको लेखको भावानुवाद



source https://www.onlinekhabar.com/2022/07/1165226

के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने ?

१४ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरसबाट संक्रमित भएका बालबालिकाको संख्या बढ्दै गएको छ । कान्ति बाल अस्पताल, महाराजगञ्जमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने, आँखा रातो भएर, पेट दुख्ने समस्या लिएर उपचार गर्न आउने बालबालिकाको संख्या केही हप्तादेखि बढिरहेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाईं  बताउँछन् ।

चिकित्सकका अनुसार भाइरसको संक्रमण विभिन्न लक्षण देखिए पनि स्वास्थ्यमा खासै गम्भीर जटिला ल्याउँदैन । ‘यो भाइरस हरेक वर्ष देखिन्छ । एडिनो भाइरस भनेको अरु भाइरस जस्तै हो । अरु रुघाखोकी ज्वरो ल्याउने भाइरस जस्तो यो पनि एउटा भाइरस हो’ डा. चापागाईं भन्छन्, ‘एडिनो भाइरसको संक्रमणले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी जटिलता ल्याउने गर्छ ।

तर, डा. चापागाईं भाइरसको संक्रमण बर्सेनि हुने गरेकोले नआत्तिन अभिभावकलाई सुझाव दिन्छन् ।

एडिनो भाइरस कस्ता खालको हो, यसले कस्तो जटिलता ल्याउँछ, कहिँलेसम्म रहन्छ ? भन्ने विषयमा बालरोग विशेषज्ञसँग डा. चापागाईंसँग अनलाइखबरले गरेको कुराकानीको सम्पादित अशं :

के हो एडिनो भाइरस ?

एडिनो भाइरस कुनै नयाँ प्रजातिको भाइरस होइन । यो अन्य भाइरस जस्तै साधारण भाइरस हो । यस भाइरसले अन्य भाइरल रुघाखोकी जस्तै ज्वरो आउने, रुघाखोकी गराउने, आँखा रातो हुने, पेट दुखाउने, दिसा पातलो गर्ने र पिसाबमा इन्फेक्सन गराउने हुन्छ ।

अरु भाइरस र एडिनो छुट्याउने लक्षणहरु के-के हुन् ?

एडिनो तथा अन्य भाइरसको संक्रमणले बालबालिकामा ज्वरो आउने, रुघाखोकी साधारणतया देखिन्छ । तर, एडिनो भाइरसको संक्रमण भइसकेपछि धेरैजसोको बालबालिकामा आँखा पाक्ने, आँखा रातो हुने, खानाखान मन नलाग्ने, शरीरका विभिन्न भागहरु दुख्ने, पेट दुख्ने, झाडापखला लाग्ने र कुनै बालबालिकामा पिसाबको इन्फेक्सन समेत हुन्छ ।

अन्य बेलाको रुघाखोकीभन्दा एडिनो भाइरसमा रुघाखोकी तथा ज्वरो धेरै दिनसम्म रहिरहन्छ । अन्य इन्फ्लुएन्जा जस्ता भाइरस संक्रमण हुँदा ९९/१०० डिग्री ज्वरो आउँछ भने एडिनो भाइरस संक्रमण हुँदा १०२/१०३ डिग्रीसम्म ज्वरो आउँछ । अन्य समयमा धेरैजसो भाइरल ज्वरो तीनदेखि चार दिनसम्म रहन्थ्यो भने एडिनो भाइरसमा कम्तीमा पनि पाँच दिनदेखि दुई हप्तासम्म पनि रहिरन्छ ।

बालबालिकामा संक्रमण कसरी सर्छ ?

रुघाखोकी गराउने राइनो, इन्फ्लुयन्जा वा एडिनो जस्ता भाइरसहरु प्रमुखतः दुईवटा तरिका सर्ने गर्छन् । पहिलो थुकको छिट्टाहरुबाट सर्छ । एडिनो भाइरस दुईतिन जना बालबालिका सँगै भएको अवस्थामा संक्रमित भएको व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा भाइरस बढी फैलिन्छ । त्यसैगरी, संक्रमित व्यक्तिबाट श्वासप्रश्वासको माध्यम वा खानपानबाट पनि संक्रमण सर्छ ।

कुन उमेर समूहका बालबालिका अस्पताल आइरहेका छन् ?

एडिनो भाइरसले बालबालिकालाई मात्रै असर गर्दैन । यसले सबै उमेर समूहका मानिसलाई असर गर्छ । एडिनो भाइरसको संक्रमण हुँदैमा सबै बालबालिकामा लक्षण वा चिह्न देखिँदैन । जुन बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, यस्ता बालबालिकामा लक्षण बढी देखिन्छ । त्यसकारणले जति कम उमेर समूहका बालबालिका छन्, त्यति नै चिन्ह्र लक्षण धेरै देखिन्छ । किनभने स-साना बालबालिकामा रोगविरुद्ध लड्ने क्षमता कम हुन्छ । श्वासप्रश्वासको माध्यमबाट एडिनो भाइरसको संक्रमण फैलिने हुँदा धेरैजसो बालबालिका विद्यालयमा जाँदा संक्रमित सम्भावना हुन्छ । त्यसैले सकेसम्म बालबालिकालाई एकै ठाउँमा झुम्मिनदिन हुँदैन ।

कति संक्रामक छ यो भाइरस ?

बालबालिकालाई धेरै रुघाखोकी इन्फूलन्जा भाइरसले गर्छ । इन्फ्लुएन्जा, राइनो भाइरस जस्तो यो भाइरस बढी संक्रामक छैन । धेरै संक्रमण फैलाउनसक्ने वा मृत्यु गराउने खालको कडा भाइरस होइन । एडिनो भाइरसले बालबालिकालाई वर्षभरी नै आक्रमण गर्ने गर्छ ।

कस्तो अवस्थामा अस्पताल लैजाने ?

हाम्रो घरमा दुईचार जना बालबालिका छन् भने साधारण रुघाखोकी लाग्ने, ज्वरो आउने भइरहन्छ । यसैगरी नै हाम्रा बालबालिका हुर्किने गरेका छन् । तर अभिभावकले एडिनो नयाँ भाइरस हो भनेर आत्तिनु पर्दैन । तर अन्य भाइरसले भन्दा एडिनो भाइरसको संक्रमणले ज्वरो बढी आउने हुन्छ । ज्वरो आएको, रुवाखोकी लाग्यो, आँखा अलि-अल्लि पाकेमा सर्पोटिक उपचार मात्रै गरिन्छ । यस्ता समस्या देखिएको अवस्थामा बालबालिकालाई बढी ख्याल राख्नुपर्छ ।

ज्वरो कम गराउन सामान्य सिटामोल खुवाउने, पोसिलो खानेकुरा खुवाउने, आराम गराएर राख्ने, झोलिलो कुरा बढि खुवाउने गर्नुपर्छ । तर दुई हप्तामा ठिक हुन्छ भनेर बालबालिकामा जटिलता देखियो भने घरमै राख्नहुँदैन । जस्तो कि, ज्वरो १०२/१०३ डिग्रीसम्म आएको एकहप्तासम्म पनि ठिक नभएको अवस्थामा, ज्वरो सँगसँगै बालबालिका आलस्य भएमा, वान्ता पटक-पटक गरेमा, श्वासप्रश्वास छिट्टो-छिट्टो फेरेमा, कोखा हानेको अवस्थामा तुरुन्तै अस्पताल ल्याउनुपर्छ । चिकित्सकको सल्लाह बमोजिम उपचार तत्काल थाल्नुपर्छ । घरमै बालबालिकालाई १०३/१०४ डिग्रीसम्म ज्वरो आएको भन्दै अनावश्यक औषधि भने खुवाउन हुँदैन ।

भाइरसको उपचार पद्धति के हो ?

यस भाइरसको खासै उपचार छैन । एडिनो भाइरसको उपचार ज्वरो कम गराउने, आराम गराउने, पोसिलो खानेकुरा खुवाउने, झोल कुरा धेरै खुवाउने पर्छ । भाइरसले केही गरी जटिलता निम्ताएको अवस्थामा मात्रै अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । जसरी टाफाइड वा, पिसाबको संक्रमणविरुद्ध औषधि हुने हुन्छ । त्यसैगरी, एडिनो भाइरसको विरुद्धको कुनै औषधि उपलब्ध छैन । किनभने यो भाइरस आफैं हराएर जान्छ ।

भर्ना र मृत्युदर कस्तो छ ?

अहिले अभिभावकहरु बालबालिकालाई अत्याधिक ज्वरो आएको वा बच्चालाई गाह्रो भनेर ओपिडीमा धेरै संख्या ल्याउनुभएको छ । तर ओपिडीमा देखाउन आएको तुलनामा भर्ना गर्नुपर्ने संख्या कम छ । बालबालिकालाई निमोनिया वा पिसाबमा धेरै खराब भएमा मात्रै भर्ना गर्नुपर्ने हुन्छ । यो भाइरसको कारण मृत्यु हुनेसंख्या कम हुन्छ । यही भाइरसको कारणले पछिल्लो तिनहप्तासम्म कुनै बालबालिकाको मृत्यु भएको छैन ।

कसरी सावधानी अपनाउन सकिन्छ ?

एडिनो भाइरसबाट बच्न आवश्यकता नभई भीडभाड भएको ठाउँमा जान हुँदैन । रुघाखोकी, ज्वरो, आँखा पाक्ने यस्ता लक्षण भएका बालबालिकालाई पर राख्ने गर्नुपर्छ । त्यसैगरी, साबुनपानीले बारम्बार हात धुने, व्यक्तिगत सरसफाई र खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ ।

यो भाइरस कहिँलेसम्म रहन्छ ?

एडिनो भाइरसले आंक्रमण गर्दैमा सबैलाई लक्षण देखिँदैन । अधिंकाशको लक्षण वा चिन्ह्र पाँच-सातदिनमा हटेर जान्छ । बाँकी रहेका बालबालिकामा भने एकहप्तामा ठिक हुन्छ । कुनै-कुनै बालबालिमा भने समस्या दुईहप्ता पनि रहनसक्छ । विगत तीनहप्ता यता काठमाडौं उपत्यकाका धेरै बालबालिका संक्रमित भइसकेका छन् । संक्रमित बालबालिकाले अन्य बालबालिकालाई संक्रमण गर्ने चेन आधाआधीमा पुगिसकेको छ । अबको दुईतीन हप्ता एडिनो भाइरस आफैं हटेर जान्छ ।



source https://www.onlinekhabar.com/2022/07/1165208

आज पनि केही ठाउँमा भारी वर्षा हुने

१४ साउन, काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ ।

दिउँसो भने  प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने र प्रदेश १ र मधेशका एक/दुई ठाउँमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

आज देशका धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले सूचित गरेको छ ।

 



source https://www.onlinekhabar.com/2022/07/1165222

कीरा परेको गिदी

‘तिम्रो देशका धेरैजसो नेताको गिदीमा कीरा परेको छ…’

लुई पाश्चरको यो अनायास भनाइले मेरो पनि गिदी चकराउँछ । अनि आश्चर्यचकित लवजमा मबाट निस्कन्छ- ह्वाट ?

‘एस मिस्टर समीर’ उनी भन्दै जान्छन्, ‘सबै हैन, छिटपुट बाहेक धेरैको गिदीमा एक यस्तो कीरा छ, जसको सकेसम्म चाँडै उपचार खोजिएन भने तिमीहरु सबैलाई तिनले बर्बाद गर्नेछन्।’

                                                                                             ***

चर्चित फ्रान्सेली वैज्ञानिक लुई पाश्चरको स्वर्गलोकमा रहेको विज्ञान प्रयोगशाला । जुन निकै भव्य छ ।

बाहिर कल्पना गर्नै नसकिने सौन्दर्य बोकेको बगैंचा छ । रङ्गीचङगी फूलहरु । ती अनगिन्ती फूलका सुगन्धले मधुर नसा दिंदैछन् । फलका पनि बोटहरु । बीचबीचमा साना साना खोला र पोखरी । चरा चुरुङ्गी, जनावर सबै छन् । कुनै अन्जान ठाउँबाट बाँसुरीको एक यस्तो सुमधुर धुन बजिरहेछ, त्यति मीठो धुन हामीले त्यसअघि कहिल्यै सुनेका थिएनौं । त्यसको र खोलाको कलकल आवाज मिसिंदा ब्रम्हाण्डकै उत्कृष्ट धुन बनेको छ । पृथ्वीमा हुँदा हिंस्रक जनावर बाघ, भालु, सिंह, सर्प पनि शान्त र मायालु छन् । मौसम न जाडो छ, न गर्मी । स्वर्ग किन सुन्दर छ भन्ने कुरा यहाँ थाहा हुन्छ । जसको एउटै कारण रहेछ, प्रेम । जीवन भएका प्राणी- प्राणीबीच तथा प्राणी, प्रकृतिबीचको अलौकिक प्रेमले नै त्यो ठाउँ पृथ्वीका मानिसको सोच भन्दा कैयौं गुणा सुन्दर छ ।

त्यही सौन्दर्यको माझमा छ, पाश्चरको अत्याधुनिक प्रयोगशाला । भवन निकै कलात्मक छ र भव्य पनि छ । विभिन्न सामग्री, कच्चा पदार्थ व्यवस्थित रुपमा राखिएको छ । स्वर्गभित्र यो अर्को एउटा छुट्टै स्वर्ग छ ।

मृत्यु भएको १२७ वर्ष भइसक्दा पनि स्वर्गलोकमै उनी अनुसन्धान र नयाँ-नयाँ प्रयोगको क्रममै व्यस्त छन् । सन् १८२२ मा जन्मेर १८९५ मा स्वर्गीय भएका पाश्चरले ज्यूँदो छँदा मुख्यगरी तीनवटा उपहार सिंगो मानव जीवनलाई दिएर ठूलो गुन लगाए ।

पहिलो, खानेकुरामा हुने स्वास्थ्यमा असर गर्ने किटाणु मार्न पकाएर खानुपर्छ भन्ने तथ्य प्रमाणित गरे र खानेकुरालाई लामो समयसम्म टिकाइराख्ने उपाय बताए । जसको पहिलो प्रयोग दूधमा गरे ।

दोस्रो, हाम्रो शरीरमा प्रवेश गरेर रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बढाउने खोप बनाए । जसमार्फत बालज्वरो,  हैजा, प्लेग जस्ता रोग विरुद्धको खोप बनाए ।

तेस्रो, रेबिज विरुद्धको खोप बनाए । जसले गर्दा त्यतिबेलाकै हिसाबले पनि प्रतिjर्ष एक करोड व्यक्ति त्यसबाट लाभान्वित भए ।

हो, तिनै महान् वैज्ञानिक लुई पाश्चर, जसको व्यक्तिगत जीवन भने निकै अश्रुपूर्ण रह्यो, उनीसँग भ्याक्सिन अर्थात् खोपकै बारेमा केही नयाँ उपलब्धिको आश गरेर हामी गएका थियौं,  समय लिएर । हामी अर्थात् क्यान्सरका डाक्टर अरुण शाही र म ।

डाक्टर अरुण क्यान्सरका बिरामीलाई केमोथेरापी उपचार गर्छन् अर्थात् त्यसका लागि औषधि र भ्याक्सिन दिन्छन् । पाश्चरले अहिलेसम्म चाहे स्वर्गमै किन नहोस् क्यान्सर विरुद्धको खोप पनि पत्ता लगाए कि भन्ने झिनो आशा लिएर हामी गएका । सुरुमा त समय लिनै गाह्रो, त्यसपछि भेट्नै गाह्रो, भेटेपछि पनि बोल्नै गाह्रो । खाली के के गरेर बस्ने । नजिकै कोही छ, भेट्न भनेर टाढाबाट आएको छ । तर वास्तै छैन !

रिसाउने अधिकार हामीसँग छैन । ‘धेरै अध्ययन गर्ने यी बुढाहरु यस्तै हुन्’ भनेर चित्त बुझाएका छौं । केहीबेरको अस्थिर प्रतीक्षापछि हामीतिर ध्यान दिंदै उनी वर आउँछन् । सेतो कपाल, सेतै दाह्री । गोलो चश्मा । सफा लुगा । अनुहारमा अझै पनि तेज । हेर्दै कुनै खास मान्छे जस्तो ।

एउटा अचम्म त्यहाँ देख्छौं, पाश्चरले अबिरको रातो ठाडो टीका लगाएका छन् । भौतिकवादी वैज्ञानिक, त्यसमा पनि क्रिश्चियन धर्म मान्ने । कुन प्रेरणाले हिन्दू धर्मको यो टीका ग्रहण गरे होलान् ?

पशुपन्छीको व्यापार गर्ने सामान्य मान्छेको छोरा जसले महान् अन्वेषण गरेर संसारलाई बचायो । उनीसँग भेट्न पाउँदा हामी गद्गद् छौं । भेटको उद्देश्य पूरा होला नहोला, तर भेट आफैंमा एक भयंकर उपलब्धि हो ।

‘खास प्रयोगशालामा यसरी कसैलाई पनि भित्र आउन अनुमति छैन’ दाह्री कन्याउँदै पाश्चर भन्छन्, ‘तर भाइहरु पृथ्वीदेखि निक्कै दु:ख गरेर आएका हुनाले मात्रै दिएको । खास के छ ? ल भनौं त । मसँग समय धेरै छैन ।

डा. अरुण र म हेराहेर गर्छौं, पहिला कसले बोल्ने भन्ने प्रश्न उब्जिन्छ । म नै अघि सर्छु । आखिर मेरो पेशा नै बोल्ने ।

‘खास म चाहिं पत्रकार हुँ । नेपाल टेलिभिजनमा काम गर्छु । मेरो भन्दा पनि भेट्ने इच्छा बढी उहाँको हो । म चाहिं माध्यम मात्रै बनेको ।’

‘ए त्यही त’ अब बुढा खुल्दैछन्, ‘तिमीहरु पत्रकारको कामै त्यही त हो नि । आफू नयाँ केही गर्ने होइन । खाली अर्काले गरेका कामको गफ दिएर चर्चा बटुल्ने । त्यही पनि सत्य र निष्ठामा बसे त हुन्थ्यो नि ।’

खरो स्वभावका रहेछन्, रातोपिरो बनाए बुढाले । भन्न त मलाई भन्न मन थियो ‘सबैलाई एउटै भाँडोमा हालेर हेर्ने काम नगर न बुढा,’ भनेर । तर चुप लागेर बनावटी हाँसो हाँस्न बाहेक सकिनँ । मेरो निरीहपन लत्याउँदै उनी अरुणतिर फर्कन्छन् ।

‘अनि तिमी चाहिं क्यान्सरको डाक्टर ?’

‘हजुर हो’।

‘कहाँ पढ्यौ नि ?’

‘पढ्न त मैले सुरुमा एमबीबीएस चाइनाबाट गरें, एमडी बंगलादेशबाट, एमपीपीएच बंगलादेशबाट नै र क्यान्सरको विशेष कोर्स भारतबाट गरें । पछि युरो सर्टिफाइड चाहिं युरोपबाटै भएँ । नेपालमै केही गरौं भनेर विदेश नगई त्यहीं बसेको छु ।’

‘ए, सानै उमेरमा धेरै गरेछौ, किप इट अप ।’

अब बुढा शान्त छन्, ‘नेपालमा त राम्रा डाक्टर थोरै छन् । ती पनि दशवटा अस्पताल भ्याउँछन् । त्यसो भएपछि बिरामीलाई समय दिन नभ्याएर उपचार पनि राम्रो हुँदैन । यता घरपरिवार पनि ध्वस्त । त्यस्तो चाहिं नगर नि । तल बस्दा मैले यो कुरा बुझिनँ । अहिले पश्चाताप हुँदैछ । मेरो पारिवारिक कहानी त थाहा छ नि ?’

‘थाहा छ हजुर ।’ अब नर्भस हुने पालो डाक्टरको ।

‘त्यसमा म सचेत छु हजुर । मेरी श्रीमती पनि स्त्रीरोगको डाक्टर हुन्, कुरा बुझ्छिन् । त्यसैले समस्या छैन ।’

यता मैले गुगलमा पढेको पाश्चरको पारिवारिक चित्र मेरो दिमागमा आउँछ ।

उनका तीन जना छोरी थिए । तीन जनामध्ये दुईजना ब्रेन ट्युमर भएर र एकजना टाइफाइट भएर बितेका थिए । श्रीमान सधैं व्यस्त, छोरीहरु तीनै जना स्वर्गीय । बिचरा उनकी श्रीमती मेरी पाश्चरले जीवनको अधवैंसे उमेरदेखि नै मानसिक सन्तुलन गुमाउन पुगिन् । यी सबै पीडाका बाबजुद पाश्चरले आफ्नो साधना छोडेनन् ।

उम्लिने गरी पकाएपछि खानेकुरामा हुने हानिकारक किटाणु मार्ने र शरीरमा रहेका जीवाणु मार्ने प्रविधि अर्थात् खोप पत्ता लगाएर संसारलाई गुन लाएर पनि चुप लागेर बसेनन् ।

रेबिज विरुद्धको खोप पत्ता लगाउने उनको सानै उमेरदेखिको सपना थियो । जसको पछाडि एक घटना प्रमुख कारण थियो । पाश्चरको गाउँ फ्रान्सको डोल, जुन जंगल नजिकै थियो । एक दिन जंगलबाट एक्कासी थुप्रै स्यालहरु आएर गाउँका आठ जनालाई टोके । तीमध्ये पाँच जनालाई रेबिज भयो । केही दिनपछि स्याल जस्तै कराएर, र्‍याल सिंगान बगाएर ती पाँच जनाको दु:खद् मृत्यु भयो । त्यो देखेपछि उनको मन साह्रै दुख्यो र त्यो बाल मस्तिष्कले एक प्रण गर्‍यो कि त्यस विरुद्धको खोप पत्ता लगाउने । उनले यो कुरा आफ्ना बुवा जिन जोसेफ पाश्चरसँग भने ।

बुवा निकै सकारात्मक र छोराले केही गरोस् भन्ने सोचका थिए । बुवाले भने, ‘त्यसका लागि तिमी राम्रोसँग पढ । म जत्ति पनि खर्च गर्न तयार छु ।’

त्यसपछि पाश्चर मेहनत गरेर पढ्न थाले । जबकि त्यसअघिसम्म सुस्त मनस्थिति भनेर स्कुलमा साथी र शिक्षकहरुबाट उनी अपहेलित थिए । पछि विश्वविद्यालयमा रसायनशास्त्र पढ्न पनि उनका बुवाले सम्झाएर, निकै धेरै ऋण खोजेर पठाएका थिए ।

हो, तिनै पीडा, साधना र सफलताका त्रिवेणी लुई पाश्चरको मृत्युपर्यन्त उनलाई भेट्न विशेष आग्रह गरेर विशेष विमान चढेर हामी उनको यो विशाल प्रयोगशालामा पुगेका छौं ।

***

मयता फ्ल्यासब्याकमा हराउँदै गर्दा उता कुराकानी छुटिसकेछ । बुढा भन्दै रहेछन्, ‘बुझ्यौ अरुण ! त्यतिबेला विश्वको जबसंख्या एक अर्ब पचास करोड थियो । तीमध्ये करिब एक करोड व्यक्तिलाई हरेक वर्ष कुनै न कुनै जंगली जनावरले टोक्थे । कल्पना गर त, तीमध्ये कतिले रेबिजकै कारण ज्यान गुमाउँथे होलान् ?

हामी दुवै मौन छौं ।

‘मैले जब दिनरात मेहनत गरेर रेबिज विरुद्धको खोप पत्ता लगाएँ ।’ बुढा अझै फ्ल्यासब्याकमा छन् । हामी पनि उत्साहित छौं, ‘तब एक कुकुरमा परीक्षण गरें र सफल भएँ । अब चुनौती थियो मान्छेमा प्रयोग गर्ने ।

त्यसै समय एक महिला मकहाँ आइन् । जसको सानो छोरालाई दुई दिनअघि एक बहुला कुकुरले टोकेको थियो । परीक्षण गर्दा पत्ता लाग्यो कि, बालकको शरीरमा रेबिजका जीवाणु प्रवेश गरेका छन् । अब म धर्मसंकटमा परें ।

प्रयोग गरौं त यदि मेरो खोपले काम गरेन र बच्चाको मृत्यु भयो भने मेरो आजसम्मको सम्पूर्ण साधना र जीवन नै बर्बाद हुन्छ । सायद म जेल जान्छु । फेरि प्रयोग नगरौं त आफ्नै अगाडि अब केही दिनमै बच्चाको दुःखद् मृत्यु देख्नुपर्छ ।

त्यसअघिसम्म त्यस्ता रेबिज लाग्न सक्ने स्याल, कुकुर, बाँदर, हुँडार आदिले टोकेमा फलाम तताएर डाम्ने चलन थियो । तर त्यो अनिश्चित थियो र पीडादायी पनि । अन्तत: मैले बच्चामा प्रयोग गर्ने निर्णय गरें । लगातार २१ दिनसम्म बच्चालाई नियमित खोप दिएँ । अनि उसको शरीरबाट रेबिजका जीवाणु नष्ट भए । म सफल भएँ । अनि संसारको हाइहाइ भएँ । पछि त नोबेल पुरस्कार नै पाएँ ।’

यो निकै चाखलाग्दो कहानी सुनेपछि म केही सोध्न खोज्दै थिएँ, फोनको घण्टी बज्छ ।

पाश्चर नम्बर हेर्दै भन्छन्, ‘ए आइन्स्टाइनको फोन रैछ, एकैछिन है ।’

उनी ह्याण्ड्स फ्री गरेर बोल्न थाल्छन् ।

‘हलो पाश्चर दाइ, के गर्दै हुनुहुन्छ ? आज तास नखेल्ने ?’

‘आज नखेल्ने भाइ’ पाश्चर थप बोल्छन्,  ‘यहाँ पृथ्वीको नेपालबाट दुईजना भाइहरु मलाई भेट्न आएका छन् । आज तास खेल्ने समय म यिनलाई दिन्छु । यिनले निकै मेहनत गरेर ठूलै आशा लिएर आएका छन् मैले निराश बनाउनुहुन्न । अनि को को जम्मा भयौ त ?’

‘उही त हो, ग्यालिलियो, एडिसन, न्यूटन र म छौं ।’

‘अनि आज लाउके आएको छैन ?’

‘छैन खै आउँदै होला ।’

‘ल ल भाइ आजलाई सरी । भोलि खेलौंला ।’

‘ल दाइ ।’

फोन राखेपछि हामी आश्चर्यमा डुब्छौं । अनि म सोधिहाल्छु, ‘स्वर्गमा पनि वैज्ञानिकहरु जम्मा भएर तास खेल्नुहुन्छ ?’

‘अँ खेल्छौं त’ पाश्चर सहज उत्तर दिन्छन् ।

‘कहिलेकाहीं हामी चित्रगुप्त र यमराजलाई पनि खेलाउछौं ।’

खुबै रमाइला लाग्छन् यी सबै कुराहरु ।

लाउके अर्थात् आफू नखेल्ने तर कुनै एक खेलाडीलाई सिकाउने व्यक्ति । मलाई खुल्दुली हुन्छ,  यहाँ लाउके चाहिं को रैछ ?

‘यहाँ पनि लाउके छन् ?’

‘छन् एक जना भाइ । स्टेफन हकिङस क्या । अस्ति भर्खरै मात्रै आएका । शारीरिक अशक्तताका कारण खेल्न उनलाई गाह्रो छ । त्यसैले कसैको छेउमा बसेर हेर्छन् र कहिलेकाहीं सिकाउँछन् । खतरा छन् ती भाइ ।’

त्यत्रो महान् वैज्ञानिकलाई हेपेर बोलेको मलाई मन परेन । तर चुप लागें । डाक्टर पनि मसँगै चकित छन् ।

‘स्वर्गमा पनि तास खेल्ने त अनौठो कुरा सुनियो हगि ?’

‘ल खेलिहालिन्छ नि ।’  पाश्चर थप्छन् ‘मनोरञ्जन भन्ने कुरा त सबैलाई चाहियो नि भाइ । अब यहाँ रक्सी पिउने हामीलाई फुर्सद छैन । सम्भोगतिर यो उमेरमा खासै रुचि लाग्दैन । मनोरञ्जन कसरी गर्ने त ? त्यसैले दिनको एक घण्टा हामी वैज्ञानिकहरु मिलेर तास खेल्छौं । कहिलेकाहीं रहर गर्छन् अनि ती पाण्डवलाई पनि सँगै खेलाउँछौं । कौरवलाई चाहिं खेलाउँदैनौं, भर लाग्दैन ।’

‘अनि पाश्चर’ डाक्टर सुरु गर्छन्, ‘तपाईंले त्यस्ता महत्वपूर्ण खोज, आविष्कार गर्नुभो । हेर्नुस न, क्यान्सर पृथ्वीमा निकै धेरै फैलिंदैछ । तर क्यान्सर विरुद्धको जम्मा दुईवटा मात्रै खोप बनेका छन् । एउटा फोक्सोमा लाग्ने क्यान्सरको, अर्को पाठेघरमा हुने क्यान्सरको । त्यो पनि संसारका सबै ठाउँमा पुगेको छैन । यस विरुद्धको पनि पूर्ण खोप बनाएर कुनै पनि क्यान्सर नलाग्ने बनाउन सकिंदैन ? आज हामी खास त्यो अपेक्षा गरेर आएका ।’

‘तिम्रो कुरा ठीक हो । बुढा केही गम्भीर बन्छन्, ‘पृथ्वीमा क्यान्सर निकै धेरै फैलिएको छ र यो संख्या थुप्रै बढ्ने निश्चित छ । यस विरुद्धको पूर्ण खोप बनाउन पाए निकै राम्रो हुन्थ्यो । तर हेर, मेरा यति धेरै काम छन् कि, त्यतातिर मैले काम गर्ने समय नै पाएको छैन । म अहिले क्यान्सर भन्दा पनि खतरा मान्छेको दिमागमा लाग्ने एक रोगको विरुद्धको खोप पत्ता लगाउने प्रयासमा छु । करिब ३० वर्षदेखि म यही एउटा अनुसन्धानमा छु । तर पनि सफल हुन सकेको छैन ।’

‘बाफ रे ! कुन रोग हो त्यस्तो ?’

डाक्टरको प्रश्नपछि पाश्चर भन्छन्, ‘एक कीरा छ, जसले संसारका मानिसको दिमागमा बिस्तारै असर गर्छ । हेर्दा पैसाको जस्तो आकार हुने यो कीरा अहिले सिंगै संसारको साझा समस्या हो । जसलाई पृथ्वीका मान्छेले देख्न सक्दैनन्, मैले मात्र देखेको छु । तिम्रो देशका धेरैजसो नेताको गिदीमा त्यही कीरा परेको छ ।’

केहीबेर हाम्रो आश्चर्यचकितप्रश्न उत्तर चलिरहन्छ । धेरै अनुसन्धान गर्दा गर्दा पाश्चर बुढाको दिमागले काम नगरेको हो कि भनेर हामी शंका पनि गर्छौं । तर उनी निर्धक्क छन् ।

‘संसारमा जति पनि गरिबी, आतंक, भ्रष्टाचार, अन्याय फैलिएको छ, त्यसको जड नै त्यही रोग हो । त्यो रोगको नाम छोटकरीमा सोम्पो हो । जसको पूरा अर्थ ‘सिक अफ मनी एण्ड पावर’ हो । जब कुनै व्यक्ति, विशेषगरी नेता शक्तिमा पुग्छ, तब उनलाई पैसा आकारको एक कीराले सिधै गिदीमा आक्रमण गर्छ । अनि घमण्ड गर्ने, लोभी हुने, भ्रष्टचार गर्ने, व्यक्तिगत स्वार्थ हेर्ने, अरुलाई दुःख दिने, झगडा र युद्ध निम्त्याउने आदि गर्छन् । यो कीराले गिदीमा आक्रमण गरेपछि प्रेम, आत्मीयता, सकारात्मक सोच सबैलाई नष्ट पारिदिन्छ । सोझै नदेखिने हुनाले पृथ्वीका ज्यूँदा वैज्ञानिकले यसबारेमा सोचेका छैनन् । तर कुनै न कुनै रुपमा संसारभरका अधिकांश नेताको गिदीमा त्यो कीराले ठूलो घर बनाएको छ । त्यसैले यी युद्ध, अपराध, भ्रष्टचार र आतंक भएका छन् ।

‘अचम्मको कुरा चाहिं त्यो कीराले राजनीति गर्ने मान्छेलाई मात्रै किन आक्रमण गर्छ ?’  मेरो प्रश्न ।

‘आक्रमण सबैलाई गर्छ ।’ पाश्चरको सहज उत्तर, ‘तर शक्तिमा नपुगुन्जेल त्यो कीरा सक्रिय हुँदैन । जब त्यस रोगद्वारा संक्रमित मान्छे शक्तिमा पुग्छ या पैसा कमाउँछ, अनि त्यो कीरा सल्बलाउन थाल्छ । त्यसले खाली विध्वंस, खराब आदि मात्रै गर्न लगाउँछ । राम्रो बाटोमा हिंड्नै दिंदैन । यदि अपवादको रुपमा कसैको दिमागमा त्यसको आक्रमण छैन र सत्यकर्म गर्न खोज्यो भने संक्रमित दिमागले त्यसलाई सिध्याइदिन्छ ।

कुराकानी निकै गम्भीर मोडमा आइपुगेको छ । बुढा पनि गम्भीर छन् । ‘यदि अझै केही दशक यस विरुद्धको भ्याक्सिन र औषधि पत्ता लगाउन सकिएन भने मान्छेहरु एकापसमा जुधेरै सकिनेछन् र त्यो सुन्दर पृथ्वी नर्क बन्नेछ ।’

‘भ्याक्सिन वा औषधि’ बोल्ने पालो मेरो, ‘निर्माण भएपछि पनि पृथ्वीभरिका मान्छेलाई कसरी लगाउने ? कसरी पठाउने ? फेरि त्यो लगाउन मान्छ त मान्छेले ?’

‘त्यो मेरो लागि सामान्य कुरा हो ।’ बुढामा आत्मविश्वास दह्रो छ, ‘सिधै सूर्यको  प्रकाशमार्फत संसारभरिका मान्छेले २४ घण्टाभित्र त्यो उपचार थाहै नपाई पाउने व्यवस्था मैले मिलाएको छु । मात्रै मुख्य चीज बन्नु पर्‍यो ।’

‘त्यो कीरा र रोगको प्रकृति हेर्दा त’ डाक्टर अलि अलग धारमा पुग्छन्, ‘अध्यात्मसँग पनि जोडिए जस्तो छ । त्यसमा सोच्नु भएन ?’

‘तिमीले भनेको ठीक हो’ पाश्चर यो कुरामा सचेत रैछन्, ‘हुन त हामी भौतिकवादीहरु अध्यात्ममा त्यति विश्वास गर्दैनौ । तर पत्ता लगाउन साह्रै गाह्रो भएपछि मैले सुप्रिमोसँग यसबारेमा छलफल गरेको छु । हामी निरन्तर बहसमै छौ । हेरौं केही भइहाल्छ कि !’

‘सुप्रिमो भनेको चाहिं के हो ?’

मेरो प्रश्न झर्न नपाउँदै उत्तर पनि आइहाल्छ, ‘सुप्रिमो भनेको यो संसार चलाउने एक अलौकिक शक्ति, जुन अदृश्य छ, तर छ । पृथ्वीमा कसैले जिसस, कसैले अल्लाह, कसैले ईश्वर जेजे भने पनि सबै वास्तवमा एउटै हुन् । जसले यो बम्हाण्ड चलाउँछन् । पृथ्वीको यो समस्यासँग उनी पनि चिन्तित छन् र मसँग निरन्तर संवादमा छन् ।’

‘अनि तपाईंले’ म प्रसंगको फाइदा उठाउँछु, ‘निधारमा रातो टीका चाहिं किन लगाउनु भाको नि ? तपाईं त पृथ्वीमा हुँदा क्रिश्चियन धर्म मान्नुहुन्थ्यो नि, हैन ?’

‘यसमा गम्भीर कुरा छ,’ पाश्चर निरन्तर बोल्दै जान्छन्, ‘हो, म पृथ्वीमा हुँदा क्रिश्चियन धर्म मान्थें र हामी यस्तो रातो टीका लगाउँदैनथ्यौं । हिन्दू धर्म मान्नेले मात्रै लगाउँथे । तर जब यहाँ आएँ, तब मैले अघि भनें नि यी सबै धर्महरु भ्रम हुन् । संसार चलाउने सुप्रिमो नै एक मात्र अदृश्य शक्ति अर्थात् भगवान् हुन् । र, यो अबिरको रातो टीकामा धेरै वैज्ञानिक शक्ति छ । यसले शरीरलाई ऊर्जावान् र मनलाई शान्त बनाउँछ । त्यसैले लगाउँछु ।’

‘त्यो सोम्पो विरुद्धको भ्याक्सिन पृथ्वीमा नै पत्ता लगाउन चाहिं सम्भव छैन ?’ डाक्टर अरुण महत्वाकांक्षी छन् । फेरि विषयमा फर्किन्छन् ।

‘तत्काल छैन’ पाश्चर सिधै उत्तर दिन्छन्, ‘एक त यो देखिने रोग हैन, अर्को यो रोग हो भन्ने कुरा पृथ्वीका वैज्ञानिकलाई थाहा नै छैन । फेरि बनाउन खोजे पनि नीति निर्माण गर्ने व्यक्तिहरु स्वयं प्रायः ती कीरा र रोगबाट ग्रसित हुनाले बनाउन दिंदैनन् । त्यो रोगको प्रकृति नै त्यही हो कि विकास, निर्माण र सद्भावमा मन लाग्नै दिंदैन र अरुलाई कसरी बिगार्ने भन्ने कुरामै उनीहरुको सारा जीवन खर्च हुन्छ । मैले अघि पनि भनें नि, यो कीराले गिदीमा आक्रमण गरेपछि प्रेम, आत्मीयता, सकारात्मक सोच सबैलाई नष्ट पारिदिन्छ ।’

कुराकानी गर्दै पाश्चर गएर एउटा ठूलो फ्रिज खोल्छन् । जहाँ हजारौं गिदीहरु संग्रह गरिएको छ । उनका अनुसार त्यहाँ संसारभरिका हिंस्रक, क्रूर र नकारात्मक मान्छेका गिदीजम्मा पारेर उनले अनुसन्धान गरिरहेका छन् । यी गिदीमा उनकै भाषाको ‘सोम्पो’का कीरा छन् ।

‘त्यसको तल्काल उपचार के त ?’

मेरो प्रश्नमा पाश्चर सोचमग्न हुन्छन् । अनि अस्पष्ट उत्तर दिन्छन्, ‘खासै केही छैन । कुनै शक्तिवानले रोगको लक्षण देखाउन थालेमा नागरिकले खबरदारी गर्ने र असर कम गराउने । अरु उपाय केही छैन ।’

अब हामी कुराकानीको बिट मार्न खोज्छौं । बिदा हुने क्रम सुरु गर्दैगर्दा पाश्चरकी श्रीमती मेरी पाश्चर बाहिर झ्यालमा देखिन्छिन् । जीवनमा हरेक क्षण दु:ख र पीडा मात्रै साक्षात्कार गरेर मानासिक सन्तुलन गुमाएकी मेरी साँच्चै मायालाग्दी देखिन्छिन् । श्रीमतीलाई भन्दा संसारका अरु मान्छेको जीवनलाई प्राथामिकतामा राखेर योगदान दिएका लुई श्रीमतीको त्यो अवस्थाबाट दुःखी भएको हामी पनि महसुस गर्छौं । हामीसँग हतारहतार बिदा मागेर उनी मेरीतर्फ जान्छन् र अंगालो मार्दै बेडरुमतिर लिएर जान्छन् ।

संसारलाई बचाउने महान् वैज्ञानिकको आफ्नी श्रीमतीप्रतिको त्यो प्रेम अनौठो प्रतीत हुन्छ । लाग्छ, प्रेम भन्ने कुरा ब्रम्हाण्डको जुनसुकै कुनामा पनि कुनै न कुनै रुपमा बाँचिरहेको हुने रहेछ । हामी बाहिर निस्कन्छौं । पृथ्वी आउँदा बाटोभरि पनि उनकै कुरा गर्छौं ।

पाश्चरको एउटा वाक्यले घनले झैं हामी दुवैको टाउकोमा निरन्तर हानिरहन्छ-  ‘तिम्रो देशका धेरैजसो नेताको गिदीमा कीरा परेको छ ।’



source https://www.onlinekhabar.com/2022/07/1165217

‘औसत खेलाडी, उत्कृष्ट प्रशिक्षक’

१४ साउन, धनगढी । २०५७ सालतिरको कुरा हो । रुपेश विष्ट १० कक्षामा अध्ययनरत थिए । पढेर ‘ठूलो मान्छे’ बन्ने अभिभावकको चाहनाविपरीत उनमा भलिबलको ‘भूत’ सवार थियो । स्कुलमा राम्रै खेल्नसक्ने भएका थिए ।

खेलेर जीविकोपार्जन गर्न सकिन्न भन्ने परिवारको मान्यतामा विद्रोह गर्न मात्र होइन भलिबललाई मनबाट निकाल्न सकिरहेका थिएनन् ।

एसएलसीको तयारीस्वरुप ट्यूसन पढ्न घरबाट निस्किने रुपेश नियमित रुपमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा खेल्न पुगेको घरकाले पत्तै पाएनन् ।

ट्यूसन पढ्नका लागि घरबाट पाइने २० रुपैयाँ खर्चेर भक्तपुरको बालकोटदेखि जावलाखेलसम्मको दैनिकीले उनलाई खेलाडी बनायो ।

जावलाखेलमा प्रशिक्षण थालेको तीन वर्षमै विभागीय टोली नेपाल पुलिसमा खेलाडीका रुपमा जागीर मिलेपछि जीविकोपार्जनको चिन्ता पनि हट्यो । तीन वर्षजति उनले नेपाल पुलिसको टिमबाट राष्ट्रिय प्रतियोगिता खेले ।

***

खेलाडीका रुपमा पाउन नसकेको पहिचान रुपेशले प्रशिक्षकका रुपमा पाएका छन् । उनी नेपाल पुलिस क्लबको महिला टिमका मुख्य प्रशिक्षक हुन् ।

पछिल्लो समय नेपाल पुलिसलाई च्याम्पियन शैलीमा पुनरागमन गराउनुमा रुपेशको महत्वपूर्ण भूमिका छ । नेपाली भलिबल टिमका पूर्वकप्तानसमेत रहेका नेपाल पुलिस क्लबकै डीएसपी भरत शाहको साथ र विश्वास पनि त्यत्तिकै छ ।

नेपाली भलिबलका स्थापित प्रशिक्षकहरु कपिलकिशोर श्रेष्ठ र स्वर्गीय सुदेश रिमालको सहायक भएर पुलिसको महिला भलिबल टिमको प्रशिक्षण सम्हालेको ८ वर्षपछि २०७१ सालमा रुपेशले पहिलोपल्ट मुख्य प्रशिक्षकको जिम्मा पाएका हुन् । त्यतिबेला महिला भलिबलमा पुलिस टिमको सनसनी थियो । निता शाह, कोपिला उप्रेती, चुडा खड्का, सुशीला थापालगायत राष्ट्रिय टिमका अनुभवी खेलाडीले पुलिसले एकपछि अर्को सफलता पाएको थियो ।

तर, रुपेशले चुनौतिपूर्ण समयमा जिम्मेवारी पाएका हुन् । उनी मुख्य प्रशिक्षक हुने समय पुलिस टिम पुस्तान्तरणको प्रक्रियामा थियो । सिनियर टोलीमा कोपिला र नितामात्र बाँकी थिए । युवा पुस्ताका खेलाडी अनुबन्धन गराएर प्रतिस्र्पामा जाँदा पुलिसको प्रभावलाई एपीएफ क्लबले खुम्च्याउन थाल्यो ।

पुलिसले कठिन समयमा रुपेशलाई विश्वास गरिरहृयो । युवा खेलाडीहरु विस्तारै खारिँदै थिए । झण्डै पाँच वर्षपछि पुलिसले आफ्नो लय समाउन थाल्यो । रुपेकश आफ्नो त्यो संघर्षलाई शब्दमा चित्रण गर्न नसकिने बताउँछन् ।

‘मुख्य प्रशिक्षक भएर आउँदा मलाई धेरैले क्षमतामै प्रश्न उठाउनुभएको थियो । तर, संघर्ष गर्न छाडिनँ,’ रुपेशले अनलाइनखबरसँग भने, ‘मलाई थाहा थियो, खेल भनेको एन्टिबायोटिक औषधिजस्तो होइन । सफलताका लागि धैर्य चाहिन्छ ।’

२०७७ मा नेपालगन्जमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेर पुलिस टिम उपाधि यात्रामा फर्किएको हो । त्यसयता पोखराको टाइगर कप, पाखराकै लामाचौरमा तीज कप, पाल्पामा सन्जय स्मृति राष्ट्रिय महिला भलिबल लगायतका प्रतियोगितामा पुलिस च्याम्पियन बनेको छ ।

रुपेशले एफआईभीभी तह-१ र तह-२ प्रशिक्षण कोर्ष गरेका छन् भने राष्ट्रिय खेलकुद परिषद्ले दिने तीन महिनाको एनआईएस कोर्ष समेत लिइसकेका थिए । राखेपले सञ्चालन गरेको कोर्षमा त उनी ग्रुप टप गर्न सफल भएको सुनाउँछन् । उनले राष्ट्रिय रेफ्री कोर्ष पनि सोही बेला पूरा गरिसकेका थिए ।

पुरस्तान्तरणको क्रममा रहेको पुलिस टिममा उनले उत्पादन गरेका युवा खेलाडीहरु राष्ट्रिय टोलीमै प्रभाव जमाउन थालेका छन् । स्पाइकर उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, मनिषा चौधरीहरु राष्ट्रिय टिमबाट खेलिसकेका छन् । कमला पुनलाई लिबेरो पोजिसनबाट सेटरका स्पमा स्थापित गराएका छन् ।

खेलाडीका अभिभावकसँग व्यक्तिगत रुपमा अनुरोध गरेर उनीहरुको जिम्मा लिएको, घाइते भएका बेला व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका अतीतहरु प्नि उनको मानसपटलमा ताजै छ ।

‘प्रहरी भएपछि हाम्रो काम खेल्ने होइन पुलिसिङ गर्ने हो तर हाम्रो संगठनले हामीलाई खेल्न दिएको छ । संगठनकै कारणले गर्दा हामी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिन सफल भएका छौं,’ विष्टले अनलाइनखबरसँग भने ।



source https://www.onlinekhabar.com/2022/07/1165213

Thursday 28 July 2022

हराएको स्कुटर चोरी आरोपमा युवक पक्राउ

१२ साउन, काठमाडौं । प्रहरीले स्कुटर चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेकोछ ।

काठमाडौं माछापोखरीबाट हराएको तनहुँ भीरकोटका विजय थापाको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पर्वतका निरज थापालाई पक्राउ गरेको हो ।

विजय थापाको बागमती प्रदेश-०२-०३७ प ९४१० नम्बरको खैरो रङको स्कुटर चलाइरहेको अवस्थामा प्रहरीले माछापोखरी बस्ने वर्ष २२ का निरजलाई पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति र स्कुटरलाई अनुसन्धानका लागि प्रहरी बृत्त बालाजु पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/07/1164686

माधव नेपालको बामे सर्दो पार्टीमा विचलनका स्वरहरू

११ साउन, काठमाडौं । तस्वीर आफैं नबोल्लान्, तर इतिहासका खास कालखन्डमा तिनका अर्थ विशेष हुन्छन् । त्यस्तै विशेष क्षणको दृश्य थियो, एक वर्षअघि अध्यक्ष माधवकुमार नेपालको हात समाएर निर्वाचन आयोगतर्फ पाइला सारिरहेकी नेता रामकुमारी झाँक्रीको तस्वीर ।

प्रसंग थियो, नयाँ दल दर्ताको । नेकपा एमालेबाट ‘विद्रोह’ गरेर नयाँ दल निर्माणको जोखिम उठाउन नेपाललाई झाँक्री जस्तै तन्नेरी नेता, कार्यकर्ताको हौसलाले काम गरेको थियो ।

नेकपा एकीकृत समाजवादी नाममा खुल्दै गरेको नयाँ दलका लागि चलेका उत्साहका ती पाइलाहरुको फोटो बाहिर आइसक्दा सामाजिक सञ्जालमा तुरुन्तै छाइसकेको थियो । हिजोआज सोसल मिडियाको भाषामा भन्छन् नि, ‘त्यो तस्वीर भाइरल भइसकेको थियो ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरसंघर्षमा अन्तिमसम्म साथ दिएर नयाँ पार्टी निर्माणमा ‘१० भाइ’ले रोक्न खोज्दा पनि बाँकी युवाको अनुहार हेरेरै नेपाल आफ्नो निर्णयमा अविचलित थिए ।

तर त्यो एक वर्षअघिको तस्वीर यति बेला हेर्दा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताको मुहारमा तेज आउँदैन ।

‘एमाले विद्रोहकी बिम्ब’ बनेकी झाँक्री पार्टी दर्ताको एक वर्ष पुग्दा नपुग्दै माधव नेपाललाई बलियो आड भरोसा दिइरहेको दृश्यमा कैद हुन छाडेकी छिन् । झाँक्री एकीकृत समाजवादीको सचिव भएकाले पार्टीमा उनको जिम्मेवारी ठूलै हुन्छ । तर, मन्त्रीबाट राजीनामा दिएयता झाँक्री पार्टी गतिविधिमा खासै देखिन्नन् ।

६ महिनाको आलोपालो पुर्‍याउनु पर्ने भन्दै पार्टीले सरकारबाट फिर्ता बोलाएपछि १३ असारमा सरकारबाट बाहिरिएका झाँक्रीसहितका नेताहरुले पार्टीको बैठकमा जान समेत जाँगर चलाइरहेका छैनन् । मन्त्री छाड्दा उनको आँखामा आँसु थियो, अहिले अनुहारमा उदासी ।

निर्वाचन आयोगमा दर्ता भएको तिथि पछ्याउँदा आगामी २ भदौमा मात्रै एकीकृत समाजवादीको आयु एक वर्षको हुने छ । एउटा राजनीतिक पार्टीका लागि एक वर्ष कुनै लामो समय होइन । स्वभाविक रुपमा पार्टी निर्माणमा लामो समय खर्चिएका स्थापित नेता कार्यकर्तासहितको पार्टी बनाएकाले एकीकृत समाजवादीसित ‘तीव्र प्रगति’को आकांक्षा धेरैले राखेका थिए ।

तर, त्यस्तो आशा जगाउनेहरु नै निरुत्साहित भएको जस्तो देखिएकाले एकीकृत समाजवादीको सुखद भविष्यको छनक भने मिल्दैन ।

औचित्य स्थापित नहुँदै विचलन

यो एक वर्षको मुल्यांकन गर्दा उपमहासचिव जगन्नाथ खतिवडा पार्टीको अवस्थालाई ‘कोरकोराएको तर फुल नपारेको कुखुरा’सँग दाँज्छन् । उनकै भनाइ मान्ने हो भने पनि एकीकृत समाजवादी भर्खरै बामे सर्दै गरेको पार्टी हो । बामे सर्दै गरेको पार्टीमा विचलित स्वर पनि सुनिन थालेका छन् ।

पार्टीमा बलियो प्रभाव राख्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नै एमालेसँग मिल्नुपर्ने विचार राखिसकेका छन् । ‘वाम एकताको फ्रेम’मा एमालेसँग मिल्ने वा नजिकिने चाहना खनालले खुल्ला रुपमै प्रकट गरिरहेका छन् ।

विभाजन ताका नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्ने खनालले एमालेसँग मिल्नुपर्ने विचार विशेष गरि स्थानीय तहको चुनावपछि राख्न थालेका हुन् । चुनावमा पार्टीको पक्षमा देशभरबाट उत्साहजनक परिणाम पनि नआउनु र आफ्नै गृहजिल्ला इलाममा पनि सोचे जस्तो नभएपछि खनाल बिच्किएको पाइन्छ ।

गठबन्धनका साझेदार दल र विशेष गरि नेपाली कांग्रेसले आफ्नो गृह जिल्लामै मत नदिएको भन्दै खनालले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए । टेलिभिजन अन्तर्वार्तामार्फत् उनले एमालेसँग मिल्न सक्ने चेतावनी कांग्रेसलाई दिएका थिए ।

नेपाली कांग्रेसबाट अपेक्षितरुपमा ‘मत ट्रान्सफर’ नभएको देखेपछि खनालले संघीय चुनावमा आफ्नो भविष्यलाई लिएर चिन्ता लिएको कतिपयले बताउने गरेका छन् । स्थानीय तहको चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेको भए पनि उनले जिल्ला समन्वय समितिको चुनावमा खनालले आफ्नो जिल्लामा एमालेसँग तालमेल गरेका थिए ।

एकातिर खनाल जत्तिको नेताको विचलित आवाज आउनु र अर्कोतिर नेकपा माओवादी केन्द्रसँग एकीकरणको चर्चाले नेता, कार्यकर्तामा पनि मनोवैज्ञानिक असर गरेको बताइन्छ । पार्टी निर्माणका बलिया औजार मानिने भ्रातृ संगठनका नेताहरु यसले आफूहरुमा उर्जा हराएको बताउने गर्छन । ‘पार्टी निर्माणमा प्रगति सोचे जस्तो छैन,’ एकीकृत समाजवादी निकट अनेरास्ववियूका एक पदाधिकारी भन्छन्, ‘नेताहरुकै बोली–व्यवहारले पनि हामीमा काम गर्ने उर्जा मर्न थालेको छ ।’

सत्ता गठबन्धनभित्रै बाम पार्टीहरुबीच अहिले समाजवादी मोर्चा निर्माण गर्ने र एउटै पार्टी बनाउने सम्मको चर्चा चलिरहेको छ । त्यसमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पक्ष सकारात्मक भए पनि खनाल पक्ष भने सकरात्मक छैनन् । माओवादीसँग एकता गर्नुभन्दा एमालेमै फर्किनुपर्ने धारणा उनले राख्ने गरेका छन् ।

यद्यपि उपमहासचिव प्रकाश ज्वाला भने एमालेमा एक वर्षअघि र अहिले कुनै नीतिगत र शैलीगत भिनन्ता नआएकाले एकता वा तालमेलको सम्भावना नरहेको बताउँछन् । ‘उनीहरुमा यो एक वर्षमा कुनै भिन्नता आएको छैन,’ अनलाइनखबरसँग उनले भने, ‘उनीहरुको प्रवृत्ति, दम्भ उस्तै छ । हिजो गरेका गल्ती केहीमा पनि कुनै ‘रियलाइजेसन’ छैन । त्यसकारण एमालेसँग मोर्चा बनाउने कुरा वा एकता गर्ने कुरा हामीले सोचेका पनि छैनौं ।’

पहिलो चुनाव : अनपेक्षित परिणाम

पार्टी गठनको छोटै समयमा स्थानीय तहको चुनावमा होमिनुपर्ने बाध्यता एकीकृत समाजवादीसामु आइलाग्यो । पार्टी गठन लगत्तै कोरोना सुरु भएकाले संगठन निर्माण नै गर्न नपाइ चुनावमा जान अप्ठ्यारो हुने भन्दै एकीकृत समाजवादीले स्थानीय तहको चुनावलाई केही समय पछि धकेल्ने प्रयास पनि गरेको थियो ।

संघीय, प्रादेशिक र स्थानीय चुनाव एकै समयमा गर्नुपर्ने प्रस्ताव माधव नेपालले राखेका पनि थिए । गठबन्धनले पनि त्यही कुरा उठाएको थियो । तर, स्थानीय तहको चुनाव तोकिएकै समयमा गर्नुपर्ने दवाव परेपछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार वैशाख ३० गतेका लागि चुनाव घोषणा गर्न बाध्य भएको थियो ।

गठबन्धन समेत गरेकाले चुनावमा राम्रै परिणामको अपेक्षा एकीकृत समाजवादीका नेताहरुले गरेका थिए । तर, नतिजा भने अनपेक्षित आयो । ‘संगठन निर्माणमा अगाडि बढिरहेका बेला निर्वाचन आयो,’ नेता बलराम बास्कोटा भन्छन्, ‘संघ, प्रदेश र स्थानीय चुनाव एकैपटक होस् भन्ने हाम्रो चाहाना थियो । हाम्रो पार्टीले आकार ग्रहण नगरिसकेको स्थिति थियो । तर, हामीले सामना गर्नुपर्‍यो । त्यसको परिणाम हामीले अपेक्षा गरेको भन्दा भिन्न रह्यो ।’

कुल ७५३ स्थानीय तहमध्ये एकीकृत समाजवादीले २० पालिका प्रमुख मात्रै जित्न सक्यो भने ६ हजार भन्दा बढी वडामा १९० वटा मात्रै जित्यो । वडाको मतलाई आधार मान्दा एकीकृत समाजवादीले देशभर कुल ४ लाख २२ हजार ७ सय ३७ मत प्राप्त गरेको छ । यसलाई प्रतिशतमा हेर्दा ३.६६ मात्रै हुन्छ ।

कमजोर नीतिका पछाडि आफ्नै र गठबन्धन कारक रहेको ठम्याइ एकीकृत समाजवादीको छ । ‘यस निर्वाचनमा अनुभूत भएको हाम्रो सबैभन्दा ठलो कमजोर पक्ष पार्टीको संगठित शक्ति बलियो नहुनु हो,’ निर्वाचनको समीक्षा गर्दै अध्यक्ष नेपालले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘केही महिना अगाडि मात्रै विद्रोह गरेर पार्टी पुनर्गठन अभियानमा लागेका हामीले संगठन बलियो बनाउन पाएकै थिएनौं । सबै स्थानीय तहमा पार्टी कमिटी निर्माण गर्न पनि भ्याएका थिएनौं । स्थानीय तहमा जे जति कमिटीहरू बनेका थिए ती पनि तदर्थ प्रकृतिका थिए र कसिला एवं दरिला थिएनन् ।’

गठबन्धनका पाँच कारण केलाउँदै एकअर्कालाई मत नै नहाल्ने प्रवृत्ति समेत कारण रहेको ठम्याइ नेपालको प्रतिवेदनमा छ । प्रतिवेदनमा अगाडि भनिएको छ, ‘गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने र गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी देखियो ।’

विधिको कुरा गरेर विधि तोडेको आरोप

नवौं महाधिवेशनदेखि नै एमालेभित्र नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको थियो । अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशाको कार्यान्वयन नगरेको, पार्टीभित्र अरुका कुरा नसुनेको जस्ता आरोप नेकपा बन्नुअघि नै नेपाल पक्षले ओलीमाथि लगाइ नै रहेको थियो । नेकपा बनेपछि भने एमालेको त्यो विवादको पनि स्थानान्तरण भयो ।

नेकपाभित्र ओलीविरुद्धको संघर्षमा नेपाल पक्षले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दियो । पार्टीभित्रको अन्तरसंघर्षका कारण ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र, देशको शान र अग्रगामी उपलब्धिलाई उल्टाउन’ खोेजेको भन्दै नेकपाको प्रचण्ड–माधव पक्ष सडकमा आयो ।

सर्वोच्चको आदेशपछि नेकपा टुंगिएपछि पनि एमालेमा बस्न नसकिने निष्कर्ष निकाल्दै नेपाल पक्ष नयाँ पार्टी गठनमा लाग्यो । एमाले छाड्दै गर्दा ‘संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रियताको जगेर्ना र विधानले निर्दिष्ट गरे अनुसार समाजवादको दिशामा मुलुकलाई कसरी अगाडि बढाउन’ विद्रोह गर्नु परेको स्पष्टीकरण माधव नेपालले दिएका थिए । यस हिसाबले पछिल्लो समय विधि र पद्धतिका धेरै कुरा उनले नै गरेका थिए । सार्वजनिक मञ्चहरुबाट पनि नेपालले ओलीमाथि आफूहरुको अपमान गरेको, विधि पद्धति तोडेको आरोप लगाइरहन्छन् ।

तर, नेपाल आफैं पनि यस्तो आरोप लाग्नबाट भने जोगिन सकेनन् । एमाले विभाजन गर्न ४० प्रतिशत नपुग्ने भएपछि राजनीतिक दल सम्बन्धी ऐनका विद्यमान व्यवस्थालाई अध्यादेश ल्याएर २० प्रतिशतमा झारिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले यस्तै अध्यादेश ल्याउँदा नेपाल लगायतका नेताहरुले चर्को आलोचना गरेका थिए । तर, आफ्नो पार्टी जन्माउन नै उनले अध्यादेशको साहारा लिनुपर्‍यो । यसले नेपालमाथि नैतिक प्रश्न उठ्यो ।

त्यस्तै गैर सांसदलाई मन्त्री बनाउने नेपालको कदमको पनि आलोचना भएको छ । एकीकृत समाजवादीबाट श्रम मन्त्री बनेका शेरबहादुर कुँवर गैरसांसद हुन । यस्ता गतिविधिका कारण कतिपयले विधिको कुरा गर्नेले नै विधि तोडेको टिप्पणी उनीमाथि गरेका छन् ।

एमाले भन्दा भिन्न हुने चुनौती

यो एक वर्षमा एकीकृत समाजवादीले एमाले भन्दा आफ्नो अलग पहिचान स्थापित गर्न सकेन । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त नमान्ने बाहेक उसले वैचारिकरुपमा एमाले भन्दा फरक रुपमा आफूलाई उभ्याएको छैन् । एमालेले जबजलाई समेत सिद्धान्त मान्दा एकीकृत समाजवादीले आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मात्रै हुने बताएको छ ।

‘नेपालमा मार्क्सवादको प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै माक्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो,’ एकीकृत समाजवादीको घोषणा पत्रमा भनिएको छ । विधानमा पनि उसले आफूलाई एमाले भन्दा भिन्न देखाउन सकेको छैन ।

उपमहासचिव ज्वाला एमाले भन्दा फरक एजेन्डा दिने कुरामा कमजोर भएको स्वीकार गर्छन् । ‘हामीले अझैं यो भन्दा नयाँ एजेन्डा दिनुपर्थ्यो ,’ उनको भनाइ छ, ‘अलिकति जनतालाई आकर्षण दिने । युवा पङ्तीलाई आर्कषित, उत्साहित गर्ने र हिजोको एमाले भन्दा अझ फरक एजेन्डा दिएर फरकपन दिने कुरामा हामीले जति गर्नपथ्र्यो, त्यति गर्न सकेका छैनौं ।’

यद्यपि एमालेबाट गरेको विद्रोहको भने औचित्य पुष्टि आफूहरुले गरेको दाबी ज्वाला गर्छन् । ‘हामीले विद्रोह गरेर पार्टी निर्माण गर्‍यौं,त्यसको औचित्य पुष्टि गर्नु थियो,’ उनी भन्छन्, ‘ त्यसको पुष्टि हामीले गरेका छौं । विद्रोह गर्नु सही थियो भन्ने आम जनतामा र हाम्रो पङ्तीमा स्थापित भएको छ ।’

संगठन निर्माणतर्फ पनि केही सुस्त भएको एकीकृत समाजवादीले स्वीकार गरेको छ । अझैं सबै पालिका र वडामा कमिटी बन्न नसकेको अध्यक्ष नेपालले हालै सकिएको तेस्रो केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ । ‘संगठन निर्माणको काम जति भएको छ, त्यो सन्तोषजनक भए पनि पर्याप्त भने छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘तीन महिने कार्ययोजनामा निर्धारित सबै पालिका र वडामा कमिटी निर्माण गर्ने लक्ष्य अझैं प्राप्त भएको छैन ।’

यो अवधिमा केन्द्रीय निकाय र विभागमा १ हजार ५ सय ३८, प्रदेश कमिटीमा १ हजार ४ सय १५ र जिल्ला कमिटीहरुमा १४ हजार ६ सय ३९ जना संगठित सदस्य बनेको एकीकृत समाजवादीले उल्लेख गरेको छ ।

त्यस्तै पालिका कमिटीहरुमा २३ हजार ६ सय ७६ र वडा कमिटीमा ८१ हजार ९८ संगठित भएको बताएको छ । अहिलेसम्म पार्टी सबै जिल्ला, ७३.७० प्रतिशत पालिका र ५५.२१ वडामा कमिटी निर्माण गर्न सकेको एकीकृत समाजवादीको तथ्यांक छ । यो बीचमा केही साना पार्टीहरुसँग एकीकरण भएको समेत बताइएको छ ।



source https://www.onlinekhabar.com/2022/07/1164029

Wednesday 27 July 2022

चीनको वुहानमा फेरि लकडाउन

१२ साउन, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ ।

चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।

चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो ।

अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ ।

चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।



source https://www.onlinekhabar.com/2022/07/1164244

फास्ट बलिङका विकल्प किशोर

१२ साउन, काठमाडौं । सोमपाल कामी र करण केसीले ८ वर्षदेखि नेपाली क्रिकेट टिममा फास्ट बलिङ धानेका छन् । उनीहरू चोटग्रस्त भएमा विकल्पमा फास्ट बलिङ गर्ने कोही थिएन, नेपालले फास्ट बलरविना नै खेल्नु पर्ने स्थिति थियो । तर अब भने सोमपाल र करणको विकल्पका रुपमा नेपाली क्रिकेट टिममा किशोर महतो देखा परेका छन् ।

उमेर समूहबाट उदाएर ढिला गरी सिनियर टोलीमा डेब्यु गरेका किशोर फाष्ट बलिङतर्फ आफूलाई स्थापित गर्ने चरणमा पुगेका छन् । नाम किशोर भए पनि मैदानमा अब परिपक्क बन्दै गएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत १ साउनमा ग्लास्गोमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध डेब्यु गर्दै उनी एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपालको ३४औं खेलाडी बने । सन् २०२२ मा मात्रै नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने उनी सातौं खेलाडी हुन् ।

सोमपाल र करणले जस्तै किशोरले क्रिकेटको आधारभूत ज्ञान भारतबाटै सिकेका हुन् । भारतको पञ्जावबाट नेपाल फर्किएर चितवन क्रिकेट एकेडेमीमा भर्ना भएपछि किशोरको क्रिकेट यात्रा फक्रिएको हो ।

नवलपुर कावासोतीका २२ वर्षीय किशोरले यु-१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरे । उमेर समूहमा सँगै खेलेका साथी राष्ट्रिय टिममा पुगिसक्दा उनी अवसरको खोजीमै थिए । त्यो अवसरलाई सदुपयोग गर्नका लागि कडा मेहनत गरिरहेका थिए ।

२०७६ फागुनमा एसीसी इस्ट्रन रिजन टी-२० का लागि पहिलोपल्ट सिनियर टिममा परे पनि डेब्यु गर्न पाएनन् । समकालीन साथीहरूको तुलनामा पछि परे पनि आफूलाई सधैं तयार राखिरहे । उनलाई थाहा थियो, ‘कुनै दिन अवसर आउनेछ ।’

लिस्ट एको डेब्युमै ५ विकेट

किशोरले वैशाखमा त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ए टिमसँगको एक दिवसीय खेलमा सिनियर टिमबाट डेब्यु गरे । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टिमसँगको खेलले लिष्ट ए मान्यता पाएको थियो । अवसरलाई सदुपयोग गर्न उनी माहिर देखिए ।

पहिलो पटक टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले तीन खेलको एक दिवसीय शृंखला २-१ ले जित्यो । त्यसमा किशोरले तेस्रो खेलमा मात्र अवसर पाए । पहिलो अवसरलाई नै गज्जबले सदुपयोग गरेका किशोरको प्रदर्शन ७-१-४३-५ रहृयो ।

३३ ओभरमा छोट्याएको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले ६ विकेटले खेल जित्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

७ ओभरमा ४३ रन दिएर ५ विकेट लिएका किशोर प्लेअर अफ दि म्याच बने । ‘त्यस खेलले मेरो आत्मविश्वास बढेको हो । अझै राम्रो खेल्न सक्छु भन्ने भयो’ किशोरले अनलाइनखबरसँग भने, ‘म आफूलाई हरसमय तयार अवस्थामा राख्छु ।’

एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यु

साढे दुई वर्षअघि नै राष्ट्रिय टिममा परे पनि किशोरले टी-२० अन्तर्राष्ट्रिमा खेल्न पाएका थिएनन् । जिम्बावे ए टिममाथिको प्रभावशाली बलिङले उनलाई सिनियर टिममा निरन्तरता मिल्यो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालको टिममा परे पनि खेल्न पाएनन् ।

सिनियर दुई बलरको विकल्पका साथै विकेटको अवस्थाअनुसार उनलाई टिममा सामेल गराइएको थियो । स्कटल्याण्डमा भएको लिग टु शृंखलामा पनि किशोरले राष्ट्रिय टिममा निरन्तरता पाए । नामिबिया र स्कटल्याण्ड सहभागी उक्त शृखंलाको सुरुआती तीन खेल किशोरले बेञ्चमै बसेर हेरे ।

अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध टिममा परे । उनलाई नेपालका बलिङ कन्सलट्यान्ट धम्मिका प्रसादले डेब्यु क्याप प्रदान गरे । ‘राष्ट्रिय टिमबाट खेल्नुभन्दा पनि मैले आफूलाई खेलका लागि तयारी अवस्थामा राखिरहेको थिएँ । बिहान पुबुदु सरले आज तिमी खेल्दैछौ भन्नुभएको थियो । पछि डेब्यु क्याप पाउँदा उत्साहित थिएँ,’ किशोरले अविष्मरणीय क्षण स्मरण गरे ।

एक दिवसीय अन्तर्राष्ट्रिय डेब्युमा भने किशोरले आफूलाई प्रमाणित गर्न सकेनन् । लामो पर्खाइपछिको अवसरमा उनी ब्याटिङतर्फ रनविहीन र बलिङतर्फ विकेटविहीन रहे । उनी ९ बल खेलेर खाता नखोली अविजित रहे । बलिङमा ३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । त्यो खेल नेपालले ८ विकेटले गुमाएको थियो ।

भारतमा क्रिकेट सिकाइ

भारत विश्व क्रिकेटमै महारथी देश हो । छिमेकी हुनुका नाताले नेपाल क्रिकेटमा पनि त्यसको प्रभाव छ । भारतमा क्रिकेट संस्कृतिका रुपमा विकसित छ । नेपालका धेरै खेलाडीले भारतबाटै आफ्नो क्रिकेटयात्रा प्रारम्भ गरेका थिए । किशोर पनि त्यहीमध्येका एक हुन् । उनले भारतबाटै क्रिकेटको आधारभूत ज्ञान लिएका थिए ।

‘एउटा सानो क्लबमा सिनियर दाइहरूले क्रिकेट सिकाउनुहुन्थ्यो । मैले यत्तिकै रमाइलो लागेर क्रिकेट खेल्न थालेको थिएँ,’ उनी सम्झिन्छन् । भारतमा मजदुरी गर्ने बुबा आमासँगै पञ्जाव पुगेका थिए उनी ।

भारतमा गल्ली क्रिकेट खेल्ने किशोर आमाबुबासँगै नेपाल फर्किँदा १५ वर्षका थिए । बुबाको प्रयासमा उनी चितवन क्रिकेट एकेडेमीमा भर्ना भए र उनको वास्तविक करिअर सुरु भयो । ‘नेपाल आएपछि राजु खड्का सरसँग चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक लिन थालें । त्यहाँबाट धेरै कुराहरु सिकें,’ उनले भने ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने त्यही एकेडेमीका उत्पादन हुन् । सुरुमा उनलाई आफ्नो प्रदर्शन उत्कृष्ट बनाउन चुनौती थियो । उनी भर्ना हुँदा दीपेश श्रेष्ठ, सुशील कँडेल, आकाश थापाहरु प्रशिक्षणरत थिए ।

घरेलु क्रिकेटदेखि उमेर समूहको राष्ट्रिय टिमसम्म

सन् २०१६ डिसेम्बरमा श्रींलकामा भएको यु-१९ एसिया कपका लागि आयोजित ट्यालेन्ट हन्टमा सहभागी भए पनि राष्ट्रिय टिममा छनोट हुन सकेनन् । राष्ट्रिय टिमको बाटो बन्द भए पनि घरेलु क्रिकेटमा पहिचान बनाउन थाले ।

सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट किशोरले मध्यमाञ्चलबाट खेले । त्यही वर्ष एसीसी यु-१९ एसिया कप खेले । यु-१९ एसिया कप छनोटको रुपमा रहेको यस प्रतियोगितामा उनले सिंगापुरविरुद्ध डेब्यु गर्दै ६ ओभरमा ३ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।

‘पीएम कपको पहिलो संस्करणमा शरद दाइको कप्तानीमा खेल्दा सिनियर दाइहरूबाट धेरै कुरा सिक्ने अवसर पाएँ । त्यहाँ राम्रो प्रदर्शन गरेपछि त्यसले अझ सहयोग गर्‍यो,’ करिअरको सुरुआती दिन सम्झिंदै किशोर भन्छन् ।

पहिलो पीएम कपमा उनले पश्चिमाञ्चलविरुद्ध दशौं नम्बरमा ब्याटिङ गर्दै अविजित २० रन बनाए । त्यही खेलमा ३ विकेट समेत लिए । यस्तै एपीएफविरुद्धको खेलमा भने उनले ९ रन जोडे ।

संघीय संरचनाअनुसार बागमती प्रदेशबाट उनले दोस्रो संस्करणको पीएम कप खेले । तेस्रो संस्करण गण्डकी प्रदेशबाट खेलेका उनले त्यसपछि दुई संस्करण विभागीय टोली एपीएफबाट खेले ।

फ्रेञ्चाइज क्रिकेटमा एभरेष्ट्र प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग सबै खेलिसकेका छन् ।

थाइल्याण्डमा हारको निराशा

२०७६ फागुनमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताका लागि किशोर महतो राष्ट्रिय टिममा परेका थिए । सिनियर टिममा पहिलो पटक पर्दा उनमा छुट्टै उत्साह थियो ।

एसिया कप टी-२० मुख्य छनोटमा पुग्न यो क्षेत्रीय छनोट थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा पूर्व कप्तान पारस खड्का समेत थिए । तर यो समूहमा सजिलै विजेता बन्ने अनुमान थियो ।

तर, किशोरका लागि यो भ्रमण खल्लो भयो । एकातिर उनले डेब्यु गर्न पाएनन् अर्कोतिर नेपाल अर्को चरणमा पुग्न पनि सकेन । ‘त्यहाँको कन्डिसन हेरेर पहिलो रोजाइ छानिएको थियो । यदि अवसर पायो भने खेल्छु भन्ने चाहिं थियो’ उनले भने, ‘टिमले हारिरहेकमो हेर्दा चाहिं म मैदानमा भाको भए केही गर्न सक्थें कि भन्ने लागिरहन्छ ।’

राष्ट्रिय टिममा खेलेपछि त्यहाँ टिक्न गाह्रो छ । पछिल्लो समय खेलाडीहरू राष्ट्रिय टिमबाट खेल्ने बाहिरिने क्रम चलिरहेको छ । किशोरले बाहिरै बसेर पनि यो सबै देखिसकेका छन् । उनी अझै मिहिनेत गरेर राष्ट्रिय टिममा निरन्तर खेल्न चाहन्छन् । ‘चुनौती अझै बढेको छ । मैले जे गरिरहेको छु त्यसमा अझै राम्रो गर्नुपर्छ । मेहनेत गर्दै जानेछु’ स्वीङ र लेग कटर राम्रो भएका ५ फिट ११ इन्च अग्ला किशोर भन्छन्, ‘डिसिप्लिन बलिङमा मैले अझै सुधार गर्नुपर्छ ।’



source https://www.onlinekhabar.com/2022/07/1164187

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More