१४ साउन, धनगढी । २०५७ सालतिरको कुरा हो । रुपेश विष्ट १० कक्षामा अध्ययनरत थिए । पढेर ‘ठूलो मान्छे’ बन्ने अभिभावकको चाहनाविपरीत उनमा भलिबलको ‘भूत’ सवार थियो । स्कुलमा राम्रै खेल्नसक्ने भएका थिए ।
खेलेर जीविकोपार्जन गर्न सकिन्न भन्ने परिवारको मान्यतामा विद्रोह गर्न मात्र होइन भलिबललाई मनबाट निकाल्न सकिरहेका थिएनन् ।
एसएलसीको तयारीस्वरुप ट्यूसन पढ्न घरबाट निस्किने रुपेश नियमित रुपमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा खेल्न पुगेको घरकाले पत्तै पाएनन् ।
ट्यूसन पढ्नका लागि घरबाट पाइने २० रुपैयाँ खर्चेर भक्तपुरको बालकोटदेखि जावलाखेलसम्मको दैनिकीले उनलाई खेलाडी बनायो ।
जावलाखेलमा प्रशिक्षण थालेको तीन वर्षमै विभागीय टोली नेपाल पुलिसमा खेलाडीका रुपमा जागीर मिलेपछि जीविकोपार्जनको चिन्ता पनि हट्यो । तीन वर्षजति उनले नेपाल पुलिसको टिमबाट राष्ट्रिय प्रतियोगिता खेले ।
***
खेलाडीका रुपमा पाउन नसकेको पहिचान रुपेशले प्रशिक्षकका रुपमा पाएका छन् । उनी नेपाल पुलिस क्लबको महिला टिमका मुख्य प्रशिक्षक हुन् ।
पछिल्लो समय नेपाल पुलिसलाई च्याम्पियन शैलीमा पुनरागमन गराउनुमा रुपेशको महत्वपूर्ण भूमिका छ । नेपाली भलिबल टिमका पूर्वकप्तानसमेत रहेका नेपाल पुलिस क्लबकै डीएसपी भरत शाहको साथ र विश्वास पनि त्यत्तिकै छ ।
नेपाली भलिबलका स्थापित प्रशिक्षकहरु कपिलकिशोर श्रेष्ठ र स्वर्गीय सुदेश रिमालको सहायक भएर पुलिसको महिला भलिबल टिमको प्रशिक्षण सम्हालेको ८ वर्षपछि २०७१ सालमा रुपेशले पहिलोपल्ट मुख्य प्रशिक्षकको जिम्मा पाएका हुन् । त्यतिबेला महिला भलिबलमा पुलिस टिमको सनसनी थियो । निता शाह, कोपिला उप्रेती, चुडा खड्का, सुशीला थापालगायत राष्ट्रिय टिमका अनुभवी खेलाडीले पुलिसले एकपछि अर्को सफलता पाएको थियो ।
तर, रुपेशले चुनौतिपूर्ण समयमा जिम्मेवारी पाएका हुन् । उनी मुख्य प्रशिक्षक हुने समय पुलिस टिम पुस्तान्तरणको प्रक्रियामा थियो । सिनियर टोलीमा कोपिला र नितामात्र बाँकी थिए । युवा पुस्ताका खेलाडी अनुबन्धन गराएर प्रतिस्र्पामा जाँदा पुलिसको प्रभावलाई एपीएफ क्लबले खुम्च्याउन थाल्यो ।
पुलिसले कठिन समयमा रुपेशलाई विश्वास गरिरहृयो । युवा खेलाडीहरु विस्तारै खारिँदै थिए । झण्डै पाँच वर्षपछि पुलिसले आफ्नो लय समाउन थाल्यो । रुपेकश आफ्नो त्यो संघर्षलाई शब्दमा चित्रण गर्न नसकिने बताउँछन् ।
‘मुख्य प्रशिक्षक भएर आउँदा मलाई धेरैले क्षमतामै प्रश्न उठाउनुभएको थियो । तर, संघर्ष गर्न छाडिनँ,’ रुपेशले अनलाइनखबरसँग भने, ‘मलाई थाहा थियो, खेल भनेको एन्टिबायोटिक औषधिजस्तो होइन । सफलताका लागि धैर्य चाहिन्छ ।’
२०७७ मा नेपालगन्जमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेर पुलिस टिम उपाधि यात्रामा फर्किएको हो । त्यसयता पोखराको टाइगर कप, पाखराकै लामाचौरमा तीज कप, पाल्पामा सन्जय स्मृति राष्ट्रिय महिला भलिबल लगायतका प्रतियोगितामा पुलिस च्याम्पियन बनेको छ ।
रुपेशले एफआईभीभी तह-१ र तह-२ प्रशिक्षण कोर्ष गरेका छन् भने राष्ट्रिय खेलकुद परिषद्ले दिने तीन महिनाको एनआईएस कोर्ष समेत लिइसकेका थिए । राखेपले सञ्चालन गरेको कोर्षमा त उनी ग्रुप टप गर्न सफल भएको सुनाउँछन् । उनले राष्ट्रिय रेफ्री कोर्ष पनि सोही बेला पूरा गरिसकेका थिए ।
पुरस्तान्तरणको क्रममा रहेको पुलिस टिममा उनले उत्पादन गरेका युवा खेलाडीहरु राष्ट्रिय टोलीमै प्रभाव जमाउन थालेका छन् । स्पाइकर उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, मनिषा चौधरीहरु राष्ट्रिय टिमबाट खेलिसकेका छन् । कमला पुनलाई लिबेरो पोजिसनबाट सेटरका स्पमा स्थापित गराएका छन् ।
खेलाडीका अभिभावकसँग व्यक्तिगत रुपमा अनुरोध गरेर उनीहरुको जिम्मा लिएको, घाइते भएका बेला व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका अतीतहरु प्नि उनको मानसपटलमा ताजै छ ।
‘प्रहरी भएपछि हाम्रो काम खेल्ने होइन पुलिसिङ गर्ने हो तर हाम्रो संगठनले हामीलाई खेल्न दिएको छ । संगठनकै कारणले गर्दा हामी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिन सफल भएका छौं,’ विष्टले अनलाइनखबरसँग भने ।
source https://www.onlinekhabar.com/2022/07/1165213
0 comments:
Post a Comment