Tuesday 19 July 2022

सत्तारुढ वामपन्थीको रणनीति : एउटै चुनाव चिह्न, कांग्रेससँग तालमेलमात्रै

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी छाडेपछि बाबुराम भट्टराईको कित्ता कता होला भन्ने आम अलमलको जवाफ दिन अघि सरे उनकै पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्ड ।

मंगलबार दिउँसो भट्टराईसँग करिब एक घण्टा भलाकुसारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पष्ट गरिदिए, ‘बाबुरामजीले जसपा छोड्नुभएको हो, गठबन्धन होइन ।’

राजनीतिक जीवनको अप्ठेरो मोडमा उभिएका आफ्ना पुराना सहयात्री भट्टराईसँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले दिएको यो अभिव्यक्तिको अन्तर्यमा एउटा तयारी लुकेको छ, त्यो हो आउँदो चुनावमा संभव भएसम्मका ठाउँहरुमा कांग्रेससँग तालमेल गर्ने, बाँकी ठाउँमा वाम शक्तिबीच गठबन्धन गर्ने ।

भट्टराईसँगको भेटलगत्तै तत्कालीन नेकपाको सचिवालयमा रहेका र अहिले राजनीतिको तीन ध्रुवमा रहेका नेताहरुबीच भएको छलफलमा पनि अहिले सत्तामा रहेका र एमाले बाहेकका वाम शक्तिबीच गठबन्धन गर्ने सहमति भएको हो ।

बैठकपछि नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धनलाई कायम राख्दै वामपन्थी शक्ति मिलेर जाने विषयमा कुराकानी भएको बताए । यद्यपि वाम गठबन्धन कसरी अघि बढाउने भन्ने विषयमा प्रस्ताव तयार पार्न बनेको अनौपचारिक कार्यदलले प्रस्तावको खाका अन्तिम चरणमा पुर्‍याएको छ ।

स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता संयोजन समिति बनाउने र त्यो समितिले एमालेबाहेकका अरु वामशक्तिहरुलाई एकताबद्ध गरेर वाममोर्चा गठन गर्ने प्रस्ताव कार्यदलले गरेको छ ।

अनौपचारिक कार्यदलमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, प्रकाश ज्वाला र प्रमेश हमाल र जसपाका रामसहाय यादव र रकम चेम्जोङ सहभागी छन् ।

यी नेताहरुले देशैभरि आआफ्नो शक्ति,कांग्रेससँग मिलेर चुनाव लड्दा आर्जन शक्ति र कांग्रेसबाहेक मोर्चाबन्दी गरेर चुनाव लड्दा आउने परिणामका बारेमा अन्तिम विष्लेषण गरिरहेको अनौपचारिक कार्यदलमा आबद्ध नेताहरुले बताए ।

सत्ता गठबन्धनको कांग्रेसबाहेकका दलहरुले बनाउन लागेको उक्त मोर्चामा जसपा, राष्ट्रिय जनमोर्चा, वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा राष्ट्रिय एकता अभियान, बाबुराम भट्टराईको नेतृत्वमा बन्ने नयाँ पार्टी पनि सहभागी हुनेछन् ।

भट्टराईले दीपक लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको समावेशी लोकतन्त्र पार्टीबाट अबको राजनीति अघि बढाउने तयारी गरिरहेका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसितको संवादमा पनि भट्टराईले आफ्नो आगामी रणनीतिका विषयमा बताएका छन् ।

‘उहाँले नयाँ पार्टी गठनका विषयमा कुराकानी गर्नुभयो’, भट्टराईसँगको भेटपछि बसेको बाम नेताहरुको बैठकमा प्रचण्डले भनेका थिए, ‘पार्टीको विस्तृत कार्ययोजनासहित अघि बढ्नुस्, हामीले यो गठबन्धन कायम राखौँ भनेर मैले बाबुरामजीलाई भनेँ ।’

त्यसैको फलस्वरुप प्रचण्डले भट्टराईसँगको भेटपछि भनेका हुन्, ‘उहाँ जसपामा नरहे पनि गठबन्धनमा रहनुहुन्छ ।’

गएको स्थानीय तह चुनावलाई कांग्रेससँग गठबन्धन भन्दा पनि ठूलो खालको तालमेलमात्रै भएको निचोड अनौपचारिक कार्यदलले तयार पारेको प्रस्तावमा उल्लेख छ । ‘स्थानीय तहको निर्वाचनलाई भन्न त गठबन्धन भनियो तर त्यो तालमेलमात्रै हो । गठबन्धन हुन त देशैभरि संगै हुनुपर्‍यो, न्यूनतम साझा कार्यक्रम हुनुपर्‍यो, कांग्रेससँग त्यो संभव छैन,’ अनौपचारिक कार्यदलमा रहेका एक नेताले भने, ‘त्यसैले संयोजन समिति र मोर्चा मिलेर कांग्रेससँग तालमेल गर्ने गरी हामीले संवाद अघि बढाएका हौं ।’

ती नेताका अनुसार, वाम मोर्चा एउटै चुनाव चिह्न र घोषणापत्र लिएर चुनावमा जानेछन् । ‘कांग्रेससँग केही केही ठाउँमा मात्रै तालमेल होला, बाँकी देशैभरि हामी मिल्छौं, त्यसो हुँदा ओलीजीको आरोप पनि खण्डन हुने भयो, हाम्रो शक्ति पनि बलियो हुने भयो,’ ती नेताले भने ।

नेपाली कांग्रेसभित्र आउँदो चुनावमा आफूले १०० सिट राखेर गठबन्धनलाई ६५ सिट दिने विषयमा बहस सुरु भएको छ । यही आशयको निर्णय सोमबार सम्पन्न कांग्रेसको केन्द्रीय समितिले पनि गरेको छ ।

‘गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यसमिति निर्णयमा उल्लेख छ, ‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भुमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठ्बन्धनमा रहेका दलहरुसंग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।’

तर उम्मेदवारी दिएका सयमध्ये ८० सिट जसरी भए पनि जित्ने, समानुपातिक प्रणालीबाट ४० देखि ४५ को सांसद जित्ने र सरकार बनाउन एक्लै बहुमत पुर्‍याउने आफ्नो पहिलो निष्कर्ष भने कांग्रेसले निर्णय पुस्तिकामा उल्लेख गरेको छैन ।

कांग्रेसको दोस्रो लक्ष्य मधेश केन्द्रित दलहरुसँग मिलेर सरकार बनाउन सक्नेगरि चुनाव लड्ने र तेस्रो लक्ष्य बल्ल बामपन्थीसँग मिलेर चुनाव लड्ने हो । कांग्रेसको आन्तरिक तयारी बुझेकैले सत्ताभित्रै रहेका वाम शक्ति एकताबद्ध हुने प्रयत्नमा लागेका हुन् ।

यद्यपि नेपाली कांग्रेससँग गठबन्धन नै गर्ने कि तालमेलमात्रै गर्ने भन्ने विषयमा निर्णयमा पुगिनसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

‘हामीले नेपाली कांग्रेसको निर्णयलाई मात्रै आधार बनाएर धारणा बनाउने पक्षमा छैनौं, नेपाली कांग्रेसको नेतृत्वसँग ठोस छलफल गर्छाैं । त्यसका आधारमा कांग्रेससँगको गठबन्धन, चुनावी तालमेल,आदिको बारेमा ठोस निष्कर्ष निकाल्न सकिन्छ,’ नेता श्रेष्ठले भने, ‘कांग्रेससँग त राजनीतिक परिस्थितिमा आधारित गठबन्धन हो, तर अब विचार मिल्नेहरुसँग पार्टी एकता वा संयुक्त रणनीतिक या चुनावी मोर्चा बनाउने कुरा स्वभाविक प्रक्रिया हो । यद्यपि हामी कुनै निष्कर्षमा पुगेका छैनौं, छलफलकै चरणमा छौं ।’

यसअघि दलहरुले माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादी केन्द्रका बीचमा चुनावअघि नै एकता प्रक्रिया अघि बढाउने गरी छलफल गरिरहेका थिए । तर त्यसो गर्दा समाजवादी केन्द्रको एउटा ठूलो खेमा बिच्किएर एमालेतिरै फर्किने संभावना रहेको निष्कर्ष निकाल्दै चुनावअघि संयोजन समितिमात्रै बनाउने निचोडमा दलहरु पुगेका छन् ।



source https://www.onlinekhabar.com/2022/07/1160398

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More