Saturday 30 April 2022

श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ

१८ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उनले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि कानुनी, नीतिगत एवं प्रक्रियागत सुधारको प्रयास गरिएको जनाउँदै उनले वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगारी प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, सङ्गठन व्यवस्थापन र विस्तार तथा सामाजिक सुरक्षाको क्षेत्रमा पछिल्ला नवीन कामका थालनी भएको बताए ।

सरकार, रोजगारदाता र श्रमिकले हातेमालो गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्वदेशमा कार्यरत श्रमिकको अधिकारका लागि न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानुनको प्रभावकारी कार्यन्वयनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

अधिकारप्राप्त राष्ट्रिय श्रम आयोग गठन गर्ने, श्रमिकका लागि अस्पताल बनाउने, श्रम कार्यालयहरू विस्तार गर्ने, औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका श्रमिकसहित विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्ने, वैदेशिक रोजगारीमा श्रमिक पठाउन गन्तव्य मुलुकको आवश्यकताअनुसारको सीपयुक्त जनशक्ति तयार गर्नेसहितका योजना मन्त्रालयले अघि बढाएको उनले जनाएका छन् ।

उनले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता र श्रम सम्झौता नवीकरणलाई पनि प्राथमिकता दिइएको उल्लेख गरेका छन् । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय श्रमिक दिवसले कामको सम्मान गर्ने संस्कृति विकास गर्न, श्रमिक अधिकार सुनिश्चित गर्न र मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1118717

श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन



source https://www.onlinekhabar.com/2022/05/1118706

आचारसंहिता उल्लंघन : कांग्रेस नेता कोइराला लगायतलाई निर्वाचन आयोगले सचेत गरायो

१८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले उनीहरुलाई सचेत गराएको हो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको तर केही साताअघि कांग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको हो ।

‘जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौति दिने गरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय होइन,’ आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन ।’ आयोगले उनलाई आचारसंहितामाथि अनास्था पैदा हुने अभिव्यक्ति नदिन सचेत गराउँदै त्यसको जानकारी नेपाली कांग्रेसलाई पनि पठाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराएको छ । उनले पनि निर्वाचन खर्चका वारेमा प्रतिक्रिया दिएका थिए । ‘उम्मेदवार भई निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन’ आयोगले निर्णयमा भनेको छ, ‘निर्वाचन खर्चको अभिलेख अनुसारको रकम र हाल व्यक्त गर्नुभएका अभिव्यक्ति एक आपसमा फरक भएको देखिन्छ । अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने ।’

दलहरुलाई समेत आयोगले सचेत गरायो

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै एकीकृत समाजवादीलाई पनि सचेत गराएको छ । उसले २६ चैत २०७८ मा भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता विपरीत दलको झण्डा र बालबालिकाको प्रयोग गरेको आयोगको निष्कर्ष छ ।

साथै कुलमान घिसिङको फोटो राखी चुनावी प्रचार सामग्री बनाएको भन्दै आयोगले नेकपा माओवादी केन्द्रलाई पनि सचेत गराउने निर्णय गरेको छ ।

२७ चैत २०७८ मा मकवानपुरको हेटौंडामा गरेको कार्यक्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले राप्रपालाई पनि सचेत गराएको छ । राप्रपामाथि पनि आचारसंहिता विरुद्ध झण्डा र बालबालिकाको प्रयोगको आरोप थियो ।



source https://www.onlinekhabar.com/2022/05/1118709

लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने अपेक्षा छ : सभामुख सापकोटा

१८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो भनाइ राखेका हुन् ।

उनले भनेका छन्, ‘दुई बर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नु पर्यो । हाल कोरोनाको प्रभावमा कमी आएसँगै यस क्षेत्रमा सुधार हुने एवं लाखौं श्रमिक खाली बस्नु पर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा छ ।’

संविधान प्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने उनको आशा छ । श्रमिक एवं मजदुर वर्गको योगदानका कारण संविधानमा श्रमिक एवं मजदुर वर्गको हक अधिकार समावेश भएको भन्दै सापकोटाले ती अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने आशा व्यक्त गरेका हुन् ।

एकातिर हरेक वर्ष श्रम बजारमा नवप्रवेशीहरुको संख्यामा बृद्धि भइरहेको र अर्कोतिर विज्ञान प्रविधिको विकासले थोरै मानव संशाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सृजना भएको भन्दै सापकोटाले यसबाट श्रम बजारमा बेरोजगारहरुको संख्यामा अझ वृद्धि हुन सक्ने अनुमान गरेका छन् । त्यसैले कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध स्रोतहरुको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो रहेको उनले बताएका छन् । संघीय संसदको नेतृत्वका रुपमा यसका लागि सदैव तत्पर रहेको उनले बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1118705

एमाले तीनै तहको सरकारमा पुनर्स्थापित हुन्छ : ओली

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले सो भनाइ सार्वजनिक गरेका हुन् ।

संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको दाबी गर्दै ओलीले भनेका छन्, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो ।’

‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ ओलीले भनेका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1118703

जारी आईपीएलमा मुम्बईको पहिलो जित

१८ वैशाख, काठमाडौं । मुम्बई इण्डियन्सले जारी आईपीएल क्रिकेटमा पहिलो जित हासिल गरेको छ । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच विकेटले हराएर मुम्बईले आईपीएल २०२२ मा खाता खोलेको हो । लगातार आठौं हारपछि मुम्बईको यो पहिलो जित हो ।

राजस्थानले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो थिएन । कप्तान रोहित शर्मा केबल २ रनमा आउट भएका थिए । पावरप्लेको अन्तिम ओभरमा मुम्बईका दोस्रा ओपनर इशान किसान पनि २६ रन मात्रै बनाएर आउट भएका थिए ।

त्यसपछि सूर्यकुमार यादव र तिलक बर्माले अर्धशतकीय पारी खेले । सूर्यकुमारले ५१ रन बनाए भने बर्मा ३५ रनमा आउट भए । कायरन पोलार्डले १० रन बनाए ।

९ बल सामना गरेका टिम डेभिडले दुई चौका र एक छक्काको मद्दतमा अविजित २० रन बनाए । डेनियल साम ६ रनमा अविजित रहे । अन्तिम ओभरमा टिम डेभिडको तीब्र ब्याटिङको मद्दतमा मुम्बईले ५ विकेटको क्षतिमा १६१ रन बनाएर जित हासिल गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए ।
देवदत्त पड्डिकलले १५ रन, कप्तान सन्जु सामसनले १६ रन र रविचन्द्र आश्विनले २१ रन बनाए ।



source https://www.onlinekhabar.com/2022/05/1118700

Friday 29 April 2022

हुम्लामा १७ अध्यक्ष र ११ उपाध्यक्ष उम्मेदवारी फिर्ता

१७ वैशाख,  हुम्ला । यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १७ पालिका अध्यक्ष र ११ जना उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्त लिएका छन् ।

नाम्खा गाउँपालिकाबाट माया लामा र कार्मा टुण्डुप लामाले फिर्ता लिएको नाम्खा गाउँपालिका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपाने जानकारी दिए । उपाध्य‍क्षका स्वतन्त्र उम्मेदवार डाब्ला लामाले पनि उम्मेदवारी फिर्ता लिएको न्यौपानेले बताए ।

यस्तै, सिमकोट  गाउँपालिकाबाट समाजवादीका तीर्थराज रोकाया र स्वतन्त्र उम्मेदवार नन्दबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका समाजवादीकै प्रेमा लामाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

खार्पुनाथ गाउँपालिकबाट स्वतन्त्र उम्मेद्वार कांग्रेस नेता वीरजग शाही र माओवादी केन्द्रकी लक्ष्मी योगी (रावल)ले उम्मेदवार फिर्ता लिएका छन् ।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता अंगबहादुर शाही, कर्ण रावल र एमालेका गणेश रावल र धन रोकायाले पनि उम्मेदवारी फिर्ता गरेका छन्  ।

सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रका अकिल बुढा  र कांग्रेस मानदेव शाहीले अध्यक्षको उम्मेदवारी फिर्ता गरेका छन् ।

उपाधयक्षमा कांगेसकी स्वतन्त्र उम्मेदवार ज्योती शाही, एमालेका स्वतन्त्र उम्मेदवार नन्दबहादुर रोकाया, समाजवादीकी सुशीला शाहले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत गिरीले बताए ।

चंखेली गाउँपालिका माओवादी केन्द्रका स्वतन्त्र अध्यक्ष उम्मेदवार सुरवीर ऐडी र नेकपा माओवादी (समाजवादी)का खडक शिराले अध्यक्ष उम्मेदवारी फिर्ता लिएका छन् ।

उपाध्य‍क्षमा उम्मेदवारी दिएका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । अदानचुली गाउँपालिकामा समाजवादीका अध्यक्ष गोर्ख थापा, उपाधयक्ष पवित्रा देवकोटाले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

ताजाँकोट गाउँपालिकामा अध्यक्षका स्वतन्त्र उम्मेद्वार जनता समाजवादी पाटीका दलबहादुर सार्की, स्वतन्त्र उम्मेद्वार वीरमान खडका,  माओवादी केन्द्रका बलबहादुर बुढा, गोपाल बुढा र उपाध्यक्षमा पदमलाल सार्की, सिपकली खडिक, मोहन दमाइले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत प्रेम सिहंले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/04/1118416

रंगिन सहरको एउटा पुरानो पुस्तकालयसँग जोडिएको मार्मिक कथा

आफ्नो रैथाने रंग र रवाफ गुमाउँदै गएको एउटा सहर । यो सहर सूचनाप्रविधिको वैश्विक प्रभावबाट अछुतो छैन । यहाँ लाहुरे सन्ततिका पछिल्लो छिमल हाइटेक जीवनशैलीतर्फ उन्मुख हुँदैछन् ।

एकातिर आधुनिकताको कलेवरमा रंगिदै गएको सहर, अर्कोतिर पैतृक विरासतका खातिर आफ्नो जीउ-धन सुम्पिइरहेका अवकाशप्राप्त लाहुरे । यी दुईबीचको विषम घर्षणले पैदा गरेको कथा हो, उर्मी ।

निर्देशक प्रणय लिम्बूले वृत्तचित्र मार्फत यही कथा उधिनेका छन् । कथा सुरु हुन्छ, लाहुरेको सहर धरानबाट । सहरको सेरोफेरोमा विस्मृत हुँदै गइरहेको एउटा पुस्तकालय छ, ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय ।’

बिहानको झिसमिसे । क्रमशः सहर तंग्रिदैछ । बुद्धचोक अघिल्तिरको सडकमा रिक्साहरू गुड्न थालेका छन् । दूध बेच्ने, पत्रिका बाँड्नेहरू सल्बलाउँदैछन् । यहीबेला सम्मुखको पुस्तकालयमा कुनै आकृति सुस्तरी देखापर्छ । झलमल्ल बत्ती बल्छ । अनि प्रकट हुन्छन्, पूर्णबहादुर गुरुङ ।

यस कथाका मूल पात्र उनै हुन् । अब पूर्णबहादुरको आँखाबाट हामी अतितको त्यो दुःखान्त हेर्नेछौं, जसको नाता यही पुस्तकालयसँग अभिन्न रूपले जोडिन्छ ।

त्यसअघि एकफेर पुस्तकालय चहार्नु मनासिव हुन्छ । पक्की भवनभित्र साहित्य, विज्ञान, दर्शन लगायत करिब १० हजार थान पुस्तक छन् । पुस्तकालयको मालिक भनौं वा कारिन्दा, पूर्णबहादुर हुन् । उमेरले ८० वर्ष नाघिसकेका उनी बिहान सबेरै पुस्तकालयमा पुग्छन् । उनको दैनिकी त्यहींबाट सुरु हुन्छ र अन्त्य पनि ।

पुस्तकालयमा आउनेका लागि भनेर उनले थर्मसमा तात्तातो चिया राखेका छन् । आगन्तुकलाई चिया टक्र्याउँछन् । तर, आजभोलि यहाँ को आउँछन् ?

पुस्तकका ठेली पल्टाएर धीरतापूर्वक अध्ययन गर्ने जमात छैनन् । तन्नेरी पुस्तामा पुस्तकको खास भोक छैन । युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटकले उनीहरूलाई सम्मोहित गरेको छ । पूर्णबहादुर भन्छन्, ‘कमसे कम दिनमा एक जना मात्र आइदिए पनि हुन्थ्यो, तर अचेल मान्छेहरू आउनै छाडे ।’

स्थानीय व्यापारीहरूको वक्रदृष्टि परिसकेको छ, पुस्तकालयमाथि । उनीहरू पूर्णबहादुरलाई फकाईफुल्याई सो भवन आफ्नो हातमा पार्ने दाउपेचमा छन् । किनभने, सहरको यो व्यस्त चोकमा एउटा डान्स बार वा रेस्टुरेन्ट चलाउन पाए मनग्ये द्रव्यलाभ लिन सकिने उनीहरूले बुझिसकेका छन् ।

तर, जीवनको उत्तरार्द्धमा पूर्णबहादुरलाई पैसाको कुनै मोह छैन । मोह छ त त्यही पुस्तकालयको, जुन उनको सन्तानको नासो हो । भोलि यो पुस्तकालय रहन्छ, रहँदैन ? पुस्तकहरू यसरी नै जतनसाथ राखिएला, नराखिएला ? यो अर्कै कुरा भो । तर, आज उनी पुस्तकालयको चौघेराबाट बाहिर निस्कन सक्दैनन् । पूर्णबहादुर भन्छन्, ‘यहाँ बस्दा आफ्नै सन्तान सँगै छु जस्तो लाग्छ । यी पुस्तकहरू छुँदा आफ्नै छोरालाई सुमसुम्याएको जस्तो लाग्छ ।’

फ्ल्यासब्याक : लाहुरेको निसानी

उबेला ।

धरान अर्कै थियो । लाहुरेको रवाफले चम्किएको । तर, यो सप्तरंगी सहरको अर्को पाटो निक्खर अँध्यारोे थियो । त्यो अँध्यारो साम्राज्यमा लागूऔषध, ग्याङ फाइटको विरक्तलाग्दो शृंखला जारी थियो । लाहुरेका कति छोराछोरी त्यही भुमरीमा फसिरहेका थिए ।

उनीहरूका लागि मनलाग्दी खर्च गर्न पुगिसरी पैसा थियो । तर, मार्गदर्शन गर्न आमाबुवाको सामीप्य र स्पर्श थिएन । त्यसैले उनीहरू होस्टलमा राखिन्थे । होस्टलबाटै कुसंगत र कुलतमा पुग्थे । विमल गुरुङ कसरी अपवाद हुनसक्थे ?

लाहुरे बुवाको एक्लो छोरो । अभाव थिएन । दुःख थिएन । उनी कुलतमा फसे र झै-झगडामा लागे । अन्ततः १० कक्षामा पढ्दै गर्दा विद्यालयले उनलाई निष्कासन गरिदियो । यसरी लाखापाखा लगाइएपछि एउटा किशोरको जीवन के हुन्छ ? सायद नर्कमय । तर, उनको हकमा फरक भइदियो ।

विमलमा फरक गुण वा क्षमता थियो । कविता लेख्थे, परिपक्व शैलीमा । पुस्तकमा विछट्टैको लगाव थियो । अन्ततः उनलाई लागूऔषधबाट मुक्त गर्ने ओखति बन्यो, साहित्य सिर्जना । खोजीखोजी पुस्तक पढ्न थाले । दौंतरीसँग मिलेर भित्ते पत्रिका निकाल्न थाले । र, आफ्नै बलबुतामा सानो पुस्तकालय स्थापना गरे ।

साहित्यमा चाख भएका किशोरहरू स्वतस्फूर्त गोलबद्ध हुन थाले । विमलले नै यसको मेलोमेसो मिलाइरहे । कविता लेख्ने, पढ्नेहरूका लागि उनले सानो ठाउँ बनाए, ‘बुद्ध वाचनालय ।’

पछि विमल काठमाडौं आए र पत्रकारिता गर्न थाले । ‘दृष्टि साप्ताहिक’मा उनी लेख-रचनाका साथै समाचार लेख्थे । यससँगै उनमा विद्रोह चेत पनि हुर्कंदै थियो । बुवा पूर्णबहादुर लाहुरमा कम्युनिस्ट विरुद्ध लड्दै थिए । यता छोरा भने कार्ल माक्र्स, एगेल्सहरूलाई पढ्दै थिए ।

पूर्णबहादुरको जीवनमा अरू कुरा त ठिकठाक थियो । भनौं उनी परिपूर्ण थिए । घर थियो, जायजेथा थियो, जागिर थियो, परिवार थियो ।

२०२० सालमा बि्रटिश सेनामा भर्ना भएका थिए उनी । १६ वर्ष गोला र बारुदसँग खेले अनि पेन्सन पकाएर नेपाल फर्किए । जोश र जाँगर शिथिल भइसकेको थिएन । फेरि उनी ब्रुनाई हान्निए, सेक्युरिटी गार्डको रूपमा । यो २०३६ सालको कुरा हो ।

जीवनभर बिझाउने त्यो दुःखान्त

२०४८ साल ।

चुनावी सारगर्मी बढ्दै थियो, मुलुकमा । निर्वाचनकै लागि मान्छेहरू आफ्नो थातथलो र्फकने क्रम जारी थियो । काठमाडौंमा बसोवास गरिरहेका पूर्णबहादुरको परिवार पनि धरान र्फकने सुरसारमा थिए । बिदामा नेपाल आएका पूर्णबहादुर भने ब्रुनाई र्फकंदै थिए ।

२०४८ साल वैशाख २४ गते । धरानलाई गन्तव्य बनाएर पूर्णबहादुरका श्रीमती, साली र छोरो विमल काठमाडौंबाट बस चढे । तर, उनीहरू सकुशल धरान आइपुग्न पाएनन् । धादिङको जुगेपानीमा बस दुर्घटना भयो । १९ वषर्ीय छोरो विमलको दुर्घटनास्थलमै मृत्यु भयो ।

पत्रपत्रिकामा बस दुर्घटनाको समाचार सनसनी फैलियो । पूर्णबहादुरले ब्रुनाईमा नै यो दुखद खबर सुने । लगत्तै उनी घर फर्किए । श्रीमती र साली त जीवित थिए । तर, एक्लो छोरो विमल भने उनको संसारबाट सधैंका लागि खोसियो । अनि खोसियो, जीवनका आकांक्षा र सपना पनि । खोसियो, खुसी र उमंग पनि ।

शोक बदलियो सिर्जनामा

छोरोको मृत्युले कुन आमाबुवाको छाती चिरिंदैन ? कुन आमाबुवाको मन रुँदैन ? कुन बुवाआमाको स्वाद र सपना खोसिंदैन ? कुन बुवाआमाको जीवनको लय बिग्रदैन ?

तर, पूर्णबहादुरले मन बलियो बनाए । उनी विरक्तिएनन् । बरु, उनै छोराको खातिर केही गर्ने प्रण गरे ।

छोरो साहित्यानुरागी । पुस्तकप्रति उनको गहिरो लगाव थियो । त्यसैले त लाहुरेको एक्लो छोरोले घरभरी पुस्तक थुपारेका थिए । काठमाडौं र धरानमा दुवैतिर घर थियो । अनि दुवैतिर छोरो विमलले पुस्तक संकलन गरेका थिए ।

पूर्णबहादुरले ती सबै पुस्तकलाई जतनसाथ एकत्रित गरे । अनि धरानमै एउटा भवन बनाए र त्यसमा पुस्तकको थुप्रै लगाए । यसरी तयार भयो, कवि विमल गुरुङ पुस्तकालय ।

यतिबेला हजारौं थान पुस्तकले भरिभराउ छ, पुस्तकालय । ५० लाख रुपैयाँको अक्षयकोष खडा गरेका छन् । त्यही रकमबाट बर्सेनि कविता प्रतियोगिता गरिन्छ । सुरुवाती दिनमा पूर्णबहादुरले साहित्यिक पत्रिका पनि प्रकाशित गरे, जुन उनको छोरोले सुरु गरेका थिए । ‘इँटा’ नामक उक्त पत्रिका सात अंकसम्म प्रकाशित भयो । त्यसैगरी दुई वटा कविता संग्रह पनि प्रकाशित गरे ।

लाहुर जाँदा पूर्णबहादुरले लेखपढ गरेकै थिएनन् । तर, यतिबेला उनी आफ्ना छोरा-नाति पुस्तालाई पढ्नका लागि प्रेरित गरिरहन्छन् । उनी भनिरहेका हुन्छन्, ‘दिनमा एक जना मात्र आएर पढिदिए पनि हुन्थ्यो ।’

‘उर्मि’ पूर्णबहादुरको अपूर्ण जीवनकथा

आधुनिक सहरबाट विस्मृत हुँदै गएको, त्यो पुस्तकालय । ती पूर्णबहादुर । अनि कवि विमल । बुद्धचोकबाट दिनहुँ सयौं पाइला ओहोर-दोहोर गर्छन् । तर, कसैको आँखा पर्दैन त्यो पुस्तकालयमा ।

यसले आफ्नो गर्भमा कति मार्मिक कथा समेटेर बसेको छ धेरैलाई थाहा पत्तो छैन । यसरी करिब ओझेल परिसकेको एउटा कथाको उत्खनन गरेका छन्, निर्देशक प्रणय लिम्बूले ।

अवकाश जीवन विताइरहेका एक लाहुरे, जो जीवनको करिब उत्तरार्द्धमा छन् । दुःख र वियोगले उनको छाती चिराचिरा बनाएको छ । तर, उनी आफ्नो पीडा लुकाएर प्रेरणादायी जीवन बाँच्ने यत्नमा छन् । उनी जति बाँचेका छन्, त्यही पुस्तकालयका खातिर बाँचेका छन् । किनकि त्यो पुस्तकालय आफैंमा एक खुला पाना हो, जसले समयले गुमाएको धेरै कुरा भनिरहेको छ ।



source https://www.onlinekhabar.com/2022/04/1118410

केशव स्थापितलाई कारबाही गर्न ४५ अधिकारवादी संस्थाको माग

१७ वैशाख, काठमाडौं । काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् ।

एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

‘…‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघसंस्थाको ठहर छ ।

केशव स्थापितलाई ‘मी टू’ आरोप लागेको छ । तर, स्थापितले भने आरोपबार उत्तेजक प्रतिक्रिया दिदै आएका छन् । सोही विषयमा प्रश्न गर्दा एक सार्वजनिक कार्यक्रममै प्रश्नकर्तालाई उनले अपमानजक शब्द प्रयोग गर्दै जंगिएका थिए । उनको अभिव्यक्तिको एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत बचाउ गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/04/1118402

मातातीर्थ मेला (फोटो फिचर)

१७ वैशाख, काठमाडौं । आज आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिन्छ ।

जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद लिन्छन् ।

तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै मातातिर्थ पुग्छन् । आफ्नो आमालाई सम्झिँदै काठमाडौंको मातातीर्थमा पुग्नेहरूको आज घुइँचो लागेको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ ।

मातातीर्थमा रहेको कुण्डमा आजकै दिन हरेक वर्ष आमा नहुनेले त्यहाँ गई नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउने गर्दछन् ।



source https://www.onlinekhabar.com/2022/04/1118381

रोल्पामा ११७ जनाको उमेदवारी फिर्ता

१७ वैशाख, रोल्पा । रोल्पामा १७ जना पालिका प्रमुखका उम्मेदवारसहित ११७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उमेदवारी फिर्ता लिनेहरूमा एक नगर प्रमुखका उम्मेदवार, १६ जना गाउँपालिका अध्यक्षका उम्मेदवार र १३ जना गाउँपालिका उपाध्यक्ष उम्मेदवारसहित ११७ जना रहेका छन् ।

गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सबैभन्दा बढी नाम फिर्ता लिनेमा थवाङ गाउँपालिकाका उम्मेदवार छन्। थवाङ गाउँपालिकाबाट पाँचजना अध्यक्ष र दुई जना उपाध्यक्षका उम्मेदवारले उमेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेवार रमेश रोकामगर, उपाध्यक्षका उम्मेदवार धनुमारी रोका रहेका छन् । यसैगरि सोही गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका नकस घर्तीमगर, उपाध्यक्षका उमेदवार शान्ति घर्तीमगरले पनि नाम फिर्ता लिएका छन । यही गाउँपालिकामा स्वतन्त्र उमेदवारी दिएका ४ मध्ये ३ जनाले नाम फिर्ता लिएका छन् । स्वतन्त्रवाट नाम फिर्ता लिने अध्यक्षका उम्मेदवारमध्ये अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगर रहेका छन् ।

यसैगरी परिवर्तन गाउँपालिकाबाट पाँच जनाले उमेदवारी फिर्ता लिएका छन् । जसमा नेकपा एमालेबाट अध्यक्षका उमेदवार गंगाराम बुढामगर, नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार तीलबहादुर पुन र उपाध्यक्षका उमेदवार अरुणा थापा, नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सपना घर्तीमगर, स्वतन्त्र उमेदवार लक्ष्मी डाँगी रहेका छन् ।

त्रिवेणी गाउँपालिकाबाट नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार आशाकुमारी पुन केसी र स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हस्तबहादुर घर्तीमगर रहेका छन् ।

माडी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार शेरवहादुर बुढामगर र उपाध्यक्षका उम्मेदवार गौमाया पुनमगरले पनि उमेदवारी फिर्ता लिएका छन् ।

रुन्टीगढी गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्षका उम्मेदवार कमारी बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।

रोल्पा नगरपालिकाबाट नगर प्रमुखका स्वतन्त्र उम्मेदवार मोलङ घर्तीमगर, स्वतन्त्रबाटै उपप्रमुखमा उम्मेदवार निर्मला रोका र रीता गिरी आजादले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

लुग्री गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार कल्पना थापा र उपाध्यक्षको उम्मेदवार टुकमाली कुमारी बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

गंगादेव गाउँपालिकाबाट स्वतन्त्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नरसिंह राना, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार धनकुमारी वलीले पनि उमेदवारी फिर्ता लिएका छन् ।

सोही गाउँपालिकावाट राप्रपाबाट उपाध्यक्षका उम्मेदवार राजेश डिसीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी उम्मेदवारी फिर्ता लिनेमा सुनछहरी गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार हिकलाल पुनमगर रहेका छन् ।

सुनिलस्मृती गाउँपालिकामा राप्रपाबाट अध्यक्षका उम्मेदवार सुरज घर्तीमगर, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार शुक्रराज थापा रहेका छन् । सोही गाउँपालिकावाट स्वतन्त्रवाट उपाध्यक्षका उम्मेदवार दीपेश विष्ट र कुमारी थापाले पनि उमेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने अन्य पदमा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसहित ९७ जना रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1118378

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।



source https://www.onlinekhabar.com/2022/04/1118376

आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस मनाइँदै

१७ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1118374

Thursday 28 April 2022

‘नो भोट’को व्यवस्था कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

१६ वैशाख, काठमाडौं । कुनै पनि उम्मेदवारहरुलाई मत दिन्न भन्ने व्यवस्था (राइट टु रिजेक्ट) कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ ।

अधिवक्ता स्वागत नेपालले विहीबार ‘राइट टु रिजेक्ट’ अर्थात् ‘नो भोट’को व्यवस्था कार्यान्वयनमा नआएको भन्दै सरोकारवालाहरुविरुद्ध अवहेलनामा कारवाहीको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानूनमन्त्री गोविन्द बन्दी, निर्वाचन आयोगका पदाधिकारीहरुलाई विपक्षी बनाएका छन् ।

सर्वोच्च अदालतले मतपत्रमा उम्मेदवारहरुलाई मत दिन्न भन्ने व्यवस्था पनि समावेश गर्नु भनी सरकारका नाममा आदेश जारी गरिसकेको छ ।

त्यही फैसला कार्यान्वयन नभएको भनी अधिवक्ता नेपालले अवहेलना निवेदन दर्ता गराएका हुन् ।



source https://www.onlinekhabar.com/2022/04/1117882

चेल्सी र युनाइटेडले बाँडे अंक

१६ वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलमा बिहीबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । जहाँ मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

बराबरीपछि तेस्रो स्थानको चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेको छ । ३५ खेल खेलिसकेको युनाइटेड ५५ अंक जोडेर छैटौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/04/1117874

११ प्रकारका विवाद टुंग्याएर उम्मेदवार नामावली प्रकाशित

१६ बैशाख, काठमाडौं । निर्वाचन आयोगले मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुंग्याएपछि मनोनयनमा परेका उम्मेदवारहरुको नामावली विहीबार राति प्रकाशित भएको छ ।

देशभरका निर्वाचन अधिकृतहरुले उम्मेदवारहरु विरुद्ध परेका उजुरीहरुको जाँचबुझ गरी नामावली प्रकाशित गरेका हुन् । त्यसक्रममा केही उम्मेदवारहरुको मनोनयन रद्द भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा उठेका ११ प्रकारका विवादहरुमाथि सम्बोधन गर्दै विवादमा परेका मनोनयनहरु रद्द गर्न निर्देशन दिएको थियो । त्यही आधारमा निर्वाचन अधिकृतहरुले उजुरी र त्यसक्रममा परेको विवाद टुंग्याएका हुन् ।

एक दल, एक उम्मेदवार

मनोनयनका क्रममा कतिपय स्थानीय तहमा एउटा दलले उही पदमा एकभन्दा बढी व्यक्तिका लागि मनोनयनपत्र दर्ता गराएका थिए । त्यसक्रममा दलहरुसँग सम्पर्क गरेर आधिकारिक उम्मेदवारलाई मान्यता दिने आयोगको निर्णय थियो । दलहरुले पत्र नदिएमा दुईमध्ये पहिले दर्ता भएकाले आधिकारिकता पाउने निर्णय गरेको थियो ।

प्रस्तावक र समर्थक

कतिपय स्थानीय तहमा कुनै उम्मेदवारको प्रस्तावक, समर्थक रहेका व्यक्तिहरु अर्को पदमा आफैंले उम्मेदवारी दिएको भेटिएको छ । आयोगले त्यस्तो अवस्थामा पहिलो उम्मेदवारहरुलाई प्रस्तावक, समर्थक फेर्न भनेको थियो । अनि प्रस्तावक र समर्थक नै अर्को पदमा उम्मेद्वार भएको भए त्यसलाई रद्द गर्ने निर्णय गरेको छ ।

कालोसूची

निर्वाचन आयोगले कालोसूचीमा रहेका व्यक्तिहरुको उम्मेदवारी रद्द गरेको छ । अदालतबाट कसुरदार ठहर भएका तर सजाय भुक्तान नगरेका, बैंकको ऋण नतिरेका लगायतका व्यक्ति कालोसूचीमा छन् । निर्वाचन आयोगले ४० हजार जनाको नामावली भएको कालोसूचीको विवरण देशभरका निर्वाचन अधिकृतलाई बाँडेको थियो । जाँचबुझ अवधिभर (विहीबार अपराह्नसम्म) कालोसूचीबाट नाम हटेकाहरुको मनोनयन सदर भएको छ ।

बेरुजु

निर्वाचन आयोगले बेरुजु भएका व्यक्तिको मनोनयन पनि बदर गरेको जनाएको छ । तर व्यक्ति नभई ऊ कार्यरत संस्थाको नाममा भएको बेरुजुका वारेमा भने बन्देज लागू गरेन । बेरुजु भएपनि जाँचबुझ अवधिभर बेरुजु फर्छ्यौट गरेका व्यक्तिहरुको मनोनयन सदर भएको छ ।

लाभको पद

देशभरका महिला स्वास्थ्य स्वयंसेविकाहरुले राजीनामा दिएमा मात्रै उमेद्वारी सदर हुने निर्णय आयोगले गरेको थियो । लाभको पद भएकाले उनीहरुले पदमै रहेर उम्मेदवारी दिन पाएनन् । विभिन्न विकास समिति र व्यवस्थापन समितिमा बसेकाहरुका हकमा पनि यही व्यवस्था लागू भयो ।

अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुलाई पनि राजीनामा गरेमा मात्रै उम्मेदवारी दिन पाउने भनी सर्कुलर गरिएको थियो । उपभोक्ता समितिका पदाधिकारीको हकमा पनि राजीनामा वा जिम्मेवारीबाट हटेको प्रमाण पेश गर्नुपर्ने शर्त राखिएको थियो ।

बन्दसूची

विभिन्न दलहरुले प्रतिनिधीसभा र प्रदेशसभाको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरुलाई पनि स्थानीय तहको उम्मेदवार बनाए । तर त्यसका लागि बन्दसूचीबाट नाम हटाउनुपर्ने भनी आयोगले शर्त तोक्यो । मनोनयनको अघिल्लो दिनसम्म बन्दसूचीबाट हटेकाहरुलाई उम्मेदवारीमा छुट दिने भनिएपछि दलका कार्यकर्ताहरुको भीड र चापका कारण निर्वाचन आयोगले विहीबारसम्म नै त्यो सहुलियत दिएको थियो ।

विवरण फरक

निर्वाचन आयोगले नागरिकता र मतदाता नामावलीमा विवरण फरक परेमा नागरिकताका आधारमा विवरण कायम गर्ने निर्णय गरेको छ । अनि आयोगको अभिलेख र निर्वाचन अधिकृतको कार्यालयको विवरण फरक परेमा निर्वाचन अधिकृतको कार्यालयकै विवरणले मान्यता पाउने भएको छ ।

दलित महिला वडा सदस्य

आयोगले दलित महिला वडा सदस्य हुन शर्त तोकेको छ । स्थानीय तह निर्वाचन निर्देशिकाका अनुसार पहाडमा ७ र मधेशमा २६ गरी ३३ प्रकारका जातिले मात्रै दलितको रुपमा उम्मेदवारी दिन पाए । त्यसैले गर्दा कतिपय स्थानीय तहमा दलित महिला सदस्यको उम्मेदवारी नै परेन ।

दोहोरो उम्मेदवारी

कुनै दलले स्थानीय तहको प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दलमा उम्मेदवारी दिंदा पुरुषलाई मात्रै मनोनयन गरेको भए दुवै मनोनयनपत्र खारेज गर्ने निर्णय गरेको छ । एउटै व्यक्ति दुई फरक दलबाट मनोनयन भएमा दुवै मनोनयन रद्द भएका छन् ।



source https://www.onlinekhabar.com/2022/04/1117875

रेडपाण्डा संरक्षणकर्मी लामाले पाए ह्वीटली अवार्ड

१६ वैशाख, काठमाडौं । रेड पाण्डा संरक्षणमा सक्रिय ताप्लेजुङको यामफुदिन गाउँका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाएका छन् । बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड (करिब ६२ लाख नेपाली रुपैयाँ)सहित सो अवार्ड प्रदान गरिएको हो ।

डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा बेलायती राजकुमारी एनले लामालाई अवार्ड प्रदान गरिन् । यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो ।

अवार्ड पाएपछि खुसी व्यक्त गर्दै लामाले यो रकम रेड पाण्डाको बासस्थान सुधार, अवैध चोरीतस्करी नियन्त्रण र जनचेतनामुलक काममा खर्च गर्ने बताए । अवार्डसँगै पाएको रकम एक वर्षभित्र खर्च गर्नुपर्छ ।

यसअघि ह्वीटली अवार्ड नेपालका वरिष्ठ चराविद् हेमसागर बरालले सन् २००५ मा पाएका थिए ।



source https://www.onlinekhabar.com/2022/04/1117868

आईपीएलमा कोलकाताको लगातार पाँचौं हार

१६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको छ । यो कोलकाताको लगातार पाँचौं हार हो ।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । यसको जवाफमा दिल्लीले १८ औं ओभरको अन्तिम बलमा जित हासिल गर्यो ।

दिल्लीका लागि डेभिड वार्नरले ४२, अक्षर पटेलले २४, ललित यादवले २२ र रोमन पावेलले अविजित ३३ रन बनाए ।

बलिङतर्फ उमेश यादवले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट झारे ।

टस जितेर दिल्लीका कप्तान ऋषभ पन्तले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कोलकाताले खराब सुरुआत गरेको थियो । उसले ३५ रनमै ४ विकेट गुमाएको थियो । यद्यपि कप्तान श्रेयस अय्यर र नितिश राणाले स्थिति केही सम्हाले । नितिश राणाले ३४ बलमा सर्वाधिक ५७ रन बनाए । यो उनको आईपीएलमा १५ औं अर्धशतक हो ।

यसैगरी कप्तान अय्यरले ३७ बलमा ४२ रन जोडे । रिंकु सिंहले १६ बलमा २३ रन बटुले ।

बलिङतर्फ कोलकाताका कुलदीप यादवले सर्वाधिक ४ र मुस्तफिजुर रहमानले ३ विकेट लिए ।



source https://www.onlinekhabar.com/2022/04/1117863

उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन आजै

१६ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

त्यसपछि १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।



source https://www.onlinekhabar.com/2022/04/1117860

केशव स्थापितको अभिव्यक्ति : सार्वजनिक मञ्चबाटै महिलामाथि हिंसा

१६ वैशाख, काठमाडौं । बिहीबार धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा केशव स्थापितलाई एक जना सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न खोजिन् ।

प्रश्न राख्नुअघि सञ्चालकले सहजीकरण गर्दै भने, ‘हुन त आज सकेसम्म उम्मेदवारलाई निजी प्रश्न नसोध्नु भनेका थियौं, तर यो प्रश्न रोक्न सकिने खालको छैन ।’

यति भनिसक्दा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनाइएका स्थापित आफैं अघि सरेर बोले, ‘मेयरको उम्मेदवारलाई २४ घन्टा प्रश्न सोध्न पाइँदैन भन्नै भएन, रुल ओभर रुल्ड, आई ह्याब टु एन्सर ।’

तर सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिएका छन् ।

उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।

स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी एवं विश्लेषक सरिता तिवारी बताउँछिन् ।

‘सुरुमा उनले आवेगमा प्रश्नकर्तामाथि प्रश्न उठाए होला, तर पछि फेरि वेश्यावृत्ति गर्छौं भनेर निकालिदिउँ भनेर भन्नुले उनमा कुन हदसम्मको हिंसात्मक चिन्तन छ भन्ने देखिन्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘यस्तो मान्छेलाई निर्वाचन आयोगले पनि उम्मेदवार बनिरहन दिन्छ भने त्यो आयोगको पनि गल्ती हुन्छ, यो विषयमा सबैले जबरजस्तरुपमा प्रश्न उठाउन जरुरी छ ।’

स्थापितलाई बिझाएको प्रश्न

कार्यक्रममा सहभागी विवेकशील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाका अनुसार छलफलमा सुरुमा एकै प्रश्न सबै उम्मेवारलाई सोधिएको थियो । कार्यक्रमको अन्त्यतिर सहभागीहरुलाई प्रश्नोत्तरका लागि समय छुट्याइएको थियो, त्यतिबेला सोधिएको एउटा प्रश्नमा स्थापित उत्तेजित भएका हुन् ।

कार्यक्रममा सहभागी भावना राउतले स्थापितलाई सोधेकी थिइन्ः

मेरो प्रश्न केशव स्थापित सरलाई,

विगतमा महागनर यस्तो चलाएको भन्नु भयो, तर तपाईंको विगतमा गएर हेर्दा तपाईंलाई दुई जना महिलाले मिटुको आरोप पनि लगाएका छन् । मैले तपाईंको रवि लामिछानेसँगको अन्तरर्वार्ता हेर्दा भोलिपल्टको दिनमा प्रमाणसहित आउँछ भन्नु भएको थियो ।

मलाई सबैभन्दा खड्किरहेको कुरा चाहिँ के हो भने तपाईंले भोलि मेयर जितेको अवस्थामा तपाईंको अफिस जानलाई म सुरक्षित हुन्छु कि हुँदिन ? अथवा तपाईंकै उपमेयर सुनिताजी सुरक्षित हुनुहुन्छ कि हुनुहुँदैन, अथवा तपाईंकै उपमेयर सुरक्षित हुनुहुन्छ कि हुँदैन ? अनि, आज यहाँ हामीलाई तपाईंको एक्सपेलेसन (स्पष्टीकरण) चाहिएको होइन, एकाउन्टेबिलिटी (जवाफदेहिता) चाहिएको हो ।

गल्ती भएको हो भने त्यो अपराध हो । अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि भएको होइन भने तपाईं मेयरको उम्मेवादर हो । हामी सबैको भोट तपाईंलाई चाहिन्छ र जित्छु भन्ने अपेक्षा राख्नुहुन्छ भने चाहिँ त्यसलाई स्पष्ट गर्नुपर्छ । अब होइन, यसमा नगरौं, यसमा नबोलौं भनेर भएन । किनभने, महिला नै तपाईंको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनु होला । यो तपाईंलाई सुहाउँदा पनि सुहाउँदैन ।

राउतले यी विषयलाई सम्बोधन गर्न नसक्ने हो भने स्थापितलाई कुर्सीमा बसिराख्ने नैतिकता नभएको पनि बताइन् । उनले भनिन्, ‘तपाईंले अपराध गरेको हो कि होइन, होइन भने प्रमाणसहित आउनुस्, नत्र कुर्सी छाडेर जानुस् ।’

राउतले स्थापितलाई मात्र महिला हिंसाबारे प्रश्न सोधिनन् । उनले स्वतन्त्र उम्मेवार बालेन्द्र शाह (बालेन) लाई पनि पुराना र्‍याप गीत महिलाप्रति असंवेदनशील भएर गाएको भन्दै प्रश्न सोधिन् । साथै, उनले माफी माग्न पनि भनेकी थिइन् ।

उनले बालेनलाई भनेकी थिइन्, ‘विगतमा मैले तपाईंका गीत सुनेको छु, र्‍यापहरु हेरेको छु, त्यसमा महिलालाई कुन चाहिँ दर्जामा राख्नु भएको छ भनेर पनि देखेको छु । आज तपाईंले पब्लिक स्पेसमा आएर बाल्दै गर्दा यी सबै महिला भोटरहरुसँग माफी माग्ने कि नमाग्ने ? उनीहरुलाई फेरि म यस्तो गर्दिनँ भनेर भन्ने कि नभन्ने ।’

राउतले सोधेको प्रश्नमा बालेनले स्पष्टीकरण त दिए तर माफी चाँहि मागेनन् । अन्यत्र पनि त्यसरी र्‍याप गाउने चलन रहेको भन्दै बचाउ गरे । ‘स्थापितले पनि सामान्यरुपमा लिएर स्पष्टीकरण दिनु भएको भए, यति धेरै हुने थिएन’ प्रश्नकर्ता राउतले अनलाइनखबरसँग भनिन्, ‘मैले उत्तर मात्र खोजेकी थिएँ, उहाँलाई पनि स्पष्टीकरण दिने मौका थियो, तर उहाँले नै महौल विगार्नुभयो ।’

उनले स्थापितप्रति आफ्नो कुनै नियत नभएको र सार्वजनिक सरोकारको प्रश्न मात्र राखेको बताइन् । ‘मैले आरोप लगाएको होइन, प्रश्न सोधेको हो । प्रश्न सोध्ने हक सबैको हुन्छ’ राउत भन्छिन्, ‘मैले प्रश्न सोध्दा यत्रो हंगामा होला भन्ने सोचेकै थिइनँ, भोलिका दिनमा उहाँमाथि फेरि यो प्रश्न नफर्कियोस् भनेरै मैले सोधेकी थिएँ ।’ तर मेयरको उम्मेदवार जस्तो व्यक्तिले दिएको अभिव्यक्तिले आफ्नो चित्त दुखेको उनले बताइन् ।

लेखक रिता साह स्थापितले कार्यक्रममा दिएको अभिव्यक्तिले उनी महिलाप्रति कति असंवेदनशील छन् भन्ने देखाउने बताउँछिन् । ‘आज उहाँ जसरी प्रस्तुत हुनु भयो, त्यो एकदमै नराम्रो कुरा हो’ साहले भनिन्, ‘सार्वजनिक जीवनका व्यक्तिले आफूमाथि कुनै पनि प्रश्न उठ्दा संयम भएर जवाफ दिनुपर्ने हो, तर उहाँको बोलाई लैंगिकरुपमा संवेदनशील भएन ।’

स्थापितले बोलेका शब्द सार्वजनिक पद धारण गरेको व्यक्तिलाई उच्चारण गर्न समेत नसुहाउने उनले बताइन् । ‘उहाँले कसरी बोल्नु भयो, यो महिलाहरुका लागि चुनौति हो भन्ने म मान्छु’ उनले भनिन्, ‘यो सबै पितृसत्तात्मक सोच र संरचनाको उपज हो ।’

विगतमा मिटुको आरोप लाग्दा समाज र राज्यले दिनुपर्ने सजाय नदिँदा वा जिम्मेवारीको घेरामा नल्याउँदा अहिले स्थापित जस्ता व्यक्तिले सार्वजनिक पदमा दाबेदारी गरिरहेको शाहको बुझाइ छ ।

केपी ओलीकै साथ

आपत्तिजनक अभिव्यक्ति दिएका स्थापितको सर्वत्र आलोचना भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ उल्टै स्थापितकै पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिबाटै पनि महिला हिंसाका विषयमा एमाले नेतृत्व कति असंवेदनशील छ स्पष्टै हुन्छ ।

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा उनले चुनावका बेला कुप्रचार गरेर स्थापितको चरित्र हत्या गर्न खोजिएको बताए ।

‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ?’ ओलीले भने, ‘हामी यस्ता कुराहरुमा होइन, महान उद्देश्यतर्फ अघि बढेका छौं ।’ ओलीको यो अभिव्यक्तिले सिंगो नेकपा एमाले पार्टीले नै महिलामाथि कस्तो दृष्टिकोण राख्छ भन्ने छर्लंग भएको विश्लेषक तिवारी बताउँछिन् ।

‘पहिलो कुरा हिजो उनलाई एमालेले नै मन्त्री पदबाट फिर्ता बोलाएको छ, आज उसैलाई उम्मेदवार बनाएर सार्वजनिक गर्नुले पनि एमालेको नियत छर्लंग हुन्छ’ तिवारीले भनिन्, ‘ओलीको अभिव्यक्तिले एमाले महिलालाई हिंसा हुँदा मुकदर्शक भएर बसिरहने पार्टी हो भन्ने सन्देश बाहिर जान्छ ।’

यस्ता उम्मेदवार निर्वाचित भएर गए पनि भोलि महिला, बालबालिका तथा किशोरीसँग जोडिएका मुद्दामा कसरी काम गर्छन् भन्ने कुरामा पनि गम्भिर प्रश्न उठ्ने उनी बताउँछिन् । ‘यो विषयलाई निर्वाचन आयोगले पनि गम्भिरताका साथ उठाउनुपर्छ भन्ने मलाई लाग्छ’ उनी भन्छिन् ।

विवकेशील साझा पार्टीकी उम्मेदवार छलफलमा सहभागी बाँस्कोटा पनि आफूले कार्यक्रममै पनि स्थापितको बोलीप्रति प्रतिक्रिया जनाएको बताउँछिन् । ‘उहाँले यस्तो बोल्ने हो भने म कार्यक्रममा बस्दिनँ भनेर त्यतिबेलै पनि भनेकी थिएँ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘सार्वजनिक पदमा बस्नु भएको छ, तपाईं उम्मेवार हुनुहुन्छ भने विभिन्न प्रश्न उठ्न सक्छन्, आक्षेप लाग्न सक्छ । तर, हामी संयमित हुनुपर्छ ।’

पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष थममाया थापा मगर चाहिँ आफूले स्थापितको अभिव्यक्ति नसुनेको बताउँछिन् । ‘कस्तो प्रश्न आयो, कसरी जवाफ दिनु भयो नसुनी केही भन्न सकिँदैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर जे भए पनि उम्मेवारले संयम भएर प्रस्तुति दिनुपर्छ ।’



source https://www.onlinekhabar.com/2022/04/1117857

Wednesday 27 April 2022

कहिले आउला त्यो दिन ?

नेपाल सरकारले सरकारी सेवा प्रवेश गर्ने न्यूनतम उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने भनी तोकेको छ । १८ वर्ष पुगेको व्यक्तिले तोकिएको कार्य परिपक्व ढंगले सम्पादन गर्न सक्दछन् भन्ने मान्यता राखी सरकारी सेवा प्रवेशको उमेर तोकिएको हो । नेपालको प्रशासनिक क्षेत्रमा सेवा प्रवेश गरी सरकारी सेवा गर्न  फुर्तिला, जोसिला, दक्ष, कर्मठ जनशक्तिलाई प्राथमिकता दिई प्रत्येक वर्ष नयाँ जनशक्ति भित्र्याउने प्रावधान देखिन्छ । जसबाट हरेक संगठनमा संगठनात्मक नयाँ रक्तसञ्चार प्रवाह हुन्छ । दक्ष जनशक्ति संगठनमा भित्र्याउँदा संगठनात्मक संस्कृति र व्यवहार नै परिवर्तन हुन्छ । नतिजामूलक सकारात्मक परिवर्तन आउन सक्छ भन्ने मान्यतास्वरुप निजामती क्षेत्रमा पनि उपसचिव र सहसचिवको पदमा खुल्ला प्रतिस्पर्धाबाट पनि जनशक्ति भित्र्याइन्छ । त्यस्तै नेपालको संविधान २०७२ मा स्थानीयस्तरको निर्वाचनमा २१ वर्ष उमेर पार गरेपछि उम्मेदवार बन्न पाइने उमेर हद तोकिएको छ । तथापि संघीय तथा प्रादेशिक चुनावमा भाग लिन चाहने व्यक्तिहरूका लागि भने न्यूनतम उमेर हद ३५ वर्ष तोकेको छ ।

युवा उमेरका व्यक्तिहरूलाई कानुनी रूपमा राजनीतिक क्षेत्रमा सामेल भई राज्यसत्ता सञ्चालनमा सहभागी हुने हैसियत दिए पनि सहभागी हुन पाएका छैनन् । शिक्षित, कार्यसम्पादनमा दक्ष, कूटनीतिक ज्ञान भएको, अनुभवी, निडर, कर्तव्यनिष्ठ, नैतिकवान व्यक्तिहरू राजनैतिक क्षेत्रमा आएर राज्य सत्ता सञ्चालन गर्न इच्छुक छैनन् । नेपालको राजनीतिमा के त्यस्ता व्यावहारिक कठिनाइ तथा चुनौती छन्, जसले गर्दा युवा पुस्ता वर्तमान समाजमा देशको नेतृत्व लिन चाहँदैन वा पाउँदैनन् ? मुलुक हाँक्न किन युवा पुस्ता उत्सुक छैन ? किन देशले राज्य सत्ता सम्हाल्न युवा जनशक्ति तयार पार्न सकेन ? किन राजनीतिक दलले युवा पुस्तालाई अगाडि बढाउन चाहेन ? नेपालको चुनावमा युवा पुस्ताको उपस्थिति किन अत्यधिक न्यून छ ? यदि उपस्थित छन् भने पनि वडा स्तरीय चुनावमा सीमित राखेर किन मुख्य मुख्य पदहरूमा पुरानै नेता तथा कार्यकर्तालाई दिइन्छ ? के देशको प्रमुख शहरको मेयर, उपमेयर युवा उमेरको व्यक्तिले हाँक्न सक्दैनन् ? कि मूलधारका राजनैतिक पार्टीका वरिष्ठ व्यक्तिहरूले युवाहरूलाई नै योग्य देख्दैन ? किन हामी सबैले अहिलेको स्थानीय चुनावमा युवा नेतृत्वको खुल्ला राजनीति देख्न नपाउने अवस्था हुन लाग्यो ?

देशमा चुनावी लहर आइरहँदा युवा उमेरका व्यक्तिहरू पनि चुनावी मैदानमा दौडिनुपर्नेमा उही पुराना नेता, कार्यकर्ता नै पुनः दोहोरिरहँदा जनतामा चरम निराशा छाएको छ । घोषणापत्र हेर्दा सबै दलको अत्यन्त सुन्दर आदर्शवान, देशमा छिट्टै परिवर्तनको हरियाली छाउला कि जस्तो लाग्छ अनि कुन दललाई भोट दिउँ भन्ने द्विविधा नै पर्छ । व्यवहारगत वस्तुस्थिति नियाल्दा भने निराशाले हर्ट अट्याक नै आउला जस्तो लाग्छ ।

वर्तमान परिवेशको राजनैतिक अवस्था र अपवित्र गठबन्धन देख्दा मनमा निराशा, कुण्ठा, रिस, आवेगको आँधीहुरी नै आउँछ । मताधिकारको प्रयोग नै नगरौं भन्ने लाग्छ । निष्ठा र सिद्धान्तलाई तिलाञ्जली दिई आफू भलो त जगत भलो भने जस्तो गर्ने नेताका व्यवहार र भाषण सुुन्दा मन भाँचिएर आउँछ । स्थानीय चुनावमा आफ्नो स्वार्थ अनुरूपको गठबन्धन र प्रादेशिक तथा संघीय चुनावमा फेरि अर्कै प्रकारको स्वार्थीय तालमेल/गठबन्धनदेखि जनता आजित भएका छन् । निर्वाचन आयोगले जतिसक्दो छिटो नो भोटको चुनावी विकल्प ल्याओस् भन्ने जनता चाहन्छन् ।

अब कत्ति पनि ढिला गर्नुहुँदैन । गाउँ–गाउँमा युवा अभियानको आवश्यकता महसुस भएको छ । सहरभरि, गल्ली–गल्ली युवा संगठनको जरुरत छ । एउटा बेग्लै युवा क्रान्तिको आवश्यकता छ । देशको द्रुत रूपान्तरण हरेक व्यक्तिलाई महसुस भइसकेकोे छ । साँचो कुरा के हो भने वर्तमान राजनैतिक दलले जनताको आशातित रूपान्तरण गर्न सक्ने छैनन् । देशका कुनाकुनामा प्रत्येक व्यक्तिलाई नाना, खाना, छाना पनि पुर्‍याउन सक्ने छैनन् । ती पिछडिएका असहाय व्यक्तिहरूको नाममा प्रत्येक वर्ष बजेट विनियोजन भए तापनि सत्ता र शक्तिको चरम दुरुपयोग गरी ती असहायको लागि छुट्याइएको नाना, खाना र छाना आफ्नो आलिसान महलमा थुपार्न होडबाजी गर्छन् । आफ्नो एक अल्पकालीन स्वार्थ पूरा गर्न अर्को पक्षका हजारौं दीर्घकालीन स्वार्थ स्वीकार्दछन् । स्वार्थै स्वार्थमा अल्झिएको एक पक्ष र अर्को पक्षको घम्साघम्सी र झै–झगडामा रुमल्लिएको राज्य सत्ताको लडाइँको साक्षी कहिलेसम्म बनिरहने ?

नेपालको इतिहासलाई विश्लेषण गर्ने हो भने २००७ सालमा नेपाली कांग्रेसले सशस्त्र विद्रोह गरी देशमा प्रजातन्त्र ल्यायो । तत्कालीन अवस्थामा विद्रोह र नेतृत्व गर्ने सबै युवावस्थाका व्यक्ति थिए । राज्यमा सकारात्मक परिवर्तन ल्याउन व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गरे । जुन वर्तमान समयमा पनि नेपाली कांग्रेसले आफ्नो सिद्धान्त मानेर अगाडि बढेको छ । त्यस्तै २०४७ सालको क्रान्ति पनि देशमा बहुदलीय शासन व्यवस्था ल्याउने क्रान्ति थियो । त्यो बेला आन्दोलनमा सहभागी हुने र नेतृत्व गर्ने दुवै पक्ष युवावस्थामा थिए । जनयुद्धको बेला पनि त्यसमा होमिने कार्यकर्ताहरू युवा नै थिए । सबै राजनैतिक दलले फरक–फरक तरिकाबाट क्रान्ति गरे, सफल पनि भए । त्यो बेलाका नेतृत्वकर्ता सत्तामा पुगे । सरकार गठन गरी राज्य सत्ता सञ्चालन गरे । कालान्तरमा के देखा पर्‍यो भने, जसले आन्दोलनको नेतृत्व गर्‍यो र सत्तामा गयो, तत्पश्चात सत्ता छाडेर समाजसेवी भूमिकामा आउन सकेनन् । प्रत्येक पटक चुनावमा आफैं उठ्ने र अर्कालाई अवसर नदिने, सत्तामा जान पाएसम्म आफू नै मन्त्री तथा प्रधानमन्त्री हुने प्रक्रिया दोहोर्‍याउने । मूल धारका पार्टीले नयाँ पुस्ता भित्र्याउन चाहेन । आफूले आफ्नो क्षेत्रमा नयाँ पुस्तालाई ठाउँ दिने विकल्प खुल्ला राख्यो भने मात्र न नयाँ पुस्ता भित्रिन्छ । आफूले सत्ता र शक्तिको दुरुपयोग गरी आर्जन गरेको अहमताले कसैलाई योग्य र दक्ष देखेन । आफ्नो व्यक्तिगत विचार, आस्था नै सम्पूर्ण जनताको विचार, आस्था भत्रे जस्ता भ्रमात्मक कुरा छर्दै अघि बढे । आखिर किन चाहेन त युवा पुस्तालाई पार्टीभित्र भित्र्याई नेतृत्व लिन योग्य बनाउन ?

कहिलेसम्म आशा गर्ने कि नेपालको आर्थिक सामाजिक विकासबाट हाम्रा दक्ष–अदक्ष दाजुभाइ, दिदीबहिनीहरू तेस्रो मुलुकमा श्रम बेच्न जानु नपरोस् भनी ? कहिले आउला त्यो दिन, जुन दिन अन्य तेस्रो मुलुकबाट दक्ष–अदक्ष जनशक्ति नेपाल सरकारसँग श्रम स्विकृति लिई नेपाली बजारमा श्रम गर्न आउने ? अब सोच्ने बेला भएन र ?

वर्तमान समयको महँगो, भड्किलो चुनावी कार्यक्रममा अवैध तरिकाबाट आर्जन गरेको धन चुनावी प्रचारमा खर्चिन पल्केका नेताका अगाडि नयाँ युवा पुस्ताको प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । साम, दाम, दण्ड र भेद प्रयोग गरी चुनाव जित्न सिकेका नेताका अगाडि राष्ट्र र राष्ट्रभक्तिलाई शिरोपर राखी स्वच्छ, पारदर्शी र निष्पक्ष तरिकाबाट चुनाव जित्न अवश्य कठिन पर्छ ।

अब देशको यु्वा पुस्ताले नयाँ विचार, नयाँ तरिका, नयाँ चुनावी एजेण्डा स्वरूप एकजुट भएर चुनावी संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ । जसरी, निजामती सेवा, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी क्षेत्रमा योग्य, अयोग्यताको जाँच गरिन्छ, जहाँ योग्य युवालाई नै प्राथमिकता दिनुपर्छ, र गर्न सक्दछन् भन्ने मान्यताका आधारमा उमेरलाई पनि निर्धारक तत्त्व मानिएको छ र पुस्ता हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यबाट प्रत्येक वर्र्ष नयाँ जनशक्ति भित्र्याइन्छ । सरकारी सेवामा प्रवेश गर्ने उमेर हद तोकिए पनि राजनैतिक क्षेत्रमा यसरी नै उमेर तोकेर बन्द प्रतिस्पर्धा गराउनुपर्छ भत्रे मान्यता यो लेखकको किमार्थ होइन । जुन व्यक्ति समयानुसार आफूलाई परिवर्तन गराउन सक्छ, जसले विश्व परिवेशको परिवर्तनशील समाज र अर्थ व्यवस्थालाई समयसापेक्ष स्विकार गरी राष्ट्रको प्रमुख रक्तसञ्चारको क्षेत्रलाई चलायमान बनाउन सक्दछन् उनीहरू नेतृत्वकर्ता हुन सक्छन् । कोही व्यक्तिहरू ८० वर्षको उमेरसम्म पनि बुढ्यौलीपनको महसुस नगरी ऊर्जाशील हुन्छन्, युवा जस्तो आशावादी र सकारात्मक कुरा गर्छन् भने कुनै व्यक्ति सानैबाट नै नेतृृत्व लिन सक्ने प्रबल गुण लिएर आएको हुन्छ । वर्तमान समयमा धेरैजसो राजनैतिक नेतृत्वकर्ताहरू ऊर्जावान, सृजनशील, छरितोपना नदेखिएको अवस्थामा उनीहरूले राजनैतिक क्षेत्रबाट विश्राम गरी राष्ट्रहितसँग सम्बन्धित सृजनशील काम गर्नु उपयुक्त हुन्छ । राज्यसत्ता सम्हाल्न चाहने युवा पुस्तालाई समयमै राजनैतिक ज्ञान कूटनैतिक ज्ञान, सकारात्मक सोच, समस्या समाधान गर्दा झेल्नुपर्ने समस्या तथा चुनौती, खुला दृष्टिकोण, अडान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबावहरू के के हुन सक्छन् भत्रे जस्ता सम्पूर्ण विषयमा प्रत्यक्ष अप्रत्यक्ष रूपबाट जानकारी दिने र एउटा संरक्षकको भूमिका निर्वाह गर्नुपर्छ । अहिलेको शासन प्रक्रियालाई नियाल्दा नेतृत्वकर्ताबाट यस्तो आशा गर्न सकिने अवस्था देखिंदैन ।

देशमा विद्यमान जति पनि राजनीतिक दलहरू छन् उनीहरू सबैको विचार, आस्था, सिद्धान्त गलत देखिंदैन । उनीहरू सबैको अन्तिम उद्देश्य शान्ति स्थापना, मानव कल्याण, आर्थिक तथा भौतिक विकास नै हुन् । सिद्धान्तहरू अत्यन्त राम्रा मन छुने भए पनि व्यवहारतः जनताले चाहेको शान्ति, समृद्धि र सामाजिक सद्भावको कमि छ । अन्तर्राष्ट्रिय क्षेत्रमा भएका प्रगतिको पछौटेपनबाट सिर्जित बाध्यात्मक परिवर्तनहरू अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरेपश्चात पालन गर्नुपर्ने बाध्यात्मक नियमबाट देखा परेका परिवर्तनहरू जुन केही देशको निमित्त आवश्यक छन् भने केही बाध्यात्मक । यस्ता परिवर्तनहरूलाई देशको राजनैतिक पार्टीले नितान्त आफ्नो पक्षबाट मात्र गरिएको राष्ट्रिय परिपवर्तनको संज्ञा दिई देशको समृद्धिसँग जोडेर जस दिने काम गर्दछन् । सँगसँगै त्यही कामको अन्य सबै राजनीतिक दलहरूले मैले गरेको हो, मेरो पार्टीले गरेको हो भनी बारम्बार दोहोर्‍याइरहन तँछाडमछाड गर्दछन् ।

देशको पछिल्लो विकास गतिविधि हेर्दा भौतिक परिवर्तनलाई मात्र मुख्य परिवर्तनको आधार हो भनी बुझाउन अर्बौं पैसा भ्यूटावरका नाममा खर्चिइरहेका छन्; त्यो पनि ठूला–ठूला डाँडा–काँडाहरूमा । क्षमता, दक्षता र बुद्धिमत्ताको अत्यधिक प्रयोगबाट सक्छन् भने सगरमाथाको चुचुरोमा समेत सिमेन्ट र बालुवाको प्रयोगबाट भ्यूटावर बनाउन् ।

हामी युवा पुस्ताले कहिलेसम्म गुणात्मक परिवर्तनको आशा गर्ने, आशा भरोसा नभएका नेताहरूबाट ? आफ्नो बदनामी लुकाउनकै लागि आफ्नो भन्दा अर्को पक्षको ठूलो बदनामी भएको छ भन्दै घोक्रो फुलाई भाषण गर्ने व्यक्तिहरूबाट कहिलेसम्म परिवर्तनको लहर आउला र जीवनयापनमा सहजता होला भनी आशा गर्ने ? कहिलेसम्म आशा गर्ने कि नेपालको आर्थिक सामाजिक विकासबाट हाम्रा दक्ष–अदक्ष दाजुभाइ, दिदीबहिनीहरू तेस्रो मुलुकमा श्रम बेच्न जानु नपरोस् भनी ? कहिले आउला त्यो दिन, जुन दिन अन्य तेस्रो मुलुकबाट दक्ष–अदक्ष जनशक्ति नेपाल सरकारसँग श्रम स्विकृति लिई नेपाली बजारमा श्रम गर्न आउने ? अब सोच्ने बेला भएन र ?

अबको चुनावी सभामा नेताहरू भाषण गर्नेछन्, नेपालमा विकास र समृद्धिको लहर आइसक्यो, देशले गणतन्त्र पाइसक्यो । तर दुर्भाग्य नेपालमा परिवर्तनको लहर आएकै छैन । विकास र समृद्धिको लहर आएकै छैन । यदि लहर नै आएको हुन्थ्यो भने सबै राजनीतिक दलहरू पार्टीगत स्वार्थबाट माथि उठ्थे होलान् । सबै पार्टीहरू परिवर्तनका लागि एकजुट हुन्थे होलान् । शान्ति स्थापनाकै लागि सडकमा टायर बाल्दैनथे होलान् । बन्दको विरोधमा बन्द भन्दै बाटोमा उत्रिनुपर्ने अवस्था ल्याउँदैनथे होलान् । मानव कल्याण र सामूहिक हितको बाटोमा हिंड्थे होलान् । एक राजनैतिक दलले अर्को राजनैतिक दललाई विना स्वार्थ विकासमा हातेमालो गर्थे होलान् । सत्ता पक्ष र प्रतिपक्ष दुबैले विकासका नयाँ योजना ल्याई विरोधाभास तथा बहुअर्थी बाझिएको कानुन हटाउँथे होलान् । भौतिक प्रगतिका साथसाथै गुणात्मक सुधारमा बढी ध्यान दिन्थे होलान् । नाना, खाना र छाना सबै मानव जातिको नैसर्गिक अधिकार हो भन्ने मान्यतालाई आत्मसात् गर्दै अघि बढ्थे होलान् । नेपालको कूटनैतिक, राजनैतिक, धार्मिक, सांस्कृतिक विकासमा सबैको साझा अबधारणा बनाई बाह्य राष्ट्रहरूसँग कूटनैतिक मर्यादा कायम राखी प्रस्तुत हुन्थे होलान् । देशको आवश्यकता र हितलाई सर्वोपरि राखी अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हस्ताक्षर गर्थे होलान् ।

देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दा अबको राजनैतिक मार्गदर्शनमा पुस्ता हस्तान्तरण विषयको गहन अध्ययन जरूरी देखिन्छ । पुस्ता हस्तान्तरणको अवधारणा ल्याई व्यवहारगत परिवर्तनतर्फ अग्रसर हुनसक्ने अवस्था भयो भने मात्र देशले युवा नेतृत्व प्राप्त गर्न सक्छ । राजनीति के हो र कस्ता व्यक्तिलाई चुनावी मैदानमा जिताउन आवश्यक छ र कस्तालाई छैन भन्ने कुरा आम मतदाता आफैंले पनि त्यस ठाउँका लागि उपयुक्त जनप्रतिनिधिको छनोट गर्नुपर्ने हुन्छ । जसबाट देशमा एक प्रकारको राजनीतिक छलाङ आओस् । राजनीति र नेता भन्ने वित्तिकै मानसपटलमा रहेको फोहोरी खेलको अवधारणालाई सफाइले पखाल्न सकियोस् । राजनीतिको आवश्यकतामाथि सकारात्मक परिवर्तन आओस्, सबैलाई शुभकामना ।



source https://www.onlinekhabar.com/2022/04/1117336

काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गर्दै

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्दैछिन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् ।

उनको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय समेटिएको स्रोतले बतायो ।

सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उपमेयरको उम्मेदवार भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।

नेकपा एमालेबाट पूर्वमेयर केशव स्थापित मेयरमा र सुनिता डंगोल उपमेयरमा उम्मेदवार छन् ।



source https://www.onlinekhabar.com/2022/04/1117326

इन्टर पराजित हुँदा एसी मिलानलाई फाइदा

१५ वैशाख, काठमाडौं । इन्टर मिलानले अग्रता लिएर पनि कायम राख्न नसक्दा इटालियन सिरी ए मा बोलोग्नासँग हार बेहोरेको छ । बोलोग्नासँग २-१ ले पराजित भएपछि इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

यस नतिजाले एसी मिलानलाई भने फाइदा पुगेको छ । लिगमा अब चार खेल बाँकी रहँदा एसी मिलानले इन्टरमाथि २ अंकको प्रष्ट अग्रता कायम गरेको छ ।

बोलोग्नाको मैदानमा भएको खेलको तेस्रो मिनेटमै इभान पेरिसिचले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर त्यसलाई इन्टरले कायम राख्न सकेन भने बोलोग्नाले पुनरागमन गर्‍यो ।

मार्को अर्नाउटोभिचले २८औं मिनेटमा बोलोग्नाका लागि बराबरी गोल फर्काए ।

८१औं मिनेटमा इन्टरका गोलकिपर समिर हान्डानोभिचको गल्तीमा निकोला सानसोनले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए ।

हारपछि इन्टर ३४ खेलबाट ७२ अंकसहित दोस्रो स्थानमै छ । समान खेलबाट ७४ अंकसहित एसी मिलान शीर्ष स्थानमा छ । बोलोग्ना ३४ खेलबाट ४२ अंकसहित १३औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/04/1117329

च्याम्पियन्स लिग : लिभरपुलले हरायो भियारियललाई

१५ वैशाख, काठमाडौं । दोस्रो हाफमा दुई गोल गर्दै इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब भियारियललाई २-० ले पराजित गरेको छ । एन्फिल्डमा प्राप्त यस जितपछि लिभरपुल दोस्रो लेगअघि आरामदायी अवस्थामा हुनेछ र फाइनल नजिक पुगेको छ ।

लिभरपुलको जित्दा साडियो मानेले एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो ।

लिभरपुल पछिल्लो पाँच सिजनमा तेस्रो पटक फाइनल नजिक पुगेको हो । २०१८ को फाइनलमा रियल मड्रिडसँग हारेको लिभरपुलले २०२० मा उपाधि जितेको थियो ।

भियारियलविरुद्ध लिभरपुलले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेको हो ।

५३औं मिनेटमा भियारियलका पेरभिस इस्टुपिननले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता बनायो ।

आफ्नै पोस्टका दिशा दिएपछि पहिलो गोल आत्मघाती रह्यो । ५५औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

लिभरपुल र भियारियलबीचको दोस्रो लेग मे ४ मा भियारियलको मैदानमा हुनेछ ।

यस सिजन चार उपाधिको होडमा रहेको लिभरपुलले इंग्लिस लिग कपको उपाधि जितिसकेको छ । त्यसमा अब च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जित्ने अवसर पनि लिभरपुलसामु छ ।



source https://www.onlinekhabar.com/2022/04/1117323

चितवनमा रातिदेखि लागेको आगो आज बिहान ७ बजेमात्रै नियन्त्रणमा, ६ वटा पसल जले

१५ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।

आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रहरीका अनुसार विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

आज बिहान करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो ।

त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।

सबैको प्रयासमा आज बिहान ७ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी अधिकारीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/04/1117321

नारायणगढको कमलनगर चोकमा आगलागी

१५ वैशाख, चितवन । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ ।

भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएरातिदेखि लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

डिएसपी नरहरी अधिकारीका अनुसार प्रहरीले आगो लागेको जानकारी आज बिहानपख २ बजेमात्रै पाएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो ।

सुरुमा भरतपुर महानगरपालिकाको एउटा दमकल बोलाएर आगो निभाउन सुरु गरे पनि त्यसलमात्र नसकेपछि खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकल पनि झिकाइएको थियो । ‘चारवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अब दुई/चार प्रतिशत आगो निभाउन बाँकी छ,’ डिएसपी अधिकारीले भने ।

आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर नष्ट भएका छन् । विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भने नभएको डिएसपी अधिकारीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/04/1117306

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो ।

गुजरातका ओपनर्स रिद्धिमान साहले ६८ र शुभमन गिलले २२ रन बनाए । यस्तै डेभिड मिलरले १७ रन योगदान गरे । राशिद खानले ११ बलमा ३१ रन र राहुल टेविटियाले २१ बलमा ४० रन बनाए । दुवै खेलाडीले छैटौं विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे ।

हैदरावादको तर्फबाट उमराम मलिकको बलिङ उत्कृष्ट रह्यो । उनी एक्लैले गुजरातका आधा खेलाडीलाई पवेलियन फर्काइदिए । २५ रन दिएर ५ विकेट लिएका उनी म्यान अफ द म्याच चुनिए ।

यस खेलपछि ८ खेलबाट १४ अंकका साथ गुजरात शीर्ष स्थानमा कायम छ । ८ खेल नै खेलेको हैदरावाद १२ अंकका साथ दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/04/1117302

Tuesday 26 April 2022

मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

१४ वैशाख, काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।



source https://www.onlinekhabar.com/2022/04/1116730

च्याम्पियन्स लिग : सिटीले रियललाई ४-३ ले हरायो

१४ वैशाख काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिडलाई ४-३ ले पराजित गरेको छ ।

सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा गोलको वर्षा हुँदा सिटीले दोस्रो लेगमा मड्रिड भ्रमण गर्नुअघि एक गोलको अग्रता कायम गर्न सफल भएको छ ।

फर्ममा रहेको करिम बन्जेमाले दुई गोल गरेपनि रियलाई हार टार्न पर्याप्त भएन ।

घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै केभिन डे ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने गाब्रीएल जेससले ११औं मिनेटमा अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ५३औं मिनेटमा फिल फोडेनले गोल गर्द सिटीलाई ३-१ को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए ।

गोलको श्रृंखला भने अझै रोकिएन । ७४औं मिनेटमा बर्नानर्डो शिल्भाले गोल गरेपछि सिटीले ४-२ को अग्रता बनायो । त्यसपछि ८२औं मिनेटमा रियलले पेनाल्टी पायो र बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-३ को अवस्थामा पुर्‍याए । त्यसपछि थप गोल भएन र सिटी विजयी भयो ।



source https://www.onlinekhabar.com/2022/04/1116751

गण्डकीका पालिकामा अधिकांश पुरानै अनुहार, दोहोर्‍याउनेमा एमाले धेरै

१४ वैशाख, पोखरा । सत्ता गठबन्धनले बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट धनबहादुर विक ‘हिमाल’लाई उठाउने निर्णय गर्‍यो । तर, गठबन्धनको उक्त निर्णयबाट पालिका प्रमुखसमेत रहेका प्रकाश घर्ती सन्तुष्ट भएनन् । अघिल्लो पटक उनले माओवादी केन्द्रबाटै अध्यक्ष जितेका थिए ।

पालिका प्रमुखमा दोहोरिन राजीनामा दिइसकेको अवस्थामा पनि पार्टीले टिकट नदिएपछि घर्तीले सोमबार बागी (स्वतन्त्र) उम्मेदवारी दर्ता गरे । पालिका कमिटीले आफूलाई नै टिकट दिने गरी सिफारिस गरेपनि माथिल्लो तहले नदिएको भन्दै उनले पुनः उम्मेदवारी दिएको बताएका छन् ।

गण्डकीमा पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन इच्छा राख्ने र उम्मेदवारी दिने घर्तीमात्रै होइनन् । भौगोलिक रुपमा देशकै ठूलो महानगर पोखराको उपप्रमुखमा पनि मञ्जुदेवीलाई दोहोर्‍याउने गरी नेकपा एमालेले मनोनित गरेको हो । तर, यसबाट गुरुङ भने सन्तुष्ट भएकी छैनन् ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि गुरुङले असन्तुष्टि पोखिन् । ‘दोहोरिन मन भए पहिल्यै लिस्टमा नाम दिन्थें । ठीक छ, पार्टीको निर्णय मान्नुपर्छ । तर, एक पटक सोध्नुपर्थ्यो,’ मिडियालाई प्रतिक्रिया दिँदै उनले भनेकी छन् । शनिबार एमालेको केन्द्रीय सचिवालय बैठकले उनलाई उपप्रमुखमा दोहोर्‍याउने निर्णय गरेपछि अस्वीकार गरेकी पनि थिइन् । तर, सचिवालय बैठकले प्रमुखको नाम फेर्‍यो, उनको नाम फेरेन ।

कास्कीकै रुपा गाउँपालिकामा पनि निवर्तमान पालिका अध्यक्ष र उपाध्यक्षले जनप्रतिनिधिका रुपमा दोहोरिन उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी भएका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङले पुनः दोहोरिन उम्मेदवारी दिएका हुन् ।

कास्कीकै अन्नपूर्ण गाउँपालिकाका युवराज कुँवरले पुनः पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । पोखरामा ५ पालिकामध्ये नेपाली कांग्रेसले अन्नपूर्ण गाउँपालिका प्रमुखमा मात्रै जितेको थियो । उनै कुँवरले पुनः पालिका प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

हिमाली जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पनि पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । ०७४ सालमा स्वतन्त्रबाट पालिका प्रमुखमा विजयी भएका विष्ट पनि नेकपा एमाले प्रवेश गरेका थिए । यसपटक उनी नेकपा एमालेबाटै पालिका प्रमुखमा भिड्न लागेका हुन् । मनाङको डिस्याङ गाउँपालिका प्रमुखमा कान्छा घलेलाई नै नेकपा एमालेले दोहोर्‍याएको छ ।

बागलुङको बागलुङ नगरपालिकाका निवर्तमान प्रमुख जनकराज शर्माले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट उनी पालिकामा दोहोरिन पुनः उम्मेदवारी दिएका हुन् । उनको प्रतिद्वन्द्वीमा अघिल्लो चुनावमा उनीसँगै पराजित सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ छन् ।

त्यस्तै, पर्वतबाट पनि पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन ३ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये फलेवासमा हालकै प्रमुख र उपप्रमुख दोहोरिने गरी नेकपा एमालेले सिफारिस गरेको थियो ।

पर्वतमा पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दिनेमा कुश्मा नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका रामचन्द्र जोशी, फलेवास नगरपालिका निवर्तमान मेयर एमालेका पदमपाणि शर्मा, उपप्रमुख एमालेकै मञ्जुदेवी अधिकारी छिन् ।

स्याङ्जाका विभिन्न पालिकाका ६ जना पालिका प्रमुख/उपप्रमुख दोहोरिन उम्मेदवारी दिएका छन् । स्याङ्जाको पुतलीबजारमा प्रमुख र उपप्रमुख दुवै दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट विजयी भएका नगरप्रमुख सीमा क्षेत्री र उपप्रमुख महेश पुरीलाई नै एमालेले दोहोर्‍याएको छ ।

त्यस्तै, स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिका हालकी उपप्रमुख प्रमुखमा दोहोरिन मनोनयन दर्ता गरेकी छन् । नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी चिनमाया गुरुङले पालिका प्रमुखमा उम्मेदवारी दिएकी हुन् ।

कालीगण्डकी गाउँपालिकाका निवर्तमान प्रमुख खिमबहादुर थापा पनि जनप्रतिनिधिमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट प्रमुख पद जितेका थापालाई सोही पदमा दोहोर्‍याउने पार्टीले निर्णय गरेको हो ।

स्याङ्जाकै हरिनाश गाउँपालिका प्रमुखमा अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी भएका खिमनारायण मानन्धर यसपटक पनि दोहोरिन उम्मेदवारी दिएका छन् । त्यस्तै, फेदीखोला गाउँपालिकाका घनश्याम सुवेदीले पनि पुनः दोहोरिन उम्मेदवारी दिएका छन् ।

तनहुँमा पनि पालिका प्रमुखमा दोहोरिनेको लर्को छ । तनहुँको देवघाट गाउँपालिकामा प्रमुखमा दोहोर्‍याउन नेकपा एमालेबाट दुर्गाबहादुर थापाले उम्मेदवारी दिएका छन् । आँबुखैरेनी गाउँपालिकामा दोहोरिन कांग्रेसका गिरबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै बन्दीपुर गाउँपालिकाको हालकै अध्यक्ष र उपाध्यक्षमा दोहोरिन उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णसिंह थापा र उपाध्यक्षमा करुणा गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् । म्याग्दे गाउँपालिकामा कांग्रेसका माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे दोहोरिन उम्मेदवारी दिएका छन् ।

भिमाद नगरपालिका उपप्रमुखमा दोहोरिन एमालेकी शारदा खनालले उम्मेदवारी दिएकी छन् । ऋषिङ गाउँपालिकामा दोहोरिन नेपाली कांग्रेसले हालकै अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापाको उम्मेदवारी दर्ता गराएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1116735

कर्णालीमा रहेन सत्ता गठबन्धन, एक्ला एक्लै उम्मेदवारी

१३ वैशाख, सुर्खेत । सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णाली प्रदेशका आठ जिल्लामा सोमबारमात्रै जिल्लास्तरमा भागबन्डाको टुंगो लगाएर पठाएको थियो । उक्त सहमति पालिकामा कायम रहन् सकेन् ।

सत्ता गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका ७९ मध्ये ६४ पालिकामा सिट बाँडफाँट गरेर साझा उम्मेदवार उठाउन प्रदेश संयन्त्रले निर्देशन दिएका थियो । तर, अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ ।

देशैभर गठबन्धन मिलाउने जिम्मा पाएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेत र रुकुम पश्चिममा भने गठबन्धनका दलहरूबीच तालमेल नै हुन सकेन । दलहरूले एक्ला एक्दै उम्मेदवारी दिएका छन् ।

प्रदेशका कतिपय पालिकामा गठबन्धनभित्र पनि गठबन्धन गरिएको छ । कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भएका भएका छन् ।

दैलेखमा दलबदल गरेर उम्मेदवारी

दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाटै छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ । नारायणमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गरिएको भागबन्डा  अनुसार कांग्रेसबाट मेयरमा निर्मला खड्का र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको मनोनयन दर्ता भएको छ ।

अन्य स्थानीय तहमा गठबन्धनमा रहेका दलहरूले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । जिल्लाको भैरवी गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसले पाउने गरी गठबन्धन दलबीच सहमति भएको थियो । तर, दलहरूले छुटाछुटै उम्मेदवार उठाएका छन् ।

कांग्रेसबाट अध्यक्षमा रीता शाही र उपाध्यक्ष्मा देवी भण्डारीले उम्मेदवारी दिएकी छिन् भने माओवादी केन्द्रले पनि अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएको छ । त्यस्तै एकीकृत समाजवादीका जगतप्रसाद आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनको सहमति अनुसार नौमुले गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले पाउने टुंगो लागेको थियो । तर कांग्रेसबाट अध्यक्षमा मदे बुढा मगर र उपाध्यक्षमा अंमृता सिहंले उम्मेदवारी दिएकी छिन् । यी दुवैजना दुवै जनाले २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।

त्यस्तै माओवादीबाट पनि छवि सुवेदीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीबाट गंगबहादुर शाहीले उम्मेदवारी दिएका छन् । यहाँ माओवादी र समाजवादीबीच गडबन्धन गरिएको छ ।

समाजवादीबाट उपाध्यक्षमा उम्मेवदारी दिएका शाही नेपाली कांग्रेस नौमुले गाउँपालिकाको पार्टी सभापति थिए । उनी पार्टीले टिकट नदिएपछि सोमबार नै राजीनामा दिएर समाजवादीमा लागेका थिए ।

डुंगेश्वर गाँपालिकामा कांग्रेसकी एलिजा थापाले बागी उम्मेदवारी दिएकी छिन् । त्यहाँ अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले पाउने गठबन्धन दलबीच सहमति भएको थियो । तर कांग्रेसले दुवै पदमा उम्मेदवारी दिएको छ ।

अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसले पाउने सहमति भएको महावु गाउँपालिकामा दुवै पार्टीले दुईवटै पदमा उम्मेदवारी दिएका छन् । समाजवादीका जंगबहादुर शाही अध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्षमा पुण्य प्रभा दशौदी छिन् । नेपाली कांग्रेसकी केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेकी दशौदी समाजवादीमा प्रवेश गरेर उपाध्यक्ष बनेकी छिन् ।

कांग्रेसबाट अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा मन्जु पाण्डेले उम्मेदवारी दिएकी छिन् ।
कांग्रेसले दैलेखमा सत्ता गठबन्धन दलहरूबीचको भागबन्डा अनुसार आफ्नो उम्मेदवारहरू कायम गर्न निर्देशन दिएको छ ।

हुम्लाका सबै पालिकामा बागी उम्मेदवार

सात स्थानीय तह रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको छ । ताँजाकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका  कर्णाली प्रदेशका सह-सचिव लालकेश जैसीले मनोनयन दर्ता गरेका छन् । टिकट नपाएपछि माओवादी केन्द्रकै गोपाल बुढा र अकबिर खडकाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा उम्मेदवार बनेका छन् । उपाध्यक्षमा कांग्रेसका तिलकबहादुर शाहीले पनि उम्मेदवारी दिएका छन् ।

अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फ अध्यक्षमा कांग्रेसका मोहनबिक्रम सिहं र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकायाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट रुष्ट रहेका लोकेन्द्रबहादुर भण्डारीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष माओवादीका गोविन्दबहादुर शाही, गठबन्धनकै उपाध्यक्षमा कांग्रेसकी मैना बुढाको उम्मेदवारी परेको छ । गठबन्धनबाट रुष्ट प्यारीलाल शाहीले अध्यक्ष र माओवादीका भैरव तामाङले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ । एमालेबाट अध्यक्षमा विमलाकुमारी शाही र समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।

सर्केगार्ड गाउँपालिकामा कांग्रेसकै मानदेव शाही र माओवादी केन्द्रका अकिल बुढाको स्वतन्त्र उम्मेदवारी परेको छ । उपाध्यक्षमै स्वतन्त्रमा ज्योति शाहीले पनि उम्मेवारी दिएकी छन् ।

खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कांग्रेसका अंगबहादुर शाहीले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सिमकोट गाउँपालिका कांग्रेसकै नन्दबहादुर शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तैगरी उपाध्यक्षमा पनि कांग्रेसकै दीपबहादुर शाहीले उम्मेदवारी दिएका छन् । नाम्खा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट स्वतन्त्रमा सूर्य लामा, कार्मा टुण्डुप लामा र कांग्रेसकै माया लामाले मनोनयन दर्ता गराएकी छिन् ।

कालीकोटमा माओवादी र एमालेबीच तालमेल

कालीकोटमा ९ वटा पालिकामध्ये अधिकांश पालिकाहरूमा गठबन्धनका दलहरुबीच अलग-अलग उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रका कालीबहादुर महतारा र हजार सुनारले रास्कोट नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् । रास्कोटमा गठबन्धनका तर्फबाट माओवादीका मेयरमा धर्मराज शाही र उपमेयरमा एकीकृत समाजवादीका मनिराज बरालले उम्मेदवारी दिएका छन् । गठबन्धन दल कांग्रेसबाट नवराज बरालले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिका पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

महावै गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन गरिएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट खेमबहादुर सिंह (भिजन) र एमालेबाट उपाध्यक्षमा दानसिंह सेजुवालले साझा उम्मेदवारी दिएका छन् । माओवादी बलियो रहेको महावैमा एमालेवीच तालमेल भएको हो ।

जाजरकोटका पाँच पालिकामा भाँडियो गठबन्धन

सात वटा पालिका रहेको जाजरकोटमा छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा गठबन्धन भएको छ । तर अन्य पाँच पालिकामा भने कतै बागी त कतै छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

सदरमुकाम भेरी नगरपालिकामा गठबन्धनको सहमति अनुसार मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसले पाउने छन् । तर नेकपा माओवादी केन्द्रले मेयर र उपमेयर कुनै पद नपाएपछि गठबन्धनबाट बाहिरिएर उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका कमान खड्का र उपमेयरमा कांग्रेसकी सीता जैसीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट गगन खड्काले मेयरमा र कृष्ण शर्माले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका सदन कार्कीले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

नलगाड नगरपालिकामा कांग्रेसभित्रै किचलो देखिएको छ । माओवादीले मेयर र कांग्रेसले उपमेयर पाउने गठबन्धनबीच सहमति भए पनि कांग्रेसका तीन जनाले मेयरमा उम्मेदवारी दिएका छन् ।

छवि पन्त, तेजबहादुर खत्री र बिनबहादुर सिंहले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसकी सुनिता सिंहले उपमेयरमा मनोनयन गराएकी छिन् । माओवादी केन्द्रबाट भने गठबन्धनको निर्देशन अनुसार मेयरमा डमर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको कुशे गाउँपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा पनि सत्ता गठबन्धन दलहरूले छुटा छुटै उम्मेदवारी दर्ता गराएका छन् ।

सल्यानमा माओवादी र समाजवादीबीच गठबन्धन

१० वटा पालिका रहेको सल्यानमा सत्ता गठबन्धनमा आवद्ध कांग्रेस बाहिरिएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

जिल्लामा सत्ता गठबन्धनले नेपाली कांग्रेस चार, माओवादी केन्द्र चार र एकीकृत समाजवादीले दुई पालिका प्रमुख पाउने सहमती गरेको थियो । तर नेपाली कांग्रेसले गठबन्धनबाट बाहिरिएर १०  वटै पालिकामा एकल उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर १० पालिकामा संयुक्त उम्मेदवार उठाएका छन् । सात पालिका प्रमुखमा माओवादी र तीन पालिका प्रमुखमा समाजवादीले उम्मेदवारी दिएको छ ।

माओवादीले बागचौर, दार्मा र कुमाख गाउँपालिकामा पूरै सिटमा उम्मेदवारी दिएको छ । सारदा नगरपालिका, कुपिण्डे बन्गाड नगरपालिका र कालीमाटी गाउँपालिकाको प्रमुख र अध्यक्षमा माओवादीले उम्मेदवारी दिएको छ ।

सिद्धकुमाख, छत्रेश्वरी, कपुरकोट र त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका उम्मेवारले मनोनयन दर्ता गराएका छन् । सात पालिकाको उपप्रमुख/उपाध्यक्षमा माओवादी र तीन पालिकाको उपप्रमुख/उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारले मनोनय गराएका छन् ।

हिमाली जिल्लामा पनि एक्ला एक्लै

कर्णाली प्रदेशका तीन हिमाली जिल्ला डोल्पा, जुम्ला र मुगुमा सत्ता गठबन्धन दलहरुबीच भागबन्डाको सहमति जुटे पनि तालमेल हुन सकेन् । डोल्पाका ८ वटै पालिकामा गठबन्धन भत्किएको छ ।

सत्ता गठबन्धनका दलहरूले एक्लाएक्लै उम्मेदवार उठाएका छन् । डोल्पामा बलियो देखिएको नेकपा एकीकृत समाजवादीले पूरै पालिकामा एकल उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि आ-आफनो तर्फबाट उम्मेदारी दिएका छन् ।

डोल्पाका केही पालिकामा भने एकीकृत समाजवादीले दम्भ देखाएको आरोप लगाउँदै  माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ ।

अर्को हिमाली जिल्ला मुगुमा खत्याड गाउँपालिका बाहेक अन्य तीन पालिकामा गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस बलियो रहेको मुगुमा कांग्रेसले पेलेरै जान खोजेको  आरोप लगाउँदै माओवादी र समाजवादीले पनि एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । मुगुमा जम्मा चार स्थानीय तहमात्रै छन् ।

जुम्लामा पनि सत्ता गठबन्धन दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । आठ स्थानीय तह रहेको जुम्लामा माओवादी केन्द्र बलियो छ ।



source https://www.onlinekhabar.com/2022/04/1116734

हुम्लाको नाम्खा गाउँपालिकामा दलित वडा सदस्यको उम्मेदवारी नै परेन

१४ वैशाख, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी नै परेन । निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६ वडामध्ये कुनैमा पनि दलित महिला वडा सदस्यको मनोनयन परेको छैन ।

उक्त गाउँपालिकाको ६ नम्बर वडा सदस्यमा पनि स्वतन्त्रतर्फ एकजनाको मात्रै उम्मेदवारी परेको छ ।



source https://www.onlinekhabar.com/2022/04/1116736

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर ३ बल खेल्दै ११५ रन मात्रै बनायो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोडे, वानिन्दु हसरंगाले १८, साहबाज अहमेदले १७ र रजत पाटिदरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

राजस्थानका कुलदिप सेनले ४,  रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २  विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

राजस्थानका रियान परागले ५६ रन, कप्तान सन्जु सामसनले २७, रविचन्द्र आश्विनले १७ र दर्याद मिचेलले १६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।

बैंग्लोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले समान दुई/दुई विकेट लिए ।

यो जितसँगै राजस्थान १२ अंकका साथ पहिलो स्थानमा छ । ८ खेल लेखेको राजस्थानले ६ मा जित र दुई खेलमा हार व्यहोरेको छ ।

राजस्थानभन्दा एक खेल कम खेलेको गुजरात टाइटान्सको पनि १२ अंक छ । तर, रन रेटका आधारमा दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/04/1116729

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More