५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरातटाइटान्सले चेन्नाइ सुपर किंसमाथि रोमाञ्चित जित निकालेको छ । आइतबार राति भएको खेलमा मध्यक्रमका ब्याट्सम्यान डेविड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईमाथि तीन विकेटको जित हात पारेको छ ।
पहिले ब्याटिङ गरेको चेन्नाइले गुजरातलाई १७० रनको लक्ष्य लिएको थियो । उक्त लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाउँदै भेटायो ।
जितका लागि गुजरातका डेविड मिलरले एक्लै अविजित ९४ रनको योगदान गरे । खराब स्थितिमा पुगिसकेको गुजरातलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । क्रिजमा रहेका मिलरले छक्का र चौथो प्रहार गरेपछि गुजरात जित नजिक पुग्यो । अन्तिम २ बलमा गुजरातलाई दुई रन नै आवश्यक थियो र मिलरले पाँचौ बलमै दुई रन लिएर जिताए ।
अन्तिम दुई ओभर बाँकी हुँदा गुजरात खराब स्थितमा थियो ।१८ बलमा ४८ रन चाहिएको थियो । यो अवस्थामा कार्यवहाक कप्तान राशिद खानले एक ओभर (१८औं ओभर) मा तीन छक्का र एक चौकासहित २५ रन जोडेपछि खेल गुजरातको पक्षमा फर्कियो । राशिद २१ बलमा २ चौका र ३ छक्कासहित ४० रनमा आउट भएका थिए ।गुजरातका अन्य ब्याट्सम्यान भने चलेनन् ।
चेन्नइका ड्वेन ब्राभोले चार ओभरमा एक मेडनसहित तीन, महेश थिक्सेनाले दुई, रवीन्द्र जडेजा र मुकेश चौधरीले समान एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६९ रन बनाएको थियो । ऋतुराज गायकवाडले ७३, अम्बाती रायुडूले ४६, रविन्द्र जडेजाले २२, शिभव दुवेले १९, रोबिन उथप्पाले ३ र मोईन अलीले एक रनको योगदान गरे ।
गुजरातका अल्जारी जोशेफले दुई, मोहम्मद शामी र यश दयालले एक/एक विकेट लिए ।
आफ्नो छैटौं खेलमा रोमाञ्चित जित निकालेको गुजरात १० अंकसहित तालिकाको शीर्षस्थानमा छ । ६ खेलमा गुजरातले एक खेल मात्रै गुमाएको छ । चेन्नाइ भने ६ खेलमा पाँच हार व्यहोर्दै अंक दुई अंकका साथ तालिकाको ९औं स्थानमा छ ।
source https://www.onlinekhabar.com/2022/04/1111081
0 comments:
Post a Comment