११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान फेरि बस्दै छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लाग्न नसकेपछि आज टुंग्याउने कसरतमा कांग्रेस नेताहरु जुटेका छन् । कांग्रेस महामन्त्री गगन थापाले आज उम्मेदवारहरुको टुंगो लाग्ने बताए ।
विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा कांग्रेसभित्र एकमत छैन ।
कोइराला र निधिले जिल्ला सभापति र नगर सभापति काठमाडौंमा हुँदा प्रकाशमानको माग सम्बोधन हुने तर मोरङमा नेता शेखर कोइराला पक्षको जिल्ला सभापति र नगर सभापति हुँदा कोइरालाको बोली किन सम्बोधन नहुने भन्ने भन्दै नागेशलाई नै टिकट दिनुपर्ने अडान राखेका छन् । तर कृष्णप्रसाद सिटौलाले पराजुलीलाई दोहोर्याउनुपर्ने भनेपछि एकमत हुन नसकेको कांग्रेसका एक नेताले बताए ।
यसैगरी चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकाका उपमेयरको उम्मेदवारमा पनि कांग्रेस नेताहरुको एकमत छैन ।
भरतपुरमा महानगर सभापति चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवाले चाहे पनि रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा छन् ।
पोखरामा रामचन्द्र पौडेल र शेखर कोइराला कोपिला रानाभाटको पक्षमा छन् तर देउवा सुरेन्द्र विजुक्छेको पक्षमा छन् । बिजुक्छे नेपाली कांग्रेस पोखराको नगर सभापति हुन् ।
ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ ।
आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम भएकाले आन्तरिक विवाद मिलाएर उम्मेदवारहरु छिटो टुंगो लगाउनुपर्ने दबावमा नेपाली कांग्रेसमा परेको छ ।
source https://www.onlinekhabar.com/2022/04/1114492
0 comments:
Post a Comment