Wednesday 20 April 2022

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज मध्याह्न काठमाडौं आउँदै

८ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् ।

महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् ।

डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् ।

तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् ।

नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । गेब्रेयसस नेतृत्वको टोली वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।



source https://www.onlinekhabar.com/2022/04/1112846

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More