Tuesday 31 December 2019

रासायनिक विषादीको प्रयोगबारे बेलैमा सोचौं

रासायनिक विषादी कृषिमा कीराहरू र रोगहरुको व्यवस्थापनका लागि विश्वव्यापी अभ्यासका रूपमा प्रयोग गरिन्छ र नेपालमा पनि यसको प्रयोग हुनु कुनै अपवाद होइन ।

सन् १९३९ मा पउल मुलरले डाईक्लोरो डाईफेनिल ट्राइक्लोरोइथेन (डी.डी.टी) को आविष्कार गरेपछि, विश्वव्यापी रूपमा रासायनिक कीटनाशक विषादीको प्रयोग बढ्यो । नेपालमा रासायनिक विषादी प्रयोगको इतिहास सन् १९५० को दशकमा मलेरिया रोग सार्ने लामखुट्टेको नियन्त्रणका लागि डी.डी.टीको प्रयोगबाट सुरू भयो । त्यस बेलादेखि नै नेपालले रासायनिक विषादीलाई कीट नियन्त्रणको माध्यमका रूपमा उपयोग गर्न जोड दिइरहेको छ, जुन देशको विभिन्न कृषिगत नीतिहरुले राम्रोसँग समर्थन गर्दछ ।

नेपालमा लामो समयअवधि भएका रासायनिक विषादीहरुको प्रयोग बढ्दै जानु र प्रयोगकर्ताले कुनै पनि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) बिनानै विषादी प्रयोगगर्नु चिन्ताको विषयको रुपमा रहिरहेको छ, जसले गर्दा मानव स्वास्थ्य सँगसगै माटो, पानी र वातावरणमा पनि बिभिन्न हानिकारक प्रभाव निम्त्याइरहेको छ ।

नेपालमा रासायनिक विषादी प्रयोगको अवस्था

नेपालमा करिब ३०३५ वटा व्यापारिक नाम भएका पंजीकृत रासायनिक विषादीहरु छन् र उनीहरूको सामान्य नाममा रहेका पंजीकृत रासायनिक विषादीहरु १७० वटा रहेका छन् । व्यापारिक नाममा पाइने रासायनिक विषादीहरुको प्रयोग दिनदिनै बढ्दै गइरहेको छ । आर्थिक वर्ष सन् २०१३/१४ देखि सन् २०१७/१८ हेर्दा ५५ करोड मूल्य बराबर आयात गरिएको विषादी ४० प्रतिषतले बढेर ८४ करोड मूल्य बराबर पुगेको छ ।

तुलनात्मक रुपमा हेर्दा अन्य धेरै देशहरूको बिचमा नेपालमा रासायनिक विषादीको प्रयोग निकै कम छ । बाली संरक्षण निर्देशनालयले सन् २०१५मा गरेको सर्वेक्षणका आधारमा नेपालमा विषादीको प्रयोग ३९४ ग्राम/हेक्टर (क्रियाशील तत्व) रहेको देखाएको थियो, जुन विकसित मुलुकजस्तै जापान (१०.८ के.जी/हेक्टर) र संयुक्त राज्य अमेरिका (१.५ के.जी/हेक्टर) देशहरूको तुलनामा धेरै कम छ । यसको मतलब यो होइन कि नेपालले रासायनिक विषादीको प्रयोगमा सुरक्षित छ ।

व्यवसायिक तरकारी उब्जाउने क्षेत्रहरूले राष्ट्रिय औसत भन्दा बढी रासायनिक विषादीको प्रयोग गरिएको देखिएको छ । सन् २०१४ मा पोखरेलद्वारा गरिएको एक अध्ययनमा नेपालमा विभिन्न तरकारीमा विषादीको प्रयोग एकदमै डरलाग्दो अवस्थामा रहेको देखिएको थियो ।

अध्ययनमा सबैभन्दा बढी क्रमशः भन्टा (१६ के.जी/हेक्टर), भिँडे खुर्सानी (१२ के.जी/हेक्टर), गोलभेंडा (९ के.जी/हेक्टर) र भिन्डी (७ के.जी/हेक्टर) क्रियाशील तत्व पाइएको थियो ।

रासायनिक विषादी प्रयोग घटाउन नेपालले अपनाएको रणनीति

विशेष गरी १९७० को दशकमा विभिन्न सरकारी संस्थाहरू जस्तै कपास विकास समिति, सरकारी कृषि फार्म र अनुसन्धान केन्ऽहरू, कृषि सामाग्री कम्पनी लि., जिल्ला कृषि विकास कार्यालय र फ्रन्टलाइन विस्तारमा कृषिकर्मीहरूले नेपालमा रासायनिक विषादीे प्रयोगलाई प्रोत्साहित गरे । तर, पछि सन् १९९६ मा जब धानमा खैरे फड्केको प्रकोप देखा पर्‍यो र उच्च आर्थिक क्षति भयो, तब नेपाल सरकारले एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पी.एम्) मा जोड दिन थाल्यो । आई.पी.एम यस्तो एक प्रवर्द्धन हो जहाँ किसान क्षेत्र विद्यालय (एफ.एफ.एस्) लाई प्रोत्साहित गरिन्छ र बिरूवामा आधारित वानस्पितिक विषादी तयार गर्न सिकाइन्छ । वानस्पितिक विषादी तयार गर्दा चाहिने विभिन्न वनस्पतीहरुकोे असहज उपलबध्ता र एग्रोमा समेत यसको उपलब्धता नहुने हँदा रासायनिक विषादीसँग तुलना गर्दा यसको मात्राको हिसाबले नगण्य हुन्छ ।

नेपाल बासेल, रोटरडम र स्टकहोम सम्मेलनको हस्ताक्षरकर्ता भएकोले खतरनाक विषादी नाश र प्रतिबन्ध गर्न बाध्यता आएको छ र नेपालमा २१ वटा प्रतिबन्धित विषादीहरु छन्, जसमध्ये ५ वटा हालसालै प्रतिबन्ध लगाइएको छ । त्यस्तै, जिवनाशक विषादी ऐन (सन् १९९१), र जीवनाशक विषादी नियमावली (सन् १९९३), लाई नेपालमा विषादीको सुनिश्चित प्रयोग र सुरक्षित व्यवस्थापन गर्नका लागि प्रस्ताव गरिएको छ । यस्तै उपभोक्ता संरक्षण ऐन (सन् १९९८) जारी गरिएको थियो तर यसले पनि विषादी मुक्त कृषि उत्पादनहरू सुनिश्चित गर्दैन ।

अहिले नेपाल सरकारले नेपालका प्रमुख बजारमा विषादी मापन केन्द्र, द्रुत अवशेष प्रयोगशाला (आरबीपीआर) प्रविधि प्रयोग गरेर तरकारी र फलफूलमा विषादीको अवशेष विश्लेषण गरि किसानहरूलाइ विषादीको सुरक्षित र व्यवस्थित प्रयोग गर्नैपर्ने अवस्था सिर्जना गरेको छ ।

अन्तर र भविष्यका दिशाहरू

एकीकृत शत्रुजिव व्यवस्थापन लगभग दुई दशकदेखि रासायनिक विषादीको प्रयोग घटाउनका लागि नेपाल सरकारले अपनाएको दृढ दृष्टिकोण हो । तर र्आ.पी.एम मार्फत कृषकहरुलाई तालिम दिनु मात्रै रासायनिक विषादीको न्यूनीकरण गर्ने एक समाधान मात्र होइन । नेपालमा रासायनिक विषादीको न्यूनीकरणका लागि आईपीएम तालिममात्र दिने गरिएको छ ।

विषादी प्रयोग घटाउनका लागि पक्कै पनि बिभिन्न क्षेत्रको एकीकरणको आवश्यकता छ । पहिलो गर्नैपर्ने कार्य, भरपर्दो र प्रभावकारी सूक्ष्मजीव वा जैविक विषादीको अनुपलब्धता नै हो । किनभने आई.पी.एमको एउटा प्रमुख चिन्ता भनेको प्रभावकारी वानस्पतिक र जैविक विषादीको अभाव हो । यही कारणले, किसानहरू आई.पी.एम् र जैविक विषादी व्यवस्थापनको अभ्यास प्रयोग गर्न अनिच्छुक छन् ।

यससँगसँगै एकातर्फ नेपाल कृषि अनुसन्धान परिषद  (नार्क), नेपाल विज्ञान र प्रविधि एकेडेमी जस्ता सरकारी निकायहरूले पनि रोग, कीराहरुको व्यवस्थापनको विकल्पको रूपमा प्रभावकारी र पर्यावरणमैत्री उपकरण र टेक्नोलोजी विकास गर्न थप अनुसन्धान गर्नुपर्छ भने अर्काेतर्फ उपभोक्ताहरु माझ जागरूकता बढाउनु अर्को रणनीति हुनुपर्दछ, किनभने उपभोक्ताहरू परिवर्तनका लागि प्रमुख चालक हुन् । उनीहरूको दिमागमा अझै पनि आकर्षक, रोग र कीटनाशक मुक्त उत्पादनहरूको खोजीमा अभ्यसत छन् ।

उपभोक्ताहरूलाई सझक र जागरूक गराउन सडक नाटक साथसाथै विभिन्न इलेक्ट्रोनिक, सामाजिक र पि्रन्ट मिडिया मार्फत उपभोक्ताहरू माझ जनचेतनाको अभिवृद्धिमा जोड दिइनु पर्दछ । यसका साथै स्वास्थ्यकर्मीहरू, स्कूल शिक्षकहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक सहित प्रमुख सरोकारवालाहरूको संलग्नतालाई प्रोत्साहित गर्नु पर्दछ । बालि शिबिरको प्रवर्धन मार्फत व्यावसायिक खेती क्षेत्रहरूमा देखीएका समस्याको कारण पहिचान गरी, प्रभावकारी उपायहरूको प्रयोग र सहज उपलब्धतामा विषेश ध्यान दिनु जरुरी देखिन्छ ।

विकेन्द्रीकरण र नयाँ संरचनामा आधारित विभिन्न कृषि सेवाहरुमा पर्याप्त मानव संसाधन र सुविधाको माध्यमबाट रासायनिक कीटनाशकहरूको प्रयोग नियमन गर्नु पनि आवश्यक देखिन्छ । व्यवसायिक खेती र तरकारी उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहित गर्न, वानस्पतिक विषादीको प्रयोग र रासायनिक विषादीको सुरक्षित व्यवस्थापनसँग सम्बन्धित प्याकेज गरिएको कार्यक्रम आवश्यक छ । स्थानीय स्तरमा उत्पादित बालीमा विषादीको अवशेषहरू र बजारमा राखिएका तरकारी, फलफूल र अन्नमा पनि विषादीको अवशेष छ कि छैन भनी अनुगमनको प्रणाली आवश्यक छ ।

उपभोक्ताहरू र बजार यी दुईले कृषि प्रणालीलाई निर्देशित गर्ने प्रमुख चालक हुन् । त्यसैले हानिकारक रासायन र विषादी मुक्त उत्पादनका लागि उपभोक्ता सचेतना मार्फत खतरनाक रासायनिक विषादीको प्रयोग घटाउने दीर्घकालीन उपायका रूपमा पदोन्नति गरिनु पर्छ ।

(दुलाल कृषि स्वास्थ्य एवं वातावरण नेपाल परियोजनामा कार्यरत वरिष्ठ कृषि अधिकृत हुन्)



source https://www.onlinekhabar.com/2020/01/824917

‘दि कर्मा’को ट्रेलरमा नीता र करणको एक्सन, परमिताको कुटिलता

माघको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दि कर्मा’को ट्रेलर युटुबबाट रिलिज गरिएको छ । चलचित्रको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायिका नीता ढुंगाना र नायक करण वर्मालाई एक्सन अवतारमा देखाइएको छ ।

नायिका परमिता आर एल राणा र कलाकार वुद्दि तामाङलाई भने नेगेटिभ भूमिकामा प्रस्तुत गरिएको छ । देवकुमार श्रेष्ठले यो चलचित्रको निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा निर्माता जयराज रायले लेखेका हुन् ।

चलचित्रमा जयको साथमा श्रीदेव वीएल र निशा खतिवडा निर्माताको रुपमा छन् भने शारद खड्का सह–निर्माताको रुपमा छिन् । यो चलचित्रको पटकथा तथा संवाद सुशिल पोखरेलले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, कोशिश क्षेत्री, मानष थापा र अंकितबाबु अधिकारीको संगीत छ ।

चलचित्रले पूर्वी नेपालको तराई क्षेत्रमा हुने हत्या, आतंक र लुटपाटको घटनालाई प्रस्तुत गरेको छ ।



source https://www.onlinekhabar.com/2020/01/824914

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता, मोदीलाई नेपाल भ्रमणको निम्तो

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

ओलीले  एक टि्वट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन् ।

‘मैले भारतीय प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ’, ओलीले लेखेका छन्, ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्‍यौं ।’

दुई देशका सकमकक्षीबीच भ्रमण वर्षको शुभकामना आदानप्रदान भए पनि सीमा-विवादबारे कुराकानी भए/नभएबारे प्रधानमन्त्री ओलीले केही खुलाएका छैनन् ।

भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटेर हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले असन्तुष्टि जनाउँदै आएको छ । कूटनीतिक माध्यमबाट यसकाे समाधान खोजिने सरकारले बताए पनि अहिलेसम्म ठाेस ढ‌ंगले प्रक्रिया अघि बढ्न सकेको छैन ।



source https://www.onlinekhabar.com/2020/01/824906

नयाँ वर्ष मनाउन अस्ट्रेलियाबाट नेपाल यात्रा

सिड्नी / अंग्रेजी नया वर्ष रमाइलो र अर्थपूर्ण रुपमा नेपालमा मनाउन सयौं अस्ट्रेलियन पर्यटक नेपाल पुगेका छन् । उनीहरु मध्ये धेरै नेपाली मुलका अस्ट्रेलियन पर्यटक छन् ।

नयाँ वर्ष २०२० को जनवरी १ को अस्ट्रेलियन समय (सिड्नी/क्यानबेरा) अनुसार बिहान नौ बजेसम्म अनलाइनखबर अस्ट्रेलिया संस्करणको सम्पर्कमा आएका केही अस्ट्रेलियन पर्यटकहरुले आफ्नो नेपाल बसाइँ कसरी महत्वपूर्ण बनाउँदै छन् भन्ने योजना सुनाए ।

जनवरी १ मा उद्घाटन हुने भिजिट नेपाल २०२० को कार्यक्रममा सहभागी हुने लक्ष्यसहित मंगलवार राति सिड्नीबाट उडेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टोली चीनको गोन्जाउबाट सम्पर्कमा आयो ।

‘अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा अभियान’ नाम दिएको उक्त भ्रमण टोलीका संयोजक खेम शर्माले आफ्नो टिमको पाँच दिने कार्यतालिका सुनाए ।

उनका अनुसार बुधवार मध्यान्नअघि नै काठमाडौं पुगेर उक्त टिम नेपाल पत्रकार महासंघले आयोजना गर्ने एक कार्यक्रममा सामेल हुनेछ ।

यो टिम र नेपाल पत्रकार महासंघबीच बुधवार नै नेपालका सात प्रदेशका सात जना पर्यटन बिटमा समाचार लेख्ने पत्रकारलाई लेखनवृति प्रदान गर्नेबारे सहमतिमा हस्ताक्षर हुने छ ।

किरणले भने – अर्बौ सम्पत्ति भएकाहरु अमनचैनमा छैनन् तर एउटा नाग्लोमा ब्यापार गर्ने नेपाली दिनभर ब्यापार भएन भने पनि साँझ कसरी खुशी साथ् घर फर्किन्छ, त्यो कुरा म जान्न चाहन्छु

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले यसबारे पुष्टि गर्दै भने- बुधवार काठमाडौं आएको गैरआवासीय नेपाली संघको अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एशोसियसनको समन्वयमा लेखनवृति सम्बन्धी हस्ताक्षेर हुनेछ ।

आगामी वैशाख १ गते नेपाली नयाँ वर्षमा सातै प्रदेशमा कार्यक्रम आयोजना गरी प्रत्येक प्रदेशका १ जना पर्यटन पत्रकारलाई ५० हजार लेखनवृत्ति प्रदान गरिने छ ।

भरतपुरमा निर्माणाधीन गौतम बुद्धअन्तर्रास्ट्रिय रंगशाला निर्माणमा खटेका कलाकार सिताराम कट्टेलले जनवरी ३ मा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टिमसँग मैत्रीपूर्ण क्रिकेट खेल हुने र रंगशाला निर्माणमा २ लाख ५० हजार नेपाली रकम प्राप्त हुने पुष्टि गरे । यो टोलीले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने र सहयोग रकम हस्तान्तरण गर्ने छ ।

त्यस्तै अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा अभियानकै क्रममा उक्त टिम जनवरी ४ मा धुलिखेल नगरपालिका जाने छ । जहाँ गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र धुलिखेल नगरपालिकाबीच नेपाल जीवन गुमाउने अस्ट्रेलियन पर्यटकको स्मृतिमा नमुना पार्क निर्माणमा सहमति गर्ने कार्यक्रम रहेको छ ।

साथै यो टिमले नेपालका सरकारी तथा निजी क्षेत्रका ब्यक्तिहरुसँग भेटघाट गर्ने योजना पनि बनाएको छ । बुधवार बिहान सिड्नीबाट उडेर साँझ सपरिवार काठमाडौं पुग्ने लक्ष्य लिएका प्रवासमा क्रियाशील नेपाली साहित्यकार निष्प्रभ सजिले आगामी शनिवार काठमाडौंमा साताको साहित्य पुरस्कार वितरण कार्यक्रम नेपाल पर्यटन बोर्डमा राखेका छन् ।

निस्प्रभ सजि परिवार ।

भिजिट नेपाल २०२० को सन्दर्भसमेत राखेर काठमाडौंमा हुने साहित्यिक जमघटले प्रवास र नेपालमा भएका साहित्यकारहरु बीच पुनर्मिलन समेत गराउने छ ।

चर्चित उपन्यास ‘डार्लिङ्ग हार्बर’का लेखक निस्प्रभ सजिले सिड्नीबाट उड्नुअघि आफ्ना पाठकहरुलाई यो वर्षभित्रमा ‘चिनी’ नामक नया उपन्यास प्रकाशित गर्ने जानकारी दिएका छन् ।

उनले भनेका छन् – नेपाल भ्रमणको समयमा सम्पादनको काम सक्ने छु र यदी सबै परिस्थितिले साथ् दिएमा यो वर्षको अन्त्यतिर पुस्तक प्रकाशित हुनेछ ।

उनी नेपाल बसाइँका क्रममा आफ्ना दुईजना छोरीहरुलाई आफू र श्रीमती तर्फका सबै नातेदारहरुसँग भेटघाट र घुलमिल गराउने योजनामा पनि छन् ।

अस्ट्रेलियाका युबा ब्यबसायी डा किरण थापा पनि बुधवार बिहान सिड्नीबाट काठमाडौं उडेका छन् । उनी आफ्नो अस्ट्रेलियन ब्यबसायको ब्राण्डलाई नेपालमा पनि बिस्तार गर्ने तयारीमा छन् ।

किरण थापा

किरण आफ्नो नेपाल बसाइँका क्रममा नौ जनाको नेपाल टिमसँग अन्नपूर्ण आधार शिबिर आसपास घुम्ने योजनामा छन् । नेपालका साना ब्यबसायीहरुको जीवन संघर्षलाई नजिकबाट अनुभूत गर्ने सोचाइ उनको छ ।

सिड्नीबाट उडान भर्नुअघि अनलाइनखबरसंग किरणले भने – अर्बौ सम्पत्ति भएकाहरु अमनचैनमा छैनन् तर एउटा नाग्लोमा ब्यापार गर्ने नेपाली दिनभर ब्यापार भएन भने पनि साँझ कसरी खुशी साथ् घर फर्किन्छ, त्यो कुरा म जान्न चाहन्छु ।

उनी त्यस्तै स-सानो ब्यबसायबाट पनि जिन्दगीमा खुशी भएका नेपालीसँगको अस्तरक्रिया र भेटघाटबाट प्राप्त हुने ज्ञानलाई ‘हिमालयन विश्डम’ भन्न रुचाउँछन । उनी त्यहीँ हिमाली ज्ञानमाथि पुस्तक लेख्ने योजनामा पनि छन् ।



source https://www.onlinekhabar.com/2020/01/824892

उखु : बाली नगदे, कारोबार उधारो !

१६ पुस, सर्लाही (हरिवन) । सर्लाहीको हरिवन बजार कटेर पूर्वतर्फ लाग्दै गर्दा दुर्गन्ध आउन थाल्छ । यो गन्ध ईन्दुशंकर चिनी उद्योगको हो । चिनी उद्योग चल्न थालेपछि पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्नेहरूको नाकले यो उद्योगको गन्ध थाहा पाइहाल्छ । राजमार्गबाट सय मिटर भित्र उद्योग छ ।

दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ् गर्ने क्षमताको उद्योग यो वर्ष पुस ११ गतेदेखि सञ्चालनमा आएको छ । मेसिनमा खराबी नआउँदा सिजनमा चाैबीसै घण्टा उद्योग चल्छ ।

मंगलबार मध्यरातमा हरिवन बजार सुतिसकेको थियो । तर, उद्योग परिसरमा चहल-पहल थियो । सर्लाही र आसपासका जिल्लाका किसानहरूले ट्याक्टरमा ल्याएको उखु रातारात कााटा गरेर उद्योगलाई बुझाउँदै थिए ।

कोही किसानहरू पालो पर्खेर चिसो रातमा ट्याक्टरमुनि उखुकै ओछ्यान लगाएर आराम गरिरहेका देखिन्थे भने कोही उखु बोक्ने ट्याक्टरमै निदाएका देखिन्थे । उनीहरू पातलो च्यादर ओढेर सुतेका देखिन्थे । कोही आफ्नै घरबाट ल्याएको परालको आगोमा शरीरलाई न्यानो बनाउने प्रयास गरिरहेका थिए ।

उखुको तौल गराउन घण्टौं लाइनमा बस्नुपर्दोरहेछ । उद्योग परिसरमा लाइन लागेका किसानहरू चिसो छल्न र रात कटाउन आगो ताप्दै गफमा व्यस्त देखिन्थे ।

नजिकका चिनी उद्योगले पैसा नदिएपछि…

सर्लाहीको गोडैता नगरपालिका- १० सिसौटियाका किसान राजकिशोर मण्डल मंगलबार मध्यराति चिसो छल्न उद्योग परिसरमा उखुका पात बालेर ताप्दै थिए । वरिपरि अन्य किसान पनि थिए । उनीहरूको भीडमा हामी अनलाइखबरकर्मी पनि मिसियौं । परिचय सकिएपछि सोध्यौं, ‘गोडैतादेखि किन यति टाढाको मिलमा उखु ल्याएको त ? नजिकै अरु मिल छैनन् र ?’

‘धनकौलमा दुई वर्षअघिकै ५० हजार जति र बगदहमा ३ लाख रुपैयाँ लिन बाँकी छ । चिनी बिकेपछि दिन्छु भनेको, अहिलेसम्म दिएका छैनन्’ मण्डलले भने, ‘बाजेका पालादेखि उखु खेती गर्दै आएका छौं । गरुडा, रामनगर, धनकौल, बगदहका उद्योगमा उखु बेचिसकेका छौं । सबैले चिनी बिकेपछि पैसा दिन्छु भन्छन् । कत्तिले त नदिएरै झुलाउँछन् ।’

इन्दुशंकरले ढिलै भए पनि भुक्तानी दिने गरेकाले ढुवानी खर्च र समय बढी लागे पनि यहीँ उखु ल्याएको मण्डलको भनाइ छ । ‘गाउँमा नजिकै उद्योग छ, त्यहाँ ४० रुपैयाँ प्रतिक्विन्टल खर्च गरेर १ घण्टामा उद्योगमा उखु पुर्‍याउन सकिन्छ । तर, पैसा नदिँदा त्यहाँ उखु दिएर के गर्ने ?’ मण्डलले अनलाइनखबरसँग भने, ‘त्यसैले ८० रुपैयाँ प्रतिक्वीन्टल ढुवानी खर्च गरेर ४ घण्टा समय लागे पनि यहीँ ल्याइयो ।’

लगानी नगदमा, बिक्री उधारोमा

उखु नगदेबालीका रुपमा चिनिन्छ । तर, उद्योगलाई उखु बुझाउँदा किसानले तत्कालै नगद पाउँदैनन् । यसका निम्ति कम्तीमा चार/पाँच महिना कुर्नैपर्ने हुन्छ । उद्योगले उखु क्रसिङ गरेर, चिनी बनाएर बिक्री गर्न थालेपछि मात्रै किसानको खातामा रकम जम्मा गर्न शुरु गर्छ । पुस माघमा उखु बुझाएका किसानले चैत वैशाखतिर भुक्तानी पाउँछन् ।

समयमै बिक्री गर्न नसके उखु खेतमै सुक्ने डर किसानलाई हुन्छ । त्यसैले ऋण गरेरै भए पनि उखु काटेर मिलसम्म पुर्‍याउनुपर्ने बाध्यतामा आफूहरू रहेको किसानले सुनाए ।
चिसो मौसमको मध्यरातमा उखु लिएर मिलमा आएका बागमती नगरपालिका-४ का भुवन प्रसाईंले यस वर्ष ६ विगाहा जग्गामा उखु लगाएको सुनाए । उखु बेच्नका लागि कृषि विकास बैंकमा जग्गा धितो राखेर ३ लाख रुपैयाँ ऋण लिएको पनि उनले सुनाए ।

‘नगदेबाली हो, अरु खेतीमा जस्तो मेहनत पनि छैन भनेर उखु लगाउने गरेको छु’ प्रसाईं भने ‘तर मलखाद, मजदुरको पैसा नगदै तिर्नुपर्छ । उखु भने उधारोमा बिक्री गर्नुपर्छ । कम्तीमा ४/५ महिना लगानी फसाएर बैंकलाई ब्याज दिनुपर्छ ।’

सरकारले दिने भनेको ६५ रुपैयाँ अनुदान अझै नपाएको उनको गुनासो छ । उद्योग परिसरमा फेला परेका अर्का किसान सर्लाहीकै बलरा नगरपालिका ३ का उमेश साह र बसबरियाका हुसनारायण राय पनि खेती गर्ने क्रममा शुरुदेखि नै हाताहाती लगानी गर्नुपर्ने बताउँछन् ।

उखु लगाउने समयदेखि नै गोडमेल, मल किन्न र मजदूरलाई नगदै रकम दिनुपरेको उनीहरूले सुनाए । शुरुमा ऋण गरेरै बाली लगाइए पनि उखु बेच्दा तत्कालै रकम पाउन नसकिएको उनीहरूको गुनासो छ ।

उमेश साहले मलखादको समस्या पनि धेरै झेल्नुपरेको बताए । उनले नेपालमा समयमा मल नपाउँदा भारतबाट झन्झट मोलेर ल्याउनुपर्ने बाध्यता सुनाए ।

चिनी मिलमा भेटिएका किसानहरूका अनुसार एक बिगाहा जग्गामा ४ सयदेखि ५ सय क्वीन्टलसम्म उखु उत्पादन हुन्छ । यसपालि सरकारले ५३६ रुपैयाँ ५६ पैसा प्रति क्वीन्टल मूल्य निर्धारण गरेको छ । इन्दुशंकर सुगर मिलले सरकारी अनुदान बाहेक ४७१ रुपैयाँ प्रतिक्वीन्टलमा चलान पूर्जी काटेको छ ।

सुनसरी, मोरङ, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारालगायत जिल्लामा गरी देशभर १४ वटा चिनी उद्योग सञ्चालनमा छन् । तराईका २२ जिल्लामध्ये १६ जिल्लामा यसको खेती हुने गरेको छ । उखुलाई रासायनिक परिवर्तन गरेर यसको रसबाट चिनी, मिश्री, सख्खर आदि गुलियो पदार्थको उत्पादन गर्ने गरिन्छ । तर, वर्षेनी गुलियो उखु बिक्रीका लागि किसानले खल्लो अनुभव बटुल्ने गरेका छन् ।

तस्वीरहरू : सुमित मिश्र



source https://www.onlinekhabar.com/2020/01/824873

चैत्र २१ मा रिलिज हुँदा ‘लक्का जवान’लाई के फाइदा ?

केही बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा कमेडी कथा हाबी छन् । अझ, हाँस्य कलाकारहरुको टिमले बनाएको चलचित्रले व्यापारिक रुपमा पनि सफलता पाइरहेका छन् । यसैले, पनि हाँस्य कलाकारहरुले बनाएका चलचित्र भन्ने वित्तिकै सफल हुन्छन् भनेर अड्कल लगाइन्छ ।

छायांकन प्रारम्भदेखि नै चैत्र ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘लक्का जवान’ अब चैत्र २१ मा रिलिज हुँदैछ । निर्माण टिमले दुई सातापछि चलचित्र धकेल्दा के फाइदा होला त ? जबकी, मह जोडीले अभिनय गरेको चलचित्र शत्रु गते चैत्रको दोश्रो सातामा रिलिज हुँदा नै सुपरहिट भएको थियो ।

शिवहरि पौड्यालको निर्देेशनमा तयार भएको यो चलचित्रको टिमले चैत्रको दोश्रो साता पर्ने एएइइ परिक्षालाई ध्यानमा राखेर चलचित्रको रिलिज मिति पछि सारेको हो । चलचित्रमा किरण केसी, शिवहरि पौड्याल, दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रियंका कार्की मुख्य भूमिकामा छन् ।

यो चलचित्र चैत्र २१ मा सोलो रिलिज हुँदैछ । त्यसको एक सातापछि नयाँ बर्षको बिदाको फाइदा पनि यो चलचित्रले उठाउने आशा निर्माणपक्षको छ । हुनत, चैत्र २८ गते दुइवटा नेपाली चलचित्र रिलिज हुँदैछन् । तर, केही शोजहरु दोश्रो सातामा पनि पाउने र यसको फाइदा नयाँ बर्षमा हुने अपेक्षा निर्माताको छ ।

यो बर्ष मह जोडीको ‘दाल भात तरकारी’, दीपकराज गिरी र उनको टिमको ‘छ माया छपक्कै’ रिलिज भैसकेका छन् । अब, हाँस्य कलाकारको टिमले बनाएको ‘सेन्टी भाइरस र लक्का जवान’ रिलिजको प्रतिक्षा दर्शकमा छ ।



source https://www.onlinekhabar.com/2020/01/824907

स्वदेशीसँगै विदेशीले पनि मनाए ‘ढाकाटोपी दिवस’

१६ पुस, काठमाडौं । विगतका वर्षमा जस्तै यसपटक पनि अंग्रेजी नयाँ वर्षको पहिलो दिन ‘नेपाली ढाकाटोपी दिवस’ मनाइएको छ । दिवसको यस वर्षको नारा ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ दिइएको छ ।

नागरिकस्तरबाट मनाउन थालिएको टोपी दिवसमा २०७४ सालमा नेपाल पर्यटन बोर्ड पनि सहभागी भएको थियो । तर, यस वर्ष भने बोर्डको सहभागीता देखिएन ।

ढाकाटोपी संरक्षण अभियान थालेको जागरूक युवा अभियान नेपालले माइतीघर मण्डलामा बुधबार बिहान एक कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा नेपालीसँगै विदेशीसमेत नेपाली ढाकाटोपीमा सजिएका देखिन्थे । कार्यक्रममा सहभागी स्वदेशी-विदेशीले नेपाली ढाकाटोपी लगाएर आपसमा तस्वीर खिचाएको दृश्य निकै रोचक थियो ।

कार्यक्रममा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित टिसर्ट र ब्याचसमेत लगाएका थिए ।

नेपालीहरुले पाश्चात्य संस्कृति, संस्कार र पोशाकलाई अँगाल्दै जाँदा नेपालको मौलिक राष्ट्रिय पोशाक संकटमा परेकाले अंग्रेजी नयाँ वर्षकै दिन यो दिवस मनाउन थालिएको अभियन्ताहरू बताउँछन् ।

नेपालीको पहिचानका रूपमा रहेको ढाकाटोपी संरक्षणका लागि ‘जागरुक युवा अभियान नेपाल’ले दिवस मनाउन थालेको थियो । यो दिवस अहिले नागरिक तहसम्मै विस्तार हुन पुगेको छ ।

शताब्दीऔंदेखि प्रयोग भैरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । यद्यपि नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्थाअनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको दिन सामाजिक संजालमा शेयर गर्ने प्रचलन बढेको छ । भारतको दार्जिलिङ,आसाम,देहरादून लगायतका शहरमा पनि टोपी दिवस मनाउने गरिन्छ ।



source https://www.onlinekhabar.com/2020/01/824889

राजदूत शेर्पाको सकस : भिसा लगाउन मैले एक महिना कुर्नुपर्‍यो !

१६ पुस, बार्सिलोना । ३० देशमा नेपालका दूतावास, राष्ट्र संघका लागि तीन स्थायी नियोग र ६ महाबाणिज्य दूतावास छन् । म्याड्रिडमा स्थापना भएको दूतावास नेपाल सरकारको पछिल्लो कूटनीतिक नियोग हो ।

स्पेनकी नवनियुक्त राजदूत दावा फूटी शेर्पासमक्ष स्पेनबासी नेपालीले गुनासो पोखे, ‘हामीले १० वर्षदेखि स्पेनमा दूतावास स्थापनाको माग गर्दै आएका थियौं, अहिले म्याड्रिडमा नेपाली राजदूतावासको झण्डा फराएका हौं । तर, विगत दुई वर्षदेखि दूतावास सञ्चालनमा आए पनि राम्रो गति लिन सकेन ।’

‘एक त नयाँ दूतावास, त्यसमाथि पटक-पटक राजनीतिक नियुक्ति गरेर राजदूत पठाउँदा दूतावासले गति लिन सकेन’ एनआरएनए स्पेनले सोमवार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केही सहभागीले यस्तो गुनासो पोखे । वर्षेनी ५/६ करोड खर्च हुने दूतावासले नेपालको हितमा आर्थिक कूटनीतिका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने प्रवासी नेपालीको सुझाव छ ।

‘म्याड्रिडमा दूतावास सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि आफ्नो वेभसाइटमा गतिविधिहरुसमेत अपडेड गर्न सकेको छैन । न त नेपालको बारेमा कुनै जानकारी राखिएको छ । कन्सुलर सर्भिसका बारेमा पनि जानकारी छैन । महामहिमज्यू, तपाई आएको पनि डेढ महिना पुगिसक्यो, वेभसाईटमा कहिलेदेखि अपडेड होला ?’ एक सहभागीले राजदूत शेर्पालाई प्रश्न तेर्स्याए ।

जवाफमा राजदूत शेर्पाले आफू निकै उत्साहित र केही गर्नकै लागि आएको भन्दै धैर्य गर्न आग्रह गरिन् । सहभागीहरुको जिज्ञासा सुनेपछि उनले भनिन्, ‘नेपाली राजदूत भएर आउँदाखेरि निकै उत्साहित भएकी छु । धेरै योजनाहरु लिएर आएकी छु । मेरो ४ वर्षको कार्यकालमा नेपाललाई प्रमोट गर्ने मुख्य उद्देश्य हो ।’

नयाँ देश, नयाँ भाषा आफैंलाई सेटल हुन एक महिना लागेको राजदूत शेर्पाको भनाइ थियो ।

राजदूत शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हृयामु शेर्पाकी छोरी पनि हुन् । उनी पासाङ ल्हृयामु शेर्पा फाउन्डेसनकी अध्यक्ष पनि हुन् । अमेरिकामा अध्ययन गरेकी उनी ३५ वर्षको उमेरमा नै राजदूत बनेर स्पेन आएकी हुन् । स्व. पासाङ ल्हामुका दुई छोरी र एक छोरा छन् । राजदूत दावा फुटीका पिता सोनाम छिरिङ शेर्पा यती समूहका सञ्चालक हुन् ।

कार्यक्रममा अर्को प्रश्न पनि सुनियो, ‘तपाईकी आमाले सिङ्गो मुलुकको नामलाई उच्च राख्नुभयो, चार वर्षपछि दूताबासबाट र्फकंदा सबैको हाईहाई भएर र्फकनुहुन्छ त ?’

जवाफमा शेर्पाले भनिन्, ‘मेरो परिवार गरेर देखाउने परिवार भएकाले म धेरै भाषणभन्दा पनि काम गरेर देखाउनेमा विश्वास गर्छु ।’ दूतावासमा दोस्रो राजदूतका रुपमा आउँदा आफूलाई गर्वका साथै थुप्रै चुनौतीहरु पनि रहेको उनको भनाइ थियो ।

त्यसो त राजदूत शेर्पालाई बोल्न र भाषण गर्नमा नै समस्या देखिएको छ । कार्यक्रममा सहभागीहरुले थुप्रै प्रश्नहरु राखे पनि टिपोट त गरिन् तर प्रश्न अनुसारको जवाफ फर्काउन सकिनन् । कूटनीतिक प्रश्नहरु गर्दा राजदूतका लागि जटिलजस्तै देखिन्थ्यो ।

उनले थपिन्, ‘अघि कसैले भन्नुभएको थियो नि, यो एउटा परीक्षा हो भनेर । परीक्षाका लागि पढाइ गर्नुपर्छ । हो, मैले अहिले एकदमै पढाइ गरिरहेको छु । यो अन्तरक्रिया पनि सिकाइ नै हो । धेरै कुराहरु सुनें र सिकें पनि । तपाईंहरुका सुझावहरुलाई व्यवहारमा उतार्नका लागि म प्रतिवद्ध छु ।’

भम्रण वर्षमा दूतावासले के गर्दैछ ?

नेपाल भ्रमण बर्षमा म्याड्रिड दूतावासले गर्ने ठोस योजनाहरु त राजदूतले प्रस्तुत गरिनन्, तर पर्यटन क्षेत्रलाई आर्थिक कूटनीतिको पाटोमा राख्दै दूतावासले प्रभावकारी काम गर्ने प्रतिवद्धता ब्यक्त गरिन्।

‘थुप्रै क्षेत्रहरु छन्, जहाँ हामीले केन्द्रित गर्न सक्छौं । त्यसमध्ये म आफू पर्यटन व्यवसायीको परिवारबाट आएको हुँदा अझ बढी योबारे काम गर्नेछु । भर्खर आएको डेढ महिना मात्र भयो । त्यसमाथि हाम्रो सानो टिम छ । अलि धैर्य राखिदिनु होला ।’

म्याड्रिडमा हुने अन्तराष्ट्रिय पर्यटन मेला फितुरमा दूतावासले नेपाल पर्यटन बोर्ड र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)सँग मिलेर काम गर्ने उनले जानकारी दिइन् । स्पेनस्थित संघ संस्थाहरुलाई आ-आफ्नो ठाउँबाट भ्रमण वर्षलाई सफल पार्न राजदूत शेर्पाले आग्रह समेत गरिन्।

भिसा प्रक्रिया सहज बनाउन पहल गर्छु – राजदूत

दिल्लीस्थित स्पेनिस दूतावासले भिसा प्रक्रियामा धेरैले कठिनाई झेल्नुपरेको सहभागीहरुले गुनासो पोखेपछि राजदूत शेर्पाले समेत आफ्नो अनुभव सुनाइन्। ‘हाम्रै डिप्लोम्याटिक पासपोर्टमा भिसा लगाउन मैले नै एक महिना कुर्नुपर्‍यो । हाम्रो डकुमेन्टमा के कमी छ ? के गर्दा प्रक्रिया सहज हुन्छ भनेर दिल्लीस्थित स्पेनिस दूतावासमा मैले सोधेकी थिएँ । तर, उहाँहरुले पहिले-पहिले अलि समस्या थियो, अहिले सहज भएको जवाफ दिनुभयो । फेरि यहाँको कन्सुलर डिपार्टमेन्टको डेपुटी डाइरेक्टरसँग भेट्दैछु । तपाईंहरुको परिवार बोलाउँदा कसरी सहज हुन्छ, उहाँसँग छलफल गर्दै यसबारे पहल गर्नेछु ।’



source https://www.onlinekhabar.com/2020/01/824885

‘सगरमाथाको हिउँ बेचौं, घरमा झण्डा फहराऔं’

नेपाल बदल्ने प्रस्ताव यो पंक्तिकारले पटक–पटक विभिन्न शैलीमा प्रस्तुत गर्दै आइरहेको छ । मेरो मनभित्र अटल विश्वास छ, एक दिन मैले प्रस्ताव गरेका योजनाले साकार रुप लिनेछन् । यसअघि मैले मदिरामुक्त नेपालको प्रस्ताव गरेको थिएँ, जसलाई पाठकहरुले समारात्मक रुपमा लिनुभएको पाएँ ।

महाकवि देवकोटाको भनाइबमोजिम ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’को सिद्धान्तबाट अघि बढेर नयाँ नेपाल निर्माण गर्नुपर्छ । यसका लागि यहाँ प्रस्तावित बुँदाहरुको कार्यान्वयनम सबै नेपाली आ–आफ्नो स्थानबाट जुर्मुराउनुपर्छ । हामी सबैका सफलताका लागि शुभकामना व्यक्त गर्दछु ।

पढौं के हुन् त ती एक दर्जन नयाँ नेपाल निर्माणका सपना:

१. हलोमुक्त नेपालको घोषणा

  • नेपाललाई हलोमुक्त देश घोषणा गरी आधुनिक कृषि उपकरणहरु मिनी ट्याक्टर, जीरो टीलर, हार्भेष्टर, रिपर आदिको प्रयोग बढाउनुपर्छ ।
  • रासायनिक मललाई विस्थापित गरी प्रांगारिक मलमा जोड दिनुपर्छ । रसायनिक बिषादीको आयात निषेध गरी जैबिक बिषादीको प्रयोगलाई अनिबार्य गर्नुपर्छ । यसबाट नेपाल अर्गानिक कृषि उत्पादन गर्ने मुलुककारुपमा विश्वमा परिचित हुनेछ ।
  • खाद्यान्न, हरियो तरकारी, फलफूल, माछामासु र दुग्धजन्य पदार्थ गरी ५ कुरामा हामी आत्मनिर्भर हुनैपर्छ । यसका लागि स्थानीय र प्रदेश सरकारको बजेटको प्राथमिकता यिनै क्षेत्रमा हुनुपर्छ । संघ सरकारले यी ५ वस्तुको आयात रोक्नु पर्छ ।
  • जोनिङ्ग र ब्लक अनुसार खाद्यान्न र कृषि उत्पादन गर्नुपर्छ । बहुमूल्य जडिबुटी उत्पादन हुने जमिनमा धान, मकै, कोदो लगाउन निषेध गर्नुपर्छ ।
  • कृषिमा आधारित उद्योग एबं प्रोसेसिंग, ग्रेडिंग, प्याकेजिंग, भण्डारण, बफर स्टक सम्बन्धी काममा जोड दिनुपर्छ ।
  • सार्बजनिक गोदाम व्यबस्थाको कानून बनाउनु पर्छ ।
  • कृषि जमिनलाई घडेरी बनाउन निषेध गर्नुपर्छ ।

२. सामाजिक फजुल खर्च नियन्त्रण

राज्यको मात्रै होइन, सामाजिक फजुल खर्च पनि रोक्नैपर्छ । यसका लागि कुनै पनि व्यक्तिले ब्रतबन्ध, विवाह लगायतका सामाजिक कार्य गर्दा संभव भएमा आफ्नै थरका लाई मात्र र सो संभव नभए नजिकका नातेदार बाहेकलाई आमन्त्रण गर्न निषेध गर्नुपर्छ । निमन्त्रणा कार्डमा अनिवार्य रुपमा नाता लेख्नु पर्ने र नाता बाहिरको व्यक्ति समारोहमा उपस्थित भएमा पक्राउ पर्ने कानूनी व्यवस्था गर्नुपर्छ । विवाहमा अनिवार्यरुपमा बर र बधुको उमेर खुलाउन लगाई बाल विवाह र अनमेल विवाह रोक्नुपर्छ ।

कुनै पनि सार्बजनिक समारोह, बिबाह ब्रतबन्ध, पार्टी प्यालेसमा मदिरासहित कार्यक्रम आयोजना गरेमा सार्बजनिक अपराधमा मुद्धा चलाउनु पर्छ । यसबाट केही हदमा भएपनि भ्रष्ट्रचार, ठगी, डकैती, ठेक्कापटृाको माध्यमबाट लुटने, कमिशन खाने, दलाली गरेर कमाउने प्रथामा कमी आउने थियो ।

३. स्वदेशी वस्तुको खपत बढाउने

हाल स्वदेशी बस्तु भए रु २५ लाखसम्मको सोझै खरिद गर्न मिल्ने व्यबस्था छ । यस्को अलावा स्वदेशमै उत्पादन हुने बस्तु भए स्वदेशी उत्पादन वीच नै प्रतिस्प्रधा गराएर खरिद गर्नुपर्ने अनिबार्य व्यबस्था गर्नुपर्छ । हाल स्वदेशी बस्तु १५ प्रतिशत महंगो भएपनि खरिद गर्न सकिने प्राबधानलाई २५ प्रतिशतमा बढाउनुपर्छ ।

सबै ७५३ पालिकालाई आफ्नो उत्पादन, प्रविधि र सीपलाई जगेर्ना गर्न लगाउनुपर्छ । यस अन्तर्गत सबै पालिकाले स्थानीय उत्पादन बिक्री गर्ने कोशेली घर निर्माण गर्नुपर्छ । सबै पालिकाले केही अपवादलाई छाडेर कूल खरिदको कम्तिमा ५० प्रतिशत सामान आफ्नै कोशेली घरबाट खरिद गर्नु पर्ने अनिबार्य व्यबस्था लागू गर्नुपर्छ ।

सार्वजनिक पदमा रहेकाको लत्ता कपडा, जुत्ता सबै अनिवार्यरुपमा स्वदेशी हुनुपर्छ । सो बेगर ती पदाधिकारीलाई सरकारी निकायमा प्रवेश निषेध गर्नपर्छ । यसमा सबै ७५३ वटा पालिकाका निर्वाचित जनप्रतिनिधि पनि पर्नेछन् ।

४. नेपाललाई सहासिक खेलको हव बनाउने

नेपालमा ५ वटा सहासिक खेल विश्वमै नामूद छन् । जसमा (क) पदयात्रा (ख) बंजी जम्पिङ्ग (ग) र्‍याफ्टिङ्ग (घ) प्याराग्लाईडिङ्ग र (ङ) पर्वतारोहण पर्दछ । यी सहासिक खेलको प्रबद्र्धनमा संघ, प्रदेश र स्थानीय सरकारले कूल बजेटको ५ देखि १० प्रतिशत बजेट छुट्याएर पुल फण्डमा राख्नुपर्छ । जुन स्थानमा जुन पर्यटकीय प्रवद्र्धनको सम्भावना छ, त्यहाँ सो कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसबाट नेपाललाई विश्वकै पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सकिनेछ ।

सगरमाथाको हिउँको कणलाई नपग्लिने प्रविधिद्धारा पारदर्शी सिसाको गिफ्टप्याक बनाइ कम्तीमा एकसय अमेरिकी डलरमा बिक्री गर्नुपर्छ । सगरमाथाको बेसक्याम्प सम्म हेलिकोप्टरको सटल सर्भिस चलाउनुपर्छ । त्यहाँ केबलकार जडान गर्नुपर्छ । सगरमाथाको हिउँ पग्लिएर बनेको झरनाको पानीलाई बोटलिङ गरी प्रतिलिटर कम्तिमा १० अमेरिकी डलरमा विश्व बजारमा बेच्नुपर्छ ।

५. हाम्रो होइन, राम्रो मान्छे छान्ने

मुलुकले नियुक्ति गर्ने राजदूत प्रतिस्प्रधात्मक परीक्षाबाट पूर्ति गरिइनुपर्छ । सबै आयोगका पदाधिकारीको पदपूर्तिमा पनि यही प्रणाली अबलम्बन गर्नुपर्छ । साथै राष्ट्र्यि सभाका लागि मनोनीत सदस्य पनि योग्यता प्रणालीबाट नियुक्ति हुनुपर्छ । कर्मचारीको पदस्थापन सरुवाका लागि राईट म्यान ईन राईट प्लेसका लागि अधिकारसम्पन्न लिडरसीप असिसमेण्ट सेण्टर खडा गर्नुपर्छ । सबै पदमा डू अर डाई अर्थात् गर या मरको सिद्धान्त लागू गरी कार्यासम्पादन करार गर्नुपर्छ ।

सबै राष्ट्रिय गौरवका आयोजना र राष्ट्र्यि प्राथमिक्ता प्राप्त आयोजनाको छुटृै प्रोजेक्ट अफिस खडा गर्नुपर्छ । सबै आयोजना र कार्यक्रमको आरम्भको प्रथम दिनदेखि सम्पन्न अन्तिम दिनसम्मको कार्ययोजना तजूमा गरी काम गर्नुपर्छ । एउटा सरकारी ठेक्का सम्पन्न नगरी अर्को ठेक्का दिन नपाउने गरी एकीकृत पासबूक लागू गर्नुपर्छ ।

६. शिक्षा र स्वास्थ्य सेवामा व्यापार निषेध

शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारलाई पूर्णतः निषेध गर्नुपर्छ । संविधानमा आधारभूत शिक्षा अनिवार्य र निःशुल्क भनिएको छ भने माध्यमिक शिक्षा निःशुल्क भनिएको छ । यसर्थ हालको बोर्डिङ्ग स्कूलहरुलाई व्यक्तिले नाफा लिन नपाउने गरी ट्रष्टमा रुपान्तरित गर्नुपर्छ ।

संविधानमा आधारभूत स्वास्थ्य सेवा समेतमा नागरिकको हक स्थापित गरिएको छ । यसर्थ, हालका नर्सिङ्गहोमहरु पनि समुदायले वा पालिकाले सञ्चालन गर्नुपर्छ । यसबाट चिकित्सक र स्वास्थ्यकर्मी एवं शिक्षक र कर्मचारीको रोजगारी यथावत राखी हालका लगानीकर्तालाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्छ ।

शिक्षा र स्वास्थ्यमा जोनिङ्ग लागू गरी एउटा गाउँ वा शहरको मानिसले अर्को गाउँ र शहरमा रहेको अस्पतालमा गएर सेवा लिन र स्कूलमा पढ्न निषेध गर्नुपर्छ ।

७. युवालाई आत्मनिर्भर तुल्याउने

१८ बर्षपछि प्रत्येक युवालाई आफ्नै खुट्टामा उभिन सक्ने तुल्याउनुपर्छ । यसका लागि पैत्रिक सम्पत्ती स्वतः छोराछोरीमा जाने हालको कानूनी व्यवस्था खारेज गर्नुपर्छ । यसबाट आमाबुबाको सम्पत्तीले छोराछोरीको पहिचान बन्ने होइन, आफ्नै नंग्रा खियाउनुपर्छ भन्ने ज्ञान हासिल हुनेछ ।

जेष्ठ नागरिकलाई राज्यले हाल दिई आएको सामाजिक सुरक्षा भत्ता पुग्ने गरी दिनुपर्छ र ती जेष्ठ नागरिकको मृत्युपछि सबै सम्पत्ती जिउनीस्वरुप सरकारमा जानुुपर्छ ।

आमाबाबुले करिब १८ बर्षसम्म छोराछोरीमा लगानी गरी उत्पादनयोग्य व्यक्ति बनाइदिन्छन् । सोको प्रतिफल स्वरुप आमाबुबाले माग गरेको अवस्थामा प्रत्येक छोराछोरीको मासिक आम्दानीको १० देखि २५ प्रतिशत स्वतः बाबुआमाको बैंक खातामा जाने प्रणाली लागू गर्नुपर्छ ।

१८ बर्ष पुगेको युवाले रोजगारी नपाएमा रोजगारी नपाउन्जेलका लागि महिनाको खर्च पुग्ने गरी सरकारले बेरोजगार भत्ता दिनुपर्छ । विश्वका करिब ५० वटा मुलुकले लागू गरेको यो प्रणाली हामीले लागू गर्न नसक्ने कुरै छैन । केबल ईच्छाशक्ति चाहिन्छ ।

नयाँ नेपाल निर्माणका लागि आम युवाले बीए र एमए पास गर्नुपूर्व कम्तिमा २ बर्ष राष्ट्रको अनिवार्य सेवा गर्नुपर्छ । यस्तो स्वयंसेवा संघीय, प्रदेश र स्थानीय सरकारले तोकेको निकायमा गर्नुपर्ने छ । यस समयमा नेपाली बिद्यार्थीले स्वयं सेवकको भत्ता पाउनेछन् । यस्तो भत्ता बीएमा पढ्दा नायब सुव्वा सरह र एमए पढ्दा शाखा अधिकृत सरह हुनेछ । यसबाट सबै नेपालीले राज्य सञ्चालन विधि बुझ्ने मौका पाउने छन् ।

तीनै तहका सरकारहरुले प्राविधिक शिक्षाबाट रोजगारीको जोहो गर्ने र बैदेशिक रोजगारीमा पठाउँदा सीपविना जान निषेध गर्ने नीति लागू गर्नुपर्छ । नेपाल नै रित्तिने गरी युबा विदेश जान थालेकाले प्रत्येक पालिकाले कम्तिमा एक सयदेखि एक हजार जनासम्मलाई अनिवार्य रोजगारी दिने प्रबन्ध गर्नुपर्छ ।

८. वस्ती विकास योजना लागू गर्ने

सडक निर्माणका नाममा वातावरण निकै ध्वस्त भैरहेको छ, यसर्थ रज्जु मार्गको प्रविधि प्रयोग गर्नुपर्छ । सडकका नाममा डोजर लगाउनुपूर्व अनिवार्यरुपमा एकद्धार प्रणालीमा रहने नियामक निकायबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गराउनुपर्छ ।

अब नेपालले ढिला नगरी बस्ती विकासमा लगानी गर्नुपर्छ । साह्रै भद्रगोल भैसकेकाले जथाभावी घर बनाउन, पर्खाल लगाउन र जमीन बाँझो राख्ने कार्य पूर्णतः निषेध गर्नुपर्छ ।
सरकारले व्यक्तिलाई निश्चित उद्देश्यका लागि जमिन उपभोग गर्न लिजमा दिनुपर्छ । यसरी लिजमा दिएको जमिनमा तोकिएको शर्त पूरा नभए स्वतः फिर्ता हुने प्रबन्ध गर्नुपर्छ ।

हिमाली भेगमा निश्चित तोकिएका बस्ती बाहेक अरु बस्ती खाली गरी बन, जंगल, जडिबुटी, पशुपालन, जलबिद्युत, आरक्षण, खानीको उत्खनन, पर्यंटन प्रबद्र्धनमा विकास गर्नुपर्छ ।

पहाडका मुख्य–मुख्य स्थानमा मेगा सिटी विकास गरी हिमाल र तराईबाट बस्ती सार्नुपर्छ । तराईका उर्वर भूमिलाई नेपालको अन्नको भण्डारका रुपमा विकास गर्नुपर्छ । अर्थतन्त्रको मेरुदण्डका रुपमा तराईमा लगानी गरी निश्चित स्थानमा वस्ती, आधुनिक खेती, सिंचाईको सुविधा, औद्योगिक क्षेत्रको स्थापना, कृषिमा आधारित उद्योगको स्थापनामा जोड दिनुपर्छ ।

मुख्य कुरा, राम्रो प्रतिफल आउने उर्बरभूमिलाई आम्दानीको स्रोतका रुपमा विकास गरी उबड–खाबड परेको, कृषि उत्पादन नहुने जमिनमा बस्ती विकास गर्नुपर्छ । सबैले मुलुकमा जमिन बढाउन नसकिने कुराको हेक्का राख्नु पर्छ ।

९. बजेट कार्यान्वयनमा खरो उत्रिने

कुनै तर्क–वितर्क नगरी बैशाख १ गतेदेखि चैत मसान्तसम्मलाई आर्थिक बर्ष तोक्नुुपर्छ ।

बजेट कार्यान्वयनमा खरो उत्रिन संघ र प्रदेश मन्त्रालय पिच्छे अनुगमन गर्ने गरी सहसचिबको नेतृत्वमा ‘क्वालिटी सर्कल’ गठन गर्नुपर्छ । यस काममा सफल हुनेलाई मात्रै सचिबमा बढुवा गर्नुपर्छ ।

केही प्रतिवद्धता पूरा गर्न खरो उत्रिनुपर्छ । उदाहरणका लागि सबै तुईनको ठाउँमा झोलुङ्गे पुल बनाउनुपर्छ । यसको ग्यारेण्टी गर्न तुईनको फलाम र उपकरणलाई ‘कवाडी’ ले खरिद गरेको निस्सापछि मात्रै नयाँ बनेको झोलुङ्गे पुल सञ्चालनमा ल्याउने अनुमति दिनु पर्छ ।

१०. सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने

भ्रष्टाचार नियन्त्रणका लागि सूचनाको हकलाई व्यापकता दिनुपर्छ । यस्को नियन्त्रणका लागि निरोधात्मक, उपचारात्मक र प्रबद्र्धनात्मक नीति लागू गर्नुपर्छ ।
नेपाल सरकारले खुल्ला सरकार साझेदारी (ओजिपी) को सदस्यता हासिल गर्नुपर्छ । साथै खुल्ला सरकारी तथ्यांक (ओजिडी) को अवधारणालाई तत्कालै कार्यान्वयनमा ल्याउनु पर्छ ।

हाल सञ्चालित सामाजिक सुरक्षा भत्ता र योगदानमा आधारित पेन्सन लगायतलाई एकद्धार गर्दै प्राधिकरण गठन गर्ने कामलाई शिघ्रता दिनुपर्छ । राज्य प्रणालीबाट वितरण गरिने अनुदान, सुविधा, सहायतामाथि एउटै व्यक्तिले दोहोरो तेहोरो सुविधा पाउने स्थितिको अन्त्य गर्नुपर्छ ।

भ्रष्टाचारमा संलग्न हुने दूबै पक्षलाई कारवाही हुने कानूनको निर्माण गर्नुका साथै यस्को दायराभित्र निजी क्षेत्र, राजनैतिक दल र गैरसरकारी क्षेत्र पनि पर्ने गरी कानून तर्जुमा गर्नुपर्छ ।

११. घरमा झण्डा, मुलुकमा समृद्धि

निश्चित मापदण्ड तोकेर आम नेपालीलाई घर–घरमा राष्ट्रिय झण्डा फहराउने अवसर दिनुपर्छ । यसबाट घरमा झण्डा राख्न मन्त्री नै हुनुपर्ने अवस्थाबाट मुक्त भइनेछ । यसै बर्षको संविधान दिवसलाई हामीले झण्डा दिवसका रुपमा मनाएको अनुभव पनि छ । अमेरिका लगायतका मुलुकमा प्रत्येक नागरिकले झण्डाको पूर्ण मर्यादा राखी आ–आफ्नै घरमा झण्डा राख्न पाउँछन् ।

एक जिल्ला एक वन उत्पादनमा जानुपर्छ । जसअनुसार कुनै जिल्लाको वन स्याउघारीमा रुपान्तरित हुनेछ भने कुनै जिल्लाको वन सुन्तलाघारी हुनेछ ।

बुढीगण्डकी जलविद्युत आयोजना नेपाल सरकारकै लगानीमा विना बिलम्ब निर्माण गर्नुपर्छ । यसपछि मोटामोटी हामी विद्युत शक्तिमा आत्मनिर्भर हुनेछौं ।

नेपालमा उपलब्ध खानीको सञ्चालन गरी समृद्धि हासिल गर्न अग्रसर हुनुपर्छ । हामीसँग पेट्रोलियम पदार्थ, तामा र फलाम खानीको अतिरिक्त प्राकृतिक ग्यासको संभाव्यता पहिचान भैसकेको छ । नेपालमा यूरेनियम समेत छ ।

१२. मदिरामुक्त नेपाल

रक्सीमा डुबेर समृद्धि भित्र्याउन सकिन्न । यसर्थ, पहिलो चरणमा मदिराको पैठारी तत्कालै निषेध गर्नुपर्छ ।

दोस्रो चरणमा नेपालभित्र रहेका मदिरा उद्योगहरुलाई क्षतिपूर्ति दिएर ती जग्गा र उपकरण सरकारले खरिद गर्नुपर्छ । ती जमिन र भवनमा स्कूल वा अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।

मदिरा उद्योगका उपकरण बिक्री हुने भए विदेशमा पठाउने र बिक्री नहुने भए ‘कवाडी’ लाई बिक्री गरिदिनु पर्छ ।

तेस्रो चरणमा सबै ‘घरपालुवा’ रक्सी उत्पादन निषेध गर्नुपर्छ ।

धर्म, परम्परा चलाउन अधिकतम् एक लिटरसम्मको रक्सी बन्ने भाँडाहरु अनुमति लिएर खरिद गर्ने व्यवस्था गर्नुपर्छ । यस पंक्तिकार अछामको सिडिओ हुदाँ ०५१/०५२ सालमा अछामलाई पूर्णरुपमा मदिरारहित जिल्ला बनाएको हो । यसरी नेपालमा ‘ड्राई ल’ लागू गरी मदिरामुक्त नेपाल घोषणा गर्नुपर्छ । यस्तो कानून हाल थुप्रै मुस्लिम मुलुकमा लागू छ । छिमेकी मुलुक भारतमै पनि राज्य नियन्त्रित पसलबाट मात्रै यी वस्तुको विक्री हुन्छ । सोभियत रुसमा मिखाइल गोर्भाचोबले पनि यो कनून लागू गर्नुभएको थियो ।

(पूर्वसचिव बास्कोटा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त हुन्)



source https://www.onlinekhabar.com/2020/01/824864

‘बच्चाहरु हुन् मेरा प्रेरणा’

१६ पुस, काठमाडौं । ‘२०१२ सिएनएन हिरो अफ दि इअर फ्रम काठमाडौं इज पुष्पा बस्नेत ।’

यो अवार्डका लागि अन्तिम १० मा परेपछि पुष्पा क्यालिफोर्नियाको लस एन्जलसमा पुगेकी थिइन् । दर्शकदीर्घाको अघिल्लो लाइनमा बसेकी पुष्पा आफ्नो नाम सुन्नासाथ भक्कानिइन् । आकाशतर्फ हेरेर हिक्का छोडिन् । छेउमै बसेकी आफ्नी आमालाई अंगालो हालिन्, उही मुद्रामा । अनि स्टेजतर्फ लागिन् ।

यस्तो लाग्थ्यो, यो उनका लागि अप्रत्याशित हो । स्टेजतर्फ हेर्थिन् मुस्काएजस्तो गर्थिन्, फेरि दर्शकतर्फ फर्किन्थिन्, भक्कानिन्थिन् । संसार जित्न सक्छु भन्ने जोश बोकेकी पुष्पालाई त्यतिबेला आफूलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

जब सीएनएन हिरोको अवार्ड पुष्पाले पाइन्, एकछिन् हेरिन्, स्पर्श गरिन् अनि यसरी आफ्नो अंगालोमा कसिन्, जसरी एउटी आमाले लामो समयदेखि हराएको सन्तानलाई भेट्दा न्यानो अंगालोमा बाँध्छ । पुष्पा रुँदारुँदै हाँसिन्, हाँस्दाहास्दै रोइन् । र रुँदैरुँदै बोलिन्, ‘दिस इज फर माइ चिल्ड्रेन ।’ पुष्पाको हर्षको आँशुसँगै पड्किएको तालिको आयातन अझ बाक्लियो । तररर…।

जसबाट उनले नाम पाइन् । दाम पनि पाइन्, तीन करोड । जतिबेला उनको उमेर २८ वर्ष थियो । तर ३२ जनाका ‘मामु’ थिइन्, जसका आमाहरु जेलका चिसा छिडीमा थिए ।

अवार्डसँगै पाएको रकमले बूढानीलकण्ठको डाँडामा पाँच रोपनी जग्गा किनिन् । ‘मैले सात हजार घरभाडा तिर्न नसकेको पीडा थियो । र, काठमाडौंलाई हेर्दा तल देखियोस् यस्तो ठाउँमा जग्गा किन्न चाहन्थे’, पुष्पा बोलिन् ।

आमाबाबु जेलमा परेका कारण त्यहीँ पुगेका बालबालिकालाई उद्दार गरेर हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी लिन थाल्दा उनी भर्खर २१ वर्षकी थिइन् । २०७२ मा आइपुग्दा चपलीमा ४३ जना बच्चासँगै बसिरहेकी थिइन् । बिस्तारै उनी आफ्नो सपनाको घर बनाउन शुरु गर्दै थिइन् । अर्थात ‘पुतलीको घर’ ।

डोनर खोजिन् । जसोतसो घर निर्माणको अन्तिम चरणमा थियो । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार घर निर्माण गर्दै थिइन् । त्यो घर नभएर गाउँजस्तो बन्दै थियो । सुविधा सम्पन्न गाउँ, जहाँ बालबालिकालाई कुनै कुराको कमी नहोस् ।

शनिबारको दिन, १२ वैशाख २०७२ । पुष्पा निर्माणाधीन आफ्नो सपनाको घर हेर्दै थिइन् । जेठो छोराले फोन गरे, ‘मामु चट्नी खाने तिल छैन, लिएर आउनू न है ।’

पुष्पा आफ्नो बाबुको रातो भ्यान चढेर निस्किइन् । पार्क भिलेज नजिकै पुगेकी थिइन्, बटारिएको सर्पजस्तो देखियो बाटो । पार्क भिलेजको स्वीमिङ पुलको पानी छर्लङ्ग गर्दै बाटोमै निस्कियो । ‘म गाडिबाट हाम फालिहालेँ । दिमागले कामै गरेन’, पुष्पा अत्तालिए जसरी बोल्छिन्, ‘मैले बच्चा, घर सबै सम्झिएँ ।’

भूकम्पले यसरी हल्लाएको तीन दिनपछि कन्ट्रयाक्टरले फोन गरेर भन्यो, ‘घर त सबै भत्कियो म्याम !’

अब झन् कसरी काम गर्छ पुष्पाको दिमागले । भन्छिन्, ‘घर अगाडि टेन्ट टाँगेकी थिएँ । आधा बोटल पानी राखेर हेरिबस्थेँ कि कतिबेला भूकम्प आउँछ ।’

एक हप्तापछि बल्ल उनी बूढानीलकण्ठ पुगिन् । ‘भत्किएका घर देख्नासाथ गेटमै ढलेँ । मेरा सबै सपनाहरु भत्किएजस्तो लाग्यो’, पुष्पा नियमित स्मरणमा छिन् ।

जेसुकै बितोस्, पुष्पासँग ४० जना बालबालिकाको भविष्य थियो । केही त गर्नै पर्‍यो । एक महिना नबित्दै उनले जर्मनीको टीभी कम्पनीलाई मेल गरिन् । उसले जवाफ फर्कायो, ‘दुई पेज लेखेर पठाउनू ।’ पुष्पाले त्यसै गरिन् । इमेलमा जवाफ आयो, साढे चार करोड सहयोग गर्ने बाचासहित ।

पुष्पा सक्ड ! जसरी भूकम्प आउँदा उनी अचम्मित भएकी थिइन् । ‘यो सपना कि विपना ! चार लाख भनेको कि चार करोड !’, उनको हाउभाउ परिवर्तन हुन्छ, ‘मैले टेन्टभित्र बसेर थोप्लो गन्थेँ । साँच्चै हो त ?’ तर यो विपना नै थियो ।

उनलाई त्यति नै बेला लाग्यो- तँ आँट म पुर्‍याउँछु भन्थे, साँच्चै हो रहेछ ।

‘त्यसपछि त समाज कल्याण परिषदबाट अनुमति लिएर ड्याङ कि ड्याङ घर बनाइहाल्यौं नि’, पुष्पा उत्साहित बन्छिन् । भवन निर्माणमा साढे नौ करोड खर्चेकी छिन् पुष्पाले ।

****

गेटबाट छिर्नेवित्तिकै कुनै पार्क जस्तो देखिन्छ पुतलीको घर । चारैतिर दुई तले चार वटा सुन्दर घर छन् । बीचमा ठूलो स्पेस । एउटा कुनामा बच्चा खेल्ने खेलसामाग्रीसहित चौर छ । अझ पारी खोला । वरिपरि जंगल ।

एउटा घरको भुइँ तलामा चिरिच्याट्ट तेक्वान्दोको ठूलो खेल मैदान जस्तो । अर्को तलामा उस्तै सफा । पुष्पाका छोराहरु सुत्ने बेड रुम, जहाँ निला रङका ओच्छ्यान छन् ।

अर्को भवनमा छोरीहरु बस्ने उस्तै सफा घर, जहाँ राता रङका ओच्छ्यान छन् । भुइँमा एउटा रातो डोरो हुँदै ट्वाइलेट बाथरुम पुगिन्छन् । त्यो डोरो र ट्वाइलेट फरक क्षमता भएकाहरुका लागि पनि हुने गरी निर्माण गरिएको छ ।

त्यसकै अगाडिको अर्को भवनमा कार्यालय छ, जसको दोस्रो तलामा पुष्पा बस्छिन् । भुइँ तलामा ठूलो हल छ, जहाँ बच्चाहरु खेल्नका लागि काठका अनेक सामाग्री छन् ।

एउटा कुनाबाट तल झर्ने खुड्किलो भेटिन्छ । त्यहाँबाट देखिन्छ, छानो हालेको खुला ठाउँ । जहाँ आउटडोर कार्यक्रम हुन्छ । त्यहीँबाट देखिन्छ पुरै काठमाडौं शहर ।

यहाँ एकातिर अर्को भवन छ । जहाँ पढ्ने कोठा, पुस्तकालय र कम्प्युटर कोठाहरु छन् । उस्तै सफा ।

र, त्यसकै अर्को पट्टी भवनमा पुष्पा सुत्छिन् । पुष्पा भन्छिन्, ‘मलाई अनुशासन चाहिन्छ । महिनाको एक-दुई पटक म आफैंले सबै घर सफा गर्छु । ताकी बच्चाहरुलाई परोस्, मामुले पनि यस्तो काम गर्नुहुन्छ, काम सानो ठूलो हुँदो रहेनछ ।’

कार्यालय समयमा हामी पुग्दा पुष्पा अफिसको क्याबिनमा थिइन् । सामान्य कालो स्वीटर र कटनको पाइन्टमा । फुङ्ग उडेको कपालमा तेलसम्म लगाएकी छैनिन् । कर्ली कपाललाई पछाडि लगेर बाँधेकी छन् । जहाँ पुगुन्, पुष्पाको ‘ड्रेस कोड’ यस्तै हो ।

‘किन यति साधारण छिन् पुष्पा ?’, धेरैले प्रश्न तेर्स्याउँछन् ।

पुष्पा हाँस्दै जवाफ दिन्छिन्, ‘बिहान उठेर ब्रस गरेर हिँड्ने फुर्सद हुँदैन । कहाँबाट मेन्टेन गर्ने ?’ हो, पुष्पाले कामलाई नै सुन्दरता सम्झन्छिन्, गहना मान्छिन् ।

****

काठमाडौंको डिल्लीबजारमा जन्मिइन् पुष्पा । उनको हुर्काइमा कुनै कुराको अभाव खड्किएन । त्यसैले उनलाई कहिल्यै इच्छा भएन कि यो लगाउन पाए, त्यो खान पाए ! उनी भन्छिन्, ‘मान्छेसँग जे हुँदैन, त्यसको न चाह गर्ने हो ।’

तर खै किन हो उनलाई कहिल्यै कपडामा त्यति धेरै ‘चुजी’ हुन मन लागेन । स्नातक पढ्दासम्म पनि उनी कुर्तामा हुन्थिन् । बाहिर हिँड्दा जहिले बुवाको कम्पनीको टिसर्ट लगाउँथिन्, तल सामान्य ट्रयाक ।

यहीबीच पुष्पाले तीन वर्षअघिको सिंगापुरको घटना सम्झिइन् ।

पुष्पा जुनसुकै कार्यक्रममा जाँदा पनि प्रायः आफ्नै संस्थाको टिसर्टमा हुन्छिन् । उनी एउटा तालिममा सिंगापुर पुगेकी थिइन् । कार्यक्रममै त्यहाँका प्रोफेसरले अकस्मात सोधे, ‘तिमीसँग अरु कपडा छैन कि क्याहो ? सधैं एउटै कपडामा हुन्छौ ।’

पुष्पाले भनिन्, ‘मसँग एउटै रङको कपडा दश जोर हुन्छ । आइ डोन्ट ह्याभ मल्टिपल च्वाइस । किनकी यसले डिसिजन पावरलाई एकदमै कमजोर पार्छ ।’

‘मैले कुनै डिसिजन लिनुपर्‍यो भने ढ्वाक्क लिन्छु । त्यो हल्लिँदैन । त्यसमा मेरो कपडाको पनि प्रभाव छ’, पुष्पाले तर्क दिइन् ।

हुन त उनका दराज कपडाले भरिएका छन्, तर साधारण । प्रायः एउटै रङका कपडाले । र, उनको घरमा कुनै मेकअपको सामाग्री छैन । ‘दश वर्षअघि जापान जाँदा आमाले कर गरेर लिपिस्टिक लिएको थिएँ । त्यो पनि ढुसी परेछ, उनी भन्छिन्, ‘अब उमेर पनि भयो । त्यसैले डाक्टरसँग जाँच गरेर सनब्लक क्रिमचाहिँ लगाउँछु ।’

उनलाई थाहा छ कि हाम्रो समाजले के गर्‍योभन्दा पनि के लगायो भन्नेमा बढ्ता ध्यान दिन्छ । तर पुष्पालाई यसको बाल मतलब। ‘मैले चस्माचाहिँ राम्रो चलाउँछु किनकी यो देख्ने कुरा हो । जुत्ता राम्रो लगाउँछु, नत्र लड्ने डर हुन्छ’, उनी पहिरनबारे थप बोल्छिन्, ‘स्वीमिङ पुल जाँदा स्वीमिङ कस्टुम लगाउनुपर्छ भन्ने सेन्स त छ नि मसँग ।’

अनुहारमा त कामले चमक ल्याउनुपर्छ । यो उनको आदर्श हो ।

त्यसैले त पुष्पालाई गोलकास्ट डटकमले २०१० देखि २०१९ सम्म अर्थात् दशककै प्रेरणादायी व्यक्तित्वको पहिलो नम्बरमा राखेको छ । सीएनएन सुपर हिरो अवार्डबाट सम्मानित भएकी उनले ग्रेटा थनवर्ग, स्टिभ जब्स, मलाला युसुफजाइलगायतलाई उछिनेर पहिलो नम्बरमा स्थान बनाएकी हुन् ।

पुष्पाको चाहिँँ प्रेरणाको स्रोत के हो त ?

पुष्पा फ्याट्ट आमा-बाबु सम्झन्छिन् । ‘आमा-बाबाले मलाई सबैभन्दा ठूलो कुरा अनुशासन दिनुभयो ।’ त्यसैले त अहिले पनि उनका आमा-बाबालाई हरेक दिन बिहान फोन गरिनन् भने राम्रोसँग उनको दिन बित्दैन । उनले सुत्नुअघि फोन गर्छिन् ।

र, सम्झन्छिन्, आफ्ना छोराछोरीलाई । ‘कुनै आमा-बाबुले मुटुको टुक्रालाई त्यसै अञ्जान व्यक्तिको हातमा सुम्पन त सक्दैन नि ! ममाथि उनीहरुका आमा-बाबुको ठूलो विश्वास छ’, पुष्पा बोल्दै जान्छिन्, ‘यी बच्चाहरु हुन् मेरा प्रेरणा ।’

तत्कालीन इन्स्पेक्टर मिरा चौधरी हुन् उनकी प्रेरणा । ‘उहाँलाई देख्दै लाग्थ्यो वाह् ! महिला भएर पनि कस्तो बोल्ड’, छक्क पर्दै भन्छिन्, ‘उहाँले मलाई जेल देखाउन नलगेको भए यहाँ हुन्थिनँ ।’

सेन्ट जेभियर्समा पढ्दा फिल्ड भिजिटका लागि उनलाई जेल देखाउन लगिएको थियो । फर्कने बेला एक अञ्जान बालिका पुष्पाको कुर्ताको फेरोमा झुण्डिइन् । पुष्पा पग्लिइन् । त्यसपछि उनी विद्यार्थीबाट जेलका बालबालिकाका ‘मामु’ भइन् । पुष्पा भन्छिन्, ‘आफू आफैंदेखि पनि प्रेरित हुन जरुरी छ । आफ्नो कामबाट सन्तुष्टि लिन सक्नुपर्दोरहेछ, यसैबाट प्रेरित भइँदोरहेछ ।’

****

अहिले पुष्पा नियमित कलेज जान थालेकी छन्, मास्टर्स इन टेक्निकल भोकेस्नल एजुकेशन विषय छनोट गरेर । अन्तिम परीक्षाको तयारीमा छिन् उनी । किनकी उनले बच्चाहरुलाई बालाजु टेक्निकल स्कुलमा पढाएकी छन् र आफू पनि अपडेट हुनु छ ।

पुष्पासँगै सन् २०२० मा उनका एक छोरा र एक छोरीले काठमाडौं युनिभर्सिटीबाटै ग्राजुएसन गर्दैछन् । पुष्पा १० वर्षपछि कलेजमा फर्किएकी हुन् । ‘बच्चाहरुलाई इन्स्पायर गर्नका लागि पनि म कलेज जान थालेकी छु । उनीहरुलाई लाग्नसक्छ यतिधेरै व्यस्ततामा पनि कलेज पढ्न सकिँदोरहेछ’, पुष्पा भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा मैले समय व्यवस्थापन गरेकी छु ।’

महत्वपूर्ण कार्यक्रमबाहेक पुष्पा अफिसमै हुन्छिन् । र, छोराछोरीलाई संस्कार सिकाउँछिन् ।

कतिले प्रश्न गर्छन्, पुष्पाले बच्चाहरुलाई किन यति विलाशी जीबन दिएको होला ? एउटा समय यस्तो थियो, मान्छेहरुले उनलाई बच्चाहरु राख्न घर भाडामा दिँदैनथे । जेलका बच्चा भनेर दुरदुर गर्थे । कसैले साथी बनाउँदैनथे । र, पनि पुष्पाले आमा बनेर हुर्काइरहिन् । ‘मानिसहरुले मलाई बाहिरबाट हेर्दा कठोर भन्छन् । तर भित्र त्यति नै नरम छु’, उनी विस्तारै बताउँछिन्, ‘म कठोर भएको भए पैसा मात्र कमाएर बस्ने थिएँ । बच्चाहरुसँग रमाइलो गर्न कहाँ सक्थेँ ?’

सिएनएन सुपर हिरोको अवार्ड उचालेपछि भनेकी थिइन्, ‘तपाईंले आफूलाई विश्वास गर्नुस् । आफ्नो प्यासनमा विश्वास गर्नुस् । फेलियर इज द सक्सेस अफ लाइफ ।’ हो, उनले आफ्नो प्यासनलाई निरन्तरता दिइन् ।

प्रारम्भिक बालबिकास केन्द्र (पुतलीको घर) शुरु गरेको १५ वर्षपछि पुष्पा सन्तोषको सास फेर्दैछिन्, ‘आइ ह्याड अ व्युटिफूल जर्नी अफ लाइफ ।’

अब उनको उद्देश्य छ, जेलबाट निस्किएका महिलाहरुलाई एउटा सेल्टर बनाउने । के उनको जीबनको योजनामा बिहेचाहिँ परेकै छैन ? पुष्पा भन्छिन्, ‘गरौंला नि बिहे त । उमेर छँदै छ । बिहे गर्दिनँ भनेर कहाँ भनेको छु र !’



source https://www.onlinekhabar.com/2020/01/824836

भ्रमण वर्ष तामझाम : घर–घरमा दीपावली तर छैन ‘विशेष’ घोषणा

१६ पुस, काठमाडौं । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ ।

पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्य १० वर्षपछि मात्रै पूरा भयो । सन् २००७ मा आइपुग्दा बल्ल ५ लाख पर्यटक आगमनको आँकडा छोएको थियो ।

दुई दशकपछि आयोजना हुन लागेको तेस्रो भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यसका लागि सन् २०१९ को पर्यटक आगमनको तुलनामा करिब ४० प्रतिशत पर्यटक वृद्धिको आवश्यकता पर्छ । यो लक्ष्य महत्त्वकांक्षी त होइन, तर सहज पनि छैन ।

सरकारी अधिकारीहरू भने भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आगमन हुनेमा विश्वस्त छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई खासगरी नेपालमा पर्यटक बढी आउने स्रोत बजारमा पर्यटकीय प्रवद्र्धनका काम भइरहेकाले २० लाख लक्ष्य पूरा हुने बताउँछन् । उनको जस्तै आत्मविश्वास भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डसँग पनि छ । बोर्ड सञ्चालक समिति सदस्य दीपक महत भन्छन्, ‘म पूर्ण आत्मविश्वासका साथ भन्न सक्छु, २० लाख पर्यटक आगमन पुग्छ, त्यो आधार तयार भएको छ ।’

नियमित वृद्धिदरलाई हेर्ने हो भने सन् २०२० सम्म मुस्किलले १३ लाख पर्यटक मात्र पुग्ने अवस्थामा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्षको सुरुवात गर्न लागेको हो ।

रंगशालामा विशेष कार्यक्रम

भ्रमण वर्ष उद्घाटनको अवसर पारी मूल आयोजक समितिले बुधबार दशरथ रंगशालामा विशेष कार्यक्रम आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भ्रमण वर्षको शुभारम्भ हुने यस उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोह सागको उद्घाटनभन्दा भव्य बनाउने तयारी भइरहेको भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य बताउँछन् । उनका अनुसार, भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार भ्रमण वर्षको अवसर पारी विमानस्थल, सीमा नाका तथा मुख्य पर्यटक क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । हरेक प्रदेश तथा स्थानीय तहमा समेत सोही प्रकारको तयारी भइरहेको छ । कतिपय स्थानमा पर्यटकलाई आकर्षित गर्न सरप्राइज गिफ्टको समेत तयारी गरिएको छ । भ्रमण वर्षलाई लक्षित गरी निजी क्षेत्रले छुट तथा अफर सार्वजनिक गरेका छन् । सन् २०२० भर होटेल र होमस्टेले छुट सुविधा दिँदैछन् । ट्राभल र टुरमा समेत छुट सुविधा सार्वजनिक गरिएको छ ।

४ मुलुकका पर्यटन मन्त्री

भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, चीन, जमैका र म्यानमारबाट मन्त्रीहरू आएका छन् । उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार स्वागत गरे ।

उद्घाटन समारोहलाई विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट ३५ भन्दा बढी पत्रकारलाई नेपाल आमन्त्रण गरिएको छ । उनीहरूलाई नेपालका विभिन्न गन्तव्यसम्म लैजाने योजनासमेत छ ।

विदेशमा ७ तारिखमा उद्घाटन

भ्रमण वर्ष २०२० को उद्घाटन नेपालमा मात्र आज शुभारम्भ हुनेछ । विदेशमा भने ७ तारिखमा मात्र उद्घाटनको तयारी छ । पर्यटनमन्त्री भट्टराईका अनुसार, विदेशमा नयाँ वर्षको बिदाको मुड हुने र त्यसले भ्रमण वर्षको शुभारम्भ खल्लो हुने भएकाले ७ जनवरीमा मात्र उद्घाटनको कार्यक्रम राखिएको हो । त्यसदिन सम्भव भएसम्म आ–आफ्नो मुलुकका राष्ट्रप्रमुख र या सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउन नेपाली कूटनीतिक नियोगलाई पत्राचार गरिएको छ ।

छैन ‘विशेष’ घोषणा

भ्रमण वर्षलाई ‘खास’ बनाउने गरी निजी क्षेत्रले सरकारको तर्फबाट केही न केही घोषणाको अपेक्षा गरेका थिए । तर, यो भने भ्रमण वर्षको दिनसम्म आइपुग्दासम्म पनि अपूर्ण रहेको छ । यसबीचमा अन्तर्राष्ट्रिय क्षेत्रसम्म तरंग हुने गरी खास घोषणा गरी पर्यटकलाई नेपालसम्म आकर्षित हुने खालको प्याकेज वा घोषणाको माग निजी क्षेत्रले गरेको थियो । तर, सरकारले अधिकांशसमेत निजी क्षेत्र, गैरआवासीय नेपाली र कूटनीतिक नियोगले गर्ने प्रवद्र्धनकै काममा बढी भर परेको देखिन्छ ।

पूर्वाधार र हवाई सञ्जालको चुनौती

भ्रमण वर्षको अन्तिम समयसम्म आइपुग्दासमेत सरकारले आमजनता, व्यवसायी र सरोकारवालालाई चित्त बुझाउन नसकेको मुख्य क्षेत्र नै पूर्वाधार र हवाई सञ्जालको हो । यसबीचमा असुरक्षित सडक र हवाई सञ्जाल, अन्तर्राष्ट्रियस्तरमा नेपाल एयरलाइन्सको कमजोर उपस्थिति र नेपालको हवाई सूचीलाई युरोपले राखेको कालोसूचीले पक्कै पनि नकारात्मक प्रभाव पार्नेछ ।

भ्रमण वर्षकै मुखमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले नागरिक उड्डयन प्राधिकरण ऐनविरुद्धमा घोषणा गरेको आन्दोलनले समेत सरकारलाई अफ्ठ्यारोमा पार्न सक्छ । सन् २०१९ भित्रै भैरहवा विमानस्थल सञ्चालनमा आइसक्ने, नेपाल एयरलाइन्सले थप जहाज ल्याएर लामो दूरीमा उडान थालिसक्ने अनुमानसहित २० लाख लक्ष्य राखिएको थियो । तर, यी घोषणा अधुरै रहेको समयमा लक्ष्यमा पुग्नु चूनौतीपूर्ण देखिन्छ ।

तामझाममात्रै नहोस्

भ्रमण वर्षलाई लिएर सरकार आवश्यकताभन्दा बढी हौसिएको प्रतीत हुन्छ । करोडौं खर्च गरेर तामझामपूर्ण उद्घाटन गर्न लागिएको छ । सबै सरकारी कार्यालयहरूमा दुई दिन दीपावली गर्नसमेत उर्दी भएको छ ।

अहिले गरिएको तामझाम कत्तिको उपलब्धिपूर्ण होला भन्ने त एक वर्षसम्ममा थाहा होला । तर, पर्यटक डाक्नका लागि भने देखावटी तामझामभन्दा पूर्वाधारहरूको संरक्षण र संवद्र्धनमा जोड दिएको भए हुने विज्ञहरूको मत छ ।



source https://www.onlinekhabar.com/2020/01/824855

कसरी गायब भयो घाटे भकारी र सिँढीहरु ?

बर्खाको मौसममा बाहेक प्रायः त्यतिमाथिसम्म पानी नआउने भएकोले मानिसको शव जलाउनको लागि तयार पारिएको आकर्षक ढुंगाद्वारा निर्मित घाटे भकारी र नदीको बीचमा सायदै कतैपनि मानव संरचनाहरु बन्दैनन् होला । त्यो भकारी नै घाटको चिनो हो र घाट नै नदीको सारथि हो । तर, यो अचम्मलाग्दो दृश्य हामीले थापाथलीदेखि टेकुसम्मको वागमतीको किनारामा देख्न सक्छौं । जहाँ घाट र नदीको बीचमा जंगलमात्रै छैन । एउटा सिंगो बस्ती नै बसेको छ ।

यो क्षेत्रमा सबैभन्दा पहिले वागमतीलाई संकुचित गराएर पार्क निर्माण गर्ने योजना बनाइयो । त्यसै अनुसार वागमतीलाई एक तिहाई भाग सानो गराएर त्यहाँको जग्गा खाली गराईयो । सो विरुद्ध त्यतिबेलै सर्वाेच्च अदालतमा मुद्दा पनि पर्‍यो । सर्वाेच्चले पार्क बनाउनै पर्ने भएपनि सांस्कृतिक सम्पदाहरुको क्षति नहुनेगरी बनाउन भन्यो । त्यसमा सबै सहमत भए । नदी बग्ने ठाउँमा सडक बनाइयो । त्यसको छेउमा पार्क र त्यो भन्दा भित्र नदी राख्ने भनियो । त्यही बेलादेखि नै घाटलाई नदीसँग छुट्टाएर सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता गरियो ।

सोही क्षेत्र पर्ने काठमाडौं महानगरपालिकाका वडा नं ११ का वडाध्यक्ष हिरण्यलाल श्रेष्ठ नदीसँग किनारालाई छुट्टाउने काम जायज नभएको भन्दै अब आफूहरु त्यो नदी किनारका भकारीहरुको संरक्षणमा लाग्ने बताउँछन् । नदी र किनाराको बीचमा भएको सडक २०५२ सालतिर नै बनेको भन्दै त्यसलाई बन्द गर्न नसकेपनि त्यहाँको सम्पदाहरुलाई संरक्षण गरेर सम्पदा मार्गको रुपमा त्यसलाई विकास गराउने उनले बताए ।

 


२५ वर्षदेखिको झमेला

विसं २०५२ साल भदौ १२ गते संयुक्त राष्ट्र संघको ५० औं वाषिर्क उत्सव मनाउने क्रममा तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार गठित राष्ट्रिय समितिले शंखमूलदेखि टेकु दोभानसम्मको साढे ३ किलोमिटरको दूरीमा पार्क निर्माण गर्न सिफारिस गर्‍यो । दुबै तर्फको वागमती नदीको किनारा शंखमुलदेखि टेकुसम्मको जग्गामा संयुक्त राष्ट्र संघ पार्क निर्माण गर्ने विषयमा निर्णय भएपछि अहिले पनि कतिपय ठाउँमा पार्क निर्माणको काम सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा काम चलिरहेको छ ।

यो काम सुरु भएपछि दायर भएको यस विरुद्धको रिटमाथि फैसला गर्दै तत्कालीन न्यायाधीस केदारप्रसाद गिरीको इजलासले प्रसुति गृहको नाममा सार्वजनिक घाट, भकारी एवं नदीको क्षेत्रमा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्नु नगराउनु हुन भनेर सरकारको नाममा २०५६ साल जेठ ३१ गते फैसला सुनाएको थियो । तर, त्यसको २० वर्षपछिसम्म आइपुग्दा न त त्यहाँ पार्क निर्माणको कामले गति लिएको छ न त सर्वाेच्चको आदेश बमोजिम त्यहाँको सांस्कृतिक सम्पदाहरु संरक्षण नै भएको छ ।

नदीलाई संकुचित गराइएको छ भने घाट र नदीको बीचमा नै पक्की मानवनिर्मित संरचनाहरु तयार पारिएको छ । थापाथलीमा रहेको प्रसुति गृहको भवनले घाटको अस्तित्व नै संकटमा पारेको छ भने घाट र भकारीमा रहेका महत्वपूर्ण ऐतिहासिक ढुंगाहरु समेत चोरी हुने क्रम बढी रहेको छ ।

पार्क निर्माणको क्रममा त्यस विरुद्ध आएका आवाजहरु निर्मूल पार्नको लागि शखंमुलदेखि टेकुसम्मको जग्गामा रहेको पुरातात्विक धार्मिक, सांस्कृतिक, प्राचीन मूल्य मान्यता र परम्पराको सुरक्षा, संरक्षण, सम्वर्द्धन र विकास विस्तार एवं जगेर्ना गरी उक्त क्षेत्रलाई आकर्षकता प्रदान गर्न र सो क्षेत्रमा रहेको ऐतिहासिक कला, मठ, मन्दिर, घाट, भकारी जस्ता मूल्य मान्यतालाई कुनै असर नपर्नेगरी पार्क निर्माण गर्न लागिएको भनिएको थियो । तर, त्यहाँ प्रतिबद्धता गरिएकोभन्दा ठिक विपरित अहिले घाट र नदीको बीचमा बाटो निर्माण र निजी संरचनाहरु खडा गरिएको छ भने विभिन्न सांस्कृतिक सम्पदाहरु नष्ट हुने क्रममा छन् ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीदेखि टेकुसम्मको बाग्मती किनारलाइ ‘श्री हुतराम वैद्य स्मृति पैदलमार्ग’ बनाउने निर्णय गरेको थियो । चालू आर्थिक वर्षको लागि यहाँ बजेट पनि विनियोजन भइसकेको छ । त्यस्तै, टेकुदेखि विष्णुमतीसम्मको नदीकिनारालाई ‘श्री भगवानदास मानन्धर स्मृति स्थल’ को रुपमा विकास गर्ने भनिएको भएपनि अहिले त्यो काम अघि बढ्न सकेको छैन । थापाथलीमा सुकुम्बासी बस्तीको समस्या उस्तै छ भने प्रसुति गृहले निर्माण गरेको संरचना अझै भत्किएको छैन । विभिन्न किसिमका स्थायी संरचनाहरुका कारण यो क्षेत्र आफैंमा अघोषित रुपमा कब्जा भइसकेको छ ।

तर, काठमाडौं महानगरपालिकाका ११ नं वडाका वडाध्यक्ष हिरण्यलाल श्रेष्ठ भने प्रसुति गृहको भवनका कारण यो योजना रोकिएको भन्दै अब यो कामले गति लिने बताउँछन् । ‘राज्यको योजना भनेर भवन निर्माण विभाग, जाइका र मन्त्रालयबाट समेत माग भएपछि हामीले दिएका थियौं । अब तत्कालै बनाइदिन र नभएर महानगरले नै बनाउँछ भनेपछि अहिले ठेक्का प्रक्रिया सुरु भएको छ भनेका छन् । अब छिट्टै बन्छ सम्पदा पदमार्ग ।

एक नं भकारीदेखि टेकु दोभानसम्म सम्पदा पदमार्ग बनाउने तयारी

काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको एक नं भकारीदेखि टेकु दोभानसम्मको घाटघाटैको बाटोलाई सम्पदा पदमार्ग बनाउनको लागि भनेर बजेट नै निकासा गरिसकेको छ । यद्यपि प्रसुति गृहको भवनका कारण यो रोकिएको काठमाडौं महानगरपालिका वडा नं ११ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले प्रसुति गृहका सम्बन्धित अधिकारीहरुले पर्खाल बनाउनको लागि टेण्डर नै आहृवान गरिसकेको भन्ने प्रतिक्रिया दिएको भन्दै अब हेरिटेज वाक जसरी पनि बन्ने दाबी गरे ।

पुनर्निर्माणको क्रममा सम्पदाको संरक्षणको चिन्ता

यतिबेला यो साढे ३ किलोमिटरको घाट मध्ये धेरै ठाउँमा यसको अस्तित्व मेटिएको छ । यसले यही घाट आसपासमा रहेका विभिन्न मन्दिरहरुको पुनर्निर्माणको क्रममा पनि यहाँको सुन्दरता र सांस्कृतिक महत्वलाई ख्याल गरिँदैन कि ? भन्ने चिन्ता धेरैलाई पर्ने गरेको छ । अहिले त्यहाँको भकारीका अधिकांश ढुंगाहरु चोरिएका छन् ।

इतिहासकारहरुका अनुसार एक नं भकारीदेखि टेकु दोभानसम्म भएका कूल ६६ भकारीहरु मध्ये आधाभन्दा धेरै भकारीका ढुंगाहरु हराइसकेका छन् । घाटको लागि व्यवस्थित गरेर राखिएका घाटको सिँढीका ढुंगाहरु समेत धेरै हराइसकेका छन् । पहिले जुन प्रयोजनको लागि यसको निर्माण गरिएको थियो । त्यो अहिले देख्न सकिँदैन । यही सम्पदा क्षेत्रमा विभिन्न किसिमका मन्दिरहरु पनि निर्माण गरिँदै छ । तर, ती मन्दिरहरुका साथमा यो सिंगो पवित्र क्षेत्रलाई कसरी व्यवस्थित गर्ने ? भन्ने बारेमा पर्याप्त बहस भएको पाइँदैन ।

यही क्षेत्रलाई सम्पदा क्षेत्रको रुपमा विकास गर्नुको मुख्य उद्देश्य भनेको नै यस क्षेत्रमा रहेका १९ औं शताब्दीका मठमन्दिर, देवल, सत्तल, आश्रम सुरक्षित राख्नु रहेको श्रेष्ठ बताउँछन् । यही क्षेत्रमा त्रिपुरेश्वरी मन्दिर छ । यही क्षेत्रमा हेमहिरण्यजंग नारायण मन्दिर छ । जुन सन् १८६८ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नी दुई पत्नी हेम र हिरण्यको स्मरणमा बनाउन लगाएका थिए । जुन मुगल शैलीको छ । यही क्षेत्रमा जंगबहादुरले बनाएका विभिन्न किसिमका आश्रमहरु, शिव मन्दिर, पचली भैरवको मन्दिर, राणा प्रधानमन्त्रीहरुको श्राद्ध गर्ने ठाउँ र राजाको श्राद्ध गर्ने ठाउँहरु रहेका छन् ।

६० वर्षमा वागमती : सुक्यो नदी, हराए सम्पदाहरु

पछिल्लो ६० वर्षको समय हो जुन समयमा वागमती एउटा विशाल नदीको स्वरुपबाट एउटा सानो र ढलमात्रै बग्ने नदीको रुपमा परिवर्तन भएको छ । जसका कारण यसको संकुचन पनि बढ्दै गइरहेको छ । सन् १९६० मा जर्मन जियोलोजिस्ट टोनी हेगनले नेपालको विभिन्न स्थानको अध्ययन गर्न नेपाल आउने क्रममा खिचेको एउटा फोटोमा विशाल बागमतीको चित्र देख्न सकिन्छ । त्यो वागमतीको प्रमाण भनेको काहीँकतै देखिने त्यही भकारी र घाटहरु बाँकी छन् । त्यसबाहेक आधा भन्दा धेरै वागमतीको भूभागमा नयाँ संरचना बनिसकेका छन् ।

तस्वीर : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2020/01/824845

रसुवागढी जोड्न टोखामा सुरुङमार्गको अध्ययन गर्दै चिनियाँ टोली

१६ पुस, काठमाडौं । काठमाडौंलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चीनबाट सुरुङमार्ग विज्ञसहितको प्राविधिक टोली नेपाल आएर अध्ययन थालेको हो ।

टोलीले प्रस्तावित टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) खण्डको प्रारम्भिक अध्ययन गर्नेछ । टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटरको सुरुङमार्गको प्रस्ताव गरिएको छ ।

तर, बेत्रावती–रसुवागढी (घट्टेखोला)लाई सरकारले उच्च प्राथमिकतामा राखेको छैन । किनभने यो खण्डमा नेपाली सेनामार्फत हालसालै सडकको ट्रयाक खोलेर स्तरोन्नतिको काम हुँदैछ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार टोलीले सुरुङमार्ग निर्माणका लागि प्रस्तावित स्थानहरूको नाप नक्सा लिने र अवलोकन गर्ने काम सुरु गरेको छ ।

‘सुरुङमार्गको अध्ययन गर्न आइपुगेको चिनियाँ टोली प्रारम्भिक तवरको तयारी र अध्ययनमा व्यस्त छ,’ उनले भने, ‘टोलीले कसरी कहिलेसम्म अध्ययन सकाउँछ भन्ने एकीन छैन ।’

असोज चौंथो साता चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको छ । यो समझदारीअनुसार सुरुङमार्ग बनाउन लाग्ने अध्ययन खर्च चीनले नै बेहोर्छ । चीनले प्रारम्भिक अध्ययन सकाएर रिपोर्ट दिएपछि फेरि यी सुरुङमार्गको डीपीआर बनाउने प्रक्रिया सुरु हुनेछ । डीपीआर बनेपछि बल्ल निर्माण मोडालिटीमा छलफल हुनेछ ।

सरकारले यो सुरुङमार्ग पनि चीनले नै बनाइदिने अपेक्षा राखेको छ । तर, यसबारेमा कुनै पनि तवरमा नेपाल र चीनले छलफल गरेका छैनन् । यो सुरुङमार्ग निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बनाउन चिनियाँ कम्पनीहरूले पनि इच्छा देखाएका छन् ।

नेपालले गरेको प्रारम्भिक अध्ययनले यो आयोजना सम्भाब्य भएको देखाईसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने सुरुङमार्ग करिब चार दशमलव दुई किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दूरी घटाउन सकिने विभागको भनाइ छ ।

टोखाबाट थानसिंह फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेंसी खण्डमा जोडिनेछ । सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । सडक विभागले यो सडकलाई यसै वर्षबाट पिच सुरु गर्दैछ । त्यसैमा लगेर टोखाबाट जाने सडकलाई जोडिनेछ ।

स्याफ्रुदेखि रसुवागढीसम्म भने चीनले अहिले सडक विस्तारको लागि काम थालेको छ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक सवारी पनि दुई घण्टामै पुग्न सक्ने विभागको भनाइ छ ।

यदि काठमाडौंसम्म सहज खालको दुई लेनको बाटो बनाउन सकियो भने चीनसँग नेपालको ब्यापार सहजीकरणमा पनि मद्दत पुग्ने भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

नेपाललाई के फाइदा ?

चीनले रसुवागढी जोड्ने गरी नेपालमा सुरुङमार्ग निर्माणमा पहिलोपटक चासो देखाएको छ । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छोडेको थियो ।
त्यसकै विकल्पमा रसुवाको केरुङवारिको रसुवागढी नाकालाई चीनले अघि सारेको हो । तर यो नाकासम्मको सडक बिजोक हालतमा रहेकाले यसको स्तरोन्नति गर्नुपर्ने आवश्यकता चीनलाई भन्दा बढी नेपाललाई छ ।

प्रस्तावित सुरुङमार्ग बनेपछि तिब्बतबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिने मालबाहक सवारी मात्रै नभएर चिनियाँ पर्यटककको संख्यामा पनि वृद्धि हुने अपेक्षा छ । पछिल्लो समयमा तिब्बतबाट केरुङ नाका भएर नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक पनि बढ्दैछन् । तर, नेपालतर्फका सडकको दुरावस्थाले धेरै पर्यटकलाई स्थलमार्ग भएर आउन रोक्ने गरेको छ ।

सडक विभागका अनुसार अहिले मालबाहक सवारीलाई रसुवागढीबाट काठमाडौं आइपुग्न १२० किलोमिटरको कष्टकर यात्रा तय गर्नपर्छ । उकालो–ओरालो, घुम्तीयुक्त सडकमा पहिरोको जोखिम उच्च छ भने धादिङको गल्छी आईपुग्दासम्म साँघुरा पुल र सडकका कारण सवारीलाई ६ घण्टा बढी समय लाग्छ ।

यो योजना पुरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दूरी करिब ८० किलोमिटरमा छोट्टिने विभागका केशवकुमार शर्मा बताउँछन् । उनका अनुसार अब सुरुङसहित दुई लेनको सहज मार्ग निर्माणका लागि विस्तृत अध्ययन हुनेछ ।

केरुङ नाकासम्मको सडकको दुरवस्थाले अहिले पनि पटक–पटक दुःख दिने गरेको छ । सडकमा पहिरो खसिरहने कारण यो सडकमार्गमा दुर्घटनाको जोखिम पनि उच्च छ । प्रस्तावित सुरुङसहितको सडकमार्ग निर्माण भएपछि समग्र आपूर्ति व्यवस्थामा सुधार आउने र नाकाबन्दीजस्तो असहज अवस्था आएमा विकल्प पनि दिनेछ ।



source https://www.onlinekhabar.com/2020/01/824844

साहसी सन्तोष, जसले त्रिशूलीमा बगिरहेकी युवतीलाई बचाए

१६ पुस, काठमाडौं । गत मंसिर २२ गते आइतबार दिउँसो २ बजे मुग्लिङस्थित आर्क ब्रिजबाट एक युवती त्रिशूली नदीमा हाम फालिन् । पुलको पारी पट्टी रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस रेष्टुरेण्टको छतमा बसेका एक युवकले युवती हाम फालेको देखे । उनी चिच्याए ।

युवकको चिच्याहट त्यही रेष्टुरेन्टमा ‘ट्राफिक’को काम गर्ने सन्तोष गुरुङले सुने र दौडिएर रेष्टुरेण्टको बार्दलीबाट नदीमा हेरे । युवती बग्दै गरेको देखियो । उनीसँगै रेष्टुरेण्टमा रहेका ग्राहकहरु पनि हेर्न आए ।

यत्तिकैमा होटल सञ्चालक (नातामा काका पर्नेे) ले सन्तोषलाई भने– ‘दौडी केटा’ । सन्तोष पनि थप केही नसोची पुरानो सडक पुलको बाटो हुँदै नदी बगेको धारतिर दौडिए । सबै मानिस युवती बगेको रमिता हेर्दै थिए, तर सन्तोष किनारै किनार ५ सय मिटर दौडिएर युवती नजिक पुगिसकेका थिए ।

युवतीलाई समाउन सक्ने ठाउँमा पुगेपछि सन्तोषले खल्तीको मोबाइल बगरमा मिल्काए र नदीमा फाल हाने । युवतीलाई च्याप्प समाएर बगरमा ल्याए । बगरमै सुताएर पेट थिचिदिए, ताकि निलेको पानी निक्लियोस् । युवतीको हात र पाइताला मालिस गरे । युवतीले ‘ऐया…’ भनिन् ।

‘श्वास छँदै उद्धार गर्न पाइयो,’ सन्तोष हर्षित मुद्रामा भन्छन् ।

उनले नदीबाट निकालेको १०/१५ मिनेटमा अरु साथीहरु र प्रहरी घटनास्थलमा आइपुगे । युवतीलाई तुरुन्तै उपचारका लागि अस्पताल पठाइयो ।

तनहुँको आँबुखैरेनीस्थित छिम्केश्वरी जनरल अस्पतालमा प्राथमिक उपचारपछि युवतीलाई उनको आमासँग समन्वय गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धी सुवेदीले अनलाइनखबरलाई बताए ।

गोरखा स्थायी घर भएका युवतीको परिवार अहिले काठमाडौं बस्दै आएको आँबुखैरेनी प्रहरीले जनाएको छ । युवती अहिले परिवारसँगै छिन् । घटनाको प्रत्यक्षदर्शी र युवती उद्धारको सबै जस सन्तोस गुरुङलाई नै जाने प्रहरीले निरीक्षक सुवेदी बताउँछन् ।

‘हामीले अस्पतालसम्म ल्याउने र परिवारलाई समन्वय गर्ने काम गर्‍यौं,’ उनले भने ।

‘बचाउँछु भनेरै नदीमा हामफालें’

धादिङ नीलकण्ठ नगरपालिका १ हिलेखर्क घर भएका २० वर्षीय सन्तोष पौडिन सिपालु छन् । पौडी खेलेको अनुभवले गर्दा त्रिशूली नदीमा हामफाल्दा कुनै डर नलागेको उनले बताए ।

उनी मुग्लिङको पुरानो मर्स्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा गाडीका यात्रुलाई खाना खान बोलाउने ‘ट्राफिक’ (उनैले दिएको नाम) को काम गर्छन् । आफूले युवतीको ज्यान बचाउन सक्छु भन्ने आत्मविश्वासले नै नदीमा हामफालेको उनले बताए ।



source https://www.onlinekhabar.com/2020/01/824523

प्रचण्डको सर्कुलर अलपत्र, सामाजिक सञ्जालमा नेताको दोहोरी

१६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं प्रचार बिभाग उपप्रमुख सूर्य थापाबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चलेपछि कार्यकर्ताले भदौ १३ को अन्तरपार्टी निर्देशन सम्झाएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १३ भदौमा जारी गरेको अन्तरपार्टी विशेष निर्देशनको बुँदा नम्बर (च) मा पार्टीका सबै तहका नेता कार्यकर्ता तथा सदस्यहरुलाई पार्टी नीति एवंम नेतृत्वका सम्बन्धमा सार्वजनिक रुपमा बिरोध वा आलोचना नगर्न निर्देशित गरिएको थियो ।

सो बुँदामा भनिएको छ, पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरुप्रति पार्टी विधान बमोजिम स्पष्टिकरण सोध्ने, कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।’

नेकपाको सचिवालय बैठकले गरेको सो निर्णयमा पार्टीका सबै तहका नेता कार्यकर्तालाई अहसमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको परापुर उपभोग गर्न भनिएको छ ।

तर सो निर्णय र अन्तरपार्टी निर्देशन कसैबाट पालना नभएको भन्दै नेकपा कार्यकर्ताले ‘अनुशासनको कारबाही कोबाट शुरु हुने ?’ भनि प्रश्न उठाएका छन् ।

रावल र थापाको जुहारी

नेकपामा पछिल्लो समय नेता रावल र थापाबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ ।

नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला नेता रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा प्रश्न उठाएका थिए । र, त्यसबारे भएको निर्णय सञ्चारकर्मीलाई सुनाएका थिए । नेकपा प्रचार विभागका उपप्रमुख थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ हुँदाहुँदै रावलले मिडियालाई ब्रिफिङ गरेकोमा आपत्ति जनाए ।

त्यसको जवाफमा रावलले प्रधानमन्त्रीको सल्लाहकार भएपछि थापाले पार्टी अध्यक्ष भए झैं गरी आदेश निर्देशन गर्ने अधिकार र हैसियत प्राप्त गरेको भ्रम परेको टिप्पणी गरे ।

थापाले  सोमबार रावलको पुराना कविता ‘लिम्पियाधुरा’ र बालुवाटारप्रति व्यंग्य गर्दै हालै स्थायी कमिटीमा सुनाइएको ‘धुँवाले छोपिँदै दियो’ भन्ने कविता तुलना गर्दै एक्लो वृहस्पति बन्ने बाटोमा हिँडेको आरोप लगाए । थापाले लामो स्टाटसमा लेखेका छन्, ‘तपाईंको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन । कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाशमात्रै थाम्न खोज्नु उचित होला ।’

रावलले त्यसको पनि जवाफ दिएका छन् र थापाले एक्लो वृहस्पति हुन लागेको भनेर पार्टी कार्यकर्ता तथा देशभक्त नेपाली जनतालाई धम्की दिएको भन्दै त्यसबाट पात पनि नझर्ने टिप्पणी गरेका छन् ।

उनले सूर्य थापामाथि बर्दियामा बामदेव गौतम हराउन केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गरेकोसमेत बताएका छन् । रावल लेख्छन्, ‘सल्लाहकारको सल्लाह भए २०३२ सालमा झ्यालखानादेखि तत्कालीन नेकपा एमालेमा देखे भोगेका कुरा र गुटबन्दीका पत्रपत्रहरु लगायतका तथ्यहरुमा बहस गरौंला । यद्यपि सरकार चलाउनुपर्नेले गुट चलाउन थालेमा, सल्लाहकारबाट धेरै अपेक्षा गर्नु शायद उचित पर्दैन होला ।’

रावलले देशलाई नयाँ रंगको निरंकुशतन्त्रतर्फ धकेल्न खोजिएको आशंकासमेत गरेका छन् ।

त्यसअघि सोमबारमात्र नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी र नामबारे गरेको निर्णयको भिडियो समाचार शेयर गर्दै रावलले ‘यसमा सहप्रवक्ताको टिप्पणी खै त ?’ भनी थापातिर व्यंग्य गरेका थिए ।

त्यो दिन बैठकको निर्णयबारे प्रवक्ता नारायणकाजीले नभई झलनाथ खनालले मिडियालाई जानकारी दिएका थिए ।

रावल र थापाको जुहारीमा पछिल्लो पटक सञ्चारमन्त्री गोकुल बास्कोटा पनि सहभागी भएका छन् । एक कार्यक्रममा सहभागी हुन धनगढी पुगेका उनले आफ्नै जिल्लामा छाउपडी हटाउन नसक्नेले ठूलो कुरा गरेको भन्दै रावलप्रति व्यंग्य गरेका थिए ।

त्यसको जवाफ भने रावल निकट अछामकै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले दिएका छन् । कुँवरले फेसबुकमा लेखेका छन्, ‘बिचरालाई के थाहा कुरिता कुप्रथा अन्त्य गर्न धेरै प्रयासपछि अहिलेको अवस्था आएको हो । फटाइ गर्न कता पुगेछन्, आफ्नो जिल्लामा चेलिबेटी र किड्नी बिक्री गर्न बन्दको प्रयास गर्दा हुन्थ्यो नि मन्त्री महोदय ।’

अनुशासन आयोग नै अलपत्र

नेकपाका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप नयाँ भने होइन । पार्टी सचिवालयको निर्णय र सर्कुलरपछि अनुशासन पालन सम्बन्धी सो विशेष निर्देशन कुनै पनि तहबाट पालना नभएको अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले बताए । आयोगले अझै पूर्णतासमेत नपाएकाले चिन्ता व्यक्त गर्नुबाहेक अरु केही गर्न नसकिने उनले प्रतिक्रिया दिए ।

बोहोराले भने, ‘हामीले पनि चिन्ता व्यक्त गर्नेमात्र हो । सर्कुलर जारी गर्ने कमिटीमा बसेका नेताले आफैं कति पालना गर्नुभयो त्यो पनि प्रश्न छ । बैठकहरु सुचारु र नियमित गरिदिए धेरै आलोचना तथा वादविवादहरु आआफ्ना कमिटीमै हुन्थे, यसरी छरपस्ट हुने थिएनन् । अर्को कुरा त आलोचनालाई निषेध गर्नु पनि हुँदैन ।’

अनुशासन आयोगको अध्यक्ष र सचिव चयन भए पनि सदस्य चयन बाँकी छन् । आयोगले पूर्णता पाएमा अनुशासन पालना गराउने र कारबाही गर्ने सन्दर्भमा वैधानिक व्यवस्था लागु गर्न सकिने बोहोराले बताए ।

 



source https://www.onlinekhabar.com/2020/01/824833

भ्रमण वर्ष : २ बजेपछि काठमाडौंमा र्‍याली र सवारी, आवागमन प्रभावित हुने

१६ पुस, काठमाडौं । भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले रंगशालाकाे भ्रमण वर्ष उद्घाटन कार्यक्रमपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने अनलाइनखबरलाई बताए ।

श्रेष्ठका अनुसार, २ बजेपछि ठमेललगायत क्षेत्रबाट र्‍याली निस्किँदै छ । जसका कारण थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ । त्यसैले वैकल्पिक रुट प्रयोग गरेर यात्रा गर्न उनले सर्वसाधारणलाई सुझाएका छन् ।

‘ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न सिफारिस गरेका छाै‌ं’, एसपी श्रेष्ठले भने, ‘हामीले सिफारिस गरेको रूट प्रयोग भएमा सवारी आवागमन कम प्रभावित हुनेछ ।’

पाहुना चढ्ने सवारीको पार्किङ रंगशाला पछाडि

उदघाटन कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुना सहभागी हुने हुँदा पार्किङको समस्या केही कठिन हुने ठानिएको छ । यद्यपि, ट्राफिक प्रहरीले विभिन्न खाली स्थान पाहुना चढ्ने सवारीको पार्किङका लागि व्यवस्था गरिएको जनाएको छ ।

एसपी श्रेष्ठका अनुसार, टुँडिखेलसँगै आर्मी क्लबभित्रको खाली भाग, विश्वनिकेतन स्कुल, रंगशालाको पछिल्लो भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । विदेशी पाहुना चढ्ने गाडी रंगशालाको पछाडितर्फको भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

२० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम छ उदघाटन कार्यक्रममा आमन्त्रण गरिएका विभिन्न देशका मन्त्रीलगायतका पाहुना सोमबारै काठमाडौं आइसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/01/824834

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More