Friday, 27 December 2019

‘शून्य अन्त्य होइन, सुरुवात हो’

१२ पुस, काठमाडौं । कमलादीको एक क्याफेमा कफीको चुस्की लिँदै उनी बोल्छन्,  ‘भर्खर त सुरुवात गरेका छौँ, भन्ने कुरा के नै पो छ र ?’ हुन पनि हो जम्मा २ वटा गीत निकालेका छन्, तैपनि आम श्रोताहरुमा पुगिनसकेको । हामीसँग पनि सोध्ने कुरा धेरै थिएन ।

तैपनि सोध्यौँ, ब्याण्डको नाम शून्य ? यसलाई कसरी बुझ्नुभएको छ ?

उनी एकछिन टक्क रोकिए । केही सोचेझैँ गरे । अनि कफीको चुस्की लिदैँ बोले,  ‘शून्यलाई अस्तित्वहीन भनिन्छ, आत्मशिक्षणका लागि शून्य एक विश्राम हो । शून्य अन्त्य होइन, सुरुवात हो ।’

‘रसायनशास्त्रमा कुनै पदार्थको प्रयोगात्मक परीक्षण गर्दा त्यसको परिचय रंगहीन, गन्धहीन भनेर उल्लेख गरिन्छ’ उनले विज्ञानको कुरालाई निरन्तरता दिए, ‘वर्तमानमा हाम्रा आँखाले त्यसको रंग देख्न नसकेको र हाम्रो घ्राणशक्तिले त्यसको गन्ध थाहा पाउन नसकेको पनि हुन सक्छ ।’

सोध्यौँ, ‘शून्यको अर्थ गीतमा भेटिन्छ त ?’

उनी बिन्दास पारामा बोले, ‘भेटिन पनि सक्छ । नभेटिन पनि सक्छ । शून्यमा गहन तृष्णा छ, शून्यमा गहिरो तृप्ति छ । शून्य परमानन्दको आलाप हो । यसलाई सुन्न कानलाई चनाखो राख्नुपर्छ । बिराट शून्यलाई हेर्न र त्यसको बिराटतामा अंकुरित हुँदै गरेको सृष्टि देख्न सक्नुपर्छ ।’

उनी अमूर्त कुरा गर्दै थिए । केही बुझिने, केही नबुझिने । गीत कस्तो होला ? सोध्यौँ, कुरा सुन्दा लाग्छ, तपाईंहरुको गीतका लक्षित श्रोता अत्यन्तै कम छन् ?

‘हो, सबैले सुन्ने र बुझ्ने किसिमका गीत छैनन् । हाम्रो ब्याण्ड नयाँ पनि हो, धेरै गीत पनि निकालेका छैनौँ । हाम्रो उद्देश्य पनि त्यस्तो म्युजिक इण्डस्ट्रीलाई कायापलट नै गर्छौं भन्ने छैन । हामीले नयाँ प्रयोग गरिरहेका छांै । हामी आफू सन्तुष्ट नभएसम्म गीत ननिकाल्ने प्रण गरेर काम गरिरहेका छौं ।’

यतिबेला कफीको चुस्की लिँदै रोहन प्रधान हामीसँग गफिँदै छन् । शून्य ब्याण्डका अरु दुई सदस्य दिवस भट्टराई र सुयश रिजाल अमेरिकामा बस्छन् । नेपालमा भएका रोहन शून्य ब्याण्डका ‘गितारिस्ट’ हुन् ।

तीन फरक ठाउँमा बसेर काम गरिरहेका उनीहरुले रेकर्डिङ सफ्टवेयरको माध्यमबाट काम गर्छन् । रेकर्डिङ र मिक्सिङको काम दिवसले गर्छन् भने भोकलमा सुयशले ।

शून्य ब्याण्डका सदस्य रोहनले उनीहरुको संगीतकर्मबारे अनलाइनखबरकर्मी सागर बुढाथोकीसँग कुराकानी गरेका छन् :

शून्यको ब्याण्डको जन्म कसरी भयो ?

हामी तीनैजनालाई संगीत मन पर्छ । तर, हामी प्रोफेशनल नभएर पार्ट टाइमर हो । संगीतबारे औपचारिक अध्ययन नगरेका हामीलाई इन्स्ट्रुमेण्ट बजाउन र गाउन मन पर्छ ।

५/६ वर्षअघि हाम्रो ‘यार्शा’ नामक ब्याण्ड थियो । गीत रेकर्डिङ नगरे पनि ‘कलेक्टिभ ज्याम’ धेरै गर्थ्यौं । पछि त्यो ब्याण्ड बन्द भयो । त्यसको केही समयसम्म हामी निष्कृय रह्यौँ । तर, संगीतमा लागेको मान्छे, निष्कृय बस्न गाह्रो हुँदोरहेछ । अनि फेरि हामी साथीभाइ सल्लाह गरेर ब्याण्ड स्थापना गर्ने कुरा भयो । त्यतिबेलाको सल्लाहअनुसार नयाँ मिसन र भिजनका साथ शून्य ब्याण्डको स्थापना गरेका हौँ ।

शून्य नै नाम रहनुको खासै कारण केही छैन । हाम्रा दुवैजना दाइ ‘फिजिक्स’मा रुचि भएका दाइ हुन् । मलाई पनि साइन्स मन पर्ने विषय । साइन्टिफिकरुपमा शून्य भन्ने शब्दको अर्थ धेरै हुन्छ । हामीले शून्यको अगाडि ‘क्यापिटल टी’ राख्यौँ । जसका कारण नाम पनि फरक देखियो ।

ब्याण्ड स्थापना भएको छोटो समयमा दुईवटा गीत निकाल्यौं । सुन्नेजतिले राम्रो प्रतिक्रिया दिनुभएको छ । ‘अफबिट’को गीत भएकाले भ्यूज पनि कम छ । तर, जे जति प्रतिक्रिया आएका छन्, हामी खुशी छौँ । तीनजना तीनतिर बसेर छलफल र क्रिएशन गर्न मेहनत गरिरहेका छौँ ।

हामीलाई गीत निकाल्न अरुभन्दा धेरै समय लाग्छ । किनकि हामी तीनजना सँगै छैनौँ । टाढा भएका कारण छलफल र कुराकानी गर्न समय कम हुन्छ । हामी तीनैजना एकदम कम काम गर्ने र क्वालिटीको काम गर्ने भनेर ढुक्क छौँ ।

हामी ‘एक्सपेरिमेण्टल ब्याण्ड’ हौं । हामीसँगै नबसेर पनि गीत निकालिरहेका छौं । हाम्रो ‘स्ट्रक्चर’ नै फरक छ ।

शून्य ब्याण्ड लिएर फेरि सांगीतिक क्षेत्रमा आउनुको मिसन र भिजन के थियो त ?

पहिला ‘यार्शा’ ब्याण्डमा हुँदा ‘कभर गीत’ गर्‍यौं । तर, आफ्नै गीत निकालेनौँ । शून्य ब्याण्ड बनेर फेरि संगीतमा फर्किनुको कारण पहिलाको गल्ती नदोहोर्‍याउन र निरन्तर काम गर्न हो । पहिला हामीले ‘एक्सप्लोर’ नगरेका जनराहरु अहिले ‘एक्सप्लोर’ गर्न खोजेका छौं । अहिले ‘बेसिक रक’ होइन ‘प्रोगेसिभ जनरा’हरुमा लाग्ने विचार हो । त्यही अनुसार ‘कन्सेप्ट’ बनाइरहेका छौं ।

तपाईंहरुले गाउने गीतको जनराका बारेमा आम स्रोतालाई जानकारी नै छैन, बजारबाट टाढा भएर कतिञ्जेल टिक्न सकिएला ?

हामीले गीत बनाउँदा बजार ‘टार्गेट’ गरेर बनाउँदैनौं । हामीसँग जे ‘आइडिया’ आउँछ, त्यसलाई छलफल गर्छौं । गीत बनाउँदै जाँदा हामीलाई मन पर्‍यो भने अरुलाई पनि मन पर्छ होला जस्तो लाग्छ । अझ भनौं, हाम्रो जनरा सुन्ने स्रोताहरुले मन पराउँछन् भनेर विश्वस्त हुन्छौं ।

‘पपुलिस्ट’ हुन खोज्यौं भने ‘पतन’ भइन्छ भन्ने लाग्छ । बजारको पछि दौडियौं भने बजारले चाँडै बिर्सन्छ भन्ने बुझेका छौं । त्यही भएर थोरै काम गर्ने, एकदम मन छुने गर्ने र दीर्घकालीन सोचेर बजारको पछि नलाग्ने हाम्रो उद्देश्य हो । बिक्नु र टिक्नुसँग सरोकार राखेर हामी गीत निकाल्दैनौं ।

त्यसो भए ‘फुलटाइमर म्युजिसियन’ बन्ने सोच आइसकेको छैन ?

त्यो अहिले भन्न गाह्रो छ । अवसर मिल्यो र हामी सँगै भयौं भने धेरै गीतहरु अवश्य निकाल्छौं । तर, फुलटाइमर काम गर्ने भनेर छलफल भइसकेको छैन । भविश्यमा जे पनि हुन सक्छ । किनकि, अहिले त हामीले प्रयोग मात्रै गरेका छौं । जे गर्छ, अब आउने ‘रिजल्ट’ले निर्धारण गर्छ ।

अहिले हामीले ‘दृष्टिकोण’ भन्ने गीत निकालेका छौं । त्यो ‘साइकेडेलिक’ जनराको ‘रक’ हो । ‘अब्यास्ट्रक’ संगीत छ । शब्दहरु पनि नेपाली समाजले नपचाउने जस्तो छ । हामी सुरुवाती चरणमा भएकाले अहिले हामी ‘रिजल्ट’ नहेर काममा मात्र ‘फोकस्ड’ हुने भनेका छौं ।

दुईवटा गीत निकालेपछि प्रतिक्रिया के पाउनु भएको छ ?

अहिले ‘अण्डर ग्राउण्ड’ म्युजिकको क्षेत्र धेरै व्यापक भएको छ । नयाँ-नयाँ आर्टिस्टहरुले धेरै राम्रो प्रयोग गरिरहेका छन् । भारतमा केही समय अघिसम्म ‘अण्डर ग्राउण्ड म्युजिक’को बारेमा धेरैलाई चासो थिएन । पछि ‘गली ब्वाई’ फिल्म बनेपछि धेरै मानिसहरुले थाहा पाए । लगत्तै नेशनल टिभीले ‘अण्डर ग्राउण्ड म्युजिक सोहरु’ आयोजना गर्‍यो । भारतको प्रभाव नेपालमा पनि पर्छ नै । पहिलाभन्दा त्यस्ता किसिमको गीतहरु सुन्ने मानिसहरु बढेका छन् ।

‘अण्डर ग्राउण्ड म्युजिक’ले पहिलाजस्तो ‘एक्सपोजर’ नपाउने भन्ने अवस्था छैन । त्यसैले हामीलाई सुनेर ज-जसले प्रतिक्रिया दिनुभएको छ, सकारात्मक प्रतिक्रिया दिनुभएको छ । त्यसले सकरात्मक ऊर्जा दिएको छ ।

तपाईंहरुले ‘साइकेडेलिक रक’ गीतको ‘कन्सेप्ट’ कसरी बनाउनुहुन्छ ?

हामीले अहिले ‘कोशी’ नामक गीत निकाल्न लागेका छौं । कोशी भनेको नदी हो । तर, यो गीतमा हामीले मानिसको संघर्ष जोडेका छौं । हाम्रो गीत सुयेश दाइले लेख्नुहुन्छ । उहाँले लेखेपछि हामी तीनै जना छलफल गर्छौं । छलफल गरेर सम्पादन गरेपछि इन्स्ट्रुमेण्टबाट संगीत खोज्छौं । त्यसमा पनि व्यापक छलफल हुन्छ । हामी छलफल बढी गर्छौं, अनि मात्र काम गर्छौं । महिनौं छलफल र अभ्यासपछि मात्र हामीलाई चित्तबुझ्दो संगीत बन्छ ।

जीवनको फरक पाटोलाई शब्द, संगीत र भिडियोको माध्यमबाट फरक तरिकाले प्रस्तुत गर्नु हाम्रो सधैको जमर्को हुन्छ ।

भनेपछि, संगीतबाट आर्थिक आर्थिक लाभ लिने विषयमा सोच्नुभएको छैन ?

हामी सबै काम गरिरहेका छौं । पढिरहेका छौं । हामीले संगीतलाई ‘पेशा’ भन्दा पनि ‘प्यासन’ बनाएका हौँ । ‘प्यासन’का लागि काम गर्ने हो, ‘यूट्युब’ र ‘स्पोटीफाई’ बाट अलिअलि ‘रेभिन्यू जेनरेट’ होला । तर, हाम्रो ध्यान त्यसमा छैन । हाम्रो ध्यान भनेको आफ्नो म्युजिकबाट आफू सन्तुष्ट हुने र अडियन्सलाई सन्तुष्टी दिलाउने मात्रै हो ।

अरुले काम गरेकोभन्दा फरक काम गर्न र बजारको विरुद्धमा जाने हिम्मत कसरी आउँदोरहेछ ?

नेपालका धेरै ‘अण्डरग्राउण्ड ब्याण्ड’का दाइहरुले पहिले फरक सोच र लक्ष्य राखेर गाएकै कारण अहिले उहाँहरु सेलिब्रेटी हुनु भएको हो । पहिला उहाँहरुको क्रिएशनलाई गीत संगीत मान्ने चलन थिएन । पछि उहाँहरुले एकछत्र राज गर्नुभयो । संगीत होस् या साहित्य, सिनेमा होस् या समाज, विस्तारै परिवर्तन हुँदैछ । हामी परिवर्तनशील समयका स्वर हौं। अहिले हामीले पहिलाका सर्जकभन्दा अलिक फरक गर्ने कोशिस गरिरहेका छौँ । सायद अबको १०-१५ वर्षपछि हामी पनि ‘नोटिस’ हुन्छौं कि ? हामीले अहिलेको समयभन्दा पनि पछिलाई हेरेर काम गरिरहेका छौं ।

हाम्रो फरक गर्ने हिम्मतको प्रेरणा पुराना सर्जकहरु हुन् । विश्वव्यापी संगीत र परिवर्तनशील समय पनि हाम्रो प्रेरणा हो ।

एउटा स्रोताको रुपले बोल्नु पर्दा हाम्रो नेपाली गीत संगीतलाई कुन स्तरमा पाउनुहुन्छ ?

इमान्दार भएर भन्नु पर्दा म नेपाली गीत संगीतको समीक्षा गर्न सक्ने क्षमता भएको मान्छे हुँदै होइन । म एउटा साधक हुँ । केही नयाँ प्रयोग गरौँ भनेर लागिरहेको छु ।

कहिलेकाहीँ के लाग्छ भने कतिपय राम्रो गीत संगीतलाई अलि कम राम्रो गीत संगीतले ओझेलमा पारेको हो कि ? बजारमा ट्रेण्डिङमा भएका चिजहरु ट्रेण्डिङ नभइदिनु पर्ने होला कि । तर, यस्तो कुरामा स्रोता दर्शकहरु प्रत्यक्ष र अप्रत्यक्ष जोडिने भएकाले हामीले सबै सर्जकलाई सम्मान गर्नुपर्छ । कस्तो गीत सुन्ने र नसुन्ने छनोट त श्रोताको हातमा हुन्छ ।

अहिले सर्जकलाई पहिलाभन्दा बढी अवसर र ‘प्लेटफर्म’ छ । दुःख लाग्दो कुराहरु के छ भने एकदम राम्रा ब्याण्डहरु र सर्जकहरु जति ‘नोटिस’ हुनुपर्ने त्यति हुन सकेका छैनन् । तर पहिलाको तुलनामा अहिले धेरै हो ।

नेपाली गीत संगीतलाई अर्को स्तरमा पुर्‍याउनको लागि के गर्नु पर्ला त ?

अहिले नेपाली संगीत क्षेत्रमा जे-जस्तो प्रयोग भएको छ त्यो राम्रो हो । यही क्रम निरन्तरता भइरह्यो भने राम्रै हुन्छ । हाम्रो पहिलो गीतभन्दा दोस्रो गीतलाई धेरै मानिसहरुले मन पराए । मलाई लाग्छ, अहिले नयाँ प्रयोग गरिरहेका साथीहरुले हार नमानिकन निरन्तरता दिइरहने हो भने हाम्रो नेपाली संगीत अवश्य पनि अर्को स्तरमा पुग्छ होला ।

नयाँ-नयाँ आएका साथीहरुले प्रयोग गर्न डराउनु भएन । फेरि प्रयोगका नाममा समाजलाई असुहाउँदो क्रिएशन पनि गर्नु भएन । हाम्रो सिर्जना भनेको हाम्रो समाजको जनजीवनसँग जोडिएको र हावापानीसँग मिल्दो हुनुपर्छ ।

अन्त्यमा, केही भन्नु छ ?

हाम्रो गीत सुन्नुभएको छैन भने एक पटक सुनिदिनुहोला । हामीले अहिले पहिलो पाइला मात्र चालेका छौं । हामीलाई तपाईंहरुको प्रतिक्रियाको खाँचो छ ।



source https://www.onlinekhabar.com/2019/12/823833

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More