Saturday 28 December 2019

बुटवलमा दोस्रो सडक खाना महोत्सव : पाँच करोड कारोबार गर्ने लक्ष्य

१३ पुस, बुटवल । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर बुटवलमा तीनदिने दोस्रो सडक खाना महोत्सव सञ्चालन हुने भएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि १६ गतेसम्म बुटवलको तिनकुनेदेखि शिवालय चोकसम्म खाना महोत्सव सञ्चालन हुन लागेको हो ।

एक सय बढी स्टल रहने महोत्सवमा दुई लाख दर्शक सहभागी गराई पाँच करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको आयोजक संस्थाका अध्यक्ष समुन्द्र जिसीले बताए ।

महोत्सवमा रुपन्देहीमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा उपलब्ध हुने खाजा तथा खानाका साथै विभिन्न आदिवासी जनजातिका परम्परागत परिकारका स्टलहरु रहने जीसीले बताए । महोत्सवमा सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको ‘स्वीट डिस’का रुपमा घोषणा गरिने अध्यक्ष जीसीले बताए ।

महोत्सवमा आन्तरिक तथा वाह्य पर्यटकलाई प्रदेश ५ का पर्यटकीय गन्तव्यहरुको जानकारी समेत गराइने संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका महोत्सवका प्रचार प्रसार समिति संयोजक बाबुराम गौतमले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । तीन दिनसम्म साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर शान्ति सुरक्षाका लागि सीसीटीभी क्यामेरा जडान गरिएको छ । साथै सहभागीहरुको सुविधाका लागि निःशुल्क वाइफाई र प्राथमिक उपचार कक्षको समेत व्यवस्था मिलाइएको संघका महासचिव माधव कुमार खनालले जानकारी दिए ।

महोत्सव शुरु हुनुअघि १४ गते दिउँसो १ बजे महोत्सव स्थलबाट झाँकीसहितको र्‍याली निकालिने र र्‍याली समापनसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट महोत्सव उदघाटन गर्ने कार्यक्रम छ । सडक खाना महोत्सवको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ संरक्षक, बुटवल उपमहानगरपालिका प्रवद्र्धक छन् । जिल्लाका अन्य नगरपालिका सहयोगी संस्थाका रुपमा छन् ।



source https://www.onlinekhabar.com/2019/12/823965

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More