Monday, 30 December 2019

कन्दमूलको औषधीय गुणबारे यसरी गरिँदैछ खोज

काठमाडौं । २०७२ सालमा भारतले नाकाबन्दी गरेपछि धेरै मानिसहरु भारतको नाकाबन्दी बिरुद्ध आन्दोलनमा उत्रिए । नेपाल आफैंमा कुनैपनि बस्तुमा निर्भर थिएन, विशेषगरी खानेकुरामा । कसैले भूपरिवेष्ठित देशको अधिकारका मुद्दाहरु निकाले । कसैले सरकारलाई नै आत्मनिर्भर नभएको भनेर आलोचना गरे भने कसैले यसै राष्टि्रयताको एजेण्डालाई ज्वलन्त बनाए । यसमा आफूले यसको विकल्प खोज्नेतिर धेरैको ध्यान आकषिर्त भएन ।

सोही समयमा पोखराका केही व्यक्तिहरुले भने अरुलाई गाली गर्नभन्दा पनि आत्मनिर्भर कसरी बन्न सकिन्छ ? भन्ने तर्फ चिन्तन गर्न सुरु गरे । टोलीमा आधादर्जनभन्दा धेरै मानिसहरु थिए । कोही आयुर्वेद जानेका, कोही कोही कृषि विज्ञान अध्ययन गरेका त कोही रसायनशास्त्र वा जीव विज्ञान अध्ययन गरेकाहरु यो टोलीमा संलग्न थिए ।

यसको लागि सबैभन्दा पहिले यसको खोजी गर्नुपर्ने भयो । जसको लागि शंकर आचार्यको नेतृत्वमा उनीहरुले ७ सदस्यीय कन्दमूल प्रबर्द्धन उपसमिति गठन गरियो । सोही चिन्तन स्वरुप २०७५साल माघे संक्रान्तिदेखि यससको खोजीकार्य सुरु गरिएको थियो ।

एकातिर जलवायु परिवर्तनका कारण मूलधारका अन्नहरुको उत्पादनमा कमी आउँदै गरेको अहिलेको अवस्था र भूपरिवेष्ठित मुलुक भएकोले भारतले समयसमयमा गर्ने नाकाबन्दी वा सीमामा कडाई गर्दा नेपालले बेला बेलामा अभावको सामना गरिरहेको इतिहास छ ।

कहिले अतिबृष्टी त कहिले अनाबृष्टीका कारण नेपालको धान, गहुँ आदिको उत्पादनमा कमी आउँदैछ । यस्तो अवस्थामा फेरि नाकाबन्दी भयो ? वा भारतमा खाद्य संकट आयो भने के होला हाम्रो हालत ? यही सोचाइका साथ कृषि विज्ञान अध्ययन गरेका उनीहरुले कन्दमूलको खोजी र त्यसको उत्पादन बढाउने अभियान सुरु गरेका हुन् ।

एकातिर बैकल्पिक अन्नको रुपमा यसको प्रयोग गर्न सकिन्छ भने अर्काे तर्फ यो पोषण तथा स्वास्थ्यको लागि समेत अति उपयोगी खाद्य पदार्थ हो । ऋषिकृषि खोज अभियानको नामबाट सुरु भएको सो खोज अन्तर्गत् पोखराको सदा शिवजी हरिहर मन्दिरको १०६ रोपनी जग्गामा यतिबेला १५ वटा जीनको तरुल, २० वटा जीनको शखरखण्ड र २० वटा जीनको पिँडालु वर्गका कन्दमूलहरु लगाइएको छ ।

धादिङ, चितवन, मकवानपुर लगायतका विभिन्न जिल्लाको जंगलहरुबाट संकलन गरिएका यस्ता कन्दमूलहरुलाई आधुनिक तरिकाले उत्पादन गरिँदैछ । मानव कृषि पद्धतिको सुरुवाती चरणदेखि चल्दै आएका यस्ता कन्दमूलहरु यतिबेला पाउनको लागि मुस्किल भइरहेको बेलामा पोखरामा विभिन्न व्यक्तिहरुले आफ्नो निजी लगानीमा यसको अनुसन्धान सुरु गरेका हुन् ।

अहिलेसम्म विभिन्न किसिमका कन्दमूलहरुको जिन र बिउको संकलन कार्य सम्पन्न भइसकेको छ । यद्यपि अझै पनि प्राप्त भएको खण्डमा त्यस्ता कन्दमूलहरु अझैपनि संकलन गरिने चालिसेले जानकारी दिए । ती कन्दमूलहरुको रसायनिक महत्व र औषधीय गुणको बारेमा थप अध्ययनको लागि त्रिवि अन्तर्गत्को रसायनशास्त्र केन्द्रीय विभागमा पठाइएको छ ।

यस खाद्य सामग्रीको आयुर्वेदिक महत्व र पोषणको हिसाबले कन्दमूललाई तीन वर्गमा विभाजन गरिएको छ । पहिलोलाई तरुलवर्ग, पिँडालु वर्ग र सखरखण्ड वर्गगरी ३ भागमा यसलाई विभाजन गरेर अध्ययन गरिँदै आइएको छ । यी बोटविरुवाहरुको वातावरणीय महत्व र यसको ल्याब परीक्षण पोखरामा नै गर्ने गरिएको छ । तर, यसको आयुर्वेदिक मूल्य र मान्यताको विषयका साथै यसमा रहेको पौष्टिकता र त्यसको प्लान्टेसन कसरी गर्न सकिन्छ ? भन्ने विषय अध्ययनको लागि रसायन शास्त्र विभागमा पठाइएको चालिसेले जानकारी दिए ।

पोखराको रेष्टुरेन्टमा पर्यटकलाई तरुल चखाउने चाहाना

पछिल्लो समय हराउँदै गएको तरुल खेतीलाई व्यवस्थित गरेर यसको पर्यटकीय रुपमा समेत प्रचार गर्ने योजना आफूहरुको रहेको उनले सुनाए । ‘अहिले हामीहरु तरुललाई पोलेर खान मात्रै जानेका छौं ।

तर, यसको के के परिकार बनाउन सकिन्छ र यसलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ ? भन्ने बारेमा पनि पर्यटन सम्बन्धी अध्ययन हुने क्याम्पसहरुमा अध्ययन भइरहेको उनले बताए । तरुलहरुकै मात्रै पनि विभिन्न जातिहरु हुन्छन् । तिनीहरुलाई फरक जाति अनुसार कसरी फरक बनाउँदै लैजाने ? जस्तो विषयमा अध्ययन गर्ने काम पनि भइरहेको बताइएको छ ।

दीर्घकालीन रोग निवारण गर्ने औषधि

गुलियो हुँदाहुँदै पनि सखरखण्डमा मधुमेह र क्यान्सरको रोग नियन्त्रण गर्ने औषधीय गुण हुन्छ भन्ने मान्यता छ । यद्यपि यसको रसायनिक गुणको बारेमा अहिलेपनि खोजी हुँदैछ । तर, यसले एउटा कुरा निश्चित छ कि वायुमण्डलमा भएको कार्वनलाई सोस्न धेरै हदसम्म मद्दत गर्छ । गिठ्ठ, सखरखण्ड आदि धेरै हरियो हुने र पातले धेरै भाग छोप्ने भएकोले यसले धेरै कार्वन सोस्ने गर्छ । जसले गर्दा कार्वन उत्सर्जनलाई नियन्त्रण गर्नको लागि समेत यसले सहयोग गर्छ ।

चालिसे आफूहरुले मूलधारमा रहेका अन्नको मात्रै अध्ययन गर्ने कृषि अनुसन्धान परिषद् र कृषि विभागको यस्तो खेतीतिर पनि ध्यान आकषिर्त गर्नको लागि पनि निजी लगानीमा कन्दमूलको खोजी गर्न सुरु गरेको बताउँछन् । उनका अनुसार अहिलेसम्म करिब ४ लाख रुपैयाँ खर्च भइसकेको छ । काम बल्ल सुरुभयो भन्न सकिने अवस्थामा पुगेको छ । त्यसैले पनि यसमा खर्चसमेत पर्याप्त लाग्ने उनी बताउँछन् ।



source https://www.onlinekhabar.com/2019/12/824525

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More