Saturday 29 February 2020

क्लासिक टेक र प्रभु टिभीको इन्टरनेट साथै टिभी सेवा

१८ फागुन, काठमाडौं । विगत १० वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरी उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको छ ।

यो सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ । हाल यो सेवा काठमाडौं उपत्यकालगायत प्रायः सबैजसो सहरहरुमा उपलब्ध गराइएको छ ।

अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्किम ‘आयो है आयो’ बजारमा आएको छ । कम्पनीले ३० एमबीपीएस गतिको ‘आयो है आयो’ प्लान मात्र ९ सय प्रतिमहिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुबिधा निःशुल्क प्रदान गर्ने भएको छ ।

नेपालमा यति कम मूल्यमा इन्टरनेट र टिभीको सुबिधा उपलब्ध गराइएको यो पहिलो पटक हो । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ ।



source https://www.onlinekhabar.com/2020/03/840576

खाना लगत्तै चुरोट र मदिरा : दश गुणा बढी नोक्सानी

धेरैलाई अन्योल हुनसक्छ खाना खाएपछि के गर्ने र के नगर्ने भन्नेमा । हामी धेरैलाई देख्न सक्छौं कि धेरै मानिसहरू खाना खाने बित्तिकै निदाउँछन् वा धेरैको चिया र कफी पिउन जान्छन् ।

यो कतिपय मानिसको बानी बनिसकेको हुन्छ । तर, यसको बेफाइदाको बारेमा नजानेरै पनि धेरैले यस्ता गल्तीहरु गरिरहेका हुनसक्छन् । जुन शरीरको पाचन प्रणालीको लागि नोक्सानदायक हुन्छ । तर, खानाको पाचन प्रणालीको लागि खाना पछि गरिने केही गल्तीहरु निम्नानुसार छन् ।

खाना पछि चिया र कफी पिउनुहुँदैन

खाना खाएपछि तुरुन्तै चिया पिउनु स्वास्थ्यको लागि लाभदायक नहुने चिकित्सकहरु बताउँछन् । किनभने यसले पाचन प्रक्रियामा बाधा उत्पन्न गर्छ । डाक्टरहरुका अनुसार चिया वा कफी खाना खाएको एक घण्टापछिसम्म पनि सेवन गर्नु उपयुक्त हुँदैन ।

चिया वा कफीमा रहेको रासायनिक ट्यानिनले शरीरलाई चाहिने आइरनको अवशोषित प्रक्रियामा बाधा सिर्जना गर्छ । जसले पाचन प्रक्रियामा अवरोध खडा गर्छ । यही बानीको कारण पछि एनिमिया पनि हुनसक्छ ।

खाना खाए लगत्तै फलफूल खानुहुँदैन

खाली पेटमा फलफूल उपभोग गर्नु उत्तम मानिन्छ । तर यही फल खाजा वा बिहान, बेलुकाको खाना पछि खानु राम्रो मानिँदैन । जब तपाईँको पेट भरिएको छ र त्यस फल खान सुरू गर्नुहुन्छ भने यी फलहरू पचाउन कठिनाई उत्पन्न हुन्छ । जसको फलस्वरूप तपाईँ फलहरूको पर्याप्त पोषण प्राप्त गर्नसक्नुहुन्न ।

चिसो पानी नपिउनुहोस्

पिउने पानी पाचनका लागि धेरै महत्वपूर्ण हुन्छ । तर, खाना लगत्तै पानी पिउनु हुँदैन र चिसो वा धेरै चिसो पानी त झनै पिउनु नै हुँदैन। चिसो पानी पिउँदा त्यसले पाचन प्रक्रियालाई कमजोर बनाउँछ । विज्ञहरूका अनुसार हामीले खाना खाइसकेपछि र खाना खाएको ४५ मिनेट पछिसम्म पानी पिउनु हुँदैन ।

खाना पछि चुरोट पिउन बन्द गर्नुहोस्

हामी सबैलाई थाहा छ कि चुरोट खानु स्वास्थ्यको लागि हानिकारक कुरा हो । खाना खाए लगत्तै धुम्रपान गर्नु अझ खतरनाक हुन्छ । किनकि त्यसो गर्दा इरिटिएबल बावल सिन्ड्रोम नामक रोग लाग्नसक्छ ।

जसले अल्सरको खतरा निम्त्याउँछ । हालसम्म गरिएको धेरै अध्ययन अनुसार खाना खाएपछि तुरुन्त खाएको एउटामात्रै चुरोट सेवनले पनि अरु समयमा १० वटा चुरोट खाए बराबरको नोक्सानी शरीरलाई गर्ने गर्छ । त्यसैले खाना खाएपछि चुरोट पिउने बानी परिवर्तन गर्नु नै राम्रो हुन्छ ।

मदिरा सेवन नगर्नुहोस्

खाना खाए पछि रक्सी सेवन गर्ने बानी कसैको छ भने त्यो पाचन प्रक्रियाको लागि एकदमै नोक्सान दायक कुरा हो । शरीर भित्रको आन्ऽालाई यसले ठूलो नोक्सानी पुर्‍याउँछ । रक्सी पिउने बानी नै छ भने खानाभन्दा १० मिनेट अघि नै पिउनु राम्रो हुन्छ । बरु यो कम नोक्सान दायक हुनसक्छ ।

खाना पछि तुरुन्तै ननुहाउनुहोस्

आयुर्वेदका साथसाथै आधुनिक चिकित्सा विज्ञान पनि विश्वास गर्दछ कि खाना खाएपछि तुरुन्तै नुहाउँदा अचानक शरीरको तापक्रम कम हुन्छ । जसले रगतको संचारलाई असर गर्छ ।

यस अवस्थामा पाचन प्रक्रियामा शरीरलाई सहयोग पुर्‍याउने रगतको सञ्चारलाई असर पर्दा पाचन प्रक्रिया बिथोलिने भएकोले खानापछि स्नान गर्ने काम बन्द गर्नु नै राम्रो हुने चिकित्सकहरु सुझाव दिन्छन् ।

 



source https://www.onlinekhabar.com/2020/03/840575

धर्ममा आस्था राख्नेहरु निरोगी हुन्छन् ?

धर्ममा आस्था राख्नेहरु नास्तिक भन्दा अपेक्षाकृत बढी स्वस्थ्य हुन्छन् ? धार्मिक आस्था राख्नेहरु धुमपान र मदिरा सेवन तुलनात्मक रुपमा कम सेवन गर्छन् ? एक सर्वेक्षण अनुसार धर्ममा आस्था राख्नेहरु कम्तीमा खानपानप्रति सजग र अनुशासित हुने देखिएको छ । त्यही कारण नास्तिकको तुलनामा उनीहरु बढी स्वस्थ्य र तन्दुरुस्त हुने गरेका छन् ।

जीवनशैलीसँग सम्बन्धित यी बानीहरुका कारण उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत कमजोर हुन्छ र आयु कम हुन्छ । करिव एक लाख मानिसमा गरिएको एउटा सर्वेक्षणबाट यो कुरा प्रमाणित भएको हो ।

नास्तिकहरु बढी पियक्कड

बेलायतको अफिस फर नेशनल स्टाटिस्टिकद्वारा जारी गरिएको एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ । त्यस्तै सिख, ईसाई अथवा इस्लाम धर्मलाई मान्ने हरेक १० मध्ये एक जना व्यक्तिले धुम्रपान गर्छ ।

उक्त रिपोर्टका अनुसार धर्ममा विश्वास नगर्ने मानिसहरुले मदिरा पिउने सम्भावना धेरै हुन्छ । आस्तिकहरुमा यस्तो लक्षण कम मात्र देखिन्छ ।

मानसिक स्वास्थ पनि उत्कृष्ट

धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

उक्त रिपोर्टमा के भनिएको छ भने ६८ प्रतिशत ईसाई, ७७ प्रतिशत यहूदी, ७२ प्रतिशत हिन्दू, ६९ प्रतिशत शिख तथा ६६ प्रतिशत इस्लाम धमावलम्बिहरुले आफ्नो स्वास्थ्यप्रति सन्तुष्टि जनाए । त्यहीँ, धर्ममा विश्वास नगर्नेहरु केवल ६४ प्रतिशत मानिसले मात्र आफ्नो स्वास्थ्यको अवस्थाप्रति सन्तुष्ठि जनाए ।

सन् २०१६ देखि २०१८ सम्म भएको सर्वेक्ष्ँण

यो रिपोर्ट इंग्ल्यान्ड र वेल्समा करिव एक लाख मानिसहरुमा गरिएको सर्वेक्षणमा आधारित छ । सन् २०१६ देखि २०१८ सम्म गरिएको सर्वेक्षणमा अफिस अफ नेशनल स्टेटाटिस्टिक्सले मानिससंग उनीहरुको जीवनमा धर्मको महत्वको बारेमा सोधेेका थिए ।

रिपोर्टमा मानसिक स्वास्थ्यको स्तर थाहा पाउनका लागि भिन्दा-भिन्दै मापदण्डमा शुन्य देखि १०० सम्मको मार्किङ गरिएको थियो । जसमा ईसाई, हिन्दू, इस्लाम अथवा सिख धर्म मान्ने मानिसलाई मानसिक स्वास्थ्यका लागि ४९ प्रतिशत भन्दा बढि अंक प्राप्त भएको थियो भने कुनै पनि धर्म नमान्ने मानिसहरुलाई यसमा मुश्किलले ४८ प्रतिशत अंक प्राप्त भएको थियो ।

जीवनशैलीसंग सम्बन्धित बानीहरु

यो भन्दा पहिला सन् २०१८ अमेरिकामा सार्वजनिक भएको एउटा रिपोर्टमा पनि नियमित चर्च जानेहरु, धर्ममा आस्था नराख्ने मानिसहरुको तुलनामा औसत चार पर्ष बढि बाँच्ने गर्छन् भनिएको थियो । त्यसमा भनिएको थियो -‘धर्मलाई मान्ने मानिसहरु सामाजिक गतिविधिहरुमा धेरै सहभागी हुन्छन् तर उमेर लामो हुने यही एउटा कारण भने होइन ।

यसको दोस्रो पाटो जीवनशैलीसंग सम्बन्धित बानीहरु पनि हुन्, जसमा आस्तिक विशेष रुपमा टाढा रहन्छन् । धुम्रपान र मदिरा जस्ता बानीबाट सावधान हुनेहरुको जीवन लामो हुन्छ ।



source https://www.onlinekhabar.com/2020/03/840554

अवधि नतोकिएका रुग्ण आयोजनाले बजेट नपाउने

१८ फागुन, काठमाडौं । सरकारले अवधि नतोकी सालबसाली रुपमा सञ्चालनमा ल्याएका रुग्ण आयोजना र म्याद गुजि्रसकेका आयोजनालाई अब बजेट रोक्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि राष्ट्रिय योजना आयोगले तयार पारेको बजेट तर्जुमासम्बन्धी निर्देशिकाले म्याद गुज्रिसकेका आयोजना र अवधि नतोकिएका तर रुग्ण आयोजनालाई पूर्ण रुपमा स्थागित गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार अवधि नतोकिएका तर, सालवसाली रुपमा संचालनमा भएका कार्यक्रम-आयोजनाले आगामी आवका लागि बजेट पाउने छैनन् ।

साथै, निश्चित उद्देश्यका लागि वैदेशिक सहयोगमा संचालन भई म्याद गुजि्रएका तर नेपाल सरकारको आर्थिक सहयोगमा संचालनमा रहेका आयोजनालाई पूर्ण रुपमा स्थगित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

आयोगको निर्देशिकापछि अब संघ मातहतमा मन्त्रालय, निकाय तथा विभागहरुले बजेट प्रस्ताव गर्दा त्यस्ता आयोजनाका लागि बजेट माग्न पाउने छैनन् । नेपालमा हजारौं आयोजना अलपत्र रहेको बताइन्छ । यद्यपि कति आयोजना अपलत्र छन् भन्नेबारे भने यकिन तथ्यांक छैन ।

अर्कोतर्फ, संस्थागत संरचना प्रदेश वा स्थानीय तहमा गइसकेको तर संघको कार्यक्षेत्रमा राखिएको आयोजना सम्बन्धित प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने प्रावधानलाई आगामी बजेटले समेत निरन्तरता दिनुपर्ने भएको छ ।

विगतमा संघले शुरु गरेका कारण संघले माया गरिरहने र तल्लो सरकारले समेत आफूसँग स्रोत र क्षमता नभएको भन्दै आयोजना लिन नमान्ने प्रवृत्तिका कारण थुप्रै आयोजना अलपत्र परिरहेका छन् ।

संघबाट स्थानीय तहमा हस्तान्तरण हुनुपूर्व नै आर्थिक दायित्व सिर्जना भएको छ भने त्यस्ता आयोजना र कार्यक्रमलाई समेत स्थानीय तहले नै बजेटको प्रस्ताव गर्नुपर्ने मार्गदर्शन योजना आयोगले बनाएको छ ।

विगतदेखि संचालनमा रहेका अवधि नतोकिएका आयोजना/कार्यक्रम आवश्यक रहेको देखिएमा पुनःप्राथमिकीकरण गर्ने र संचालन गर्ने जिम्मा भने अब प्रदेश र स्थानीय तहले पाएका छन् ।

आवश्यकताका आधारमा अगाडि बढाउनै पर्ने आयोजना र कार्यक्रमको छनोट स्थानीय तहबाट हुने गरी निर्देशिका बनाइएको छ ।

आयोजनाको पुनःप्राथमिकीकरण

आगामी आवको बजेटले आयोजनामा न्यून बजेट गर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने नीति लिने सरकारको योजना छ । आयोगका अनुसार लामो समयदेखि स्वीकृत भई कार्य प्रारम्भ नभएका आयोजना तथा कार्यक्रमलाई अब पुनःप्राथमिकीकरण गर्नुपर्ने भएको छ ।

लामो समयदेखि आयोजनाका रुपमा रहेपनि सम्भाव्यता अध्ययन नै नगरी न्यून बजेट राखिएका आयोजना समेत पुनः प्राथमिकतामा जानु पर्ने भएको छ ।

यस्ता आयोजनाको पुनः प्राथमिकीकरण गरी आवश्यक देखिएमा औचित्यका आधारमा मात्र संचालन गर्ने र औचित्य नदेखिए बन्द गर्नुपर्ने निर्देशिकाले स्पष्ट पारेको छ ।

संघ, प्रदेश र स्थानीय तहबाट संचालनमा आउने कार्यक्रममा दोहोरोपन हुने गरी वा एउटै आयोजनामा सबै तहले बजेट राख्न नपाउने गरी बजेट निर्देशिका सम्बन्धित मन्त्रालय, विभाग तथा सरोकारवाला निकायमा प्रस्ताव गरिएको छ ।

आयोगले राष्ट्रिय गौरव र राष्ट्रिय महत्वका आयोजनालाई न्यूनतम स्रोत सुनिश्चितता हुने गरी बजेट तर्जुमा गर्न समेत सरोकारवाला निकायलाई आग्रह गरेको छ । संघबाट कार्यान्वयन हुने ५० करोड वा सो भन्दा बढी लागतका आयोजना अनिवार्य राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने भएको छ । त्यसो नगरे आयोजनाले बजेट नपाउने भएको छ । आयोजना बैंकमा प्रविष्ट हुनुपर्ने आयोजना पूर्वतयारी सकिएर कार्यान्वयन योग्य हुनुपर्ने प्रावधान रहेको छ ।



source https://www.onlinekhabar.com/2020/03/840568

दीपिकाले हलिउड सिनेमा साइन नगर्नुको कारण यस्तो

नायिका दीपिका पादुकोणले यो बर्षको सुरुवात चलचित्र ‘थप्पड’बाट सुरु गरिन् । यो चलचित्रमा उनी एसिड आक्रमणमा परेकी एक यूवतीको भूमिकामा देखिएकी थिइन् । उनै, दीपिका अब चलचित्र ‘८३’मा देखिदैछिन् ।

नायिका पादुकोणले कलाकार ऋषि कपुरसँग एक हलिउड चलचित्रको रिमेकमा काम गर्दैछिन् । यो चलचित्रलाई दीपिका आफैले निर्माण समेत गर्दैछिन् ।

दीपिकाले सन् २०१७ मा एक हलिउड चलचित्रमा काम गरेकी थिइन् । यसपछि, दीपिकाले कुनै पनि हलिउड चलचित्र साइन गरेको खबर छैन । यस बिषयमा मिडिया कुराकानीमा उनले भनेकी छिन्–‘म चलचित्रलाई हलिउड र बलिउड भनेर मुल्यांकन गर्दिनँ । चलचित्रको कथामा मैले आफूलाई व्यक्त गर्न सक्नुपर्छ । यदि, यस्तो खालको अवसर मलाई आउँछ भने म बलिउड भन्दा बाहिरका चलचित्रमा पनि काम गर्न तयार छु ।’

दीपिकाले अगाडि भनिन्–‘मेरो लागि चलचित्रको बिषयवस्तु महत्वपूर्ण छ । मैले सन् २०१७ मा हलिउड चलचित्रमा काम गर्नुको कारण, त्यसको बिषयवस्तु थियो । जुन निकै शक्तिशाली थियो । मैले अहिले क्रियाशिल भएर हलिउड चलचित्रको बिषयमा सोचिरहेकी छैन, तर शक्तिशाली बिषय खोजिरहेकी छु ।’



source https://www.onlinekhabar.com/2020/03/840567

सीपीलाई भेटेर प्रधानमन्त्रीले गरे स्वास्थ्यलाभको कामना

१८ फागुन, काठमाडौं । सवारी दुर्घटनामा परी घाइते माले महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् ।

मैनाली उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आइतबार बिहान झापा आन्दोलनका आफ्ना सहकर्मीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीले मैनालीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार पझापाबाट काठमाडौं आउँदै गर्दा गत बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो ।

दुर्घटनामा सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सीपीको अवस्था सुधार भइरहेको छ ।



source https://www.onlinekhabar.com/2020/03/840561

खरिपाटी क्वारेण्टाइनमा रहेकाहरु सम्भवत: सोमबार घर फर्किन पाउने

१८ फागुन, काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार सबै एक सय ७५ जना घर जान पाउने स्वास्थ्य मन्त्रालयले बताएको छ। शनिबार नमुना संकलन गरिएको रिपोर्ट सोमबार आउँदै छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ७५ जनामध्ये एकजनाको मात्रै रिपोर्ट नेगेटिभ आए मा कोही पनि घर फर्किन पाउने छैनन्। उनले भने, ‘संक्रमितलाई सीधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन क्वारेन्टाइनमै राखिन्छ।’

देवकोटाको अनुसार अहिलेसम्म १ सय ७५ जनलाई नै रुघाखोकी र ज्वरो नआएकाले अत्तालिनु पर्ने अवस्था छैन । तर, पछिल्ला अनुसन्धानले क्वारेन्टाइनमा बसेका व्यक्तिमा २४ दिनपछि पनि कोभिड–१९ को संक्रमण देखिएको छ। सोही कारण दोस्रो रिपोर्ट नेगेटिभ आए अझै जोखिम रहेकाले सुरक्षित रहनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन्।

यो पनि पढ्नुहोस कोरोनाबारे बालुवाटारमा बैठक : उडान रोक्नेबारे छलफल, उच्च सतर्कता अपनाउने निर्णय

गत फागुन ४ गते चीनको वुहानबाट ल्याइएका उनीहरुको पहिलो नमुना परीक्षण सोही दिन गरिएको थियो। उक्त नमुना परीक्षण को सबैको रिपोर्ट पोजेटिभ आएको थियो। हिजो शनिबार गरिएको नमुना संकलनबाट सबैको रिपोर्ट पोजेटिभ आए यो नै अन्तिम परीक्षण हुनेछ।

उद्धार गरिएका एक सय ७५ बाहेक उद्धारमा जाने टोली सदस्य तथा क्वारेन्टाइनमा रहेका अन्य १८ जनाको पनि नमुना संकलन गरिएको छ । सबै एक सय ९३ जनाको (याल र नाकबाट नमुना संकलन गरिएको हो। नमुना संकलनका लागि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी खरिपाटी पुगेका थिए।

प्रवक्ता देवकोटाले भने, ‘सोमबारसम्म क्वारेण्टाइन बसेकाहरु घर जान पाउने सम्भावना बढेको छ।’



source https://www.onlinekhabar.com/2020/03/840552

नेपालको फेरि खराब ब्याटिङ, हङकङसँग ४३ रनले पराजित

१८ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

नेपालको ब्याटिङ कमजोर हुँदा हङकङले ४३ रनको पराकिलो जित हात पारेको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।

पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपालको ब्याटिङ कमजोर थियो र २२ रनले पराजित भयो । लगातार दोस्रो हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालको सुरुवात राम्रै थियो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर पाँचौं ओभरको चौथो बलमा कुशल व्यक्तिगत १९ रनमा आउट भए ।

पावर प्ले सकिँदा नेपालले १ विकेट गुमाएर ४९ रन बनाएको थियो । तर त्यसपछि नेपालले ६२ रन जोड्दा ९ विकेट गुमायो । पारस खड्का ४, उपकप्तान दीपेन्द्र सिंह ऐरी ५, पवन सर्राफ १ र विनोद भण्डारी ५ रन बनाएर आउट भए ।

१५औं ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालको सम्भावना क्षिण बनेको थियो । ज्ञानेन्द्र ४६ रनमा आउट हुँदा नेपाल ९०.६ को अवस्थामा पुग्यो । करण केसी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछानेले नै खाता खोल्न सकेनन् । आरिफ शेख १० रन बनाएर आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका लागि हारुन अर्सदले ३.१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए । अफताव हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे ।

पहिलो विकेटका लागि निजाकात खान र शाहिद साविसफले ५८ रनको साझेदारी गर्दै हङकङलाई राम्रो सुरुवात दिलाएका थिए । तर आठौं ओभरको पाँचौं बलमा सुशन भारीले साझेदारी तोडे । उनले वासिफलाई आरिफ शेखबाट क्याचआउट गराए ।

सुशनले नै १० औं ओभरमा अर्का ओपनर निजाकातलाई कुशल मल्लबाट क्याचआउट गराए । अर्को ओभरमा सन्दीप लामिछानेले किन्चित शाहलाई शून्यमै पभेलियन फर्काएपछि नेपाल खेलमा फर्किएको थियो । त्यसपछि नेपालले नियमित विकेट लिँदा हङकङले ठूलो स्कोर बनाउन पाएन । १४ औं ओभरको अन्तिम बलमा कुशल मल्लले हारुन अर्सदलाई अभिनाश बोहराबाट क्याचआउट गराए ।

सन्दीपले १७ औं ओभरमा जेमी एटकिनसनलाई विकेटकिपर विनोद भण्डारीबाट स्टम्पिङ गराएपछि हङकङले १२६ रन हुँदा पाँचौं विकेट विकेट गुमायो । १९ औं ओभरमा हङकङका कप्तान अइजज खान रनआउट भएका थिए । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २/२ तथा कुशल मल्लले एक विकेट लिए ।



source https://www.onlinekhabar.com/2020/03/840563

वर्षा भन्छिन्–‘सबैको बिहेपछि मेरो बिहे’

नायिका वर्षा सिवाकोटीको प्रेमको खबर मिडियामा आइरहेको हुन्छ । अहिले पनि वर्षा अमेरिकामा रहेका एक यूवाको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । तर, वर्षाले भने प्रेमको कुरालाई खुलाउन चाहेको पाइदैन ।

उनै, वर्षा शुक्रबार बेलुकी नायिका प्रियंका कार्कीको बिहे पार्टीमा सहभागी हुन पुगेकी थिइन् । वर्षालाई तपाइको बिहे कहिले भनेर मिडियाकर्मीले प्रश्न गर्दा उनले भनिन्–‘सबैको बिहेपछि मेरो बिहे हुन्छ । पहिले सबैको बिहेमा सहभागी हुन्छु, अनी गर्छु ।’

उनले आफू चलचित्र क्षेत्रमा कान्छी नायिका भएकाले पनि सबैको बिहेपछि गर्ने बताइन् । तर, लगातार नायिकाहरुको बिहेमा सहभागी भैरहँदा आफूलाई पनि बिहे गर्न मन लागेको तर्क उनको थियो ।

वर्षा पछिल्लो समयमा बल्ल चलचित्र क्षेत्रमा जम्दैछिन् । उनको हातमा राम्रा प्रोजेक्टहरु आएका छन् । यसैले पनि बिहे गर्ने हतारोमा उनी नलागेको हुनसक्छ ।



source https://www.onlinekhabar.com/2020/03/840548

शौच गर्न निस्किएका वृद्धमाथि महोत्तरीमा गोली प्रहार

१८ फागुन, काठमाडौं । महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का  स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव  घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली  यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गाेली कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन । ‘घटना कसले र किन गरायो भन्ने खुलेको छैन,’ डीएसपी बुढाथोकीले अनलाइनखबरसँग भने, ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं ।’



source https://www.onlinekhabar.com/2020/03/840541

देउवालाई पौडेलको प्रश्न– प्रधानमन्त्रीको राजीनामा माग्न किन नसकेको ?

१८ फागुन, वीरगञ्ज । पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसको देउवा इतरको समूहले वीरगञ्जमा प्रदेश स्तरीय भेला आयोजना गरेको छ । भेलामा सहभागी कार्यकर्ताहरुले नेताहरुबीच आफ्नै गुटमा समेत एकता नदेखिएको भन्दै एकजुट भएर अघि बढ्न सुझाव दिएका छन् ।

‘वर्तमान राजनैतिक परिवेशमा नेपाली काँग्रेसका चुनौति र समाधान’ नाम दिएर काँग्रेस पर्सा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले शनिबार छलफल तथा भेला आयोजना गरेको थियो । छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल र प्रदेश नं. २ का ८ वटै जिल्लाबाट पौडेल समूहका नेता–कार्यकर्ताहरु सहभागी थिए । तर जिल्ला सभापतिहरु र सांसदहरु भने कार्यक्रममा देखिएनन् ।

कार्यक्रममा सहभागी कार्यकर्ताहरुले पार्टीमा पारदर्शिता र अनुशासन नभएको, विधान र महासमितिको म्यान्डेडअनुसार पार्टी नचलेको, नेताको चाकडी गर्नेलाई मात्रै चिन्ने प्रवृत्ति देखिएको गुनासो नेताहरुसामु राखे । उनीहरुले घात गर्नेलाई कारबाही नगरेको, पैसामा टिकट बेचेको, प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको, क्रियाशिल सदस्यता वितरणमा देउवा पक्षले मनोमानी गरेको पनि सुनाए ।

कार्यक्रममा उपस्थित नेताहरुमध्ये धेरै जनाले सभापतिमा उठ्ने मनोकांक्षा राखेका छन् । त्यसतर्फ संकेत गर्दै छलफलमा सहभागी नेता कार्यकर्ताले सहमतिमा एक जनालाई सभापतिको उम्मेदवारको रुपमा अघि सार्न आग्रह गरे ।

कांग्रेस नेता डा. चन्द्रमोहन यादवले पार्टी नेतृत्वलाई मिलेर जानुस् भनेर सुझाव दिनु पर्ने अवस्था आउनु विडम्बना भएको बताए । ‘शीर्ष नेतृत्वले कार्यकर्तालाई जुट्न आग्रह गर्नुपर्ने हो । हामीकहाँ विडम्बना छ, शीर्ष नेतृत्वलाई कार्यकर्ताले मिलेर जानुस् भन्नुपरेको छ ।’

कांग्रेस रौतहटका कोषाध्यक्ष श्रीराम श्रेष्ठ साहले विपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईबाट पाठ सिक्न आग्रह गरे । ‘विधानले सभापति एक जना मात्रै सभापति हुने नियम बनाएको छ, तर धेरै आकांक्षी देखिन्छन् । थोरै त स्वार्थ छोड्नुुुस्,’ उनले भने, ‘तर जो जहाँ जान्छ लडाइ झगडा गरेर सभापतिको उम्मेदवार मै हुँ भनेर कसरी हुन्छ ?’
नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले पार्टीमा मतभेदभन्दा पनि मनभेद ठूलो समस्याको रुपमा रहेको बताए ।

पर्साका कांग्रेस नेता ओमकृष्ण लामिछाने विगतको तुलनामा पार्टीको अवस्था विग्रिएको भन्दै बोल्दा बोल्दै भक्कानिएका थिए ।

पार्टीमा अनुशासनको कुरा गर्ने नेता कार्यकर्ताहरु भने हलभित्रै होहल्ला गर्ने, मञ्चमा नेताले बोलिरहँदा बाहिर गएर बसिदिने, आसन ग्रहण र भाषणका लागि हानथाप गरेका देखिन्थे । बोल्नका लागि तीन मिनेट समय दिए पनि कमैले मात्रै त्यसको पालना गरेका थिए । आसन ग्रहणका लागि धेरैको नाम लिइएपछि हलबाटै विरोध भएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटा व्यक्तिलाई प्रधानमन्त्री, राष्ट्रपति बनाउन संविधान संशोधनको षडयन्त्र भइरहेको अवस्थामा समेत प्रमुख प्रतिपक्षी दल कांग्रेसले जुन किसिमले लड्नुपर्ने थियो त्यो नसकेको बताए ।

उनले पार्टीभित्र देखिएको वेथितिविरुद्ध जुट्न नै भेला आयोजना गरिएको बताए । ‘भ्रष्टाचारमा डुबेका प्रधानमन्त्रीको राजीनामा माग्न कांग्रेस संसदीय दलले किन नसकेको ? पार्टी किन कमजोर भइरहेको छ ? गुटगत स्वार्थका लागि पार्टीलाई बलिदान दिने अनि हामी टुलुटुलु हेरेर बस्ने ? त्यसैले भेला बोलाइएको हो,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी कब्जा गर्ने र देश कब्जा गर्ने दुवैसँग लड्नुपर्ने अवस्था आएको बताए ।



source https://www.onlinekhabar.com/2020/03/840545

नेकपा सचिवालय बैठक बस्दै

१८ फागुन, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ ।

राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो । नेकपा अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको छ ।

आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ । नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए । उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।

तर, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले गौतमलाई नै लैजानुपर्ने मत राखेपछि नेकपामा विवाद छ । यहीबीच बस्न लागेको नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ ।

बैठकमा पार्टीको आन्तरिक विवादका अलावा समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।



source https://www.onlinekhabar.com/2020/03/840542

अमेरिकामा नेपाली भाषाको जानकारीमूलक पुस्तिका प्रकाशित

१८ फागुन, वाशिंटन डीसी । अमेरिकाको १७२ वर्ष पुरानो नेशनल लाइफ ग्रुपले नेपाली भाषामा जानकारीमूलक पुस्तिका प्रकाशन गरेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले एक समारोहबीच पुस्तिकाको विमोचन गरे ।

नेसनल लाइफ ग्रुपका उपाध्यक्ष जेनिफर वारफिल्डले सन् १८४८ मा स्थापित नेसनल लाइफ ग्रुपले नेपाली समुदायलाई महत्त्व दिँदै नेपाली भाषाको सामाग्री प्रकाशित गरेको बताइन् ।

यस कम्पनीमा संस्थागतरूपमा प्रवेश गर्ने पहिलो नेपाली अनुभव गिरी हुन् । उनकै पहलमा नेपाली भाषामा जानकारी मुलक पुस्तिका प्रकाशित भएको हो ।

सो अवसरमा अमेरिकामा नेपाली संगीत तथा नृत्य प्रवर्धन गरिरहेको केसी डान्स सेण्टरका कलाकारहरूले नेपाली नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरूमा कलाकारहरूले अमेरिका तथा नेपालको राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भिजिट नेपालद्वारा निर्माण गरेको नेपाल प्रवर्द्धनको भिडियोसमेत प्रदर्शन गरिएको थियो ।



source https://www.onlinekhabar.com/2020/03/840535

गोकुल बास्कोटालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

१८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।

नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।

स्वीस कम्पनीका एक जना एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ताको जिम्मेवारीमासमेत रहेका बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट पनि अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा नेविसंघले विरोध प्रदर्शन गरेको थियो ।

उनले उक्त अडियो टेप बनावटी भएको दाबी गर्दै मिश्रविरुद्ध मानहानी र गालीबेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्तासमेत गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/03/840529

कोरोनाले अमेरिकामा पनि लियो १ जनाको ज्यान

१८ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

राजधानी वाशिङ्टन डिसीको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताएका छन् । अमेरिकाले इरान यात्रामा रोक लगाइसकेको छ भने इटली र दक्षिण कोरिया नजान अपिलसमेत गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका सबै देशमा कोरोना भाइरस फैलिने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म करिब ३ हजार जनाको मृत्यु भइसकेको छ भने ८५ हजारभन्दा बढी मानिस संक्रमित छन् ।



source https://www.onlinekhabar.com/2020/03/840531

नेपाललाई हङकङले दियो १५५ रनको लक्ष्य

१८ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गतको खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए। ४ ओभरमा सन्दीपले २५ र सुशनले ३७ रन खर्चिए । यस्तै कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।

यसअघि नेपाल मलेसिया्विरुद्ध २२ रनले पराजित भएको थियो । त्यसैले आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ ।



source https://www.onlinekhabar.com/2020/03/840530

कोरोनाको त्रासले टोखा महोत्सव स्थगित

१८ फागुन, काठमाडौं । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ ।

नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौं,’ उनले भने ।

नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो । नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाःगुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/03/840511

गैंडाकोटमा ५० लाख बढीको सुन र नगद चोरी

१८ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ ।

कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

आइतबार बिहान पसल खोल्न आउँदा मात्र पसलमा चोरी भएको थाहा पाएको गहतराजले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले पसल र पुलचोकमा रहेका सीसीटीभी फुटेजको आधारमा घटनाको अध्ययन गरिरहेको जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/03/840524

नवनियुक्त भारतीय राजदूत क्वात्रा आज नेपाल आउँदै

१८ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् ।

उनी बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित भारतीय दूतावास स्रोतले बतायो ।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/03/840519

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

१८ फागुन, काठमाडौंं । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गत महत्त्वपूर्ण खेलमा नेपालले आज हङकङसंग खेल्दैछ । केही बेरपछि सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । त्यसैले शीर्ष २ को सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नैपर्नेछ । हङकङ भने पहिलो खेल खेल्दैछ ।



source https://www.onlinekhabar.com/2020/03/840516

एसीसी इस्टर्न रिजनमा हङकङसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपालले आइतबार हङकङसँग दोस्रो खेल खेल्दैछ । उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमै शनिबार मलेसियासँग २२ रनले पराजित भएको थियो ।

शीर्ष २ मा रहँदै एसिया कप छनोटमा पुग्ने सम्भावना कायम राख्न नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । इस्टर्न रिजनमा हङकङको भने यो पहिलो खेल हो । खेल बिहान सवा ८ बजे बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुनेछ ।

नेपाल र हङकङबीच यसअघि ६ पटक टी २० खेल भएको छ । जसमा नेपालले ४ खेल जितेको छ । पछिल्लो पटक नेपालले गत अक्टोबरमा ओमान भएको पेन्टागुलर सिरिजमा हङकङलाई ४ विकेटले हराएको थियो । टी २० अन्तर्राष्ट्रियमा भने ४ खेल हुँदा दुवैले २–२ खेल जितेका छन् ।

यस्तै, आजै घरेलु टोली थाइल्याण्डले मलेसियासँग खेल्नेछ । थाइल्याण्ड पहिलो खेलमा सिंगापुरसँग पराजित भएको थियो । नेपाललाई हराएको मलेसिया भने उच्च मनोबलमा छ ।

५ राष्ट्र सहभागी इस्टर्न रिजनबाट शीर्ष दुई टोली अगष्टमा मलेसियामा हुने एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।



source https://www.onlinekhabar.com/2020/03/840514

लिभरपुलको ४४ खेलको अपराजित यात्रामा ब्रेक

काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा यस सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति वाटफोर्ड्सँग ३–० ले पराजित भएपछि यस सिजन अपराजित रहेर लिग उपाधि उचाल्ने लिभरपुलको सपना तुहिएको छ ।

प्रिमियर लिगमा ४४ खेलपछि लिभरपुल पराजित भएको हो । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । प्रिमियर लिगमा लिभरपुल जनवरी २०१९ पछि पहिलोपटक पराजित भएको हो ।

घरेलु मैदानमा इस्माइला सरा चम्किएपछि वाटफोर्डले लिभरपुलमाथि शानदार जित हात पारेको हो । सारले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे ।

घरेलु मैदान भिकारेज रोडमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा वाटफोर्डले ३ गोल गर्‍यो । ५४ औं मिनेटमा सारले डोकोरोको पासमा गोल गर्दै अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै सारले व्यक्तिगत दोस्रो गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर पारे । लिभरपुल खेलमा फर्कन संघर्षरत रहँदा वाटफोर्टले तेस्रो गोल गर्‍यो । ७२ औं मिनेटमा सारकै पासमा ट्रो डिनेले गोल गर्दै वाटफोर्डलाई ३–० को अग्रता दिलाए ।

लिभरपुलले प्रिमियर लिगमा गोल गर्न नसकेको ३६ खेलपछि यो पहिलो पटक हो । २०१९ मार्चपछि लिभरपुलले गोल गर्न नसकेको यो पहिलो पटक हो ।

हारपछि पनि लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २२ अंकको अग्रता कायमै राखेको छ । लिगमा लिभरपुलले अझै १० खेल खेल्न बाँकी छ र ४ खेल मात्र जितेपनि उपाधि भने जित्नेछ ।

लिभरपुलसँग खेल्नुअघि पुछारबाट दोस्रोमा रहेको वाटफोर्डले जितपछि रेलिगेसन जोन छाडेको छ ।

२८ खेलबाट २७ अंक जोडेको वाटफोर्डले बर्नमाउथलाई गोलअन्तरमा पछि पारेको छ । वर्नमाउथले चेल्सीसँग २२ को बराबरी खेल्दै अंक बाँडेको थियो । पुछारको टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेको दिन अन्तिम स्थानमा रहेको नर्विचले लेस्टरलाई १–० ले हरायो । यस्तै वेष्टह्यामले साउथह्याम्पटनलाई ३–१ ले हरायो ।



source https://www.onlinekhabar.com/2020/03/840512

विपन्न विद्यार्थी पढाइ छाड्छन्, सरकारी बजेट फ्रिज

१८ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषय उठाएका छन् । कुनैको नजर विपन्न विद्यार्थीका लागि छुट्याइएको बजेट कार्यान्वयनमाथि परेको छ भने केहीले वायुको गुणस्तरबारे समाचार बनाएका छन् । त्यसो त नेकपासँगै कांग्रेसभित्रको कचिंगलबारे पनि पत्रपत्रिकाहरूले ‘कभरेज’ गरेका छन् । अमेरिका र तालिवानबीच भएको ऐतिहासिक सम्झौताले पनि आजका अधिकांश पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

विपन्न विद्यार्थीका लागि छुट्याइएको छात्रवृत्तिबारे नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । समाचार अनुसार विपन्न विद्यार्थीका निम्ति एक अर्ब छात्रवृत्ति छुट्याए पनि १७ करोड मात्रै वितरण भएको छ । माध्यमिक तहका ५३ हजार विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएकोमा १२ हजारलाई मात्र वितरण गरिएको हो ।

‘विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल भएका छन्,’ नयाँ पत्रिकाले लेखेको छ ।

अन्नपूर्णले नेकपा विवादबारे मुख्य समाचार बनाएको छ । जारी विवाद अन्त्यका लागि नेकपाका नेताहरूबीच भेटघाट तीव्र भए पनि नतिजा शून्य भएको अन्नपूर्ण समाचारको सार छ ।

विभाग गठनपछि कांग्रेसमा चुलिएको असन्तुष्टिबारे पनि अन्नपूर्णले समाचार बनाएको छ ।

वायुको गुणस्तर सुधारिएको खबर कान्तिपुरमा छ । अघिल्लो वर्षको तुलनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणमा सुधार भएको हो ।

कान्तिपुर लेख्छ– काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्र प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको छ ।

यसबाहेक खाडीमा बढ्दो कोरोना संक्रमण र कांग्रेसभित्रको किचलोलगायतका खबर पनि कान्तिपुरमा छापिएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2020/03/840502

विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित

१७ फागुन, काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए ।

शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भने, ‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछौं ।’

अब देशभित्रकै पर्यटन प्रवर्धनमा जोड दिने उनले बताए । कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको उनले बताए ।

यो पनि पढ्नुहोस योगेश भट्टराई : ‘कोरोनामुक्त देश’का पर्यटनमन्त्री !

source https://www.onlinekhabar.com/2020/02/840464

बिबाहले मेरो करिअरलाई असर गर्ने छैन : रविना थापा

चलचित्र ‘लभ डायरिज’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, रुविना थापा । मोडलिङ क्षेत्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी रुविनालाई पहिलो चलचित्रले व्यापारिक सफलता भने दिएन । तर, आफ्नो काम र आफ्नो कामले पाएको प्रशंसाबाट भने रुविना खुसी छिन् ।

चलचित्र हेर्ने दर्शकले चलचित्र र आफ्नो कामलाई राम्रो प्रतिकृया दिएको रुविना बताउँछिन् । उनले भनिन्, ‘चलचित्र आफैँमा राम्रो बनेको थियो । जतिले हेर्नुभएको छ, उहाँहरुले हाम्रो अगाडि आएर राम्रो नै भन्नुभएको छ । मेरो कामको पनि प्रशंसा नै भइरहेको छ । खुसी लाग्छ ।’

चलचित्रमा आफूले गर्न पाएको भूमिकाबाट पनि रुविना सन्तुष्ट छिन् । दुई अभिनेताको बीचमा रहेर काम गर्दा पनि आफ्नो भूमिका नै सशक्त भएको रुविनाले बताइन् । उनले भनिन्, ‘मैले दुई हिरोको बीचमा परेर हराउनु परेन । मेरो क्यारेक्टर निकै बलियो थियो । त्यसैले पनि मलाई दर्शकले नोटिस गर्नुभएको जस्तो लाग्छ ।’

रुविना करिअर निर्माण पूर्ण रुपमा एउटै चलचित्रले नगर्ने बताउँछिन् । उनले भनिन्, ‘कुनै पनि चलचित्रले कलाकारलाई स्थापित गराउँछ जस्तो मलाई लाग्दैन । म चिनिने भनेको मेरो अभिनय र मैले निर्वाह गरेको भूमिकाले नै हो ।’ तर, चलचित्र राम्रो भएको खण्डमा प्लस पोइन्ट जरुर हुने उनको भनाई छ ।

लभ डायरिज रिलिज पूर्व नै रविनालाई धेरै चलचित्रबाट अफर आएका थिए । तर, डेब्यु चलचित्र लभ डायरिज नै होस् भन्ने सोचेर उनले अफर आएका चलचित्र नकारिन । त्यसमा अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ पनि परेको थियो । ती चलचित्रहरु नगरेकोमा रुविनालाई कुनै गुनासो भने छैन ।

अहिले पनि रुविना आफूलाई केही चलचित्रबाट अफर आइरहेको बताउँछिन् । ‘लभ डायरिज रिलिज पछि मलाई विभिन्न चलचित्रबाट अफर आइरहेको छ । तर म बिरामी भएर भेट्न पाएको छैन’, रुविनाले भनिन्, ‘अब भने राम्रो टिम पाएको खण्डमा चलचित्रमा काम गर्नेछु ।’

रुविनालाई यस्तै भूमिका पाए गर्छु भन्ने छैन । राम्रो टिम पाए चलचित्र क्षेत्रलाई थप बुझ्नको लागि काम गर्न तयार छिन् ।

बिबाहले करिअर असर गर्ला ?

रुविना थापा बिबाहित हुन् । उनले लभ डायरिज रिलिज पूर्व नै बिबाह गरेकी हुन् । सुरु सुरुमा आफ्नो बिबाह लुकाउन खोजेपनि पछि उनले आफू बिबाहित भएको खुलेर बोलिन ।

बिबाह पछि नायिकाहरुको करिअर पूर्णविराम लागेको उदाहरणहरु धेरै देखिएका छन् । रुविनाले त करिअर सुरु हुनसाथ बिबाह गरेकी छिन् । तर, बिबाहले आफ्नो करिअरमा कुनै असर नगर्ने उनले बताइन् ।

उनी भन्छिन्, ‘बिबाह संगम हो, बन्धन होइन । यदि परिवार सहयोगी छ भने करिअरलाई कुनै असर गर्दैन । मैले सहयोगी परिवार पाएको छु । त्यसैले असर गर्छ जस्तो लाग्दैन ।’

रुविना निरन्तर रुपमा चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने सोचमा छिन् । डेब्यु चलचित्रले पाएको मायालाई उर्जाको रुपमा लिएकी छिन् । आगमी चलचित्रबाट थप दर्शकको मन जित्ने दौडमा छिन्, रुविना ।



source https://www.onlinekhabar.com/2020/02/840463

परिमार्जन नभइ एमसिसी पारित हुन्न : प्रचण्ड

१७ फागुन, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै उनले परिमार्जनका लागि सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए ।

त्यसलाई स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनले प्रष्ट पारे ।



source https://www.onlinekhabar.com/2020/02/840462

शुक्लफाँटा अर्थात् जीवजन्तुको जीवित संग्रहालय

१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्रहालय हो ।

म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । डोटीमा जन्मे हुर्के पनि शुक्लाफाँटा पुग्ने अवसर भने धेरैपछि मात्र जुरेको थियो । यद्यपि त्यसपछि भने पटकपटक पुगेको छु ।

सन् २०११ तिर शुक्लाफाँटा पुग्दा त्यसलाई वन्यजन्तु आरक्षण भनिन्थ्यो । त्यसबेला मैले आँखै अगाडि बाह्रसिंगे देखेपछि चकित भएको थिएँ । पछि शुक्लाफाँटा सम्झनसाथ मेरो आँखामा बाह्रसिंगे नै नाच्ने गथ्र्यो ।

समय र परिस्थिती मिलाएर म बेलामौकामा पश्चिम नेपालको यात्रा गर्ने गर्छु । यात्रा मात्र नभएर पश्चिम मेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले वाइल्ड वेष्ट नेपाल परिकल्पना समेत गरेको हो । पर्यटकीय सम्भावना भएर पनि पश्चिम नेपालले अपेक्षाकृत सफलता पाएको छैन ।

शुक्लाफाँटाकै कुरा गरौं न । यो हामीले विदेशी टेलिभिजन च्यालनमा हेरिने वन्यजन्तुको संसार भन्दा कम छैन । भनिन्छ, एशियकै ठूलो फाँट हो यो । यहाँ बह्रसिंगेदेखि जरायोसम्मको ठूलो झुन्ड साक्षतकार गर्न सकिन्छ ।

त्यसबाहेक सरिसृप, चराचुरुंगीको पनि बासस्थान हो यो । यहाँ हरेक विहान र साँझ जीप एवं हात्ती सफारी गर्ने व्यवस्था छ ।

राजा-महाराजाको मनोरञ्जनका लागि विसं २०२६ सालमा शिकार आरक्षका रुपमा स्थापना गरिएको शुक्लाफाँटालाई सरकारलेे निकुञ्जमा परिणत गरेको हो ।

शुक्लाफाँटा क्षेत्रमा परमानन्द भण्डारीको शुक्लाफाँटा जंगल कटेज, चराविद् हेमसागर बरालको शुक्लाजंगल टेन्टेड क्याम्प र राना थारु समुदायको सामुदायिक होमस्टे सञ्चालनमा छन् । फाँटाबाट ७ किमि दुरीको महेन्द्रनगरमा डेढ दर्जन हाराहारीमा पर्यटकीय सुविधाका होटल छन् ।

कसरी पुग्ने ?

काडमाडौंदेखि धनगढीसम्म हवाई यात्रा । त्यसपछि जीपमा दुई घण्टामा आरामले पुग्न सकिन्छ । सार्वजनिक बसमा २४ घण्टाको यात्राबाट पुग्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2020/02/840445

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More