१३ माघ, काठमाडौं । नेपाली सेनाको मुख्यालय (हेडक्वार्टर) निर्माणको भुक्तानी माग गर्दै भद्रकाली अगाडि प्रदर्शन भएको छ ।
मुख्यालयका विभिन्न संरचना निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरले लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै मंगलबार बिहान प्रदर्शन गरेका हुन् ।
मुख्यालय भवन निर्माण कार्य सकेको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि बाध्य भएर आफूहरू धर्नामा बसेको सहायक ठेकेदार रमेश शिवकोटीले अनलाइनखबरलाई जानकारी दिए ।
धर्नामा बसेका उनीहरूले ‘मजदुर मार्न पाइँदैन’, ‘भुक्तानीको ग्यारेन्टी गर’लगायतका प्लेकार्ड बोकेका छन् । बिहान १० बजेदेखि सुरु धर्ना १२ बजेसम्म जारी रहने सहायक ठेकेदार शिवाकोटीले जानकारी दिए ।
भएको के हो ?
नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय भवन निर्माणको जिम्मा सेनाले केसी कन्स्ट्रक्सनलाई दिएको थियो । तर कोसीले सव-कन्ट्याक्टर भित्राएर क्वेस्ट इन्फालाई जिम्मा लगाएको थियो ।
क्वेस्टमार्फत विभिन्न सहायक ठेकेदारहरूले भवन निर्माणका विभिन्न कामहरूको जिम्मा पाएका थिए । सहायक ठेकदारहरूले २ वर्ष नौ महिना लगाएर भवन हस्तान्तरण गरेका थिए ।
तर, भवन निर्माणमा संलग्न सहायक ठेकदार, सप्लायर्स र मजदुरले जिम्मेवारी पूरा गरेको ९ महिना बितिसक्दा पनि भुक्तानी पाएका छैनन् ।
सहायक ठेकदार शिवाकोटीका पटकपटक ताकेता गर्दा पनि क्वेस्टले भुक्तानी गर्न आनाकानी गरेको छ । उनका अनुसार, निर्माणमा जोडिएका सेनादेखि ठेकेदारसम्मले एकले अर्कोलाई देखाएर अल्झाउँदै आइरहेका छन् ।
‘निर्माण जिम्मा दिने क्वेस्टसँग भुक्तानी माग्न जाँदा हामीले नै पाएका छैनौं, कहाँबाट दिनु भन्छ । मुख्य ठेकेदार र सेनासँग दुःख बिसायो भुक्तानी भइसक्यो भन्छ,’, शिवाकोटीले अनलाइनखबरसँग भने, ‘यताबाट उता देखाएर हैरान पारे । हामी कहाँ जाऔं ?’
सहायक ठेकदार, सप्लायर्स तथा मजदुरहरूले आफूहरूमाथि अन्याय भएको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।
तस्वीर : आर्यन धिमाल /अनलाइनखबर
source https://www.onlinekhabar.com/2020/02/839434
0 comments:
Post a Comment