Wednesday 26 February 2020

रवीन्द्रको सम्झनामा पर्यटन पुरस्कार घोषणा

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।

अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् ।
दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरेको जानकारी दिँदै पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने बताए । मन्त्री भट्टराईका अनुसार, मन्त्रालयले स्थापित पुरस्कारबारे छिट्टै कार्यविधि बनाउने छ ।

कार्यविधिलगायतको ढिलाइले यस वर्ष दिवंगत अधिकारीको जन्मदिनमा पुरस्कार वितरण गरिने छैन । अर्को वर्षबाट भने अधिकारीको स्मृति दिवसकै दिन पुरस्कार बाँडिने मन्त्री भट्टराईले जानकारी दिए । कार्यविधि नबनिसकेकाले पुरस्कारको राशि पनि खुलाइएको छैन ।

गत वर्ष आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित नागरिक उड्डयन प्राधिकरका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा सात जनाको निधन भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

यो पनि पढ्नुहोस रवीन्द्र अधिकारी चढेको हेलिकप्टर उडानमा भेटियो त्रुटि नै त्रुटि

पूरा नभएको रवीन्द्रसँगको त्यो भेट योजना

कार्यक्रममा मन्त्री भट्टराईले रवीन्द्रको योगदान स्मरण गर्दै एक सम्भावना बोकेको कुशल राजनीतिज्ञ देशले गुमाएको बताए । ‘अधिकारी कुशल राजनीतिज्ञ त हुनुहन्थ्यो नै प्रशासन क्षेत्रबारे पनि जानकार हुनुहुन्थ्यो,’ भट्टराईले दिवंगत नेता अधिकारीबारे चर्चा गर्दै भने, ‘अधिकारीको मृत्युबाट देशले एक प्रतिभावान व्यक्ति गुमाएको छ ।’

अधिकारी ०४३ देखि सहकार्यमा रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले लामो समयसँगै काम गरे पनि कहिल्यै विवाद नभएको स्मरण गरे ।

मन्त्री भट्टराईले अधिकारीसँग भेटका लागि बनेको एक योजनाबारे पनि कार्यक्रममा सुनाएका थिए । जसले मन्त्रालयको सभाकक्षमा सन्नाटा छाएको थियो ।

मन्त्री भट्टराईका अनुसार, ताप्लेजुङबाट फर्किएपछि दुईबीच भेट्ने तय भएको थियो । मन्त्री भट्टराईले त्यसका लागि अन्य भेटघाटका कार्यक्रमहरू पनि मिलाएका थिए ।

‘अधिकारी र मबीच ताप्लेजुङबाट फर्किएको भोलिपल्ट भेट्ने तय भएको थियो । योजनाअनुसार फर्किएलगत्तै भेट्ने प्रतीक्षामा म थिएँ,’ मन्त्री भट्टराईले १ वर्षअघिको त्यो कालो दिनको स्मरण गरे, ‘तर, अकल्पनीय त्यो दुर्घटनाले हाम्रो यो योजना अधरै रह्यो ।’

घटनामा ज्यान गुमाउने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटनका बहुआयामिक क्षेत्रमा ठूलो गुन लगाएको चर्चा भट्टराईले गरे । घटनामा ज्यान गुमाउने सबै भरपर्दा र आशालाग्दा भएको उल्लेख गर्दै उनले अधिकारीलगायतले देखाएको बाटो अवलम्बन गर्नुपर्ने बताए ।



source https://www.onlinekhabar.com/2020/02/839886

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More