Wednesday 31 March 2021

भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित

१९ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र ३९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटक छत्तीसगढमा पनि चार हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

भारतमा केही समययता कोरोना संक्रमण निरन्तर बढ्दो छ । संक्रमण नियन्त्रणका लागि महाराष्ट्रलगायत केही राज्यले सामाजिक गतिविधिमा कडाइ गर्ने नियम ल्याएका छन् । तर त्यसको प्रभाव खासै देखिएको छैन ।

विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको आवश्यक मापदण्ड पालना नगरेको कारण अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । त्यसका साथै चाडपर्व तथा स्थानीय निर्वाचनको भेलामा पनि कुनै रोक नलगाइएका कारण संक्रमण बढेको उनीहरुले दाबी गरेका छन् ।

भारतले कोरोना संक्रमण नियन्त्रणका लागि भनेर खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतमा हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भारत सरकारले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि कोरोना खोप लगाउन थालेको छ ।



source https://www.onlinekhabar.com/2021/04/942354

नयाँ बर्षमा फेरि सुनसान हल, जोखिम मोल्न तयार भएनन् निर्माता

गतबर्षको चैत्र २८ गते ‘प्रेमगीत ३ र चपली हाइट ३’ले प्रदर्शन मिति तय गरेका थिए । नयाँ बर्षमा चलचित्र रिलिज गर्दा दर्शकको बाक्लो भीड हुने भएकाले पनि निर्माताहरुका लागि यो मिति प्रिय मानिन्छ ।

गतबर्ष पनि नयाँ बर्षको छेकोमा चलचित्र रिलिज गरेर लगानी सुरक्षित गर्ने उत्साहमा थिए निर्माता । तर, विश्व बजारमा फैलिएको कोभिड १९ का कारण सरकारले चैत्र ११ गतेबाट लकडाउन गर्यो । नयाँ बर्षमा चलचित्र रिलिज हुन पाएनन् ।

यो बर्ष पौष २६ गतेबाट सरकारी निर्णयसँगै हलहरु संचालनमा आए । तर, पनि ५० प्रतिशतको अकुपेन्सी भने हटेको थिएन । चैत्र २७ गतेलाई प्रदर्शन मिति तोक्दै ‘कृष्णलीला र लप्पन छप्पन २’ले प्रचार सुरु गरिसकेका थिए । दुबै चलचित्रको ट्रेलर पनि सार्वजनिक भैसकेको थियो ।

तर, चैत्र लागेसँगै विश्व बजारमा फेरि कोरोना केस बढ्न थाल्यो । जसलेगर्दा, नयाँ बर्षमा चलचित्र रिलिज गर्ने जोखिम निर्माताले लिन चाहेनन् । चलचित्र ‘लप्पन छप्पन २’को निर्माणपक्षले यो मितिबाट पछि हट्ने निर्णय गर्यो । अब, चैत्र २७ गते नै रिलिज हुने भनिएको चलचित्र ‘कृष्ण लीला’ पनि यो मितिमा नआउने पक्का भएको छ ।

न नयाँ नेपाली, न विदेशी चलचित्र । नयाँ बर्षमा फेरि हल सुनसान हुने भएका छन् । नेपाली चलचित्र क्षेत्रले १ बर्षदेखि भोगेको नियती रोकिएको छैन । यसले, चलचित्र क्षेत्रलाई केही बर्ष पछाडि धकेल्ने त पक्का छ । अर्कोतिर, चलचित्र क्षेत्र कहिले सामान्य अवस्थामा फर्किन्छ भन्ने अड्कल लगाउन सकिने अवस्था छ्रैन ।



source https://www.onlinekhabar.com/2021/04/942353

नेत्र रोग विशेषज्ञ भन्छन् – प्रदूषणले आँखामा जटिल रोगको जोखिम

पछिल्लो समय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा फैलिएको प्रदूषणले फोक्सोमा गर्ने असरको बारेमा धेरै चर्चा हुने गरेको छ । तर शरीरको संवेदनशील मानिएको आँखामा यसले पार्ने प्रभावका बारेमा भने अहिलेको प्रदूषण झनै घातक रहेको आँखा सम्बन्धी विशेषज्ञहरु बताउँछन् ।

पाटन सामुदायिक आँखा स्याहार केन्द्रमा यही साताको सुरु र अघिल्लो साताको अन्तिम दिनमा दैनिक १२ जनासम्म आँखाको उपचारका लागि बिरामीहरु आए । जबकि अरु समयमा दैनिक औसतमा ३ जना आँखाको समस्या लिएर उपचारका लागि जाने गर्थे । यो समयमा आएका सबै बिरामीहरु आँखा चिलाउने र पोल्ने जस्ता समस्यामा केन्द्रित थिए ।

केन्द्रका प्रमुख नेत्र रोग विशेषज्ञ शैलेश प्रधानका अनुसार ती समस्याहरु हेर्दा समयमा नै उपचार गराउन सकेन भने दीर्घकालीन रुपमा आँखाको समस्या समेत देखिने सम्भावनायुक्त समस्या बोकेर उनीहरु उपचारको लागि आएका थिए ।

प्रधान प्रदूषणले आँखा, छाला जस्ता अंगहरुमा प्रत्यक्ष प्रभाव पार्नेभन्दै गर्मी मौसममा भएको यस्ता प्रदूषणको समस्याबारे आफैँ सचेत हुनुपर्ने बताउँछन् ।

प्रदूषणबाट आँखामा दीर्घकालीन जोखिम बढी

प्रदूषणका कारण आँखामा यस्तो दीर्घकालीन समस्या पनि निम्तिन सक्छ । जुन समस्याको उपचार नै हुँदैन । जस्तो प्रदूषित हावाले आँखामा प्रहार गर्नेबित्तिकै सबैभन्दा पहिले परेला र आँखाको बाहिरी पर्दामा यसले समस्या निम्त्याउन सक्छ । यो बिस्तारै नानीसम्म पुग्यो भने त्यहाँ दाग बस्न सक्छ । नानीमा बसेको दाग हटाउन सकिने अहिलेसम्म उपचार विधि बनेको छैन । यस्तो अवस्थामा यसको उपचारको लागि नानी नै फेर्नुपर्ने हुन्छ । तर नानी फेर्नको लागि पनि उस्तै झण्झट भएकोले त्योभन्दा पहिले नै यसको सुरक्षा सतर्कता अपनाउनु उचित हुने प्रधान बताउँछन् । आँखामा इन्फेक्सन बढ्दै गयो भने यो समस्या निम्तिने भन्दै भएकोले इन्फेक्सन बढ्नभन्दा पहिले नै यसको निवारणको उपाय खोज्नुपर्ने हुन्छ ।

प्रधान प्रदूषणका कारण बाहिर एक्सपोज हुने सेतो झिल्ली, परेला जस्ता बाहिरी भाग र त्यसको निदान राम्रोसँग भएन भित्री अंगमा समेत यसले असर पार्ने गर्छ ।

अहिलेको हावामा कार्बन मनोअक्साइड, नाइट्रस अक्साइड आदि (हानिकारक ग्यास) को मात्रा बढी छ । त्यसले गर्दा ‘अक्युलर सर्फेस डिस्अडर’ अर्थात् आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

प्रदूषणमा आँखालाई जोगाउन के गर्ने ?

प्रधानका अनुसार प्रदूषणमा बाहिर निस्कँदा सबैभन्दा पहिले आँखामा समस्या निम्तिनेभन्दै सकेसम्म प्रदूषण बढी हुने बेलामा बाहिर निस्कन नहुने बताउँछन् । प्रदूषण बढी हुने समयमा निस्कनै परे पनि प्रोटेक्टिभ ग्लासहरु लगाएर बाहिर निस्कनुपर्छ । यसबाहेक टिभी, कम्युटर, मोबाइल जस्ता इलेक्ट्रोनिक्स सामग्रीहरु कम हेर्ने र हेर्नै परे पनि चस्मा लगाएर हेर्ने गर्नुपर्छ ।

प्रधान बाहिरबाट घर आएपछि सफा पानीले आँखा सफा गर्ने र निद्रा पु¥याउँदा आँखामा हुने समस्याको धेरै हदसम्म समाधान गर्ने गरेको बताउँछन् ।

आँखाको सुरक्षाको लागि खाना

आँखाको सुरक्षाको लागि खाना खानेबारेमा ध्यान दिनुपर्छ । भिटामिन ‘ए’ युक्त खानाहरु बढी खाने गर्नुपर्छ । खानामा बढी हरियो सागपात, गाजर, अण्डा लगायत खानेकुरा धेरै खानुपर्छ ।



source https://www.onlinekhabar.com/2021/04/942349

समर्थन फिर्ताका लागि माओवादी केन्द्रले अझै केही दिन पर्खिने

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको नेताहरुले बताएका छन् ।

अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रुपमा पत्र लेख्न मात्र बाँकी हो’ उनले भने, ‘हामी सबै राजनीतिक पार्टीहरुलाई आ-आफ्नो कुरा प्रष्ट ल्याउन आग्रह गर्छौं । केपी ओलीकै सरकारमा जानु छ, समर्थन छ भने गरे हुन्छ ।’

माओवादी नेता श्रेष्ठले भने, ‘हाम्रो लाइन प्रष्ट छ, केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न चाहन्छौं र संसदलाई पूरा अवधि क्रियाशील बनाउन चाहन्छौं ।’



source https://www.onlinekhabar.com/2021/04/942348

सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

१९ चैत, काठमाडौं । सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि १२ सय १० रुपैयाँ तोकिएको छ ।



source https://www.onlinekhabar.com/2021/04/942346

रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’

दक्षिण भारतका सुपरस्टार नायक रजनीकान्तलाई सन् २०१९ को ‘दादा साहेब फाल्के अवार्ड २०२०’बाट सम्मानित गरिने भारतको केन्द्रिय सरकारले बताएको छ । केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानलाई हेरेर सरकारले यो निर्णय गरेको बताउँदै यसलाई राजनीतिसँग जोड्न नमिल्ने बताए ।

५ सदस्यीय जुरीले यो निर्णय गरेको मन्त्रीले ट्विटमा उल्लेख गरेका छन् । यसअघि सन् २०१८ मा अमिताभ बच्चन, सन् २०१७ मा विनोद खन्ना, सन् २०१६ मा कसिनाथुनी विश्वनाथ, सन् २०१५ मा मनोज कुमारलाई यो अवार्ड मिलेको थियो ।

भारतमा ‘दादा साहेक फाल्के अवार्ड’ सर्वाधिक प्रतिष्ठित अवार्ड मानिन्छ । चलचित्र क्षेत्रमा योगदान दिएका एक कलाकारलाई भारत सरकारले यो अवार्ड प्रदान गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2021/04/942345

किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा ५ जना पक्राउ

१९ चैत, काठमाडौं । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वषर्ीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वषर्ीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वषर्ीय राजकुमार सुनार छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नी १८ वर्षकी छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै बुधबार उजरी परेको थियो । त्यसआधारमा प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गर्नुका साथै उनीहरुले बालिका तथा किशारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मार्‍यो । त्यहाँ युवतीहरुलाई खान बस्न मिल्ने व्यवस्थाका साथै गर्भ निरोधक अस्थायी साधनहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीलाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा पुर्‍याएर जवरजस्ती करणी भएको भन्दै प्रहरीले होटल सञ्चालक प्रकाश ढुंगेल र मुना थापा मगरका साथै राजकुमार सुनारलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीहरुलाई कपडा पसल लगायतमा काम लगाउने प्रलोभन देखाएर श्यामकुमार कहाँ पुर्‍याउने गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्यामले भने किशोरीहरको तस्वीर तस्वीर होटल सञ्चालहरुलाई तस्वीर पठाउने र ग्राहकसँग मोलमोलाई गरेर यौनजन्य कार्य गर्न लगाएको पाइएको छ ।

१६ वषर्ीया किशोरी भने उनीहरुलाई झुक्याएर भाग्न सफल भएपछि अभिभावकले उजुरी दिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।



source https://www.onlinekhabar.com/2021/04/942343

मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’

लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वियोन्स रोएकी थिइन् । यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् ।

उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु ।’

मदनकृष्णले पनि वियोन्सको स्वरको प्रशंसा गर्दै भने–‘गीतसंगीतबाट संसारभरका मानिसहरु नजिक हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ । जब मैले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि पूर्व जन्मको नाता रहेछ कि भन्ने महशुश भएको थियो ।’

 

तस्वीर सौजन्यः कुमार वेन



source https://www.onlinekhabar.com/2021/04/942341

टिका पहारी : सिनेमादेखि खेती-किसानीसम्म

सेताम्मे केस, सेतै जुँगा । खिरिलो तर अग्ला कद । कुर्ता–पाइजामामा ठिंग उभिदा टिका पहारीको ओजिलो व्यक्तित्व प्रकट हुन्छ । र, यस्तो लाग्छ उनी आफ्नो गह्रौं आवाजमा कुनै डायलग बोल्न लाग्दैछन् । त्यस्तो आवाज, जसले मुटुमा सानोतिनो कम्पन पैदा गर्छ । मनमा त्रासदी पैदा गर्छ ।

जसै टिका पहारीको प्रसंग आउँछ, नेपाली सिनेमाका कुटिल भिलेनको रेखाचित्र आँखै अगाडि नाच्न थाल्छ । नेपाली सिनेमाले जतिबेला बामे सर्न सुरु ग¥यो, ठीक त्यही बेला टिका पहारीको पर्दापण भयो । ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘दुई थोपा आँशु’ जस्ता थुप्रै सिनेमामा उनको अभिनयले दर्शकमा गहिरो छाप छाड्न सफल भयो ।

अहिले उनका छोरा पुस्ताले नेपाली सिनेमा कब्जा गर्दैछ, यद्यपि उनको उपस्थिती कमजोर छैन । अहिलेपनि । उनी उसैगरी आफ्नो गह्रौं आवाजमा डाइलग फलाकिरहेका छन् ।

गाउँको बसिबियालो

एकाएक टिका पहारी गुमनाम भए । सुनियो, उनी खेतीपातीमा लागेका छन् । गाउँमै । हाम्रो प्रश्नको पुष्टि गर्दै उनले सुनाए, ‘हो, यसबीचमा म गाउँमै गएर माछा पाल्न थालें ।’

१० बिघा जमिनमा पोखरी बनाए । माछा पाले । स्थानिय बजारमा बिक्री गरे । गाउँको बसिबियालो ।

एक किसिमको रवाफ थियो । गाउँलेले मान्थे । श्रद्धा गर्थे । छिमेकको झै–झगडा, सानोतिनो मुद्दा प्रहरीकहाँ पुग्दैनथ्यो । जिल्लासम्म फैलदैनथ्यो । त्यसको उनी आफै समाधान खोजिदिन्थे ।

रंगिला संसारभन्दा बेग्लै आनन्द । ‘गाउँमा बस्नुमा आफ्नै मजा’ फिल्मी चक्करमा पुना, मुम्बई छिचोलेका पहारीले भने, ‘त्यहाँ एकदम गाउँले भएर बसियो । फिल्मको काम आउथ्यो, गरिएन ।’

बिहान ५ बजे उठ्यो । माछा पोखरीतिर टहल्न निस्कियो । ९ बजेतिर खाना खायो । गाउँ-समाजको काममा लाग्यो । कहिले विकासे छलफल, कहिले जन्त त कहिले मलामी । समाजसेवामा लागे । यसैगरी एक दशक बित्यो ।

गाउँको रनघन

गाउँमा ठाँटले बसेका थिए, पहारी । मुम्बईबाट फर्केपछि अञ्चलभरकै ठूलो गोबरग्याँस प्लान्ट उनैले लगाएका थिए । आफ्नो घर झलमल्ल । घरमात्र होइन, आसपासका छिमेकका घरले पनि टुकी बत्ती बाल्नुपर्ने वाध्यता टरेको थियो ।

एक बिघा जमिनमा माछा पालेका थिए । अर्कोतिर हाँस, कुखुरा, बाख्रा पनि । डाइनेमो चलाएर धान कुट्ने । रनघन थियो गाउँ । ‘गाउँमा बसेपछि पनि यस्ता कुरा बजारमा किन्न जानुपर्ने भयो भने त भएन नि’ उनले थपे, ‘ आफन्त आउँछन्, कलाकार साथीभाई आउँछन्, आफैले पालेको कुखुरा ख्वायो, माछा ख्वायो ।’ कोहि सुटिङ गर्न पुग्थे, कोहि भेटघाटका लागि । करिष्मा मानन्धर ‘बाबुसाहेव’को टिम सहित त्यही पुगिन् ।

गौरव, सौरभ, सुलभ सानै थिए । चाडपर्वमा गाउँ जान मरिहत्ते गर्ने । ‘बच्चाहरु मात्र होइन, अरु इष्टमित्र पनि गाउँ नै जानुपर्छ, रमाइलो गर्नुपर्छ भन्थे’ यसो भनिरहँदा उनी रौसिए, ‘त्यसबेला गाउँमा छुटै इन्जोए हुन्थ्यो ।’

अहिले भने छोराहरु हुर्किए । आ–आफ्नै कामधन्दामा व्यस्त भए । गाउँ जाने फुर्सद भएन । उनलाई पनि एक्लै धुमधुम्ती बस्न मन लागेन । शहर छिरे । ‘तर, अहिले पनि म कहिले यता, कहिले उता बस्छु’ पहारीले सुनाए, ‘पूर्णकालिन शहरिया भइसकेको छैन ।’

२०२४ सालदेखि नै हो, उनको काठमाडौंसँग संगत । तर, उनले काठमाडौंलाई कहिल्यै आफ्नो बनाउन सकेनन् । ‘यहाँको मान्छेहरुको सोचाई, व्यवहार मलाई पटक्कै रुच्नैद’ उनी भन्छन्, ‘त्यही भएर मलाई काठमाडौं आफ्नो जस्तो लाग्दैन ।’ विगतमा उनी काठमाडौंमा सुटिङका लागि आउथे, सुटिङ सिध्याउनसाथ झिटीझ्याम्टा बोकेर गाउँ फर्कन्थे ।

काठमाडौं उनलाई फाप्दैन पनि । धुलो, धूँवाले समाइहाल्छ । घाँटी खसखसाउँछ, खोकी लागिहाल्छ । ‘गाउँ गएपछि सबै साफ, आफै ठीकठाक हुन्छ’ उनले भने ।

गाउँको अर्ग्यानिक धूलो

उनलाई गाउँको धूलो पच्छ । ‘त्यो अग्र्यानिक धूलो हो नि त’ भन्दै उनी मज्जाले हाँसे ।

त्यसो त उनी स्वस्थ्य दिनचर्या अपनाउँछन् । सादा खाना खान्छन् । व्यायाम गर्छन् । पहिले बिहान हिँड्थे । अहिले प्राणायाम गर्छन् । पुनामा कलाकारिता सिक्दै उनले प्राणायाम विधी सिकेका । त्यसबेला अभिनय र आवाजका लागि यसले सघाउँछ भन्ने सुनेका थिए । अहिले स्वस्थ्यका लागि अपरिहार्य भनेर बुझेका छन् । ‘यसैले मेरो डरलाग्दो रोग पत्तासाफ गरिदियो’ उनले भने, ‘यो कुरा सुनाउँदा कसैले पत्याएनन् ।’

त्यसबेला मस्तसँग मदिरापान गर्थे । मदिराले कलेजो खायो । लिभर सिरोसिसका सिकार भए उनी । त्यसपछि चट्टै मदिराको संगत छाडे । प्राणायामलाई निरन्तरता दिए । स्वस्थ्य खानपान र दिनचर्या पालना गरे । रोग आफै ठीक भयो ।

सानैदेखि उनले चिल्लो पीरो खाएनन् । सादा खाना खाए, दाल, भात, तरकारी । दाल चाहि नभइ नहुने । अहिले पनि यहि क्रम जारी छ । त्यसो त उनलाई खाना बनाउन पनि जाँगर चल्छ रे । ‘मैले बनाएको ननभेज खाएर त छोराहरु समेत अघाउँदैनन्, त्यती मीठो हुन्छ’ भन्दै उनी फेरी मज्जाले हाँसे ।

सुटिङ छाडेर माछापालनमा

उनी मुम्बई बस्थे । रंगमञ्च र फिल्ममा रमाइरहेका थिए । एउटा हिन्दी फिल्मकै छायांकनका लागि नेपाल आएका थिए । फिल्ममा नेपालको कथा समेटिएको थियो । पहारी नेपाली प्रहरी अफिसरको भूमिकामा थिए । प्रहरीकै गेटअपमा उनी एयरपोर्टमा थिए । अचानक दाई भेटिए । दाई, गाउँबाट आएका आमाबुवा लिन गाइरहेका रहेछन् । ‘रमाइलो किस्सा छ’ पहारीले सम्झिए, ‘दाई एयरोपर्ट भित्र प्रवेश गर्न पाउनुभएन । म प्रहरीको पोशाकमा थिएँ, सरासर रनवेमा गएर बुवाआमालाई लिएर आएँ । कसैले छेकबार गरेनन् ।’

आमाबुवा काठमाडौं बस्न नमान्ने । गाउँमा अरु दाजुभाई छैनन् । अन्ततः पहारी आफै तम्सिए, गाउँ फर्कन । फिल्मी छाडे, गाउँ फर्किए । ‘बुवाआमा यहिँ (काठमाडौं) बस्न मानेको भए म बम्बे फर्कन्थे, तर उहाँहरु गाउँ नै जानुपर्ने । अरु भाई काठमाडौंमा बस्ने । त्यही कारण बुवाआमा लिएर म गाउँ गएँ ।’

उनकै भनाईमा त्यसबेला कलाकारको फेम मात्र हुन्थ्यो, खर्च हुँदैनथ्यो । काठमाडौंमा बसेपछि यहाँको खर्च धान्न सकिदैनथ्यो । त्यसैले माछापालन चाहि सेफ साइड भयो ।

तर, माछापालनमा लागेपछि उनी ग्रामिण परिवेशमै रमाउन थाले । यसबीचमा फिल्मका अफरहरु आए । तर, उनले पन्छाइदिए ।

पछिल्लो समय भने उनले सुखले बस्न पाएनन् । फिल्म खेल्नैपर्ने भयो । खेले पनि । कहिले छोरोको करले, कहिले आफ्नै रहरले ।

गाउँ छैन गाउँजस्तो

‘अब गाउँ, गाउँजस्तो रहेन’ उनले बिरत्तिएको भावमा भने, ‘पहिले जस्तो छँदै, छैन ।’ ग्रामिण परिवेशबारे कुरा उप्काउनसाथ उनमा जुन उत्साह हुनुपथ्र्यो, त्यस्तो भएन । पहारीले स्पष्ट त भनेनन्, तर गाउँले आफ्नोपन गुमाइसकेको भने संकेत गरे । सायद यहि कारण उनी गाउँ छाडेर शहर पसे । हामीले यस्तै ठान्यौं ।

‘राजनीतिले गाउँलाई उथलपुथल बनाएको छ’ पहारी सुनाउँछन्, ‘पहिले जस्तो सामाजिक सद्भाव छैन भनेपनि हुन्छ ।’ यो जाति–त्यो जाति, यो पार्टी–त्यो पार्टी, पहाडे–मधेसी यस्ता दुषित भावनाले समाजलाई छियाछिया बनाइरहेको छ । न मर्दाको मलामी, न पर्दाको जन्त ।

‘पहिले कस्तो मिलेर बस्थे’ उनी अलि आवेगमा आए, ‘अहिले टुक्रा-टुक्रा गराइयो क्या ।’

माओवादी द्वन्द्वमा उनी गाउँमै थिए । द्वन्द्वको चपेटामा धेरैले गाउँ छाडे । उनी गाउँमै अडिए । स्थानिय प्रशासन र सेनाले बोलाएर स्पष्टिकरण मागेछन्, ‘सबै भागे, तपाई किन बस्नुभएको ? माओवादीसँग सम्पर्क छ ?’

पहारीले गह्रौं आवाजले भनेछन्, ‘यो कुरा मलाई सोध्ने होइन, तपाईहरुले खोज्ने हो । खोज्नुहोस् ।’

हुन त माओवादीहरु उनका घरमा आउँथे । भेट्थे । तर, चन्दा मागेनन् । दुख दिएनन् । मधेसी आन्दोलनमा पनि त्यस्तै भयो । कसैले उनीमाथि चोर औंला ठड्याएनन् । ‘हो, मलाई त कसैले छोएनन्’ उनले थपे, ‘तर, मैले के महसुष गरें भने पहिले जस्तो हावा छैन अहिले । मलाई नोक्सान नपु¥याएपनि, साथ दिने पनि छैनन् । पहिले जस्तो हार्दिकतापूर्वक साथ दिँदैनन् । त्यसअघि कम्तीमा दुई पटक सोच्छन् ।’

अर्कोतर्फ गाउँमा अहिले उनका समकालिन छैनन्, दौतरी छैनन् । सबै सकिए । ‘पहिला १५ किलोमिटर आसपासमा मेरा आफन्त, साथीभाई थिए’ पहारीले भने, ‘अहिले कोहि छैनन्, एकजना पनि छैनन् । कतै साथीभाईकहाँ गएर केहि क्षण भलाकुसारी गरौं भन्दा त्यो छैन ।’

तस्वीरहरु : टिका पहारीको फेसबुकबाट



source https://www.onlinekhabar.com/2021/04/942334

कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी

१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ ।

पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।

छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।



source https://www.onlinekhabar.com/2021/04/942332

प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीशको बेन्चमा

१९ चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ ।

प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।



source https://www.onlinekhabar.com/2021/04/942329

टोकियो ओलम्पिक : कस्तो छ नेपालको तयारी ?

१९ चैत, काठमाडौं । ‘टोकियो ओलम्पिक २०२०’ आगामी जुलाई–अगष्टमा जापानमा हुँदैछ । कोरोना महामारी नफैलिएको भए गत वर्ष नै सम्पन्न भइसक्ने थियो । तर कोरोना महामारीले विश्व नै प्रभावित बनेपछि त्यसको असर खेलकुदमा पनि पर्‍यो । विश्व खेलकुदको ‘महाकुम्भ’ ओलम्पिक पनि एक वर्ष पछि सर्‍यो ।

विश्वभरका राष्ट्रले सहभागिता जनाउँदै आएको ओलम्पिकमा नेपालले पनि सन् १९६४ को टोकियो ओलम्पिकदेखि प्रतिस्पर्धा गर्न थालेको हो । १९६८ बाहेक त्यसयता हरेक संस्करणमा यो महाकुम्भमा नेपाली खेलाडीको सहभागिता रहँदै आएको छ । तर नेपालले हालसम्म पदक जित्न सकेको छैन ।

गृष्मकालीन अर्थात समर ओलम्पिकको ३२ औं संस्करण जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने तालिका तय भएको छ । कोभिडको असरले अब हुने ओलम्पिकमा धेरै विषयहरू पहिलाको भन्दा फरक हुने पक्का छ । २०२० मै तय भएकोले धेरैजसो खेलाडी छनोट भइसकेका छन् । यद्यपि अझै कतिपय खेलका लागि छनोट प्रतियोगिता हुन बाँकी नै छ ।   खेलाडीहरू पनि छनोट हुन बाँकी छन् ।

नेपालबाट पनि छनोट खेल खेल्न खेलाडीले तयारी गरिरहेका छन् । केही खेलाडीले खेलिसकेका पनि छन् ।

‘अहिले सबै खेलाडीले तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले फण्ड दिएर सहयोग गरिरहेको छ । स्कलरसिप अन्तर्गत १२ खेलाडीले तयारी गरिरहेका छन्’, नेपाल ओलम्पिक कमिटी (एनओसी)का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले भने, ‘क्लोज क्याम्प राखेर तयारी भइरहेको छ । एक वर्ष तालिम भएको छ ।’

कोभिड नभएको भए गत वर्ष नै ओलम्पिक सम्पन्न भइसक्थ्यो । सरेपछि आईओसीले फेरि २०२१ जुलाईसम्मका लागि स्कलरसिप अन्तर्गत रकम पठाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले सिफारिस गरेअनुसार आईओसीले विभिन्न खेलका १२ खेलाडीका लागि स्कलरसिप प्रदान गरेको छ । त्यसमध्ये पौडीतर्फ गौरिका सिंह र एलेक्स शाह अनिवार्य कोटा अन्तर्गत टोकियो ओलम्पिकमा प्रतिस्पर्धाका लागि जाने पक्का भइसकेको छ ।

गौरिका सिंह

यस्तै युनिभर्सल कोटा अन्तर्गत एथ्लेटिक्स र पौडीबाट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य राष्ट्रहरूले अनिवार्य सहभागिता जनाउन पाउने छन् । दुवै खेलबाट २–२ खेलाडीले सो अवसर पाउनेछन् ।

जसअन्तर्गत नेपालबाट पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपिचन्द्र पार्की छानिएका हुन् । एथ्लेटिक्सबाट अझै एक खेलाडीको नाम आउन बाँकी छ ।

यसबाहेक अन्य खेलका खेलाडीहरू कसैले छनोट प्रतियोगिता खेल्न बाँकी छ भने कोही वाइल्ड कार्डका लागि तयारी गरिरहेका छन् ।

नेपाल ओलम्पकि कमिटी (एनओसी)ले गौरिका र एलेक्ससहित १२ खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ओलम्पिकबाट प्राप्त स्कलरसिप प्रदान गरिरहेको छ । आईओसीबाट हरेक महिना एक खेलाडीका लागि ५ सय डलर (६० हजार) पा्रप्त हुन्छ । त्यसैबाट खेलाडीले तयारी गरिरहेका छन् । खेलाडीलाई प्रशिक्षण दिने प्रशिक्षकले समेत त्यसैबाट खर्च गर्नुपर्ने हुन्छ ।  २०२० को जुलाईसम्मका लागि आईओसीले ५०० डलर पठाएको थियो । ओलम्पिक सरेपछि यो स्कलरसीप निरन्तर गरिएको छ ।

स्कलरसिप पाउनेमा गौरिका र एलेक्स सहित कराँतेकीका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका विर बहादुर महरा, सुटिङकी सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोतर्फ इन्द्र बहादुर श्रेष्ठ छन् ।

१० खेलाडीको वाइल्स कार्डका लागि नाम सिफारिस गरिएको छ । एनओसीले वाइल्ड कार्डका लागि स्कलरसिप पाएका १० खेलाडीबाहेक जुडोकी सोनिया भट्ट र बक्सिङकी मिनु गुरुङको नाम पनि सिफारिस गरेको छ ।

मिनुले जोर्डनमा भएको बक्सिङको छनोट प्रतियोगिता खेलिसकेकी छिन् । सोनियाको जुनियर वर्ल्ड र्‍याङ्किङमा राम्रो भएकोले उनलाई वाइल्ड कार्डको लागि सिफारिस गरिएको हो ।

ओलम्पिक तयारीमा रहेका खेलाडीलाई आईओसीबाट प्राप्त स्कलरसिपमा एनओसीले सम्बन्धित संघमार्फत प्रशिक्षण दिएको छ

एथ्लेटिक्समा गोपीचन्द पार्की अनिवार्य कोटामा टोकियो ओलम्पिकमा लागि छानिएपनि उनले भने स्कलरसिप पाएका छैनन् ।

२०२० मा ओलम्पिक हुन नसकेपछि यसको असर आयोजक जापानदेखि विश्वभरका खेलाडीलाई पर्‍यो । नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो ।  कोभिडले गर्दा ओलम्पिकका लागि तयारी गर्न नपाउँदा उनीहरू घरमै बस्न बाध्य थिए । ‘धेरै कठिन थियो । खेलाडी भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि बलियो हुनुपर्छ’, एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक राजवैद्यले भने, ‘कोभिड भएपछि सरकारले नेपालमा पनि लकडाउन गर्‍यो । तालिम नभए पनि खेलाडीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउनुपर्छ भनेर हामीले एक हप्ता मनोवैज्ञानिक क्लास लियौँ, त्यसले धेरै राम्रो काम गर्‍यो ।’

लकडाउनका बेला भौतिक तालिम नभए पनि भर्चुअल्ली रुपमा तालिम गराइरहेको उनले बताए ।  ‘कोभिडको समयमा हामीलाई निकै कठिन भएको थियो । ट्रेनिङ गर्न नपाउँदा मानसिक रुपमा के गर्ने, कसो गर्ने भइसकेको थियो’, कराँतेकी अनु अधिकारीले भनिन्, ‘पछि विस्तारै अवस्था सहज बन्दै गयो । अहिले ट्रेनिङ भइरहेको छ ।’

तेक्वान्दोका वीरबहादुर महराले कोभिडले गर्दा विदेशमा कुनै गेम खेल्न नपाएको र नेपालमै बसेर तयारी जुट्नुपर्ने अवस्था आएको बताए । उनले अन्तर्राष्ट्रिय स्तरमा खेल्न नपाउँदा प्रदर्शनमा कमी हुन्छ कि भन्ने लागेको सुनाए । तेक्वान्दोको छनोट प्रतियोगिता आगामी मे महिनामा हुनेछ ।

फरक हुनेछ टोकियो ओलम्पिक

अहिले जापान ‘टोकियो ओलम्पिक’को तयारीमा जुटेको छ । कोभिडको भ्याक्सिन आइसकेकाले खेलाडीलाई पनि लगाउन थालिएको छ । यसअघिका ओलम्पिकहरू भव्य उद्घाटन र समापन हुने भए पनि यसपटक भने सामान्य अवस्थामै खेलहरू हुनेछन् ।

एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्यका अनुसार टोकियो ओल्मपिकको उद्घाटन र समापन पहिलाजस्तो भव्य हुने छैन ।

‘भाग लिने देशहरूबीच साप्ताहिक, पाक्षिक र मासिक रुपमा भर्चुअल मिटिङ भइरहेका छन्’, राजवैद्यले भने । पछिल्लो मिटिङ अनुसार सहभागीहरूले ७२ घन्टा अघिको पिसिआर रिपोर्ट लिएर जानुपर्ने छ । एअरपोर्टमा परीक्षण हुनेछ । पोजेटिभ आए १४ दिन क्वारेन्टिन बस्नुपर्ने छ ।

यसअघि खेलाडीसँगै कोटामा अन्य व्यक्ति पनि जान पाउँथे । यसपटक त्यो सुविधा कटौति गरिएको छ । ‘देशले गेष्टहरू लग्न पाउने कोटा थियो, त्यो यसपटक घट्छ’, राजवैद्यले भने, ‘खेलाडी भेन्युदेखि होटलसम्म मात्र जान पाउने छन् । सार्वजनिक यातायात प्रयोग गर्न पाउने छैनन् । बाहिर घुम्न जान नपाउने प्रावधान छ । गेम सकिएपछि भोलिपल्टै खेलाडीहरू घर फर्कनुपर्नेछ ।’

जापानमा यसपटक विदेशी दर्शकलाई प्रवेश अनुमति नदिने निर्णय भइसकेको छ ।

नेपालको लक्ष्य

गत वर्ष नेपालमै भएको सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्यो । यसबाट खेलकुद क्षेत्रमा नेपाल उत्साहित भएको थियो । सागको सफलताले ओलम्पिकमा पनि राम्रो गर्न सक्ने विश्वास नेपालले लिएको छ ।

‘लामो समय तालिम गराइएको खेलाडीले राम्रो गर्ने आशा छ’, राजवैद्यले भने । सबै खेलका खेलाडीले कम्तीमा व्यक्तिगत प्रदर्शन सुधार गरेर राष्ट्रिय कीर्तिमान कायम गर्ने अपेक्षा उनले राखेका छन् ।

मेडल जित्न देशको अवस्था कहाँ छ त्यो पनि हेर्नुपर्ने उनले बताए । ‘हामीले जित्न नसक्नुको कारण लगानी नै हो । स्पोर्ट्स भनेको इनभेस्टमेन्ट (लगानी) हो । देश कहाँ छ । लगानी कति गरेको छ भन्ने हेर्नुपर्छ’, उनले भने, ‘हामीले लामो समय खेलमा इनभेस्टमेन्ट कहिल्यै गर्न सकेनौँ, लामो समय तालिम दिन सकेनौँ । खाली के भयो भने गेम आयो अनि तालिम गर्‍यो, यत्तिले पुग्दैन ।’

कुन खेलाडीले कहाँ गर्दैछन् तयारी ?

ओलम्पिक तयारीमा रहेका खेलाडीलाई आईओसीबाट प्राप्त स्कलरसिपमा एनओसीले सम्बन्धित संघमार्फत प्रशिक्षण दिएको छ ।

 

ओलम्पिकको तयारीमा रहेका नेपालका भारोत्तोलन खेलाडी छनोट प्रतियोगिता खेल्न १२ चैतमा उज्वेकिस्तान गएको छ । जुडो टोली २२ चैतमा प्रतियोगिता खेल्न उज्वेकिस्तान नै जाँदैछ । जुडोमा ओलम्पिकको तयारीमा रहेका दुई खेलाडीसँग पुनम श्रेष्ठ र देविका खड्का पनि जाँदैछन् ।

पुनम श्रेष्ठ

युनिभर्सल कोटामा छनोट भइसकेका गौरिका र गोपीचन्द्र काठमाडौंमै प्रशिक्षण गरिरहेका छन् । पौडीका एलेक्स भने थाइल्याण्डमा तयारी गरिरहेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले बताए । सबै खेलाडी ओलम्पिकसँग सम्बन्धित संघसँगको सहकार्यमा तालिम गरिरहेका छन् ।

एथ्लेटिक्सअन्तर्गत म्याराथनतर्फ ओलम्पिक खेल्ने गोपीचन्द्र पार्कीले भने स्कलरसिप पाएका छैनन् । उनको लागि एनओसीले सरकारमार्फत बजेट उपलब्ध राउने प्रयास गरिरहेको राजवैद्यले बताए । ‘ओलम्पिक स्कलरसिप पहिल्यै तय भइसकेको र गोपी पछि छनोट भएकाले उनको खर्च आएको छैन । हामीले सरकारसँग आग्रह गरेको छौँ’, उनले भने । उनी विभागीय टोली एपीएफमा तयारी गरिरहेका छन् ।

पौडी

बेलायतमा कोभिडले गर्दा स्विमिङ पुल बन्द भएकाले गौरिका सिंह नेपाल आएर प्रशिक्षण गरिरहेकी छिन् । एलेक्स देश बाहिर थाइल्याण्डमा तयारी गरिरहेका छन् । गौरिकालाई अहिले पौडीका मुख्य प्रशिक्षक शंकर कार्की र प्रशिक्षक ओङदेन लामाले प्रशिक्षण गराइरहेका छन् ।

एथ्लेटिक्स

टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेका गोपीचन्द्र पार्की अहिले हलचोकमा प्रशिक्षण गरिरहेका छन् ।

गोपीचन्द्र पार्की

 

कराँते

अनु अधिकारी र नविन रसाइली नेपालमै तयारी गरिरहेका छन् । उनीहरूले ओलम्पिकको लागि छनोट खेल खेल्न बाँकी छ । प्रशिक्षक दीपक श्रेष्ठले उनीहरूलाई प्रशिक्षण गराइरहेका छन् । कराँतेको छनोट प्रतियोगिता जुन ११ देखि १३ सम्म फ्रान्सको पेरिसमा हुने तय छ ।

आर्चरी

ज्ञानु अवाले र तिलक पुन मगर पोखरामा तयारी गरिरहेका छन् । दुवै जनाले रिकर्भमा खेल्नेछन् । आर्चरीको छनोट जुनमा पेरिसमै हुने तय भएको छ । तर त्यसबारे अन्तिम निर्णय भइसकेको छैन ।

तेक्वान्दो

वीरबहादुर महाराले पुलिस एकेडेमीमा तयारी गरिरहेका छन् । नेपाल पुलिसमा आबद्ध रहेका उनलाई कोरियन प्रशिक्षक योङदल क्वोनले प्रशिक्षण गराइरहेका छन् । तेक्वान्दो एकेडेमीमा धेरै खेलाडी हुने भएकाले कोरोनाका कारण विरबहादुरले पुलिस एकेडेमीमै प्रशिक्षण गरिरहेका छन् । तेक्वान्दो छनोट मे १५ देखि १६ सम्म जोर्डनको अम्मानमा हुनेछ ।

सुटिङ

सुस्मिता नेपाल र कल्पना परियारले काठमाडौंमा तयारी गरिरहेका छन् । दुवैजना १० मिटर एअर राइफलका लागि तयारी गरिरहेका छन् । सुटिङको पनि अन्तिम छनोट प्रतियोगिता हुन बाँकी छ । कहिले हुने भन्ने टुंगो भएको छैन ।

भारोत्तोलन

कमला श्रेष्ठ र सन्जु चौधरी पोखरामा तयारी गर्दैछन् । कमला ५९ केजी र सन्जु ५५ केजी तौल समूहमा खेल्नेछन् । ओलम्पिक छनोटका लागि यही चैत १२ गते भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान गरिसकेको छ ।

सन्जु चौधरी

जुडो

इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट काठमाडौंमा तयारी गर्दैछन् । इन्द्र ६६ केजी मुनि र सोनिया ४८ केजी मुनि इभेन्टमा खेल्छन् । जुडोका खेलाडीहरू पनि चैत २२ गते प्रतियोगिता खेल्न किर्गिस्तान जाँदैछन् ।

बक्सिङ

मिनु गुरुङ काठमाडौंमा तयारी गर्दैछिन् । उनले ५७ केजी तौल समूहमा खेल्नेछिन् ।



source https://www.onlinekhabar.com/2021/04/942321

परम्परागत घरहरूको सजावट शैली : सबैभन्दा माथिल्लो तलामा भान्सा

अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ । दुई पाखे पाली र झिँगटीको छाना भित्र हुने हरेक गतिविधि नियाल्न अहिले काठमाडौं उपत्यकामा त सम्भव नै छैन । उपत्यका बाहिर समेत यस्तो संरचनाहरु लोपोन्मुख अवस्थामा छन् ।

झण्डै एक शताब्दी अघि नेपालको अध्ययनका लागि आएका विभिन्न विदेशी विद्वानहरूले नेपालको तत्कालीन परम्परागत शैली देखेर त्यसैको आधारमा यहाँको पुरानो वास्तुकला र घरको सजावट शैलीको बारेमा लेखेका थिए ।

एउटा सानो पाली र अर्काे धुरी ढाक्ने मूल पाली को संरचनामा झण्डै दर्जन झ्याल भएको घर देख्न अहिले मुस्किल छ । मल्लकालीन संरचनाको एउटा जीर्ण चिनोको रूपमा ललितपुर लगायत केही दरबार क्षेत्रका संरचनाहरु देख्न सकिन्छ । तर ती संरचनाहरुमा पनि आधुनिकताको झल्को पाउन थालिसकिएको छ ।

छाउनी स्थित राष्ट्रिय संग्रहालयको मूल भवन तत्कालीन प्रधानमन्त्री भीमसेन थापा बसोबास गर्ने घर हो । संग्रहालयप्रमुख जयराम श्रेष्ठका अनुसार सो भवनको पछाडिपट्टिको पर्खाल भत्किएर पछि बनाइएको भएपनि अघिल्लो मोहडा र अन्य अधिकांश भाग पुरानै संरचना हो । तर यही एकाध घरबाहेक अरू पुराना शैलीका घरहरु देख्न अहिले दुर्लभ हुन थालेको छ ।

काठमाडौं उपत्यका र बाहिर पनि दर्जनौं राणाकालीन दरबारहरु देख्न सकिन्छ । तर ती सबै दरबारहरु नवशास्त्रीय वास्तुकला अन्तर्गत् युरोपेली प्रभावबाट प्रभावित संरचनाहरु हुन् । त्यसबाहेक पुराना संरचना देख्न मुस्किल हुँदैछ ।

काठको भ¥याङ, तल्लो तलामा मूल प्रवेशद्वार, माथि उक्लिने भ¥याङ र दोस्रो तलामा शयन कक्ष लगायत राखिने मध्यकालीन नेपालको घर सजावटका विधिहरू हुन् । त्यतिबेलाका घरहरु तीन वा चार तले हुने गर्दथे । ती दुवै प्रकारको घरका आआफ्नै शैली र विशेषताहरु थिए । तर ती सबै विशेषताहरु अहिले लुप्तप्रायः अवस्थामा छन् ।

पुरानो बस्ती मानिएको बुङ्मती, खोकना र हरिसिद्धि जस्ता बस्तीमा समेत परम्परागत शैलीमा भवन निर्माण हुन छाडिसकेको छ । मल्लकालीन बस्ती ललितपुरको ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, लुभु, सिद्धिपुर, काठमाडौंको टोखा, कीर्तिपुरको पांगा, नैकाप, भाजंगल र भक्तपुरको कोर बस्तीमा समेत हिजोआज पहिलेको जस्तो भवन निर्माणको शैली पाउन छाडिएको छ ।

कसरी व्यवस्थापन गरिन्थ्यो परम्परागत घरहरू

परम्परागत घरहरुको शैली हिजोआज ग्रामीण भेगमा कताकतै अझै पनि पाउन सकिन्छ । तर त्यतिबेलाका शैली र अहिलेको शैलीमा फरक भने पाइन्छ । पहिलेपहिलेको घरमा सबैभन्दा माथिल्लो तलामा भान्सा कोठा राखिन्थे भने अहिले तल्लो तलामा भान्सा राख्ने चलन छ । काठमाडौंको परम्परागत नेवारी शैलीको घरको बारेमा पुस्तक तयार पारेका वल्फग्याङ कर्नका अनुसार तीन वा चार तलाको घर हुन्थ्यो । पाटन सौगोल टोलमा झण्डै एक शताब्दी पहिले पाइएको चारतले घरको तेस्रो तला बुईगलमा तीनमुखे, पाँचमुखे खुला झ्याल राखिएको थियो । घरको सुरक्षाका लागि तल्ला तलाहरूमा आँखीझ्याल राखिएका हुन्थे भने माथिल्ला तलाहरुमा खुला झ्याल राखिएका हुन्थे ।

परम्परागत घरहरुमा एउटा मात्रै छाना हुन्थे । अहिलेका घरहरुमा उस्तै आकारमा बनेपनि दुईदेखि ३ वटासम्म पालीहरु राख्ने चलन पाइन्छ । बुइँगलमा भोज खान मिल्ने खुला ठाउँ बनाइन्थ्यो । बुईगल माथिको तलामा खुला भान्सा र कौसी हुन्थ्यो । भान्छाबाट धुवाँ सीधै बाहिर निस्किन्थ्यो । सबै घरमा भोज खान मिल्ने ठाउँ राखिएको हुन्थ्यो ।

तीन तले घरको तेस्रो तल्ला सामान्यतया सीधा छानामुनि एक भागलाई भान्छा र खाने कोठाको रूपमा प्रयोग गरिन्थ्यो । चार तले घरको, दोस्रो र तेस्रो फ्लोरहरू कसोबासको लागि प्रयोग गरिन्छ भने चौथो तलामा खाना पकाउने गरिन्थ्यो ।

ती भवनहरुमा एउटा मुख्य झ्याल हुन्छन् भने दायाँबायाँ र त्यसैलाई आधार मानेर चारै भित्तामा झ्याल तयार पारिएको हुन्छ ।



source https://www.onlinekhabar.com/2021/04/942326

‘बलियो नेपाल कप’को उद्घाटन खेलमा प्युठान र दाङ भिड्ने

१९ चैत काठमाडौं । आगामी शनिबारबाट सुरु हुने बलियो नेपाल कप क्रिकेटको उद्घाटन खेलमा प्युठान ११ र दाङ ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।

दाङको लमही क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक भएको छ ।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । दोस्रो खेलमा नवलपरासी ११ र पाल्पा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

चैत २१ देखि २८ गतेसम्म हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिमको सहभागिता छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको फाइनल चैत २८ गते हुनेछ ।

प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको सबै जिल्लामा ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइसकेको छ ।



source https://www.onlinekhabar.com/2021/04/942322

विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित

१९ चैत, काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् ।

यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन जर्मनी भने पराजित भएको छ ।

समूह ‘आई’मा इंग्ल्याण्डले पोल्याण्डलाई २-१ ले पराजित गरेको हो । ह्यारी केनले १९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा जाकुब मोडेरले पोल्याण्डका लागि बराबरी गोल फर्काए । तर ह्यारी मगुएररले ८५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए ।

लगातार तीन जितपछि ९ अंक जोड्दै इंग्ल्याण्ड समूह ‘आई’ को शीर्ष स्थानमा यथावत छ । छनोटमा पहिलो हार व्यहोरेको पोल्याण्ड ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । एन्डोरालाई ४-१ ले पराजित गरेको हंगेरी ७ अंक जोड्दै दोस्रो स्थानमा छ ।

यस्तै समूह ‘सी’ मा इटलीले लिथुअनियालाई २-० ले हरायो । इटलीका लागि स्टेफानो सेन्सीले ४८औं र सिरो इम्मोबाइलले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरे । लगातार तीन जितपछि इटली ९ अकसहित शीर्ष स्थानमा छ ।

लगातार दुई खेल हारेको लिथुअनिया अंकविहीन हुँदै पाँचौ स्थानमा छ ।

यसैगरी समूह ‘एफ’मा डेनमार्कले अष्ट्रेलियालाई ४-० ले पराजित गरेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा डेनमार्कले १४ गोल गरिसकेको छ भने कुने गोल व्यहोरेको छैन ।

डेनमार्कका लागि आन्द्रेज स्कोभ ओल्सनले ५८औं र ७४औं मिनेटमा गोल गरे । यस्तै जाओकिम माएहेलेले ६३औं रपिएरे एमिल होजवर्गले ६७औं मिनेटमा गोल गरे । डेनर्माक ९ अंकसहित शीर्ष स्थानमा छ ।

अष्ट्रेलिया ३ खेलाट ४ अंकसहित चौथो स्थानमा छ ।

फारोए आइल्याण्डलाई ४-० ले पराजित गर्दै पहिलो जित हात पारेको स्कटल्याण्ड ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै अर्मेनियाले रोमानियालाई ३-२ ले पराजित गर्दै समूह ‘आई’मा लगातार तीन खेल जितेको छ । अर्मेनिया ९ अंक जोड्दै शीर्ष स्थानमा छ । यसै समूहमा विश्वकप पूर्व विजेता जर्मनी भने मेसेडोनियासँग २-१ ले स्तब्ध बनेको छ ।

यसैगरी समूह ‘बी’ मा स्पेनले कोसोभोलाई ३-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । स्पेनको जितमा डानिएल ओल्मोले ३४औं, फेरान टोरेसले ३६औं र जेरार्ड मोरेनोले ७५औं मिनेटमा गोल गरे । कोसोभोका बेसार हालिमीले ७०औं मिनेटमा एक गोल फर्काए ।

पहिलो खेलमा ग्रीससँग बराबरी खेलेको स्पेनले त्यसयता दोस्रो खेलमा जर्जियालाई पराजित गरेको थियो । ३ खेलबाट ७ अंकसहित स्पेन समूह ‘बी’ को शीर्ष स्थानमै छ ।

यस्तै समूह ‘डी’ मा फ्रान्सले पनि लगातार दोस्रो जित हात पार्ने क्रममा बोस्निया एण्ड हर्जगोभिनालाई १-० ले हरायो । यक्रेनसँग पहिलो खेल बराबरी खेलेको फ्रान्सले दोस्रो खेलमा कजाखस्तानलाई पराजित गरेको थियो । फ्रान्सका लागि एन्टोनी ग्रिजमनले ६०औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै युक्रेन र कजाखस्तानले १-१ को बराबरी खेल्दै अंक बाँडे ।



source https://www.onlinekhabar.com/2021/04/942316

प्रचण्डको पुनरावलोकन निवेदन : निस्साबारे सर्वोच्चले आज निर्णय गर्ने

१९ चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतले विहीबार निर्णय गर्ने भएको छ ।

सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिंदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । रिट निवेदकको मागविपरीत सर्वोच्चले पार्टी एकता बदर गरिदिएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/04/942317

दूध ढुवानीका साधनलाई सडकमा अब एम्बुलेन्ससरह प्राथमिकता

१९ चैत, काठमाडौं । दूध ढुवानीका साधनहरुले सडकमा अब एम्बुलेन्ससरह प्राथमिकता पाउने भएका छन् ।

सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका त्यस्ता साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक मात्र मुलुक भएको दाबी बोर्डको छ ।

लोगोका आधारमा प्राथमिकता दिइनुपर्ने यस्ता गाडीमा एम्बुलेन्समा जस्तो साइरन भने हुने छैन ।

देशभरका झण्डै पाँच सय दुग्ध ढुवानीका साधनले प्राप्त गर्ने लोगो र त्यसको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै अब लोगो वितरण सुरु भएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । ‘दुग्ध पदार्थको वितरण प्रणाली बलियो बनाउन हामीले नयाँ प्रयोग गरेका छौं, लोगो वितरणको प्रक्रिया सुरु भएको छ । यो विश्वको लागि नयाँ र पहिलो काम हो,’ कार्यकारी निर्देशक यादवले भने ।

औपचारिक प्रणालीबाट देशभर वितरण हुने झण्डै १७ लाख मेट्रिकटन दूधको बजारीकरण र बिक्रीमा यसले सहयोग गर्ने बोर्डले जनाएको छ । निश्चित समयमा निश्चित तापक्रममा दूध ढुवानी गर्नु पर्ने मान्यता रहे पनि विभिन्न समयमा हुने अवरोधले दूध बिग्रिने गरेको र त्यसको असर किसानको भुक्तानीमा समेत परेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

दूग्ध व्यवसायीको पनि समर्थन रहेको यो अभियानको लागि तयार गरिएको लोगो बोर्डको एक सय ११ औं बैठकबाट पास भएको र एक सय १२ औं बैठकबाट कार्यविधि पनि बनेको बोर्डले जनाएको छ । दूध ढुवानीको सबै सवारी साधनलाई अनिवार्य गरिएको यो नियमबारे सुरक्षाकर्मीलाई पनि जानकारी गराउने बोर्डको तयारी छ ।

डेरीको अंग्रेजी शब्दको पहिलो अक्षर ‘डी’, दूधको थोप्लो, गाईलाई जनाउने प्रतिकात्मक संकेत र अत्यावश्यक जनाउने रङ्ग निलो प्रयोग गरेर लोगो बनाइएको कार्यकारी निर्देशक यादवले बताए । प्रतिकात्मक उक्त लोगो दुग्ध ढुवानीका हरेक गाडीमा टाँस गरिने उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/04/942314

नर्थ मेसोडोनियासँग जर्मनी स्तब्ध, विश्वकप छनोटमा २० वर्षपछि पहिलो हार

१९ चैत काठमाडौं । फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा जर्मनी नर्थ मेसोडोनियासँग २-१ ले पराजित भएको छ । विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार हो । यसका साथै विश्वकप छनोटमा जर्मनीको ३५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

एलजिफ एल्माले खेल सकिन पाँच मिनेट अगाडि गोल गरेपछि नर्थ मेसेडोनियाले चार पटकको विश्व विजेता जर्मनीलाई स्तब्ध बनाएको हो ।

गोरन पान्डभले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै मेसेडोनियालाई पहिले अग्रता दिलाएका थिए । ६३औं मिनेटमा एल्के गुन्डाऊवनले जर्मनीका लागि पेनाल्टीमा बराबरी गोल फर्काए । एल्माले मेसेडोनियाका लागि ८५औं मिनेटमा निर्णायक गोल गर्नुअघि जर्मनीका टिमो वेर्नरले गोल गर्ने अवसर गुमाएका थिए ।

विश्वकप छनोटमा समूह जे मा जर्मनीको यो पहिलो हार हो र गोल व्यहोरेको पनि पहिलो खेल हो ।

सन् २००१ मा इंग्ल्याण्डसँग ५-१ ले हारेयता जर्मनी छनोटमा पहिलो पटक पराजित भयो । जर्मनीका प्रशिक्षक योकिम लोले यो निराशाजनक रहेको प्रतिक्रिया दिए ।

समूह जे ‘मा’ नर्थ मेसेडोनियाको यो दोस्रो जित हो । जितपछि तीन खेलबाट ६ अंकसहित मेसेडोनिया दोस्रो स्थानमा उक्लेको छ । जर्मनीको पनि समान ६ अंक भए पनि गोलअन्तरमा पछि छ । लगातार तीन खेल जित्दै ९ अंक जोडेको अर्मेनिया शीर्ष स्थानमा छ । अर्मेनियाले रोमानियालाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।

जर्मनीलाई पराजित गरेपछि नर्थ मेसेडोनियाका प्रशिक्षक इगोर अलगेलोभ्स्कीले यसले राष्ट्रलाई गौरवान्वित बनाएको बताए ।



source https://www.onlinekhabar.com/2021/04/942311

जलवायुसम्बन्धी शिखर सम्मेलनमा अमेरिकाले किन बोलाएन नेपाललाई ?

१९ चैत, काठमाडौं । अप्रिल २२ र २३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दैछन् ।

बाइडनले ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई सो कार्यक्रमको लागि निम्तो पठाएका छन् । दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ ।

ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री लोत्ते छिरिङ सो सम्मेलनमा सहभागी हुनेछन् ।

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङ पनि सो कार्यक्रममा सहभागी हुने छन् ।

तर, नेपाललाई भने सो शिखर सम्मेलनको निम्तो दिइएको छैन । भारत, भुटान र बंगलादेशबाहेक अन्य मुलुकले पनि निम्तो पाएका छैनन् ।

जलवायु परिवर्तन सम्बन्धी हरेक मुद्दामा नेपाल जोडिएको छ भने पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी कतिपय मुद्दामा नेतृत्व समेत लिएको छ । त्यस हिसाबले नेपाल प्राथमिकतामा पर्नु पर्ने हो तर किन परेन भन्ने प्रश्न उत्पन्न भएको छ ।

सो शिखर सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको सम्बन्धमा सोधिएको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची आलेनले अहिले हुन लागेको सम्मेलन कोप–२६ भन्दा अगाडि हुन लागेका विभिन्न कार्यक्रमहरुमध्ये एक भएको बताइन् ।

‘हामी जलवायु परिवर्तनका मुद्दामा नेपालसँग सहकार्य गर्न तयार छौं । नेपालले गर्ने सगरमाथा संवादमा हामी सहभागी हुने छौ,’ उनले भनिन्, ‘हामीलाई थाहा छ जलवायु परिवर्तनको विषयमा नेपालले नेतृत्व लिएको छ र हाम्रो साझा भविश्यका लागि हामी मिलेर काम गर्न चाहन्छौं ।’

ह्वाइट हाउसले सो सम्मेलनमा सहभागी हुने ४० वटा देशका प्रतिनिधिहरुको नाम नै सार्वजनिक गरेको छ तर त्यसमा नेपाल परेको छैन । यस अगाडि नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपालले गर्न लागेको सगरमाथा संवादका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

यसका साथै जलवायु सम्बन्धी अन्य क्षेत्रमा समेत मिलेर काम गर्न तयार रहेको राजदूतले नेपाली नेताहरुलाई बताएका थिए । विशेषतः हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न अमेरिका नेपालसँग मिलेर काम गर्न तयार रहेको अमेरिकी राजदूतले बताएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बाइडनले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने निर्णय गरेका छन् । उनले जलवायु परिवर्तनको असर कम गर्नका लागि विश्वभर विभिन्न परियोजनाहरु समेत अगाडि बढाएका छन् ।

यस अगाडिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट हात झिकेका थए । त्यसपछि यो मुद्दामा विश्वव्यापी नेतृत्व नै खड्किएको थियो ।

नोभेम्बर महिनामा हुन लागेको कोप–२६ को पूर्वसन्ध्यामा हुन लागेको विश्वका नेताहरुको सो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ । नेपालले पनि कोप–२६ भन्दा अगाडि नै सगरमाथा संवाद आयोजना गर्ने विषयमा छलफल अगाडि बढाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विश्वका नेताहरुको सो सम्मेलनमा जलवायु परिवर्तनको विषयमा बलियो नेतृत्व लिएका मुलुक, जलवायु परिवर्तनको हिसाबले एकदमै संवेदनशील अबस्थामा रहेका मुलुकहरु र जलवायु परिवर्तनको असर कम गर्न नयाँ कदम चालेका मुलुकहरुलाई आमन्त्रण गरिएको छ । केही व्यापारी र नागरिक समाजका व्यक्तिहरु समेत सो सम्मेलनमा सहभागी हुने छन् । यतिवेला विश्वको ध्यान विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा राख्नेमा छ । अमेरिकाले गर्न लागेको सम्मेलन र कोप–२६ को मूल उद्देश्य पनि यही हो ।

सो सम्मेलनमा अमेरिकाले सन् २०३० सम्म प्राप्त गर्ने कार्बन उत्सर्जन सम्बन्धी नयाँ लक्ष्यको समेत घोषणा गर्नेछ । शिखर सम्मेलनमा सहभागी हुन पठाएको निम्तोमा अमेरिकी राष्ट्रपति जो बाइडनले सरकार र राष्ट्र प्रमुखलाई आ–आफ्नो मुलुकको लक्ष्य प्रस्तुत गर्न आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/04/942310

राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् ।

बुधबार बेलुका काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको थियो । त्यो पानीले वायु प्रदुषण केही हदसम्म कम गर्न सघाए पनि पूर्णरुपमा मौसम सफा भने अझै नभएको मौसमविद वासीले बताइन् । ‘आजबाट मौसम केही सफा भए पनि पूर्णरुपमा आकाश खुल्न अझै केही दिन लाग्छ,’ उनले भनिन् ।

काठमाडौं उपत्यकाको आकाश विहीबार विहान पनि राम्रोसँग खुलेको छैन । अहिले बदलीको अवस्था छ । तराई मधेसका जिल्लामा भने अझै पनि तुवाँलो कायमै छ ।



source https://www.onlinekhabar.com/2021/04/942308

फ्रान्समा चार हप्तासम्म लकडाउन घोषणा, विद्यालय पनि बन्द

१९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।

टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए । साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ । शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ ।

राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति म्याक्रोले आफ्नो सन्देशमा भनेका छन्, कोरोना संक्रमण बढ्दो क्रममा भए पनि यसलाई रोक्न अप्ठ्यारो नभएको बताएका छन् । त्यसैले फ्रान्सीसी नागरिकलाई नडराउन उनले आह्वानसमेत गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/04/942307

सप्तर्षि परिचय : कृषि कर्मका योजनाकारदेखि संगीतका शिरोमणिसम्म !

नेपाली समाजमा गोत्रको प्रचलन अहिलेसम्म पनि धेरैले मान्दै आउने संस्कारमध्ये एक हो । ती सबै गोत्रहरू कुनै न कुनै ऋषिको नामबाट राखिएको छ । अर्थात् तिनै ऋषिको सन्तानको रूपमा गोत्रको चलन बसालिएको हो । हामीले सात जना ठूला ऋषिहरूको समूहलाई सप्तर्षि भनेर चिन्ने गर्छौं । यी सात जनाको सूचीमा न त वेद संकलन गरेको श्रेय पाउने ऋषिको नाम छ न त चर्चित महाकाव्य महाभारतका रचियताको नाम नै पाउन सकिन्छ । हिन्दु धर्मको सर्वमान्य ग्रन्थको निर्माणकर्ताभन्दा ठूला ऋषिहरू को-को हुन् त ?

ऋषिहरू भनेको  शोधकर्ताहरू हुन्, जसले आत्मचिन्तन मार्फत् नयाँ कुरा पत्ता लगाउने कोसिस गर्छन् । सप्तऋषि वा सप्तर्षि भनेको सात ऋषिहरूको सामूहिक नाम हो । यी सात ऋषिहरू प्राचीन भारतका ऋषिहरू हुन्, जसको नाम वेद र अन्य हिन्दू ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ। वैदिक संहितामा यी ऋषिहरूको संख्याको बारेमा कुनै विवरण छैन तर उपनिषद्मा यसलाई विस्तृत रूपमा वर्णन गरिएको छ। वेदमा यी सात ऋषिहरूलाई वैदिक धर्मको संरक्षक मानिन्छ ।

वेदको अध्ययन गरेपछि पत्ता लागेका ऋषि ​​वा तिनीहरूका वंशहरूको नाम वशिष्ठ, विश्वामित्र, कन्वा, भारद्वाज, अत्रि, वामदेव र शौनक हुन्। यद्यपि पुराणमा ऋषिहरूको नाममा केही भिन्नता पाइएको छ । विष्णु पुराणले मन्वन्तरा उल्लेख गर्दै उल्लेख गरिएका सात ऋषिहरू वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज हुन् ।

यसका साथ पुराणमा केही फरक नामहरू पनि पाइन्छन्। तीमध्ये केतु, पुलाह, पुलस्त्य, अत्रि, अंगिरा, वशिष्ठ र मरीचि जस्ता ऋषिहरूको नाम पाइन्छ । महाभारतमा ऋषिहरूको दुई समूह भेटिन्छन् । एउटा समूहमा कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ छन्। दोस्रो नामावलीमा कश्यप, वशिष्ठ, मरीची, अंगिरस, पुलस्त्य, पुलाह र क्रातुको नाम छ । केही पुराणमा, कश्यप र मरीची एक मानिन्छ, जबकि कश्यप र कणव एक अर्काका पर्यायवाची मानिन्छन् । सात ऋषिको संक्षिप्त परिचय तल उल्लेख गरिएको छ ।

वशिष्ठ – वशिष्ठ मुनि राजा दशरथका कुल गुरु थिए। वशिष्ठ ऋषि दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नका गुरुहरू थिए। वशिष्ठको निर्देशनमा मात्र राजा दशरथले आफ्ना चारजना छोराहरूलाई ऋषि विश्वामित्रको आदेशमा उनको आश्रममा राक्षसहरूको हत्या गर्न पठाए ।

विश्वामित्र – ऋषि विश्वामित्र मुनि बाहेक उनी एक राजा पनि थिए । हिन्दू धर्मशास्त्रमा उनी दन्त्यकथा छन् जसमा विश्वामित्रले ऋषि वशिष्ठको कामधेनु गाईलाई समात्न लडेका थिए। युद्धमा उनी ऋषि वसिष्ठको हातबाट पराजित भए। ऋषि विश्वामित्रको तपस्या तथा मेनकाद्वारा उनलाई भंग गरिएको कथा लोकप्रिय छ।

कन्वा – उनीहरूको बारेमा भनिएको छ कि हिन्दू रीतिथितिहरूमा सबैभन्दा महत्त्वपूर्ण सोम यज्ञको सुरुवात कण्व ऋषिहरूले शुरू गरेका थिए । हस्तिनापुरका राजा दुष्यन्तकी पत्नी शकुन्तला र उनका छोरा भरत कण्व ऋषिहरूको आश्रममा हुर्किएका थिए ।

भारद्वाज – सप्त ऋषिहरूमध्ये भारद्वाजको उत्कृष्ट स्थान छ। भारद्वाज ऋषि रामको समयभन्दा पूर्वका थिए । भारद्वाजका २३ मन्त्रहरू अथर्ववेदमा भेटिएका छन् । भारद्वाज स्मृति र भारद्वाज संहिताका निर्माता थिए।

अत्री – ऋषि अत्री ब्रह्माका छोरा, सोमका बुबा, कर्दम प्रजापति र अनुसुया देवहुतीकी छोरी थिइन्। ऋषि अत्रीको योगदान देशको कृषि विकासको लागि सबैभन्दा ठूलो मानिन्छ। यो अत्री ऋषिको बारेमा भनिएको छ कि उनीहरू सिन्धु पार गरेर पारसमा अर्थात् आजको इरानसम्म पुगेका थिए । जहाँ उनले हिन्दू यज्ञको बारेमा प्रचार गरेका थिए ।

वामदेव –  ऋषि वामदेव संगीत सुरु गर्ने ऋषिका रूपमा परिचित छन् । वामदेव ऋषि गौतम ऋषिका छोरा थिए । वामदेव जन्मसिद्ध तत्ववेत्ता थिए ।

शौनक – ऋषि शौनाकले १० हजार विद्यार्थीका लागि गुरुकुल चलाएका थिए । यो विशाल गुरुकुल प्रणालीका लागि उनलाई कुलपतिको सम्मान दिइन्छ । वैदिक धर्ममा ऋषि शौनकबाहेक अरू कसैले पनि यो सम्मान पाउने गरेका छैनन् ।



source https://www.onlinekhabar.com/2021/04/942304

महोत्तरीमा गोली चल्यो, एकजना घाइते

१९ चैत, जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् ।

जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताए ।

गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा बुधबार राति करिब ७ः३० बजेतिर उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले बताए । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2021/04/942305

Tuesday 30 March 2021

वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर

निर्देशक रमेश वुढाथोकी चलचित्र ‘सुदुर’का लागि नायिका नपाएर हैरान छन् । नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै ‘सुदुर’ छाडिन् ।

यसपछि भने रमेशलाई नायिका खोज्न नै सकस परिरहेको छ । चलचित्रको नायकका लागि पुष्प खड्कालाई अफर गरिएको छ । तर, पुष्प र चलचित्रको निर्माणपक्षविच पारिश्रमिकको विषयमा कुरा मिलिरहेको छैन ।

रमेश भने नायिका खोज्ने धुनमा लागिरहेका छन् । वर्षाले छाडेपछि चलचित्रको अफर नायिका तथा मोडल रेश्मा घिमिरेसम्म पुग्यो । रेश्मासँग कुराकानी भएको निर्देशक वुढाथोकीले अनलाइनखबरसँग बताएका थिए ।

रेश्माले पनि चलचित्र नगरेपछि यसको निर्माणपक्षले टिकटकबाट उदाएर म्यूजिक भिडियोमा जमिरहेकी मोडल उषा उप्रेतीलाई पनि अफर गरेको थियो । उषापछि यसको निर्माणपक्षले टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाई अफर गरेको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरिमा शर्मासँग कुराकानी गरेको जानकारी सामाजिक संजालबाट दिएका छन् । रमेश वुढाथोकीको निर्देशनमा तयार हुने यो चलचित्रको छायांकन जुम्लामा हुनेछ ।

तर, चलचित्रका लागि कलाकार फाइनल गर्न नसक्दा छायांकन सुरु हुन सकेको छैन । अब, गरिमाले यो चलचित्र गर्छिन् या गर्दिनन् त्यो भोलीको कुरा हो । तर, रमेश वुढाथोकीलाई भने चलचित्रको नायिका खोज्न सकस परिरहेको छ ।



source https://www.onlinekhabar.com/2021/03/942101

यौन स्वास्थ्यसँग जोडिएका केही सत्य र केही झूट

यौन विशेषज्ञहरु यौन शिक्षालाई व्यक्तिले बिस्तारै बिस्तारै सिक्दै जाने शिक्षाको रूपमा चिनाउँछन् । कुनैपनि महिला र पुरुषबीचको एउटा शारीरिक सम्बन्ध मात्रै यौनसँग सम्बन्धित विषय होइन । यौनसँग सम्बन्धित कतिपय कुराहरु बच्चा जन्मिसकेका आमाबुबालाई समेत जानकारी नभएको हुन सक्छ ।

यौनको बारेमा धेरै गलत हल्लाहरू हुन्छन् । यौनको विषयमा कतिपय भ्रम पनि धेरैले पालेर बसेका हुन सक्छन् । जुन भ्रम र यथार्थका बारेमा केही जानकारी दिने कोसिस गरिएको छ ।

महिलाहरुको यौनसँग जोडिएका केही भ्रमहरू

महिलाहरुको बीचमा पनि यौनसँग जोडिएका कैयौं मिथकहरु प्रचलित छन् । यदि तपाईं पनि अहिले नै गर्भधारण गर्न चाहनुहुन्न भने यसको लागि यौनसँग जोडिएका केही बुझाइको बारेमा ध्यान दिनुपर्छ ।

स्तनपानको समयमा गर्भ रहनेबारे

स्तनपानको समयमा यौन सम्पर्क गर्दा महिलाको गर्भ रहँदैन भन्ने मान्यता सुन्न पाइन्छ । स्तनपानको समयमा शरीरमा बन्नेवाला हर्माेनहरुले केही समयको लागि अण्डा बन्ने प्रक्रिया वा ओब्युलेशन कार्य रोक्न सक्छ । तर यो सधैं सुरक्षित हुँदैन । त्यसैले सुत्केरी भएपछि पनि यौनको समयमा सुरक्षात्मक उपायको उपभोगको सल्लाह दिने गरिन्छ ।

गर्भनिरोधक चक्कीको सेवनबारे

यदि गर्भनिरोधक चक्कीको पूरा फाइदा लिने हो भने यौन सम्पर्कपछि तुरुन्तै यस्तो चक्की लिनुपर्ने हुन्छ । पहिलो २४ घण्टामा यसको असर ९५ प्रतिशतसम्म हुने गर्छ । जबकि ७२ घण्टामा यसको असर ६० प्रतिशतमा झर्ने गर्छ ।

दुईवटा कण्डमको एकसाथ प्रयोग गर्नेबारे

कतिपयले सुरक्षाको लागि दुईवटा कण्डमलाई एकसाथ प्रयोग गर्न सुझाव दिन्छन् । तर चिकित्सकहरु यो सहि नहुने बताउँछन् । किनकि कण्डमहरु एकअर्कामा रगडिँदा आफैँ फाट्ने सम्भावना पनि बढी हुन्छ । यो अन्य संक्रामक रोगबाट बच्नको लागि पनि उपयुक्त हुने भएकोले एउटा नै कण्डम प्रयोग गर्न सकिन्छ ।

महिनावारी भएको समयमा हुने यौन सम्पर्कका बारेमा

कतिपयमा महिनावारीको समयमा यौन सम्पर्क गर्दा गर्भवती हुने सम्भावना कम हुन्छ भन्ने मान्यता पनि रहेको पाइन्छ । तर यसमा पनि सत्यता रहेको पाइँदैन । चिकित्सकहरु यस समयमा गर्भको सम्भावना कम हुने भए पनि असम्भव भने हुँदैन ।

यौनको विषयमा पुरुषहरुमा हुने गलत धारणा

सुरक्षित यौन सम्बन्धलाई लिएर भारतीय पुरुषहरुमा कैयौं गलत धारणाहरु आउने गर्छ । जसको सम्बन्धमा उनीहरुको मान्यता छ कि यसले एचआईभी एड्स या अन्य एसिडिटी जस्ता समस्या हुँदैन भन्ने मान्यता छ ।

अधिकांश मामलामा पुरुषहरु कण्डमको प्रयोग गर्न चाहँदैनन् । यदि उनीहरुको साथमा कण्डम छैन भने उनीहरु दोस्रो तरिकाले यौन सम्पर्क गर्न चाहन्छन् । यस्तो असुरक्षित यौनसम्पर्क दुवैको लागि जोखिमयुक्त हुन्छ ।

यौनसँग जोडिएको केही तथ्य

१. शारीरिक सम्बन्ध मानसिक सुख समेत प्रदान गर्छ । यसको लागि मानसिक रुपले पनि जोडिनु जरुरी छ ।

२. यो सत्य हो कि समयभन्दा पहिले यौन सम्बन्ध बनाउनको लागि शारीरिक र मानसिक विकासमा धेरै प्रभाव पर्छ ।

३. विवाहभन्दा पहिले यौनको वैवाहिक जीवनमा कुनै असर हुँदैन । यो मान्न सकिन्छ कि विवाहभन्दा पहिले वैवाहिक जीवनको खुसी खोसिने समस्या हुन सक्छ । यो गलत कुरा हो ।

४ यो सही कुरा हो कि यौन सम्बन्ध एक व्यक्तिगत अधिकार हो । यसमा कुनै एकको लागि प्रतिबद्धता हुनु जरुरी छ । तर अहिले यसको महत्व कम हुँदै गएको छ ।

५. सम्बन्धमा यौनको प्राथमिकता कहिलै हुनु हुँदैन । भावनात्मक सम्बन्धका साथ–साथ आत्मीय सम्बन्ध हुनु समेत जरुरी हुन्छ । तपाईं यौनको महत्वलाई बुझ्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2021/03/942100

महोत्तरीबाट बेपत्ता भएकाहरु भारतमा फेला परे : नगरप्रमुख साह

१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।

सो सूचना पाएपछि प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहित सितामढी प्रस्थान गरेको हो । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अनलाइनखबरसँग भने, ‘नेपाली किशोरीहरु सितामढीमा भेटिएको सूचना पाएपछि प्रहरीको टोलीलाई उनीहरुको फोटोसहित पठाइएको छ । ती किशोरीहरु भँगाहा नगरपालिकाबाट हराएकैहरु हुन् कि होइनन् भन्ने कुरा केहीबेरमा थाहा हुन्छ ।’

घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रन्जना पासवान र सोही उमेरकी सीमा पासवान बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख साहले बताए । ‘बालिका बेपत्ता भएको खबर सशस्त्र प्रहरी समेतलाई दिएपछि उनीहरुले भारतीय प्रहरीसँग तत्कालै समन्वय गर्दा बालिका फेला परे,’ उनले भने, ‘सातै जनाको नाम पनि मिलिसकेको छ ।’ उनीहरु अहिले भारतीय प्रहरीको निगरानीमा रहेको उनले बताए ।

प्रमुख साहले सितामढीमा फेला परेका बालिकालाई ल्याउन आफैं त्यसतर्फ गइरहेको बताए । ‘उनीहरुलाई ल्याउन मेरै नेतृत्वमा टोली गइरहेको छ,’ उनले भने ।

बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।’

 



source https://www.onlinekhabar.com/2021/03/942096

विश्वकप छनोट : पोर्चुगलको पुनरागमन जित

१८ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले लक्जेमबर्गलाई पुनरागमन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो ।

खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका डिएगो जोटाले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे ।

५१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । पोर्चुगलका लागि उनको यो १०३औँ गोल हो ।

त्यसपछि ८०औँ मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए ।

८७औं मिनेटमा म्याक्सिम छनोटले दोहोरो पहेलो कार्ड पाएपछि लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।

यस जितपछि समूह ए मा दोस्रो जित हात पारेको पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । लक्जेम्बर्ग २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अजरबैजानलाई २-१ ले पराजित गर्दै ३ खेलबाट ७ अंक जोडेको सर्विया गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/03/942091

विश्वकप छनोट : बेल्जियम र नेदरल्याण्ड्सको फराकिलो जित

१८ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । बेल्जियमले बेलारुसलाई ८-० तथा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७-० ले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा समूह ई को खेलमा बेल्जियमले बेलारुसलाई ८-० ले पराजित गर्दा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई-दुई गोल गरे । यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे

बेल्जियमले घरेलु मैदानमा दुवै हाफमा चार चार गोल गरेको थियो ।

खेलको १४औँ मिनेटमा बात्सुआईले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा हान्सले गोल गर्दा बेल्जियमले अग्रता दोब्बर बनायो ।

३८ औं मिनेटमा लिन्ड्रोले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । डोकुले ४२ औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

४९ औं मिनेटमा डेनिस, ७० औं मिनेटमा बेन्टेकेले गोल गरेपछि बेल्जियमले ६-० को अग्रता बनायो । त्यसपछि ७६औं मिनेटमा लिन्ड्रो र ८९ औं मिनेटमा हान्सले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ८-० ले विजयी भएको हो ।

यस जितपछि ३ खेलबाट ७ अंक जोडेको बेल्जियम समूह ई को शीर्ष स्थानमा रहेको छ । २ खेलमा ३ अंक जोडेको बेलारुस चौथो स्थानमा रहेको छ ।

अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १-० ले पराजित गरेको छ । वेल्सको लागि ड्यानिएल जेम्सले ८२औं मिनेटमा निर्णायक गोल गरे । खेलमा दुवै टोलीले १० खेलाडीमा रहेर खेल सकाएका थिए ।

हारपछि ४ अंकसहित चेक दोस्रो स्थानमा छ भने ३ अंक जोडेको वेल्स तेस्रो स्थानमा छ ।

यस्तै मंगलबार राति नै भएको समूह जी को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ७-० ले पराजित गर्दा मेम्फिस डिपाएले दुई गोल गरे । यस्तै स्टेभेन बेर्घुइस, लुक डी जंग, जर्जिनियो विज्नाल्डम, डोनएल मालेन र डोनी भान डे विकले एक एक गोल गरे ।

घरेलु टिमविरुद्ध नेदरल्याण्ड्सले पहिलो हाफमा एक गोलमात्र गरेपछि दोस्रो हाफमा ६ गोल गरेको थियो ।

४२औं मिनेटसम्म जिब्राल्टरले गोल गर्न नदिए पनि त्यसपछि स्टेभेन बेर्घुइसले गोल गरेदे डच टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफमा गोलको वर्षा गर्दा डिपाएले ६१औं र ८८औं मिनेटमा गोल गरे । यस्तै लुक डे जोङले ५५औं, विजनाल्डमले ६२औं, डोनी भान डे विकले ८५औं मिनेटमा गोल गरे ।

यस जितपछि ३ खेलबाट ६ अंक जोड्दै नेदरल्यान्ड्स समूह जी को दोस्रो स्थानमा उक्लेको छ । ३ खेल हारेको जिब्राल्टर अंकविहीन हुँदै पुछारमा रहेको छ ।

यस्तै यसअघि लगातार दुई खेल जितेको टर्की भने लात्भियासँग ३-३ को बराबरीमा रोकिएको छ । ३ खेलबाट ७ अंकहित टर्की शीर्ष स्थानमै यथावत छ ।

अर्को खेलमा नर्वेले मोन्टेनेग्रोलाई १-० ले हराएको छ । मोन्ट्रेनग्रो र नर्वेको पनि नेदरल्याण्ड्स समान ६ अंक छ । तर गोलअन्तरमा डच टोली अघि छ भने मोन्ट्रेनेग्रो तेस्रो र नर्वे चौथो स्थानमा छ।



source https://www.onlinekhabar.com/2021/03/942088

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१८ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।

यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।



source https://www.onlinekhabar.com/2021/03/942086

दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

१८ चैत, दमक । झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दमक नगरपालिका वडा नं. ६ नयाँ सब्जीमण्डीस्थित एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए ।

साथै इलाका प्रहरी कार्यालय दमकले सो भाडाको घर खानतलासी गरी १७ देखि ३९ वर्ष उमेर समूहका आठजना महिला तथा युवतीहरुलाई उद्धारसमेत गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको पनि प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/03/942083

कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ

१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ ।

संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको छ ।

अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाएका छन् । भाइरसको सम्बन्धमा रहेका सबै खालका हाइपोथेसिसको अध्ययन भइरहेको संगठनले बताएको छ ।



source https://www.onlinekhabar.com/2021/03/942082

हटेन अझै कोरियाको रोजगारीमा लागेको तगारो

१८ चैत, काठमाडौं । दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले गत बिहीबार कोरोना जोखिमको हिसाबले नेपाललाई ‘अति जोखिमयुक्त’ क्षेत्रको सूचीबाट ‘सर्भिलेन्स’ तहमा झार्‍यो । तर, यो कदमले पनि रोजगारीका लागि दक्षिण कोरिया जानबाट रोकिएका युवालाई राहत मिलेन ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाले ‘रेड जोन’बाट हटाएर विद्यार्थी र पारीवारिक भिसा खुलाए पनि ‘श्रमिक भिसा’ भने खुला गरेन । अब महामारी नबढे छिट्टै श्रमिकका लागि कोरियाको बाटो खुल्ने शाखाको दाबी छ ।

‘नेपालीका लागि जारी हुने भिसामा कोरिया लचिलो बन्ने संकेत देखिएको छ’, ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र भण्डारी भन्छन्, ‘श्रमिकलाई पनि केही समयभित्रै लैजाला भन्ने अपेक्षामा छौं ।’

कोभिड १९ पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारीमा अन्योल छ । २०७६ फागुनको पहिलो सातादेखि नै ईपीएस प्रणालीमार्फत एक जना पनि श्रमिक नेपालबाट कोरिया जान पाएका छैनन् ।

निर्देशक भण्डारीका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिवद्ध कामदारका रुपमा फर्किएका दुई हजार जना श्रमिक यतै रोकिएका छन् ।

लेबर कन्ट्रयाक्ट आएपछि श्रमिकले ‘सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इस्युएन्स’ (सीसीभीआई) फारम भर्नुपर्छ । त्यसअनुसार कोरियाले सीसीभीई जारी गर्छ । सीसीभीआई जारी भएको तीन महिनाभित्र भिसा लाग्नुपर्छ ।

तर, महामारी सुरु भएपछि सीसीभीआईसमेत आइसकेका करिब एक हजार श्रमिकको लेबर कन्ट्रयाक्ट रद्द भएको छ । उनीहरू फेरि भाषा परीक्षा पास भएपछिकै अवस्थामा ‘रोस्टर लिस्ट’ (प्रतीक्षा सूची) मा फर्किन बाध्य भएको भण्डारी बताउँछन् । यस्ता श्रमिकको अब एक वर्षभित्र अर्को लेबर कन्ट्रयाक्ट आइसक्नुपर्ने हुन्छ ।

कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन । प्रतिक्षा सूचीमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि प्रक्रिया र स्वास्थ्य र चारित्रिक मापदण्ड पूरा गरेर मात्र जान पाइन्छ ।

अझै पनि प्रतिक्षा सूचीमा रहेका करिब ६ हजार जनाभन्दा बढी श्रमिकको लेबर कन्ट्रयाक्ट नआएको निर्देशक भण्डारी बताउँछन् । रोस्टरमा नाम चढेको दुई वर्षभित्र लबेर कन्ट्रयाक्ट नआएमा श्रमिक प्रतीक्षा सूचीबाट हट्नुपर्छ । फेरि भाषा परीक्षा पास गरेर मात्रै प्रतीक्षा सूचीमा नाम आउने प्रक्रिया हुन्छ ।

चिन्तित छन् श्रमिक

कोरिया जानबाट रोकिएका काठमाडौंका सन्तोष मगर भन्छन्- आज खुल्ला, भोलि खुल्ला भनेर कुर्दाकुर्दै वर्ष दिन बितिसक्यो । सरकारले समस्यालाई गम्भीर रुपमा लिँदै नलिएकाले दुःख पाइयो

महामारीका कारण १३ महिना खेर गएकाले धेरैजसो प्रतीक्षा सूचीको म्याद थप्नुपर्ने माग नेपाली श्रमिकले गरिरहेका छन् । भाषा परीक्षा पास गरेर पनि कोरियामा जान नपाइने चिन्ताले करिब १२ हजार युवालाई सताएको छ । सरकारले उचित पहल नगरेकाले आफूहरू समस्या परेको चितवन राप्ती नगरपालिकाका सिताराम नेपाल बताउँछन् ।

कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाल सरकार आफैंले २०७६ फागुन पहिलो सातादेखि त्यहाँको रोजगारीमा जान रोक लगाएको थियो । छलफल नै नगरी श्रमिक रोकेको भन्दै सुरुमा कोरियाले असन्तुष्टि जनाएको थियो । अहिले कोरियामा महामारी नियन्त्रणउन्मुख भए पनि उसले नेपाली श्रमिक लैजान चासो देखाएको छैन ।

शाखाका निर्देशक भण्डारी भने श्रमिक पठाउन र प्रतिक्षा सूचीको अवधि लम्ब्याउन निरन्तर पहल भइरहेको बताउँछन् । ‘हामीले कोरियन सरकारलाई रोस्टरको अवधि बढाउन अनुरोध गरेका छौं’, भण्डारीले भने, ‘तर, अहिलेसम्म कोरियाले कुनै निर्णय गरेको छैन ।’

श्रममन्त्रीले समेत कोरियाली राजदूतसँग यसबारे छलफल गरेकाले छिट्टै निकास निस्कनेमा उनी आशावादी छन् ।

सरकारको कामकारबाहीप्रति प्रतीक्षामा रहेका श्रमिकहरु विश्वस्त र सन्तुष्ट छैनन् । सरकारी लापरबाहीले आफ्नो भविष्य अनिश्चयमा परेको भन्दै उनीहरुले पटक-पटक माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।

‘आज खुल्ला, भोलि खुल्ला भनेर कुर्दाकुर्दै वर्ष दिन बितिसक्यो’, कोरिया जान रोकिएका काठमाडौंका सन्तोष मगर भन्छन्, ‘सरकारले समस्यालाई गम्भीर रुपमा लिँदै नलिएकाले दुःख पाइयो ।’

परीक्षा पनि अनिश्चित

कोरिया जान भाषा परीक्षाको तयारी गरिरहेकाहरू पनि अन्योलमा छन् । सन् २०२१ मा जाने श्रमिक छनोट गर्नका लागि २०२० भित्रै हुनुपर्ने ईपीएस भाषा परीक्षा अझैसम्म भएको छैन ।

सरकारले कोरियाको तालिका अझै पाएको छैन । हरेक वर्ष भाषा परीक्षाको तालिका कोरियाले पठाउँछ । हरेक जेठमा हुने भाषा परीक्षा यो वर्ष कोरोना महामारीका कारण अनिश्चित बन्न पुगेको छ ।

निर्देशक भण्डारी अब ट्याबलेटमा आधारित भाषा परीक्षा हुने जानकारी कोरियाबाट आइसकेको बताउँछन् । उनले भने, ‘अबको परीक्षा कागजबाट ट्याबलेट पद्धतिमा जान्छ, कोरियाले सफ्टवेयर बनाउँदैछ ।’

कोरियामा आम्दानी पनि राम्रो हुने भएकाले प्रतिवर्ष करिब एक लाख युवा कोरिया जान भाषा परीक्षाको तयारी गर्छन् । सन् २०२० को लागि भएको भाषा परीक्षा दिएका ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए ।

गन्तव्य गुम्ने चिन्ता

श्रमिकको हित रक्षाका लागि कोरिया सरकार खाडी मुलुकभन्दा प्रतिवद्ध मानिन्छ । कोरियाले २००८ देखि सरकारीस्तरबाटै भाषा परीक्षा लिएर नेपाली कामदार लैजान थालेको हो । त्यसअघि म्यानपावर र व्यक्तिगत पहलमा नेपाली कामदार कोरिया पुग्थे ।

सरकार आफैं कामदार पठाउने प्रक्रियामा संलग्न भएपछि कोरिया नेपाली युवाको सर्वाधिक आकर्षक गन्तव्य बनेको बताउँछन् वैदेशिक रोजगारका जानकार मधुविलास पण्डित । भाषा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले दुई पटक गरी नौ वर्ष आठ महिना त्यहाँ बस्न पाउँछन् ।

आकर्षक तलब दिनेगरी ४० वर्ष ननाघेका अदक्ष कामदार लैजाने कोरियाले प्रतिवर्ष औसत पाँच हजार नेपालीलाई रोजगारी दिइरहेको छ । कोरियाले कृषि र उत्पादनमुलक -उद्योग) समूहमा कामदार लैजाने गरेको थियो ।

नेपाल सरकारले नै प्रक्रिया पुर्‍याएर पठाउने भएकाले कामदारले एक रुपैयाँ पनि अतिरिक्त शुल्क खर्चिनुपर्दैन ।

कोरिया सरकारकै निगरानीमा हुने भाषा परीक्षाको नतिजा उसैले प्रकाशित गर्ने भएकाले यसको निष्पक्षतामा नेपाली युवाको विश्वास कायम छ ।

रोजगारदाताले रुचाएको कामदारलाई कोरियाले ‘प्रतिबद्ध कामदार’का रुपमा भिसा दिने गरेको छ । पाँचवर्षे भिसामा गएर उत्कृष्ट काम गर्नेहरुले थप पाँच वर्षको भिसा पाउने व्यवस्था कोरियाले गरेको छ ।

तर, महामारीपछि कोरियामा पनि श्रमिकको माग घटेको र जोखिम मोलेर नेपालबाट श्रमिक लैजान पनि चासो नदिएकाले आकर्षक श्रम गन्तव्य गुम्ने त्रास श्रमिकहरूमा नै छ ।

श्रमिक सिताराम नेपाल भन्छन्, ‘नेपालले बेलैमा पहल गर्न सकेन भने कोरियाले विकल्प नसोच्ला भन्ने छैन ।’



source https://www.onlinekhabar.com/2021/03/942079

ओलीले गरे भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् कोविन्दको शीर्ष स्वास्थ्य लाभको कामना गरेका हुन् ।

राष्ट्रपति कोविन्द अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति कोविन्दको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गरिएको छ ।



source https://www.onlinekhabar.com/2021/03/942078

पत्रकार महासंघ रुपन्देहीमा ५ संगठनको गठबन्धन

१८ चैत, बुटवल । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि रुपन्देहीमा पत्रकार सम्वद्ध पाँच संगठनहरुले चुनावी गठबन्धन गरेका छन् । नेपाल प्रेस यूनियनको नेतृत्वमा प्रेस संगठन, प्रेस चौतारी (माधव नेपाल पक्ष), प्रगतिशील पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच गठबन्धन भएको हो ।

पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्र र अग्रगमनको पक्षमा दृढतापूर्वक उभिन र जिल्लाका सञ्चार गृहहरुको प्रवर्द्धनमा साझा भूमिका निर्वाह गर्न संयुक्त लोकतान्त्रिक प्यानल बनाइएको प्रेस युनियन कार्यदलका संयोजक हरि लम्सालले बताए ।

महासंघ रुपन्देहीमा लामो समयदेखि प्रेस चौतारीको नेतृत्व रहँदै आएको थियो । एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको चुनावी क्षेत्र भएकाले पनि पत्रकार महासंघ रुपन्देहीको निर्वाचनलाई प्रेस चौतारी (ओली पक्ष) र युनियन नेतृत्वको गठबन्धनले ठूलो प्रतिष्ठाको विषय बनाएका छन् ।

पाँच संगठनको गठबन्धनपछि जित सुनिश्चित भएको युनियन रुपन्देही अध्यक्ष रेखा भुसालको दाबी छ ।



source https://www.onlinekhabar.com/2021/03/942076

कारागार संघले खोल्ने, प्रदेशले व्यवस्थापन गर्ने

१८ चैत, काठमाडौं । कारागार संघीय सरकारले स्थापना गर्ने र त्यसको व्यवस्थापन प्रदेशले गर्ने गरी कानुन बन्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको कारागारसम्बन्धी विधेयकको दफा ५ र ६ मा कारागारको स्थापना, व्यवस्थापन र सञ्चालनसम्बन्धी व्यवस्था छ । जहाँ कारागार संघीय सरकारले खोल्ने, प्रदेश सरकारले चलाउने उल्लेख छ ।

‘नेपाल सरकारले आवश्यकता अनुसार कारागारको स्थापना गर्न सक्नेछ’ विधेयकमा भनिएको छ, ‘…स्थापना भएका कारागारको व्यवस्थापन र सञ्चालन प्रदेश सरकारले गर्नेछ ।’

तर, संघीय सरकारले निर्णय नगर्दासम्म हाल रहेका कारागारको व्यवस्थापन र सञ्चालन संघले नै गर्ने विषयमा समितिमा सहमति जुटेको समिति सदस्य महेश्वरजंग गहतराजले जानकारी दिए ।

‘कारागार सञ्चालनका लागि प्रदेश सरकार तयार हुनुपर्‍यो । प्रदेशले हामी सक्छौं भन्न पर्‍यो त्यसो नहुँदा र संघीय सरकारले निर्णय नगर्दासम्म हाल रहेका कारागारको व्यवस्थापन र सञ्चालन संघले नै गर्छ’ उनले भने, ‘नयाँ कारागार स्थापना गर्दा भने प्रदेशसंग समन्वय भइहाल्छ ।’

कारागारको व्यवस्थापन र सञ्चालनको लागि प्रदेश सरकारले कारागार प्रशासक तथा अन्य कर्मचारीको व्यवस्था गर्न सक्ने व्यवस्थ्ाा गर्ने विधेयकको दफा ६ को उपदफा ६ मा उल्लेख छ ।
संघ मातहत रहँदासम्म आफ्नो जिल्लाभित्र रहेका कारागारको व्यवस्थापनको सामान्य रेखदेख गर्ने जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई छ । यो व्यवस्थालाई पनि राज्य व्यवस्था समितिले कायमै राखेको छ ।

जेलर सीडीओप्रति नै उत्तरदायी हुने

विधेयकमा कारागार प्रशासक (जेलर) प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रति उत्तरदायी हुनुपर्ने व्यवस्था राखिने भएको छ । मुलुक संघीयतामा गएपछि जेलर को प्रति उत्तरदा यी हुने ? भन्ने प्रश्न थियो । यसलाई पूर्ववत अवस्थामै राख्ने गरी कानुन बनाउने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ ।

‘अभ्यासमा जेलर सीडीओप्रति नै उत्तरदायी हुँदै आएका छन् । कानुनले प्रष्ट भनेको थिएन’ राज्य व्यवस्था समितिकी सचिव बविता शर्माले भनिन्, ‘कारागारसम्बन्धी विधेयकमाथिको छलफलमा जेलर सीडीओप्रति उत्तरदायी हुनुपर्ने भनी प्रष्ट गर्ने विषयमा सहमति जुटेको छ ।’

सीडीओले संघीय सरकार र जिल्लाको शान्ति सुरक्षाको जिम्मा पाएकाले जेलर उसैप्रति उत्तरदायी हुनुपर्ने कानुनी व्यवस्था गर्न लागिएको राज्य व्यवस्था समिति सदस्य महेश्वरजंग गहतराजले बताए ।

‘जिल्लामा केन्द्र सरकारको प्रतिनिधि सीडीओ हो । प्रदेशमा प्रदेश प्रहरी, आन्तरिक मामिला मन्त्रालयको रुपमा रहेको गृहमन्त्रालयसंग समन्वयन गर्ने सीडीओ नै हो । जिल्लाको शान्ति सुरक्षाको जिम्मा समेत पाएकाले सीडीओकै निर्देशन, राय अनुसार जेलरले काम गर्नुपर्ने कानुनी व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ’ गहतराजले भने ।

राज्य व्यवस्था समितिमा दफावार छलफलमा रहेको प्रस्तावित कारागारसम्बन्धी विधेयकको दफा ७ मा कारागार प्रशासकको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था छ ।

विधेयकअनुसार कारागारको आन्तरिक व्यवस्थापन गर्ने, आफ्नो जिम्मामा रहेका मिसिल, बन्दी अभिलेख किताब, कागजात एवं मालसामान सुरक्षित रूपले राख्ने कारागारको सुरक्षा व्यवस्था चुस्त राख्ने, कारागारलाई सदैव आफ्नो सुपरीवेक्षण र निगरानीमा राख्ने, बन्दीको लागि आवश्यक नैतिक सुधार तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्ने जिम्मेवारी जेलरको हुनेछ ।

कारागार व्यवस्थापन सम्बन्धमा मन्त्रालय, विभाग, प्रदेश सरकार तथा प्रमुख जिल्ला अधिकारीबाट दिइएको निर्देशनको पालना गर्ने, गराउने, वार्षिक प्रतिवेदन तयार गरी प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र विभागमा पेश गर्नुपर्ने कानुनी व्यवस्था पनि विधेयकमा राखिएको छ ।

बन्दीको संख्याअनुसार सुरक्षाकर्मी राख्न सुझाव

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले बन्दीको संख्याअनुसार सुरक्षाकर्मी राख्न सरकारलाई सुझाव दिएका छन् ।

‘बन्दीको संख्या अनुसार सुरक्षाकर्मी राख्ने व्यवस्था हुनुपर्छ’ समिति बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले भने ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले थपे, ‘१० जना बन्दी हुन्छन् । १०० जना सुरक्षाकर्मी राखिन्छन् । यस्तो किन ? बन्दीको संख्या अनुसार मात्रै सुरक्षाकर्मी राखिनुपर्छ ।’
पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद लालबाबु पण्डितले भने बन्दीको संख्या अनुसार सुरक्षाकर्मी राख्ने भनेर किटान गर्न नहुने बताए ।

‘एक जना बन्दी होला एक जना मात्रै सुरक्षाकर्मी राख्ने ? कुन बेला के हुन सक्छ त्यसलाई समेत मध्यनजर गरेर सरकारले आफैँ सुरक्षाकर्मीको व्यवस्थापन गर्छ’ पण्डितले समिति बैठकमा भने ।



source https://www.onlinekhabar.com/2021/03/942073

भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेका छौं : इमरान खान

१८ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण र सहयोगपूर्ण सम्बन्ध चाहेको बताएका छन् ।

पाकिस्तान दिवसको अवसरमा समकक्षी नरेन्द्र मोदीले दिएको शुभकामना पत्रको जवाफ लेख्दै खानले दक्षिण एसियामा स्थायी शान्तिका लागि भारत र पाकिस्तानबीचका सबै मुद्दा सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले लेखेका छन्, ‘पाकिस्तानका जनता भारतसहितका आफ्ना सबै छिमेकी देशका साथ शान्तिपूर्ण र सहयोगपूर्ण सम्बन्ध चाहन्छन् । दक्षिण एसियामा स्थायी शान्ति र स्थीरता भारत तथा पाकिस्तानबीचका सबै मुद्दा (खासगरी जम्मु र कश्मीरको विवाद) सुल्झाउनेसँग सम्बन्धित छ ।

प्रधानमन्त्री खानले सकारात्मक नतिजा निस्किने वार्ताका लागि अनुकूल वातावरण बनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

पाकिस्तानले २३ मार्चलाई गणतन्त्र एवम् पाकिस्तान दिवसको रुपमा मनाउने गर्दछ ।



source https://www.onlinekhabar.com/2021/03/942072

सिक्किमेली स्थानीय खाना : जसमा छिमेकी मुलुकको बढी प्रभाव देखिन्छ

सिक्किम भारतको उत्तर पूर्वी भेगमा अवस्थित एउटा राज्य हो । जुन केवल प्राकृतिक सौन्दर्यका लागि मात्र प्रसिद्ध छैन यहाँको परम्परागत खाना र संस्कारको लागि पनि यो विशेष मानिन्छ । तर त्यहाँका अधिकांश स्थानीय खानाहरू नेपालको स्थानीय खानासँग मिल्दाजुल्दा देखिन्छन् ।

सिक्किमेली खाना संस्कार छिमेकी देशहरू तिब्बत, नेपाल र भुटान जस्ता देशबाट प्रभावित रहेको छ । अहिले परम्परागत खानालाई म:म: थुक्पा जस्ता परिकारले विस्थापित गर्ने गरेको छ । तर त्यहाँका केही स्थानीय खाना भने स्वाद र सन्तुष्टिले पूर्ण छ ।

यहाँ धेरै चामल र मकैमा आधारित परिकारहरू पाइन्छ । यो विशेषता हो कि जुनसुकै खाना तयार पार्दा पनि चामल र मकैयुक्त परिकार पकाउने गरिन्छ । त्यहाँका थुक्पा र ममबाहेक केही लोकप्रिय व्यञ्जनहरू छन् जुन निम्नानुसार छन् ।

दालभात
नेपालको जस्तै दाल र भात सिक्किमको विशेष परिकार हो । भारतका अन्य राज्यहरूमा दाल र चावलको नामबाट चर्चित दाल, भात र तरकारी नै त्यहाँको महत्वपूर्ण खाद्य परिकार हो । यो धेरैको लागि सहज खाना मानिन्छ । उमालेको चामल र दालको सुप यो खानामा समावेश हुन्छ । दाल विभिन्न किसिमको हुन्छ ।

सेल रोटी
नेपालको जस्तै सेल रोटी पनि यहाँको स्थानीय खाद्य परिकार हो । यस्ता रोटीहरू चामल भिजाएर पिठो बनाउने एवं त्यही पिठोबाट सेल रोटी बनाइन्छ । सेल रोटीको प्रयोग शाकाहारी र मांसाहारी दुवैले खाजाको रूपमा खाना खाने गर्छन् । यद्यपि यो रोटी नेपाली चाडपर्वमा प्रयोग गर्ने रोटीको आकार र निर्माण विधिसँग मिल्दोजुल्दो छ ।

छुर्पीको सुप
सिक्किममा उच्च पहाडी भेग समेत रहेकोले छुर्पीको सूप पनि त्यहाँको विशेष परिकारको रूपमा चिन्न सकिन्छ । याकको दूधबाट बनाइने छुर्पीको सुप बनाएर खानु सिक्किमेहरूको परम्परागत खाना हो । यसलाई पेय पदार्थको रूपमा प्रयोग गरिन्छ ।

सिक्किम चिया
भिन्नखाले पारम्परिक कपमा वितरण गरिने सिक्किमेली चिया पनि फरक स्वादका कारण चर्चित छ ।

बाँसको तरकारी
नेपालमा पनि तामा बाँसको तरकारी खाने गरिन्छ। त्यसैगरी सिक्किमको पनि स्थानीय खानामा तामा समेत प्रमुख हुन्छ । काँचो बाँसलाई काटेर ल्याउने र बाँसको तीतोपन हटाउनका लागि बेसार राख्ने गरिन्थ्यो । यसलाई तामा करी भन्ने गर्छन् ।

फाली
सिक्किमको अर्को विशेष खाना हो फाली । तिब्बती क्षेत्रमा उत्पत्ति भएको यो परिकार मःमः जस्तैगरी पिठो भित्र मासु वा तरकारी राखेर पकाउने गरिन्छ। तर यसलाई तताउने नभई तेलमा पकाउने गरिन्छ ।

ढिँडो
यदि तपाईं शाकाहारी हुनुहुन्छ भने सिक्किममा तपाईंको उपयुक्त खानेकुरा भनेको ढिँडो हुन सक्छ । यो गहुँको आँटा, फापर, जौ आदिबाट पनि ढिँडो बनाउने गरिन्छ । यसलाई शाकाहारी सूपको साथमा खाने गरिन्छ ।

फागशपा
फागशपा एक मांसाहारी पकवान हो जुन सुगुरको मासुबाट बनाइएको हुन्छ । यो परिकारको लागि अत्यावश्यक अन्य दुई मुख्य सामग्री भनेको खुर्सानी र मूला हुन् । ग्रीष्म ऋतुमा यो उत्तम परिकारको रूपमा स्थानीयले खाने गर्छन् ।

किनेमा
किनेमा सिक्किमेलीहरूलाई मनपर्ने खानाहरू हुन्। यो सोयाबिनबाट बनेको हुन्छ । किनेमा पकाउँदा, सिमीको समेत प्रयोग गर्ने गरिन्छ । स्थानीयले चामलको साथ किनेमा खाने गर्छन् । केही शाकाहारीहरूले यसलाई मासुको विकल्पको रूपमा लिन्छन् । यो प्रोटिन युक्त खानेकुरा हो ।

नाकिमा
यो परिकार लिलियाकेसी परिवारसँग सम्बन्धित छ । यो दक्षिण एसिया क्षेत्रको सुमात्रा टापुसम्म पाइने एक किसिमको तरकारी हो। यो सिक्किममा खेती गरिन्छ र कम तापक्रम भएका क्षेत्रहरूमा व्यावसायिक खेती पनि गरिन्छ ।

वाकिपा
वाकिपा किरात राई समुदायमा चर्चित सिक्किमको एक विशिष्ट खाना हो ।



source https://www.onlinekhabar.com/2021/03/942057

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More