Monday 29 March 2021

दशरथ रंगशालामा उपाधि जित्दै सुखद बिदाइ, यस्तो रह्यो विराजको अन्तिम खेल

१७ चैत, काठमाडौं । खेल करिबर अन्त्यतिर थियो । नेपालले बंगलादेश विरुद्ध २-१ को अग्रता लिएको थियो र जित नजिक पुगेको थियो ।

यतिबेलासम्म नेपालले बंगलादेशसँग जित्दै त्रिदेशीय कपको उपाधि नजिक पुगेकाले नेपाली खेलाडी समर्थक सबै खुशी थिए । ८९औं मिनेटमा अर्को खुशी थपियो ।

नेपालकै सफल कप्तानको रुपमा रहेका विराज महर्जन त्रिदेव गुरुङलाई रिप्लेस गर्दै मैदान प्रवेश गर्ने तरखरमा थिए । उनीसँगै मैदान प्रवेश गर्न लागेका डिफेण्डर अजित भण्डारी रन्जित धिमालको स्थानमा मैदान छिरे । विराजको मैदान प्रवेश खेलको अन्तिम मिनेटमा भयो ।

किनकि रोहित चन्दले गोलकिपर कप्तान किरण चेम्जोङबाट आर्मब्याण्ड ल्याएर विराजलाई मैदान प्रवेश गर्नुअघि लगाइदिए । अनि विराज कप्तानको बर्मब्याण्डसहित मैदान प्रवेश गरे ।

खेलपछि कप्तान किरणले आफूले प्रतियोगिताअघि नै विराजलाई ट्रफीसहित बिदाइ गर्ने वाचा गरेको र त्यही अनुसार सफल भएको बताएका थिए । सायद त्यही भएर पनि हुन सक्छ । त्रिदेशीय कपमा किरण आधिकारिक कप्तान रहे पनि अन्तिममा विराजलाई आर्मब्याण्ड दिए ।

विराजले मैदान छिर्नुअघि दर्शकतिर फर्केर अभिवादन शैलीमा सबैलाई हात हल्लाए । उनले नियमित समयमाको अन्तिम मिनेट अनि थप गरिएको ६ मिनेट मैदानमा बिताए ।

यो पनि पढ्नुहोस घरेलु मैदानमा विराजको सन्यास

यो सबै विराजको अन्तिम अन्तर्राष्ट्रिय खेलको लागि रचिएको प्लट जस्तै थियो । कप्तानको रुपमा पहिलोपटक उपाधि जितेका किरणले ट्रफी विराजलाई नै डेडिकेट गरे ।

घरेलु मैदानमा फाइनल खेल्नु अनि बंगलादेशलाई हराउँदै उपाधि जित्नु र अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिनु । साँच्चै अविस्मरणीय नै बन्यो ।

खेलपछि विराजले भनेको एक वाक्यले पनि यसलाई पुष्टि गर्छ । ‘मेरो करियरमा धेरै उतारचढाव आए । तर आजबाट फुटबल पूरा भएको छ,’ महर्जनले भने , ‘मेरो लागि यो महत्वपूर्ण खेल थियो । मैले यो ठाउँसम्म आउने सोचेको थिएन । नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको छ । यो क्षण म बिर्सन सक्दिन । ‘

रेफ्रीले खेल सकिएको हुसिल बजाएपछि नेपाली बेन्चमा रहेका खेलाडी र अफिसियलहरु खुशी मनाउँदै मैदान प्रवेश गरे ।

अनि सबै टिममेटले विराजलाई काँधमा बोकेर रंगशालको ट्रयाक परिक्रमा गराए । उनले आशु थाम्प सकेनन् । बिदाइको माहोलमा आफूलाई रोक्न सकेनन् ।

घरेलु मैदानमा उपाधि जित्दै दर्शकको अघि सन्यास लिने मौका बिरलै खेलाडीले पाउँछ । नेपालका लेजेण्ड विराजले त्यो बिरलै अवसर पाए । साथै उनको अर्को अवसर पनि पाए ।

फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालमा पुगेका थिए । प्रधानमन्त्री ओलीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरणसमेत गरे ।

साथै विराजले पनि सन्यासको औपचारिकताको रुपमा रहेको ब्लेजर प्रधानमन्त्रीबाटै ग्रहण गरे । प्रधानमन्त्रीले विराजलाई ब्लेजर लगाइदिएपछि विराजले अन्तर्राष्ट्रिय फुटबल करियरको अन्त्य गरे । शालिन मिहिनेती दुवै खुट्टाले खेल्न सक्ने र अनुशासित खेलाडी विराजले अब नेपाली राष्ट्रिय टिमको जर्सी लगाएर फेरी खेल्ने छैनन् । तर उनी फुटबलमा कुनै न कुनै भूमिकामा भने रहनेछन् ।

सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलमार्फत डेब्यु गरेका विराजले नेपालका लागि सर्वाधिक ७३ खेल खेले । उनले नेपालका लागि एक गोलसमेत गरेका छन् । नेपालले तीन महत्वपूर्ण उपाधि जित्दा कप्तान रहेका विराजलले त्रिदेशीय कपको रुपमा चौथो उपाधि जिते ।

उनले घरेलु फुटबलमा पनि तीन फरक क्लबबाट ए डिभिजन लिगको उपाधि जितेका छन् ।



source https://www.onlinekhabar.com/2021/03/941786

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More