Tuesday 31 December 2019

रसुवागढी जोड्न टोखामा सुरुङमार्गको अध्ययन गर्दै चिनियाँ टोली

१६ पुस, काठमाडौं । काठमाडौंलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चीनबाट सुरुङमार्ग विज्ञसहितको प्राविधिक टोली नेपाल आएर अध्ययन थालेको हो ।

टोलीले प्रस्तावित टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) खण्डको प्रारम्भिक अध्ययन गर्नेछ । टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटरको सुरुङमार्गको प्रस्ताव गरिएको छ ।

तर, बेत्रावती–रसुवागढी (घट्टेखोला)लाई सरकारले उच्च प्राथमिकतामा राखेको छैन । किनभने यो खण्डमा नेपाली सेनामार्फत हालसालै सडकको ट्रयाक खोलेर स्तरोन्नतिको काम हुँदैछ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार टोलीले सुरुङमार्ग निर्माणका लागि प्रस्तावित स्थानहरूको नाप नक्सा लिने र अवलोकन गर्ने काम सुरु गरेको छ ।

‘सुरुङमार्गको अध्ययन गर्न आइपुगेको चिनियाँ टोली प्रारम्भिक तवरको तयारी र अध्ययनमा व्यस्त छ,’ उनले भने, ‘टोलीले कसरी कहिलेसम्म अध्ययन सकाउँछ भन्ने एकीन छैन ।’

असोज चौंथो साता चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको छ । यो समझदारीअनुसार सुरुङमार्ग बनाउन लाग्ने अध्ययन खर्च चीनले नै बेहोर्छ । चीनले प्रारम्भिक अध्ययन सकाएर रिपोर्ट दिएपछि फेरि यी सुरुङमार्गको डीपीआर बनाउने प्रक्रिया सुरु हुनेछ । डीपीआर बनेपछि बल्ल निर्माण मोडालिटीमा छलफल हुनेछ ।

सरकारले यो सुरुङमार्ग पनि चीनले नै बनाइदिने अपेक्षा राखेको छ । तर, यसबारेमा कुनै पनि तवरमा नेपाल र चीनले छलफल गरेका छैनन् । यो सुरुङमार्ग निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बनाउन चिनियाँ कम्पनीहरूले पनि इच्छा देखाएका छन् ।

नेपालले गरेको प्रारम्भिक अध्ययनले यो आयोजना सम्भाब्य भएको देखाईसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने सुरुङमार्ग करिब चार दशमलव दुई किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दूरी घटाउन सकिने विभागको भनाइ छ ।

टोखाबाट थानसिंह फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेंसी खण्डमा जोडिनेछ । सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । सडक विभागले यो सडकलाई यसै वर्षबाट पिच सुरु गर्दैछ । त्यसैमा लगेर टोखाबाट जाने सडकलाई जोडिनेछ ।

स्याफ्रुदेखि रसुवागढीसम्म भने चीनले अहिले सडक विस्तारको लागि काम थालेको छ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक सवारी पनि दुई घण्टामै पुग्न सक्ने विभागको भनाइ छ ।

यदि काठमाडौंसम्म सहज खालको दुई लेनको बाटो बनाउन सकियो भने चीनसँग नेपालको ब्यापार सहजीकरणमा पनि मद्दत पुग्ने भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

नेपाललाई के फाइदा ?

चीनले रसुवागढी जोड्ने गरी नेपालमा सुरुङमार्ग निर्माणमा पहिलोपटक चासो देखाएको छ । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छोडेको थियो ।
त्यसकै विकल्पमा रसुवाको केरुङवारिको रसुवागढी नाकालाई चीनले अघि सारेको हो । तर यो नाकासम्मको सडक बिजोक हालतमा रहेकाले यसको स्तरोन्नति गर्नुपर्ने आवश्यकता चीनलाई भन्दा बढी नेपाललाई छ ।

प्रस्तावित सुरुङमार्ग बनेपछि तिब्बतबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिने मालबाहक सवारी मात्रै नभएर चिनियाँ पर्यटककको संख्यामा पनि वृद्धि हुने अपेक्षा छ । पछिल्लो समयमा तिब्बतबाट केरुङ नाका भएर नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक पनि बढ्दैछन् । तर, नेपालतर्फका सडकको दुरावस्थाले धेरै पर्यटकलाई स्थलमार्ग भएर आउन रोक्ने गरेको छ ।

सडक विभागका अनुसार अहिले मालबाहक सवारीलाई रसुवागढीबाट काठमाडौं आइपुग्न १२० किलोमिटरको कष्टकर यात्रा तय गर्नपर्छ । उकालो–ओरालो, घुम्तीयुक्त सडकमा पहिरोको जोखिम उच्च छ भने धादिङको गल्छी आईपुग्दासम्म साँघुरा पुल र सडकका कारण सवारीलाई ६ घण्टा बढी समय लाग्छ ।

यो योजना पुरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दूरी करिब ८० किलोमिटरमा छोट्टिने विभागका केशवकुमार शर्मा बताउँछन् । उनका अनुसार अब सुरुङसहित दुई लेनको सहज मार्ग निर्माणका लागि विस्तृत अध्ययन हुनेछ ।

केरुङ नाकासम्मको सडकको दुरवस्थाले अहिले पनि पटक–पटक दुःख दिने गरेको छ । सडकमा पहिरो खसिरहने कारण यो सडकमार्गमा दुर्घटनाको जोखिम पनि उच्च छ । प्रस्तावित सुरुङसहितको सडकमार्ग निर्माण भएपछि समग्र आपूर्ति व्यवस्थामा सुधार आउने र नाकाबन्दीजस्तो असहज अवस्था आएमा विकल्प पनि दिनेछ ।



source https://www.onlinekhabar.com/2020/01/824844

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More