१२ पुस, काठमाडौं । पाल्पाको हेक्लाङ भन्ने गाउँमा बस्थिन् एक वैद्य । गाउँलेहरुले उनलाई ‘डाक्टरनी’ भन्थे । विभिन्न समस्या लिएर आउने बिरामीलाई उनी बिनापरिक्षण रोग पहिचान गरी औषधि दिएर निको पार्थिन् ।
उनैका नाति हुन् डा. अच्युत अधिकारी । सानैदेखि हजुरआमाको कौशल देखेका उनमा आयूर्वेदिक जडिबुटीप्रति मोह पलायो । कालान्तरमा उनै अच्युतले पत्ता लगाए टिमुरमा रहेको ‘टम्बुलिन’ नामक रसायन । त्यसबाहेक पाए अन्तर्राष्ट्रिय पुरस्कार । तर, यहाँसम्म आउनका लागि उनले गरेका अध्ययन-अनुसन्धानाको आफ्नै पाटो छ ।
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको रासायनिक पदार्थ दुनियाँलाई चिनाए ।
यद्यपि, हजुरआमाको त्यो दक्षताबारे उनलाई अहिले पनि कौतुहलता जाग्ने गर्छ । आखिर पहिलेका मानिसहरुले कसरी यस्तो रोग पत्ता लगाउँथे ? जसमा साइड इफेक्टको कुरै थिएन भने निको हुँदैन कि भन्ने पनि शंका पनि थिएन ।
ती दुई घटना
सानै हुँदा अच्युतलाई एकपटक दाँतको दुखाईले सतायो । गाउँको नामुद आयुर्वेदका ज्ञाता ‘चापै ठूल्बा’ कहाँ पुगे । त्यतिबेला ठूल्बाले के बुटी दिए कुन्नी दुखाई निमिट्यान्न भयो । त्यसयता अहिलेसम्म आफूलाई कहिल्यै दाँतको समस्या नभएको उनी बताउँछन् ।
तर, ठूल्बाको त्यो विद्या उनको मृत्युसँगै विलायो । त्यसपछि गाउँमा कसैले पनि त्यो विद्या सिक्न सकेनन् । यसप्रकार ज्ञानको अभावमा बहुमूल्य आयुर्वेदिक औषधिहरुको लोप हुने चिन्ताले गर्दा नै आफू नेपालको आयुर्वेदिक औषधिहरुको खोजीतर्फ मोडिएको बताउँछन् डा. अधिकारी ।
अलि ठूलो भएपछि उनको मस्तिस्कमा आयुर्वेदले अर्काे छाप छोड्यो । एक दिन छिमेकी काकीको खुट्टा सुनिएर हिँड्नै नसक्ने भएकी थिइन् । उनी गाउँको एउटा मात्रै आयुर्वेदिक औषधालयको रुपमा रहेको अधिकारीको घरमा आइन् । उनलाई आयुर्वेदका जानकारहरुले ‘अराली काँडा’ भन्ने जडिबुटीको जरा थिचेर लगाउन सुझाव दिए ।
अधिकारीका लागि त्यो आयुर्वेदको परीक्षणको अर्को मौका थियो । उनी आफैं गएर अरालीको जरा खनेर ती काकीलाई दिए । त्यो जरालाई कुटेर लगाएपछि उनको त्यो रोग पूर्ण रुपमा निको भयो । यसले उनमा आयूर्वेदप्रतिको विश्वास अझै प्रबल बन्यो ।
तर, समाजले आयुर्वेदलाई मात्रै पूरा विश्वास गर्ने अवस्था थिएन । समाजलाई विश्वास दिलाउनकै लागि भए पनि उनले आधुनिक विज्ञानको माध्यमबाट जडिबुटीको महत्व स्थापित गराउने चलाखीपूर्ण बाटो रोजे ।
अच्युतलाई वैज्ञानिक खोजीमा प्रेरित गर्ने अर्को एउटा चिज छ । त्यो हो खयरको बोक्रा । उनी सानै छँदा हजुरआमाहरुले खयरको बोक्रालाई पेय पदार्थको रुपमा पिउने गरेका देख्थे । यसले मधुमेह, कलेजो र मृगौला रोगलाई नियन्त्रण गर्छ भन्ने मान्यता थियो । त्यो पनि अधिकारीको लागि एउटा कौतुहलताको विषय बन्यो ।
१७ वर्षमै अध्यापक
उनको गाउँमा रहेको निम्न माध्यमिक विद्यालयलाई माध्यमिक गराउन धेरै प्रयास भइरहेको थियो । त्यसले सार्थकता पनि पायो तर, शिक्षक थिएनन् । शिक्षकको अभावले कारण स्कुल चलाउन समस्या हुँदै थियो । यता काठमाडौंमा अच्युतले आइएस्सी सकेर बसेका थिए ।
स्कूल पढ्दादेखि नै विज्ञान र गणित विषयमा बढी दख्खल भएका आइएस्सी सकेका उनलाई गाउँमा डाकियो । त्यतिबेला उनी १७ वर्षका थिए । गाउँवासीको आग्रहमा उनले आफैंले पढेको स्कूलमा शिक्षक बनेर पढाउन थाले ।
साथीहरु उनलाई ‘फुच्चे मास्टर’ भनेर गिज्याउने गर्थे । त्यसले उनलाई लाज होइन, गर्व लाग्थ्यो । उनलाई त्यही उपनाम प्यारो लाग्न थाल्यो । उनी आफूभन्दा दोब्बर उमेरका गुरुहरुसँगै अध्यापन गराउन पाउँदा आफूलाई भाग्यमानी ठान्थे ।
तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झम्कनाथ पौड्याल पनि विभिन्न रोगमा आयुर्वेदिक औषधिलाई नै प्राथमिकता दिन्थे । अच्युतले पौड्यालबाट पनि आयुर्वेदिक औषधिहरुको विषयमा धेरै ज्ञान पाए । केही समय विद्यालयमा पढाएपछि थप अध्ययनको लागि उनी तानसेन झरे । पछि उच्च शिक्षाको लागि काठमाडौं आए ।
काठमाडौंमा प्रशोधित औषधिको व्यापकता देखेपछि उनमा आयूर्वेदिक औषधिको नयाँ खोजीको चाहना झन् तीव्र भयो । काठमाडौंमा बस्दा औषधि उद्योगमा नै काम गरे उनले ।
बिएस्सी र एमएस्सी सकेर विद्यावारिधिको लागि उनी पाकिस्तान गए । सीमाना फेरियो तर संकल्प फेरिएन । त्यहाँ रहँदा पनि नेपाली औषधिहरुको खोजीमा तल्लिन रहन्थे उनी । लगनशिलता र दृढसंकल्पका कारण उनले एउटा सुविधासम्पन्न प्रयोगशालासहित अध्ययन गर्ने अवसर पनि पाए । त्यसैबाट एउटा अन्वेषकको अन्वेषण सुरु भयो ।
उनले पाकिस्तानमा इन्टरनेशनल सेन्टर फर केमिकल बायोलोजी साइन्सेसबाट विद्यावारिधि गरे । त्यहाँबाट ब्राजिल गएर साओपाओ विश्वविद्यालयमा पोस्ट डक्टरेट गरे । फेरि सन् २००९ मा पाकिस्तान फर्केर त्यहाँको एउटा कलेजमा उपप्राध्यापकको रुपमा जागिर सुरु गरे ।
उपप्राध्यापक भएपछि उनले त्यहाँ एउटा प्रयोगशालामा अन्वेषण गर्ने अवसर पाए । यो प्रयोगशाला युनेस्कोको दक्षिण एशियाको केन्द्रकै रुपमा रहेकोले सुविधासम्पन्न थियो ।
टिमुरको खोज
अट्टा-उर-रहमान पुरस्कार-२०१९ को लागि अधिकारी छनोटमा परे । युनेस्कोले लगानीमा उसकै भगिनी संस्था एकेडेमी अफ साइन्सेस फर डेभलपमेन्ट वल्र्डको छनोटमा विकासोन्मुख देशहरुका युवा वैज्ञानिकहरुलाई यो पुरस्कार दिइन्छ । पछिल्लो समय टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोको रोग, दाँत खिइने तथा दाँत सम्बन्धी र झाडापखालामा प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायनको खोजी गरेबापत उनले सो पुरस्कार पाएका हुन् ।
आफ्नो अध्ययनमा टिमुरलाई नै रोज्नुको पछि पनि छुट्टै कारण रहेको अधिकारी बताउँछन् । उनले भने, ‘टिमुरको बारेमा आयुर्वेदमा धेरै कुरा लेखिएको छ । गाउँघरमा पनि टिमुरले कलेजोको सुरक्षा, रक्तचाप नियन्त्रण, पेट सम्बन्धी रोगलाई निको पार्ने मान्यता छ । त्यसैले मलाई यसप्रति बढी कौतुहल थियो ।’
कसरी भयो त टिमुर भित्रको रसायनको वैज्ञानिक खोजी ?
पाकिस्तानमा रहँदा सन् २०१३ देखि नै आफू निरन्तर टिमुर माथिको अध्ययनमा केन्द्रित भएको अधिकारी बताउँछन् । आयुर्वेदमा भनेजस्तै यसले विभिन्न किसिमका गम्भीर रोगहरुलाई निको पार्न सक्छ कि सक्दैन ? रक्तचाप नियन्त्रण गर्छ कि गर्दैन ? भन्ने बारेमा अध्ययन गर्नको लागि त्यसको नमूना परीक्षण पाकिस्तानमा नभएपछि अन्य देशमा पठाए उनले ।
अधिकारीका अनुसार रक्तचाप नियन्त्रणको परिक्षणका लागि त्यसको नमूना फ्रान्स पठाइएको थियो । सुँगुरको मुटु काटेर त्यसको परीक्षण गरिएको थियो ।
सोही जडिबुटीबाट मधुमेह र पेट सम्बन्धी रोगमा कस्तो प्रभाव पार्छ ? भन्ने विषयमा पाकिस्तानमा नै परीक्षण गरियो । धेरै कुरा त्यही प्रयोगशालामा पनि तयार पारियो । तर, मधुमेहको विषयमा राम्रो जानकारी नआएको भनेपछि यसको थप परीक्षण र अध्ययनको लागि रिपोर्ट जापान लगिएको उनले बताए ।
अधिकारी भन्छन् ‘अझै पनि यसको अध्ययन सकिएको छैन । आयुर्वेदले टिमुर लेक लाग्ने समस्याको लागि पनि फाइदाजनक रहेको उल्लेख गरेको छ । यसबारे अझै खोज गर्न बाँकी छ ।’
यस विषयमा अध्ययन गर्न नेपालमा गुणस्तरीय प्रयोगशाला नभएकोले दिल्लीको साउथ इण्डियन विश्वविद्यालयमा पुगेका छन् उनी । त्यहाँ अध्यापनरत नेपाली प्राध्यापक युवराज पोखरेलको सहकार्यमा टिमुरको कुन रसायनले लेक लाग्नबाट रोक्छ भन्ने बारे अन्वेषण भइरहेको अधिकारीले जानकारी दिए ।
यो सुरुवात मात्र हो
सन् २०१३ बाट अध्यापन सुरु गरेका अधिकारी पाकिस्तानको सो इन्स्िटच्यूटमा सहप्राध्यापकमा छनोट भइसकेका थिए । उनको तलब पनि झण्डै साढे २ लाखको हाराहारीमा हुने गर्थ्यो । तर, उनी त्यो सुविधा र पदलाई छाडेर नेपाल आए ।
उनी भन्छन् ‘त्यहीँ बसेको भए केही महिनापछि नै म प्राध्यापक हुने लाइनमा थिएँ । तर, मलाई आफ्नै देश फर्किन मन लाग्यो ।’
नेपालका विभिन्न किसिमका जडिबुटीहरुमा १४ वर्षसम्मको अध्ययनबाट १०० बढी कृतिहरुको प्रकाशन गरिसकेका छन् उनले । यो आफ्नो सुरुवात मात्र भएको बताउने अधिकारी अब बल्ल वैज्ञानिक अन्वेषणको वास्तविक यात्रा सुरु हुने प्रष्ट पार्छन् ।
उनी भन्छन्, ‘एउटा अध्ययन सकियो, अब म विश्राम लिन्छु भन्ने खालको यात्रा होइन यो । एउटा समस्या समाधान गरेँ भने अर्को नयाँ विषय निस्किहाल्छ ।’
टिमुरमा नै अझै धेरै अध्ययन गर्नुपर्ने उनी बताउँछन् । त्यसबाहेक नेपालमा उत्पादन हुने अदुवा, दालचिनी, कफी, मह, चिया, च्याउ लगायतको बारेमा पनि धेरै अध्ययनहरु गर्नुपर्ने आवश्यकता रहेको औंल्याए उनले ।
‘आफैंले जति सकिन्छ त्यति गर्ने हो । यसमा कसैले लगानी गर्दैन । विद्यार्थीहरुको सहयोगमा आफैं खटिएर यसको अध्ययन गर्नुपर्ने अवस्था छ,’ उनी भन्छन् ।
source https://www.onlinekhabar.com/2019/12/823769
0 comments:
Post a Comment