Saturday 19 September 2020

उहिले भैंसीको ढाडमा चित्र कोर्थे, अहिले सौराहा सिँगारे

४ असोज, चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्य हो, सौराहा । यहाँका होटलका अधिकांश होटलका भित्तामा आकर्षक चित्रहरू बनाएको देख्न पाइन्छ । रैथाने जाती थारु र बोटेको संस्कृति, उनीहरुको रहनसहन र जंगली जनावरहरूका आकर्षक चित्रहरुले यहाँ आउने जो कोही पर्यटकको ध्यान खिच्छ ।

यहाँका होटलका झण्डै ८० प्रतिशत चित्र सौराहा बछ्यौलीका कृष्णप्रसाद तिवारी (केपी)ले कोरेका छन् । विगत २७ वर्षदेखि सौराहालाई नै केन्द्र बनाएर चित्र बनाउँदै आएका उनले यही कर्मबाट आफ्नो सात जनाको परिवार पालेका छन् । यसैबाट छोराछोरी पढाएको र घडेरी किनेर घर बनाएको उनले बताए । ‘चित्र बनाएर महिनामा कम्तीमा ५०÷६० हजारदेखि एक लाखसम्म कमाउँछु,’ उनले सुनाए ।

साढे दुई दशकभन्दा लामो पेशामा उनलाई यति नै चित्र बनाएँ भन्ने हेक्का छैन । तर, देशका विभिन्न ठाउँमा गएर चित्र बनाउँदा फरक–फरक अनुभूति उनले संगालेका छन् र सौराहासँग अमिट साइनो गाँसेका छन् ।

‘भूगोलअनुसार चित्रको आकृति र वस्तु फरक–फरक पर्छ,’ उनी भन्छन् । चित्र तयार गरेपछि उनले तल आफ्नो नाम लेख्छन् । कतै–कतै फोन नम्बर पनि राख्छन् । धेरैजसोले उनले बनाएको चित्र हेरेर आफैले सम्पर्क नम्बर पत्ता लगाएर चित्र बनाउन बोलाउने गरेको केपीले सुनाए । विश्वास गरेर काम दिनेहरूलाई आफूले सन्तुष्ट पार्ने र चित्त बुझाउने उनी बताउँछन् ।

उनका अनुसार ठाउँ अनुसार चित्रहरूको माग हुने गर्दछ । ‘सौराहासहितका तराईका क्षेत्रमा आदिवासी थारू जातिको संस्कृति झल्काउने चित्र र बन्यजन्तुको बढि चल्छ । पोखरा, काठमाडौं लगायतका सहरमा नेवार तथा गुरुङ जातिको संस्कृति, हिमाल, तालतलैया, नदीनाला र हरियाली पहाड झल्किने चित्रहरु बढी चल्छन्,’ उनले सुनाए । फोटो खिच्ने वा पोस्टकार्ड ल्याएर त्यसलाई चित्रमा उतार्ने गरेको केपीले बताए । पूर्वको ताप्लेजुङदेखि पश्चिमको बर्दियासम्म गएर चित्र बनाएको अनुभव उनले संगालेका छन् । एकै ठाउँमा तीन महिनासम्म काम गरेको अनुभव पनि केपीले सुनाए ।

त्यसो त उनले क्यानभास चित्र नबनाउने भने होइन । भित्तामा भन्दा क्यानभास चित्र बनाउन सहज लाग्छ । उनले क्यानभासमा उतारेको चित्र विदेशमा समेत जाने गरेको छ । क्यानभासको चित्र विशेष अर्डरमा मात्रै बनाउने गरेको केपीले बताए । ‘भित्तामा चित्र बनाउने काम नै भ्याइनभ्याइ छ, अहिले लकडाउनले गर्दा त्यति बाहिर जान पाएको छैन, नत्र म यतिबेलामा घरमा हुन्थिनँ, अन्यत्रै बाहिर हुन्थेँ,’ उनले भने, ‘यतिबेला खासै काम नभएकाले कमाइ पनि छैन ।’ मुगुको रारामा चित्र बनाउन जाने योजना कोरोना भाइरसले रोकिएकाले यतिबेला केही फुर्सदिलो बनेको उनले बताए ।

उनका अनुसार घाम र पानी नपर्ने ठाउँमा बनाइएको इनामेल पेन्ट १२÷१५ बर्षसम्म टिक्छ नभए दुई–तीन वर्षमा खुइलिन्छ ।  क्यानभास चित्र वर्षौंवर्षसम्म टिक्छ । भित्तामा एक दिनमा एउटा चित्र बनाउन सकिनेले उनले बताए । ‘पेन्ट चित्रमा इनामेल सुक्ने हुँदा एकैदिन सक्नुपने दबाब पनि हुन्छ,’ उनी भन्छन् ।

उनले चित्र बनाएर पुरस्कार लिएका छैनन् । त्यति रुचि पनि छैन । विभिन्न प्रदर्शनीमा भाग लिँदा चित्र नै चोरी हुन थालेपछि जान छाडेको तीतो भोगाइ उनीसँग छ ।

सौराहासहित देशका विभिन्न ठाउँमा गएर ४÷५ सय ब्यक्तिहरुलाई चित्रकारिताका बारेमा सिकाएको उनले बताए । तर, ब्यवासयिक रूपमा अभ्यास गर्नेहरु निकै कम छन् । उनी भन्छन्, ‘चित्र बनाउने भन्ने कुरा जबरजस्तीले हुँदैन, भित्रैबाट आउनपर्छ भगवानले दिनुपर्छ, साधना पनि चाहिन्छ ।’

‘भैंसीको ढाडमा चित्र बनाउथें’

बाल्यकालदेखि नै चित्र बनाउन रूचाउने तिवारीलाई पढ्नमा भने पटक्कै ध्यान थिएन । पढ्न छाडेर छोराले चित्र बनाउने गरेकोमा बुबा–आमाको हातबाट उनले पटकपटक कुटाइ पनि खाए । गोठालो जाँदा भैंसीको ढाडमा सुख्खा माटोले चित्र बनाउने गरेको उनी सम्झन्छन् । ‘पाँच–सात वर्षको उमेरदेखि नै मलाई चित्र बनाउने निकै रूचि थियो, फुर्सद भयो की केही न केही बनाइहाल्ने,’ केपी भन्छन्, ‘विद्यालयमा पढ्न लगेका कापी दुई दिनमै सकिन्थे चित्र बनाएर ।’

८ कक्षाभन्दा माथि उनको पढाइ उक्लिन सकेन । चाख पनि बसेन । केही ठूलो भएपछि पैसा कमाउन भन्दै लहैलहैमा भारतको केरला पुगे । ‘वाच म्यान’को काम गर्दासमेत चित्र नै बनाउने र अरूलाई बेच्ने गरेको उनी स्मरण गर्छन् । स्वदेश फर्किएर चित्रकारिता नै गर्ने अठोट लिएर उनी चार वर्षपछि गाउँ फर्किए । त्यसपछि निरन्तर साधनामा लागेर आकर्षक चित्र बनाउन सक्ने सवल र सक्षम कलाकारको रूपमा उनले आफूलाई प्रमाणित गरे । जागिर खाने सोच भारतबाट नेपाल फर्किएपछि कहिल्यै नआएको उनी बताउँछन् ।

सौराहाका लागि केपी, केपीका लागि सौराहा

सौराहामा ११० होटल र थुप्रै संख्यामा रेष्टुरेन्टहरू छन् । ती होटल तथा रेष्टुरेन्टका अधिकांश भित्तामा केपीले आफ्नो सिर्जना पोखेका छन् । घर नजिक सौराहा हुँदा उनले आफ्नो साधना र सीपलाई निखार्ने अवसर मात्रै पाएनन्, सौराहा जीवन जीउने आधार पनि बन्यो । सौराहामा व्यवसायीक रूपमा चित्र बनाउन थालेपछि उनलाई पछाडि फर्किएर हेर्नुपरेन ।  ‘सौराहा नहुँदो हो त मैले मेरो कलाकारीता कहाँ देखाउन पाउँथे र ? खेती किसान गर्ने आम किसान बन्थेँ होला,’ केपी भन्छन्, ‘सौराहाले मेरालागि सबैथोक दिएको छ, मलाई चिनाएको छ, उजिल्याएको छ, पहिचान दिएको छ, म सौराहासँग कृतज्ञ छु ।’

होटल पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनाल सौराहाका लागि केपी वरदानजस्तो भएको बताए । ‘उनी राष्ट्रका गहना हुन् जस्तो लाग्छ, मोसफलमा भएर केही ओझेलमा परे, उनी आफंै पनि तडकभडक र प्रचार रुचाउँदैनन्,’ खनाल भन्छन्, ‘उनको सिर्जनाले सौराहा सिँगारिएको छ ।’

पहिला–पहिला चित्र बनाएर बाँच्न गाह्रो भए पनि अहिले भने विस्तारै सहज हुँदै गएको अनुभव केपीले गरेका छन् । ‘मान्छेहरू सौखिन पनि हुन थाले, देश–विदेश पनि देखे, पैसा पनि हुन थाल्यो, पहिला खान लगाउन समस्या थियो, चित्र कहाँबाट किन्नु,’ उनी थप्छन्, ‘अहिले चित्रको मूल्य हुँदो रहेछ, सिर्जनाको महत्व छ भन्ने महसुस धेरैलाई हुन थालेको छ, सम्मान पाइन्छ ।’

पैसाको चिन्ता नगर्नेहरुले राम्रो बनाउन केपीलाई नै खोज्छन् । फरक खालको काम आउँदा उनलाई रमाइलो लाग्छ । ५० वर्ष पुगिसकेका केपीलाई अझै गाह्रो र नयाँ–नयाँ काम गर्ने धोको छ । उनी भन्छन्, ‘जीवन छउञ्जेल रहर कहिल्यै पूरा हुँदो रहेनछ ।’



source https://www.onlinekhabar.com/2020/09/897661

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More