Tuesday 26 April 2022

कर्णालीमा रहेन सत्ता गठबन्धन, एक्ला एक्लै उम्मेदवारी

१३ वैशाख, सुर्खेत । सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णाली प्रदेशका आठ जिल्लामा सोमबारमात्रै जिल्लास्तरमा भागबन्डाको टुंगो लगाएर पठाएको थियो । उक्त सहमति पालिकामा कायम रहन् सकेन् ।

सत्ता गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका ७९ मध्ये ६४ पालिकामा सिट बाँडफाँट गरेर साझा उम्मेदवार उठाउन प्रदेश संयन्त्रले निर्देशन दिएका थियो । तर, अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ ।

देशैभर गठबन्धन मिलाउने जिम्मा पाएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेत र रुकुम पश्चिममा भने गठबन्धनका दलहरूबीच तालमेल नै हुन सकेन । दलहरूले एक्ला एक्दै उम्मेदवारी दिएका छन् ।

प्रदेशका कतिपय पालिकामा गठबन्धनभित्र पनि गठबन्धन गरिएको छ । कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भएका भएका छन् ।

दैलेखमा दलबदल गरेर उम्मेदवारी

दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाटै छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ । नारायणमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गरिएको भागबन्डा  अनुसार कांग्रेसबाट मेयरमा निर्मला खड्का र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको मनोनयन दर्ता भएको छ ।

अन्य स्थानीय तहमा गठबन्धनमा रहेका दलहरूले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । जिल्लाको भैरवी गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसले पाउने गरी गठबन्धन दलबीच सहमति भएको थियो । तर, दलहरूले छुटाछुटै उम्मेदवार उठाएका छन् ।

कांग्रेसबाट अध्यक्षमा रीता शाही र उपाध्यक्ष्मा देवी भण्डारीले उम्मेदवारी दिएकी छिन् भने माओवादी केन्द्रले पनि अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएको छ । त्यस्तै एकीकृत समाजवादीका जगतप्रसाद आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनको सहमति अनुसार नौमुले गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले पाउने टुंगो लागेको थियो । तर कांग्रेसबाट अध्यक्षमा मदे बुढा मगर र उपाध्यक्षमा अंमृता सिहंले उम्मेदवारी दिएकी छिन् । यी दुवैजना दुवै जनाले २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।

त्यस्तै माओवादीबाट पनि छवि सुवेदीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीबाट गंगबहादुर शाहीले उम्मेदवारी दिएका छन् । यहाँ माओवादी र समाजवादीबीच गडबन्धन गरिएको छ ।

समाजवादीबाट उपाध्यक्षमा उम्मेवदारी दिएका शाही नेपाली कांग्रेस नौमुले गाउँपालिकाको पार्टी सभापति थिए । उनी पार्टीले टिकट नदिएपछि सोमबार नै राजीनामा दिएर समाजवादीमा लागेका थिए ।

डुंगेश्वर गाँपालिकामा कांग्रेसकी एलिजा थापाले बागी उम्मेदवारी दिएकी छिन् । त्यहाँ अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले पाउने गठबन्धन दलबीच सहमति भएको थियो । तर कांग्रेसले दुवै पदमा उम्मेदवारी दिएको छ ।

अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसले पाउने सहमति भएको महावु गाउँपालिकामा दुवै पार्टीले दुईवटै पदमा उम्मेदवारी दिएका छन् । समाजवादीका जंगबहादुर शाही अध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्षमा पुण्य प्रभा दशौदी छिन् । नेपाली कांग्रेसकी केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेकी दशौदी समाजवादीमा प्रवेश गरेर उपाध्यक्ष बनेकी छिन् ।

कांग्रेसबाट अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा मन्जु पाण्डेले उम्मेदवारी दिएकी छिन् ।
कांग्रेसले दैलेखमा सत्ता गठबन्धन दलहरूबीचको भागबन्डा अनुसार आफ्नो उम्मेदवारहरू कायम गर्न निर्देशन दिएको छ ।

हुम्लाका सबै पालिकामा बागी उम्मेदवार

सात स्थानीय तह रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको छ । ताँजाकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका  कर्णाली प्रदेशका सह-सचिव लालकेश जैसीले मनोनयन दर्ता गरेका छन् । टिकट नपाएपछि माओवादी केन्द्रकै गोपाल बुढा र अकबिर खडकाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा उम्मेदवार बनेका छन् । उपाध्यक्षमा कांग्रेसका तिलकबहादुर शाहीले पनि उम्मेदवारी दिएका छन् ।

अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फ अध्यक्षमा कांग्रेसका मोहनबिक्रम सिहं र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकायाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट रुष्ट रहेका लोकेन्द्रबहादुर भण्डारीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष माओवादीका गोविन्दबहादुर शाही, गठबन्धनकै उपाध्यक्षमा कांग्रेसकी मैना बुढाको उम्मेदवारी परेको छ । गठबन्धनबाट रुष्ट प्यारीलाल शाहीले अध्यक्ष र माओवादीका भैरव तामाङले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ । एमालेबाट अध्यक्षमा विमलाकुमारी शाही र समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।

सर्केगार्ड गाउँपालिकामा कांग्रेसकै मानदेव शाही र माओवादी केन्द्रका अकिल बुढाको स्वतन्त्र उम्मेदवारी परेको छ । उपाध्यक्षमै स्वतन्त्रमा ज्योति शाहीले पनि उम्मेवारी दिएकी छन् ।

खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कांग्रेसका अंगबहादुर शाहीले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सिमकोट गाउँपालिका कांग्रेसकै नन्दबहादुर शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तैगरी उपाध्यक्षमा पनि कांग्रेसकै दीपबहादुर शाहीले उम्मेदवारी दिएका छन् । नाम्खा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट स्वतन्त्रमा सूर्य लामा, कार्मा टुण्डुप लामा र कांग्रेसकै माया लामाले मनोनयन दर्ता गराएकी छिन् ।

कालीकोटमा माओवादी र एमालेबीच तालमेल

कालीकोटमा ९ वटा पालिकामध्ये अधिकांश पालिकाहरूमा गठबन्धनका दलहरुबीच अलग-अलग उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रका कालीबहादुर महतारा र हजार सुनारले रास्कोट नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् । रास्कोटमा गठबन्धनका तर्फबाट माओवादीका मेयरमा धर्मराज शाही र उपमेयरमा एकीकृत समाजवादीका मनिराज बरालले उम्मेदवारी दिएका छन् । गठबन्धन दल कांग्रेसबाट नवराज बरालले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिका पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

महावै गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन गरिएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट खेमबहादुर सिंह (भिजन) र एमालेबाट उपाध्यक्षमा दानसिंह सेजुवालले साझा उम्मेदवारी दिएका छन् । माओवादी बलियो रहेको महावैमा एमालेवीच तालमेल भएको हो ।

जाजरकोटका पाँच पालिकामा भाँडियो गठबन्धन

सात वटा पालिका रहेको जाजरकोटमा छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा गठबन्धन भएको छ । तर अन्य पाँच पालिकामा भने कतै बागी त कतै छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

सदरमुकाम भेरी नगरपालिकामा गठबन्धनको सहमति अनुसार मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसले पाउने छन् । तर नेकपा माओवादी केन्द्रले मेयर र उपमेयर कुनै पद नपाएपछि गठबन्धनबाट बाहिरिएर उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका कमान खड्का र उपमेयरमा कांग्रेसकी सीता जैसीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट गगन खड्काले मेयरमा र कृष्ण शर्माले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका सदन कार्कीले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

नलगाड नगरपालिकामा कांग्रेसभित्रै किचलो देखिएको छ । माओवादीले मेयर र कांग्रेसले उपमेयर पाउने गठबन्धनबीच सहमति भए पनि कांग्रेसका तीन जनाले मेयरमा उम्मेदवारी दिएका छन् ।

छवि पन्त, तेजबहादुर खत्री र बिनबहादुर सिंहले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसकी सुनिता सिंहले उपमेयरमा मनोनयन गराएकी छिन् । माओवादी केन्द्रबाट भने गठबन्धनको निर्देशन अनुसार मेयरमा डमर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको कुशे गाउँपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा पनि सत्ता गठबन्धन दलहरूले छुटा छुटै उम्मेदवारी दर्ता गराएका छन् ।

सल्यानमा माओवादी र समाजवादीबीच गठबन्धन

१० वटा पालिका रहेको सल्यानमा सत्ता गठबन्धनमा आवद्ध कांग्रेस बाहिरिएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

जिल्लामा सत्ता गठबन्धनले नेपाली कांग्रेस चार, माओवादी केन्द्र चार र एकीकृत समाजवादीले दुई पालिका प्रमुख पाउने सहमती गरेको थियो । तर नेपाली कांग्रेसले गठबन्धनबाट बाहिरिएर १०  वटै पालिकामा एकल उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर १० पालिकामा संयुक्त उम्मेदवार उठाएका छन् । सात पालिका प्रमुखमा माओवादी र तीन पालिका प्रमुखमा समाजवादीले उम्मेदवारी दिएको छ ।

माओवादीले बागचौर, दार्मा र कुमाख गाउँपालिकामा पूरै सिटमा उम्मेदवारी दिएको छ । सारदा नगरपालिका, कुपिण्डे बन्गाड नगरपालिका र कालीमाटी गाउँपालिकाको प्रमुख र अध्यक्षमा माओवादीले उम्मेदवारी दिएको छ ।

सिद्धकुमाख, छत्रेश्वरी, कपुरकोट र त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका उम्मेवारले मनोनयन दर्ता गराएका छन् । सात पालिकाको उपप्रमुख/उपाध्यक्षमा माओवादी र तीन पालिकाको उपप्रमुख/उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारले मनोनय गराएका छन् ।

हिमाली जिल्लामा पनि एक्ला एक्लै

कर्णाली प्रदेशका तीन हिमाली जिल्ला डोल्पा, जुम्ला र मुगुमा सत्ता गठबन्धन दलहरुबीच भागबन्डाको सहमति जुटे पनि तालमेल हुन सकेन् । डोल्पाका ८ वटै पालिकामा गठबन्धन भत्किएको छ ।

सत्ता गठबन्धनका दलहरूले एक्लाएक्लै उम्मेदवार उठाएका छन् । डोल्पामा बलियो देखिएको नेकपा एकीकृत समाजवादीले पूरै पालिकामा एकल उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि आ-आफनो तर्फबाट उम्मेदारी दिएका छन् ।

डोल्पाका केही पालिकामा भने एकीकृत समाजवादीले दम्भ देखाएको आरोप लगाउँदै  माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ ।

अर्को हिमाली जिल्ला मुगुमा खत्याड गाउँपालिका बाहेक अन्य तीन पालिकामा गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस बलियो रहेको मुगुमा कांग्रेसले पेलेरै जान खोजेको  आरोप लगाउँदै माओवादी र समाजवादीले पनि एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । मुगुमा जम्मा चार स्थानीय तहमात्रै छन् ।

जुम्लामा पनि सत्ता गठबन्धन दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । आठ स्थानीय तह रहेको जुम्लामा माओवादी केन्द्र बलियो छ ।



source https://www.onlinekhabar.com/2022/04/1116734

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More