Wednesday 20 July 2022

बजेट प्रकरण : संसदीय समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बयान लिंदै

५ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने विषयमा छानविन गर्न गठित समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्दै छ । समितिमा बयान दिनका लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि सभामुख अग्नि सापकोटाले  २२ असारमा संसदीय छानविन विशेष समिति गठन गरेका थिए । त्यसलगत्तै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् ।

समितिले यसअघि अर्थमन्त्रालयका उच्च अपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिएको थियो ।

काम सुरु गरेको मितिदेखि १० दिनको समय अवधि पाएको समितिले शर्मासँग सोधपुछ गरेपछि हालसम्मको अध्ययनमा प्राप्त तथ्यहरुको आधारमा विश्लेषण गरी निचोडमा पुग्ने समितिका एक सदस्यले बताए ।

संसदीय छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मा आएका छन् ।

समिति सदस्यहरुले अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख लगायतसँग सोधपुछ गरेको थियो । तर उनीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भन्ने आरोप अस्वीकार गरेका छन् ।

हिजो समितिले यस सम्बन्धी सबैभन्दा पहिले समाचार लेखेका अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले र ममता थापासँग पनि सोधपुछ गरेको थियो । तर काफ्ले र थापाले आफूहरुसँग प्रमाण भएको तर स्रोतको संरक्षणका लागि थप खुलाउन नमिल्ने बताएका थिए ।

छानविन समितिले पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको भन्ने विषयमा कुनै क्लु नभेटेपछि मन्त्रालयको सीसीटीभी फुटेज रिकभरका लागि विज्ञहरुको सहयोग लिने तयारी गरेको छ ।



source https://www.onlinekhabar.com/2022/07/1160993

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More