१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नर्सरी संगठनको रूपमा रहेको नेपाल विद्यार्थी संघ पार्टी नेता उत्पादन गर्ने ‘कारखाना’ का रूपमा परिचित छ । तर, नेविसंघ अहिले नर्सरी न कारखानाको अवस्थामा छ । पार्टी गुटले चरम समस्यामा फसेको नेविसंघका लागि देखाउने गर्विलो इतिहास छ । तर, विद्यार्थी तथा युवालाई देखाउने सुनौलो योजना छैन । नेविसंघ गन्तव्य र उद्देश्यविहीन देखिन्छ ।
माउ पार्टी कांग्रेसले प्रमुख भ्रातृ संस्था माथि हस्तक्षेप बढाउँदा संघको भविष्य नै अन्योलग्रस्त देखिएको छ । कुनै बेला पञ्चायती व्यवस्थालाई सडकबाट चुनौती दिने सामथ्र्य राख्ने नेविसंघ अहिले आफ्नै पार्टी नेतृत्वसँग लम्पसार छ । यतिसम्म कि ऊ आफ्नो खुट्टामा उभिएर महाधिवेशन समेत गराउन सक्ने अवस्थामा छैन । पार्टीले महाधिवेशनका लागि सहजीकरण गरिदिएहुन्थ्यो भनेर माउ पार्टीको मुख ताकेर बस्छ ।
टिके प्रथा विकृतिको स्रोत
नेविसंघको नेतृत्व चयनका लागि अपनाइएको विधिले पार्टी आलोचित हुँदै आएको छ । प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छनोट गर्ने लोकतान्त्रिक परम्परा कुल्चिएर टिके मनोनीत बाटो समाउँदा नेतृत्वलाई त आफ्नो मान्छो छनोट गर्न सजिलो भएको छ तर कांग्रेसको प्रमुख भ्रातृ संस्थामा विकृति चरम मौलाएको छ ।
नेपाल विद्यार्थी संघका हालसम्म २० अध्यक्ष छन् । तीमध्ये महाधिवेशनबाट चुनिएका ११ जना छन् । नेविसंघको ५२ वर्षे इतिहासमा ११ वटा मात्रै महाधिवेशन भएका छन् । नियमित महाधिवेशन भएको भए २७औं अध्यक्ष महाधिवेशन मार्फत चुनिएको हुने अवस्था हुन्थ्यो । पूर्व सभापति सुशील कोइरालाको समयदेखि नेविसंघमा तदर्थवाद हाबी भएको संस्थापक अध्यक्ष विपिन कोइराला दाबी गर्छन् । ‘सुशीलले सुरु गरेको गलत कामलाई देउवाले पनि साथ दिए’, कोइराला भन्छन् ।
६ वैशाख २०२७ मा स्वयम्भूको सत्तलमा नेता कृष्णप्रसाद भट्टराईबाट उद्घाटित पहिलो महाधिवेशनबाट विपिन कोइराला संस्थापक अध्यक्ष बनेका थिए । मार्शलजुलुम शाक्यलाई पराजित गरेर उनी नेविसंघको पहिलो अध्यक्ष बनेका थिए ।
पञ्चायती व्यवस्था विरुद्ध सक्रिय भएको आरोपमा कोइरालालाई तत्कालीन सरकारले पक्राउ गर्यो । उनी जेलमा रहेको बेला २०२८ सालमा दोस्रो महाधिवेशन भयो । यो महाधिवेशनबाट नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा संघको दोस्रो सभापति बनेका थिए । तर महाधिवेशन भए पनि देउवा मनोनीत सभापति भएको संस्थापक अध्यक्ष कोइराला दाबी गर्छन् ।
दुईवर्षे कार्यकाल रहेको संघमा आठ वर्षपछि (२०३६ सालमा) मात्रै देउवाले पद छोडे । राजनीतिक व्यवस्थाका कारण समयमै तेस्रो महाधिवेशन गरी पद हस्तान्तरण गर्न नसकिएको देउवाको जिकिर थियो । ‘प्रतिकूल समयमा संगठन बनेको हो । अलि अलि धरपकड त हुन्थ्यो’ संस्थापक अध्यक्ष विपिन कोइराला भन्छन्, ‘म जेल बसेरै दोस्रो महाधिवेशन गराएको हुँ । खास कुरा देउवाले महाधिवेशन गराउन चाहनुभएन ।’
२०३६ सालमा भएको तेस्रो महाधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष चुनिए । यो महाधिवेशनमा पनि निर्वाचन भएन । कांग्रेस संस्थापक नेता बीपी कोइरालाले उनलाई सभापति मनोनीत गरे । विधिवत् ‘टिके प्रथा’ यसै महाधिवेशनबाट सुरु भयो । महेन्ऽनारायण निधिको छोरा हुनु र मधेशको ‘सेन्टिमेन्ट क्याच’ गर्न बीपीले निधिलाई अध्यक्ष तोकेको विश्लेषण कांग्रेसमा हुने गरेको छ ।
२०३९ सालमा चौथो सभापति बनेका ज्ञानेन्ऽबहादुर कार्की, २०४० सालमा पाँचौं सभापति बनेका बलबहादुर केसी र २०४४ मा छैटांै सभापति बनेका बालकृष्ण खाँण तीनैजना मनोनीत अध्यक्ष हुन् । दुईवर्षे पदावधि हुने संघमा पञ्चायतकाल ३० वर्षमा मात्रै ३ वटा महाधिवेशन भएका थिए । नेतृत्व हस्तान्तरण गर्ने क्रममा विना महाधिवेशन जिम्मेवारी सुम्पिएको थियो ।
बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०४८ असोजमा भएको सातौं महाधिवेशनबाट एनपी साउद अध्यक्ष बने । व्यवस्था परिवर्तन भएर खुला राजनीतिको वातावरण हुँदा समेत आठौं र नवौं अध्यक्ष मनोनीत नै भए । २०५२ सालमा अध्यक्ष बनेका धनराज गुरुङ र २०५३ सालमा नवौं अध्यक्ष बनेका गोविन्द भट्टराई मनोनीत अध्यक्ष हुन् ।
हाल पार्टी महामन्त्री रहेका विश्वप्रकाश शर्मा २०५७ सालमा निर्वाचित अध्यक्ष भए । २०५९ सालमा अध्यक्ष बनेका गुरुराज घिमिरे पनि निर्वाचित ११औं सभापति हुन् । त्यसै समय पार्टी विभाजन पछि कांग्रेस (प्रजातान्त्रिक) तर्फको संघको अध्यक्ष किशोरसिंह राठोर बनेका थिए । पार्टी विभाजनपछि सभापति देउवाले उनलाई जिम्मेवारी दिएका थिए । २०६० सालमा अध्यक्ष बनेका केशव सिंह र २०६२ मा नेविसंघको नेतृत्व सम्हालेका महेन्द्र शर्मा पनि मनोनीत अध्यक्ष हुन् ।
१५औं अध्यक्ष बनेका प्रदीप पौडेल २०६४ सालमा निर्वाचन मार्फत चुनिएका थिए । संघका १६औं अध्यक्ष कल्याण गुरुङ र १७औं अध्यक्ष रञ्जित कर्ण मनोनीत हुन् । गुरुङ कांग्रेस प्रजातान्त्रिक निकटको विद्यार्थी संगठनबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बीच पार्टी एकीकरण हुँदा विद्यार्थी संगठनको नेतृत्व मूल धारको कांग्रेस (गिरिजा पक्ष) को भागमा पर्यो ।
२०६४ मा भएको महाधिवेशनपछि एकै चोटि २०७३ सालमा महाधिवेशन भएर अध्यक्षमा नैनसिंह महर चुनिए । उनी संघको १८औं अध्यक्ष हुन् । त्यसपछि बनेका राजीव ढुङ्गाना र दुजाङ शेर्पा (हाल अध्यक्ष) दुवै मनोनीत हुन् । १३औं महाधिवेशनपछि तदर्थ समिति बनाउने र मनोनीत गर्ने कार्यमा थप वृद्धि भएको संघका पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।
यसरी महाधिवेशन गर्ने जिम्मेवारी पाएर तदर्थ समितिको अध्यक्ष हुनेहरूमा ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठोर, केशव सिंह, महेन्द्र शर्मा, रञ्जित कर्ण, राजीव ढुङ्गाना र दुजाङ शेर्पा हुन् ।
मनोनीत नेतृत्व र गुटगत राजनीति
राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्था लागू गरेपछि बहुदलीय व्यवस्थाको आन्दोलनमा सक्रिय बनाउन कांग्रेसले गठन गरेको भ्रातृ संस्था हो, नेविसंघ । नेताहरू जेल तथा निर्वासनमा भएको समय आन्दोलनलाई ऊर्जा र निरन्तरता दिन नेविसंघको महत्वपूर्ण भूमिका थियो ।
जनकपुर अञ्चलका ६ जिल्लाबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थीले २०१९ सालमा ‘गौरीशंकर छात्र समिति’गठन गरेका थिए । जनकपुर अञ्चलका विद्यार्थीले गठन गरेको छात्र समितिको अनुसरण अन्य अञ्चलबाट आएका विद्यार्थीले पनि गरे ।
प्रजातन्त्रवादी विद्यार्थीको संगठनको आवश्यकता रहेको सुवर्णशमशेरले पार्टीमा सुनाए । उनकै परामर्श बमोजिम कांग्रेस निकटका विद्यार्थी एकत्रित हुन पुगेको नेविसंघका संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । त्यसबेला पार्टी प्रतिबन्धित हुँदा व्यवस्था परिवर्तनका लागि हुने आन्दोलन प्रभावकारी नहुने विश्लेषणसहित सशक्त संगठनको परिकल्पना गरिएको थियो ।
हुन पनि बहुदलीय व्यवस्था पुनर्बहाली तथा गणतन्त्र स्थापनामा नेविसंघले उल्लेखनीय भूमिका निर्वाह गर्यो । जनमत संग्रह विद्यार्थी आन्दोलनबाट नै सम्भव भएको संघका पूर्व अध्यक्ष गुरुराज घिमिरे दाबी गर्छन् ।
‘जनमत संग्रह पार्टीहरूका कारणले भएकै होइन, विद्यार्थी संगठनका कारण सम्भव भएको हो’ पूर्व अध्यक्ष घिमिरे भन्छन्, ‘पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले लाठी चार्ज गर्दा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसपछि जनमत संग्रह गर्न शासकहरू तयार भएका हुन् ।’
व्यवस्था परिवर्तनका लागि विद्यार्थी राजनीतिबाट उदाएका शेरबहादुर देउवा अहिले कांग्रेसको पार्टी सभापति छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिको जग पनि नेविसंघ नै हो । पदाधिकारीमा रहेका अनुहारमध्ये अधिकांशको पृष्ठभूमि नेविसंघ हो । तर, यति महत्वपूर्ण स्रोत नेविसंघ इतिहासकै कमजोर भ्रातृ संस्था बनेको छ ।
११औं महाधिवेशन गरेको नेविसंघमा त्यसपछि दुई अध्यक्षले तदर्थ समितिको नेतृत्व गरे । तर अहिलेसम्म महाधिवेशनको सुरसार नै छैन । पछिल्लो समय त कार्यसमितिले पूर्णता पाउन सकेको समेत छैन ।
२०७३ सालमा अध्यक्षमा निर्वाचित भएका नैनसिंह महरले २०७५ माघमा राजीनामा दिएका थिए । समयमा महाधिवेशन गराउन नसकेको भनेर पार्टीले उनको राजीनामा मागेको थियो । ‘यो त्यो भन्दिनँ मैले राजीनामा दिनुपर्छ भनेर त्यसबेला सबै लागेका हुन्’, महरले अनलाइनखबरसँग भने । तर, उनले राजीनामा दिएको एक वर्षसम्म संगठन नेतृत्वविहीन भयो ।
एक वर्षपछि बनाइएको तदर्थ समितिको नेतृत्वमा राजीव ढुङ्गाना आए । पदाधिकारीले समेत पूर्णता नपाएको उक्त समितिले दुई वर्षसम्म अधिवेशन गराउन सकेन । कोरोना महामारी बहाना बन्यो । यसै बीचमा ढुङ्गाना पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०७८ चैतमा आएर सभापति देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरे । हालसम्म यो तदर्थ समितिमा अध्यक्ष मात्रै छन् । माघको मध्यतिर संघले पूर्णता पाउने नेताहरूले दाबी गरे पनि यो कार्यान्वयन हुन सकेन । विधानतः १०१ सदस्यीय कार्यसमिति हुने भनिए पनि पार्टीभित्रका फरक-फरक समूहलाई भाग पुर्याउन तदर्थ समिति ठूलो आकारको बन्ने सम्भावना छ । आ-आफ्नो समूहले नाम संकलन गरे पनि तदर्थ समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइसक्दा पनि तदर्थ समितिले पूर्णता नपाउँदा नेविसंघ अन्योलमा देखिन्छ । तथापि, आफूहरू स्ववियु निर्वाचनको तयारीमा लागेको नेविसंघका अध्यक्ष शेर्पा बताउँछन् ।
नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको नजिकै पनि निर्वाचनमार्फत नेतृत्व चयन गर्यो । प्रतिस्पर्धी दलको राजनीतिबाट समेत सिक्ने चेत नहुँदा संघका कार्यकर्तामा मूल नेतृत्वप्रति चर्को असन्तुष्टि छ । हुन पनि प्रतिस्पर्धी संगठनले स्ववियु निर्वाचनको मुखमा चुनाव गराएर नयाँ नेतृत्व चयन गर्दा कांग्रेसले मनोनीत समेत गर्न सकेको छैन ।
नेविसंघ बेथितिपूर्ण रूपमा सञ्चालनमा रहेको सदस्यताको वितरण तथा नवीकरणको अवस्थाले बताउँछ । नेविसंघमा आवद्ध विद्यार्थीको यकिन अभिलेख संघको केन्द्रीय कार्यालयमा छैन । नेविसंघका कार्यालय सचिव विजय खड्का नवीकरण र नयाँ सदस्यको यकिन विवरण नभएको स्वीकार गर्छन् । आसन्न स्ववियु निर्वाचनलाई ध्यानमा राखेर काठमाडौं र बाहिर सदस्यता वितरण जारी रहेको उनले बताए ।
२०६० सालतिर करिब पाँच लाख विद्यार्थी नेविसंघमा आवद्ध रहेको पूर्व अध्यक्ष घिमिरे दाबी गर्छन् । घिमिरेका अनुसार कतिपय अध्यक्षले सदस्यताको रसिद समेत छपाएनन् । उनका भनाइमा, ‘नेविसंघ नै अस्तव्यस्त भएकाले संघको कार्यालय व्यवस्थित हुने सम्भावना नै रहेन ।’
पार्टीको संस्थापन पक्षबाट अध्यक्ष बनेका शेर्पाले एकलौटी निर्णय गरेको भन्दै शेखर-गगन पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि गरिरहेका छन् । संघका अध्यक्ष शेर्पाले त्यसले मान्यता नपाउने बताइसकेका छन् । तर, जिल्ला र क्याम्पसमा आफू निकटलाई अध्यक्षले आफूखुसी संयोजक तोकेका कारणले बाध्य भएर समानान्तर गतिविधि गरेको शेखर-गगन पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगर बताउँछिन् ।
हुँदाहुँदा पछिल्ला दिनमा नेविसंघ आफैं संचालन हुने स्वतन्त्र संगठन हो भन्ने नै लाग्दैन । विधान नै पार्टीले बनाइदिने गरेको छ । पार्टी सभापतिले आफूप्रति वफादारलाई मनोनीत गर्ने परम्पराले यो ऐतिहासिक संस्थामा क्षयीकरण भएको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।
‘संस्थागत निर्णय छोडेर नेताले आफू निकटलाई मनोनीत गर्ने र मनोनीत भएको व्यक्ति पनि मनोनीत गर्ने नेताप्रति वफादार हुने प्रवृत्ति झांगियो’, घिमिरे भन्छन् । यसमा संस्थापक अध्यक्ष कोइराला पनि सहमत छन् । उनी भन्छन्, ‘मनोनीत नेतृत्व खोज्ने परम्पराले पार्टीभित्र स्थायी गुट बनाउन मलजल गरिरहेको छ ।’
जो हिजो सक्रिय थिए, आज विरक्तिए
नेपाल विद्यार्थी संघमा कुनै बेला क्रियाशील हुँदा सम्भावना बोकेका भनिएका कतिपय व्यक्ति अहिले सक्रिय राजनीति छोडेर बसेका छन् । कांग्रेसप्रति आस्थावान भए पनि उनीहरूले माउ पार्टीको राजनीतिमा चासो दिएनन् । यीमध्ये कतिपय विदेश पुगेका छन् भने केही नेपालमै भए पनि पार्टी राजनीतिमा छैनन् । नेविसंघको राजनीति गर्दागर्दै विदेश पुगेका कतिपय भने कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिमा आबद्ध छन् ।
नेविसंघको स्थापनाकालमा सक्रिय देवेन्द्रराज नेपाली एक उदाहरण हुन् । जो कांग्रेस राजनीतिमा टिक्न सकेनन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलका समकालीन उनी नेविसंघको स्थापनाकालमा प्रमुखमध्ये एक भएको संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । वीरगञ्ज निवासी उनको परिवारका सदस्य भने अहिले पनि कांग्रेस राजनीतिमा क्रियाशील छन् ।
नेविसंघ स्थापनाकालका सक्रिय डा. टीका पोखरेल कांग्रेस राजनीतिमा आएनन् । नेविसंघको पहिलो कार्यसमितिमा पोखरेल महामन्त्री थिए । नेविसंघको संस्थापक महामन्त्री पोखरेल सामाजिक संघसंस्थातिर लागे । २०४१ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका जनकपुरका युवराज खाती पनि कांग्रेस राजनीतिमा सक्रिय भएनन् ।
२०४८ सालमा नेविसंघको महामन्त्री बनेका भक्ति सिटौलाले कांग्रेस परित्याग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका उनी हाल प्रदेश-१ को मन्त्री छन् । झापाका सिटौला कांग्रेस केन्द्रीय सदस्य एनपी साउद नेविसंघको अध्यक्ष हुँदा (२०४८ सालमा) महामन्त्री थिए ।
२०५९ सालमा गुरुराज घिमिरेसँग नेविसंघको अध्यक्षमा पराजित यादव पण्डित अहिले अमेरिकामा छन् । त्यसअघि विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष हुँदा उनी महामन्त्री थिए । अध्ययन गर्न अमेरिका पुगेका पण्डितले परमाणु विज्ञानमा विद्यावारिधि गरेका छन् ।
उनले प्युठानबाट नेविसंघको राजनीति सुरु गरी संघको केन्द्रीय राजनीतिमा महामन्त्रीसम्म भएका थिए । सबैजसो विद्यार्थी नेता पार्टी राजनीतिमा आफ्नो ठाउँ बनाउन लागेको तर शैक्षिक क्षेत्र सुधारमा भूमिका निर्वाह गर्न नसकेको पण्डित बताउँछन् । उनले भने, ‘सक्रिय राजनीति छोडेर शैक्षिक क्षेत्रमा गरेको प्रगतिबाट म खुसी छु ।’
विद्यार्थी राजनीतिमा देखिएको सक्रियता र क्षमताबाट माउ पार्टीमा समेत स्थान बनाउन सक्ने आशा राखिएका नृप विष्ट विदेशिए । अछामका विष्ट नेविसंघको नेपालगञ्ज महाधिवेशनमा अध्यक्षमा कल्याण गुरुङसँग पराजित भएका थिए । त्यसअघि उनी उपाध्यक्ष पदमा थिए ।
यस्तै महिलाबाट कांग्रेस राजनीतिमा सम्भावना बोकेकी उर्मिला पञ्जियार पनि अमेरिका पुगिन् । विद्यार्थी राजनीतिमा सक्रिय उनी स्ववियु सभापति समेत बनेकी थिइन् । पद्मकन्या क्याम्पसको स्ववियु सभापति टीका चौधरी पार्टी राजनीतिमा अट्न सकिनन् । केन्द्रीय सदस्य कल्याण गुरुङसँग वैवाहिक जीवन सुरु गरेकी उनी पहिलो संविधानसभामा कैलालीमा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी थिइन् । हाल उनी अमेरिकामा छिन् ।
नेविसंघको सह-महामन्त्री पदमा पुगेर पनि सक्रिय राजनीतिमा रहिनन् सिर्जना अधिकारी । नेविसंघमा उनको क्षमताको खुलेर प्रशंसा हुने संघका पूर्व नेताहरू सम्झन्छन् । चितवनकी अधिकारी संघसंस्थामा आवद्ध रहे पनि कांग्रेसको राजनीतिमा छैनन् । महेन्द्र शर्मा संघको अध्यक्ष हुँदा उनी नेविसंघको सहमहामन्त्री थिइन् । संगठन निर्माण र अध्ययन दुवै क्षेत्रमा उनी अब्बल रहेको उनको कार्यकालका नेताहरू स्मरण गर्छन् ।
त्रिविमा नेविसंघको नेतृत्व गरेका प्रदीप शर्मा, लोकराज भट्ट कांग्रेस राजनीतिमा सक्रिय छैनन् । पार्टीले उनीहरूलाई स्पेस दिएन । अघिल्लो स्थानीय निर्वाचनमा डडेल्धुरामा बागी उम्मेदवारी दिएपछि भट्टलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो ।
पूर्वअध्यक्ष घिमिरेको कार्यकालका उपाध्यक्ष राजु थापा सञ्चार क्षेत्रमा छन् । एक समय नेविसंघको राजनीतिमा राम्रै स्थान बनाएका भीम भण्डारी, पूर्ण तिमिल्सिना, कृष्ण गिरी विदेशिएका छन् । नेविसंघको राजनीति बीचमै छोडेर विदेशिनेको संख्या उल्लेख्य छ । युरोप, अमेरिका, अष्ट्रेलिया लगायत देशमा यस्ता थुप्रै व्यक्ति छन् । पार्टीभित्रको षड्यन्त्र र आफ्नो स्वाभिमान जोगाउने मान्यताले संघको राजनीति छोड्नेहरूको संख्या उल्लेख्य रहेको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।
समय-समयमा कांग्रेसका नेता कार्यकर्तालाई प्रशिक्षण गराउने, पार्टीका नीति र कार्यक्रम बताउने जिम्मेवारी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको हुन्छ । अहिले उपसभापति पूर्णबहादुर खड्का उक्त प्रतिष्ठानको प्रमुख छन् । तर, उनी नेतृत्वको प्रतिष्ठानले पनि पूर्णता पाउन सकेको छैन । भर्खरै मात्र स्ववियु निर्वाचनलाई लिएर प्रशिक्षणका गतिविधि सुरु भएका छन् । स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण समितिको संयोजकमा एलिजा ढकाल मनोनीत भएकी छिन् ।
‘भ्रष्टाचार गर्न सिक्ने ठाउँ’
विद्यार्थीको ज्ञान, सीप बढाउने शैक्षिक मुद्दामा संघको कुनै तदारुकता देखिन्न । शिक्षा क्षेत्रको गुणस्तर बहस-विमर्श गर्न चुकिरहेको नेविसंघले विश्वविद्यालयका पदाधिकारीमा भने भाग खोज्न आन्दोलन गर्ने गरेको देखिएको छ ।
सामुदायिक विद्यालयको खस्किंदो शिक्षाका सम्बन्धमा नेविसंघले आवाज उठाएको सुनिएको छैन । सामुदायिक विद्यालयमा विद्यार्थी घट्न नदिने विषयमा हुने बहस छलफलमा कहींकतै नेविसंघ देखिंदैन । विद्यार्थीको अभावमा सामुदायिक विद्यालय बन्द हुने क्रम बढ्दो छ । निजी विद्यालयमा रहेका विद्यार्थीसम्म नेविसंघ कसरी पुग्ने भन्नेमा नेतृत्वलाई कुनै चासो देखिएको छैन । विगतमा देशको ध्यान तान्ने गरी संयुक्त विद्यार्थी आन्दोलन भएको उदाहरण छ । तर अरू विद्यार्थी संगठनसँग मिलेर संयुक्त रूपमा भएका विद्यार्थी आन्दोलनका कारणले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भने नभएको संघका पूर्व अध्यक्ष महर बताउँछन् ।
स्ववियुको नेतृत्वमा पुगेसँगै कतिपय विद्यार्थी नेताहरू अनियमिततामा संलग्न भएको विषय उठ्दै आएको छ । विद्यार्थी नेतालाई भ्रष्टाचार गर्न मूलतः काठमाडौंका क्याम्पसले सिकाएको पूर्व विद्यार्थी नेता घिमिरेको भनाइ छ ।
‘बाहिरबाट आएका कतिपय विद्यार्थीले काठमाडौंका क्याम्पसमा भर्ना नपाउने हुँदा विद्यार्थी नेताहरूको सहयोग खोजे । भर्ना पाउनकै लागि हजार/पन्ध्रसय थप तिर्न मञ्जुर भए । त्यो पैसामा विद्यार्थी नेताहरू पल्किए’ घिमिरे भन्छन्, ‘स्ववियुमार्फत विद्यार्थी नेताले भ्रष्टाचार गर्न सिकेका कारण पनि संगठनहरू कमजोर हुँदै गए ।’
source https://www.onlinekhabar.com/2023/02/1269375
0 comments:
Post a Comment