अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ ।
तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । पेट खराब हुन थाल्छ । कलेजो, मुटु, फोक्सोको कार्य क्षमता घट्न थाल्छ । उमेर ढल्कदै गएपछि स्वभाविक रुपमा शरीरका अंगहरु पनि कमजोर र शिथिल हुन्छ । तर, बाल्यकालबाट उमेरको सिंढी चढ्न थालेपछि हाम्रो शरीर रोगी हुन थाल्छ । किशोर, युवा अवस्थामा समेत हामी अनेक रोगसँग जुध्न थाल्छौं । किन ?
किनभने जति–जति हुर्कदै जान्छौं, हामी आफ्नो प्राकृतिक जीवनशैलीबाट विमुख हुन थाल्छौं । हामीलाई आफ्नो शरीर वा स्वस्थ्य अनुसार भन्दा पनि मन र रहर अनुसार चल्न थाल्छौं । शरीरको प्राकृतिक प्रणाली भंग गरिदिन्छौं । यही कारण हामीमाथि रोग हावी हुन थाल्छ ।
रोग लाग्नु भनेको के हो ? कसरी हामी रोगको शिकार बन्छौं ?
शरीरमा जब कुनैपनि किसिमका विकारहरु सञ्चय हुन थाल्छ, तब हाम्रो शरीरका अंगहरुले सही कार्य सम्पादन गर्न सक्दैन । शरीरको कार्य प्रणाली बिग्रन्छ । त्यही अवस्थालाई हामी रोग लागेका भन्छौं । यस्तो किन हुन्छ ?
जब हामी खराब खानपान गर्छौं, खराब जीवनशैली अपनाउँछौं, तब शरीर विकारयुक्त बन्छ । त्यस्ता विकार जति–जति शरीरमा सञ्चय हुन्छ, उत्तिनै हामी रोगी हुन्छौं । शरीरको सही शुद्धिकरण हुँदैन र रोगले डेरा जमाउँछ ।
यसरी शरीरभित्र विकार सञ्चय भएपछि वा रोग लागेपछि हामी त्यसको उपचारको खोजीमा दौडन्छौं । औषधि उपचार, शल्यक्रिया जस्ता विधीहरु अपनाउँछौं । यसले हामीलाई रोगबाट मुक्त हुन सघाउँछ । तर, रोग लागेर उपचार खोज्नुभन्दा रोगमुक्त जीवन बाँच्नु उचित हो ।
रोगमुक्त जीवन कसरी बाँच्ने त ?
यसका लागि एउटै तरिका हो, प्राकृतिक जीवनशैली । प्राकृतिक ढंगको जीवनयापन नै सर्वोत्तम मानिन्छ ।
हाम्रो शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले शरीरलाई रोगहरुबाट मुक्त गरेर स्वस्थ राख्ने हरक्षण प्रयास गरिरहेको हुन्छ । सोही प्रणाली अनुसार जीवनशैली, खानपान र सोंच चिन्तन अपनाएर प्राकृतिक रुपमै निरोगी बन्न सकिन्छ ।
जस्तो कि, सही समयमा सुत्ने । सही समयमा उठ्ने । स्वास्थ्य जीवनका लागि सात–आठ घण्टाको गहिरो निद्रा अनिवार्य मानिएको छ । राम्ररी निदाउनु पनि आफैमा एक स्वस्थ्य जीवनको सूचक हो । त्यसैगरी सही समयमा खानपान गर्नु । एउटा सन्तुलित तालिका अनुसार खानेकुरा सेवन गर्नु । शरीरलाई आवश्यक र उचित खानेकुरा मात्र सेवन गर्नु । सक्रिय दिनचर्या विताउनु । व्यायाम, योग, ध्यान आदिलाई आफ्नो दैनिकीको हिस्सा बनाउनु । सधै सकारात्मक र खुसी रहने प्रयास गर्नु । प्रकृतिसँग एकाकार हुने अभ्यास गर्नु ।
सही र सन्तुलित जीवनशैली अपनाउनु नै रोगमुक्त हुनु हो । गहिरो निद्रा लिनु, सुपाच्य खानेकुरा खानु, उचित समयमा मलत्याग गर्नु, सरसफाई गर्नु आफैमा निरोगी हुने सूत्र हुन् ।
प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउने हो । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो ।
जबकी आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जिर्ण हुँदैछन् । मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधी हुन्छ । खाना खान जानिएन भने विष हुन्छ ।
उपवास भनेको कुनैपनि खानेकुरा सेवन नगरी वस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धिकरण गर्ने विधी पनि हो ।
माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ । केही समयअघि मात्र हामीले असार पन्ध्र मनायौं । यो पर्वले पनि माटोसँग एकाकार हुन प्रेरित गर्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधी छन् ।
हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधी हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरु थुप्रै विधी एवं तौरतरिका छन् ।
ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, हामी उत्तिनै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधी यसैका एक रुप हुन् ।
शरीर पञ्चतत्वले निर्माण भएको छ । पञ्चतत्व भनेको अग्नी, आकास, जल, वायु र पृथ्वी । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ ।
source https://www.onlinekhabar.com/2020/08/892671
0 comments:
Post a Comment