११ असोज, काठमाडौं । ब्ल्याकहोल अन्तरीक्षको त्यो हिस्सा हो, जहाँ भौतिक विज्ञानको कुनै पनि नियमले काम गर्दैन । यसको गुरुत्वाकर्षणबाट केही पनि बच्न सक्दैन । यहाँसम्म कि प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्कन सक्दैन । यसले आफूमाथि पर्ने सबै प्रकाशलाई सोस्छ । त्यसैले यसलाई ब्ल्याकहोल भनिएको हो ।
यसै वर्ष अपि्रलमा वैज्ञानिकहरुले ब्ल्याकहोलको एक तस्वीर सार्वजनिक गरेका थिए । यो तस्वीर पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याकहोल एम-८७ को थियो । त्यसका साथै २४ वर्ष अगाडि एक ब्ल्याकहोलको बारेमा पत्ता लागेको थियो, जसलाई ‘स्याजिटेरस ए स्टार’ नाम दिइएको थियो । यो आकाशगंगाको केन्द्रमा थियो । यसलाई एक शान्त ब्ल्याकहोल मानिन्छ । तर अहिले यही ब्ल्याकहोलमा हलचल देखापरेको छ ।
सूर्यभन्दा ६० गुणा गह्रुंगो छ यो ब्ल्याकहोल
ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा बढी गह्रुंगो छ । शोधकर्ताहरुले ब्रह्माण्डीय उथलपुथलको कारण सूर्यको आकारको एक तारा ब्ल्याकहोलमा विलिन भएको देखेको बताएका छन् । वैज्ञानिकहरुले यस घटनालाई ज्वारीय विघटन (टाइडल डिसरप्सन) भनेका छन् ।
यस खगोलीय घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ्ग एक्सोप्लेनेट सर्भे स्याटलाइट (टीईएसएस) र नील गेहरेल्स स्विफ्टको मद्दतमा हेरिएको थियो । यस घटनाबारे जानकारी दिँदै नासाले भनेको छ, ‘ब्रह्माण्डको यस्ता ज्वारीय घटना एकदमै बिरलै हुन्छ । १० हजारदेखि एक लाख वर्षको बीचमा आकाशगंगामा यो घटना हुन्छ ।’ नासाका अनुसार हालसम्म केबल चालीसपटक यस्तो खगोलीय घटना भएको पत्ता लागेको छ ।
एस्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको अनुसन्धान रिपोर्टका अनुसार ब्ल्याकहोल स्याजिटेरस ए स्टारको तुलनामा ‘भोकाएको’ छ । त्यसैले आफू आसपासका चिजहलाई यसले तीव्रताका साथ आफूमा विलीन गराइहाल्छ ।
एक ब्ल्याकहोलको आफ्नै प्रकाश हुँदैन । तर अरु चिजहरु यसमा समाहित हुन्छन् र प्रकाशको स्रोत बन्न सक्छन् । यद्यपि यी परिवर्तनबाट पृथ्वी वा आकाशगंगाका कुनै पनि ग्रहमा असर नपर्ने वैज्ञानिकहरु बताउँछन् ।
विश्वका अलग-अलग देशका ३४७ वैज्ञानिकहरुको टोलीले ब्ल्याकहोलमा अनुसन्धान गरिरहेका छन् । यस टिमको प्रोजेक्ट डाइरेक्टर वैज्ञानिक शेप डोयलेमानले भनेका छन् जुन प्रकारले सन् २०१९ मा ब्ल्याकहोलको तस्वीर सार्वजनिक भएको छ, त्यसै प्रकारले सन् २०२० मा ब्ल्याकहोलको भिडियो पनि सार्वजनिक गर्न सकिन्छ ।
source https://www.onlinekhabar.com/2019/09/799800
0 comments:
Post a Comment