Sunday 29 September 2019

‘पद्मश्री पुरस्कार थाप्छु, तीन महिना संशोधन मण्डल चलाउँछु’

१३ असोज, काठमाडौं । ‘इतिहास संशोधन मण्डल’ र यसले प्रकाशन गर्ने जर्नल ‘पूर्णिमा’ बारे चर्चा गर्दा छुटाउनै नहुने नाम हो– डा. महेशराज पन्त ।

विसं. २००१ सालमा काठमाडौंको ओटुमा जन्मेका पन्त निरन्तर इतिहासका त्रुटि सच्याउन क्रियाशील छन् ।

नयराज पन्तले विसं. २००९ सालमा स्थापना गरेको संशोधन मण्डलमा अहिले जम्मा दुई सदस्य छन्– डा. महेशराज र उनका भाइ डा. दिनेशराज पन्त ।

साढे सात दशक उमेर पूरा गरेका महेशराजलाई आफ्नोभन्दा बढी चिन्ता संशोधन मण्डल र पूर्णिमाको छ ।

हरेक तीन महिनामा प्रकाशन हुनुपर्ने पूर्णिमा आर्थिक अभावकै कारण २०७४ पुसयता छापिन सकेको छैन । संशोधन मण्डलको कार्यालय सञ्चालन खर्च पनि महेशराज आफैंले धानिरहेका छन् ।

कैयतको किस्सा जान्दाजान्दै पनि मैले सम्मान ग्रहण गर्ने निर्णय किन गरेँ भने त्यो पैसाले तीन महिना संशोधन मण्डलको कार्यालय सञ्चालन खर्च पुग्छ

पुरस्कार वा सम्मान भनेपछि चारकोश पर भाग्ने उनी पहिलोपटक सम्मान ग्रहण गर्न तयार भएका छन् । उनी भन्छन्, ‘तीन महिनाजति कार्यालय सञ्चालन खर्च पुग्ने भएकाले सम्मान ग्रहण गर्ने निर्णय लिएको हुँ ।’

प्रस्तुत छ, पद्मश्रीबाट सम्मानित हुन लागेका डा. पन्तका प्राज्ञिक यात्राका अनुभव, उनकै शब्दमा-

यसकारण लिएँ पुरस्कार

आठौं शताब्दीमा अरमुडि नामका राजा थिए । उनलाई मगर राजा भनिन्छ । उनकै पालामा कश्मिरका राजा दयापीथ विनयादेवले नेपालमा हमला गरे । आक्रमण हुन थालेपछि अरमुडिपछि हट्दै गएछन् । कालीगण्डकीको किनारमा पुगेपछि भने अरमुडिले दयापीथलाई थुनेछन् । ढुंगाको घरमा थुनिएका दयापीथ कसोकसो फुत्केर कश्मिर फर्किएछन् ।

त्यो समयमा कश्मिरमा कैयत नामका विद्वान रहेछन् । कैयतको आर्थिक अवस्था एकदमै खराब थियो । उनको घर पत्नीले बत्ती कातेर बेचेको पैसाबाट चल्थ्यो । त्यो थाहा पाएर राजा दयापीथ सहयोग गर्न उनको घरमै पुगेछन् । मेरो राज्यमा यस्ता विद्वान हुनुहुँदोरहेछ, के सहयोग गरौं भनेर सोध्दा कैयतले राजालाई भनेछन्– एकपटकलाई आउनुभयो, मेरो आग्रह छ– अबदेखि यस्तो प्रस्ताव लिएर नआउनुहोला ।
यो पनि पढ्नुहोस बीपी र गणेशमानलाई सफाइ दिएका न्यायाधीशको साविती

अरुको सहयोग लिँदा आत्मसम्मानमा धक्का लाग्छ भनेर कैयतले राजालाई त्यसो भनेका थिए । मलाई पनि पटक–पटक विभिन्न पुरस्कार र सम्मानको ‘अफर’ आएकै थिए । तर स्वीकार गरेको थिइनँ ।

म अन्तरमुखी स्वभावको मान्छे हुँ, प्रचार–प्रसार रुचाउँदिनँ । शास्त्रले पनि बुद्धिजीविलाई सम्मानबाट टाढा बस्नु भनेको छ ।

यसपटक चाहिँ पद्मश्री सम्मानको ‘अफर’ स्वीकार गरेको छु । पुरस्कार राशी दुईलाख रुपैयाँ रहेछ । कोजाग्रत पूर्णिमाको दिन दिने जानकारी गराइएको छ । कैयतको किस्सा जान्दाजान्दै पनि मैले सम्मान ग्रहण गर्ने निर्णय किन गरेँ भने त्यो पैसाले तीन महिना संशोधन मण्डलको कार्यालय सञ्चालन खर्च पुग्छ ।

विसं.२००९ सालमा स्थापित संशोधन मण्डल चलाउन आर्थिक रुपमा कति गाह्रो छ भन्ने यसैबाट थाहा पाउनुभयो होला । तत्कालीन शिक्षा पद्दतिले गम्भीर काम गर्न सक्ने विद्धानहरु उत्पादन गर्न नसकेको हुनाले मेरा पिताजी नयराज पन्तले अलग्गै पाठशाला खोल्नुभएको थियो । त्यसमा ४०–४१ विद्यार्थी थिए । मैले पनि त्यहीँ पढेँ । पढाइको मुख्य माध्यम संस्कृत थियो ।

इतिहासका त्रुटिहरुलाई तार्किक व्याख्यासहित सच्याउने उद्देश्यले स्थापना गरिएको संशोधन मण्डलको संस्थापक सदस्यको रुपमा काम गरेँ । त्यो क्रम अझै जारी छ ।

कसले अर्थ्याउने इतिहास ?

नेपालको इतिहासको विषयमा प्राप्त भएका नयाँ जानकारीमध्ये ८० प्रतिशत संशोधन मण्डलले नै गरेको हो । संशोधन मण्डल जन्मनु भन्दा अगाडि नेपाली विद्वानहरूले इतिहासको खोजीनीति गर्ने चलन थिएन । विदेशीले मात्रै नेपालको इतिहास लेख्थे ।

त्रिभुवन विश्वविद्यालयमा इतिहास विषय पढाइ भएको ६० वर्ष भयो । तर, मूर्ति हेरेर अभिलेख पढ्न वा व्याख्या सक्ने जनशक्ति त्यहाँबाट तयार भएको छैन

इतिहासको गहिरो अध्ययन गर्ने शिक्षा पनि नहुँदा इतिहाससम्बन्धी कागजात फेला परे पनि अथ्र्याउन सक्ने अवस्था थिएन । विभिन्न भाषा, लिपि, त्यो बेला चलेका शास्त्र, जनविश्वास आदिबारे ज्ञान नहुनाले इतिहाससम्बन्धी ‘डकुमेन्ट’ प्राप्त भए पनि त्यसबाट वास्तविक जानकारी उधिन्न सकिँदैनथ्यो ।
यो पनि पढ्नुहोस महेशराज पन्त : इतिहास सच्याउने अभियन्ता

नेपालको इतिहास केलाउन संस्कृत, नेवारी, मगर, राई, लिम्बु, जुम्लीलगायत विभिन्न भाषा जानेको हुनुपर्दछ । जस्तो, मगरको अक्खा लिपि थियो भन्ने कुरा आएको छ । वास्तविकता के हो भनेर जान्न त सम्बन्धित भाषा जानेको हुनुपर्‍यो ।

अहिले ‘रेडिमेड’ ज्ञान प्राप्त हुन्छ । अरुले खोजेर तयार पारिदिएको पुस्तकबाट ज्ञान लिइन्छ । अरु र हाम्रो शिक्षा प्रणालीमा रहेको फरक यही हो । इतिहासमा स्नातकोत्तर गर्नेहरू पनि इतिहाससम्बन्धी प्राथमिक स्रोतमाथि न्याय गर्न सक्दैनन् । अर्थात्, उनीहरू द्वीतीय स्रोत भन्दा बाहिर जान सक्दैनन् ।

त्रिभुवन विश्वविद्यालयमा इतिहास विषय पढाइ भएको ६० वर्ष भयो । तर, मूर्ति हेरेर अभिलेख पढ्न वा व्याख्या सक्ने जनशक्ति त्यहाँबाट तयार भएको छैन ।

संशोधन मण्डल आउनुभन्दा अगाडि काठमाडौं खाल्डोलाई मात्रै नेपाल भन्ने चलन थियो । चिनियाँ यात्रीले उल्लेख गरेको क्षेत्रफल लगभग अहिलेको नेपाल जत्रै क्षेत्र हो ।

कसैले गौतम बुद्धले कति पढेका थिए ? भन्छन् । त्यतिबेला पढाइ हुने शिक्षा पद्दति थिएन । बुद्धले पढेका थिएनन् भन्न मिल्दैन । अपठितलाई के भनुँ र खै !

एकथरि भ्रम के छ भने यक्ष मल्लले छोराहरूलाई बाँडिदिए भनिन्छ । अझैसम्म पनि यस्तो कुरा आउँछ । तर, वास्तविकता यक्ष मल्लको देहान्तपछि छोराहरूले आफू–आफू बाँडेर लिएका हुन् । सर्वसाधारणले यस्तो कुरा थाहा पाउने भनेको सञ्चार माध्यमहरुबाट हो । सञ्चार माध्यममा सही कुरा नआएपछि सबैले गलत नै बुझ्ने भए ।

हामीले गरेको खोजी मूलधारमा गएको छैन । हामीले निकालेको पूर्णिमा पत्रिका सबैमा पुगेको छैन । फेरि, आफै तथ्य पत्ता लगाउने हाम्रो कामलाई हिजो बजारमा मान्यता थिएन, आज पनि छैन । भाषा, भूगोल वा अन्य विषयको ‘अथोरिटी’ नेपाल बाहिर छ । इतिहासमा मात्रै त्यो ‘अथोरिटी’ नेपालमा छ ।

संशोधन मण्डल नबनेको भए २००७ साल अगाडि विदेशीले जे लेखे, त्यसैलाई ओल्टाई–पल्टाई हाम्रो इतिहास हो भनेर पढिरहेका हुन्थ्यौं । जस्तो– काष्ठमण्डपलाई प्राध्यापक रोविन कनिङघमले भनेका आधारमा सातौं शताब्दीको भनियो । त्यसलाई ‘भेरीफाई’ गर्ने नेपाली जनशक्ति छैन । कनिङ्घमको भनाइमा नै हस्ताक्षर गरेर बसेको अवस्था छ । विदेशीसँग प्रतिस्पर्धा गरेर जान सक्ने जनशक्ति नेपालमा भएन ।

अपठितलाई के भनुँ र खै !

संशोधन मण्डलले गरिरहेको व्यक्तिगत काम होइन, देशको काम हो । यस्तो कामका लागि पनि मैले खल्तीबाट मासिक ६०/६५ हजार रुपैयाँ खर्च गरिरहेको छु । संस्थागत सहयोग कसैले गरेका छैनन् । नेपालको इतिहाससम्बन्धी काम गर्नका लागि विदेशीको सहयोग लिने कुरा पनि भएन ।

सातौं शताब्दीमा आएका चिनियाँ यात्रीले नेपालीहरू अपठित हुन्छन् भनेका थिए । हो, हामी पढ्दैनौं । नपढ्नु हाम्रो राष्ट्रिय चरित्र हो । किन नपढ्ने भयौं भने हाम्रो मन हार्‍यो

कमसेकम त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा संशोधन मण्डलको पाठ्यक्रमको केही अंश लागु गर्नुपर्दछ । नेपाल–भारत युद्ध १८७१–७२ मा भयो । १८७८ मा अंग्रेज सरकारले नेपालसँग पत्राचार भएको डकुमेन्टहरू दुई भोल्युममा छापियो । त्यस्ता चिठीपत्र यहाँ पनि थिए । तर, १९९६ सालमा कागज धुल्याउने भनेर त्यस्ता कागज फालिदिए ।

सातौं शताब्दीमा आएका चिनियाँ यात्रीले नेपालीहरू अपठित हुन्छन् भनेका थिए । हो, हामी पढ्दैनौं । नपढ्नु हाम्रो राष्ट्रिय चरित्र हो । किन नपढ्ने भयौं भने हाम्रो मन हार्‍यो।

घरमा पाहुना आउँदा तपाई आफूले चाहेको कुरा खुवाएर पठाउनुहुन्छ । पाहुनाले जे भन्यो, त्यही खुवाउने कुरा हुँदैन । देशको सन्दर्भमा पनि त्यही हो । विदेशीहरू आउँदा उनीहरूको स्वार्थअनुसार गर्न दिनुहुँदैन । तर, यहाँ त स्थापनाको सात दशकपछि नेपाल कम्युनिष्ट पार्टीले सी चिनफिङले भने अनुसारको शासन व्यवस्था पो गर्न लागेजस्तो छ !

अमेरिकीहरू आउँछन् – इण्डोप्यासिफिक स्ट्राटेजीमा आऊ भन्छन् । भारतीयहरू आएर हामीले भने जस्तो गर भन्छन् । हामी त पेण्डुलम भइरहेका छौं । अर्थात्, हाम्रो आफ्नो घर पाहुनाले भनेअनुसार चलाइरहेका छौं । यसो हुनुको प्रमुख कारण अपठित हुनु हो ।

मैले केही वर्ष बाहिर पढाएँ । त्यो नभएको भए त यति पनि गर्न नसक्ने रहेछु । मेरा बुबा बित्ने बेलामा काठमाडौंमा १०/१२ रोपनी जग्गा थियो । अहिले नौ आनामा बनेको घर बाहेक केही छैन । नयाँ पुस्तक आएपछि किन्न मन लागिहाल्छ । मजस्तो ऋणमा चुर्लुम्म डुबेको प्राज्ञ पाउनुहुन्न ।
यो पनि पढ्नुहोस ‘सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको सूचीमै त्रुटि छ’

कसैले गौतम बुद्धले कति पढेका थिए ? भन्छन् । त्यतिबेला पढाइ हुने शिक्षा पद्दति थिएन । बुद्धले पढेका थिएनन् भन्न मिल्दैन । अपठितलाई के भनुँ र खै !

इतिहास र संस्कृतिको पढाइमा संशोधन मण्डलले भनेअनुसारको शिक्षा पद्दति लागू गर्नुपर्‍यो । सरकारले ५० लाख रुपैयाँ जति लगानी गरेर हेरोस् न कति काम हुँदोरहेछ । म पैसाका लागि चाप्लुसी गर्न जान्न ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर



source https://www.onlinekhabar.com/2019/09/800250

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More