Wednesday 31 August 2022

महाअभियोग स्वत: निष्क्रिय भइसक्यो, संसदको सम्मानका लागि मात्र आएको हुँ : चोलेन्द्र

१५ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको बताएका छन् । बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा गएका उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताए ।

उनले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गरेका छन् । ‘यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना गरिनएन’ उनले भने, ‘यो प्रस्ताव निष्क्रिय भइसकेको छ ।’

आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै जबराले त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए । ‘…दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो’ उनले भने । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको पनि जबराले बताए ।

जबरालाई नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले न्यायिक नेतृत्वमाथि सबैतिरबाट प्रश्न उठेको र जबराले नै त्यो ठाउँ दिएको भन्दै त्यस्तो वातावरण किन बन्यो भनी प्रश्न गरेकी थिइन् ।

जवाफमा जबराले आफूले गरेका काम नियम कानुन र संवैधानिक अधिकार भन्दा बाहिरबाट नभएको दावी गरे ।

‘सरोकारवाला र राजनीतिक दलहरूको सुझाव अनौपचारिक रुपमा पनि लिने अधिकार हुन्छ तर संवैधानिक रुपमा प्राप्त अधिकार र जिम्मेवारी निर्वाह गर्दा दलहरूबाटै प्रश्न उठाएर न्यायलयलाई कमजोर बनाउने काम भयो यो म बाट भएको त होइन नि’ उनले जवाफ दिए ।



source https://www.onlinekhabar.com/2022/08/1183347

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More