Tuesday 23 August 2022

गृहमन्त्रीका पीएसओ छानबिनमा तानिए

७ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको निजी सुरक्षामा खटिएका पीएसओमाथि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको छ ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग आर्थिक लाभ लिएको आरोप लागेपछि खाँणका पीएसओ वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार यूएईबाट ५० ग्रामका दरले विभिन्न व्यक्तिबाट सुन ल्याएर काठमाडौंमा संकलन गर्ने गिरोहसँग उनको सम्बन्ध रहेको आशंका गरिएको छ ।

प्रहरीका अनुसार १६ असारमा सुनसहित पक्राउ परेका एक व्यक्तिलाई अभद्र व्यवहारको कसूरमा प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको थियो । थुनामा राखेका बेला उनले ती व्यक्तिको गाडीबाट नगद ४ लाख रुपैयाँ लगेको अभियोग छ ।

अधिकृतहरुका अनुसार वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरुलाई सुन बोकाएर पठाउने गिरोहको सुन पक्राउ परेका व्यक्तिले काठमाडौंमा फिर्ता नगरेपछि लफडा भएको थियो । त्यसपछि कार्कीले पैसा उठाउन भूमिका खेलेको हुनसक्ने आशंका गरिएको छ ।

थप विषयहरु छानबिनपछि खुल्ने डीआईजी राईले बताए ।



source https://www.onlinekhabar.com/2022/08/1179043

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More