१५ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका ५ डाम्रीका दिलबहादुर सुनार आरनमा हसिया तताउँदै छन् । खलाती चलाएर उनलाई सघाइरहेकी छन् श्रीमती सौरी सुनारले । खलाती चलाएर आरनमा घरेलु औजार बनाउने दिलबहादुरको पुर्ख्यौली पेशा हो ।
केटाकेटी उमेरदेखि बाउबाजेलाई सघाउँदै आएको यो पेशा अहिले पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ । श्रीमतीले दिएको खलातीको हावासँगै आगो सल्काउँदै फलामका औजार बनाइरहेका दिलबहादुरले भने, ‘यही काम सिकें, यसबाटै जीवन धानिरहेको छु, अब जीवन यसमै बित्छ होला ।’
घर छेउमा जोडिएको सानो झुपडीमा उनको आरन छ । त्यसमै छ दशक पार गरेका दिलबहादुर भन्छन्, ‘मैले थाहा पाएदेखि नै यो काम चलिरहेको छ । यही आरनमा जुनी बित्ने त होला ।’ सनासोले औजार समाएर पिटिरहँदा अनियन्त्रित रुपमा आगोका झिल्काहरु उठिरहेका छन्, जसरी उनको दुःखको यात्रा अनिश्चित छ ।
आरनको पछिल्लो भागमा बसेर सौरी सुनारले सिरानीको खोल जस्ता देखिने काला थैलामा हातका कुहिना र हत्केलाले थिच्दै हावा दिइरहेकी छन् । आरनमा हावा दिने काममा प्रयोग गरिने यही परम्परागत प्रविधि नै खलाती हो । बाख्रा काटेपछि मासु निकालेर सिंगो छालालाई खलाती बनाइने दिलबहादुर बताउँछन् । आगोले खलाती नजलाओस् भनेर बीचमा चेप्टो ढुंगा राखेर छेकिएको छ ।
‘खलाती चलाउने आरनमा एक्लै काम गर्न सकिंदैन,’ दिलबहादुर भन्छन्, ‘खलाती चलाउने र औजार, तताउने पिट्ने एकसाथ गर्नुपर्छ, त्यसैले सहयोगी चाहिन्छ ।’
दुःखको कुरा छ के छ भने उनको यो श्रमको मूल्य भने छैन । कथित माथिल्ला भनिने जातिबाट सिजनमा आउने थोरैथोरै अन्नबालीबाट परिवार जेनतेन चलेको छ । दलित समुदायको हितका लागि राज्य र अन्य सरोकारवालाले ठूलाठूला कुरा गरे पनि यहाँका दलितलाई अझै बालीघरे प्रथाले छाडेको छैन । नेपालमा बालीघरे प्रथालाई दलितमाथि आर्थिक शोषण गर्ने आधारको रुपमा लिइन्छ तर पनि यो हट्न सकिरहेको छैन ।
दिलबहादुर दम्पतिका तीन भाइ छोरा र एक छोरी छन् । एउटा छोरा बाग्दुलास्थित एक व्यवसायमा मजदुरी गर्छन् । दुई भाइ साना छोरा र श्रीमतीले पालैपालो खलाती चलाउन सघाउँछन् । दुई कक्षामा पढ्ने छोरीले पनि फुर्सदको समयमा खलाती चलाइदिने दिलबहादुरले सुनाए ।
गाउँपालिकाले पंखा भएको औजार दिएको थियो तर त्यो दुई वर्ष पनि टिकेन । ‘मेसिन बिग्रिएपछि कहाँ बनाउन जानु, यो (खलाती) त यहीं बनाउन सकिन्छ । बरु खलाती नै सजिलो देखियो,’ दिलबहादुरले भने ।
पछिल्लो पुस्तामा गाउँघरमा आधुनिक प्रविधिको बढ्दो आकर्षणले यस्ता किसिमका घरेलु प्रविधि लोप हुँदै गएका छन् । तर, दिलबहादुरले भने आफ्नो दुःखसँगै यो परम्परागत प्रविधि पनि जोगाएर राखेका छन् ।
केही वर्ष अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी र यस्ता घरेलु प्रविधि विस्तारै कम हुँदै भने गएका छन् । यी प्रविधिलाई आधुनिकतासँग जोड्न सके नयाँ पुस्ताका लागि यी नासो बाँकी रहनसक्ने छन् ।
source https://www.onlinekhabar.com/2021/06/975909
0 comments:
Post a Comment