Saturday, 19 March 2022

नेपाली फिल्मका विभिन्न आयाम समेटिएको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

६ चैत, काठमाडौं । नेपाली फिल्मका आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक नारायणा पुरी, दीपाश्री निरौला,  झरना थापालगायतले पुस्तक लोकार्पण गरे ।

चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकलाई फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेका हुन् । पुस्तक ३ सय ६३ पृष्ठको छ ।

‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल ः युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र : सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौ अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाइ र संघर्षलाई समेटिएको छ ।

निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज-अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली फिल्मलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे ।

अभिनेत्री मानन्धरले डिजिटल युगमा धेरै कुरा इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु,’ उनले भनिन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्रीले निरौलाले ‘क्लोज-अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । ‘चलचित्रकर्मीको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र ! भन्ने खालको स्थिति छ,’ उनले भनिन् ।

लेखक पराजुलीले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो ।’

ठूलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । ५९९ रुपैयाँ मूल्य तोकिएको पुस्तक यसै साताबाट देशभर तथा अमेजनमार्फत संसारभर उपलब्ध हुने जनाइएको छ ।



source https://www.onlinekhabar.com/2022/03/1096019

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More