१० चैत, काठमाडौं । पछिल्लो समय लगानी योग्य रकम (तरलता) अभावका कारण बैंकहरु समस्यामा छन् । यो समस्या समाधानका लागि बैंकहरुले विदेशबाट पर्याप्त ऋण भित्र्याउन सकेका छैनन् । ऋण भित्र्याउनेमा २७ वाणिज्य बैंकमध्ये १० वटा मात्र छन् । ऋण ल्याउँदा सकारात्मक असर परेको छ ।
विदेशबाट सबैभन्दा बढी ६ करोड ५० लाख अमेरिकी डलर ऋण एनएमबि बैंकले स्वीकृत गराएको छ । ऋण लगानी गर्ने विदेशी वित्तीय संस्थाहरुको पहिलो रोजाइमा पर्ने एनएमबि ‘बैंक अफ द इयर-२०२१’ पनि हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी यो अवार्ड आफ्नो बैंकका लागि मात्रै नभएर नेपाली बैंकिङ क्षेत्रका लागि पनि निकै महत्वपूर्ण रहेको बताउँछन् । उनका अनुसार, ‘द बैंकर फाइनान्सियल टाइम्स लण्डन’ले दिने यो अवार्ड फिल्मी क्षेत्रको ओस्कर अवार्ड जत्तिकै हो ।
‘यो अवार्ड पाउने सम्भवतः दक्षिण एशियाकै पहिलो बैंक हामी भयौं’, सीईओ केसी भन्छन्, ‘एशियाकै उत्कृष्ट बैंकको रुपमा हामीले पाएको अवार्डले नेपाली बैंकिङ क्षेत्रलाई ‘ग्लोबल म्याप’मा राखेको छ ।’
कोरोना महामारीका कारण सन् २०२० र २०२१ विषम वर्षको रुपमा रह्यो । कोभिडकालमा अन्य बैंकलेभन्दा फरक किसिमले बैंकिङ सेवा दिएका कारण पनि यो अवार्ड एनएमबिले पाएको उनले बताए ।
विषम परिस्थितिकाबीच फरक सम्भावना र अवसर नियालेर २ हजारभन्दा बढी कर्मचारी परिचालन गर्दै अगाडि बढेको सीईओ केसी बताउँछन् । संकटका बेला समस्याग्रस्त ग्राहकलाई सर्भाइभ र रिभाइब गराउँदै विजनेशलाई निरन्तरता दिने योजना बनाएर कार्यान्वयन गरेको उनले बताए ।
‘साथै डिजिटाइजेसनलाई विशेष प्राथमिकतामा राखेर कर्पोरेट गभर्नेन्स, सस्टेनेबल बैंकिङमा काम गरयौं’, उनले भने, ‘यी कारणले हामी एशियाकै राम्रो बैंकमा दरिएका हौं ।’
प्राथमिकतामा सुशासन
नेपालका कतिपय बैंकको प्राथमिकतामा अहिले पनि नाफा मात्र छ । एनएमबिका सीईओ केसीको नजरमा अधिकांश बैंकले दिगो बैंकिङमा अझै ध्यान दिएका छैनन् । आफूहरुले भने फरक तरिकाले काम गरिहेको उनी बताउँछन् ।
‘धेरैजसो कमर्सियल बैंकको पहिलो रुचि नाफामा हुन्छ । फेरि, सस्टेनेबल बैंकिङ सहज पनि छैन’, उनले भने, ‘हामी चाहिं नाफासँगै समाज, वातावरण लगायत पक्षमा पनि फोकस भएर उत्तरदायी बैंकिङ गरिरहेका छौं ।’
बैंकिङ क्षेत्रको अर्को महत्वपूर्ण विषय भनेको संस्थागत सुशासन अर्थात कर्पोरेट गभर्नेन्स हो । एनएमबि बैंकको सेयर संरचना नै फरक किसिमको छ । बैंकमा संस्थापक सेयरको बहुमत होल्डिङ संस्थागत कम्पनीहरुको छ । यसमा नेदरल्याण्ड्स सरकारको सेयर भएको एफएमओको सबैभन्दा धेरै सेयर छ ।
‘त्यसैले बाहिर भइरहेको राम्रो कुरालाई हामी चाँडो नेपाल ल्याउँछौं’, सीईओ केसीले भने, ‘हाम्रो बोर्ड र व्यवस्थापनको भूमिका र उत्तरदायित्वमा पनि फरक छ ।’
उनका अनुसार, नीतिगत तहमा बोर्डको बढी भूमिका हुन्छ । व्यवस्थापन र बोर्ड दुवैले संस्थागत सुशासनलाई पहिलो प्राथमिकता राखेको उनी बताउँछन् ।
कसरी जित्यो विदेशीको विश्वास ?
नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउन बैंक तथा वित्तीय क्षेत्रहरुलाई खुला गरेपनि अधिकांश बैंकले ल्याउन सकेका छैनन् । एनएमबि बैंकले भने सबैभन्दा पहिले र बढी विदेशबाट ऋण ल्याउन सक्यो । विदेशी ऋणदाता समूहहरुले पत्याएकैले यो सम्भव भएको हो ।
‘हामी अनुशासित दिगो बैंकिङ गरिरहेका छौं’, सीईओ केसी भन्छन्, ‘लघुवित्त समेत जोड्दा ३०० भन्दा बढी शाखाबाट ४५ हजारभन्दा धेरै ग्राहकलाई सेवा दिएका छौं । यीनै कारणले विदेशी संस्थाहरुको विश्वास जितेका हौं ।’
तरलताको समस्या र युक्रेन युद्ध
तरलताको निकै ठूलो समस्या झेलिरहेको बेला रुस-युक्रेन युद्धले समेत नेपाली अर्थतन्त्रमा असर परेको छ । एनएमबि बैंकका सीईओ केसी रुस-युक्रेन युद्धले महंगी र तरलता समस्या अझै गहिरिने चिन्ता बढेको बताउँछन् ।
उनका अनुसार, अर्थतन्त्र ग्रोथ वा रिकभरीको फेजमा तरलताको समस्या आउँछ । कोभिडपछि नेपाली अर्थतन्त्र रिकभरीमा थियो । ‘कोभिडपछि कर्जाको माग र आयात धेरै बढ्यो, रेमिट्यान्स जस्ता बाह्य क्षेत्रमा दबाव पर्यो’, सीईओ केसीले भने, ‘यही बेला हुनुपर्ने जति सरकारी खर्च नहुँदा तरलता समस्या देखियो ।’
नेपालको बैंकिङ क्षेत्रमा कूल गाह्रस्थ उत्पादन भन्दा धेरै कर्जा छ । यसको ९५ प्रतिशत स्रोत भने आन्तरिक नै हो, जुन साधारण निक्षेपको रुपमा मिलाइरहेको अवस्था छ । जम्मा २ प्रतिशतमात्रै डिबेञ्चर लगायत लङटर्म सोर्स छ । यो अवस्थामा जुनसुकै बेला समस्या आउन सक्ने केसीले बताए ।
आन्तरिकमा मात्रै भर पर्दा सानो समस्या पनि निकै ठूलो जस्तो हुन्छ । एनएमबि बैंक भने सहज अवस्थामा नै रहेको उनी बताउँछन् । बाहृय स्रोतमा पनि ध्यान दिने हो भने तरलता समस्या समाधान हुने सीईओ केसी बताउँछन् ।
विश्वमा हुने युद्ध र अस्थिरताले केही न केही असर सबैतिर गर्छ । युक्रेनबाट नेपालले पनि धेरै वस्तुहरु आयात गर्छ । त्यहाँको युद्धको असर नेपाली बजारमा परिसकेको छ ।
‘पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ’, सीईओ केसी भन्छन्, ‘अन्य क्षेत्रमा पनि महंगी बढेको छ । विविध कारणले विदेशी मुद्रा सञ्चितिमा दबाव परेको छ । अब महंगी दोहोरो अंकमा जाने सम्भावना छ । यसबाट तरलता समस्या अझै बढ्न सक्छ ।
अबको बैंकिङ प्रविधिमैत्री
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका बेला डिजिटल बैंकिङ प्रयोगकर्ता ह्वात्तै बढे । यद्यपि बढ्नु पर्ने जति अझै बढेको छैन । अहिले पनि धेरै सर्वसाधारण भौतिक उपस्थितिमै कारोबार गर्न रुचाउँछन् ।
एनएमबि बैंकका चिफ विजनेश एण्ड स्ट्रटेजी अफिसर सुदेश उपाध्याय अबको बैंकिङ प्रविधिमैत्री हुनुपर्ने बताउँछन् । बैंकिङ क्षेत्रका लागि डिजिटल रुपान्तरण धेरै महत्वपूर्ण रहेको उनले बताए ।
डिजिटल कारोबारले समय र लागत खर्च समेत बचाउँछ । बैंक शाखामा पुगेर कारोबार गर्दा घण्टौं लाग्ने काम डिजिटल माध्यमबाट क्षणभरमै हुन्छ । नेपालमा डिजिटल कारोबारको एक खुड्किलो भने पार भइसकेको उपाध्याय बताउँछन् ।
‘एनएमबि बैंककै कुरा गर्ने हो भने ग्राहकले कारोबारका लागि शाखामा जानै पर्ने बाध्यता हटिसकेको छ,’ उनले भने, ‘हामी अर्को चरणमा जाँदैछौं । ग्राहकहरुको खर्च गर्ने शैली हेरेर विभिन्न स्किमहरु ल्याउँदैछौं ।’
नेपालमा डिजिटल कारोबारमा बेलाबेला असुरक्षाको विषय समेत उठ्ने गरेको छ । एनएमबि बैंकको प्रविधिको विषयमा शंका गर्नु पर्ने कुनै ठाउँ नभएको उपाध्याय बताउँछन् ।
‘आईएसओ सर्टिफाइड भएको र बेलाबेला आईएसओ अडिट समेत हुने गरेकाले एनएमबिको प्रविधि शंकाको घेराभन्दा बाहिर छ’, उनले भने ।
प्राथमिकतामा साना व्यावसाय
राष्ट्र बैंकले साना तथा मझौला उद्यम व्यावसायमा लगानी बढाउन विशेष प्राथमिकता दिएको छ । अर्थतन्त्रमा दीर्घकालीन रुपमा सकारात्मक असर पर्ने भन्दै बैंकहरुलाई कृषि, ऊर्जा, साना तथा मझौला उद्यम व्यावसाय लगायतमा लगानी बढाउन राष्ट्र बैंकले भन्दै आएको छ ।
एनएमबिका चिफ विजनेस अफिसर गोविन्द घिमिरे बैंकले यस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँछन् । ‘जीडीपीमा २२ देखि २५ प्रतिशतसम्म योगदान दिएका साना तथा मझौला उद्यम व्यावसायले १७ लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको हामी देख्छौं,’ उनले भने, ‘यस्तो क्षेत्रमा हामीले विशेष ध्यान दिने नै हो, दिइरहेका छौं ।’
सुरुवाती अवस्थामा एनएमबि बैंक पनि ठूला र कर्पोरेट ऋणीहरुमै केन्द्रित थियो । ठूलो उद्योगी-व्यावसायीलाई धेरै ऋण लगानी गर्ने एनएमबि बैंकको अवस्था अहिले भने फरक छ । घिमिरे भन्छन्, ‘अहिले हामी स-साना कृषि कर्जा, साना उद्यम व्यवसायमा फोकस छौं ।’
धेरैजसो बैंक अहिले पनि उद्यम-व्यावसायभन्दा आयात व्यापार गर्नेमा धेरै लगानी गरिरहेका छन् । पछिल्लो समय आयातका कारण अर्थतन्त्रमा निकै ठूलो समस्या परेको भन्दै राष्ट्र बैंकले कतिपय वस्तु आयातमा शतप्रतिशत नगद मार्जिन राखेरमात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार एनएमबि बैंकले ऊर्जा, कृषि साना तथा मझौला व्यवसायहरुलाई प्राथमिकतामा राखेको चिफ विजनेस अफिसर घिमिरेले बताए । साना उद्योगहरु अर्थतन्त्रका मेरुदण्ड भएकाले यसमा एनएमबि बैंक गम्भीर रहेको बताउँदै उनले भने, ‘कर्पोरेट ऋण अहिले हाम्रोमा १० प्रतिशत भन्दा कम नै छ, हाम्रो प्राथमिकतामा साना तथा मझौला उद्यम व्यवसायहरु नै छन् ।’
उद्यम-व्यवसाय गर्न चाहनेहरुलाई स्पष्ट योजना बनाएर ल्याए बैंकहरु लगानी गर्न तयार रहेको उनले बताए । ‘साँच्चै व्यवसाय गर्न चाहनेसँग धितो नभए पनि हामी लगानी गर्छौं,’ उनले भने, ‘ऋण तिर्न सक्ने आधारहरु भने हुनुपर्छ ।’
एनएमबि बैंकले छिटोछरितो सेवा प्रवाह गर्ने उनी बताउँछन् । डिजिटल रुपमा पनि धेरै अघि बढेको र साना तथा मझौला उद्यम-व्यावसायलाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्ने भएकाले एनएमबि बैंक रोज्न उद्यमीहरुलाई चिफ विजनेस अफिसर घिमिरेको आग्रह छ ।
‘अर्को कुरा, मानव संशाधन र प्रादेशिक संरचनामा पनि हामी धेरै राम्रो छौं । ग्राहकको आवश्यकता बुझ्ने कर्मचारी छन्’, उनले भने ‘हरेक कर्जालाई द्रुत गतिमा स्वीकृत गर्न रिस्क अफिसरहरु पनि राखिएको छ, यस्ता धेरै कारणहरु छन् जसले एमएमबि बैंक नै रोज्नपुर्छ भन्ने देखाउँछ ।’
नाफामूलक व्यावसाय आवश्यकता होइन
बैंकहरू हरेक वर्ष बढी भन्दा बढी नाफा कमाउन चाहन्छन् । बैंकहरुबीच मुख्य प्रतिस्पर्धा नै नाफामा हुने गरेको देखिन्छ । एनएमबि बैंकका चिफ इन्भेष्टमेन्ट अफिसर श्रीजेश घिमिरे नाफा भन्दा अगाडि मानव तथा पृथ्वीको विषयमा विचार गर्नुपर्ने बताउँछन् । त्यसैले एनएमबि बैंकले दिगो बैंकिङको अवधारणा पहिल्याएको उनले बताए ।
उनका अनुसार, समाज र पर्यावरणलाई बचाउँदै अघि बढ्ने बैंकिङ नै दिगो बैंकिङ हो । संयुक्त राष्ट्र संघले बनाएको दीगो विकासको १७ वटा लक्ष्य र १६९ वटा टार्गेटमा समाज र पर्यावरणलाई बचाउन बैंकहरुले के गर्न सक्छ भन्ने उल्लेख छ ।
त्यसैको आधारमा एनएमबि बैंकले स्थिर तथा दीगो बैंकिङप्रति प्रतिवद्धता जनाउँदै २०२५ सम्मको रणनीति बनाएको चिफ इन्भेष्टमेन्ट अफिसर घिमिरेले बताए ।
उनले भने, ‘२०२५ सम्म कम्तिमा ५० प्रतिशत लगानी उत्पादन मुलक क्षेत्रमा गर्ने, कम्तिमा एक सय वटा ऊर्जा तथा वास्तविक अर्थतन्त्रका प्रोजेक्टहरुमा लगानी गर्ने र १० हजार ५०० टन कार्बन उत्सर्जन घटाउने हाम्रो लक्ष छ ।’
अहिले जलवायु परिवर्तनको मुद्दा प्रमुख रुपमा आएको छ । ‘बैंकहरुले गर्ने लगानीले यो मुद्दामा ध्यान दिने हो भने लक्ष्य प्राप्त गर्न सकिन्छ । नेपाल सरकारले पनि सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने भनेको छ’, उनले भने, ‘एनएमबिको कोरिएको रणनीति नै हो, २०२५ सम्म सकेको गर्ने ।’
एनएमबि बैंकले गर्ने लगानीमध्ये ३० प्रतिशत कार्वन उत्सर्जन घटाउने, ५० प्रतिशत सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्ने, कागजको उपयोग ७० प्रतिशत घटाउने र प्लाष्टिकको प्रयोग न्यून गर्ने लक्ष्य छ ।
‘हरित लगानीमा ध्यान दिने हुनाले अहिले पनि विद्युतीय सवारी साधनमा दिने कर्जामा हाम्रो ब्याजदर नै कम छ । हरित ऋण पत्र जारी गर्ने पनि हाम्रो लक्ष्य छ’, चिफ इन्भेष्टमेन्ट अफिसर घिमिरे दाबी गर्छन्, ‘विद्युतीय सवारीसाधनमा धेरै लगानी गर्ने बैंकमध्येमा हामी पर्छौं । पर्यावरणीय क्षेत्रमा लगानी गर्नेमा पनि हामी अगाडि छौं ।’
उनका अनुसार, राष्ट्र बैंकको नीतिपछि ऊर्जा ऋण पत्र जारी गर्ने पनि एनएमबि नै पहिलो बैंक हो । अब अर्को ऋणपत्र जारी गर्ने तयारी रहेको उनले बताए ।
भिडियो र तस्वीर : शंकर गिरी/अनलाइनखबर
source https://www.onlinekhabar.com/2022/03/1098361
0 comments:
Post a Comment