म बेलाबेलामा मधेशको इतिहास हेर्ने गर्छु। आफूलाई स्वघोषित मधेशी विद्वानले मधेशीको नाममा व्यक्तिगत फाइदा लिनेभन्दा बढी केही पनि गरेको देखिंदैन। हो, म कुरा गर्न खोज्दैछु, आफूलाई तथाकथित विद्वान भनेर चिनाउँदा रमाउने मधेशी कोटाबाट सरकारी जागिरमा छिरेका कतिपय मधेशी कर्मचारीहरूको कथा। उनीहरू मधेश/मधेशीको आडमा आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्दै आएका छन्।
विगत केही दिनदेखि ‘मधेश प्रदेश’को सरकारले कर्मचारीको कमीले बजेट खर्च नभएको गुनासो गरिरहेको छ। तर, यसको हल अहिलेसम्म हुनसकेको छैन। एकातिर, प्रत्येक वर्ष २२ प्रतिशत मधेशी आरक्षण कोटाबाट सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिरको लागि प्रवेश गरेको देखिन्छ भने अर्कोतिर मधेशमा कर्मचारीको सधैं अभाव हुने गरेको देखिन्छ।
मधेशमा खासगरी निजामती सेवामा कर्मचारीको अभाव देखिन्छ। प्रत्येक वर्ष श्रेणीविहीनदेखि सहसचिवसम्म खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट २२ प्रतिशत आरक्षणको हिसाबले जम्मा रिक्त दरबन्दीको ९.९ प्रतिशत कर्मचारी भर्ती हुने गर्छन्। तर मधेशमा कर्मचारीको समस्या जहींको तहीं नै छ। आखिर यस्तो किन भइरहेछ ?
यसरी मधेशमा कर्मचारीको समस्या हुनुको धेरै कारण छन्। यहाँ मधेशी कोटाबाट जागिर खाने तर आफ्नै जन्मभूमिमा सेवा गर्न अरूचि देखाउने प्रवृत्ति बढिरहेको छ। मधेश कोटाबाट जागिर खाने तर मधेशमा काम गर्न नखोज्नेहरू माथि हाम्रो समाजको ध्यानाकर्षण कहिले हुने त । मधेश जन्मभूमि भएका कर्मचारीमा पनि मधेशलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुनु एकप्रकारले नियतको खराबी हो। विडम्बनापूर्ण परिघटना हो। यसबाट मधेशको समृद्धिको सपना प्रभावित भइरहेको छ। कोटाबाट जागिर खाने तर मधेशलाई प्राथमिकतामा नराख्ने प्रवृत्तिको अन्त्य गर्न सम्बन्धित निकायले कडा नीति र विधिको विकास गर्न ढिला गर्नुहुँदैन।
सँगसँगै यस्तो प्रवृत्तिलाई सघाउने कारणहरूको खोजी पनि गर्नुपर्छ। किनकि हरेक समस्याको दिगो समाधान खोज्नु उत्तम हुन्छ।
मधेशी कोटामा जागिर खाएर मधेशमै सेवा गर्न अनिच्छुक हुनु पछाडिको पहिलो कारण हो- आरक्षणको सुविधा लक्षित वर्गले लिन नसक्नु। अर्को भाषामा भन्दा अभिजात वर्गको अपहरणमा आरक्षण व्यवस्था पर्नु।
माध्यमिक तहसम्मको शिक्षा पनि राम्रोसँग पढ्ने अवसर नपाएका विद्यार्थीका लागि लोकसेवा परीक्षा आकाशको फल आँखा तरी मर भनेजस्तै हुन्छ। नर्सरीदेखि स्नातकोत्तरसम्मको शिक्षा भौतिक सुखसुविधा तथा ठूलाठूला लगानीकर्ताको लगानीमा बनेका निजी विद्यालयमा पठनपाठन गरेका वर्गले नै आरक्षण कोटामा जागिर खाइरहेका छन्। यी वर्गका व्यक्तिहरूलाई आफू मधेशी हो भन्ने भावना अलिकति पनि छैन। यी वर्गका व्यक्तिहरू अवसर लिने बेलामा मात्र मधेशी बन्छन्। त्यो पनि नेपाल सरकारको परीक्षा र अन्तर्वार्तामा मात्र मधेशी बन्छन्। परीक्षा हलबाट बाहिरिनासाथ उनीहरू गैरमधेशी अवतार र सोचमा पुनर्जन्म हुन्छन्।
यो वर्गका कतिपय मानिसले त अवसर लिएपछि आफ्नो नामसँग जोडिएको आफ्नो पहिचानलाई पनि हटाउने गरेका धेरै उदाहरण छन्। उनीहरू प्रायः गैरभौगोलिक मधेश हुन्। उनीहरूले आफ्नो नाममा परिवर्तन गर्न सक्दैनन् तर आफ्नो सन्तानको नामको पछाडिको टाइटल चाहिं परिवर्तन गरिरहेका हुन्छन्।
एकातिर जातिवादको विरोध गरिरहने अर्कोतिर आफ्नो पहिचान हटाएर पहाडको जातिसँग मेलखाने टाइटल किन राखेका होलान् ? यसबाट प्रष्ट हुन्छ उनीहरू आफू मधेशी भएकोमा गर्व गर्न सक्दैनन्। तर अवसर लिन भने लाज मान्दैनन्।
यसरी मधेशी कोटाबाट फाइदा मात्र लिने तर मधेशमा काम गर्न नचाहनुका पछाडि उनीहरूको मधेशसँग सालनालसँग भावना पनि जोडिएको हुनुपर्ने रहेछ। यसो नहुँदा मधेशलाई उपयोग मात्रै गर्नेको संख्या बढेको हो।
हुन त, आरक्षणका कतिपय व्यवस्थाबाट फाइदा लिएर आफ्नो धरातलको माया नगर्ने क्षेत्र अन्त पनि होलान्। तर अलि बढी यस्तो प्रवृत्ति मधेशमा देखिन्छ। सम्भवतः म मधेशबाट भएकोले मलाई यस्तो लागेको पनि हुनसक्छ।
यदि यही क्रम दोहोरिइरहने हो भने मधेशको समृद्धि हुन मुश्किल छ। मैले आफैं कतिपय कर्मचारीहरूलाई मधेशी कोटाको आडमा प्रथम श्रेणीको कर्मचारीसम्म बनेकाहरूले एक वर्ष पनि मधेशमा कार्य गरेको अनुभव नरहेको देखेको छु।
बिहान बेलुका खेतमा काम गरेर अलिकति रातिमा समय निकालेर पढ्ने ती दुर्गमका विपन्नका लागि छुट्याइएको कोटामा यसरी भौतिक सुखसुविधा सम्पन्न व्यक्तिले अवसर पाइरहेका छन्। मधेशलाई पछाडि पार्न यिनै आफूलाई गैरमधेशी ठान्ने व्यक्तिवादी मानिसहरूको भूमिका छ। आफूलाई गैरमधेशी ठान्न पाइन्छ, यसमा कसैको आपत्ति रहँदैन तर अरूको अवसर खोस्नु त गम्भीर नैतिक बेइमानी हो।
नेपाल सरकारले मधेशी आरक्षणमा जागिर खानेलाई मधेशमा कम्तीमा १० वर्ष काम गर्नुपर्ने अनिवार्य गर्नुपर्छ। मधेशी कोटा भनेको मधेशमा पछाडि परेका नागरिकका लागि हो। कुनै पनि व्यक्तिको व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि होइन। यो कोटाको पूर्ण सदुपयोग हुनुपर्छ। यसबाट मधेशले फाइदा लिनुपर्छ।
source https://www.onlinekhabar.com/2022/03/1094227
0 comments:
Post a Comment