Sunday 31 October 2021

जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु

१५ कात्तिक, वीरगञ्ज । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पर्साको पटेर्वासुगौली गाउँपालिका-१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो । कात्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार मनहरीबाट चार जना जंगलको बाटो हुँदै पर्सा आइरहेका थिए । जंगली हात्तीलाई देखेपछि उनीहरू भागेका थिए । सोमबहादुर भाग्न सकेनन् । उनलाई हात्तीले आक्रमण गर्‍यो । भागेर घर पुगेकाहरू भोलिपल्ट सोमबहादुरलाई खोज्दै आए । उनी खोलाको बगरमा मृत भेटिए । पुनः घर फर्केर गई उनीहरूले वडाध्यक्षमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । रातिको समयमा जंगलको बाटो उनीहरू किन आए भन्ने खुलेको छैन ।

मकवानपुरको मनहरी हुँदै जंगलको बाटो पर्साको पटेर्वासुगौलीमा रातिको समयमा अवैध लागूऔषध गाँजाको तस्करीसमेत हुने गरेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1032718

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More