Thursday 28 October 2021

एमाले पोखरा महानगर अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन

११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् ।

दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् ।

मंगलबारदेखि शुरु भएको पोखरा महानगर कमिटीको अधिवेशनमा ६ जना आकांक्षीमध्ये ५ जनाले मनोनयन दर्ता गराएकोमा बिहीबार मात्र न्यौपानेको पक्षमा सहमति जुटेको हो ।

अध्यक्ष पदबाट लागि न्यौपानेसहित तेजनारायण अधिकारी, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठी र दीपक पौडेल उम्मेदवार बनेका थिए । प्रदेश तथा अन्य कमिटीमा समेट्ने आश्वासनपछि उनीहरुले मनोनयन फिर्ता लिएका थिए । सञ्जीवबहादुर कोइरालाले पनि अध्यक्षका लागि दाबी गरे पनि अन्तिममा मनोनयन दर्ता गरेका थिएनन् ।

केन्द्रमा पृथ्वीसुब्बा र खगराज दुवै एमाले अध्यक्ष ओली निकट भएपनि कास्कीमा दुई नेताको प्रतिष्ठाको लडाइँ छ । स्थानीय तहको निर्वाचन पोखरामा मेयरको टिकट दिनेदेखि मुख्यमन्त्री बन्न एमाले संसदीय दलको नेता छान्नेसम्म पृथ्वीसुब्बा र खगराज समूहबीच चर्कै प्रतिस्पर्धा चलेको थियो ।

पृथ्वीसुब्बा केन्द्रीय सचिव भएपनि कास्कीमा खगराजको दबदबा मानिन्छ । पृथ्वीसुब्बाले कास्कीमा पनि आफ्नो प्रभाव जमाउन चाहन्छन् । स्थानीय तहको निर्वाचनमा पोखरामा खगराजले एमाले कास्की अध्यक्ष बनाउन चाहन्थे तर पृथ्वीसुब्बा निकट मानबहादुर जीसीले मेयरको टिकट पाए र जिते पनि ।

गण्डकी प्रदेशमा पृथ्वीसुब्बाले मुख्यमन्त्रीका लागि एमाले संसदीय दलको नेताको लागि दाबी गर्दा खगराजले किरण गुरुङलाई बनाउन कसरत गरेका थिए । तर, पछि किरणले पृथ्वीसुब्बालाई दलको नेतामा समर्थन गरेका थिए ।

केन्द्रीय राजनीतिमा रहेका पृथ्वीसुब्बा मुख्यमन्त्री भएसँगै गण्डकी प्रदेशको राजनीतिमा केन्द्रित हुँदा त्यसको असर खगराजलाई परेको उनी निकट नेता बताउँछन् । खगराज र पृथ्वीसुब्बाबीच पार्टीको भागबण्डादेखि विभिन्न नियुक्तसम्म प्रतिस्पर्धा चल्ने गरेको बताइन्छ ।

त्यसैको असर पोखरा महानगर कमिटीमा पनि परेको हो । अध्यक्षका प्रत्यासी अध्यक्ष दीपक पौडेल र तेजनारायण अधिकारी एमाले सचिव पृथ्वीसुब्बा निकट मानिन्छन् भने दिलीप न्यौपाने र हरिप्रसाद त्रिपाठी खगराज पक्षधर हुन् ।

अध्यक्षका आकांक्षी चार जनालाई महानगरको उपल्लो कमिटीमा समेट्ने वचन दिएपछि उनीहरुले मनोनयन फिर्ता लिएका थिए ।

अध्यक्षमा निर्वाचित न्यौपाने खगराज अधिकारी स्वास्थ्य मन्त्री हुँदा उनको स्वकीय सचिव समेत थिए । न्यौपानेले पोखरा नगर कमिटीका सचिव, अनेरास्ववियुका केन्द्रीय सदस्य, तत्कालीन पश्चिमाञ्चल ब्युरो प्रमुख भएर काम गरिसकेका छन् ।

यस्तै पोखरा महानगर कमिटीको सचिवमा जीवन आचार्य सर्वसम्मत चयन भएका छन् । पोखरा महानगर–१६ का वडाध्यक्ष समेत रहेका आचार्यसँग गोकर्ण अधिकारी प्रतिस्पर्धी थिए ।

अन्य पदाधिकारीमा पनि सहमति जुटाउने प्रयास भइरहेको अध्यक्ष मण्डलका सदस्य जगतबहादुर विश्वकर्माले जानकारी दिए । उपाध्यक्षमा ५ जना आकांक्षी छन् । उपसचिव पदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

महानगर कमिटीमा भौगोलिक तर्फबाट २५ जना सदस्य निर्विरोध चयन भएका छन् । पोखरा महानगरको अधिवेशन सम्पन्न गराउन खगराज अधिकारी, गण्डकीका अध्यक्ष जगतबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य सीता ओली गिरी, भीम कार्की, जिल्ला अध्यक्ष कृष्ण थापा, प्रदेश सदस्य बालकृष्ण काउछा र अनुशासन आयोगका सदस्य मित्रकुमारी सुवेदी सदस्य रहेको अध्यक्ष मण्डल बनाइएको छ ।



source https://www.onlinekhabar.com/2021/10/1031272

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More