Saturday 30 October 2021

कानून व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन, सर्वोच्च परिसरमा कडाइ

१४ कात्तिक, काठमाडौं । कानून व्यवसायीको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । सुरक्षाकर्मीहरुको गाडी सर्वोच्च भित्र र बाहिर तम्तयार अवस्थामा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतका कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्दैछन् । कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत कानून व्यवसायीहरु नेपाल बारको कार्यालयबाट सर्वोच्च अदालत परिसरतर्फ लागेका छन् ।

एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।

तस्वीर : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2021/10/1032141

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More