इलाम जमुनाका ८६ वर्षे तोयानाथ भट्टराई उहिले भारतीय सीमाको जौबारी बजार बसेर आलु, अलैंची, चिराइतो किनबेच गर्थे । उच्च लेकाली गाउँमा प्रशस्त कृषिउपज हुन्थ्यो । यो भेगमा आलु दिनहुँ २०० मन -प्रतिमन ४० किलो) सम्म हुन्थ्यो । मानेभञ्ज्याङ, भारतको दार्जीलिङ, सिलीगुडी, कोलकातातिर बेच्न भट्टराईलाई मुख्य समस्या थियो- ढुवानीका साधनको ।
घोडामा भारी बोकाएर व्यापार सम्भव नभएपछि उनी २०२३ मा सीमावर्ती मेघमा गए । त्यहाँका स्थानीय भालुकोरे मण्डल -व्यापारी) बाट १० हजार भारतीय रुपैयाँमा डब्ल्युबिए २३२९ नम्बरको ल्यान्डरोभर गाडी किने । ‘नेपालपट्टि राम्रो बाटो थिएन तर ल्यान्डरोभर गाडी यति बलियो कि ग्रामीण कच्ची सडकमा निकै लोड भए पनि नटेर्ने’ उनले विगतको गाउँ-शहर सम्झिंदै भने, ‘इलाममा फाट्टफुट्ट गाडी देखिन्थे तर लेकाली भेगमा भारी बोक्ने गाडी चाहिं ल्यान्डरोभर मात्र थियो ।’
त्यसबेला भारतीय नम्बर प्लेटका ल्यान्डरोभर चल्थे तर एकैहातका औंलामा गन्न सकिने संख्यामा मात्र । पछि उनले यो ल्यान्डरोभर बेचे, अर्काे किने । नेपाली नम्बर प्लेट भएका अरू गाडी समेत किनेर ढुवानीमा प्रयोग गरे । उनी भन्छन्, ‘तर, उबडखाबड कच्ची सडकमा कुद्न ल्यान्डरोभर जस्तो भरपर्दाे गाडी उहिल्यै थिएन । शायद अहिले पनि छैन होला ।’
समय फेरियो, समस्या फेरिएन
६ दशकभन्दा बढी बित्यो । शहर अर्काे भयो । गाउँ फेरियो । बाटोघाटो बदलियो । गाउँमा सडक त छरपस्ट पुग्यो तर गाडी पुगेन । पुगे पनि बाह्रैमास गुड्न सकेन । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा लगायत पहाडी जिल्लाका गाउँको अधिकांश सडक अहिले पनि उस्तै छ । हिउँदमा गाडी चल्छ, बर्खामा ठप्प । बाह्रमासे सडक नहुँदा बर्खामा आउ-जाउको पिरलो उस्तै छ ।
विकट पहाडी गाउँका अप्ठयारा कच्ची सडकमा अहिले पनि ल्यान्डरोभर चल्छन् । निकै पुराना भए पनि प्राविधिक हिसाबले कच्ची सडकका लागि उपयुक्त रहेको र स्थानीय जनशक्तिले नै मर्मत गरी चलाउन सक्ने भएकाले दूरदराजका गाउँलाई अहिले ल्यान्डरोभरको ठूलो भर छ ।
विकल्पविहीन ल्यान्डरोभर
वातावरण प्रदूषण र दुर्घटना कम गर्न भन्दै सरकारले २० वर्ष पुराना सवारी सञ्चालनमा पटक-पटक अंकुश लगायो तर ल्यान्डरोभरको चाहिं भरपर्दाे विकल्प दिन सकेन । व्यवसायी र स्थानीय उपभोक्ताको दबावपछि सरकारले पहाडी जिल्लामा मात्र चल्ने गरी ल्यान्डरोभर खुला गर्यो ।
अहिले पूर्वी पहाडी जिल्लामा ल्यान्डरोभरको ठूलो भरथेग चाहिं बिरामीलाई अस्पताल पुर्याउन र ल्याउनलाई छ । टु हृविल र अरू फोर हृविल गाडी समेत गुड्न नसक्ने सडकमा ल्यान्डरोभर पुग्ने भएकाले यसलाई कच्ची सडकको एम्बुलेन्स मान्छन् यातायात व्यवसायी गृष्म सुब्बा ।
‘अरू गाडी नपुग्ने विकट गाउँमा यात्रु, मालसामान ओसार्न त अझै पनि ल्यान्डरोभरको विकल्प नै छैन’ उनी भन्छन्, ‘दुर्गम गाउँमा मान्छे बिरामी पर्दा एम्बुलेन्स बनिदिने पनि तिनै ल्यान्डरोभर न छन् ।’
पहाडी क्षेत्रका किसानले उत्पादन गरेको कृषिउपज बजार ल्याउन होस् वा गाउँमा खाद्यान्न पुर्याउन, ल्यान्डरोभरको ठूलो सहयोग छ । जिल्लाका स्थानीय तहले विकास गरिरहेका दर्जनौं महत्वपूर्ण पर्यटकीयस्थलमा पर्यटक पुर्याउन-ल्याउन पनि ल्यान्डरोभर गतिलो साधन बनिरहेका छन् ।
वर्षामा समेत विकट गाउँसम्म पुग्ने यी साधन प्राकृतिक प्रकोप, दुर्घटना र अन्य जुनसुकै अवस्थामा गाउँ र शहरको सेतु बनेका छन् । पाङ्ग्राको भाग अग्लो हुने र स्पि्रङ प्रयोग भएकाले ल्यान्डरोभर हत्तपत्त कच्ची सडकमा पल्टिने, ढल्किने समस्या नभएको सुब्बा बताउँछन् ।
‘ल्यान्डरोभर गाडीको बनावट नै यस्तो छ कि, निकै अप्ठयारो सडकमा पनि यात्रुका लागि आरामदायी छ’ सुब्बा भन्छन्, ‘उमेरले पुरानो भएर के भो, कच्ची सडकका लागि नयाँ गाडीभन्दा निकै अब्बल छन् यी ।’ व्यवसायीका अनुसार हिलो, खाल्डो, धूलो, उकालो-ओरालो जस्तोसुकै बाटोमा पनि ल्यान्डरोभरले यात्रुलाई अभर पार्दैन ।
मेची र कोशीका पहाडी जिल्लामा अहिले डेढ सय हाराहारीमा ल्यान्डरोभर छन् । इलामदेखि ताप्लेजुङसम्म ९० भन्दा बढी संख्यामा रहेको पूर्वेली जीप तथा टयाक्सी यातायात प्रालिले जनाएको छ । इलामका बिब्ल्याँटे, जमुना, आलुबारी, माइमझुवा, माङ्सेबुङ लगायत गाउँमा समेत ल्यान्डरोभर छन् ।
स्वरोजगार सिर्जना गर्दै सडक सुहाउँदो सवारी
ल्यान्डरोभरको अर्काे विशेषता चाहिं जो चालक छ, त्यो गाडी उसकै हो । र, बिगि्रएमा मर्मत गर्ने, कन्डिसनमा राखेर चलाउने सीप पनि उसैसँग छ । यातायात क्षेत्रमा काम गर्ने सयौं श्रमिकले पैसा कमाएर आफैं ल्यान्डरोभर गाडी किनेका छन्, स्वरोजगार बनेका छन् । नयाँ गाडी किन्न धेरै रकम खर्चिनुपर्ने भएकाले सस्तो मूल्यका ल्यान्डरोभर युवाको रोजगारीका लागि सहज भएका हुन् ।
ल्यान्डरोभरकै माध्यमबाट परिवारको गुजारा गर्ने युवाको संख्या चाहिं ल्यान्डरोभरको संख्याभन्दा कम्तीमा दोब्बर छ । माबु गाउँका गणेश राई हुन् या जमुनाका निमा तामाङ, उनीहरू ल्यान्डरोभर चलाएर स्वरोजगार बने । इलामकै सोनाम शेर्पा, विनोद राई, विनोद पाठक, टीका गुरुङ, देवेन्द्र मुखिया, प्रमोद जबेगू लगायतले ल्यान्डरोभरको राम्रो अनुभव लिन भ्याएका छन् ।
दार्जीलिङको घुमबस्ती अंग्रेजहरूले ब्रिटिश गोर्खा भर्ती गराउने यो क्षेत्रको डिपो थियो । त्यहाँ आउँदा ब्रिटिशले ल्याएका ल्यान्डरोभर गाडी पुरानो भएपछि त्यतै लिलाम गरेर गए
उच्च पहाडका कच्ची सडकलाई उपयुक्त यी सवारी साधनको विशेषता जसलाई थाहा छ, उसले मात्रै महत्व पनि बुझ्न सकेको प्रालि अध्यक्ष समेत रहेका सुब्बा बताउँछन् । सीमावर्ती भारतीय क्षेत्रमा पर्यटकका लागि यिनै ऐतिहासिक ल्यान्डरोभरका कारण ‘एड्भेन्चर टुरिज्म’ फस्टाइरहेको छ ।
पुराना तर निकै बलिया ल्यान्डरोभर भारतीय पर्यटन व्यवसायीले पर्यटकका लागि र अन्यले आफ्नो सोखका लागि समेत यतैबाट किनेर लैजाँदैछन् । नेपालमा ८ लाख रुपैयाँसम्ममा खरीद-बिक्री भइरहेका बेला भारतीयले तिनै गाडीलाई १६ लाख रुपैयाँसम्म तिरेर लगेको व्यवसायी बताउँछन् ।
बेलायतमा बनेका ल्यान्डरोभर दोस्रो विश्वयुद्ध (सन् १९४१-१९४५)मा भारतमा प्रयोग भएका हुन् । यही इतिहास कायम राख्न सीमाछेउको दार्जीलिङमा चाहिं पुराना ल्यान्डरोभरको जगेर्ना गरिंदैछ । त्यहाँ सिंहलीला ल्यान्डरोभर एशोसिएसन गठन गरी पुराना गाडी संरक्षण गरिएको छ । एशोसिएसनमा अहिले पाँच दर्जनभन्दा बढी यस्ता गाडी छन् ।
भारतीय बाटोबाट दैनिक १०-१२ ल्यान्डरोभर पर्यटक लिएर सन्दकपुर, मानेभञ्ज्याङ, तुम्लिङ, जौबारी, कालपोखरीतिर आइरहन्छन् । त्यहाँका ल्यान्डरोभर व्यवसायीलाई सरकारले करमा समेत छूट दिएको छ । भारतका पश्चिम बंगाल, उडिसा, नयाँदिल्लीतिरका व्यवसायीले समेत पुराना ल्यान्डरोभर सोखका लागि प्रयोग गर्ने गरेका छन् । दार्जीलिङ क्षेत्रका पर्यटन व्यवसायी चाहिं पर्यटकलाई शुरूमा ल्यान्डरोभरको महत्व चिनाउँछन्, त्यसपछि यिनै साधनमा विकट पहाडी क्षेत्र घुमाउन पुर्याउँछन् ।
ल्यान्डरोभरको इतिहास
इलाम सदरमुकाममा १२ फागुन २०१२ मा पहिलोपटक गाडी आउनुअघि भारतीय सीमा पशुपतिनगर भएर गोदकसम्म ल्यान्डरोभर आइसकेका थिए । सदरमुकामसम्म आउने सडक नै विकास नभएका बेला भारतीय क्षेत्रबाट व्यापारको सिलसिलामा ल्यान्डरोभर गाडी यो क्षेत्रमा भित्रिएको इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् ।
२००७ सालको राजनीतिक परिवर्तनपछि भारतीय सीमाका बजारमा व्यापार राम्रो भयो । यहाँका गाउँको कृषिउत्पादन भारतीय बजारमा बिक्री भयो । दार्जीलिङको घुमबस्ती अंग्रेजहरूले ब्रिटिश गोर्खा भर्ती गराउने यो क्षेत्रको डिपो थियो । त्यहाँ आउँदा ब्रिटिशले ल्याएका ल्यान्डरोभर गाडी पुरानो भएपछि त्यतै लिलाम गरेर गए । तिनै सवारी व्यापार र विभिन्न माध्यमबाट सीमा क्षेत्र हुँदै नेपाल भित्रिएको वैद्यको भनाइ छ ।
इलाममा १९८० को दशकमै पशुपतिनगरबाट मोटरबाटो छिरेको हो । राजशमशेर इलामको बडाहाकिम भएका बेला यो बाटो खुलेको वैद्यले बताए । ‘२००७ सालपछि गठन भएको पूर्वाञ्चल स्वायत्त सरकारले पहिलो काम नै बाटोको गरेपछि गोदकसम्म गाडी आएको हो’ उनले भने, ‘त्यतिबेला भारततिरका गाडी नै धेरै चल्थे तर अमेरिकी सुपरलेट र डच गरी दुई कम्पनीका ट्रक चाहिं त्यतिबेलै आइसकेका थिए ।’
सीताराम पन्त बडाहाकिम भएका बेला सदरमुकाममा गाडी आयो । तर, गोदकदेखि इलामसम्मको सडक स्थानीयले आफैं श्रमदान गरेर खनेका हुन् । माइखोलामा काठको धुलेपुल थियो । बालागुरुले २०११ सालमा अहिलेको माइजोगमाईमा नयाँबजार बसाउँदा भारतीय सीमा तुम्लिङबाट बाटो खुलाइयो ।
ल्यान्डरोभर त्यताबाट पनि प्रवेश गरे । गोर्खे गाउँका एक मारबाडीले २०२४ सालतिर ल्यान्डरोभर किने । उनले मानेभञ्ज्याङसम्मको सडकसमेत आफ्नै लगानीमा खनाएको इतिहास रहेको वैद्यले सुनाए । इलामको सापकोटा थरका अर्का व्यवसायीले पनि ल्यान्डरोभर किनेका थिए ।
पहाडतिर पुराना गाडी
सरकारले २०७१ भदौ १९ मा दुई वर्षपछि २० वर्ष पुराना गाडी हटाउने निर्णय गर्यो । २०७२ फागुन १७ मा पुनः अर्काे निर्णय गर्दै उपत्यकाबाट वर्षदिनमा र उपत्यका बाहिरबाट दुई वर्षपछि यस्ता सवारी साधन विस्थापित गर्ने नीति लियो । तर, पूर्वी पहाडका यातायात व्यवसायी, राजनीतिक दल, स्थानीय प्रहरी-प्रशासन लगायतले तत्काल यसरी पुराना गाडी हटाउँदा विकट गाउँ यातायात सुविधाबाट वञ्चित हुनेमा सरकारको ध्यानाकर्षण गरे । व्यवसायीले मन्त्रालय र विभागमै पुगेर पटक-पटक पहल गरे । तर, सरकारले निर्णय सच्याएन ।
लामो समयपछि मात्र सरकारले गाडीको हालको अवस्था अभिलेख राखी पहाडी क्षेत्रमा पुराना गाडी चल्न दिने निर्णय गर्यो । त्यही निर्णय अनुसार ल्यान्डरोभर गाडीको दर्ता, नवीकरण हुँदैछ तर नामसारी भने हुँदैन । व्यवसायी सुब्बा भन्छन्, ‘सरकारले यी गाडीको कर लिन्छ, दर्ता गर्छ, नवीकरण गर्छ तर नामसारी चाहिं किन अड्काएको हो भन्ने बुझिएको छैन । कर लिएर चल्न दिएपछि नामसारी चाहिं हुन नदिनुको कुनै अर्थ छैन ।’
source https://www.onlinekhabar.com/2021/10/1031821
0 comments:
Post a Comment