वि.सं. १९५० ताका घना जङ्गल फडानी गरेर बसाइएको एउटा सानो बस्ती आज ‘लाहुरेको शहर’ बनेको छ ।
धरान र ब्रिटिश लाहुरेहरू बीचको सम्बन्ध ६ दशक अघिको हो । वि.सं. २०१० मा धरानमा ब्रिटिश गोर्खा सैनिक कार्यालय (भर्ती केन्द्र) स्थापना भएको थियो । पूर्वी पहाडका युवाहरू यहाँ ब्रिटिश सेनामा भर्ती हुन आउँथे । अवकाश पाएपछि पूर्वी पहाडका लाहुरेहरूले धरानलाई आश्रयस्थलको रूपमा रोज्थे ।
आम नेपालीभन्दा औसत आम्दानी बढी हुने लाहुरेहरूको रोजाइ हुन्थ्यो धरान । यहाँ उनीहरूले चिटिक्क परेका घर बनाउन थाले । विदेशमा सिकेका संस्कारलाई पछ्याउन थाले । यसरी विस्तारै चिटिक्क परेको सफासुग्घर घरहरू भएको शहर बन्न थाल्यो धरान । धरानमा लाहुरेको उपस्थिति शहरको व्यापार वृद्धि र चमकधमकको मुख्य आधार बन्न थाल्यो ।
तर अहिले धरान बजारमा लाहुरे–लाहुरेनीको भीड देखिंदैन । बेलायतमा बस्ने अधिकार पाएपछि धरानबाट लाहुरेहरू एकएक गर्दै बेलायत, सिङ्गापुर र ब्रुनाईतिर लागिसके । धरानमा रहेका करीब १० हजार भूपू गोर्खा परिवारमध्ये ९० प्रतिशत जति बेलायत गइसकेको भूपू लाहुरेहरू बताउँछन् ।
उनीहरूको बेलायत बसाइले नेपाल भित्रिरहेको मासिक ६५ करोड बराबरको रेमिट्यान्स उतै थन्किन थालेको धरानका आर्थिक विश्लेषक राजेन्द्र शर्मा बताउँछन् । एकातिर धरानबाट लाहुरे परिवारको पलायनले धरान शहर प्राणविहीन बन्दैछ । धरानको व्यापार स्वात्तै घटेको छ ।
अर्कोतिर नेपालमा रहेको श्रीसम्पत्ति पनि बेचेर बेलायत लैजाने क्रम बढेपछि पूँजी पलायनको विकराल समस्या पैदा भएको उनको ठम्याइ छ ।
धरान–१५ का भूपू क्याप्टेन पूर्णप्रसाद लिम्बू भन्छन्– ‘यहाँबाट लाहुरेहरू गएका गएकै छन् तर फर्किने संख्या शून्य जस्तै छ । क्याप्टेन लिम्बू वेलफेयर अफिस धरानको सिनियर एरिया वेलफेयर अफिसरको रूपमा कार्यरत छन् । तर आफू भने देशको लागि नेपालमै बसेको उनी बताउँछन् । अब पलायन भएका लाहुरेमा राष्ट्रियताको भावना पैदा गर्न सके मात्र नेपाल फर्केर आउने उनले बताए ।
छाडेका निशानी
धरानका लाहुरे पलायन हुने क्रम बढे पनि उनीहरूले छाडेका निशानीले बेलाबेलामा उनीहरूलाई नै सम्झाउने गर्दछ । भूपू सैनिकहरूले धरान–२०, विष्णुपादुकास्थित माछामारा डाँडामा करोडौं लगानीमा ब्रिटिश गोर्खा स्मृति पार्क निर्माण गरेका छन् । लाहुरेहरूले छाडे पनि माछामारा डाँडामा रहेको पार्कले लाहुरेहरूको प्रतिनिधित्व गरिरहेको छ । अहिले त्यहाँ पर्यटक पुग्ने गरेका छन् ।
यस्तै, धरान–१० स्थित सैनिक भवन, धरान–१९ स्थित ब्रिटिश कम्युनिटी हल, धरान–१३ स्थित वेलफेयर अफिस, धरान–१८ स्थित डिपोट हाई स्कूल, भानुचोकस्थित गोर्खा कम्प्लेक्स पनि भूपू सैनिककै सम्पत्ति हो । आधुनिक धरान बनाउन योगदान पु¥याएका भूपू लाहुरेहरू हिजोआज धरानमा नभेटिए पनि उनीहरूले छाडेको निशानी पहिचान बनेर बसिरहेका छन् ।
बेलायत गएकाहरू फेरि फर्केर आउने सम्भावना न्यून देखिन्छ । लाहुरे पलायन भएकाले धरानको आर्थिक अवस्था डामाडोल हुनुको साथै धरानवासीका लागि दुर्भाग्य भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा बताउँछन् । उनी भन्छन्– ‘उहाँहरूको पेन्सनले समग्र धरानको आर्थिक अवस्थालाई उकासेको थियो । अब भने धरानमा उनीहरूले छाडेका निशानी मात्र बाँकी रहेका छन् ।’
जनसहभागितामूलक विकासको नमूना शहर
अहिले मानिसहरूलाई लोकतन्त्र नै लोकतन्त्र जस्तो लागिरहेको छैन । तर जनसहभागितालाई जीवन्त राखेर धरान वरपर लोकतान्त्रिक संस्कार जीवन्त राख्न खोजिएको छ । धरानलाई जनसहभागिताको नमूना शहरका रूपमा पनि चिनिन्छ ।
यहाँ विभिन्न जनसहभागिताका योजना तथा धराने जनताको सक्रिय सहभागिता अध्ययन अवलोकन गर्न देशभरबाट मानिस आउने गर्दछन् । यहाँका सामुदायिक वन समूहको अध्ययन गर्न अन्य जिल्लाका वन समूह आइरहेका हुन्छन् । हरियाली, लाङ्घाली तथा यलम्बर सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्धनलाई ध्यानमा राखेर नमूना काम गरेको छ । ती समूहको काम तथा यहाँ भएका विकास तथा पूर्वाधार अवलोकन गर्न अन्य जिल्लाका वन समूह आउने गरेका छन् ।
उपमहानगरपालिकामा जनसहभागिताको इतिहास हेर्दा २०३५ सालदेखि नै शुरुआत भएको पाइन्छ । जनसहभागिताको सक्रिय शुरुआत भने २०५५ देखि भएको नगरपालिकाले जनाएको छ । जनसहभागिताको शुरूका दिनमा उपभोक्ताको २५ तथा ४० प्रतिशत र नगरपालिकाको ७५ तथा ६० प्रतिशत लागतका आधारमा योजना सञ्चालन गरिएका थिए ।
पछि आएर क्रमशः नपा र जनसहभागिता ५०÷५० प्रतिशतसम्मको लागतमा समेत योजना सम्पन्न भएका छन् । यी सबै काममा लाहुरेहरूकै प्रत्यक्ष सहभागिता रहेको हुन्थ्यो । तत्कालीन नगरप्रमुख स्व. ध्यानबहादुर राईलाई उक्त कार्यको श्रेय जान्छ । जसले जनतासँगको जनसहभागिताको मोडल धरानमा भित्र्याएका थिए ।
धरानको फेशन
युरोप, अमेरिकामा शुरू भएको फेशन नेपालमा सबैभन्दा पहिला धरानमा भित्रिन्छ भन्ने मान्यता अहिलेसम्म छ । यो सबै लाहुरे समुदायले गर्दा नै हो । लाहुरेले पहिरन मात्र होइन, फूल बिरुवाहरू रोप्न अनि घरहरू आकर्षक बनाउन पनि सिकाए ।
विदेश देखेर र भोगेर आएका लाहुरेहरूले त्यसलाई आफ्नो मातृभूमिमा मौलिकता सहित अभ्यासमा ल्याउन थाले । उनीहरूले नजिकबाट देखेका सुन्दरता र संस्कृति भित्र्याए । कपालको फेशन होस् या लगाउने पहिरनमा होस् पहिले धरानले भित्र्याउँछ । उनीहरूले संसार देखेर आउँथे । उनीहरूसँग पैसा पनि हुन्थ्यो । उनीहरू पैसाको पर्वाह गर्दैनन् । जति कमाउँछन्– आधा भन्दा धेरै खर्च गर्छन् । त्यसैले पनि धरानमा फेशन प्रवेश गर्ने गरेको आर्थिक विश्लेषक राजेन्द्र शर्मा बताउँछन् ।
कोरोना महामारीले विश्वको फेशन बजारलाई नराम्ररी प्रभावित गर्यो । अब लकडाउन प्रायः हट्दै गएकाले विश्व बजारसहित नेपालमा सार्वजनिक चहलपहल बढेको छ । यो फेसन बजारको लागि सकारात्मक बनेको वरिष्ठ पत्रकार हर्ष सुब्बा बताउँछन् ।
उनी भन्छन्– ‘धरान फेशनको मामलामा सधैं अघि छ । फेशनको विश्वबजारमा परेको कोरोनाको प्रभावले आयातीत फेशनका उत्पादनहरूमा कमी आए पनि पूरै फेशन बजार प्रभावित हुने स्थिति देखिन्न । धरानको हकमा त फेशन बजारलाई कोरोनाको जोखिमले खासै प्रभाव नपारेको वरिष्ठ पत्रकार हर्ष सुब्बा बताउँछन् ।
पर्यटनको प्रवेशद्वार, छैन पर्याप्त पूर्वाधार
पूर्वको पर्यटनको प्रवेशद्वार हो धरान । तर त्यसको लागि पर्यटकीय सुविधाका आवश्यक भौतिक पूर्वाधारमा लगानी भएको छैन । ठूला स्टार होटलहरू नभए पनि बजार आसपासमा पर्यटकीय रिसोर्टहरूमा लगानी गर्ने प्रबल सम्भावना छ किनकि आसपास सुन्दर प्राकृतिक स्थलहरू छन् । ती ठाउँहरूमा तीनै तहको सरकारले पहुँच मार्गको विकास गर्ने दिशातिर काम गर्न सकिरहेका छैनन् ।
पूर्वाधार विकासमा काम हुन नसक्दा अथाह सम्भावना बोकेर पनि विदेशी पर्यटकहरूलाई धरान बस्ने सुविधाको कमी छ । निजी क्षेत्रको लगानीले धानेको नेपालको पर्यटन उद्योगलाई धरानमा आकर्षित गर्न जरूरी रहेको पर्यटन व्यवसायी वासु बराल बताउँछन् । धरानलाई व्यावहारिक रूपमा पर्यटनको केन्द्र बनाउने उपायहरूको खोजी गर्न आवश्यक छ ।
धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थान र त्यहाँ लाग्ने मेलाहरूले पनि पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ । बराह क्षेत्र, विष्णुपादुका, रामधुनी, पाञ्चायनधाम, कुम्भ मेला आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पुर्याउँदै आएको छ । धरानदेखि नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षणले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पुर्याएको छ । विभिन्न प्रजातिका चरा तथा अर्ना अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक धरानको सांस्कृतिक तथा धार्मिक क्षेत्रको अवलोकन गर्न चुक्दैनन् ।
भेडेटार र धनकुटा जाने बाटो मास्तिरको नमस्ते झरना पनि गन्तव्य हो । पहाडी जिल्लाको नाका भएकाले रमणीय ठाउँ धनकुटा, ताप्लेजुङ, कुम्भकर्ण हिमाल, कञ्चनजङ्गा, मकालु हिमाल, बरुण राष्ट्रिय निकुञ्ज, अरुण उपत्यका, तिनजुरे मिल्के लालीगुराँस, गुफा पोखरी, सभा पोखरी, ह्यातुङ झरना आदिको प्रवेश मार्ग पनि धरान नै हो ।
धरानमा प्रशस्त ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू पनि छन् । विभिन्न जाति, जनजातिका सांस्कृतिक र परम्परागत रहनसहन तथा रीतिरिवाजले पनि पर्यटकीय महत्वलाई सहयोग पुर्याएको छ । किराँत जातिको उधौली उभौली उत्सव, नेवार जातिको लाखेनाच गाईजात्रा, यमरी उत्सव, तामाङ जातिको शेलो, गुरुङ जातिको रोदीघर तथा क्षेत्री–बाहुन जातिको बालननाच तथा सङ्गिनी आदिका लागि पनि धरान केन्द्रस्थल बनेको छ । लिम्बूहरूले त दुई दशकदेखि चासोक तङ्नामको सामूहिक उत्सवको आयोजना गरेर साताभर मनाउँदै आएका छन् ।
अब धरानलाई दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर मात्र नभनी विजयपुरस्थित भताभुंगे दरबारको ऐतिहासिक कुराको जानकारी, चिण्डे डाँडा माथितिर रहेको सुलीकोटलाई पनि प्रचारप्रसार गरेर ऐतिहासिक पर्यटनको गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताउँछन् सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, ‘साँघुरी गढीमा रहेको तीनवटा तोपको खोजी र स्थापित गरी त्यहाँस्थित सीता पोखरीको पनि खोजी गरिनुपर्छ ।’
संस्कृति, पर्यावरण तथा प्राकृतिक सम्पदाका हिसाबले अग्रस्थानमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि धरान आकर्षणको केन्द्र बन्न सक्ने प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसायी वासु बराल बताउँछन् ।
‘घण्टाघर टु भेडेटार’
धरान हङकङ मञ्चमार्फत हङकङ र मकाउमा बस्ने धराने र धरान उपमहानगरवासी सहित धरान उपमहानगरपालिकाको सहयोगमा धरानको भानुचोकमा निर्माण भएको धरान घण्टाघर पनि पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्न थालेको छ । पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार तथा पहाड र तराईको सङ्गमस्थलका रूपमा धरानलाई चिनिन्छ ।
यहाँ धार्मिक तथा ऐतिहासिक महत्वका स्थल त छन् नै साथमा भौगोलिक स्थितिका कारण यहाँको हावापानी पनि गज्जब छ । गर्मीले वाक्कदिक्क भएकाहरू चिसो खान भेडेटार सम्झन्छन् । यहाँ बाह्रैमास चिसो हावापानी पाइन्छ ।
सप्तकोशी नदीमा जलयात्रा र चतरादेखि कोशी ब्यारेजसम्म नौका दौड धरान–४ स्थित दानाबारीबाट पाराग्लाइडिङ शुरू भएको छ । निजीस्तरमा भेडेटारबाट जिप फ्लाइङ समेत सञ्चालनमा ल्याइएको छ । पाँचकन्या जङ्गलको सिरानमा रहेको किराँतकालीन दरबारको भग्नावशेषको उत्खनन चारकोसे झाडीलाई संरक्षण र सम्वर्द्धन गरी विभिन्न जैविक विविधताको संरक्षण धरान विष्णुपादुका बराह क्षेत्र केवलकार सञ्चालन गर्न सकिने र निजी क्षेत्रले सम्भाव्यता अध्ययन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।
शिक्षाको हबदेखि मिनी ब्राजिलसम्म
धरान शैक्षिक केन्द्रको रूपमा पनि परिचित छ । स्वास्थ्य क्षेत्रका विशेषज्ञसम्मको अध्ययन, इञ्जिनियरिङ, विज्ञान प्रविधिका केन्द्रीय क्याम्पस सहित संस्कृत, व्यवस्थापन, शिक्षा, आमसञ्चार र साहित्यका स्नातकोत्तर तहका क्याम्पसहरू सञ्चालनमा छन् । यी उच्च शिक्षाका पूर्वाधार धरानमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरूलाई बनाउने रणनीति स्थानीय सरकारले अपनाउनुपर्ने देखिन्छ ।
शिक्षालाई सबै वर्गको पहुँचमा पु¥याउन सके अभिभावकहरूको पनि आकर्षण बढ्न सक्छ । धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउने योजना रहेको धरान उपमहानगरपालिकाका मेयर तिलक राई बताउँछन् । सार्कस्तरीय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग रहेको अन्तर्राष्ट्रियस्तरको गल्फ मैदान पनि यहाँको आकर्षणको केन्द्र हो । प्रतिष्ठानमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्ति आउने गदर्छन् ।
यस्तै, धरान–४ स्थित दानाबारीमा टेकअफ र वडा नं. ५ मा ल्याण्डिङ भएको पाराग्लाइडिङ, विजयपुर गढीस्थित पञ्चकन्या जंगलमा साइक्लिङ ट्रयाक, धरान–१६ स्थित रंगशाला, बीपी प्रतिष्ठानभित्रको गल्फ कोर्स र स्कस, नेपाल प्रहरी महाविद्यालय अन्तर्गतको ब्याडमिन्टन हल पनि डीपीआर भैरहेको छ ।
खेलकुदको शहर पनि हो धरान । यहाँको बुढासुब्बा गोल्डकप शुरू भएपछि यहाँको खेलप्रेमीको माहोल एकाएक तातिन्छ । फूटबलको कारण धरानले ‘मिनी ब्राजिल’ को उपमा पाउने गरेको छ । विगत २३ वर्षदेखि नियमित सञ्चालन भैरहेको बुढासुब्बा गोल्डकप विगत दुई वर्षदेखि हुनसकेको छैन । यस बाहेक धरानमा बास्केटबलको पनि राम्रो क्रेज छ । यहाँ अहिले पनि टोलैपिच्छे बास्केटबलका कोर्टहरू छन् ।
काठमाडौंपछि नेपालमै पहिलो धरानमा बास्केटबल खेलको शुरुआत भएको नेपाल बास्केटबल संघका उपाध्यक्ष, धरान बास्केटबल्ल संघका अध्यक्ष सुरज लामा बताउँछन् । उनका अनुसार धरानमा ब्रिटिश घोपा क्याम्प बसेपछि त्यहाँ आएका बेलायतीहरूले शारीरिक कसरतको लागि बास्केटबल खेल्न थालेका हुन् ।
अहिले प्रदेश–१ को खेलकुद हब बनाउने लक्ष्य लिएर खेलकुद ग्रामसहित धरानको समग्र खेल संरचनाहरूको एकीकृत रूपमा डीपीआर बनाउने काम शुरु भएको छ । धरान–१७ स्थित सप्तरंगी पार्कमा भलिबल, कराते, उसु, सुटिङ, सेपाकताक्रो, बास्केटबल, स्वीमिङ, टेबलटेनिस, ब्याडमिन्टन लगायत इन्डोर खेलको प्रशिक्षण केन्द्र बनाउने योजना छ ।
यस्तै, एथलेटिक्स ट्रयाक, साइक्लिङ, फूटबल, हकी, आर्चरी, क्रिकेटको वलिङ र ब्याटिङ अभ्यासस्थल लगायतको पनि प्रशिक्षणस्थल हुनेछ । खेलग्रामबाहेक धरान–६ स्थित पानबारीमा हकीको एकेडेमी निर्माण गर्न अध्ययन हुँदैछ भने धरान–१५ स्थित खोरिया बस्तीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ ।
अहिले धरानमा हाइकिङको मज्जा पनि लिन थालिएको छ । धरान वरपर रहेका अग्ला डाँडाहरूमा हाइकिङ जाने र रमाउनेहरूको भीड बढ्न थालेको छ । विष्णु पादुका, माछामारा, चिन्डे डाँडा, साँगुरी गढी, भ्यूटावर, दानाबारी, शिखरवास, शिव जटा आदि स्थानमा धरानेहरू हाइकिङ जाने गरेका छन् । यसले पनि धराने पर्यटनको लागि थोरै भए पनि टेवा पुर्याएको छ ।
विशेष त धराने सञ्चारकर्मीहरू हप्तै जस्तो हाइकिङ जाने गरेका छन् । जसले धरानको स्थानीय पर्यटनलाई टेवा पुर्याएको धराने फोटो पत्रकार विकास राई बताउँछन् ।
नाटकघरदेखि ‘नाइटलाइफ’ सम्म
कला संस्कृतिको धनी धरानमा अब नाटकघर पनि बन्ने भएको छ । धरान त्यही शहर हो जहाँ चार दशकअघि नै आधुनिक नाटक शुरू भएको थियो । धरानमा रंगमञ्चको इतिहास आठ दशक पुरानो रहेको बताइन्छ । ६० को दशकमा यहाँ अनाम नाट्य समूह सहित करीब डेढ दर्जन नाट्य संस्था क्रियाशील थिए । सबै विलाएर गए तर अहिले भने धरानको रंगमञ्चलाई रंगभूमि एकेडेमीले क्रियाशील बनाइरहेको छ ।
यसका संस्थापक विष्णु मोक्तान भन्छन्– ‘अहिले हामी धरानमा नाटकघर निर्माणको लागि कुदिरहेका छौं, हाम्रो सपना चाँडै पूरा हुँदैछ ।’ सांसद जयकुमार राईले ‘सांसद विकास कोष’को ४० लाख रुपैयाँ नाटकघरका लागि विनियोजन गरेपछि भने अहिले धरानमा नाटकघरको काम धमाधम हुँदै गरेको उनले जानकारी दिए । अब धरानमा पहिलेझंै नाटकको माहोल फर्किनेमा उनीहरू आशावादी छन् ।
अहिले धरान उपमहानगरपालिका–८ सभागृहछेउ आधुनिक नाटकघर बनाउन थालिएको छ । सांसद राईले पनि नाटकघर धरानको गहना बन्ने आशा व्यक्त गर्दै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
धरानको अर्को विशेषता हो नाइटलाइफ । यसलाई लाहुरे संस्कारको प्रभाव पनि मान्न सकिन्छ । फट्याग्रा जस्तो उफ्री उफ्री डुली हिंड्ने रात्रिप्रेमीहरूलाई धरानले मज्जैले तान्छ । बगरकोट गएर अलिकति मदिरा पिएपछि त माहोल नै अर्कै बन्छ । छेउमै रहेको डान्सबारमा कम्मर मर्काउन पनि पाइन्छ ।
धरानको नाइटलाइफ रंगीन छ । तर पछिल्लो कोरोना भेरियन्टको प्रभाव बढेपछि धरानमा नाइट लाइफको मज्जा शून्यमा छ । कोरोना महामारीपछि सुस्ताएको रात्रिकालीन जीवन पुनः लय समाउने प्रयासमा छ ।
बिर्सनै नसकिने कालो बंगुर
धरान भन्नासाथ मानिसहरूले सम्झने अर्को विषय हो– कालो बंगुरको मासु । धरानको कालो बंगुर ब्राण्ड बनेर देशभरिको शहरसम्म फैलिएको छ । धराने कालो बंगुरको सेकुवाको क्वालिटी अन्य सुँगुरको भन्दा माथि छ ।
किरात, राई, लिम्बू सहित खय आर्य समुदायमा पनि कालो बंगुरको मासु लोकप्रिय बन्न थालेपछि यसको माग उच्च हुन थालेको छ । यसरी कालो बंगुरले पनि धरानको भिन्न परिचय दिएको छ । हाल अमेरिकामा रहेका धरानका पत्रकार जस बेखर्चीले भन्ने गर्दथे– ‘अब धरान प्रवेशद्वारमा कालो बंगुरको सालिक बनाइनुपर्छ, कालो बंगुर धरानको पहिचान हो ।’
रहलपहल
कोरोनाभाइरसको विश्वव्यापी महामारीले आक्रान्त बनेको पूर्वको शहर धरान अब आशाका नयाँ किरणहरू छर्दै पुनः आफ्नो लयमा फर्किंदैछ । अब भने धरानको बजार, पसल विस्तारै खुल्न थालेका छन् । चैतपछि प्रायः सुनसान रहेको सडक अहिले यातायातका साधनले भरिभराउ हुँदैछन् । रेस्टुरेन्ट, होटलहरू क्रमशः खुल्न थालेका छन् । शैक्षिक संस्थाहरू पूर्णरूपमा नखुले पनि पठनपाठनको काम क्रमिक रूपमा अनलाइन शिक्षा मार्फत अघि बढेको छ ।
महामारीले देशका अरू शहर जस्तै धरानलाई पनि निकै ठूलो आर्थिक घाटा पुर्यायो । तर, लकडाउन खुलेपश्चात् धरानको पुरानो व्यापारी प्रतिष्ठा पुनः ट्रयाकमा आएको छ । सुनसरीका प्रमुख शहरहरू धरान, इटहरी र इनरुवा क्रमशः सुचारु भएका छन् । बजारका पसल खुलेका छन् ।
व्यापार पुरानै लयमा फर्किने क्रममा छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाका अनुसार जिल्लाका मुख्य शहरहरू अहिले निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । अब कोरोनासँग डराएर बस्नु भन्दा मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम गरेर गतिविधिहरू सञ्चालन गरी जनजीवन अघि बढाइनु आवश्यक भइसकेको बताउँछन् अध्यक्ष सापकोटा ।
धरानमा घर छ, हाम्लाई के को डर छ भन्ने उखान धरानकै लागि बनेझैं भएको छ । धराने हुन कसलाई मन नहोला र ? यहाँको रहनसहन, खानपान, बोलीचाली र सफा मौसमले सबैलाई तानिहाल्छ । त्यसो त, धरान बासस्थानको लागि सुरक्षित छ । यो क्षेत्रलाई सुरक्षित आवास क्षेत्रको रूपमा पनि लिइन्छ । त्यसैले पनि धरान सबैको पहिलो रोजाइमा पर्छ र सक्नेले धरानमा एक टुक्रा घडेरी जोडिहाल्छन् ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व सहप्राध्यापक तथा आर्थिक विश्लेषक राजेन्द्र शर्मा भन्छन्– ‘धरान सुरक्षित आवास र पर्यटनको लागि राम्रो स्थान हो । त्यसैले यहाँ आउनेहरू धरानमा घडेरी लिइहाल्छन् ।’
धरान यसरी शहर भयो
वि.सं. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर चन्द्रनगर अर्थात् हाल पुरानो बजार पुगेका रहेछन् । त्यस्तै, वि.सं. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर अर्थात् हालको नयाँबजार बसालेको इतिहासमा पाइन्छ ।
नेपाल एकीकरणको इतिहास सम्झँदा विजयपुरको इतिहास बिर्सन सकिन्न, मिल्दैन । विजयपुर धरानको आधारभूमि हो । इतिहाससँग जोडिएर अनेक परिचय बनाएको धरानले वर्तमान नयाँ–नयाँ परिचय रचिरहेको छ । पछिल्लो समय शिक्षा, स्वास्थ्य, पर्यटनको केन्द्रका रूपमा धरानले आफ्नो परिचयलाई फराकिलो बनाएको छ ।
खुला समाज, आधुनिकता सँगसँगै बहुजातीय सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएको नेपाली समाज धरानमा पाइन्छ । त्यसैले भन्न सकिन्छ– बहुजातीय सांस्कृतिक विशिष्टता जीवन्त रहेको ऐतिहासिक शहर हो धरान ।
जंगलको बीचमा आरा (काठ काट्ने) को धरान राखेर केही स्थानीयहरू काष्ठ सम्बन्धी उद्यम गर्थे । त्यही आरा चिर्ने नामबाट धरानको नाम रहन गएको हो । स्थापनाको हिसाबले राणाकालमा धनकुटा र मोरङको गौंडाको रूपमा पनि धरानको विकास भएको थियो । भूगोलको कोणबाट पहाड र मधेशको संगमस्थल पनि हो धरान ।
कुनैबेला पूर्वमा नूनतेल, लत्ताकपडा जस्ता घरायसी सामान आपूर्तिको केन्द्र थियो धरान । पछि ब्रिटिश क्याम्पले पूर्वमा पर्ने १६ जिल्लाको नवजवान बेलायत र सिङ्गापुर लाहुर लैजान थाल्यो । योसँगै पेन्सनसहितको रिटायर्ड जीवन आनन्दले बस्ने सपनाको शहर पनि हो धरान । प्राकृतिक रूपमा बनेको एउटा सुन्दर बगैंचामा सांस्कृतिक विविधताको फूल फुलिरहेको विविधतामा एकतायुक्त शहर पनि हो धरान ।
धरान अनेकौं कालखण्डमा देशकै लागि नमूना बनेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले बताए । तर अहिले उनीहरूको पलायनले भने धरानमा आर्थिक मन्दी छाएको सापकोटाको बुझाइ छ । लाहुरे संस्कारले आधुनिकता भित्र्याइरहेको शहर पनि हो धरान, जसले फेशनेबल शहरको रूपमा नयाँ परिचय पनि बनाइसकेको छ ।
source https://www.onlinekhabar.com/2021/09/1018151
0 comments:
Post a Comment