Sunday 26 September 2021

न्यायाधीशको दोहोरो मापदण्ड : उनी दुर्गाबहादुर हुन्, उनी दुर्गाबहादुर होइनन्

१० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक विवादास्पद फैसला गरी अपहरण तथा शरीर बन्धक गराएको मुद्दामा आरोपितलाई निर्दोष ठहर गरेको छ ।

न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले आठ महिनादेखि थुनामा रहेका सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै आरोप पुष्टि नहुने ठहर गरेको हो । गत माघमा न्यायाधीश निरौलाले नै आफू दुर्गाबहादुर नभएको जिकिर गर्दा उनलाई नै पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

तर अहिले उनै न्यायाधीश निरौलाले आफैंले पुर्पक्षका लागि थुनामा पठाएका व्यक्ति दुर्गाबहादुर नभएको भन्दै सफाइ दिएका छन् ।

‘अभियोग पत्र पेश गर्दा उनी नेपालको यो स्थानमा बस्ने वा नेपालको सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. २ का वासिन्दा हुन् भन्ने प्रमाण पेश भएको छैन’ जिल्ला अदालतको रायकितावमा न्यायाधीश निरौलाले लेखेको राय छ, ‘उनी नेपालको नागरिक हो भन्ने प्रमाण नभई व्यक्तिको पहिचान नै भएको देखिँदैन । यस्तो अवस्थामा शरीर बन्धक तथा अपहरण गर्ने जस्तो अभियोगमा अभियुक्तको स्पष्ट पहिचान मिसिलमा पेश गर्न नसक्दा यी प्रतिवादीको हकमा पुष्टि हुन नसक्ने ठहर हुन्छ ।’

न्यायाधीश निरौलाको दोहोरो मापदण्ड

कुख्यात अपहरणकारी अमर टण्डनको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्यालीकोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरी महाराजगञ्जस्थित एउटा घरमा राखेको थियो । मारुती गाडीमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर अपहरण गरेर समूहले १ करोड ५० लाख रुपैयाँ फिरौती असूलेको थियो ।

फरौती बुझाएर छुटेपछि मात्रै प्रहरी उनलाई राखिएको महाराजगञ्जको घरमा पुगेका थिए । बाबुराजालाई बन्धक बनाउँदा बुढाथोकी घर कुरुवाको भूमिकामा थिए । फिरौती रकम बुझेपछि उनी प्रहरी आइपुग्नु अघि नै भागेका थिए ।

रावललाई अपहरण गर्न प्रयोग भएको भ्यान भने प्रहरीले कान्तिबाल अस्पतालको पार्किङबाट बरामद गरेको थियो । घटनाको अनुसन्धान गरेको प्रहरीको अपराध महाशाखाले २०६६ पुस अन्तिमतिर अपहरणमा संलग्न टण्डन समूहका प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्कीसहित ५ जनालाई पक्राउ गर्‍यो । काठमाडौं प्रहरी परिसरले उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलायो । ठेगाना नखुलेका कारण मिसिलमा बुढाथोकीको नाम उल्लेख भएन । तर आरोपीले बयानमा उनको नाम लिएका थिए ।

न्यायाधीश निरौलाले आदेशमा लेखेका छन्, ‘अभियोगपत्रमा उल्लेखित तीन पुस्ते सहितको वतन मेरो होइन भनी कसुरमा इन्कार रही व्यहोरा लेखाएको देखिन्छ ।’ त्यो विषयलाई ‘नोटिस’मा लिएपनि उनले व्यक्तिको पहिचान सुनिश्चित गर्न कुनै आदेश दिएनन् ।

५ जना दोषी ठहर भएर जेल गए । बुढाथोकी भने भारतमा पहिचान बदलेर बसेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुराना घटनाका फरार प्रतिवादीमाथि अनुसन्धान गर्ने क्रममा गत वर्ष बुढाथोकी भारतमा बसिरहेको सूचना पायो । त्यही आधारमा दार्जिलिङ पुगेको ब्यूरोका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोलीले कपडा पसल चलाएर बसिरहेका उनलाई पक्राउ गरेको थियो ।

सीआईबीका निर्देशक धिरजप्रताप सिंहका अनुसार पहिले काठमाडौं प्रहरीबाट मुद्दा चलेकाले बुढाथोकीलाई त्यहीँ पठाइयो । काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । अदालतमा बुढाथोकीको बयान भयो । उनले प्रहरीले दाबी गरे जस्तो दुर्गाबहादुर बुढाथोकी आफू नभएको बताए र आफ्नो नाम प्रकाश क्षेत्री बताए । उनको दाबी अनुसार, उनका बाबु शिवा क्षेत्री र आमा तारा क्षेत्री हुन् । उनी दार्जिलिङमा कपडा पसल गर्छन् । जिल्ला अदालतमा बयानका क्रममा भएका सोधिएको १७ वटा प्रश्नमा उनले आफू दुर्गाबहादुर बुढाथोकी भएको स्वीकार गर्दैनन् र प्रकाश क्षेत्री भएको दाबी गरिरहन्छन् ।

प्रहरीले पीडितको किटानी जाहेरी, घटनास्थल मुचुल्का लगायतका कागजात अध्ययन अदालतमा पेश गरेको हुन्छ । न्यायाधीश निरौलाको इजलासले तत्काल प्राप्त प्रमाणले सोले कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकी कसुरदार होइनन् भनी भन्न नसकिने भएकाले उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणबाट बुढाथोकी कसुरदार होइनन भन्ने नदेखिएको र पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने थरी थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू ।’

तिनै न्यायाधीश निरौलाले ५ असोज २०७८ बुढाथोकीलाई निर्दोष ठहर गर्दै सफाइ दिएका छन् । निर्दोष ठहर गर्दा दुई आधार लिएको देखिन्छ । एक, दुर्गाबहादुर नेपालको कुन स्थानमा बस्ने हो भन्ने प्रमाण पेश नभएको । अर्को, थुनामा रहेका दुर्गाबहादुर नेपालको नागरिक हो भन्ने प्रमाण पेश नहुनू ।

रायकितावको व्यहोरा र अभियोगपत्रको व्यहोरा अध्ययन गरेको महान्यायाधिवक्ता कार्यालय स्रोत अनुसार, न्यायाधीश निरौला कुनै न कुनै विन्दुमा गलत छन् । ‘कि त गत माघ १२ गते आदेश गर्दा उहाँ गलत हुनुहुन्थ्यो’ एक सहन्यायाधिवक्ताले अनलाइनखबरसँग भने, ‘होइन, त्यतिबेलाको आदेश सही हो भने अस्ति असोज ५ गतेको उहाँको फैसला सही हुन सक्दैन ।’

कुनैपनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले पक्राउ पर्ने व्यक्ति सम्बन्धित आरोपित नै हो भन्ने सुनिश्चित गर्नुपर्छ । अपहरण तथा शरिर बन्धकको मुद्दामा आरोपित बुढाथोकीले जिल्ला अदालतको इजलासमा नै त्यो व्यक्ति आफू होइन भन्ने बयान गरिरहेका थिए । न्यायाधीश निरौलाले आदेशमा लेखेका छन्, ‘अभियोगपत्रमा उल्लेखित तीन पुस्ते सहितको वतन मेरो होइन भनी कसुरमा इन्कार रही व्यहोरा लेखाएको देखिन्छ ।’ त्यो विषयलाई ‘नोटिस’मा लिएपनि उनले व्यक्तिको पहिचान सुनिश्चित गर्न कुनै आदेश दिएनन् ।

‘पक्राउ परेको कुनै व्यक्तिले म फलानो होइन भन्छ भने सबभन्दा पहिले उसको पहिचान सुनिश्चित गर्नुपर्छ । नागरिकको आधारभूत मौलिक हक जोडिएको विषय निर्क्यौल नगरी विषयवस्तुमा प्रवेश गरिनु त कार्यक्षमतामाथिकै प्रश्न समेत हो’ अधिवक्ता समेत रहेकी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी भन्छिन्, ‘इजलासमा रहेका न्यायाधीशलाई त अनुसन्धान कमजोर भएमा समेत यहाँ यहाँ स्पष्ट भएन, खुलाउनुस् भन्ने अधिकार रहन्छ । त्यो पाटो नै नगरी मुद्दामा प्रवेश गर्नु आधारभूत रुपमा नै गलत भयो ।’

गत माघमा न्यायाधीश निरौलाको इजलासले बुढाथोकीलाई थुनामा पठाउँदा तीन पेजको आदेश गरेको थियो । त्यसमा उनले आरोपितले आफू उक्त व्यक्ति नभएको भन्ने इन्कारेको विषयमा एउटा मात्रै वाक्य लेखेर मुद्दाको विषयवस्तु विश्लेषण गरेका छन् । र, प्रारम्भिक दृष्टिकोणबाट हेर्दा बुढाथोकीलाई कसुरदार ठहर्ने आधार भएको भन्दै थुनामा पठाएका हुन् । यो बीचमा आरोपितले पेश गरेको केही कागजात इजलासमा पेश भएको स्रोतले बतायो ।

पीडित भन्छन् – ज्यान मार्ने धम्की दिने उनै हुन्

जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार, दुर्गाबहादुर बुढाथोकी उही व्यक्ति हो भनी पहिचान गर्ने केही आधारहरु पनि इजलासमा पेश भएका छन् ।

अपहरण घटनाका पीडितले आरोपितको सनाखत गरेका छन् । सनाखतमा पीडित रावलले भनेका छन्, ‘मलाई प्रतिवादी सोले कुमार बुढाथोकी भन्ने दुर्गाबहादुर बुढाथोकीलाई देखाउँदा निजको रुप, रंग आवाजबाट समेत मैले देखेँ, चिनेँ ।’

उनले १ पुस २०६५ मा साँझ साढे ७ बजे बालाजु औद्योगिक क्षेत्रभित्र रहेको सडकबाट आफूलाई बुढाथोकीसमेतले अपहरण गरी बन्धक बनाएको भनेका छन् । ‘बन्धक बनाइ धापासी भन्ने स्थानमा लगी सोही घरको कोठामा राखेको अवस्थामा निज प्रतिवादी सोले कुमार बुढाथोकी भन्ने दुर्गाबहादुर बुढाथोकीले खाना खुवाउने, शौचलायसम्म पुर्‍याइदिने/ल्याउने गरेका थिए’ रावलले भनेका छन्, ‘उक्त समयमा निजले मलाई गाली गर्ने, भनेको मानिनस् भन्ने, तेरो परिवारले भनेको मानेनन् भने तलाई मारी दिन्छु भन्ने र स्पिपिङ ट्याब्लेट दिने गरेका थिए ।’

मिसिलमा पेश भएको सनाखत पीडितले औंठाछाप र हस्ताक्षरसहित २९ पुस २०७७ मा गरेका छन् ।

प्रहरीले भिडियो रेकर्ड गरेर दुर्गाबहादुर बुढाथोकी उही हो भनी प्रमाण जुटाएको छ । भिडियोमा बुढाथोकीले भनेका छन् –

‘मेरो नाम सोलेबहादुर बुढाथोकी हो । मेरो बोलाउने नाम कुमार हो । साथीहरुले मलाई सोले भनेर पनि जिस्काउँछन् । म बैंकिङ केशमा चोरी केशमा पनि थिएँ । थुनामा परेँ, त्यहाँबाट पनि भागेँ । अपहरणमा मलाई घरमा प्रह्लादको घरमा चौकीदारको रुपमा राखेका थिए । उनीहरुले कति लियो, मलाई ११ लाख दिएको थियो । फेरि ५ लाख उसैले लग्यो । उसले भन्दै थियो, एक डेढ करोड पाएको छ भनेर । पहिले चाहिँ मलाई चौकीदारको रुपमा राख्यो । अहिले सबै दोष मलाई हाल्दिएको छ ।…’

प्रमाण कानूनमा महत्वपूर्ण आधार मानिने वडाध्यक्षले पनि सम्बन्धित व्यक्ति उही हो भनी पुष्टि गर्छन् ।

बुढाथोकीको स्थायी घर भएको बागमती नगरपालिका–२, डुम्रिटोलका वडाध्यक्ष ङेमा लामाले भनेका छन्, ‘पहिले उनी मेरै वडामा थिए, अहिले उनको परिवार वडा नं. १० मा घर बनाएर व्यापार गरेर बसेको छ ।’ फोटो हेरेर पक्राउ परेको व्यक्ति बुढाथोकी नै भएको उनले भनेका छन् ।

तर प्रहरीले मिसिलमा वडाध्यक्षबाट सनाखत गराएको छैन । बुढाथोकीको नागरिकता पनि पेश भएको छैन । न त न्यायाधीशले नै सनाखत गर्न यसअघि निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस अपहरणका आरोपीलाई सफाइ : प्रहरीको कमजोर अनुसन्धान

source https://www.onlinekhabar.com/2021/09/1018846

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More