Wednesday, 29 September 2021

विषयगत शिक्षक पाल्ने हाम्रो औकात छैन : शिक्षाविद् कोइराला

१४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर १७ हजार भन्दा बढी विषयगत शिक्षक अभाव भएको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगलाई बुझाएको विवरण अनुसार तीन तहमा देशभर शिक्षकको अभाव भएको देखिएको छ ।

यहि विवरणको आधारमा शिक्षक सेवा आयोगले दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षकको अभावले हुने प्रभाव र उपायबारे अनलाइनखबरले शिक्षाविद् डा.विद्यानाथ कोइरालासँग प्रतिकृया लिएको छ ।

मानवस्रोत विकास केन्द्रको तथ्यांक अनुसार त धेरै शिक्षकको अभाव रहेको देखिन्छ यसले कस्तो असर पार्छ ?

विद्यालयको रेसियोमा हेर्दा कम छ । विद्यार्थीको रेसियोमा भन्ने हो भने प्रतिविद्यार्थीको रेसियो घट्दै गइरहेको छ । हाम्रा १० हजार विद्यालयमा सय जना भन्दा कम विद्यार्थीहरु छन् । त्यसमा त्यसरी विषयगत शिक्षक आवश्यक छैन । शिक्षकको कमीले भन्दा पनि व्यवस्थापनको कमीले समस्या छ ।

दोस्रो अहिले हामीसँग भएको विद्यालयहरुमा सरकारले माध्यमिक तहमा विज्ञान, गणित सबै विषय पढाउने शिक्षक जम्मा ७१ जना छन् । ७१ विद्यालयमा मात्रै ती शिक्षकहरु छन् । बाँकी ६ हजार माध्यमिक विद्यालयमा शिक्षकहरु छैनन् । त्यसैले हाम्रो निम्ति चुनौती केहो भने सबैमा शिक्षक राख्ने होकी प्रविधि राख्ने हो ।

यसको मतलब शिक्षक दरबन्दी नराखेर प्रविधि थप्नुपर्छ भन्ने हो ?

हो । शिक्षक किन बढाउने ? प्रविधि बढ्दै गएको छ, त्यसलाई तीव्र रुपमा अगाडि बढाउने । अहिले कक्षापिच्छे शिक्षक दिन सकिन्छ कि सकिँदैन भनेर सोध्यो भने नेपालको कुनै पनि राजनीतिक दलका मान्छेहरुले, यदि उनीहरुले सरकार चलाएका छन् भने, स्पष्टसँग भन्न सक्छन् कक्षापिच्छे शिक्षक दिन सकिँदैन भनेर ।

साथीहरु हामी एक्काइसौं शताब्दीमा छौं भन्नुहुन्छ तर शिक्षकहरु पाल्नुपर्छ भन्नुहुन्छ । म यो सोचलाई ठाडै मुर्दावाद भन्ने व्यक्ति हुँ । किनभने सबै विषयमा शिक्षक राख्न सक्ने औकात छैन हामीसँग । त्यसको विकल्पमा हामीले प्रविधि राख्नुपर्छ । कोरियालाई हेर्नुभयो भने विद्यार्थी संख्या घटाउ या शिक्षक बढाउ भन्दा बरु म प्रविधि राख्छु तर शिक्षक राख्न सक्दिनँ भन्यो । त्यसरी प्रविधिलाई अगाडि बढाएर शैक्षिक गुणस्तर उकासिरहेको छ ।

नेपालमा पढाइलाई प्रविधिसँग जोड्न सम्भव छ ?

भएका शिक्षकहरुलाई दोब्बर तलब दिएर एउटै शिक्षकले चार/पाँच वटा विद्यालयमा पढाउने बनाउनुपर्छ

सम्भव छ । प्रविधि भनेको आधुनिक प्रविधि मात्रै प्रविधि हो भन्ने दृष्टिकोण म राख्दिनँ । मैले जान्ने ढिकी, जाँतो, कोदालो, हँसिया सबै प्रविधि हुन् । यो ढिकी, जाँतो, कोदालोबाट पढाउने चिन्तन सबै शिक्षकलाई सिकाउनुपर्छ ।

प्रविधि छैन भनेर हातखुट्टा छोडेर मान्छे भर्ना गर्ने किसिमको हिसाबले झन् समस्या बढाउने हो कि प्रविधिको निम्ति चाहिं बल गर्ने हो । अहिले कतिपय पालिकाहरुले माध्यमिक तहसम्म सबैलाई वाइफाइ फ्री जोन बनाउने, कतिपयले प्राथमिक तहमा पनि उपलब्ध गराउने बन्दोबस्त गरिरहेका छन् । दुर्गम क्षेत्र अथवा सुगम क्षेत्रमा, अब यसलाई आक्रामक ढंगले अगाडि बढाउने कि शिक्षक भर्ना गरेर संख्या बढाउने भन्ने सवाल हो ।

त्यसो भए अहिलेको रिक्त दरबन्दी अनुसार के गर्न सकिन्छ त ?

अहिले शिक्षकको बुद्धि जत्ति छ त्यो भन्दा धेरै केटाकेटीको बुद्धि छ । कतिपय शिक्षकले त धान्न पनि सक्दैनन् । यस्ता नधान्ने शिक्षक राखेर भोलि पनि समस्या पालेर राख्ने होकी प्रविधि राखेर उपयोग गर्ने हो ? वा तीनै बुद्धिमानी विद्यार्थीलाई प्यारा शिक्षक भनेर शिक्षकलाई सहयोग गर्ने किसिमको राख्ने हो । त्यस्तो गर्दा शिक्षक संख्या पनि घट्छ विद्यार्थीले सीप सिक्छ । बरु विद्यार्थीलाई थोरै पैसा पनि दिन सकिन्छ ।

अर्को उपाय, भएका शिक्षकहरुलाई दोब्बर तलब दिएर एउटै शिक्षकले चार/पाँच वटा विद्यालयमा पढाउने बनाउनुपर्छ । काठमाडौंमा सरकारकै विद्यालयहरु दुई सयवटा छन् । ती सरकारी स्कुलहरुमा एकपछि अर्को विद्यालयमा पढ्न जाने बनाउनुपर्छ । एउटा मोटरबाइक भयो भने उपत्यकाका सबै विद्यालयमा पढाउन भ्याउँछ । आज यतिवटा विद्यालयमा, भोलि यतिवटा विद्यालयमा पढाउन जाने तालिका बनाउने अनि एकदिन दिनभरी विज्ञान, अर्को दिन गणित, अर्को दिन नेपाली पढाउने । एक पिरियडमा नेपाली, अर्कोमा विज्ञान, अर्कोमा अंग्रेजी भनेर फरक-फरक विषय जरुरी छैन । यसरी गर्ने हो भने शिक्षक बच्छ, कामको गुणस्तर पनि बढ्छ ।

त्यस्तै प्रत्येक स्कुलमा ल्याब जरुरी छैन । एक दिन ल्याब डे भनेर दिनभरी विद्यार्थीलाई ल्याबमा छोडिदिन सकिन्छ । १० गुणस्तरीय ल्याब बनाउने हो भने काठमाडौंका दुई सय विद्यालयलाई मजाले भ्याउँछ । यसरी नयाँ व्यवस्थापकीय उपाय ल्याउँदै शिक्षक वर्गीकरण गरेर काम गरौं ।

कसरी गर्न सकिन्छ शिक्षक वर्गीकरण ?

सजिलो छ । शिक्षकको योग्यता, क्षमताको आधारमा वर्गीकरण गर्न सकिन्छ । मैले एबीसीडी भनेर वर्गीकरण गर्ने गरेको छु । अब्बल, द्वयम, सीम, चाहर भनेर । चाहर भनेको थोत्रा शिक्षक हुन्, तिनलाई विदा दिऊँ । सी शिक्षकलाई सजाउँ, द्वयम शिक्षकलाई अब्बलसँग जोड दिउँ, राम्रो गर्ने शिक्षकलाई अगाडि ल्याइदिउँ । त्यसलाई बढी पैसा हाल्दिउँ ।

गतिलो शिक्षक छैन भने त्यस्तालाई पालेर काम छैन । भएका शिक्षकलाई धेरै तलब दिउँ । योग्यता भएका मान्छेलाई राखौं, नभएका थोत्रामोत्रा शिक्षकहरुलाई बिदा गरौं ।

आयोग त दरबन्दी खुलाउने तयारीमा जुटेको छ नि त ?

रोजगारी सिर्जना गर्ने किसिमले जाने त एउटा कुरा होला तर अन्तगोत्वा देशलाई भार पर्ने किसिमको काम हो यो । धेरै शिक्षक भर्ना गर्ने र आफ्ना मान्छेलाई जागिर दिने खालको राजनीतिक नेतृत्वको दुरबुद्धि छ । त्यो दुरबुद्धि पञ्चायतदेखि नै चल्दै आएको छ त्यो प्रवृत्ति सर्दै काँग्रेससँग पनि भयो, एमाले, माओवादीमा पनि भयो । सबै एउटै दुरबुद्घकिो शिकार हाम्रा मान्छेहरु भए ।

त्यसैले अब देशलाई फाइदा गर्ने होकी, राजनीतिलाई गर्ने हो ? प्रविधिलाई फाइदा गर्ने होकी मान्छेलाई फाइदा गर्ने हो ? त्यसैले मेरो स्पष्ट भाषा के हो भने अब प्रविधिलाई जोड दिनुपर्छ । शिक्षक धेरै भर्ना गर्नुहुँदैन । शिक्षक राखेर पार्टीकै झोला बोकाउने होकी, प्रविधि राखेर विद्यार्थीलाई तेज बनाउने भन्ने कुरा प्रमुख हो ।

एकदमै गम्भीर भएर सोच्ने हो भने मैले भनेजसरी जानुपर्छ । होइन, मान्छेहरु यस्तै हो, विद्यार्थीहरु आमनेसामने भएर पढ्छन् भन्ने खालको बुद्धि भजाउने हो भने यस्तै हो । हामीले न्याय कसलाई गर्ने हो, शिक्षकलाई न्याय गर्ने हो भने प्रत्येक कक्षामा शिक्षक आवश्यक पर्छ, राखौं । होइन, विद्यार्थीलाई न्याय गर्ने हो भने एउटा विद्यालयमा चार जना शिक्षक छन् भने त्यो चार शिक्षकले चार वटा विद्यालयमा पढाउने किसिमको डिजाइन गर्नुपर्छ । यो शैलीमा जाँदा शिक्षक पनि बच्यो । बरु त्यो शिक्षकलाई तलब थप गरिदिनुपर्छ । मैले २०७४ को शिक्षा आयोगको रिपोर्टमा पनि यो शैलीबाट जानुपर्ने स्पष्टसँग लेखेको छु ।

शिक्षक दरबन्दी थप्दा आर्थिक भार मात्रै हुने होकी अरु पनि समस्या देख्नुहुन्छ ?

दरबन्दी थप गरेर हामीले न्याय कसलाई गर्ने भन्ने हो । बच्चालाई न्याय गर्ने कि शिक्षकलाई गर्ने ? किनभने धेरै शिक्षक पाल्ने गाह्रो काम हो । अब आर्थिक बोझ थाम्न सक्ने हैसियत छैन । अर्को कुरा, धेरै शिक्षक हुन बित्तिकै हड्ताल हुन्छ । तर त्यो हड्ताल विद्यार्थीको हितमा हुँदैन । अहिले शिक्षकहरुको आन्दोलनलाई नै हेर्न सकिन्छ नि । ३४ बुँदे उनीहरुको माग छ तर त्यहाँ एउटा बुँदा विद्यार्थीको पढाइसँग सम्बन्धित छैन । मैले शिक्षक महासंघका साथीहरुलाई पटक पटक भन्ने गरेको छु- ए मित्र हो यो के अपराध गरेको ?

राणाकालीन शिक्षा किताबमा प्रकृति अधिकारीले लेखेका छन् ६ सालमा बनेको शिक्षक संघ सात बुँदे माग राखेर आन्दोलनमा जाँदा एउटा मात्रै माग शिक्षकको थियो । बाँकी जम्मै विद्यार्थीसँग सम्बन्धित माग थियो । त्यो बेलामा त्यति बुद्धि थियो हाम्रो शिक्षकमा । तर अहिले हाम्रो शिक्षक साथीहरुले गरेको आन्दोलनमा ३४ वटा बुँदा राखेर आन्दोलन गरिरहेका छन् एउटा पनि विद्यार्थीसँग सम्बन्धित छैन । यो हद हो । त्यसैले शिक्षक दरबन्दी थपेर पुरानै टालटुले शैलीमा नजाऔं । म त टालटुल गर्ने पक्षमा छैन ।

शिक्षक स्थायीको विषयमा चाहिं यहाँको धारणा के छ ?

भएकै शिक्षकहरुलाई स्थायी गर्दै जाने भन्ने किसिमको सरकारको नीति छ त्यो नीतिलाई म सम्मान गर्छु । तर शिक्षकलाई स्थायी गरेपछि विद्यार्थीको शैक्षिक गुणस्तर बढ्छ त ? यदि बढ्छ भने स्थायी गरौं, होइन भने किन गर्ने ?

स्थायी भएपछि ल अब म राम्रोसँग पढाउँदिन कसले के गर्न सक्छ भन्ने कि, स्थायी भएपछि राम्रोसँग पढाउनुपर्छ शैक्षिक गुणस्तर बढाउने भन्ने हो । त्यो ख्याल गर्नुपर्छ । हाम्रोमा त स्थायी भएपछि कसले के गर्न सक्छ र भन्ने प्रवृत्ति हाबी भएका शिक्षकहरु बढी छन् ।

पालिका तहको बालविकासमा कतिपयमा एमए पढेकाले बालविकास पढाइरहेका छन् । तीनलाई किन बालविकासमा राख्ने ? कि तलब दिनपर्यो, कि माथिल्लो तहमा प्रमोसन गर्नुपर्यो । त्यो गरिदियो भने पनि यो संख्या मिलाउन सकिन्छ । तर योग्यता नै नभएका शिक्षकलाई स्थायी गरेर पाल्नुको औचित्य देख्दिनँ ।



source https://www.onlinekhabar.com/2021/09/1020298

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More