Tuesday, 28 September 2021

पारिवारिक र सामाजिक सद्भाव कायम गर्दै जितिया पर्व

सम्पूर्ण तराई क्षेत्रमा जितिया पर्व धुमधामका साथ मनाइरहेका छन् । आफ्नो छुट्टै पहिचान बनाएका थारु समुदाय सामाजिक रूपमा जुनसुकै समुदायसँग सजिलै मिलेर बस्ने स्वभावको रहेको हुन्छ । आ-आफ्नो योग्यता र क्षमता अनुसार कामको बाँडफाँड गरी समाजमा सामन्जस्य कायम गर्नु यो समुदायको विशेषता हो । थारू समुदायले मनाउने विभिन्न संस्कृतिमध्ये जितिया पर्व पनि एक हो । यसले पनि यो समुदाय सामाजिक र सांस्कृतिक रूपमा सबल रहेको स्पष्ट हुन्छ । जम्बूद्वीपलाई आफ्नो आधार क्षेत्र र कर्मथलोको रूपमा मानेको यो समुदायको बसोबास यही क्षेत्रमा परापूर्वकालदेखि रहेको छ ।

शुरु शुरुमा थारूहरूले मनाउने गरेको जितिया पर्व हाल एक राष्ट्रिय पर्वको रूपमा स्थापित भइसकेको छ । यसमा थारू समुदायको योगदान अतुलनीय छ । थारू समुदायका महिलाले मनाउने यो पर्व विस्तारै विस्तारै थारू समुदायमा बसाइँसराइ गरेर आएका अन्य समुदायका महिलाले मनाउन थाले र हाल यो थारू, मधेशी र दलित महिलाको साझा पर्वको रूपमा रहेको छ । मनाउने तरिकामा सामान्य फरक भए पनि यस पर्वप्रतिको आस्था र उद्देश्य एउटै रहेको देखिन्छ ।

यो पर्वले तत्कालीन समयमा रहेको सामाजिक परम्परा तथा रहनसहनको चित्रण गरेको छ । सन्तान प्राप्तिको लागि आमाबुवाले जस्तोसुकै किसिमको अनुष्ठान र बलिदान दिनको लागि हरदम तयार रहन्छन् भन्ने कुरा राजा सालिवाहन र उसको धर्मपत्नी सहायले पुष्टि गरेका छन् भने आफ्नो सन्तानको खुशी र इच्छा पूर्तिको लागि आफ्नो मनले नमानेको कुरालाई पनि तिलाञ्जली दिन पछि पर्दैनन् भन्ने सन्देश पनि यो पर्वले दिएको छ ।

त्यस्तै तत्कालीन समयमा रहेको गाउँ–समाजको राम्रो र नराम्रो पक्षलाई पनि जितियाको कथाले समेटेको छ । बलले जित्न नसकेको अवस्थामा छलकपट गरी जसरी पनि जित्नै पर्ने मानिसको दानवीय स्वभावलाई पनि यो कथाले प्रतिबिम्बित गरेको छ । जितुवालाई बलले जित्न नसके पनि षड्यन्त्रपूर्वक अन्धाअन्धीको खेलको रचना गरी बेइज्जत गरेको कुरा पनि जितियाको कथावस्तुमा उल्लेख रहेको छ । जसले समाजमा रहेको कुण्ठित मानसिकतालाई उजागर गरेको छ । जो कि अहिलेको समाजमा पनि विद्यमान रहेको छ ।

अठोट र दृढ संकल्प मनमा लिएर अगाडि बढ्यो भने जस्तोसुकै किसिमको काम पनि ढिलोचाँडो फत्ते गर्न सकिन्छ र समाजले एक आदर पुरुषको रूपमा सम्मान गर्छ भन्ने कुरा जितुवाले सूर्यलाई भेट्न लिएको संकल्प र उसले अनवरत रूपमा गरेको संघर्ष र सफलतालाई पनि जितिया पर्वले सन्देश दिन खोजेको छ ।

संसारमा भएको उत्पत्तिहरू सबै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एकअर्कासँग जोडिएको हुन्छ र एकअर्काको परिपूरकको रूपमा रहेको हुन्छ भन्ने सन्देश पनि यो पर्वले दिएको छ । पुनर्जन्ममा विश्वास गर्दै यो जन्मको फल अर्को जन्ममा पनि प्राप्त गर्न सकिने कुरा यो पर्वले स्वीकारेको छ । चराचुरुङ्गी र जीवजन्तुबाट पनि मानिसको रूपमा जन्म लिन सकिन्छ भन्ने सन्देश पनि यसमा रहेको छ । चील र स्यालको चाहना र आकांक्षा तथा चलाखी जस्तै अन्य जनावरहरुको पनि इच्छा, आकांक्षा र चाहना हुन्छ जसलाई पुरा गर्न उनीहरू पनि भरमग्दुर प्रयास गर्छ भन्ने वैजानिक तर्क पनि यसमा समेटिएको छ ।

मानिस धन सम्पत्ति र हैसियतले समाजमा स्थापित भए पनि उसको रीस, ईर्ष्या, गलत आकांक्षाले एक अर्काको ज्यान लिनलाई पनि पछि पर्दैन भन्ने कुरा रानी वेनताले बहिनी सोमताको छोराको हत्या गर्नलाई लिएको जिद्दीले यसमा चर्चा पाएको छ भने राजाले आफ्नो राजकीय धर्म निभाउन नसकेर रानीको कुरा सुनेर गरेको कामले समाजलाई कल्याण गर्दैन भन्ने खबरदारी पनि यो जितियाको कथावस्तुले स्पष्ट पारेको छ ।

जितिया विशुद्ध सामाजिक पर्व हो । यसले समाजलाई सामाजिक मूल्य र मान्यता पालना गर्ने सन्देश दिन्छ । यो पर्वले समाजमा रहेको विभेदलाई पनि धेरै हदसम्म अन्त्य गरेको छ । यसले समुदाय बीचमा कामको बाँडफाँड र नेतृत्व विकास गर्नको लागि पनि सिकाउँछ । अहिले पनि जितियाको कथा र यसले दिएको सन्देशलाई मनन गर्न सकियो भने व्यक्ति, परिवार, समाज र सम्पूर्ण राष्ट्रमा नै सुशासन कायम हुन्छ

विधि र प्रक्रियापूर्वक इमानदारीका साथ कुनै पनि कार्य गर्यो भने त्यसले सार्थक परिणाम दिन्छ र आफ्नो भलाइको साथसाथै अरुको पनि भलाइ गर्छ भन्ने कुरामा यसले जोड दिएको छ । अहिले विधिको शासनको कुरा जसको पनि जनजिब्रोमा उच्चारण हुने गर्दछ तर त्यही विधि आफू ठाउँमा पुगेपछि लत्याउने गरेको हाम्रो वर्तमान समाजमा रहेको परिपाटीले कसैको भलो गर्दैन भन्ने खबरदारी पनि यसले गरेको छ ।

यो पर्वको विधि र उपवासले पनि यही कुरालाई जोड दिएको छ । विधि–प्रक्रिया पुर्याउनको लागि मात्र विधि–प्रक्रिया अवलम्बन गर्ने तर निष्ठा अटल र स्वच्छ छैन भने त्यसको फल राम्रो हुन सक्दैन । निष्ठा र इमानदारी नै मानव जीवनको अमूल्य सम्पत्ति हो । समय कसैको लागि पर्खंदैन र यो बलवान हुन्छ । त्यसकारण समयलाई पहिचान गरी उचित सामग्रीहरूको प्रयोग गरी सही तरिकाले जसले काम गर्न सक्यो उ जहिले पनि सफल हुन्छ भन्ने तथ्यलाई समेत यो पर्वले उजागर गरेको छ । यसको विना जीवन सार्थक हुन सक्दैन भन्ने जीवनमन्त्र पनि यसले प्रष्ट पारेको छ ।

यो पर्वले पारिवारिक सम्बन्ध र मायाममतालाई केन्द्रविन्दुमा राखेको छ । मानिसको जीवन नै एकअर्काप्रतिको माया, स्नेह र बन्धनमा बाँधिएको हुन्छ । यसले सन्तान र आमाप्रतिको निरन्तर र अटुट ममतालाई प्रस्फुटन गरेको छ । यो दुई बीचको मायाममता अनवरत र अजम्बरी रहन्छ जसमा संसार अडेको छ । मृत्युपरान्त पनि यो ममतामा कमि हुँदैन बरु झन् बढेर जान्छ भन्ने शिक्षा पनि यसमा रहेको छ ।

यसले धेरै दिनपछिको अन्तरालमा भएको पारिवारिक भेटघाटको माध्यमबाट सुखदुख साट्ने र नयाँ–नयाँ उपायहरू सिक्ने र सिकाउने अवसरको मौका पनि प्रदान गर्दछ । सानै उमेरमा सँगै खेलेर हुर्केको दिदीबहिनीबीचको अविस्मरणीय भेटघाटको समेत यसले सृजना गर्ने गरेको छ । चेलीबेटीले एक वर्षभित्र भएको तीतामीठा कुराहरूलाई खुल्लारूपमा आफ्नो बुवाआमा र भाइबहिनीको बीचमा राख्ने मौकाको रूपमा पनि यो पर्व रहेको छ । यसले भाइबहिनी बीचको स्नेह र मायाममतालाई पनि जोड्ने काम गरेको हुन्छ ।

दाइ वा भाइको पर्खाइमा ससुरालीमा बिताएको समय र भोजनको लागि गरेको तयारी र कल्पनाले नै एकअर्काको अन्तरात्माको लागि जोड्ने कडीको रूपमा पनि यो पर्व रहेको छ । केटाकेटीहरूले मामा घरमा महसूस गरेको स्वतन्त्रताले पनि यो पर्व उनीहरूको लागि एउटा स्वतन्त्र जीवन बिताउने माध्यमको रूपमा रहेको छ । थारू समुदायमा भान्जाभान्जीलाई ढोग्ने चलन अहिले पनि रहेको छ ।

भान्जाभान्जीलाई देउताको प्रतीकको रूपमा सम्बोधन र व्यवहारले पनि उनीहरूको सम्मान र स्वतन्त्र रहन्छ भन्ने मान्न सकिन्छ । चेलीबेटी र भान्जाभान्जीलाई दिने उपहारले पनि उच्च प्राथमिकता पाएको हुन्छ । यो उपहार साधारण भए पनि यसले आफ्नो छुट्टै पहिचान बनाएको हुन्छ । चेलीबेटीले माइतमा दिएको उपहार तथा भान्जाभान्जीले मामाघरमा पाएको उपहार भनेर गर्व गर्ने गर्छन् ।

यो एक विशुद्ध सामाजिक पर्व पनि हो । यसले समाजलाई सामाजिक मूल्य र मान्यता पालना गर्ने सन्देश दिन्छ । सामूहिक रूपमा नुहाउने, जितियाको कथा सुन्ने र नजिकको मेलामा गएर रमाइलो गर्ने जस्ता कुराले समाजमा एकअर्काको महत्व र सम्मानको भावना जागृत गर्दछ । एक समुदायदेखि अर्को समुदायको अन्तरसम्बन्ध पनि यो पर्वले बनाउने गरेको छ । यो पर्वको अवसरमा पर्वमा प्रयोग हुने सामग्रीहरू जसले जसको लागि पनि उपलब्ध गराउने गरेको छ । जुन कि शतप्रतिशत प्राकृतिक हुन्छ ।

यो पर्वले समाजमा रहेको विभेदलाई पनि धेरै हदसम्म अन्त्य गरेको छ । सबै समुदाय मिलेर रमाइलो गर्छन् भने व्रतालुहरूको लागि रातको समयमा मनोरञ्जन गराउने गरेको पनि छ । यसले समुदाय बीचमा कामको बाँडफाँड र नेतृत्व विकास गर्नको लागि पनि सिकाउँछ । यो एक सामाजिक सद्भावको पर्व हो । जसले एकअर्काबीचको वैमनश्य नभई सद्भाव कायम गर्नमा मद्दत गर्दछ ।

यसले समाजमा सामूहिक मेलमिलापको परम्परालाई पनि निरन्तरता दिएको छ । अहिले पनि जितियाको कथा र यसले दिएको सन्देशलाई मनन गर्न सकियो भने व्यक्ति, परिवार, समाज र सम्पूर्ण राष्ट्रमा नै सुशासन कायम हुन्छ ।

यो पनि पढ्नुहोस आमाहरुको पर्व जितिया यो पनि पढ्नुहोस जितिया पर्वसँग जोडिएका किंवदन्ती र कथा

source https://www.onlinekhabar.com/2021/09/1019787

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More