Tuesday 28 September 2021

एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको डा. केसीले दाबी गरेका छन्।

वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउँछन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘हरेक व्यक्तिको आस्था वा राजनीतिक विचारधारा हुन्छ । एनआरएनमा राजनीतिक विचारधारा नल्याइकिन कमसेकम स्वतन्त्र भएर काम गर्नका लागि नै सबै राजनीतिक विचारधाराका सबै मान्छेहरुलाई समेटेकै हो।’ उनले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएको भन्दै यसलाई प्यानलको रुपमा लिन नहुने बताए।

समूह निर्माण गर्नु विधान विपरीत भएन र भन्ने प्रश्नमा डा. केसीले भने, ‘एजेण्डासँग सहमत उम्मेदवारहरुलाई समेटेका हौं। निर्वाचनको प्रक्रिया हुँदै गर्दा सबै क्षेत्रलाई समेट्नको लागि यो प्रयास थालिएको हो।’ यसलाई प्यानलको रुपमा बुझ्नुहुँदैन भन्दै डा. केसीले आफ्नो समूहको बचाऊ गरे।

एनआरएनए विधानमा प्यानलसहित निर्वाचन लड्न मनाही छ। तर संघका केन्द्रीय पदाधिकारी उम्मेदवारहरुले विधानमा उलङ्घन गर्दै प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्दै आएको इतिहास छ। दशौं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका अन्य प्रत्यासीहरु बेलायतका कुल आचार्य र अमेरिकाकी रविना थापाले पनि प्यानलको टुङ्गो लगाउन ब्यस्त देखिएका छन्।

को – को छन् डा. केसी समूहमा ?

डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरुको टुङ्गो लागेको छ। उपाध्यक्षका उम्मेदवारहरुमा डा. हेमराज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री(ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन् । महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने भएका छन्।

अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा. केसी समूहले गरेको छ। जोशी वर्तमान कार्यसमितिका सचिव समेत हुन्।

एक महिला अनिवार्यसहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन्।

कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ । सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बाँकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै, महिला संयोजकमा संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड) ले उम्मेदवारी दिने भएका छन्।

केसीको चलाखी: समूह निर्माणमा राजनीतिक गठबन्धन

डा. केसी समूहले चलाखीपूर्वक राजनीतिक गठबन्धन मिलाएर समूह बनाएको छ। केसी समूहमा प्रजातान्त्रिक विचारधारका डा. हेमराज शर्मा, महेश श्रेष्ठ, यसमिन बेगम र रोशन थापालाई समेटेको छ । नेकपा (माओवादी केन्द्र) निकटको डिबी क्षेत्री, लोक दाहाल,ओम गुरुङ, मिलन छन्त्याल र संगीता मरहठ्ठा रहेका छन्।

अष्ट्रेलियाका धर्मराज अधिकारीलाई माधव नेपाल समूह अर्थात नेकपा एमाले (समाजवादी) निकटको रुपमा हेरिन्छ। नेकपा एमाले निकटका रुपमा रामशरण सिम्खडा, चिरन्जीबी घिमिरे रहेका छन्। त्यसो त अध्यक्षका प्रत्यासी स्वयं डा. केसी पनि एमाले निकटका रुपमा बताइन्छ । तर उनले आफूलाई एनआरएन संस्थापन पक्षको उम्मेदवारको रुपमा दाबी गर्छन्। यद्यपि नेपाली कांग्रेसले अध्यक्षका उम्मेदवार कुल आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।

आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नेतृत्वका लागि केसी,आचार्य र थापाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ।

केसी समूहबाट युरोप संयोजकमा भट्टराई कि तिमिल्सिना ?

बद्री केसी समूहले क्षेत्रीय संयोजक र उपसंयोजकबारे पछि निर्णय गर्ने बताएपनि युरोप क्षेत्रको चर्चा भने चुलिएको छ। केसी समूहबाट युरोप संयोजकका लागि जर्मनीका सन्तोष भट्टराई र बेलायतका कृष्ण तिमिल्सिनाले दावी गरिरहेका छन्।

डा. केसीले भट्टराईलाई अघि सार्न चाहेको भएपनि उनको टिमका अधिकांशको समर्थन तिमिल्सिनालाई रहेको छ। भट्टराई नेकपा एमाले निकटका उम्मेदवारको रुपमा चिनिन्छन् ।

युरोपभर रहेका प्रबासी नेपाली मञ्चको समर्थन भट्टराईलाई रहेको छ। डा. केसीले आफूलाई निर्वाचनमा कत्ति पनि धक्का नपुगोस् भनेर भट्टराईलाई रोजेको बताइन्छ। त्यसैले तिमिल्सिनालाई सहकोषाध्यक्ष पदमा सहमत गराउनकै लागि हाललाई पद खाली राखिएको स्रोतको दावी छ।

तर अध्यक्षका प्रत्यासी डा. केसीले भने, ‘हामीले आरसी बारे निर्णय गरिसकेका छैनौ। उहाँहरु दुईजना मध्ये एकजनालाई अघि सार्छौ। केही दिनभित्रमा नै निर्णय गर्छौ।’ उनले सह कोषाध्यक्ष पदमा तीनजना भन्दा बढी आकांक्षी भएकाले हाललाई निर्णय नभएको बताए।

वर्तमान उपसंयोजक रहेका तिमिल्सिना शालीन स्वभावका कारणले पनि युरोपका गैर आवासीयहरुबीच लोकप्रिय छन्। हालसम्म उनि पनि युरोप संयोजकको उम्मेदवारी पछि नहट्ने मनस्थितिमा रहेको बताइन्छ।



source https://www.onlinekhabar.com/2021/09/1019753

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More