Wednesday 28 April 2021

प्रदेश १ मा ६ जना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । विराट कोभिड–१९ अस्पतालका इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति १०ः४० बजे मृत्यु भएको हो ।

झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख ४ गते अस्पताल भर्ना भएका थिए । मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या थियो ।

नोबेल मेडिकल कलेजमा सिरहाको गोलबजार–१२ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार राति १२ बजे संक्रमितको मृत्यु भएको हो । उनलाई उपचारका लागि बुधबार राति १०ः३० बजेतिर अस्पताल ल्याइएको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डाक्टर चुरामणि पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय युवक र धनुषका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

सप्तरीका युवकको उपचारका क्रममा बिहीबार बिहान करिब १२ः १० मा मृत्यु भएको हो ।
मृतक युवकमा वैशाख ९ गते कोरोना पोजिटिभ देखिएको थियो । मधुमेहका बिरामी युवकलाई वैशाख १३ गते सोमबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

धनुषाका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १० गते संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मधुमेहको समस्याबाट पीडित बिरामीको अवस्था गम्भीर हुदै गएपछि बुधबार अपरान्ह सवा ३ बजे मृत्यु भएको थियो ।

कोरोना संक्रमणका कारण सुनसरीको इनरुवामा एकजनाको मृत्यु भएको छ । इनरुवा नगरपालिका– ३ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

वडा अध्यक्ष कालुराम गुरुङका अनुसार बुधबार राति ८४ वर्षीया वृद्धाको घरमै मृत्यु भएको हो । मृतक वृद्धाको घरका सात जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।



source https://www.onlinekhabar.com/2021/04/949573

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More